May 12, 1977
Created by nepalarchives

निर्णय नं. १०२६ – जग्गा मिची घर बनायो भत्काई बिगो भराई चलन चलाई पाउँ

निर्णय नं. १०२६     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३१ सालको देवानी विविध नम्बर ४ फैसला...

निर्णय नं. १०२६     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३१ सालको देवानी विविध नम्बर ४

फैसला भएको मिति : २०३४।१।३०।५ मा

निवेदक : का.जि. क्षेत्रपाटी बस्ने महम्मुद शाह मियाँ

विरुद्ध

विपक्षी : का.जि. वटुभजी बहाल बस्ने महमद आ हसन मियाँ समेत

मुद्दा : जग्गा मिची घर बनायो भत्काई बिगो भराई चलन चलाई पाउँ

(१)   दाताबाट खरीद गरी लिनेप्रतिवादीले भोग चलन गर्दा खरीद गरेको जग्गा भित्र सीमित रहनु पर्ने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

उल्लेखित मुद्दा :    

फैसला

            न्या.बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ जाँच गरी पाउँ भन्ने प्रतिवादीको निवेदनमा बक्स भई आएका हुकुम प्रमांगी अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ :

            २.    अच्यूत शम्सेरसँग पूर्व पश्चिम पर्खाल सहित लम्बा फिट, १२६ मात्र र उत्तर दक्षिण चौडा फिट ९९ को जग्गा रोपनि २।.।२ अफजल शाहले लिएपछि अफजलसँग जग्गा महमुद शाहले खरीद गरी लिएपछि बाँकी जग्गा अच्यूत शम्सेरसँग जम्मै हामीले फार्छे गरी लिएपछि पूर्वबाट नाप्दै जाँदा जता १२६ फिट पुग्छ त्यहाँ पर्खाल थियो । प्र.हरूले सो पर्खाल भत्काई त्यसदेखि पश्चिमको पालेघर भएको पर्खाल साँध गराई २ पर्खाल बीचको मेरो पूर्व पश्चिम १६ फिट, उत्तर दक्षिण ३६ फिट, जग्गा अफजल शाह बेच्ने महमद किन्ने भई पालेघर पर्खालमा जोडी मेरो पूर्व जग्गामा जाने ढोकासमेत बन्द गरी महमद शाहले घर चर्पी वनाई चौडाइ फिट १।। लम्बाइ फिट, ३९ उचाइ फिट ३ को पर्खाल भत्काएकोले पर्खालको बिगो रु.३२२।र बन्द गरिदिएको ढोका बनाउन लाग्ने रु.४८।समेत रु.३७०।प्र.बाट बराबरको दरले भराई मोल बिगो रु.२७००।पर्ने पूर्व पश्चिम १६ फिट, उत्तर दक्षिण ३६ फिटको जग्गा मिची बनाएको घर चर्पी भत्काई जग्गा समेत अड्डैबाटै चलन चलाई सजाय गरी पाउँ भन्ने समेत ०१९।५।१९ को वादी महमद आहशन र महमद मियाँको संयुक्त वादी ।

            ३.    वादी दावीबमोजिम जग्गा मिची बेची किनी पर्खाल भत्काई घर चर्पी बनाएको र ढोका बन्द गरेको छैन, दक्षिणतर्फ सडकको पर्खालमा चौडिएको लम्बाई १० चौडा हात ५ भएको पालेघर पर्खालसँग जोडिएको अहिलेसम्मछ । पर्खाल बाहिर पूर्वपट्टि अर्को पर्खाल मै पर्खाल भित्र १६,३६ फिटको जग्गामा वादीहरूको हकपुग्ने कुनैनिस्सा नहुँदा अ.बं.१०६ नं.ले वादीको उजूरलाग्नै नसक्नै सोपर्खाल भित्रको १६,३६ फिटको जग्गाभए वादीको फाछ्र्यामा पनि उल्लेख हुनुपर्ने सो नभएको, वादी लेखाई झुटो भन्ने समेत महमुद शाह मियाँको प्रतिवादी ।

            ४.    वादी दावा झुटो हो जग्गा हामीले खरीद गरेपछि बाँकी जग्गा वादीले खरीद गरेको भन्ने देखिएकै छ । अफजलले यसो गर्‍यो भन्ने कतै छैन । जसको जुन कुरामा हकदैया पुग्दैन उस उपर गरेको नालेस अ.बं.१०६ नं.ले खारेज गरिनु पर्ने छँदैछ । अच्यूत शम्सेरको रानीसँग जग्गामा मुद्दा परी मैले जिती अन्तिम निर्णय भएको छ, वादी दावी बमोजिम पर्खाल छँदै थिएन भित्री पर्खाल खडै छँदैछ । अदालतबाट २ पटक म्युनिसिपलटीबाट २ पटक निर्णय भइसकेको कुरालाई अव यस अदालतबाट यो वादी नै खारेज हुने सिवाय कुनै तहकिकात हुन नसकी खारेज गरी पाउँ भन्ने समेत अफजल शाहको प्रतिवादी ।

