निर्णय नं. १०३१ – जग्गा खिचोला
निर्णय नं. १०३१ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३० सालको...
निर्णय नं. १०३१ ने.का.प. २०३४
फुल बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३० सालको दे.फु नं. ११७
फैसला भएको मिति : २०३४।२।८।६ मा
निवेदक : प.३ नं. कास्की घरभै चितवन गंगानगरबस्ने धर्मदत्त पहाडीसमेत
विरुद्ध
विपक्षी : पं. १ नं. नरजा सविया बस्ने यज्ञप्रसाद उपाध्याय
मुद्दा : जग्गा खिचोला
(१) भिन्न भिन्न अदालतका भिन्न भिन्न फैसला उपर परेको पुनरावेदनमा छुट्टा छुट्टै मिसिल खडा गरी छुटा छुट्टै फैसला गर्नुपर्ने ।
(प्रकरण नं. १५)
फैसला
न्या. हेरम्बराज: प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०२७।११।२३।१ मा निर्णय भएको दोहर्याई पाउँ भन्ने वादीहरूको निवेदक प्रतिवादी धर्मदत्त पहाडी समेतको निवेदन परी भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांङ्गी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छः चितवन बेलोद गंगा नहरको प्लट नं.२७ कि.नं.७२ को बिगाहा ४ राप्ती दून विकास भूमि बितरण कमिटीले ०१४ सालमा कमाउन मलाई दिई ०१५।८।३० मा भोग चलन गर्नु भन्ने पूर्जी दिएकोले पर्ती जमीन अवाद गरी खेती योग्य बनाई भोग चलन गरिआएको थिएँ । नापी हुँदा मेरै नाउँमा दर्ता भई फि.बिगाहा रु.१५। का दरले मालपोत लागेको ०२१ साल सम्मको मालपोत चुक्ति गरी दिइसकेको छु । विपक्षी सालिग्रामले केही जमीन घर बनाउन दिनु होस यसको सट्टा मेरो जमीन दिन्छु भनी ६८–३० हात जमीन नदिई सट्टापट्टाको कागज गरेको सो कागज रजिष्ट्रेेशन पास नभएकोले स्वतः बदर भइसकेको छ । ०२२ साल बैशाख १० गते मकै छर्ने खनजोत गर्न जाँदा मलाई खनजोत गर्न नदिई मेरो जग्गा मिची खिचोला गरेकोले मेरै सदर थामी पाउँ भन्ने समेत यज्ञप्रसादको फिराद ।
३. हामीलाई गत ०१८ सालमा यो जमीन कमाउनु होस ०१८ सालको बालीएकलौटी खानु हवस अरू सालमा अधिया बालीबुझाई खाइरहनु होस भनी वादीले भन्नु भएबाट वादी दावीको जमीन हामी २ जनाले अवाद कमोद गरी अधिया वादीलाई बुझाएको म सालिकरामले मेरो प्लट नं.५९ को जमीनबाट ६८ हात लम्बा ३० हात चौडाको जमीन वादीलाई दिने, वादीको उक्त जमीन मध्येको ६८ हात लम्बा ३० हात चौडा जमीन लिने गरी ०१९।१२।२९ मा सट्टापट्टा कागज गरी लिनु दिनु भई रु.४००। खर्च गरी म सालिकरामले घर बनाई बसेको छु । धर्मदत्त पहाडी, धर्मदत्त तिमिलसिना समेत २ जनालाई चि.मु.वि.क.बाट सोही जमीनको चलनी पूर्जी प्राप्त भयो अरे भनी वादीले धर्मदत्त २ जनाबाट नमालुम के कति रुपियाँ लिनु खानु गरी हो उक्त जमीन धर्मदत्त २ जनालाई छाडी दिई आइन्दा बाली निजैहरूलाई बुझाउनु भनेको हुनाले बाली बुझाई रहेकै मोहीबाटै हटाउने उद्देश्य लिई झुटो वादी दिएको सट्टापट्टाको जमीन स्वतः सदर हुने भन्ने समेत चक्रपाणी उपाध्याय सालिग्राम उपाध्यायको प्रतिवादी ।
