June 14, 1977
Created by nepalarchives

निर्णय नं. १०३० – जग्गा छुट्याई पाउँ

निर्णय नं. १०३०     ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश...

निर्णय नं. १०३०     ने.का.प. २०३४

फुल बेञ्च

सम्माननीय न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश स. श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२८ सालको दे.फु नं. १५७

फैसला भएको मिति :       २०३४।२।३२।३ मा

वादी :       का.जि. लाजिम्पाट बस्ने ज. अग्नीशमशेर ज.ब.रा समेत

विरुद्ध

प्रतिवादी : ऐ. बागदरबार बस्ने फिल्डमार्सल श्री हरिशमशेर ज.ब.रा.समेत

मुद्दा : जग्गा छुट्याई पाउँ

(१)   मुलुकी ऐन अ.बं.२४ नं.माफ्ना खुसी राजीले जानी बुझी सहीछाप हालेपछि सो कागज सदर हुन्छ भन्ने व्यवस्था भएकोले जानी बुझी गरिदिएकोसो मञ्जुरनामा लिखत कानूनी मान्यता नहुने भन्न मिल्ने नदेखिने ।

(प्रकरण नं. १७)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली

उल्लेखित मुद्दा :    

फैसला

            न्या. वाशुदेव शर्मा : प्रस्तुत मुद्दा ०२८।१।१२।१ को डिभिजन बेञ्चले छिने उपर दोहर्‍याई पाउँ भन्ने वादीहरूको निवेदन परेकोमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट फैसला भएकोमा सो मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग राजदरबार मार्फत ०२८।९।२०।३ मा हुकुमको प्र.बक्स भई आई दोहरिएकोबाट यस बेञ्चको समक्ष पेश हुनआएको छ ।

            २.    तथ्य यस प्रकार छ : जग्गा बिगाहा ५२द्र२।।। ४, २००१ साल आषाढ २९ गतेको खड्गनिसाना बमोजिम हामी ५ भाइ सूर्यशमशेर १, नारायणशमशेर १ हरिशमशेर १, म अग्नीशमशेर १, बहादुरशमशेर १ समेत ५ भाइको ५ भागको १ भागमा जग्गा बिगाहा १०।३द्र१ का दरले पर्न आउने म अग्नीशमशेरको भागमा पर्न आउने जग्गाबाट रैतान नम्बरी बाहेक २ बिगाहा मलाई राखी बाँकी जग्गा छोरा ले.ज. केन्द्रशमशेरलाई दिएको विर्ता जग्गा रैकरमा परिणत हुँदा रैतान नम्बरी १७।।।ऽ।।। जग्गा कट्टी गर्दा बाँकी जग्गा बिगाहा ३४।२द्र४ मा ५ भागको १ भाग ६।।।२।३।।।मा अग्नीशमशेरको भाग बिगाहा २ म केन्द्रशमशेरको बुबाले दिनु भएको जग्गा बिगाहा ४।।।२।३।।। हक भएको नरमकरम मिलाई बण्डा छुट्याई पाउँ भन्दा सूर्यशमशेरतर्फको भाग इन्दिरादेवी राणाले पाएकी निजले मेरो भाग १० बिगाहा हुन्छ जहाँ मन लाग्छ उहीँबाट चलन गर्छु भन्ने कुरा गरेकी जग्गा बिगाहा ६।।।२।३।।। मात्र भागमा पर्छ भन्दा निजले पनि वास्ता नराखेकी, विपक्षी अरू अंशियारका भागमा पनि सोही बमोजिमका दरले पर्नेमा हामीहरूले जग्गा पनि छुट्याई लिइसकेका छौं आफ्नो जग्गामा जे गर्नुपर्छ गर्नु भन्ने जवाफ दिएको हुनाले बण्डामा घटबढ गर्न नपाउने गोश्वरा राखी भोग गरी आएको जग्गा अंशबण्डाको २८ नं.अनुसार बण्डा गर्नुपर्ने नगरी बढी जग्गा दर्ता गराए पनि ५ भागको १ भाग हाम्रो हकको जग्गा जान नसक्ने, त्यस्तो अंशबण्डाको जग्गा विपक्ष तेजबहादुर, गणेशप्रसादहरूले हरिशमशेरबाट पाएको छु भन्दै हिंडेको दिए लिएको भए उक्त लिखत हामीलाई सुनाउनु पर्ने भए सुनाई र सुनाउनै नपर्ने भए बदर गराई विपक्षीहरूबाट नरमकरम मिलाई भाग बण्डा छुट्याई जग्गा बिगाहा ६।।।२।३।।। मध्ये जग्गा बिगाहा २ म अग्नीशमशेरलाई र जग्गा बिगाहा ४।।।२।३।।। मा केन्द्रशमशेरलाई छुट्याई दिलाई अंशियारहरूलाई र भाग नछुट्याई जग्गा दिए पाएको भन्दै हिडेमा दिने र लिनेलाई समेत ऐनबमोजिम सजाय गरी पाउँ भन्ने समेत ०२०।१२।३०।१ अग्नीशमशेर, केन्द्रशमशेरको एउटै फिरादपत्र ।

            ३.    मैले श्री ज. हरिशम्सेरज्यूबाट रिज वापत जिल्ला बारा प्रगन्ना टोकनी मौजे मुरली बगैंचाको ५ बिगाहा जग्गा ०१९।८।११ गतेमा बकसपत्र लेखी रजिष्ट्रेशन पास गरी दिनु भएको मालमा लगत दिई वीरगञ्ज सर्भेबाट नाप नक्सा गरी ०२०।४।३।४ मा मेरो नाउँमा दर्ता गरी पूर्जा समेत दिएको छ । उक्त जग्गा मध्ये सोर कठ्ठा, आठ धुर जग्गा मबाट २०२०।८।१९।५ मा श्री ५ को सरकार वीरगंज गोश्वाराले खरीद गरी लिएको र चौध कठ्ठा जग्गा हेटौंडा बस्ने चन्द्रप्रसादलाई ०२०।११।४ मा मैले राजिनामा गरिदिएको छु । भाइ उदयबहादुरलाई ०२०।१२।२३ गते १ बिगाहा, जग्गा बकस दिएका छु । लेखिए अनुसार बेचबिखन तिरो भरो समेत गरी भोगी आएको श्री ५ को सरकारलाई बिक्री गर्दा समेत अबण्डा भए वादीहरूले मौकैमा उजूर गरी निर्णय गर्नुपर्ने नगरी बसेकोले वादी दावा झुटो हो भन्ने समेत तेजबहादुरको प्रतिउत्तरपत्र ।

      ४.    ज. बहादुरशमशेर, ज. नारायणशमशेर, म हरिशमशेर, ज.सूर्यशमशेर वादी अग्नीशमशेर समेतको मुरली बगैंचाको खड्गनिसाना अनुसार ५ बण्डा हुने हो, एक भागमा जग्गा बिगाहा ६।।।२।४।। का दरले पर्छ, फ्नो भाग शान्ति तिरो भरो गरी आई मेरो भागको जग्गा मध्ये बिगाहा १।।२।४ टीकाप्रतापलाई बकस दिएको छु, वादीको भाग समेत बकस दिएको र जग्गा भोग गर्न दिएन भन्ने वादी दावा फजूल हो, गणेश हजामलाई ५ भाइको मञ्जुरी भए ५ बिगाहा जमीन दर्ता गरिदिनु भनी बद्रीलाई चिठ्ठी लेखिदिएको सबैको मञ्जूर नभई दर्ता गर्न मिल्दैन भनी बद्रिलालले जवाफ दिएछन्, बारा मालबाट गणेश ठाकुरले दर्ता गराएछ, त्यसमा मेरो उजूर परी बागमति अञ्चल अदालतमा दर्ता बदर मुद्दा दायर भई कारवाही भईरहेको छ भन्ने समेत श्री ज.हरिशमशेरको प्रतिउत्तरपत्र ।

