निर्णय नं. १०२० – कोठा खिचोला
निर्णय नं. १०२० ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश...
निर्णय नं. १०२० ने.का.प. २०३४
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री बबरप्रसाद सिंह
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२६ सालको दे.फु नं.६०
फैसला भएको मिति : २०२७।८।५।६मा
निवेदक : का. जि. मरुटोल बस्ने गोपालबहादुर प्रधान
विरुद्ध
विपक्षी : ठमेल बस्ने सु. कटकबहादुर प्रधान
मुद्दा : कोठा खिचोला
(१) दान दातव्यको ४ क. नं.ले पेवामा पेवा पाउनेको खुस हुन्छ भनेको, अरू अंशियारलाई भाग लगाउन पर्ने बाध्यता छैन ।
(प्रकरण नं. १५)
(२) दान दातव्य ४क नं.ले लिखत गरी पेवा यसले खानु भनी अधिकारको श्रृजना गर्न पेवाको धनी समर्थ भएकोले पेवाको धनीले जसले खान पाउने भनी लेखिदिन्छ उसले एकलौटी खान पाउने ।
(प्रकरण नं. १५)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट
उल्लेखित मुद्दा :
फैसला
न्या. वाशुदेव शर्मा
१. आमा रत्नकुमारीले आफ्नो शेषपछि खान पाउने गरी ०५।१।१७ मा मलाई बकसपत्र पास गरी दिनु भएपछि ऐ.२२ गते परलोक हुनु भएकोले सो बकसपत्रबाट मेरो हक भएको घरको मोल रु ५२।मोलिने कोठामा प्रतिवादीले ताल्चा लगाई छाडी नदिई खिचोला गरेकोले सो खिचोला मेटाई पाउँ भन्ने समेत वादी ।
२. वादी दावीको घर मेरो आर्जनबाट आमा रत्नकुमारीको नाउँमा खरीद भएको हुनाले कोठामा ताल्चा लगाएको हुँ । आमा बृद्ध रोगले असाध्य बेहोस् हुनु भई ०५।१।२१ गते घाट लगी ऐ.२२ गते परलोक हुनुभएको, रजिष्ट्रेशनको कारिन्दा सनाखत गर्ने साक्षीलाई दिनु खुवाउनु गरी ऐनले गर्नु नहुने अवस्थाको बकसपत्र गराएको हुँदा बदर गरी पाउँ भन्नेसमेत प्रतिवादी ।
३. वादीको बकसपत्रबाट हक भएको कोठामा प्रतिवादीले खिचोला गरेको ठर्हछ भन्ने रा.का.दे.दो.को ०६।८।१४।२ को फैसला ।
४. ऐनले गराउन हुँदै नुहने अवस्थाको बकसपत्र सदर गरी मलाई हराएकोले इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।
५. प्र.रत्नकुमारीसँग मानो छुट्टिबसेको हुँदा रत्नकुमारीले आफूसँग बसेको छोरा वादीलाई ०५।१।१७।५ मा पास गरिदिएको बकसपत्र सदर कायम रहने नै देखिएकोसमेत हुँदा इन्साफ शुरू रा.का.दे.दो. को मुनासिव ठर्हछ भन्ने अपील दोस्राको ०८।५।१२।३ को फैसला ।
६. अपीलले हदमुनि गरी छिनेकोमा चित्त बुझेन इन्साफ जाँची पाउँ भन्ने प्रतिवादी पक्षको निवेदन परेकोमा ब्यहोरा साँचो रहेछ भने मिसिल झिकी इन्साफ जाँच पेश गर्नु भन्ने श्री माननीय भू.पु. प्रधान न्यायाधीशज्यूबाट ०८।७।१९।२ मा आदेश भएको ।
