निर्णय नं. १०३७ – जग्गा बाली
निर्णय नं. १०३७ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत्...
निर्णय नं. १०३७ ने.का.प. २०३४
फुल बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३३ सालको देवानी फुल नम्बर ३७
फैसला भएको मिति : २०३४।३।१४।३ मा
निवेदक : का.जि. मडेहर माजरे गौरी गा.पं. वार्ड नं. ५ बस्ने नाजिम मुसलमान समेत
विरुद्ध
विपक्षी : ऐ.ऐ. ४ नं. ढोडे बस्ने वादुल मुसलमान समेत
मुद्दा : जग्गा बाली
(१) अंशबण्डाबाट एक अंशियारको भागमा परेको जग्गा अर्को अंशियारले भोगगरेमा आफ्नु अंश भागमा पर्ने जग्गाको बाली जग्गा मिच्नेको १८ नं. बमोजिम बाली भरीपाउने ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी सिंह
उल्लेखित मुद्दा :
फैसला
न्या.वाशुदेव शर्मा : इन्साफ जाँच गरी पाउँ भनी प्रतिवादी हवलदार मुसलमान समेतले चढाएको निवेदनमा फुल बेञ्चबाट हेरी दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम प्रस्तुत मुद्दा दोहरिई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः विपक्षीहरूसँग तायदाती लिई अंश छुटाई बण्डा गरी पाउँ भन्ने हाम्रो नालेस परी अघि देखिनै भिन्न बसेकोले अंश दिनु नपर्ने भन्ने प्रतिवादीनै मुद्दा चलिई आखिरमा १९८८ साल चैत्र मसान्त तक सकारतमा रहेको ठहरी तायदाती लिई अंश छुट्टाई दिने भन्ने सर्वोच्च अदालत लगायतबाट फैसला भई आई विपक्षीहरूले तायदाती दिएकोमा फौज्दारीका नाउँको दर्ता जग्गा बिगाहा १०ऽ२।।३ जग्गा हाम्रो एकलौटी हो अंश दिनु नपर्ने भन्ने तायदातीमा पनि लेखी दिएको आखिरमा तायदातीमा लेखिएको सबै जग्गा अंशबण्डा छुट्टाई बण्डा गरी दसौंद दण्ड लिने भन्ने तौ.ई.अ.बाट ०१८ सालमाघ ८ गतेमा फैसला भएकोले फैसला बमोजिम सो सानो फौज्दारका नाउँको दर्ताका बिगाहा १०ऽ२।।३ हामीहरूको अंश भागको हामीलाई छुट्टाई दिन अंशबण्डा गरी हाम्रो हक गराई ०२१ सालमाघ १ गतेमा तौ.ई.अ.बाट अन्तिम पर्चा फैसला भएका फैसला बमोजिम बण्डा छुट्टाएसम्मको मध्येको जग्गा मध्ये सानो फौज्दारका नाउँको दर्ताको जग्गा बिगाहा १०ऽ।।३ मध्ये ३ खण्डको १ खण्ड, विपक्षीको १ खण्ड हामी वादुल आसिनको बाँकी १ खण्ड मध्ये आधीमा रियासिको आधी अर्को हकदार सुलतानको ठहरी बिगाहा १०ऽ२।।३ मध्ये हामी वादुल आसिन रियासिको भागको बिगा ५ऽ१।१।। विपक्षीहरूले मुद्दा परेको ०१२ सालदेखि हामीलाई जग्गा बाली चलन गर्न नदिई आफूहरूले जम्मै जग्गा बाली चलन गरी आएको बिगाहा ५ऽ१।१।। हाम्रो भई पर्चा भएकोले सो जग्गाको झगडा परेका सालदेखि ०२१ साल तकको बाली हामीलाई दिनोस भनी बण्डा छुट्टाई पर्चा भएपछि प्रतिवादीहरूसँग ०२१ सालमाघ १ गते भन्दा बाली पाउँदैनौं दिन्न भनी जवाफ दिएको खास विपक्षीहरूको चलन भोगमा रहेको आफ्नो एकलौटी भनी हामीलाई चलन भोग गर्न नदिएको जग्गाको हक न छुट्टि रहेको जग्गामा हाम्रो हक कायम गरी बण्डा छुट्याई पर्चा भई सकेपछि उक्त जग्गाको बाली हामीले कानूनले पाउने बाली नदिएको जम्मा रु.२०६०।४० मध्ये बाली लगाउनेको भागको आधी कट्टि गरी आधी रु.१०३०।२० हामीहरूको भागको आधी रु.१०३०।