      ५.    श्री ज. हरिशमशेरबाट ०१६।२।२४ मा मैले पाएको जग्गा बिगाहा ५ मैले बारा मालबाट ०१७।११।१३ गतेका फैसला अनुसार दर्ता गराई तिरो भरो गरी ०२०।७।२९ मा मधुदेवीलाई छोडपत्र गरी दिइसकेको छु, वादीको फिराद खारेज होस् भन्ने समेत गणेश हजाम ठाकुरको प्रतिउत्तरपत्र ।

            मेरो पतिज्यूले ज. युवराजशमशेरले मलाई लेखिदिई बक्सेको ०१६।९।३ गतेको लिखत र ई.अ. ललितपुरको ०१९।१।२७ गतेको फैसला समेतबाट मुरली दरबारको जग्गा बिगाहा १० दस मैले पाउने ठहरेकोले नापजाँच गरी रैकरमा परिणत गरी मेरो नाउँमा दर्ता समेत भएको छ, बढी जग्गा पाउने हूँ भनी बण्डा छुट्याई दिएन भनी वादीहरूको मेरो उपर दिएको उजुूर खारेज होस्, वादीहरूकै मञ्जूरीबाट मेरो भाग छुटिसकेको र दर्ता गरी तिरो भोग चलन समेत गरी आएकी हुँदा वादीहरूले मेरो उपर झुटो फिराद दिनु भएको भन्ने समेत इन्दिरादेवी राणाको प्रतिउत्तरपत्र ।

      ६.    वादी अग्नीशमशेर समेतको मञ्जूरीको लिखत बारा मालमा दाखिल गरी जग्गाको फाँटवारी पेश गरेको सो बमोजिम बारा मालबाट ०२०।५।१९ मा सरजमीन नापी मुचुल्का भई कानून अनुसारको (क) (ख) विर्ता छुट्याई (ख) विर्ता उक्त मालबाट ठहराई जग्गा बिगाहा ८।।४।।१ मेरो नाउँमा रैकरमा परिणत दर्ता गरिदिएकोले तिरो रु.१७४।५५ बुझाई उक्त मालबाट रसिद लिएको छु, दर्ता बदर होस् भन्ने उजूर बेगर मेरो नाउँको दर्ता बदर हुन नसक्ने, राजीखुशीले जग्गा छुट्याई लिखत मञ्जूरनामा दिइसकेपछिको यो फिराद वादी अग्निशमशेरको र सम्पत्तिमा दायित्व नहुने केन्द्रशमशेरको उजूरी अ.बं.८२ नं.ले दायर हुनै नसक्ने भन्ने समेत ज. बहादुरशमशेरको प्रतिउत्तरपत्र ।

      ७.    ले.ज. नारायणशमशेरले २०२१।३।९ गते तामेल भएको शुरु म्यादै गुजारी प्रतिउत्तरै नदिई बस्नु भएको रहेछ ।

      ८.    वादी अग्नीशमशेरले विर्ता उन्मूलन कानून अनुसार जग्गाको फाँटवारी पेश गर्नु हुँदा गोश्वारा नै राखी भोगी आएको जग्गा हो भनी जनाई जग्गाको फाँटवारी दिएको हुनु पर्नेमा ०२०।८ वे गतेमा बारा मालमा दिनु भएको फाँटवारीबाट र वादी ले.ज. केन्द्रशमशेरले दिनु भएको फाँटवारी समेतमा सो गोश्वारा राखिएको कुरा नदेखिई मुरली बगैंचाको जग्गा १० बिगाहा केवल आफ्नो भागमात्र लेखी वादीहरूले पेश गर्नु भएको र उक्त फाँटवारी बारा मालमा वादी अग्नीशमशेरले दाखिल गर्नु हुँदा ले.ज. नारायणशमशेरबाट भाग छुट्याई गराई दिए लिएको ०२०।७।२ को मञ्जूरीको लिखत समेत प्रमाणमा पेश गर्नु भएको बारा मालबाट आएको प्रमाणको मिसिलबाट देखिएको समेत हुँदा मुरली बगैंचाको जग्गा भाग बण्डा छुट्याएको थिएन, छैन गोश्वारा नै रहे राखेको थियो, भागवण्डा छुट्याई पाउँ भन्ने र भागबण्डा नभएको जग्गा दिए लिए भन्ने समेत वादीहरूको फिराद दावा झुटो ठहर्छ भन्ने ०२३।१०।२४।२ को काठमाडौं जिल्ला अदालतको फैसला ।

      ९.    सो उपर चित्त बुझेन भन्ने वादीहरूको पुनरावेदन ।

      १०.    २००१ साल श्रावण २५ गते रोज ४ का बण्डापत्रको ४ दफाको प्रतिलिपि व्यहोराबाट वादी दावी बमोजिमको वीरगञ्ज मुरलीको बगैंचा र जग्गा वादी श्री ज.अग्नीशमशेर समेत ५ जनाको २००१।३।२९।४ को खड्गनिसाना बमोजिम पाई सजिया गरी भोग चलन गरी आएको भन्ने देखिन्छ । उक्त जग्गा मध्ये श्री इन्दिरादेवी राणले वादी समेतको मञ्जूरी लिई जग्गा दर्ता गराई आएको प्रमाणलाई पेश भएको मञ्जूरी कागजबाट देखिन आएकोले वादी दावी बमोजिमको जग्गामा वादी श्री ज. अग्नीशमशेरको हक हिस्सा रहेछ भन्ने निर्विवाद हुन आयो । वादी दावी बमोजिम वादीको भाग हिस्साको वादी हक भएको जग्गा वादीको हक छुटेको प्रमाण लिखतहरू प्रतिवादीबाट दाखिल हुन नआएको प्रतिवादी श्री ले.ज. नारायणशमशेर, श्री फिल्डमार्शल हरिशमशेर र वादी श्री ज. अग्नीशमशेरको बीचमा वादी दावीको जग्गामा भाग बण्डा छुट्याउन पर्ने नछुटी बाँकी रहन आएको वादी तर्फबाट बिर्ता उन्मूलन ऐनबमोजिम जग्गा रैकरमा परिणत गर्न बारा मालमा फाँटवारी दाखिल भएको फाँटवारीमा जग्गा कित्ता समेत नखोलिई जम्मा जग्गा बिगाहा ५४।।ऽ।।।२ मध्ये १० बिगाहा भन्नेमात्र लेखिएको, तद्अनुसार पनि वादीको जग्गा छुट्टी दर्ता भएको देखिन नआएकोले वादीले प्रतिवादी मध्ये श्री फिल्डमार्शल हरिशमशेर, श्री ले.ज.नारायणशमशेर जना २ बाट वादी दावी बमोजिमको जग्गाको हैसियत मिलाई बण्डा छुट्याई लिन पाउने ठहर्छ भन्नेसमेत बा. अञ्चल अदालतको ०२६।२।१६।५ को फैसला ।

      ११.    सो उपर चित्त बुभेन भन्ने प्रतिवादी तेजबहादुरको र वादी ज.अग्नीशमशेर, ज.केन्द्र शमशेरहरूको पुनरावेदन ।