७. निजहरूको अंश मुद्दामा ०४।७।१४ गते भान्छा छुट्टी बेगल बसेको भन्ने देखिनाले र आमा रत्नकुमारीले ०५।१।१७ गते गोपालबहादुरलाई बकसपत्र गरिदिएको सदर कायम हुने देखिनाले इन्साफ अपील दोस्राको मुनासिव छ भन्ने डि.बेञ्चको ०१३।७।१६।५ को फैसला ।
८. यो समेत मुद्दाको इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भन्ने प्रतिवादी सु.कटकबहादुरले चढाएको निवेदन श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा यसमा अघि छिन्ने न्यायाधीशबाहेक श्री प्रधानन्यायाधीशसमेत ३ वा ५ जना न्यायाधीश भएको फुल बेञ्चबाट एक पटक दोहर्याई हेरी ऐनबमोजिम निर्णय गरी दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका बिशेष जाहेरी विभाग राजदरबारबाट लेखी आएको २०।२।२१।३ को हुकुम प्रमांगी र बक्स भई आएका हु.प्र. बमोजिम गर्ना निमित्त लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय भु.पु.प्र.न्या.ज्यूबाट भएको २०।३।११।३ को आदेश ।
९. प्रस्तुत मुद्दामा आमा रत्नकुमारीको पेवाको निज आमाले शेष पछि खानु भनी मलाई बकसपत्र गरिदिनु भएको ०५ साल बैशाख २२ गते आमा परलोक हुनु भई मेरो हक भएको कोठामा तल्चा नखोली खिचोला गर्यो भन्ने वादीको मुख्य जिकिर भएको देखिन्छ । वादी दावीको उक्त बकसपत्रलाई आमा बेहोस भएको अवस्थामा रजिष्ट्रेशनको कारिन्दा समेत हात लिई ऐनले गराउन नहुने अवस्थामा गराएको हुँदा सदर नहुने भन्ने प्रतिवादी सु. कटकबहादुरको जिकिर भएकाले त्यसतर्फ हेरेमा घुसखाई गर्नु नहुने बकसपत्र गरे गराएको भनी प्रतिवादी सु.कटकबहादुरले रजिष्ट्रेशनको कारिन्दा समेत उपर दिएको घुस मुद्दामा घुसको विगो खोलिएको उजूर नहुनाले खारेज हुने समेत ठहरी प्र.न्या.दोस्राबाट ०७।३।९।६ मा फैसला भएको प्रमाण मिसिलबाट देखिएको र आमा बेहोस भएको अवस्था गराएको भन्ने कुराको कुनै तथ्य सबूद प्रतिवादी सु.कटकबहादुरले गुजार्न पनि नसकेकाले ऐनले दिन लिन पाउने अवस्थाको बकसपत्र लिखत पास गरी दिए लिएको कायमै हुने भएपछि यिनीहरूकै अंश मुद्दामा वादी प्रतिवादीहरू मानु छुट्टि भिन्न भएको मिति ०५ साल आषाढ १७ गते कायम भई आजै यस बेञ्चबाट फैसला भएको र तत्काल प्रचलित अंशबण्डा ३७ नं.मा मानु नछुट्टिसँगै बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लाएको ऋण सबै अंशियारहरूलाई भाग लाग्छ भन्ने व्यवस्था भइराखेको समेत देखिएकोले मानु छुट्टिएको कायम मिति ०५ साल आषाढ १७ गते भन्दा अगावै ०५।१।२२ गते आमा परलोक भई आमाको बकसपत्रबाट वादीले पाएको सो कोठा समेतमा उक्त ऐनबमोजिम सगोलका अंशियार वादी प्रतिवादी दुवै भाइको बराबर भाग लाग्ने देखिन आएको छ । तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम कारणहरूबाट सो कोठामा वादीकोमात्र एक लौटी हक लाग्ने देखिन नआएको हुँदा पुरै कोठा मेरो हकको खिचोला मेटाइपाउँ भन्ने वादीको दावी पुग्न सक्तैन । खिचोला गरेको ठहराएको शुरुका र दे.दो.र अपील दोस्राको सदर गरी १२।७।१६।५ को डि.बे.ले छिनेको इन्साफ मिलेको देखिएन भन्ने ०२४।५।२०।३ को फुल बेञ्चको फैसला ।
