निर्णय नं. १०१८ – हक सफा
निर्णय नं. १०१८ ने.का.प. ०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२८ सालको दे.फु.नं. १६५१ फैसला भएको मिति...
निर्णय नं. १०१८ ने.का.प. ०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
सम्वत् २०२८ सालको दे.फु.नं. १६५१
फैसला भएको मिति : २०२९।२।३१।३ मा
पुनरावेदक : जिल्ला पर्सा प्र. सीधमास मौजे मधुवन बस्ने रमन भगत हरीजन
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने सकल सा कानू
मुद्दा : हक सफा
(१) “लेनदेन व्यवहारको १२ नं.मा “हकवालाले निखनी नलिएमा सो म्याद नाघेको ३५ दिन भित्र देहायका व्यक्तिले देहायबमोजिम निखनी लिन पाउँछन्–जग्गा बिक्री गरेकोमा सो जग्गा कमाउने किसानले लिए निजले निखनी लिन पाउँछ” भन्ने प्रष्ट रुपमा उल्लेख भएबाट किसान भन्नाले भूमिसम्बन्धी ऐनको किसानको परिभाषा अनुसार–वादी सो जग्गा कमाउने किसान भएकोले किसानले निखनी लिन पाउने ऐनमा प्रष्ट रुपमा उल्लेखित व्यवस्था भएको ।
(प्रकरण नं. १३)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कुलराज
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट
उल्लेखित मुद्दा :
फैसला
न्या. रंगनाथ उप्रेती
१. गोपी मिश्र ब्राहृमणका नाउँको महुअवन गुठिको महुअवन पं. वार्ड नं. ५ को नं. ७८१ को जग्गा वटैया जोतिआएको सर्भे हुँदा मेरानाउँमा नापनक्सा भई जोताहा अस्थायी पूर्जासमेत पाएको हाल सर्भे नं.२४६ को जम्मा बिगाहा १।४।४ मेरो मोही बाहेक नम्बरीवाला गोपी मिश्रले विपक्ष सकल सा कानूबाट रु.२०००। लिई २३।११।२१ मा सूक्री बिक्री लेखी पास गरिदिएको छ महिना नाघेको ३५ दिन भित्र मोहीको हैसियतले म मोहीवालाले रु.२०००। दरखास्तसाथ धरौट राख्न ल्याएको छु बुझ्न लगाई जग्गा बिगाहा १।४।४ पाउने गरी दर्ता दाखिल अड्डा ढाँटी कायम गरेमा विपक्षीलाई सजाय गरी पाउँ भन्ने रमन भगतको दर्खास्त ।
२. सो जग्गाको मोही जंड्डी कुर्मीले खरीद गरेका अवस्थादेखि आजसम्म जोति आएका छन् । मैले खरीद गर्नु २ वर्ष अघि मोही लेखाएको जोत्न नसक्दा सो, अवधि देखिनै जंङ्गी कुर्मीलाई जोत्न दिई आएको वादी मोही भए जङ्गीलाई जोत्न दिने थिएन । सो खरीद गरेको जग्गामा वादीको मोही हक छैन भन्ने सक्कल सा कानूनको बयान ।
३. लिखतमा रमन भगतले मोहियानीमा जोति आएको भन्ने लेखिएको दरखास्तवालाबाट पेश भएको जोताहा पूर्जाबाट समेत जग्गा बिगाहा १।४।४ मोही हैसियतले रमन भगतले निखन्न पाउने ठर्हछ भन्ने २४।९।२८ गतेको पर्सा मालको फैसला ।
४. रमन उपर मोहियानी तेरो मेरामा जङ्गी राउतको पर्सा जि.अ.मा उजूरी कारवाही चलिरहेकोले सो टुङ्गो नलागेसम्म निखनाउने नहुने । २२ सालमा कमाउन दिई २२।२३ सालमा जङ्गीले मोही बाली आफूले र धनी बोटी गोपीलाई दिई निजबाट बचतको भरपाई लिइसकेको भन्ने समेत व्यहोराको सकल सा कानूको पुनरावेदन ।