      १२.   प्रतिवादी फिल्डमार्सल ज.हरिशमशेर ज.ब.रा ले ज.नारायणशमशेर ज.ब.रा समेत २ जनाबाट वादीलाई जग्गा छुट्याई दिने भनी अञ्चल अदालतले फैसला गरेकोमा फिल्डमार्सल ज.हरिशमशेरको र ले.ज.नारायणशमशेरका पुनरावेदन नपरेको हुनाले त्यसतर्फ केही विचार गर्न परेन । प्रतिवादी ज.बहादुरशमशेर ज.ब.रा र इन्दिरादेवी राणा समेतबाट जग्गा छुट्याई पाउनु पर्ने भने वादी पुनरावेदन जिकिरका हकमा निज प्रतिवादी इन्दिरादेवी राणा र ज. बहादुरशमशेर राणालाई यो यति जग्गा छुट्याई दिने भनी वादी समेतले मञ्जुुरी दिएबाट उहाँहरूको नाउँमा जग्गा छुट्याई दर्ता भइसकेको सो मञ्जुरीलाई रजिष्ट्रेशन पास नभएको भनी वादीले जिकिर गर्नु भएकोमा अंशबण्डाको बण्डापत्र वादी प्रतिवादीका वीच गर्नु नपरेको खड्गनिसाना भई बण्डा छुट्याइएको भनिएको सो छुट्याइएको जग्गा गोश्वराबाट भोग गर्ने वा कित्ता कित्तै छुट्याउने कुराको सम्म यस मुद्दामा प्रश्न उठाइएको देखिन्छ । अंशियारहरूले केही जग्गा आपसमा छुट्याई लिए दिएकोमा तत्कालिन जग्गा मिच्नेको २१ नं.र जग्गा पजनीको ३४ नं.को म्याद २ वर्ष नाघी सकेपछि वादी लेखेको जग्गा मध्ये केही इन्दिरा राणालाई र ज.बहादुरशमशेरलाई वादी ज. अग्नीशमशेर समेतले छुट्याई दिएको मञ्जुरी कागजलाई रजिष्ट्रेशन पास नभएको भनी हाल तर्क उठाउन नमिल्ने हुनाले प्रतिवादी इन्दिरादेवी राणा र ज.बहादुरशमशेर ज.ब.रा. समेतबाट जग्गा छुट्याई पाउन पर्ने भन्ने वादी पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सकेन । पुनरावेदक तेजबहादुरका हकमा निजको लिखत बदर गराई पाउँ भन्ने वादीको दावा भएकोमा सो लिखत बदर नहुने भनी अञ्चल अदालतले ठहराई सकेको हुनाले निजको पुनरावेदन जिकिरका केही विचार गर्न परेन, इन्साफ अञ्चल अदालतको मुनासिव ठर्हछ भन्ने २०२८।१।१२।१ को डिभिजन बेञ्चको फैसला ।

      १३.   यस बेञ्च समक्ष निवेदन वादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले खड्गनिसानामा वडामहारानीका ५ भाइ छोराले बण्डा गरी खाने प्रष्ट उल्लेख छ, मेरो पक्षले ज.बहादुरशमशेर, इन्दिरा राणाहरूलाई मञ्जुरी लिखत गरी दिएबाट वहाँहरूको भाग छुट्याएको भन्ने हकमा त्यस्तो लिखत ऐनबमोजिम रजिष्ट्रेशन पास हुनुपर्ने नभएको सदर नहुने र मेरो पक्षहरूले पाउनु पर्ने भाग नपाएको हुँदा वादी दावी बमोजिम जग्गा छुट्याई पाउनु पर्छ भन्ने समेत र प्रतिवादी इन्दिरादेवी, गणेश ठाकुरहरूकातर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले इन्दिरादेवीको हकमा फैसला समेत बमोजिम पाउने गरेको जग्गा बिगाहा १० वादी केन्द्रशमशेरको बुबा वादी अग्नीशमशेर समेतको मञ्जुरी लिखत बमोजिम जग्गा छुट्याई दर्ता भएको हो, त्यस्ता जग्गा छुट्याउने विषयसम्मको लिखत ऐनले रजिष्ट्रेशन पास गरी रहनु पर्दैन । गणेशप्रसादको ठाकुर हकमा निजले हरिशमशेरका दस्तखत बमोजिम पाएको जग्गा बिगाहा ५ मा मुद्दा परी डिभिजन बेञ्चको फैसला समेतबाट निजको हक पक्का भइसकेको छ, बकस पाएको सम्पत्ति छुट्याई पाउँ भन्ने हुनाले अंशबण्डाको ऐन अन्तर्गत बण्डा छुट्याई पाउँ भन्ने दावी लिई आएको यो फिराद खारेज हुनुपर्छ भन्ने समेत र विपक्षी तेजबहादुरतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले बण्डा छुट्याउने भनेको भाइ भाइको बीचमा हुने विषय हो लिखत बदर गरी पाउँ भन्ने अर्कै विषय हुनाले दुई विषयको एउटै फिरादले हेर्न मिल्दैन खारेज हुनुपर्छ । मेरो पक्षलाई हरिशमशेरले ५ बिगाहा जग्गा लिखत गरिदिनु भएको त्यस भन्दा बढिनै उहाँको भागमा पर्ने हुँदा उहाँको हकको जग्गा मध्येकै मेरो पक्ष गणेशप्रसादले पाएको बदर हुन सक्ने कुरै छैन । मेरो पक्षले पाएको ५ बिगाहा कायमै हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

      १४.   यसमा निर्णयतर्फ हेर्दा जि.बारा प्र. टोक्नी मौजे मुरली गहवाको जग्गा ५४।।९।।।२ र सो जग्गामा बनेको बङ्गला घर समेत ९८।१।२२ गते मुमा जिजुमुमा श्री ३ वडामहारानी पदमकुमारीका नाउँमा विर्ताको लालमोहर भएको त्यसपछि २००१ साल आषाढ २९ गतेका खड्गनिसानाले उक्त जग्गामा बनेको र घर २ मध्ये ठूलो मुरली दरवारको घर कम्पाउण्ड, सो घर कम्पाउण्ड बाहिर बनेको भण्डार घर १, पावर हाउस १, पम्प घर १, सो क्याम्पमा जोडिएको टहरा १ र दरवार भित्र पस्ने वाटोदेखि दक्षिण पट्टीको पोखरी १, समेत श्री बहादुरशमशेरलाई पछि बनेको सानो घर कम्पाउण्ड सो कम्पाउण्डमा जोडिएको टहरा घर दरवारभित्र जाने बाटोदेखि उत्तरपट्टिको पोखरी, समेत श्री नारायणशमशेरलाई बक्स बक्सी सो बाहेक बाँकी जग्गामा श्री ३ वडामहारानीतर्फको छोरा ५ जनाकोमात्र हक लाग्ने भएको उक्त घर कम्पाउण्डको जग्गा २।२।।।३ कट्टी गर्दा जम्मा जग्गा बिगाहा ५२ऽ।२।।।४ मा श्री ३ वडामहारानीको छोरा इन्दिरा राणाको ससुरा सूर्यशमशेर र श्री नारायणशमशेर १, श्री हरिशमशेर १, म अग्नीशमशेर १, श्री बहादुरशमशेर १ समेत ५ भाइ छोरा भएकोले ५ भागको १ भागमा १०।३ऽ१ का दरले म अग्नीशमशेरको भागमा आउने जग्गाबाट रैकर नम्बरी बाहेकको २ बिगाहा मलाई राखी बाँकी छोराले ज.केन्द्रशमशेरलाई दिएकोले म केन्द्रशमशेरको हक भएको विर्ता जग्गा रैकरमा परिणत गर्नुपर्ने परिणत हुँदा रैतानी नम्बरी १७।।।ऽ।।। कट्टी गर्दा बाँकी ३४।२द्र४ मा ५ भागको १ भाग ६।।।२।३।।। जग्गामा २ बिगाहा म अग्नीशमशेरलाई राखी बाँकी ४।।।२।३।।। छोरा केन्द्रशमशेरलाई दिएको नरमकरम मिलाई बण्डा छुट्याउ भन्दा जे गर्नुपर्छ गर्नु भन्ने जवाफ दिएको, त्यस्तो अंशबण्डा जग्गा मध्येबाट केही जग्गा गणेशप्रसाद, तेजबहादुरले हरिशमशेरबाट पाएको भन्दै हिड्नु भएको, बण्डै नछुट्याएको अंशियारको मञ्जुरी बेगर मनोमानी किल्ला र यति जग्गा भनी आफूले दिन पाउने भन्दा बढी जग्गा दिएको र लिएको भए सदरै हुन नसक्ने साथै दिए पाएको भए लिखत हामीलाई सुनाउनु पर्ने भए सुनाई र त्यसै बदर हुने भए बदर गराई पाउँ उपरोक्त लेखिएबमोजिम जग्गा बिगाहा ६।।।२।३।।।मा म अग्नीशमशेरलाई २ बिगाहा र म केन्द्रशमशेरलाई ४।।।२।३।।। विपक्षी अंशियारहरूबाट भाग छुट्याई दिलाई पाउँ भन्ने समेत वादीको दावी भएकोमा इन्दिरादेवी राणा र पु.क.ज बहादुरशमशेरतर्फको हक हिस्सा दर्ता गराउनलाई वादीबाट समेत मञ्जुरी प्राप्त गरी जग्गा समेत दर्ता भइसकेको मालको कारवाहीको मिसिलाट देखिन आएको हुँदा प्र. इन्दिरादेवी पु.क.ज. बहादुरशमशेरतर्फबाट वादीले बण्डा छुट्याई पाउन सक्ने भन्न मिल्दो भएन, उक्त २ जनासँग वादीले बण्डा छुट्याई पाउँ भन्ने दावी पुग्न नसक्ने, हरिशमशेरबाट जग्गा प्राप्त गर्ने भनेको प्र. गणेश ठाकुर हजामले प्राप्त गरेको जग्गातर्फ दिने पाउनेकै बीच मुद्दा चलिरहेकै देखिन आएको, प्र. तेजबहादुरतर्फ मुद्दा नचले पनि त्यसतर्फ हरिशमशेर ज.ब.रा को हक हिस्सा पनि भई वहाँबाट प्राप्त भएको जग्गा हुँदा वादीको लिखत बदरको दावी उचित भन्न नमिल्ने हुँदा यस मुद्दाबाट विचार गरी रहनु नपर्ने वादीको जग्गा छुट्टी दर्ता भएको देखिन नआएकोले वादीले प्रतिवादी मध्ये फिल्डमार्सल श्री हरिशमशेर ज.ब.रा. श्री ले.ज.नारायणशमशेर ज.ब.रा जना २ बाट वादी दावी बमोजिमको जग्गाको हैसियत मिलाई बण्डा छुट्टाइ लिन पाउने ठर्हछ, फिराद दावी झुटो ठहराएको शुरुको गल्ती ठर्हछ भन्ने बा.अं.अदालतबाट ०२६।२।१६ गते भएको इन्साफ मुनासिव ठहराई ०२८।१।२२ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

