June 10, 1977
Created by nepalarchives

निर्णय नं. १०३८ – अंश

निर्णय नं. १०३८     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको दे. पु. नं. ९९ र...

निर्णय नं. १०३८     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३३ सालको दे. पु. नं. ९९ र १००

फैसला भएको मिति : २०३४।२।२८ मा

पुनरावेदक : बागमति अञ्चल नुवाकोट जिल्ला पं.१ नं.बट्टार बस्ने परशुराम गिरी

विरुद्ध

विपक्षी : ऐ ऐ बस्ने दशरथ गिरी

मुद्दा : अंश

(१)   अंशबण्डाको २० नम्बरको ऐनमा घरका लेनदेन कारवाही गर्ने जानकारसँग फाँटवारी लिई बण्डा गरी दिनुपर्ने व्यहोरा लेखिएकोबाट अरूसँग जिम्मा रहेको पनि फाँटवारी लिनुपर्छ भनी सम्झन नहुने ।

(प्रकरण नं. १५)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी

प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लेखित मुद्दा :    

फैसला

     न्या. हेरम्बराज : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट २०३३।२।१५।६ मा भएको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार वादी दशरथ गिरी र प्रतिवादी परशुराम गिरी समेत दुवै पक्षलाई पुनरावेदन गर्ने अनुमति पाई प्रस्तुत मुद्दा पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको तथ्य यस प्रकार छ : बाबा गणेश गिरी परलोक हुनु भए । अघि मेरो आमा र माईली आमा परलोक भएपछि जेठीपट्टिको म र कान्छीपट्टिको छोरा विपक्षी परशुराम र निजको बहिनी विपक्षीको आमामात्र बाँकी छँदा बाबा गणेश गिरी पनि १९९९ सालमा परलोक हुनु भएपछि विपक्षको आमा मेरो सानी आमा घरको हर्ताकर्ता भई घर व्यवहार सगोलमा नै चलिआएको थियो, त्यस्तैमा म आफू खुसी ०४ सालतिर विदेश लागि निर्वाह गरी आएको थिएँ, घर सम्झी ०२४ जेष्ठ ५ गते आई पुग्दा वहिनी पोइल गई सकेको र आमा पोइल गई सकेपछि विपक्षले नै स्याहार सम्भार गरी राखेकोले आफूले कमाई गरी ल्याएको विपक्ष एकाघरको भाइलाई नै घर व्यवहार राम्रो चलाउन दिई एक महिना बसी गएको,०२५ सालमा पनि रेखदेख गरी गएपछि ०२८साल मार्ग ३गते बेलुकी अं.६ बेजे तिर जेठो छोरासाथ लिईजाँदा पुरानो घरभत्काई नयाँ जस्ताको घर खडागरी विपक्ष बसेको देखी मैले मिलापत्र गरी बस्न विपक्षले पनि नामाञ्जुर गरेकोले मैले पाउने अंशभाग छुट्याइदिनु भन्दा तिम्रो भाग छुट्याइदिन्छु छुट्टै बस भनेकोले बट्टारबजारबस्ने अमृतमान श्रेष्ठका घरमा डेरा गरिबसेको छु, अंशबण्डा नहुँदै पिताजी परलोक हुनुभएकोले पिताजीको श्रीसम्पत्ति विपक्षले र मैले बराबर भोग गर्नपाउने भएकोले अंशबण्डाको २० अन्तर्गत ऐ.२३ नं. बमोजिम पिताजीले आर्जेको घरजग्गा हाँडाभाँडा, सून, चाँदी आदि र विपक्षबसेको घरसमेतको फाँटवारी लिई अंश नदिएमा दं.स.१२ नं.बमोजिम सजायसमेत गरिपाँउ भन्नेसमेत वादी ।

