निर्णय नं. १०२५ – चिनी कालो बजार गरे भन्ने
निर्णय नं. १०२५ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको फौ.पु नं. १३६ फैसला भएको...
निर्णय नं. १०२५ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३३ सालको फौ.पु नं. १३६
फैसला भएको मिति : २०३३।१२।२३।३ मा
पुनरावेदक : मो.जि. विराटनगर न.पं.वा.नं.४ विराटनगरबस्ने रामदेव अग्रवाल
विरुद्ध
विपक्षी : श्री ५ को सरकार (जाहेरवाला हे.कं.उदय प्रसाद पौडेल)
मुद्दा : चिनी कालो बजार गरे भन्ने
(१) बढी दररेटमा बिक्री गर्नु कालो बजार ठहर्नको लागि आवश्यक तत्त्व हुने ।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया
विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवलाल लम्साल
फैसला
न्या. हेरम्बराज : पूर्वाञ्चल क्षे.अदालतबाट २०३१।९।२१।१ मा भएको फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम २०३३।४।१४।५ मा पुनरावेदन गर्ने अनुमति पाई प्रस्तुत मुद्दा पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छन् : २०३०।१।९ गते दिनको अन्दाजी ३ बजेको समयमा को.अ.७६५ को भाडा ट्रकमा विराटनगरबाट अन्यसामान लोड गरी दमकर्फ लगिरहेकोछ भन्ने कर चौक् िबाट थाहापाएकोले चेक गर्दा चिनी बोरा १० फेला परेकोले चिनी लाने कुनै इजाजत देखाउन नसकेकोले मानिस र चिनी दाखिल गरेको छु भन्नेसमेत व्यहोराको २०३०।१।९ को प्रतिवेदन ।
३. उक्त मितिमा चिनी बोरा १० लोड भईरहेको थियो । चिनी कसको भनी सोद्धा चिनी मेरो हो पूर्जा भइसकेको छ म बरगाछिमा बसी रहन्छु त्यहीं ल्याउनु भनी मोहन साहूले भनेको हो भन्ने प्रहरीमा कागज र मेरो सामानहरू दमक लानुपर्नेछ भनी ट्रक नम्बर ७६५ मा चिनीसमेत लोड भएको बरगाछीमा चिनीसहित पक्राउ परेको हुँ भन्ने बलबहादुरको बयान कागज।
४. जलजला हल अगाडि विसाएपछि सामानहरू ताहीं लोड गरेका हुन् । के के सामान लोड गरे याद पाईन भन्ने समेत नारायणलालको बयान ।
५. मेरो पनि पूर्जा भइसकेको चिनी बोरा १०लगी देउ भनेबाट मसमेत गाडीमा बसेको थिएँ । बरगाछीमा पक्राउ परेको हुँ भन्ने मुन्सी दिपचन्दको बयान ।
६. चिनी कसको हो म जान्दिन, गाडी बचाउको लागि म गएको हुँ भन्ने सीतारामको बयान ।
७. म जिल्ला पञ्चायतको लिडर हुँ । मेरो चिनी दोकान छ र जि.पं.को पुर्जीले म चिनी बितरण गर्दछु । बलबहादुर, मोहन साहु, दिप चन्द्रनारायण समेतलाई चिन्दीन भन्ने समेत रामदेवको बयान भई जरिवाना कैद वापतको रु.२७००। धरौट राखी तारेखमा रहेकोमा मोहन साहु भन्ने मोहन भगत श्रेष्ठले १० बोरा चिनी बिक्री गरी गराई कालोबजार गरेको ठर्हछ । सो ठहर्नाले निजलाई कालो बजार ऐन, २००८ को दफा ४ अनुसार रु.२०००। जरिवाना हुन्छ भन्ने प्र.जि.अ.को का.मोरङबाट २०३०।३।३१ मा फैसला भएको रहेछ ।