      १५.   श्री ३ महाराज जुद्धशमशेर जङ्गबहादुर राणाबाट २००१।३।२९ मा भएको खड्गनिसानामा श्री उ.क.ज. बहादुरशमशेर जङ्गबहादुर राणा, श्री ज. अग्नीशमशेर जङ्गबहादुर राणा, श्री ज.हरिशमशेर जङ्गबहादुर राणा, श्री ले.ज. सूर्यशमशेर जङ्गबहादुर राणा, श्री ले.ज. नारायणशमशेर राणाप्रति हामीले ठूलो कुथरथ गरी रैती दुनियाँलाई समेत भलाई हुने काम काज गरेमा भूकम्पले भत्कि विग्रिरहेको वीरगञ्ज मुरली दरवारको जग्गा घरको सट्टा विर्तावारलाई भर्ना दिई माल दर्ता भईरहेको फलफूलको विरुवा लागेको बगैंचा जग्गा माल दर्ता भएपछि सरकारी खर्च लागि बनेको बङ्गला घर समेत तिम्रा जहान परिवार सबै अंशियारहरूको हक राखी अंश भाग अनुसार फलफूल बाँडी खाने खुवाउने प्रवन्धसँग ९५ सालका बालीदेखि सन्तान दरसन्तान पर्यन्त भोग चलन गरी खान पाउने गरी बकस विर्ता गरी बक्सौ भनी श्री ३ वडामहारानीका नाउँमा बक्स विर्ताका लालमोहर गर्ने गरी बक्सेकोमा लालमोहर हुँदा सो मुरली दरवारको आयस्ता आँप, लिची, फलफूल आउने जग्गा बिगाहा ५४।।.।।।२ र सो जग्गामा बगैंचा बनेको बङ्गला घर समेत तिम्रो जाहान परिवार सबैले अंश भाग अनुसार फलफूल बाँडी खान पाउने गरी बक्स विर्ता गरिबक्स्यौं भन्ने बोली लेखिएकोले श्री ३ वडामहारानीतर्फको छोराहरूकोमात्र हक लाग्ने जस्तो देखिन आए तापनि हामीले कुदरथ गरी माथि लेखिएबमोजिम हाम्रा जहान परिवार सबै अंशियारले अंश भाग अनुसार फलफूल बाँडी खाने प्रवन्धसँग बक्सेको हुनाले सो मुरलीको घर बगैंचा जग्गा वडामहारानीतर्फका जहान छोराहरूकोमात्र हक लाग्न नसक्ने, हाम्रा जहान परिवार सबैको हक लाग्ने गरी पाएको हो तापनि तिम्रा घरका श्री सम्पत्ति नगदी, जिन्सी, विर्ता मध्ये पहाड नेपालको घर खेत, पाखा जग्गा जमीन, दोपाया, चौपाया, जो छ गैरमा ऐनमा यस यस दरले अंशबण्डा गर्नु भन्ने छ तापनि तिमीले आफ्ना तजविजले बण्डा गरिदिएकोमा ऐनबमोजिम मलाई थोरै भयो भनी अरू कसैले उजूर गर्न आयो भने हामीबाट र हाम्रा सन्तानबाट उजूर सुन्या छैन, अरू कसैले पनि नसुन्नु कसैले सुन्यो भने पंच महापातक लाग्ला, कसैले उजूर गर्‍यो भने निमक हराम ठहर्ला भनी हुकुमको लालमोहर गरी बक्स्यौं, फ्ना तजविजले अंशबण्डा गरी दिई खान दान बकस जो दिनुपर्ने तिम्रो रुक्का गरी दिने काम गर भन्ने सम्वत् १९८९ साल आश्विन १७ गते १ मा श्री ५ महाराजाधिराबाट हामी श्री ३ महाराजाका नाउँमा लाममोहर गरिवक्सेको हुँदा सो लालमोहरबाट सो मुरलीको वगैंचा जग्गा हामीले जजसलाई बक्स बक्से पनि वकस दिन पाउने भएका र सो बगैंचा जग्गा धेरै जनाको साझा गरिराख्दा पछि बगैंचा विगे्रमा खर्च गरी बनाउनलाई सबै अंशियारको सल्लाह लिई खर्च लिई बनाउनु पर्ने हुन गई सल्लाह नमिलेसम्म अलपत्र परिरहने उसमा पनि फलफूल आयको अंश भाग अनुसार भाग शान्ति बाँड्नालाई धेरै अंशियारमै थोरबहुत आयमा बाँड्नलाई असजिलो परी आपसमा बखेडा उठ्ने संभव हुनाले श्री छोरा नानी उ.क.ज. बहादुरशमशेर जङ्गबहादुर राणा, ले.ज. नारायणशमशेर जङ्गबहादुर राणालाई बक्सेको घर कम्पाउण्ड पोखरी बाहेक अरू बाँकी बगैंचा जग्गा अरू अंशियारहरू कसैको हक नलाग्ने गरी तिमी श्री ३ वडामहारानीतर्फका छोराहरू ५ जनाकोमात्र हक लाग्ने गरी बकस बक्सेको छ, सो बमेजिम बकस बक्सेको जानी तिमीहरू ५ जनाले सन्तान दर सन्तान पर्यन्त भोग चलन गरी खानु अरू दाजुभाइ कसैको हक दावा लाग्दैन भन्ने उल्लेख भएकोबाट सो खड्ग निसानले उक्त ज. बहादुरशमशेर ज.ब.रा.ले.ज. नारायणशमशेरलाई बक्सेको घर कम्पाउण्ड पोखरी बाहेक अरू बाँकी बगैचा जग्गा श्री ३ वडामहारानीतर्फको वादी समेतको ५ जना छोराहरूकोमात्र हक लाग्ने भई ५ भागको १ भाग वादी अग्नीशमशेरको हक लाग्ने देखिन आएको छ ।

      १६.    उक्त मुरली बगैंचाका जग्गा छुट्याई दर्ता गरिदिने सम्बन्धमा गरिदिएको मञ्जुरनामा भनेको लिखत रजिष्ट्रेशन पारित नभएकोले कानूनी नहुने भन्ने निवेदकतर्फको विद्वान अधिवक्ताले वहस जिकिर लिएतर्फ विचार गर्दा मञ्जुरनामा भनेको लिखतहरू निम्न प्रकारको देखिन्छ ।