            ३.    जेठीपट्टिको विपक्ष दशरथ गिरी र कान्छीपट्टिको म परशुराम गिरी भएको र बाबा गणेश गिरीको ४।५ स्वास्नी भएकोले ८०।८१ सालमा सौता सौता नमिलेकोले बाबा गणेश गिरीले आफ्नो गैह श्रीसम्पत्ति अघिका चलन व्यवहार बमोजिम अंशबण्डा लगाई दिई बाबा गणेश गिरी आलो पालोसँग बस्ने गर्नु भएको थियो । विपक्षको आमाले पाएको अंशको जग्गा आमाको शेषपछि विपक्षको हक भएको जग्गामध्ये मुवलीकुमारी जिम्माको तिरो रु.१।३८ मध्ये तिरो रु.६६ लागेको पाखा जग्गा मोहरू ६१।मा.नु.जि.बट्टार बस्ने गोविन्दराज ०१।१०।७ गते भोगबन्धकी र सोही जग्गा मेरो भाग भनी सो भोगबन्धकी हडिक गराई रु.१२०। मा विपक्ष दशरथ गिरीले गोविन्दराज ०३।६।३०।६मा राजीनामा पास गरिदिएको १ प्रति नक्कल नुवाकोट मालमा छ । दोश्रो विपक्ष दशरथ र मेरो आमा कंच गिरीले आफ्नुफ्नु अंशको जग्गा सट्टीपट्टि गरी खाने बन्दोबस्तबाट ०१ साल चैत्र १८ गते गरेको सट्टिपट्टिको कागज १ प्रति मसँग छ, सो राजीनामा सट्टिपट्टिबाट पनि अंश पाइसकेको भन्ने कुरा प्रष्ट छ । दोहरा अंशमा दावी गरेकोले झुटो उजूर गरेमा सजाय समेत गरी पाउँ भन्ने समेत परशुराम गिरीको प्रतिउत्तर ।

            ४.    वादी प्रतिवादीहरूको बट्टार पुरानो घर पछाडि २ घर थियो, निजहरू छुट्टै घरमा वसेको थियो । अंशबण्डाको हकमा भएको थाहा छैन । वादी दशरथ गिरी विदेशतर्फ गए, परशुराम धैवुतर्फ गए, २।४ वर्ष बसेकोले बहार पछाडिको घर बनाए । वादी विदेशबाट फर्की आई परशुरामसँगै बसेका थिए भन्ने समेत कृष्णबहादुर । वादी दशरथ गिरी र प्र. परशुराम गिरीको बट्टार पछाडि दुई घर थियो, निज वादी प्रतिवादीहरू १।१ घरमा छुट्टा छुट्टै बसेका थिए, वादी प्रतिवादीको अंश भएको मलाई थाहा छैन भन्ने समेत शिवकृष्ण । वादी प्रतिवादीको अंशबण्डा भएको थाहा छैन, वादी विदेशतर्फ गएको २०।२२ वर्ष जति भयो होला, वादी प्रतिवादी एकाघर बट्टारमा वसेका थिए, वादी सगोलैबाटै निस्की विदेशतर्फ गएका हुन, वादीले अंश नहुँदै छुट्टी लिएको जग्गा बिक्री गरेका हुन, अंशको जग्गा बिक्री गरेको छैन भन्ने समेत वादी पक्षको क्षेत्रबहादुर समेत जना ३ को बकपत्र ।

            ५.    वादी प्रतिवादीको अंशबण्डा ८०।८१ साल मै भएको हो वादी प्रतिवादीको बट्टार पछाडि २ घर थियो । १।१ घरमा बसी आफ्नु आफ्नु अंशको जग्गा कमाई भोगी खाई आएका थिए, वादीले बहार बजारको जग्गा गोविन्दराज श्रेष्ठलाई बिक्री गरेको र इनार पाटीको जग्गा भक्तबहादुरलाई जिम्मा दिई विदेशतर्फ गएका हुन भन्ने समेत कर्णबहादुर कुमाले । वादी प्रतिवादी भिन्न बसेको थाहा छैन, तर वादी दशरथ इनार पाटीको गुठी जग्गामा बसेको र परशुराम बहार बजारमा बसेको देखिको हुँ, वादी प्रतिवादीका अंशबण्डा भइसकेको भन्ने गाउँघरमा सुनेको हुँ, बट्टारको जग्गा गोविन्दराजलाई राजीनामा गरिदिएको हो भन्ने सुनेको हुँ भन्ने समेत इन्द्रबहादुर थापा १। वादी दशरथ प्रतिवादी परशुराम गिरी सौताने हुँदा आमाकै पालामा आमा आमा नै भिन्न बसेको भन्ने कुरा अगाडि देखेको हैन पछि वादी प्रतिवादी बेग्लै बसेको देखेको हुँ भन्ने समेत धनबहादुर खड्के समेत प्रतिवादीको ३ जना साक्षीको बकसपत्र भएकोमा अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत रसुवा तथा नुवाकोट जिल्ला अदालतको २०३१।८।१७।२ को फैसला।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी दशरथ गिरीको पुनरावेदन ।