१०. सो इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भन्ने वादीको निवेदन परेकोमा निवेदन पत्रको व्यहोरा श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए अन्याय भयो, त्यस्तै मुद्दामा अघि भएको निर्णय काटियो भन्ने समेत निवेदकको बिन्ती चढाई भएकोले रुल नियमबमोजिम गरी हेरी न्याय परेको रहेछ रहेनछ प्रमुखमार्फत ठहरसाथ जाहेर गर्नु भन्ने न्यायिक समितिका नाउँमा ०२४।११।३ मा बक्स भएको हुकुम प्रमांगी ।
११. प्रतिवादी सु.कटकबहादुर न्हुछे प्रधानसँगको कोठा खिचोला मुद्दा वारेको वादी गोपालबहादुर न्हुछे प्रधानले चढाएको मिति ०२४ साल आश्विन १२ गते रोज ५ को निवेदनपत्र श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा निजै वादी प्रतिवादीको अंशबण्डा मुद्दाबारे गोपालबहादुरले चढाएको मिति ०२४ साल आश्विन, १२ गते रोज ५ को निवेदनपत्रमा सर्वोच्च अदालत फुल बेञ्चबाट पुनः एकपटक दोहर्याई हेरी दिनु भन्ने आजै मिति ०२६।५।२० मा हुकुम प्रमांगी भई सकेकोले प्रस्तुत मुद्दा सोहीसँग सम्बन्धित भएकोले यसमा पनि सोही निवेदनपत्रमा हु.प्र. भए बमोजिम एक पटक पुनः सर्वोच्च अदालत फुल बेञ्चले दोहोर्याई हेरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसूफका प्रमुख सचिवालय राजदरबारबाट लेखी आएको ०२६।५।२०।६ को हुकुम प्रमांगी ।
१२. बक्स भइआएका हु.प्र.बमोजिम गर्नानिमित्त लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी अंश मुद्दाको साथै फु.बे.मा पेशगर्नु र त्यसको अन्तिम निर्णयभएपछि त्यस्तो निर्णयको दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारमा जनरल विभाग मार्फत पठाइदिनु भन्ने मननीय भु.पू.प्रधान न्यायाधीशबाट भएको ०२६।५।२२।१ को आदेश ।
१३. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा राखी ०२७।७।२१।६मा पेश भई निवेदक वादीतर्फ बाट विद्वान अधिवक्ता इच्छाहर्ष बज्राचार्यले र प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा शेष पछिको बकसपत्रको आधारमा वादीले दावा गरेको कोठामा कसको हक हुने हो भनी यो मुद्दामा निर्णय गर्नु परेकोले त्यो निर्णयमा पुग्नलाई पेवा पाउनेको पेवामाथि कस्तो हक रहन्छ तथा निजका शेषपछि कसले त्यो पेवा पाउँछ भनी यस मुद्दामा उपस्थित प्रश्न निराकरण गर्नु परेको छ ।
१४. सदर जङ्गी कोतवालीका प्रचा समेतको वादी प्रतिवादीको आमा रत्नकुमारीको पेवाको घर हो भनी प्रमाणित भएकै छ ।