(क)   हामी राजर्षी महाराज श्री जुद्धशमशेर ज.ब.रा का ५ भाइ छोराहरू श्री बहादुरशमशेर ज.ब.रा समेतको हक लाग्ने अंशबण्डा रहेको वीरगञ्ज मुरली दरवार बगैंचामध्ये ५ भागको १ भाग पाउने हकदार ठाइला भाइ श्री ज. सूर्यशमशेर ज.ब.रा परलोक भई निजका हकवाला श्री ले.ज. युवराजशमशेर र निजकी रानी इन्दिरादेवी राणामात्र भएकिले निजहरू २ जना पनि छुट्टी ल.पु. अदालतबाट समेत फैसला भई निज दुवैजनाको हकको एकलौटी निज युवराजशमशेरकी इन्दिरादेवी राणाले पाइसकेकी छन् ।

            आज सम्म अंशबण्डा रहेको जग्गाहरूको मैले नै मुख्य भई काम गरिहेको छु, निज बुहारीले अंश छुट्याई पाउँ रैकरमा परिणत गरी आफ्नो नाउँमा दर्ता गरी आफ्नो जिविका चलाउँछु भनेकाले फैसला बमोजिम कानून नछुट्याई आफ्नो नाउँमा नामसारी गर्नुपर्ने हुँदा उक्त जग्गामध्ये ५ भागको १ भाग त्यसै मालबाट नापजाँच गरी पश्चिम रेल्वे लाइन मूल सडक उत्तर रैतिहरूको रैकर जग्गा पूर्व रैतिहरूको भाग तीनतिर पर्खाल कम्पाउण्ड, दक्षिण यही मध्येको हाम्रो जग्गा यति ४ किल्ला भित्रका जग्गा बिगाहा १० विर्ता उन्मूलनको ऐनको रीत पुर्‍याई निज बुहारी इन्दिरादेवी राणाका नाउँमा दर्ता गरिदिनु भएमा हामीहरू अन्य अंशियारहरूले मलाई दिएका अधिकार अनुसार यो मञ्जुरी दिएको छु सो बमोजिम निज बुहारीका नाउँमा उक्त जग्गा दर्ता गरिदिनु हुन अनुरोध गरेको छु भन्ने हरिशमशेर ज.ब.रा ले बारा माललाई लेखेको ।

(ख)   हामी राजर्षी महाराजाका ५ भाइ छोराहरूको समान हक लाग्ने मुरली बगैंचा वीरगञ्जको बगैंचा जग्गा अद्यापिसम्म अशंबण्डा रहेको उक्त ५ भागको १ भागका हकदार ठाहिला भाइ श्री ले.ज. सूर्यशमशेर परलोक भइसकेकोले त्यस भागका हकदार छोराले ज. युवराजशमशेर र निजकी रानी तिमी बुहारी इन्दिरादेवी राणामात्र भएको मिति २ जना पनि छुट्टि भिन्न भई अदालतबाट समेत फैसला पाइसकेकीले उक्त बगैंचा जग्गा मध्ये पश्चिम रेल्वे लाईन मूल सडक उत्तर रैतिहरूको रैकर जग्गा पूर्व रैतिहरूको जग्गा तिनतिर पर्खालले घेरिएको दक्षिणपट्टि यहि मध्येको हाम्रै जग्गा यति ४ किल्लाभित्रको जग्गा तिमीले पाएका फैसला र छोरा युवराजशमशेरले गरिदिएका कागज बमोजिम बारा, पर्सा मालबाट छुट्याई विर्ता उन्मुलन ऐनको रीत पुर्‍याई आफ्नो नाममा दाखिल खारेज दर्ता गराई लिनु भनी मेरा मनोमन खुसीराजीले यो मञ्जुरनामा लेखी तिमीलाई दिएको छु, सम्बन्धित अड्डामा पेश गरी लेखे बमोजिम गराई लिनु भनी इन्दिरादेवी राणालाई बहादुर शमशेरले ०१९।८।१७ मा लेखिदिएको ।

(ग)   हामी राजर्षी श्री ३ महाराजाका ५ भाइ छोराको समान हक लाग्ने मुरली बगैंचा जग्गा आजसम्म अबण्डा रहेको उक्त ५ भागको १ भागका हकदार ठाहिला भाइ श्री ले. ज. सूर्यशमशेर ज.ब.रा. परलोक भइसकेकोले त्यस भागका हकदार छोरा ले.ज. युवराजशमशेर निजकी रानी तिमी बुहारी इन्दिरादेवी राणामात्र भएका मिति २ जना पनि छुट्टिई भिन्न भई अदालतबाट समेत फैसला पाइसकेकीले उक्त बगैंचा जग्गा मध्ये पश्चिम रेल्वे लाईन मूल सडक, उत्तर रैतिहरूको रैकर जग्गा पूर्व रैतिहरूको जग्गा रैकर तीनतिर पर्खालले घेरेको दक्षिणपट्टि यहि मध्ये हामै्र जग्गा यति ४ किल्ला भित्रको जग्गा तिमीले पाएका फैसला र युवराजशमशेरले गरिदिएका कागज बमोजिम बारा पर्सा मालबाट छुट्याई विर्ता उन्मूलनको रीत पुर्‍याई आफ्ना नाममा दाखिल खारेज दर्ता गरी गराई लिनु भनी मेरो मनोमान खुसीराजीसँग यो मञ्जुरनामा लेखी तिमी बुहारी इन्दिरादेवी राणालाई दियाँ सम्बन्धित अदालतमा गई यो कागज पेश गरी लेखिएबमोजिम तिमीले आफ्ना नाउँमा दाखिला खारेज दर्ता गराई लिनु भन्ने अग्नीशमशेर ज.ब.रा ले इन्दिरादेवी राणालाई लेखिदिएको ।

(घ)   हामी राजर्षी महाराज जुद्धशमशेरका ५ भाइ छोराहरूको समान हक लाग्ने मुरली बगैंचा वीरगञ्जको बगैंचा जग्गा आजसम्म अबण्डा रहेको उक्त ५ भागको १ भागका हकदारलाई श्री ले.ज. सूर्यशमशेर ज.ब.रा परलोक भइसकेको त्यस भागका हकदार छोराले ज.युवराजशमशेर र निजकी रानी तिमी बुहारी इन्दिरादेवी राणामात्र भएका तिमी २ जना पनि भिन्न भई अदालतबाट समेत फैसला पाइसकेकोले उक्त बगैंचा जग्गा मध्ये पश्चिम रेल्वे लाईन, मूल सडक उत्तर रैतिहरूको जग्गा, पूर्व रैतिहरूको जग्गा तिनतिर पर्खालले घेरिएको जग्गा दक्षिणपट्टि यहि हाम्रै बगैंचा जग्गा मध्येको जग्गा यति ४ किल्ला भित्रको जग्गा बिगाहा १० छोरा युवराजशमशेरले गरिदिएको कागज र फैसला बमोजिम सम्बन्धित मालमा गई विर्ता उन्मूलन ऐनको रीत पुर्‍याई आफ्नो नाउँमा दाखिल खारेज दर्ता गरी गराई लिनु भनी मेरो मनोमान खुसीराजीसँग यो मञ्जुरनामा लेखी तिमि बुहारी इन्दिरादेवी राणालाई दियाँ, सम्बन्धित अड्डामा गई पेश गरी लेखिए बमेजिम गरी लिनु भन्ने नारायणशमशेरले इन्दिरादेवी राणालाई ०१९।८।२१ मा लेखिदिएको ।