८. उक्त फैसलामा चित्तबुझेन भनी रामदेवको को.अं.अ.मा पुनरावेदन परेकोमा कुल्ली जवान ४ समेत सबूदकोरुपमा बुझिएको देखिनआएकोले इन्साफकर्ताले सबूदकोरुपमा निजहरूलाई बुझ्न मिल्दैन भनी भन्न पनि न्याय तथा कानूनसंगत नहुँने हुँदा यो जिकिरसँग पनि सहमत हुन नमिली प्र.जि.अ.को इन्साफ मनासिव ठर्हछ भनी को.अं.अ.बाट २०३०।७।२३।५ मा फैसला भएको रहेछ ।
९. उक्त फैसलाउपर चित्तबुझेन भनी स.अ.मा पुनरावेदन परी न्यायप्रशासन सुधार ऐन अन्तर्गत पू.क्षे.अ.मा सरुवा भई गएकोमा प्र.जि.अ.कार्यालयको सदर गरी छिनेको को.अं.अ.बाट भएको मुनासिव ठर्हछ भनी पू.क्षे.अ.बाट मिति २०३१।९।२१।१ मा फैसला भएको रहेछ ।
१०. उक्त फैसलामा चित्त बुझेन भनी प्रस्तुत पुनरावेदनमा लिएका मुख्य जिकिर यस प्रकार छन् : दावीनै नभएको कुरामा र पछि उठाएको वाद विवाद समेतमा अदालतले इन्साफ गर्न नमिल्ने भनी स.अ.फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित भइसकेको छ । प्र.जि.अधिकारीको कार्यालय मोरङको फैसलामा “बिना इजाजत १० बोरा चिनी बिक्री गरी कालो बजार गरेको ठहर्छ” भन्ने बुँदा उल्लेख छ । म निर्दोषी छु । मैले कुनै कसूर गरेको छैन । कालो बजार ऐन, २००८ को दफा २ को परिभाषामा भित्र परेको देखिंदैन । पर्ता खर्च मुनाफा र भाडा भरौट इत्यादि सबै कुराको विचार राखी तोकिएको दर रेटमा बिक्री नगरेमामात्र कालो बजार भन्न मिल्ने हुन आउँछ । यसमा चिनीको यति मोल निर्धारण थियो, बिक्री गर्दा यति बढी मोल लिइयो भन्ने दावी नै छैन । त्यस्तोमा कालो बजार ऐन अन्तर्गत मुद्दा चल्न सक्ने स्थिति छैन । मैले बिक्री गरेको चिनी नै पक्राउ परेको भन्ने कुनै तथ्य सबूद छैन । कुल्ली जागरुक समेतको पोलावटलाई प्रमाणमा लिएको छ । ती कुल्लीहरूलाई स्वतन्त्र प्रमाणको रुपमा लिन मिल्दैन । प्रतिवादी मध्येका माल ल्याउने भनिएका व्यक्तिहरूका कुल्लीहरू देखिएका छन् । प्रतिवादी मध्येका व्यक्तिका कामदार व्यक्तिहरू भनाइलाई प्रमाणमा लिएको बाट प्रत्यक्षतः गंभिर कानूनी त्रुटी हुन गएको छ भन्ने समेत उल्लेख छ ।
११. निवेदक तर्फबाट रहनुभएको विद्वान व.अ.श्री रत्नलाल कनौडीयाले कालोबजार ऐन, २००८ को दफा २ को प्रतिकूल पारी चिनी बोरा १० बिक्री गरेको भन्दै ऐ को दफा ४ अन्तर्गत बिना इजाजत चिनी बिक्री गरी कालोबजार गरेको ठहर्छ भनी निर्णय भएको छ । चीनीको यति मोल निर्धारण थियो, बिक्री गर्दा यति बढी मोल लिईयो दिइयो भन्ने दावी छैन भन्ने त्यस्तो अवस्थामा कालो बजार ऐन अन्तर्गत मुद्दा नै चल्न सक्ने अवस्था छैन । कालो बजार भन्ने परिभाषा मोल घटी बढी तौल घटी बढी अन्य पदार्थ मिसाई बिक्री गरेकोलाईमात्र कालो बजारअन्तर्गत भन्न सकिन्छ । इजाजत बिना चिनी बिक्री गरेकोलाईमात्र कालो बजार ऐन लगाई गरेको निर्णयलाइ अञ्चल अदालत क्षे. अदालतसम्मबाट मुनासिव ठहराएको कानूनअनुरुप नभएको हुँदा उक्त फैसला बदर हुनुपर्छ भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।