२० मध्ये वादुललाई रु.३४३४।४० म आसीनलाई ३४३४।४० म रियसिलाई रु.३४३४।४० का दरले विपक्षीहरूबाट दामासाही बमोजिम दिलाई पाउँ भन्ने समेत वादीको फिराद परेकोमा विपक्षीहरूको अंश थियो भने ०८८ सालमा अलग भएपछि आफ्नो भोग चलन गर्नसक्नु पर्ने अथवा ८९ सालदेखि २२ साल सम्मको बाली समेतको दावी गर्नुपर्ने सो नभई ०१२ सालदेखि ०२१ सालसम्मको बालीमात्र पाउँ भनी वादीको फिराद त्यसै झुटो सावित छ । ०२१।१०।१ गते तौ.इ.अ.बाट अन्तिम फैसला भई अंश छुट्टाई दिएको भन्ने वादी फिराद साफ गलत छ । किनकी सो पर्चा उपर हाम्रो पुनरावेदन परी अञ्चल अदालतमा मुद्दा चलिरहेको मिसिल त्यसै अड्डामा आई चलिरहेको छ । अंश मुद्दा भन्ने तायदाती लिई जग्गाको हकै छुटी पाउने गरी ०१८।१०।८ गते अन्तिम फैसला भएको हुँदा सो मितिले १ वर्षभित्र बालीमा नालेस गर्न नसकेपछि बालीमा नालेसै नलाग्ने लागे पनि खारेज हुनुपर्ने भन्ने समेत प्रतिवादी ।
३. स.अ.पश्चिम दौडाहाबाट ०१५।१।२२।३ मा अंशबण्डा पास गरी दिने गरी फैसला भई सोही बमोजिम अंश छुट्टाई दिने समेत ०१८।१०।८।१ मा फैसला भएको भन्दै यो मुद्दा ०२२।७।२९ मा दायर भएको देखिन आएकोले हदम्याद भित्रको यो उजूर नदेखिएकोले बाली विगो दिलाई पाउँ भन्ने समेत वादी दावी नपुग्ने ठर्हछ भनी शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला गरेकोमा वादीको पुनरावेदन परी बालीको विषय ३ वर्ष भित्र नालेस दिए लाग्ने भई जग्गा मिच्नको १८ नं.मा व्यवस्था भएकोले जम्मै सालको बिगोमा खारेज गर्ने गरेको जि.अ.को राय सहमत भएन भन्दै १० सालदेखि ०१८ साल सम्म वर्ष ७ को बाली बिगोका हकमा म्याद नाघी सकेकोले खारेज गर्ने र म्याद भित्रको ०१९।०२०।०२१ साल वर्ष ३ को बालीका हकमा विचार गरेमा रु.१०३०।३२ को आधा मोही बोटी कटाई वर्ष १ को आधा धनी बोटी रु.५१५।१६ ले वर्ष ३ को बालीको बिगो रु. १५४५।४८ वादीहरूले प्रतिवादीहरूबाट भरी पाउनेठर्हछ भन्नेसमेत लुम्बिनी अं. अदालतको फैसला ।
४. हवलदार मुसलमान समेत उपर वादी वादुल मुसलमान, आसिन मुसलमान, सुलेमान मुसलमानले चलाएको अंश मुद्दामा ९९ सालमा मानो छुट्टिएको ०८८ साल चैत्र मसान्त सम्मको तायदाती लिई बण्डा गर्ने ठहराएको बुटवल अपील अड्डाको फैसला सदर गरी सर्वोच्च अदालत पश्चिम दौडाहाबाट ०१५।१।२२।१ मा भएको फैसला बमोजिम बण्डा छुट्याएकोले दसौंद विसौंद लिने गरी ०२१।१०।१ गते इ.अ.तौ.बाट पर्चा खडा भएको देखिन्छ । सानु फौज्दारका नाउँको जग्गा १० बिगाहा २ कठ्ठा १३ धूर मध्ये हामी वादीहरूको आधा ५ बिगाहा १कठ्ठा साढे छ धूर भागमा परेकोले बाली दिलाई पाउँ भनी ०२२।७।२९।१ मा यो फिराद दर्ता भएको रहेछ, जग्गा उक्त ८६ सालमा लिएको भए बण्डा हुनु नपर्ने र बाली दिनु नपर्ने भनी प्रतिवादीहरूले जिकिर गरे पनि ०८८ साल चैत्र मसान्त सम्मको बण्डा छुट्टाउने ठहराई अंश मुद्दाबाट फैसला भएको देखिएकोले बण्डा हुनु नपर्ने भन्ने प्रतिवादीहरूको जिकिर पुग्न सक्दैन र ज.मि. को १८ नं.को हदम्याद नाघेको भनी शुरु अदालतले खारेज गरेको पनि मनासिव भएन, लुम्बिनी अञ्चल अदालतबाट फैसला भएको हकमा मानु छुट्टिए पछि एकाको अंश भागमा आउने बाली अर्को अंशियारले खाएकोमा ज.