            ५.    वादीले अच्यूत शम्सेरसँग राजीनामा गराई लिनु भएको ०१२।६।२।६ को लिखत प्रतिवादीको ०८।४।३ भन्दा पछिको छ । सडक किनारा पालेघर भनी लिखतमा लेखिएको नक्साबाट पनि देखिएको छ, भन्दा पूर्व अर्को पर्खाल उत्तर दक्षिणै लामो ३ वटा पर्खाल उत्तर दक्षिण गरी लामो थियो भन्ने कुरा लिखतबाट नदेखिनाले वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको ०२३।१।१९।१ को फैसला रहेछ ।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा विभिन्न मितिमा भएका नक्सामा प्रतिवादीको जग्गा वादी दावी बमोजिम बढी नभइ ७ फिट चानचुन बढी हुन आउने र अन्य प्रमाणबाट समेत वादीले भनेको ३ फिटको पर्खाल थिएन । प्र.को पश्चिम किल्लाको पर्खाल भनेको सोही ९ फिटको पर्खाल हो भन्ने देखिंदा वादीको दावी पुग्न नसक्ने ठहराएको शुरुको इन्साफ मनासिव ठहर्छ, हद मुनीको हुँदा पुनरावेदन नलाग्ने भन्ने समेत बाग्मती अञ्चल अदालतको ०२९।५।२३।५ को फैसला ।

            ७.    उक्त इन्साफ जाँच गरी पाउँ भन्ने समेत ब्यहोराको वादीको बिन्ती पत्रमा कानूनबमोजिम गर्नु भन्ने बक्स भई अएका हु.प्र.सहितको निवेदन समेत स्टेडिङ्ग कमिटिमा पेश हुँदा ०२९।८।१४ का निर्णयबमोजिम सयकडा ५मा इन्साफजाँचको लगतमा दर्ताभई न्याय प्रशासन सुधार ऐनबमोजिम म.क्षे.अ.मा सरुवा भई गएकोमा भइरहेको नक्साहेर्दा ०२२।७।२३ को नक्सामा प्र.को जग्गा १४३१।२ फि.०२३।१।६को नक्सामा १४२ फि.र ०२९।४।१२ को नक्सामा १४२ फिट ९ इञ्च देखाएको पाइन्छ । प्र.ले आफूले राजीनामा लिखतमा स्पष्ट सँग किटिई प्राप्त गरेको जग्गाभन्दा बढी जग्गा उपभोग गरिआएको कुरा नक्सानाप जाँच बाट देखिंदा पनि वादीको दावीबमोजिम अंकसम्म मिल्ने जुल्ने गरी बढी देखिन नआएकोले प्र.ले वादीको जग्गा मिचेको ठहर्दैन भन्ने अं.अ.को तर्कसँग सहमत हुनसकिदैन । अतः अफजल शाह मियाँ प्रतिवादीले राजीनामा लिखतबाट पाएभन्दा बढी पूर्व पश्चिम १६ फिट उत्तर दक्षिण ३६ फिट जग्गा वादीहरूको ठहर्ने हुनाले बागमती अञ्चल अदालतको फैसला बदर हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३१।३।३।२ को फैसला ।

            ८.    पर्खाल भत्काएतर्फ लुटपीटको दावी हुने र त्यसतर्फ उजूरवाजूर छैन र हाल ठहर हुन पनि आएको छैन । हाल झगडा परेको जग्गाको दक्षिणतर्फ १६ फिट बढी भनी दावी गरे तापनि उत्तरतर्फ सोही नामको जग्गा छ भनी भन्न नहुने शुरु र अञ्चल अ.समेत दुई अदालतबाट जिती पाएको जग्गा एक तह क्षे.अ.बाट हारिन जाँदा पुनरावेदन सरह जिकिर सम्म गर्न नपाई सारै अन्यायमा परेको हुँदा सर्वोच्च अदालतबाट इन्साफ दोहर्‍याई दिनु भन्ने हुकुमको प्रमाङ्गी पाउँ भन्ने समेत व्यहोराको बिन्तिपत्रमा यो बिन्तिपत्र जाहेर हुँदा यसमा ब्यहोरा साँचो भए म.क्षे.अ.बाट फैसला भएको यस मुद्दाको मिसिल झिकी स.अ.बाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउ दिनु भनी त्यहाँ पठाउनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका वि.जा.विभाग राजदरबारमार्फत लेखी आई यस अदालतको लगतमा दर्ता भएको रहेछ ।