५. निखन्न पाउने ठहराएको पर्सा माल कार्यालयको मुनासिव भन्ने ०२५ साल आश्विन २९ गतेको प्र.जि.अ.जि.पञ्चायत पर्साको फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन भन्ने सकल साको पुरनावेदन ।
मोहीको हैसियतले निखन्न पाउने भन्ने रमनको उजूर परेकोमा प्रतिवादी सकलले मोही नहुनाले निखन्न दिनु मञ्जुर छैन भन्ने इन्कार गरेको रजिष्ट्रेशनको ३४ नं.मा निखन्न दिनु नपर्ने कारण देखाएकोमा इन्साफ दिनुपर्ने कुरा देखिन आए ३५ दिनभित्र अदालतमा नालिस गर्नु भनी सुनाई दिनु पर्छ भन्ने समेत अवस्था भएको सो बमोजिम नगरी माल तथा जि.पं.बाट निखन्न दिनुपर्ने भनी ठहर फैसला गरेको बदर हुने ठर्हछ । यसै मिसिलबाट जो बुझ्नु पर्ने बुझी ठहर निर्णय गरिदिनु भनी मिसिल नारायणी अञ्चल अदालतमा पठाइदिनु भन्ने समेत व्यहोराको २७।८।२९ गतेको सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
७. साविक मोही विपक्षीले खेती गर्न नसकेकोले जग्गाधनी र मोहीले मलाई २२ सालकै बालीमा आबाद गरी बाली बुझाई भर्पाई लिएको २४ सालमा पनि बाली लगाएकै छु । अब जोत्न दिन्न भनी रमन भगतले टन्टा गरेकोले टण्टा मेटाई मोही कायम गरी पाउँ भनी यिनै वादी उपर जङ्गीले दिएको मुद्दामा पर्सा जि.अ.बाट २२ सालदेखि जग्गा कमाउन दिएकोले रमन भगतको मोहियानी समाप्त हुन्छ भन्ने फैसला भएको मोहीको हक नभएपछि मोहीको हैसियतबाट थैली बुझ्न लगाई जग्गा निखनाई पाउँ भन्ने वादी दावा अ.बं.८२ नं.ले लाग्न नसक्ने हुँदा वादी दावा खारेज हुने ठर्हछ भन्ने समेत व्यहोराको मिति ०२८।२।१८ गतेको नारायणी अं.अ.का.न्या.जनार्दनलाल मल्लिकले गर्नु भएको फैसला ।
८. मेरा नाउँमा मोहियानी कायम भएपछि मेरो मोहीहक हटाउन भू.सु.अ.वा भूमि प्रशासकको आदेश विना व्यवस्थै छैन । रजिष्ट्रेशन पास गरेको लिखत मै मलाई मोही कायम गरी रजिष्ट्रेशन पास गरेपछि त्यस अघिको बाली बुझाई भर्पाई लिएको छु भन्ने जङ्गीको कुरा जालसाजी नै देखिने भरपाई पनि नसुनाई नदेखाई पर्सा जि.अ.को फैसलाको भरमा मलाई मोही नठहराएको उपरोक्त फैसलामा चित्त बुझेन भन्ने रमन भगतको पुनरावेदन ।
९. पर्सा जि.अ.को फैसला आज यस बेञ्चबाट बदर गरिएकोले सो फैसला अन्तिम भइसकेको भन्ने आधारमा अञ्चल अदालतले गरेको फैसला मिलेको नदेखिंदा छलफलको निमित्त विपक्षी झिकाउने मिति ०२८।१०।३ को स.अ.डि.बेञ्चको आदेश ।
१०. प्रस्तुत मुद्दाको पुनरावेदन जिकिर हेरी पुनरावेदक रमन भगत हरिजन र झिकाई आएका विपक्षी सक्कल सा कानूको वा. धुप नारायणप्रसाद सा कानूलाई तीन पटक पुकार्दा पनि उपस्थिति हुन नआएको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कुलराजको र झिकाइएका विपक्षी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री लवदेव भट्टको बहस जिकिरसमेत सुनी छलफल गरी निर्णयतर्फ विचारगर्दा निम्न कुराहरू को निरुपण गरी पुनरावेदक रमन भगतले निखन्न पाउने नपाउने ठहर गर्नु परेको छ ।
(१) जङ्गी कुर्मी नयाँ मोही कायम हुने हो होइन ?