४. ०१९ सालदेखि प्रतिवादी अधिया कमाई सालसालै बाली बुझाएको छन् भनी बुझिएका सरजमीनले किटानी साथ लेखिदिएको देखिएकोले मोही प्रतिवादीहरू ठहर्छ । जग्गा तेरो मेरो इन्साफगर्न चितवन जि.अ.मा पठाइदिने भन्ने समेत भू्.सु.जि.अ. चितवनको फैसला ।
५. प्रतिवादीहरू मोही ठहर्छ भन्ने फैसला भई आएको देखिन आएकोले अधियामा कमाएको भन्ने प्रतिवादीको जिकिर मनासिवै देखिएको हुनाले खिचोला गरेछन् भन्ने मुनासिव नहुँदा खिचोला गरेको ठहर्दैन भन्ने समेत चितवन जि.अ. को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
७. सट्टापट्टा लिएपछि घरवास बनाई चलन गरेको भन्ने देखिएकोले सट्टापट्टाबाट दिनु लिनु भई घरवास बनाइ चलन गरेकोमा खिचोला गरेको भन्न नमिल्ने हुनाले इन्साफ शुरुको मनासिव भन्ने नारायणी अञ्चल अदालतको फैसला ।
८. भू.सु.वि.अ. को फैसला बदर गरी पाउँ भन्ने भू.सु.वि.अ. उपरको १ र जग्गा खिचोला गरेमा सजाय गरी पाउँ भन्ने नारायणी अञ्चल अदालत उपर परेको १ समेत वादीको २ पुनरावेदन परेको रहेछ ।
९. जग्गा सट्टा गरी लेखिदिएको सक्कल कागज लिई आउनु भनी प्र.चक्रपाणी १ सालिग्रामलाई र अ.बं.१३९ नं.बमोजिम बुझ्नु पर्दा धर्मदत्त पहाडी १ धर्मदत्त तिमिलसिना १ लाई समेत ७ दिने म्याद दिई झिकाई पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको आदेश ।
१०. सो ४ किल्ला भित्रको जग्गा राप्तीदून जाँच कमिशनबाट ०२१ सालमा मेरो नाउँमा चलनी पूर्जी भएको जग्गा बिगाहा ३ हो, सो जग्गा प्र.चक्रपाणी सालिकरामहरूलाई अधिया कमाउन दिई निजहरूले कमाई आएको भन्ने समेत धर्मदत्त तिमिलसिनाको बयान ।
११. सो ४ किल्ला भित्रको जग्गा राप्तीदून जाँच कमिशनबाट ०१७ सालमा पाई मैले अवाद गरी १ बिगाहा दर्ता गरी सो जग्गा प्र.सालिकरामलाई अधिया कमाउन दिई खाइ आएको छु भन्ने समेत धर्मदत्त पहाडीको बयान ।
१२. ०१४ सालमा कमाउन वादीलाई दिई ०१५ सालमा चलन पूर्जी दिएको जग्गा र धर्मदत्त पहाडी र धर्मदत्त तिमिलसिनाले ०२१ सालमा चलनपूर्जी पाएको भनेको जग्गा छुट्टाछुट्टै हो भन्न दुवै पक्षले नसकेको, बिशेष अदालतबाट बुझेको सरजमीनको लेखाईले पनि जग्गा एउटै देखिएकोले वादीले ०१५ सालमा चलन पूर्जी पाइसकेकोमा सो पछि धर्मदत्त पहाडी र धर्मदत्त तिमिलसिनाले पाएको कायम मान्न भएन । सरजमीन मुचुल्कामा दक्षिणपट्टिको संधियार इन्द्रलाल पाध्या समेतको व्यहोरामा प्रतिवादीले घर बनाउन जग्गा सट्टापट्टा गरी लिई बनाएको हुँ भन्ने समेत लेखिएकोबाट प्रतिवादीले घरवास गरेको समेत देखिएको हुँदा यस्तो स्थितिमा प्रतिवादीहरूले खिचोला गरेको हो भन्न मिल्ने देखिएन । तसर्थ, प्रतिवादीहरूले जग्गामा खिचोला गरेको ठहर्दैन भनी शुरुको इन्साफ बहाल राखी नारायणी अञ्चल अदालतले फैसला गरेको र प्रतिवादीहरूले जग्गा कमाई आएको हुनाले प्रतिवादीहरू मोही ठहर्छ भनी भू.सु.बि.अ. ले फैसला गरेको समेत मुनासिव ठहर्छ भन्ने डिभिजन बेञ्चबाट ०२७।११।२३।१ मा निर्णय भएको रहेछ ।