(ङ)   म र बुबाहरू ४ भाइ समेत ५ जना अंशियारहरूको समान हक लाग्ने अबण्डा रहेको मुरली बगैंचा वीरगञ्ज मेरो हक जति जम्मै मैले मेरो छुट्टिई भिन्न बसेको धर्मपत्नि इन्दिरादेवी राणालाई हक छोडी दिइसकेको र हामी दुवैको अंश मुद्दा परी निज रानीले जितापत्र पाई उक्त अंश मुद्दामा मेरो अपील समेत नपरी निज रानीले अन्तिम निर्णय पाइसकेकोले यही ०१९ साल भाद्र २३ गते घरसारमा कागजपत्र समेत भइसकेकोले उक्त जग्गाको हाम्रो अन्य ४ जना अंशियार अंशियारहरूले सो बगैंचा मध्ये पश्चिम रेल्वे लाईन मूल सडक, उत्तर रैतिहरूको जग्गा, पूर्व रैतिहरूको जग्गा तिनतिर पर्खालले घेरिएको दक्षिणपट्टि यहि मध्येको हाम्रै जग्गा बिगाहा १० छुट्याई दिइसकेकोले माथि लेखिएको ४ किल्ला भित्रको जग्गा बिगाहा १० विर्ता उन्मूलन ऐनबमोजिम निज रानी इन्दिरादेवी राणाका नाउँमा दाखिल खारेज दर्ता गरिदिनु भएमा मेरो मञ्जुर छ पछि कुनै कुराको उजूर गर्ने छैन गरे यसै कागजबाट बदर होस् भन्ने ०१९।१०।१९ मा युवराजशमशेरले बारा पर्सा माललाई लेखिदिएको ।

(च)   राजर्षी महाराजा जुद्धशमशेर ज.ब.रा बुबाज्यूको छोरा हजुर १ भाइ ज. हरिशमशेर १ भाइ, ले.ज. सूर्यशमशेर १ भाइ, ज.नारायणशमशेर १ र म समेत ५ जनाको समान हक लाग्ने वीरगञ्ज मुरली दरवारको बगैंचा बण्डा भई नसकेकोमा हालै भाइले ज. सूर्यशमशेरको भागको बुहारी इन्दिरादेवी राणाको भागमा परी सो भाग वगैंचा बिगाहा १० छुट्टयाई सकेको र हजुरको एकलौटी ठूलो मुरली दरवार घर, पावर हर्ष पोखरी इत्यादि खड्गनिसानामा लेखिए बोजिम हजुरको एकलौटी हकको घर कम्पाउण्डमा परेको बिगाहा ३ समेत जम्मा हजुरको नाफा एकलौटी दर्ता भोग हुनुपर्ने बिगाहा १३ हजुरको आफ्ना नाममा नामसारी गरिबक्सने विचार गरी बक्सेकोले पूर्व आवादी जग्गा पश्चिम रेल्वे लाईन मूल सडक उत्तर यसै मध्येको जग्गा दक्षिण यसै मध्येको जग्गा यति ४ किल्ला भित्रको घर कम्पाउण्ड बगैंचा बिगाहा १३ बिगाहा हजुरको एकलौटी नामसारी दर्ता गर्नमा मेरो समेत चित्त बुझेकोले बारामालबाट छुट्टाई विर्ता उन्मूलन ऐनका रीत पुर्‍याई आफ्ना नाममा नामसारी दाखिल खारेज दर्ता गरी गराई लिई बक्सियोस् भनी मेरो मनोमान खुसीराजीसँग यो मञ्जुरनामा लेखी हजुरका ठमेल बहादुर भवन बस्ने श्री क.ज.बहादुरशमशेर ज.ब.रा दाज्यैज्यूको समक्ष पेश गरेको छु, यो मञ्जुरनामा सम्बन्धित अड्डामा पेश गरी लेखिएबमोजिम नामसारी दाखिल खारेज दर्ता गरी लिइबक्सेकोमा मेरो मञ्जुर छ भन्ने ०२०।४।२९।३ मा अग्नीशमशेरले क.ज.बहादुरशमशेरलाई लेखिदिएको ।

      १७.   उपरोक्त उल्लेखित वादी समेतले गरिदिएको मञ्जुरनामा रजिष्ट्रेशन गर्नुपर्ने नपर्ने सन्दर्भमा कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.मा धर्मपुत्रको लिखत अचल सम्पत्ति भएकाको मानु छुट्टिएको वा मानु जोडिएको लिखत र अरू गैर अचल सम्पत्तिको देहायमा लेखिएबमोजिम लिखत गर्दा गराउँदा रजिष्ट्रेशन गराउनु पर्छ भन्ने र देहायमा बिक्री गरी वा अरू कुनै किसिमले आफ्नो हक छोडिदिएको लिखत १ जुनसुकै किसिमका बन्धकी तमसुक १ भोगबन्धकको लख सारेको तमसुक १ शेषपछिको बकसपत्र १ सट्टापट्टाको लिखत १ अंशबण्डाको लिखत १भन्ने उल्लेख भएको देखिन्छ । सो कानूनी व्यवस्थाले हक छोडिदिएको र सट्टापट्टाको अंशबण्डाको शेषपछिको बकसपत्र समेत लिखतहरू पारित गर्नुपर्ने व्यवस्था भएको पाइन्छ । उक्त मञ्जुरनामाहरू आफ्नो हक छोडी गरिदिएको लिखत नभई खड्गनिसाना बमोजिम हक पाउने हकदारलाई उसले पाउने हकको जग्गा छुटाई दर्ता गरी लिनु भन्ने लेखिदिएको मञ्जुरनामा हुँदा त्यस्तो पाउने जग्गा छुट्याई दिएको मञ्जूरनामा लिखत उक्त कानूनी व्यवस्थाबाट पारित गर्नु नपर्ने कुरा प्रष्ट छ, सो मञ्जुरनामा कागज वादीलाई सुनाउँदा सो कागज भए गरेको होइन भन्न सकेको देखिँदैन, गरिदिएमा सावित भएको छ, मुलुकी ऐन अ.ब.२४ नं.मा आफ्ना खुसी राजीले जानी बुझी सहिछाप हाले पछि सो कागज सदर हुन्छ भन्ने व्यवस्था भएकोले जानिबुझी गरिदिएको सो मञ्जुरनामा लिखत कानूनी मान्यता नहुने भन्न मिल्ने देखिएन ।

      १८.   खड्गनिसाना बमोजिम ५ भागको १ भाग पाउने ज. सूर्यशमशेर परलोक भई निजको हकदार छोरा युवराजशमशेर र निजको पत्नी इन्दिरादेवीको बीच वादी इन्दिरादेवी राणामै परेको अंश मुद्दामा मुरली बगंैचा वादीलाई दिएको देखिएकोले लिखतमा शर्त भएका कुरामा अरू थोक गर्न मनासिव नहुँदा सो मुरली बगैंचा दुवैको मञ्जुरीको लिखतको शर्त बमोजिम नै वादीको हुने भन्ने तत्कालीन ल.पु.ई.अ.बाट ०१९।१।२२ मा फैसला भएको अन्तिम भईरहेको फैसलाबाट समेत मुरली बगैंचाको जग्गा प्र. इन्दिरा राणाले पाउने भएको देखिने र सो अनुसार १० बिगाहा छुट्याई दिएको छ, दाखिल खारेज दर्ता गर्नु भनी वादी अग्नीशमशेर र अरू खड्गनिशानाबाट हक पाउने बहादुरशमशेर, नारायणशमशेर, हरिशमशेर समेतले चार किल्ला समेत खोली मञ्जुरनामा गरी १० बिगाहा जग्गा प्र.इन्दिरादेवी राणालाई छुट्याई दिएको र त्यस्तै खड्गनिसाना बमोजिम प्र. बहादुरशमशेरले पाउने दर्ता गराई दिएमा मञ्जुर छ भनी जग्गाको चार किल्ला समेत खोली प्र. बहादुरशमशेरलाई वादी अग्नीशमशेर आफैले मञ्जूरनामा गरी जग्गा छुट्याई दिएको समेत देखिन आएको छ । खड्गनिसाना बमोजिम हक पाउने जग्गा मञ्जूरनामा गरी वादी अग्नीशमशेर समेतले छुट्याई दिने र प्र. इन्दिरदेवी राणा, बहादुरशमशेरले छुट्याई लिने भई जग्गा छुट्याई लिइसकेको देखिएको यस स्थितिमा निज प्र.इन्दिरादेवी राणा प्र.ज.बहादुरशमशेर ज.ब.रा.बाट वादीले जग्गा छुट्याई लिन पाउँछ भन्न मिल्ने अवस्था नदेखिएकोले निज प्रतिवादी ज.बहादुरशमशेर, इन्दिरादेवी राणा उपरको जग्गा छुट्याई पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिएन ।

