April 12, 1977
Created by nepalarchives

निर्णय नं. १०१३ – घर जग्गा चलन चलाई पाउँ

निर्णय नं. १०१३     ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपट सिंह रावल माननीय...

निर्णय नं. १०१३     ने.का.प. २०३४

फुल बेञ्च

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री झपट सिंह रावल

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२९ सालको देवानी फुल नम्बर १४६

फैसला भएको मिति : २०३३।१२।३०।३

निवेदक : बझाङ दिलको कोटिलादरा डोल गाउँ बस्ने चौ.दीप बहादुर सिंहको मु.स.गर्न ऐ.बस्ने राजकुमारी देवी शाह

विरुद्ध

विपक्षी : का.जि. महाराजगञ्ज बस्ने मा.न्या.राजा श्री ईश्वरी जङ्गबहादुर सिंहको मु.स. गर्ने ऐ.ऐ. बस्ने राजा दीपक जङ्गबहादुर सिंह

मुद्दा : घर जग्गा चलन चलाई पाउँ

(१)   बन्धक दिन नपाउने बन्धकी दिएको धितो पक्का भन्न नमिल्ने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लवदेव भट्ट

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

उल्लेखित मुद्दा :    

फैसला

            न्या. वाशुदेव शर्मा

            १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई दोहरिई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको सक्षिप्त विवरण यस प्रकार छ : भू.पू. वझाङ्गी राजा राम जङ्गबहादुर सिंहले मबाट भा.रु.४४०००। कर्जा लिई आफ्नो हकको महाराजगञ्ज बालुवाटारको लक्ष्मणजङ्गको बङ्गला, दक्षिण बाहुनका घर, उत्तर पुरोहितको घर पश्चिम समेतको घर जग्गा मध्ये ईश्वरीजङ्ग बहादुरकी रानीलाई लिखत गरिदिएको माथिल्लो तला बाहेक बिच र छेडीको तला मलाई पूर्वपट्टिको बारी समेत ०१८।९।१२ गते भोगबन्धकी पास गर्ने लिखत गरिदिएकोमा पास नगरिदिएकोले पास गराई पाउँ भनी फिराद गरी पास हुने ठहरी फैसला भई ऐ.०२२।५।१८गते उक्त लिखतपास भएको विपक्षीहरू उक्तघरमा बसिरहनुभै घर चलन गर्न नदिएकोले अड्डैबाट चलनचलाई पाउँ भन्नेसमेत चौ.दीपबहादुर सिंहको फिरादपत्र ।

            ३.    मेरा रानीलाई घर बनाउँदाको बखत लिएको दाइजो पेवाको रुपैयाँ वापतमा घरको पश्चिम लङ छिंडी तलादेखि छानोसम्म पूरै र बरण्डाहरू दक्षिण ढोकाबाट बाटो गर्ने गरी सो घर र सो घर अगाडीको दक्षिण बगैंचा र धारा कुवा औ पश्चिमतर्फको बारी समेत भू.पु.राजा रामजङ्ग बहादुर सिंहले लेखिदिनु भएको हो । भू.पू.राजा रामजङ्गले रै.नं.१३६५ र मेरा रानी प्रेमकुमारीले रै.नं.१३६६बाट घरजग्गाको छुट्टाछुट्टै विवरण दिएको प्रेमकुमारी तर्फको हकमा ०१।१।१८ गते फार्छेपत्र गराई लिई हक भई घर बनाएको अवस्थाको भएको र सोबाहेक राजा बसी आएको घर जग्गाको हकमा १९५० साल अश्विन सुदि ६ रोज ६ को २ छापे बण्डापत्रबमोजिम नेपालको घर भनेको ०१।१।१८ गते भू.पू.रामजङ्ग बहादुरले बिक्री गर्नलाई बिन्ति चढाउँदा बिक्री भएका घरको रुपैयाँले खरीद हुने र बनाउने घर जग्गा जो बझाङ्गी राजा हुन्छ उ बस्ने गरी अर्को घर जग्गा खरीद र बनाउने भन्न बोली पारी नक्सालको घर बिक्री गर्न आएमा र सो बिक्रीबाट आएको रुपैयाँले खरीद गर्न घर जग्गासमेत ऐनको रीत पुर्‍याई पास गर्न रजिष्ट्रेशन अड्डाका नाउँमा २०००।१२।१।५ मा १ छापे भएको भन्ने २००१।१।१।१८को फार्छेपत्रमा उल्लेख भएको हुँदा राजाले बन्धकमा राख्न वा बिक्री गर्न नपाउने प्रष्ट छ । लिखतमा यो यस्तो यति माटो मुरी रोपनीको जग्गा र यो यस्तो घर भन्ने खुलेको छ भन्ने समेत नसकेको हुँदा अड्डैबाट घर जग्गा चलन चलाइपाउँ भनी झुटो उजूर गरेमा विपक्षीलाई सजाय गरी मेरो रानीको हक भएको घर जग्गा बाहेक घर जग्गा जो राजा हुन्छ सन्तान दरसन्तान भोग गर्न पाउने २ छापे बण्डापत्र र १ छापे समेत बमोजिम म बझाङको राजाको हक भएको मेरै हक कायम गरी पाउँ भन्ने समेत मा.न्या.श्री राजा ईश्वरी जङ्गबहादुर सिंहको प्रतिउत्तरपत्र ।

            ४.    राजा रामजङ्गले बेच बिखन दान दातव्य समेत कुनै गर्न नपाउने निजको श्रीमती र छोराको समेत हक दावी कुनै नलाग्ने सिर्फ राजापछिको जेठो भाइले पाउने हो । सो कुरा १९८६ सालको खड्गनिसाना समेतमा उल्लेख छ । राजा रामजङ्गसँग वादीको साँच्चै नै लेनदेन भएको भए पोता तिरी भोग चलन समेत गर्नुपर्ने सो घरमा मेरा पूरा हक भएका हुँदा वादी दावी झुटो हो भन्ने समेत केशरजङ्ग बहादुर सिंहको प्रतिउत्तरपत्र ।