(२) म्यादभित्रको उजूर हो होइन ?
(३) गुठी जग्गाको मोहीले निखन्न पाउने हो होइन ?
११. प्रथम जङ्गी कुर्मी मोही ठहराएको पर्सा जि.अ.को फैसलाको आधारमा नारायणी अं.अ.ले गरेको निर्णय मनासिव बेमनासिव के रहेछ भन्ने विचारगर्दा जङ्गीले बाली बुझाएको भरपाई पेश गरेको बाट जङ्गी मोही होकि भन्नलाई कानूनबमोजिम रमन भगतले प्राप्त गरेको मोहियानी हक कानून बमोजिम नगरी जग्गाधनीले दिएकै भरपाईको आधारमा कसैको कानूनी हक समाप्त गरी नयाँ मोही कायम गरिएको मनासिव भन्न नहुने र उक्त पर्सा जि.अ.को फैसला ०२८।१०।३ को बेञ्चबाट बदर समेत गरिएकोले यस सम्बन्धमा अरू विस्तृत व्याख्यान गरिरहन परेन ।
१२. दोश्रो प्रश्नको हकमा बहसको सिलसिलामा विपक्षी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री लव देव भट्टले हकवालाले म्यादभित्र निखनी नलिएमा सो म्याद नाघेको ३५ दिन भित्रमात्र वादी पुनरावेदक ले निखनी लिन उजूर गर्नपाउने ३५ दिने अवधि शुरु हुने हुँदा हकवालाको निखन्नै पाउने ६ महिना ३४ दिनको म्याद भित्रै ६ महिना, १ दिन भित्रको वादी दरखास्त लाग्न सक्ने होइन खारेज हुनु पर्छ भन्ने जिकिर लिनुभएको हकमा हकवालाले निखन्न थाहापाउने म्याद अवधि ६ महिना र सो अवधिमा थाहापाएको मितिले ३५ दिनभित्र नालेस गर्नपाउने हुँदा ६ महिना अवधि नाघे पनि ६ महिनाको अन्तिम दिनतिर थाहाभएको भए ३५ दिनसमेत जोडिदिने सहुलियत स.अ.ले व्याख्या गरिदिएको आधारबाट हकवालाले निखन्न पाउने म्याद ७ महिना ४ दिन कायम गरी सो अवधि नाघेपछिमात्र लेनदेन व्यवहारको १२ नं.मा उल्लेखित अन्य व्यक्तिले दरखास्त दिनपाउने भन्ने अधिवक्ताको तर्कसँग सहमत हुनसकिएन । यसबाहेक यो यस हकवालाको दरखास्त परेको छ भन्ने देखाउन खुलाउनु नसकेको र प्रतिउत्तर जिकिरमासमेत जिकिर लिन नसकेको कुरालाई आधार लिई खारेज गरी दिनु पर्छ भन्ने विद्वान अधिवक्ताको जिकिरसँग सहमत हुन सकिएन ।
१३. गुठी जग्गामा मोहियानी हक कायम हुने व्यवस्था नभएकोले मोहीको हैसियत देखाई यी वादी पुनरावेदकले निखन्न पाउँ भनी दिएको वादी दावा पुग्न नसक्ने हुँदासमेत खारेज हुनुपर्छ भन्ने पनि विपक्षीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनुभएकोतर्फ निखनी लिन पाउँ भनेको जग्गा महुअन गुठी भएको र मोही कायम नहुने भएकोले निखनी लिनपाउने होइन कि भन्नालाई जुन ऐनअन्तर्गतको निखनी लिनपाउँ भन्ने वादी दावा छ सो लेनदेन व्यवहारको १२ नं.