      १९.    ज.हरिशमशेरबाट प्र. गणेशप्रसाद ठाकुरले पाएको जग्गा बिगाहा ५तर्फ विचार गर्दा डि. वद्रिंलालले पूर्जी हेरी हाम्रो सजिया विर्ता वीरगञ्ज मुरली दरवार कम्पाउण्डभित्र अवादीदेखि पूर्व आवादीदेखि पश्चिम, व्यारेकदेखि उत्तर, सोही बगैंचादेखि दक्षिण, आँपको बगैंचा मध्ये जग्गा बिगाहा ५ पाँच २ पुस्ताको पुरानो नोकरको प्रतिपाल उद्दार होला भनी निगाहाबाट पाउँ भनी का.ईं सुन्धारा बस्ने गणेशप्रसाद ठाकुरले हामी छेउ मागेकोमा हामी पाँचजना दाजुभाइ, भतिजा अंशियार सबैको मञ्जूर भएकोले उक्त लेखिएको ४ किल्ला भित्रको जग्गा बिगाहा ५ पाँच निज गणेशप्रसाद ठाकुरका नाउँमा आठा सरह मालपोत लिने गरी दर्ता गरिदिने काम गर्नु होला भनी ०१६।२।२४ मा प्र. हरिशमशेर जङ्गबहादुर राणाबाट लेखिदिएको देखिएको र त्यसरी आठा सरह मालपोत लिने गरिदिएको जग्गा हरिशमशेरले बकसपत्र गरिदिएको भन्न मिल्ने नभई सो मुरली बगंैचाको गोश्वराको काम चलाउनेको नाताबाट जग्गा आवाद गुल्जार गरी कमाई आठा सरह मालपोत बुझाई खाने गरी गणेशप्रसाद ठाकुरलाई दिएको देखिने त्यसपछि प्रकाशित विर्ता उन्मूलन ऐन, २०१६ को दफा २ को परिभाषाको उपदफा (१) को खण्ड (ख) मा (क) श्रेणीको विर्ता जग्गा भन्नाले ठेकिएको मालपोत सम्म उठाई खान पाउने गरी पाएको बाज सरी लिए पाएको भए पनि ठेकिएको मालपोत वा मालपोत अङ्क बमोजिम सम्म उठाई खाने गरी आएको श्री ५ का सरकारमा केही तिर्नु पर्ने वा नपर्ने विर्ता जग्गा र आवाद नभएको पर्ति विर्ता जग्गा तथा जङ्गल विर्ता जग्गा समेत सम्झनु पर्छ भन्ने र दफा ४ को उपदफा (१) मा दफा ११ को अधिनमा रही यस ऐनबमोजिम रैकर गरिएका जग्गामा आर्थिक साल ०१६।१७ देखि साल बसाल लागू हुने गरी देहाय बमोजिम भूमि कर ठेकिएको छ भन्ने र देहाय (क) मा (क) श्रेणीको विर्ता जग्गामा विर्तावालाले विर्ता जग्गामा मोहीबाट उठाई लिने गरिआएको मालपोतको अङ्क बमोजिम…भन्ने र ऐ को उपदफा (२) मा उपदफा (१) बमोजिम ठेकिएको भूमि कर इलाका मालको हाकिमले निर्धारीत गर्नेछ र त्यस्तो भूमि कर लाग्नेको विर्ता जग्गा देहाय बमोजिम रैकरमा दर्ता गरी लगत खडा गर्ने र भूमि कर असूल गर्नेछ भन्ने देहाय (क) मा (क) श्रेणीको विर्ता जग्गा भए विर्ता जग्गाको मोहीको नाउँमा …भन्ने समेत उल्लेख भएकोबाट सो कानूनी व्यवस्था अनुसार उक्त गणेशप्रसाद ठाकुरले प्र.ज हरिशमशेरबाट पाएको ५ बिगाहा जग्गा (क) श्रेणीको त्यस्तो जग्गा भन्ने देखिन आउने जग्गा दर्ता गरी पाउँ भनी निज प्र.गणेशप्रसाद ठाकुरले निवेदन दिएकोमा मुरलीको जग्गा मध्ये जग्गाधनीको ०१६।२।२४ को दस्तखत बमोजिम ५ बिगाहा जग्गा निज गणेशप्रसाद ठाकुरका नाउँमा ०१६ सालको बालीदेखि दर्ता गरिदिने ठहराई ०१७।११।१२ मा बारा माल बाट फैसला भएको देखिएको सो दर्ता गर्ने गरेको बारा मालको फैसला बदर गरी पाउँ भनी प्र.हरिशमशेर समेतको फिराद परेको दर्ता बदर मुद्दामा जग्गा पजनीको १७ नं.को हदम्याद नाघेको देखिन आयो । वादीहरूलाई फिराद गर्ने हकदैया नभएको समेत देखिएकोले फिराद खारेज हुने ठहराई ०२८।१।१२ मा स.अ.डिभिजन बेञ्चबाट फैसला भएको अन्तिम भईरहेको छ, त्यसरी मुद्दा परी फैसला भई प्र.गणेशप्रसादको दर्ताबदर हुन नसकी कायम भइरहेको र सोदर्ता भएकोउपर यो वादी अग्नीशमशेरले कुनै उजूरबाजूर गर्नसकेको समेत नदेखिएकोले निज गणेशप्रसाद ठाकुरले दर्ता गरी मालको फैसला र डि.बे.को फैसलाबाट समेत आफ्नो कायम गरिसकेकोले निजको हकमा वादी दावी बमोजिम अन्यथा विचार गर्न मिल्ने देखिएन ।

      २०.   ज.हरिशमशेरबाट तेजबहादुरले बकस पाएको ५ बिगाहाको हकमा विचार गर्दा मेरो हकको जग्गा बिगाहा ५ पाँच घरसारको हालैदेखिको बकसपत्र लेखी दिएको पास हुन म्याद बाँकिनै भएको दर्ता गर्न बारा मालमा पेश गर्दा पास नभएको भनी तेजबहादुरलाई सूचना दिएकोले मैले गरिदिएको बकसपत्र लिखत यसै साथ सोपुवा गरी सो जग्गा बिगाहा ५ आजैदेखि बकसपत्र गरिदिए मालमा दर्ता गराई भोग चलन गर्नु भन्ने ०२०।१।२३ मा रजिष्ट्रेशन पास गरी ज.हरिसम्शेले तेजबहादुरलाई बकसपत्र दिएको देखिने सो साथ सोपुवा गरेको भनेको १९।८।११ को घरसारको ज.हरिशमशेरले गरिदिएको बकसपत्रमा हामीहरूको गोश्वराबाट का. खिचापोखरी बस्ने गणेशप्रसाद ठाकुरलाई हामीले दिइसकेको जग्गा बिगाहामध्ये गोश्वराबाट पाएको गणेशप्रसाद ठाकुरको जग्गादेखि उत्तर अवादीदेखि पश्चिमको बगैंचादेखि दक्षिण सोही बगैंचादेखि पूर्व यति ४ किल्लाभित्रको मेरो भागमा पर्न आएको जग्गा बिगाहा १० मध्ये बिगाहा ५ पाँच तिमी लाजिम्पाट बस्ने तेजबहादुर नकर्मीले मैले अह्राएको काम ईमान धर्मसँग गरी रिझाई आए वापत वीरगञ्ज मुरली बगैंचाको जग्गा बिगाहा पाँच तिम्रो सन्तान दरसन्तानले पर्जेन्त खान पाउने गरी हालै देखिको बकसपत्र गरिदियौं भन्ने उल्लेख गरेकोले ज.हरिशमशेरले आफ्नो भागको ५ बिगाहा बकस दिएको भन्ने देखिन्छ । सो तेजबहादुरको बकसपत्र बदर गरी पाउँ भन्ने वादीको दावी हेर्दा अवण्डाको जग्गामध्येबाट तेजबहादुरले पाएको छु भन्दै हिंड्नु भएको बण्डै नछुट्याएको अंशियारको मञ्जुरी बेगर आफ्नो हकमा आउनेसम्म केही व्यहोराले दिएकै भए पनि ऐनबमोजिम भाग छुट्याई लिएको भएमात्र सदर हुन सक्ने, सो नलेखी मनोमानी किल्ला र यति जग्गा भनी आफूले दिन पाउने भन्दा बढी जग्गा दिएको र लिएको भए सदर हुन नसक्ने साथै दिएको र पाएको भए लिखत झिकी हामीलाई सुनाई र त्यसै बदर हुने भए बदर गराई पाउँभन्ने दावी लिएको देखिए तापनि प्र.ज. हरिशमशेरले बकसपत्र गरी दिनै नपाउने मेरो हकको जग्गा बकसपत्र गरिदिए भन्ने किटानी दावी गर्न सकेको देखिँदैन, उसमा पनि प्र.ज.हरिशमशेरले पनि मेरो भागमा पर्न आएको जग्गा भनी बकसपत्र लेखिदिएको निजले आफ्नो भागको जग्गा बकसपत्र लेखी दिन पाउने नै हुनाले आफ्नो भागको ५ बिगाहा जग्गा प्र.तेजबहादुरलाई बकसपत्र गरी दर्ता समेत गराई सकेको देखिएकोले यस्तो स्थितिमा सो बकसपत्र बदर गरिपाउँ भन्ने वादीको दावी पुग्नसक्छ भन्नमिल्ने देखिएन ।