१५. अंशबण्डाको ३७ नं.बमोजिम आर्जनमा सबै अंशियारको अंश लाग्ने व्यवस्था भएकोमा त्यसको अपवाद पनि ऐनमा देखिन्छ । अंशबण्डाको ३८ नं.मा बाबुले दिएको बकस जुन भाइले पाएको हो उसैले एकलौटी खान पाउने कुरा लेखिएको छ । पेवा बारेमा दान दातव्यको ४क नं. रहेछ । उक्त ऐनमा लेखिएको दाइजो पेवा स्वास्नी मानिसले आफू खुश गर्न पाउने हुनाले ऊ मरे खत रहेनछ भने उसको छोरा भए छोरा, छोरा नभए लोग्ने, लोग्ने नभए कन्या, विवाह भएकी वा विधवा छोरीको, ऊ नभए छोरीको छोरा, उ पनि नभए हकवालाको हुन्छ, माइतीपट्टिको हक लाग्दैन” भन्ने उल्लेख छ । त्यसमा पेवामा पेवा पाउनेको खुश हुन्छ भनेकोले अरू अंशियारलाई भाग पाउनु पर्ने वाध्यता छैन । यसरी हेर्दा अंशबण्डाको ३७ नं. को अपवाद दान दातव्यको ४क नं. देखियो । गोपालबहादुरले शेषपछिको बकसपत्र पाए पछि निजकी आमा ०५।१।२२ मा परलोक भएकी सो मिति पछिमात्र ०५ साल आषाढ १७ गते मानु छुट्टिएको कायम भएको हुनाले सगोलैमा छँदै शेषपछिको बकसपत्रबाट वादीको हक हुन आएको रहेछ । दान दातव्यको ४ क नं. ले पेवामा छोराहरूले बाँडी लिन पाउने अधिकारलाई सिमित गरेर छोराहरूमध्ये १ जनालेमात्र वापस भनी इरादा लिई यस्तो बकसपत्र तयार भएको हुनाले दाताको इच्छाको प्रतिकुल गर्नु मुनासिव नपर्ने र दान दातव्यको ४क नं.ले नै लिखत गरी पेवा यसले खानु भनी अधिकारको श्रृजना गर्न पेवाको धनी समर्थ भएकोले पेवाको धनीले जसले खान पाउने भनी लेखी दिन्छ उसैले एकलौटी खान पाउँछ । त्यसकारणले यो पेवाको घरको कोठामा वादी गोपालबहादुरको हक पुग्ने हुँदा प्रतिवादीले कोठामा खिचोला गरेको ठहराएको इन्साफ ०१३।७।१६।५ को डि.बे.को मुनासि छ, वादीकोमात्र एकलौटी हक नलाग्ने भनी खिचोला गरेको नठहराएको ०२४।५।२०।३को फु.बे.को इन्साफ मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु ।
तपसील
वादी गोपालबहादुर के शुरु रा.का.दे.दो.का ०६।८।१४।२ को फैसला बमोजिम प्रतिवादी सु.कटकबहादुर प्रधानबाट भराई दिने गरेको कोर्टफी र अरू दस्तूर समेत रु ३।३२ को लगत कायम राखी प्रतिवादी सु.कटकबहादुरबाट असुल भई ०६।१०।१७ मा अ.त. बिगो फाँटमा धरौट राखकोबाट भराई दिनु । प्रतिवादी सु.कटकबहादुरबाट ०६।१०।१७ मा असुल भई ०६।१०।१७ मा अ.त. विगो फाँटमा धरौट रु. ३।३२ निज सु. कटकबहादुरलाई फिर्ता दिने गरेको ०२४।५।२०।३ को फु.बे.को फैसला बमोजिमको लगत काटिदिनु भनी का.श्रे.अ.त.मा लगतदिनु…….१
प्र.सु.कटकबहादुर प्रधानके फुल बेञ्चको ०२४।५।२०।३ को फैसलाबमोजिम वादी गोपालबहादुरबाट भराई दिने गरेको कोर्टफी र वकिलफीसमेत जम्मा रु.२०।२६ भरी नपाउने हुँदा कानूनबमोजिम लागत काटीदिनु भनी ऐ….२