            ७.    अंशबण्डाको लिखत नभएकोले वादीले अंश पाइसकेको भनी ठहर गर्नु अंशबण्डाको तत्कालिन ४९ नं.र हाल नयाँ मुलुकी ऐन अंशबण्डाको ३० नं.को विरुद्ध हुन जाने हुँदा शुरु शुरुको फैसला मिलेन । छलफलका निमित्त प्रतिवादीहरूलाई अ.बं.२०२ नं.र क्षेत्रीय अदालत नियमबमोजिम झिकाई पेश गर्नु भन्ने २०३२।७।१६।१ को आदेश ।

            ८.    वादी प्रतिवादीको अंशमुद्दामा मानुछुट्टिएको मिति दुवैपक्षको मुख नमिलेको हुँदा फिराद परेको अघिल्लो दिन २०२९।४।२३।२ तकको ऐनबमोजिम दुवैपक्षबाट ऋणधन चलअचल श्रीसम्पत्तिको तायदाती लिई कानूनबमोजिम गरी पेशगर्नु भन्ने २०३२।११।२२।६को आदेश ।

            ९.    यसमा अंशबण्डाको लिखत भएको नदेखिँदा प्रतिवादी परशुराम गिरीले २०३२।१२।५।५ मा पेश गरेको तायदातीबाट वादी प्रतिवादीले आधा आधा अंश पाउने ठर्हछ । ऋणका हकमा साहुका नालेस परेका बखत तिर्न पर्ने ठहरेमा दुवैले बराबरका दरले तिर्नु पर्ने ठर्हछ । रसुवा तथा नुवाकोट जिल्ला अदालतको इन्साफ उल्टी हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३३।२।१५।६ को फैसला ।

            १०.    मध्यमाञ्चल क्षे.अ.को इन्साफमा मानोछुट्टिएको मिति पश्चातको मेरो आर्जनको ३ कित्ता जग्गा तथा प्र.ले नभएको ऋणसमेत बनाई पेशगरेकोमा साहुले दावी गरी तिर्नुपर्ने ठहरेमा बण्डा हुने भनी प्रत्यक्षतःगम्भीर कानूनी त्रुटी गरेकोले सो बदरहोस् भन्ने वादी दशरथ गिरी र ८०।८१ सालमै बण्डा भई आफ्नो भाग भोग चलन गरी आउनु भएको पर्याप्त सबूद प्रमाणको ध्यान नदिई अंश पाउने गरेको फैसलामा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटी भएको हुनाले सो बदर होस् भन्ने प्रतिवादी परशुराम गिरीको पुनरावेदन जिकिर रहेछ ।

            ११.    पुनरावेदक वादीकोतर्फबाट वि.अधिवक्ता श्री वसन्तराम भण्डारीले प्र.ले जालसाजी गरी खडागरेको कपालीतमसुकको ऋणसमेत आधी तिर्नपर्ने ठहराएको इन्साफ मिलेन । साथै तायदाती नआएको अंश मुद्दा भनी जि.अ.को फैसलाउपर म.क्षे.अ.मा पुनरावेदन परेकोमा म.क्षे.अ.बाट तायदाती मागगर्दा अं.अदालतको अधिकारक्षेत्र भित्रको देखिएपछि निर्णयार्थ मुद्दा अं.अदालतमा फिर्ता पठाउनुपर्नेमा नपठाई क्षे.अ.आफैंले हेरी निर्णय गर्नुभएको फैसला अधिकारक्षेत्रविहीन भई त्रुटीपूर्ण देखिनाले सो बदरहोस् भन्नेसमेत आफ्नो बहसप्रस्तुत गर्नुभयो ।

            १२.   प्रतिवादीकोतर्फबाट विद्वान व.अ.श्री मुकुन्द रेग्मीले ८०।८१ सालमा आफ्नो भागको अंश लिई बण्डा भइसकेको पर्याप्त प्रमाण पेश भएको छँदाछँदै त्यसतर्फ ध्यानै नदिई पुनः बण्डापत्र गर्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफमा प्रष्ट कानूनी त्रुटी भएको देखिनाले उक्त इन्साफ बदर होस् भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।

            १३.   यसमा क्षेत्रीय अदालतबाटै भएको इन्साफ मनासिव बेमनासिव के रहेछ ? सो कुराको इन्साफ दिनुपर्ने हुन आएको छ ।