      २१.   उपरोक्त उल्लेखित अनुसार ५ भागको, १ भाग पाउने वादी हकदार देखिएको र प्र. नारायणशमशेर प्र.ज. हरिशमशेरबाट वादीका जग्गा छुट्याई पाउने ठहराई बागमति अञ्चल अदालतबाट गरेको इन्साफ उपर प्र.ज.हरिशमशेरको पनुरावेदन नै नपरेको र प्र.ज. नारायणशमशेरले प्रतिवादी नै नदिई शुरु म्यादै गुजारी बसेको देखिएकोले निजहरूको हकमा अरू केही विचार गर्न नमिल्ने भएकोले निज प्र.अ. हरिशमशेर ज. नारायणशमशेरबाट वादीले नरमकरम मिलाई वादी दावी बमोजिमको जग्गा छुट्याई पाउने ठहराएको अञ्चल अदालतको इन्साफ सदर गरेको डिभिजन बेञ्चको ०२८।१।१२ को इन्साफ मनासिव ठर्हछ मुद्दा दोहर्‍याए वापत लाग्ने कोर्टफी निवेदक वादीबाट दाखिल भएकोले अरू केही गर्नु परेन, मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

हामीहरूको सहमति छ ।

 

प्र.न्या. नयनबहादुर खत्री,

न्या. धनेन्द्रबहादुर सिंह र

न्या. विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्रको राय

      २२.   यसमा २००१।३।२९को ख.नि.र वादी दावीबमोजिम मुरलीबगैंचाको ज.बि.५२द्र२।।।४ को ५ भागको १ भाग वादी श्री ज.अग्नीशमशेर ज.ब.रा. को भागमा पर्ने देखिन्छ तापनि वादी अग्नीशमशेरले ४ किल्ला समेत खोली लिखित मञ्जुरी दिई १० बिगाहा प्रतिवादी श्री ज.बहादुरशमशेर र १० बिगाहा प्र.श्रीमती इन्दिरादेवी राणाले आफ्नो भाग छुट्याई लिइसकेको हुँदा पुनः त्यसबाट बण्डा छुट्याई पाउँ भन्ने वादी दावी न्यायोचित नदेखिनुका साथै वादी श्री ज.अग्नीशमशेरको आफ्नै मञ्जुरी लिखतलेनै अवरोध गरेकोले त्यसतर्फ वादी दावी पुग्न नसक्ने ठहराएको सहयोगी मा.न्या.ज्यूहरूको रायसँग मेरो सहमति छ ।

      २३.   प्रतिवादी गणेशप्रसाद ठाकुरले पाए लिए भनेका ५ बिगाहाको हकमा हामी पाँचै जना दाजुभाइ अंशियार सबैको मञ्जुर भएकोले लेखिएको ४ किल्ला भित्रको जग्गा बिगाहा ५ निज गणेशप्रसादका नाममा आठा सरह मालपोत लिने गरी दर्ता गरिदिने काम गर्नु होलाभनी ०१६।२।२४ मा गोश्वरा जग्गाको काम गर्ने श्री ज.हरिशमशेरबाट लेखिई गएको देखिएको र निजका नाउँमा मालले दर्ता गरेपछि ज.हरिशमशेरको सो दर्ता बदरतर्फ उजूर परी स.अ.को अन्तिम फैसलाबाटसमेत सो दर्ता बदर हुन नसकेकोले र म्याद भित्रै वादीतर्फ बाट सो दर्ता र फैसला बदर गराउन सकेको नदेखिएकोले सो ५ बिगाहातर्फ पनि वादीको दावी नलाग्ने ठहराएको सहयोगी न्यायाधीशज्यूहरूले रायसँग मेरो पनि सहमति नै छ ।

      २४.   माथि लेखिएबमोजिम श्री ज.बहादुरशमशेरलाई गएको १० बिगाहा श्रीमती इन्दिरादेवी राणालाई गएको १० बिगाहा र श्री गणेशप्रसाद ठाकुरलाई गएको ५ बिगाहा समेत २५ बिगाहा उपरोक्त ५२ऽ२।।।४ बिगाहामा कट्टी गर्दा रैतानी र (ख) श्रेणी समेत गरी बाँकी रहन आएको बिगाहा २७द्र२।।।४ मा श्री ज.अग्नीशमशेर, श्री ज.हरिशमशेर, श्री ज.नारायणशमशेरको बण्डा छुट्याउनै बाँकी देखिएकोले त्यसबाट वादी अग्नीशमशेरतर्फ ३ भागको १ भाग पाउने हक कायम रहेको देखिन्छ ।

      २५.   यस्तो अबण्डाको जग्गाबाट आफ्नो बण्डा छुट्याई लिनु अगावै आफैले मनोमानी किल्ला हाली मेरो भागको जग्गा भनी हिस्सादार श्री अग्नीशमशेरको मञ्जुरी समेत नलिई प्र.ज. हरि शमशेर प्र.तेजबहादुर समेतलाई दिएकोमा दावीतर्फको चित्त नबुझ्नु स्वभाविकै  देखिन्छ । सो बाँकी बिगाहा २७द्र२।।।४ मा वादीतर्फको दावी कानूनको म्याद भित्र परेको र नालिस परिसकेपछि नामसारी आदि गराएकोलाई मान्यता दिन नमिल्ने हुँदा उपरोक्त बण्डा छुट्याउन बाँकी रहेको २७द्र२।।।४ बिगाहाको ३ भागको १ भाग नरमगरम मिलाई प्र.श्री नारायणशमशेर र श्री ज.हरिशमशेरबाट वा निजहरूबाट सो अबण्डाको जग्गा प्राप्त गर्ने प्र.तेजबहादुर समेतका मानिसहरूबाट दामासाहीको हिसावले वादीहरूले छुट्याई लिन पाउने ठर्हछ ।

      २६.   वादीले मञ्जुर गरी हक नछाडेको बाँकी जग्गामा पनि वादीको हक नपुग्ने भनी ठहर गरेको सहयोगी न्यायाधिशज्यूहरूको रायमा मेरो सहमति हुन नसकेको हुँदा उपरोक्त लेखिएबमोजिम वादीतर्फको मञ्जुरी र फैसलालको कारणबाट वादीका हक वादीतर्फको ठहराएको तर्कसँगमात्र मेरो सहमति भएकोले आफ्नो ठहर छुट्टै व्यक्त गरेको छु ।

 

इति सम्वत् २०३४ साल जेष्ठ ३२ गते रोज ३ शुभम् ।