मि.को १८ नं. ले वर्ष दिनभित्र उजूर लाग्न सक्ने देखिएकोले वादीहरूले भाग पाएका जग्गाको वर्ष ३ को बाली प्रतिवादीबाट वादीले पाउने ठहराएको लुम्बिनी अञ्चल अदालतको फैसला मनासिव देखिन्छ । उब्जनी बुझी सरजमीनका मुचुल्का बमोजिम उब्जनी कायम गरको हिसाबबाट आउने बिगो रु.१०३०।३२मा मोही बोटी कटाई बाँकी आधा रु.५१५।१६ का हिसाबले प्रतिवादीबाट वादीहरूले पाउने ठहराएको इन्साफ मनासिव छ भन्ने समेत ०३०।९।५।५ को डिभिजन बेञ्चको फैसला ।
५. निवेदक प्र.नाजिम मुसलमान समेतकोतर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले हक छुटेको ०१८ सालमाघ ८ गतेबाट ०२२।७।२९।१ मा प्रस्तुत फिराद परेकोबाट ज.मि.को १८नं.ले छिनिएको, १ वर्षभित्र नालेस गर्नुपर्ने नगरेबाट फिराद दावी खारेज गरिनुपर्ने भन्ने र वादी वादुल मुसलमानकोतर्फबाट विद्वान वरिष्ठअधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंहले ०२१।९।२४ गते अंश छुट्टाउने कार्य भयो सो मितिबाट, १ वर्ष भित्रै प्रस्तुत मुद्दा परेको छ । तसर्थ डिभिजन बेञ्चको इन्साफ मनासिव हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नु भयो ।
६. यसमा प्र.हवलदार मुसलमानसमेत उपर वादी वादुल मुसलमान,१ आसिन मुसलमान,१ सुलेमान मुसलमान,१ समेतले चलाएको अंशमुद्दामा ०८८ साल चैत्रमसान्त सम्मको तायदाती वादी प्रतिवादीबाट लिई बण्डा गर्नेगरेको बुटवल अपील अड्डाको फैसला सदर गरी स.अ.पश्चिम दौडाहाबाट ०१५।१।२२।१ मा भएको फैसलाबमोजिम बण्डा छुट्टाएकोले दसौद विसौद लिनेगरी ०२१ सालमाघ १गतेमा इ.अ.तौ.बाट बण्डाछुट्टाउने पर्चाखडा गरेको देखिन्छ ।
७. सानु फौज्दारका नाउँको जग्गा बिगाहा १० बिगाहा २ कठ्ठा १३ धूर मध्ये हामी वादीहरूको आधा ५ बिगाहा १ कठ्ठा साढे ६ धूर भागमा परेकोले बाली दिलाई पाउँ भनी प्रस्तुत मुद्दाको फिरादपत्र ०२२।७।२९।१ मा दर्ता गरेको देखिन्छ । वादी दावीको जग्गा १९८६ सालमा लिएको बण्डा हुनु नपर्ने र बाली दिनु नपर्ने भनी प्रतिवादीहरूले जिकिर गरेको र १९८८ साल चैत्र मसान्तसम्मको तायदाती लिई बण्डा गर्ने ठहराई अंश मुद्दाबाट फैसला भएको देखिएबाट बण्डा हुनुनपर्ने भन्ने प्रतिवादीहरूको जिकिर पुग्नसक्ने देखिँदैन । तसर्थ, जग्गा मिच्नेको १८ नं. ऐनको म्यादभित्र प्रस्तुत फिरादपत्र नपरेको भन्न पनि मिल्दैन । अंशबण्डाबाट एक अंशियारको भागमा परेको जग्गा अर्को अंशियारले भोग गरेमा आफ्नु अंश भागमा पर्ने जग्गाको बाली जग्गा मिच्नेका १८ नं.बमोजिम ३ वर्षको बाली भरी पाउने नै हुँदा वादीहरूको अंश भागमा परेका जग्गाको ३ वर्षको बाली विगो प्रतिवादीहरूबाट वादीहरूले भरी पाउने ठहराएको लुम्बिनी अञ्चल अदालतको इन्साफ मनासिव ठहराई डिभिजन बेञ्चबाट ०३०।९।५।५मा गरेको फैसला मनासिव ठर्हछ । कोर्टफी रहेकोले केही गर्नु परेन, मिसिल नियमबमोजिम बुझाइदिनु ।
हामीहरूको सहमती छ ।
न्या. श्री ईश्वरीराज मिश्र,
न्या. श्री सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३४ साल आषाढ, १४ गते रोज ३ शुभम् ।