            १४.   प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विद्वान अधिवक्ताहरूको बहस सुनी इन्साफतर्फ विचार गर्दा यसमा अंशबण्डा छुट्याई दिँदा दण्ड सजायको ४६ नम्बर बमोजिम गर्नुपर्नेमा ऐनको दफा ८ मा अंश छुट्याई दिने वा फाँटमा लेखिएको जिम्मा लिई राख्ने अंशियारहरूलाई झिकाउनु परेमा आफ्ना जिम्मामा रहेको बण्डा गर्नुपर्ने फाँटवारी बण्डापत्रमा लेखिएबमोजिमको सबै श्री सम्पत्ति देखाई छुट्याई बण्डा दिन आउनु वा पठाउनु भन्ने समेत व्यहोराको म्याद पूर्जी टाँसी दिनुपर्ने र ऐनको दफा १६ मा अंशबण्डा गर्नुपर्ने चल अचल आफ्ना जिम्मा लिई राख्नेले आफूले लेखी दिएको फाँटवारी बमोजिमको दिनुपर्ने चल अचल दैवी परी प्रमाण पुर्‍याएको अवस्थामा बाहेक देखाई छुट्याई नदिई नदेखाएको समेतमा थुन्नु पर्छ जरिवाना लाग्छ भन्ने समेत व्यहोरा देखिएको छ ।

            १५.   यसबाट अंश मुद्दामा तायदाती तोक्दा आफ्ना आफ्ना जिम्मामा रहेको चल अचलको फाँटवारी तोक्नुपर्छ, तारेख गुजारेकोमा भने विपक्षीसँग रहेको चल अचलको फाँटवारी तोक्नु पर्ने हो, यसबाट अंशबण्डाको २० नम्बरको ऐनमा घरको लेनदेन काम कारवाही गर्ने जानकारसँग फाँटवारी लिई बण्डा गरी दिनुपर्ने व्यहोरा लेखिएकोबाट अरूसँग जिम्मा रहेको पनि फाँटवारी लिनुपर्छ भनी सम्झनु हुँदैन । घिङ्याई गरी बसेकोमा मात्र उक्त ऐनको नम्बर २१ बमोजिम गर्नुपर्छ । माथि लेखिएबमोजिम गर्नुपर्नेमा मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चले तायदाती तोकेबमोजिम २०३२ साल फाल्गुण २८ गतेका दिन सम्मको फाँटवरी भनी परशुराम गिरीले २०३२ साल चैत्र ५ गतेमा र दशरथ गिरीले ०३२ साल फाल्गुण २८ गते तायदाती पेश गरेको देखिन्छ । प्रस्तुत दशरथ गिरीको पुनरावेदनको निवेदनपत्रमा ओखरे भन्नेसमेत खेत माटो मुरी ५ का ३ कित्ता पनि तायदाती फाँटको माग गरिएको समय पश्चातको मेरो आर्जनको तायदातीमा पारी दिएको छ भन्ने जिकिर गरेकोले तायदाती कस्तो पेश गरेको रहेछ भनी हेरेमा प्र. को जिम्मा रहेको भनी दशरथ गिरीले र बण्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती भनी परशुराम गिरीले तायदाती पेश गरेको देखिएकोबाट माथि लेखिएका अंशबण्डाका २० नम्बर दण्डसजायका ४६ नं.बमोजिम तायदाती पेश गरेको नदेखिएकोले तायदाती तोक्नुपर्नेमा उक्त ऐनबमोजिम आफ्ना आफ्ना जिम्मा रहेको फाँटवारी ल्याउनु भनी तोक्ने र पक्षहरूले आफ्नो जिम्मा रहेको तायदाती पेश गरेमा सोही अनुसार बण्डा छुट्याई दिनुपर्नेमा एकापक्षले अर्कोपक्षको जिम्मा रहेको भनी तायदाती पेश गरेको र सो तायदातीलाई कायम गरी बण्डा छुट्याई दिने गरेको क्षेत्रीय अदालतको फैसला मिलेको देखिएन, बदर हुन्छ, पक्षहरूलाई आफ्ना जिम्माको तायदाती पेश गर्नु भनी तायदाती लिई ऐनबमोजिम कारवाही किनारा गर्नु भनी तारेखमा रहेका पक्ष विपक्षलाई तारेख तोकी प्राप्त मिसिल म.क्षे.अदालतमा पठाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३४ साल जेष्ठ २८ गते रोज ६ शुभम् ।