ऐ ऐ के ०१३।७।१६।५ को डिभिजन बेञ्चको फैसलाले गर्ने गरेको दण्ड रु.।२६ फुल बेञ्चको ०२४।५।२०।३ को फैसलाले नलाग्ने लगत काटी दिने गरेकोमा सो अनुसार गर्नु पर्दैन । उक्त लगत कायमै राख्नु भनी ऐ………….३
वादी गोपालबहादुर प्रधान के निजले ०२६।६।२।५ मा स.अ. लगत नगदी विभागमा दाखिल गरेको मुद्दा दोहर्याउँदा लाग्ने कोर्टफी रु.।२६ प्रतिवादी सु. कटकबहादुर प्रधानबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५।११ बमोजिम ३ वर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ……………….४
ऐ ऐ के ०२४।५।२०।३ को फु.बे.का फैसलाबमोजिम निजबाट प्र.सु.कटकबहादुरलाई भराई दिनेगरेको कोर्टफी रू. ।२६ निज गोपालबाट ०२६।६।२।५ मा स.अ.लगत नगदी विभागमा धरौट दाखिल भएको भराउनु नपर्ने हुँदा निज गोपाललाई नै कोर्टफि ऐन,२०१७ को दफा १७बमोजिम ३ वर्षभित्र फिर्तालिन आएमा कानूनबमोजिम फिर्तादिनु भनी ऐ…………५
नियमबमोजिम मिसिल बुझाइदिनु………………….६
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
न्या. चन्द्रप्रसाद प्रधान,
न्या. बबरप्रसाद सिंह र
न्या. हेरम्बराज
प्र.न्या. रत्नबहादुर विष्ट
१६. यसमा आमा रत्नकुमारीको ०५।१।१७ को शेषपछिको बकसपत्रबाट मेरो मात्र एकलौटी भएको भन्ने वादी दावीको कोठा बकस दिने आमा रत्नकुमारीको पेवाको भन्ने देखिएपछि ०५।१।२२ गते आमा परलोक भई शेषपछिको बकसपत्र बमोजिम हक भएको भन्ने वादीको भनाई भएको र यिनीहरूकै अंश मुद्दापट्टि वादी प्रतिवादीहरू मानु छुट्टिएको मिति ०५।३।१७ गते कायम गरेको समेत ०२४।५।२०।३ को फुल बेञ्चको इन्साफ मुनासिव ठहरी आजै यस बेञ्चबाट फैसला भएकोले उक्त कोठा समेत सगोलको आर्जन भन्ने प्रष्ट देखिएको छ । जहाँसम्म तत्काल प्रचलित दान दातव्यको ४क नं.को प्रश्न छ सो ऐन दिने र पाउनेको हकमा सम्म लाग्नु हुने हो । पेवाको धनीले बकस लेखी दिएको चीज बकस पाउनेकोमात्र एकलौटी हक हुने अरूको अंश नलाग्ने उक्त ऐनमा व्यवस्था भएको पाइदैन । तत्काल प्रचलित अंशबण्डाको ३७ नं.मा मानु नछुटीसँग बसेका अंशियारहरूले कमाएको धन र लाएको ऋण सबै अंशियारलाई भाग लाग्ने उल्लेख भएकोले आमाको पेवाको बकसपत्रबाट पाएको किन नहोस् बकस पाउनेले मानु नछुटी सँग बस्दा आर्जन गरेको सम्पत्ति मानिने र सगोलका सबै अंशियारको अंश भाग लाग्ने प्रष्टै हुँदा अरू तर्क गरिरहनु निरर्थक हुन्छ । तसर्थ, पुरै कोठा मेरो हकको हो खिचोला मेटाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराई ०२४।५।२०।३ को म समेतको फु.बे.बाट रायव्यक्त भएको मुनासिबैछ । यस बेञ्चका सहयोगी मा.न्या.हरूको रायसँग मेरो राय सहमत नहुँदा आफ्नो राय छुट्टै लेखी दिएको छु ।
इति सम्वत् २०२७ साल मार्ग ५ गते रोज ६ शुभम् ।