१२. बिपक्षीतर्फबाट खटी आउनु भएको का.मु.सरकारी अधिवक्ता श्री भैरवप्रसादले कालोबजार ऐन, २००८ अन्तर्गत इजाजत बिना चिनी बिक्री गरेको ठहराई प्र.जि.अ.को कार्यालय मोरङबाट भएको फैसला र को.अं.अ.बाट भएको फैसलालाई मुनासिव ठहराई पू.क्षे.अ.धनकुटाबाट ०३१।९।२१ मा गरेको फैसला कानूनअनुरुप नै हुँदा प्रस्तुत मुद्दामा विचार गर्नुपर्ने अवस्था देखिंदैन । क्षेत्रीय अदालतको इन्साफ मुनासिव हुनुपर्छ भन्नेसमेत आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
१३. प्रस्तुत मुद्दामा कोशी अञ्चल अदालत धरानको इन्साफ मुनासिव ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय ठिक बेठिक के रहेछ, सोकुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१४. प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विद्वान अधिवक्ताहरूको बहससमेत सुनी इन्साफतर्फ विचार गर्दा “यसमा श्री ५ को सरकारले पर्ता खर्च मुनाफा र भाडा भरौट ईत्यादि सबै कुराको विचार राखी तोकिदिएको दररेटमा तोकिदिएको ठाउँ पसलबाट नियमबमोजिम बिक्री नगरी लुकाई छिपाई बढी दररेटमा नियम बर्खिलाप बिक्री गरेमा कालोबजार गरेको मानिने छ” भनी कालोबजार ऐन, २००८ को दफा २ ले कालोबजारको परिभाषा गरेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी पुनरावेदकले चिनी श्री ५ को सरकारले तोकिदिएको दररेट भन्दा बढी दररेटमा बिक्री गर्यो भन्ने नभई बिना ईजाजत चिनी बिक्री गर्यो भन्ने सम्म भनाई भएको पाइन्छ । बढी दररेटमा बिक्री गर्नु कालोबजार ठहर्नको लागि आवश्यक तत्त्व हुन्छ । उक्त तत्त्वको अभावमा चिनी कालोबजार गरी बिक्री गरेको ठहराई प्र.जि.अ. ले गरेको मिति ०३०।३।३१ को फैसला सदर गरी कोशी अञ्चल अदालतले मिति ०३०।७।२३ मा फैसला गरेको र सो फैसलालाई नै सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले मिति ०३१।९।२१ मा फैसला गरेको मनासिव देखिएन । सो फैसला बदर हुने ठहर्छ । तपसीलका कलममा तपसीलबमोजिम गर्नु ।
तपसील
पुनरावेदक मोरङ विराटनगर न.पं.वार्ड नं.४ बस्ने रामदेव अग्रवालके माथि इन्साफखण्डमा लेखिएबमोजिम प्र. जि.अ.को कार्यालय मोरङबाट चिनी बोरा १०जफत र रु.२०००। दुईहजार जरिवाना गर्ने गरेको मिति ०३०।३।३१ को फैसला र उक्त इन्साफलाई सदर गरी कोशी अञ्चल अदालतबाट ०३०।७।२३ मा र पू.क्षे.अ.बाट ०३१।९।२१ मासमेत पुनरावेदन गरेवापत गर्नेगरेका जरिवानासमेत कुनै नलाग्ने भएकोले पुनरावेदक रामदेव अग्रवालबाट धरौट रहेको रु.२२७०। दुइहजार दुईसय सत्तरी रुपैयाँ र चिनी बोरा १० समेत कानूनको रीतपुर्याई फिर्ता माग्न आए दस्तूर केही नलिई पुनरावेदकलाई फिर्तादिनु भनी प्र.जि.अ.को का.मोरङमा लेखी पठाउने कलम………………………१
यो फैसलाको प्रतिलिपि विपक्षी कहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई शुरु मिसिल प्र.जि.अ. को कार्यालयमा पूर्वाञ्चल क्षेत्रीय अदालतमा नियमबमोजिम गरी पठाई दिनु…………………….२
उक्त रायमा म सहमत छु ।
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् ०३३ साल चैत्र २३ गते रोज ३ शुभम् ।