            ९.    अफजल शाहको राजिनामामा पश्चिम किल्ला मेरै पर्खाल भन्ने लेखिएको वादी दावी बमोजिम अहिले भईराखेको पर्खालको अतिरिक्त अर्को पर्खाल थियो भन्ने कुरा समर्थित हुने प्रमाण भएको नदेखिएको वादीले लिएको राजीनामामा पनि निजको भनाई बमोजिमको पर्खाल रहेको भन्ने कुराको कुनै उल्लेख नभएकोले सो भईराखेको पर्खाल नै राजीनामा पश्चिम किल्ला कायम गर्नुपर्नेमा अफजल शाह मियाँ प्रतिवादीले राजीनामा लिखतबाट पाएको जग्गाभन्दा बढी पूर्व पश्चिम १६ फिट उत्तर दक्षिण ३६ फिट जग्गा वादीहरूको ठहर्ने हुनाले बा.अञ्चल अदालतको फैसला बदर हुन्छ भनी गरेको क्षेत्रीय अ.को इन्साफ मिलेको नदेखिनाले अ.बं.२०२ नं.र स.अ.नियमावलीबमोजिम वादीहरूलाई छलफलमा झिकाई नियमबमोजिम गरी पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०३३।४।२८।५ को आदेश ।

            १०.    तारेखमा रहेका निवेदक प्रतिवादी महमुद शाह मियाँ र उक्त आदेशानुसार झिकाई आएका विपक्षी वादी महमद आहशन मियाँ तथा महमद हासिम मियाँलाई ०३४।१।१९ का दिन रोहवरमा राखी निवेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीको र विपक्षतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको बहस समेत सुनी आज निर्णय सुनाउने तोकिएको प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव वा गल्ती के हो ? निर्णय दिनु परेको छ ।

            ११.    यसमा वादीको फिरादबाट अच्यूत शम्सेरसँग पूर्व पश्चिम पर्खाल सहित लम्बा फिट १२६ उत्तर दक्षिण चौडा फिट ९९ को जग्गा अफजल शाहले लिई अफजल शाहसँग महमद शाहले खरीद गरी लिए पछि बाँकी जम्मै अच्यूत शम्सेरसँग हामीले फार्छे गरी लिए पछि पश्चिम पालेघरको पर्खाल साँध गराई २ पर्खाल बीचको मेरो पूर्व पश्चिम १६ फिट, उत्तर दक्षिण ३६ फिट जग्गा मिची मेरो पूर्व जग्गामा जाने ढोका समेत बन्द गरी घर चर्पी बनाई चौंडा फिट १।। लम्बा फिट ३९उचाइ फिट ३ को पर्खाल भत्काएकोले बिगो भराई घर भत्काई चलन चलाई सजाय गरी पाउँ भन्ने मुख्य दावी लिएको देखियो ।

            १२.   प्रस्तुत मुद्दामा भइरहेको नक्शामध्ये झगडा परेको जग्गा घर समेत देखाई भएको शुरु मिसिल सम्लग्न फा.नं.६६ को मिति ०२३।१।६।२ को नक्सा र डि.बे.का आदेशानुसार वादी प्रतिवादीहरूबाट पेश हुन आएको उक्त जग्गा खरीद बिक्रीका तमसुक नक्कलसमेत हेर्दा प्र.मध्येका अफजल शाह मियाँले अच्युत शम्सेरबाट २००८।४।३।४ मा पास गरी लिएको फार्छेमा पूर्व पश्चिम लम्बाई फिट १२६, उत्तर दक्षिण गज फिट ९९ को जग्गा राजीनामा गराई लिएको देखिन्छ । दाता अफजल शाह मियाँबाट खरीद गरी लिने निवेदक प्र.महमुद शाह मियाँले भोगचलन गर्दा खरीद गरेको जग्गा भित्रमात्र सीमित रहनु पर्ने हुन्छ । यस सन्दर्भमा नक्साहेर्दा पूर्वपश्चिम १२६फिटभित्र प्र.महमुद शाहको जग्गामानै घर देखिएकोले, सो १२६ फिट पुगेको ठाउँबाट पश्चिमपट्टिको पर्खाल र घर जोडिएको ठाउँसम्मको जग्गामा प्रतिवादीको दावा नपुग्ने ठहर्छ । सो ठहरेकोले उपरोक्त जग्गामा प्र.निवेदक महमुद शाह मियाँको हक नदेखिएकोले चलन गर्नु हुँदैन भनी प्रतिवादीलाई र सोही जग्गा चलन गर्नु भनी वादीहरूलाई सुनाई दिने । इन्साफ जाँच निमित्त आएको मुद्दा हुँदा केही गर्नु परेन नियमबमोजिम गरी मिसिल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हेरम्बराज

 

 

इति सम्वत् २०३४ साल बैशाख ३० गते रोज ५ शुभम् ।