१३. प्रस्तुत मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गीमा उधृत न्यायिक समितिको सिफारिसमा मोही कायम गरेको चितवन भू.सु.वि.अ. को फैसला उपर स.अ.मा परेको पहिलो पुनरावेदन र जग्गातर्फ खिचोला नठहराएको चितवन जि.अ. को सदर गरेको नारायणी अञ्चल अदालत उपरको दोश्रा पुनरावेदन समेत एउटै मिसिलमा समावेस गरी दुई अदालतको फैसला मनासिव छ भनी एउटै निर्णय गरेको रहेछ । यस्तो भिन्ना भिन्नै फैसला उपरको भिन्न भिन्न तहको पुनरावेदनहरू कारवाई किनारा लगाउँदा पुनरावेदन पिछे अलग फायल मिसिल खडा गरी पुनरावेदन पिच्छै छुट्टाछुट्टै फैसला खडा गरी टुंग्याउनु पर्नेमा नगरी एउटा कायम गरी निर्णय दिने पुनरावेदन सुन्ने प्रकृयामा अनियमितता आउने कुरा प्रष्ट छ । त्यस्तो कानूनी प्रकृयाको अनियमितता विद्यामान हुनु उचित देखिंदैन । अर्को कुरा सर्वोच्च अदालत डिभिजन बेञ्चको ध्यान चलन पूर्जी अघिपछि भएतर्फमात्र आकर्षति भएको देखिन्छ, मुख्य भोगको विवादतर्फ बेञ्चको ध्यान गएको देखिदैन । स.अ.डि.बे.का निर्णयजाँच्न आवश्यक देखिएको भन्नेसमेत उल्लेख भएको रहेछ ।
१४. यसमा डिभिजन बेञ्चबाट ०२७।११।२३।१ मा फैसला भए उपर प्रतिवादी धर्मदत्त पहाडी समेतको निवेदनमा न्यायिक समितिको सिफारिसमा मुद्दा दोहर्याई दिनु भन्ने २०२८।८।१२।१ मा बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादी यज्ञप्रसाद उपाध्याय प्रतिवादी चक्रपाणी उपाध्याय समेतको मोहियानी सम्बन्धमा चितवन भूमिसुधार बिशेष अदालतबाट ०२२।१२।२४ मा फैसला भए उपर वादीको पुनरावेदन परेको र यिनै वादी प्रतिवादीहरूको जग्गा खिचोला मुद्दामा नारायणी अञ्चल अदालतबाट फैसला भए उपर यिनै वादी यज्ञप्रसादको पुनरावेदन परेकोमा दुवै पुनरावेदनलाई एउटै मिसिल साथ समावेश गरी दुवै अदालतबाट भएको फैसला उपर एउटै निर्णय गरेको देखियो ।
१५. भिन्नभिन्न अदालतका भिन्नभिन्न फैसलाउपर परेको पुनरावेदनमा छुट्टाछुट्टै मिसिल खडा गरी छुट्टाछुट्टै फैसला गर्नुपर्नेमा नगरी ना.अं.अ.को ०२३।१०।१६ र भू.सु.बिशेष अ. चितवन को ०२२।१२।२४को फैसला मुनासिव ठहराई ०२७।११।२३।१ को डि.बे.बाट फैसला गरेको मिलेको देखिएन,बदर हुनेठहर्छ । अब छुट्टछुट्टै परेको पुनरावेदनमा छुट्टाछुट्टै मिसिल खडागरी कानूनबमोजिम पुनरावेदनहरू किनारा गर्नुभनी यो मिसिल डि.बे.पेशगर्न फाँटमा बुझाइदिनु ।
हामीहरूको सहमति छ ।
न्या. विश्वनाथ उपाध्याय,
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३४ साल जेष्ठ ८ गते रोज ६ शुभम् ।