मा हकवालाले निखनी नलिएमा सो म्याद नाघेको ३५ दिन भित्र देहायका व्यक्तिले देहायबमोजिम निखनी लिनपाउँछन् । जग्गा बिक्री गरेकोमा सो जग्गा कमाउने किसानले लिए निजले निखनी लिनपाउँछ भन्ने प्रष्ट रुपमा उल्लेख भएबाट किसान भन्नाले भूमिसम्बन्धी ऐनको किसानको परिभाषाअनुसार वादी पुनरावेदक रमन भगत सो जग्गा कमाउने किसान भएकोले किसानले निखनी लिनपाउने ऐनमा प्रष्टरुपमा उल्लेखित व्यवस्था भएकोलेसमेत यस तर्कसँग पनि सहमत हुनसकिएन । यसप्रकार रजिष्ट्रेशन पास गरी जग्गा लिनु दिनु गरेको लिखतमा यिनै पुनरावेदक रमनभगतले जग्गा कमाएको देखिएको र जोताहा पूर्जासमेत पेश गरेको, ऐनको म्याद भित्रै रीतपूर्वक थैली धरौट राखी दरखास्त गरेको देखिएको, बिक्री गरेको जग्गा कमाउने किसान वादी पुनरावेदक देखिएकोले वादी दावाको जग्गा बिगाहा १।४।४ निजले निखनी लिन पाउने ठर्हछ । सो ठहरेकाले नारायणी अञ्चल अदालतको मिति ०२८।२।१८ को फैसला बदर गरिदिएको छ । अरू तपसील बमोजिम गरी मिसिल नियमबमोजिम गरी बुझाइदिनु ।
तपसील
वादी रमनभगतके ना.अं.अ.ले गरेको जरिवाना रु.१। असूलभए फिर्तादिनु र नभए व्यहोरा जनाई लगत काटी दिनु भनी पर्सा जि.अ.मा पूर्जी गर्न लगत दिनु ……………………१
माथि ईन्साफखण्डमा लेखिएबमोजिम निखन्नपाउने ठहरेकाले वादी रमनभगतले दरखास्तसाथ राखेको धरौटी रु.२०००। फिर्तादिन नपरेकोले फिर्तादिनु भनी लगत दिएको ना.अं.को ०२८।२।१८ मितिको फैसला बमोजिमको लगत काटदिनु भनी पुर्जी गई.ऐ.मा ऐ……………..२
प्र.सकल सा कानूके इन्साफखण्डमा लेखिएबमोजिम वादीले निखन्नपाउने ठहरेकाले निखन्न दिननपर्ने भन्ने जिकिर लिएमा वादीले मिति०२८।५।१७गते स.अ.मा पुनरावेदनगर्दा राखेको कोर्टफी रु.१५।प्र.को जेथादेखाई कोर्टफी ऐनका म्याद तीनवर्षभित्र वादीको दरखास्तपरेमा दस्तूर केहीनलिई प्र.सकल सा कानूबाट वादीलाई भराइदिनू…………………३
वादीले धरौट राखेको रुपैयाँ प्रतिवादीलाई बुझाई सो बुझाएका धनको सयकडा २।। का दरले लिई निखनाई दिनु भनी सम्बन्धीत भूमिप्रशासन कार्यालयलाई पुर्जी गरिदिनु भनी पर्सा जि.अ.लाई लेखी पठाउनु …………………….४
इन्साफ उल्टी मा.अं.न्या.जनार्दनलाल मल्लिकको रेकर्ड राख्न स.अ. जनरल विभागमा सूचना दिनु………………….५
उक्त रायमा म सहमत छु ।
न्या. ब्रम्हादत्त तिवारी
इति सम्वत् २०२९ साल जेष्ठ ३१ गते रोज ३ शुभम् ।