            ५.    चौ. दीपबहादुर सिंहलाई राजा रामजङ्गबहादुर सिंहले पास गरी बन्धकी दिएको लिखत बदर हुने ठहरी फैसला भएकोले चलन चलाई पाउँ भन्न वादी दावी पुग्न नसक्ने ठर्हछ भन्ने समेत २०२५।१०।१४।२ को काठमाडौं जिल्ला अदालतको फैसला ।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत चौ. दीपबहादुर सिंहको पुनरावेदन परेकोमा शुरु जि.अ.को इन्साफ सदर गरी बा.अञ्चल अदालतबाट ०२६।७।१७ मा फैसला भएको रहेछ ।

            ७.    लिखत बदर मुद्दाको पुनरावेदन हेरी बन्धकी लिएको घर चलन चलाई पाउँ भन्ने समेत दीपबहादुरको पनुरावदेनमा यिनै वादी प्रतिवादीको लिखत बदर मुद्दामा लिखत बदर गर्ने गरेको वाग्मती अञ्चल अदालतको इन्साफ मुनासिव ठहराई आजै यस बेञ्चबाट किनारा भएकोले प्रस्तुत मुद्दामा चलन चलाई दिनु परेन । का.जि.अ. को इन्साफ सदर गरी बा.अं.अ.ले छिनेको मुनासिवछ भन्नेसमेत स.अ.डिभिजन बेञ्चको ०२८।२।२३।१को फैसला ।

            ८.    डिभिजन बेञ्चको इन्साफ दोहर्‍याई पाउँ भन्ने प्रतिवादी दीपबहादुर सिंहको निवेदनमा मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगीमा न्यायिक समितिको सिफारिसमा निवेदक प्रतिवादी चौ. दीपबहादुर सिंह विपक्षी वादी मा.न्या.राजा ईश्वरीजङ्ग बहादुर सिंह भएको लिखत बदर मुद्दामा दोहर्‍याई पाउँ भनी चौ. दीपबहादुर सिंहको परेको निवेदनबाट कारवाही हुँदा मुद्दा दोहर्‍याई सिफारिस जाहेर गर्ने ठहराई आजैका मितिमा पर्चा भएकोले प्रस्तुत मुद्दा सोही सम्बन्धको हुँदा एकै साथ राखी हेर्नु पर्ने देखिन्छ । स.अ.ले आफ्नो अघिको निर्णय जाँच्नु आवश्यक देखिएकाले दोहर्‍याई आदेश बक्सनु पर्ने भनी न्यायिक समितिबाट जाहेर गरेकोले सिफारिस अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने ०२९।२।३ मा हु.प्रमांगी बक्स भई आएको रहेछ ।

            ९.    वादी चौ. दीपबहादुर सिंहको मु.स. गर्ने राजकुमारी देवी सिंहकोतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लेबदेव भट्टले राज्य उन्मूलन भईसकेकाबाट साविकको हक अधिकार समाप्त भइसकेको हुँदा प्रतिवादी राजा ईश्वरीजंङ्गको सम्बन्धित घर जग्गामा हकै नरहेकोमा पनि बन्धकी लिखत बदर गरी पाउँ भनी अर्को मुद्दा गरी चलन दिनुपर्ने घर जग्गा वादीलाई चलन नदिएकोले वादीले घर जग्गा चलन पाउनु पर्छ भनी प्र. राजा ईश्वरीजङ्गको मु.स. गर्ने राजा दीपकजंङ्ग बहादुर सिंहतर्फबाट उपस्थित विद्वान अधिवक्ता ठाकुरप्रसाद खरेलले वादीले चलन पाउँ भनी दावी गरेको घर जग्गा वादीलाई लिखत गरी दिने असामी भूतपूर्व राजा रामजङ्गको निजी हकको नभई राजा जयपृथ्वीबहादुरले बझाङमा जो राजा हुन्छ उ बस्ने गरी बनाएको घर बिक्री भई सोही बमोजिम राजा बस्ने भनी खरीद भएको घर जग्गा राजा भएको कारणले बस्नसम्म पाएको छ । त्यस्तो राजा भएको नाताले बस्न पाएको घर जग्गा आफ्नो निजी सम्पत्ति सरह राजा रामजङ्गले वादीलाई भोगबन्धकी दिन नपाउने दिएको र वादीले लिएकोहुँदा वादीले घरचलन पाउनसक्ने स्थिति नै छैन भनी बहस गर्नु भयो ।

            १०.    प्रस्तुत मुद्दाको अध्ययन र उपस्थित पक्ष विपक्षतर्फका विद्वान अधिवक्ताहरूको बहस जिकिरबाट वादी दावीको घरजग्गा वादीलाई भूतपूर्व बझाङ्गी राजा रामजङ्गले भोगबन्धकी दिन पाउने हो वा होइन भन्ने प्रथम प्रश्न र वादीले वादी दावी बमोजिम चलन चलाई पाउने हो वा होइन भन्ने द्वितीय प्रश्नको समाधान गरी मुद्दाको निर्णय दिनुपर्ने देखिन आयो ।

            ११.    प्रथम प्रश्नतर्फ विचार गर्दा वादी दावीको घर जग्गामा वादीलाई भोगबन्धकी लेखी दिने भूतपूर्व राजा रामजङ्गको के कस्तो हक हुन आउँछ भन्ने हकमा बझाङको १ नेपालको १ घर अघि बण्डापत्र हुँदा राजा बस्ने गरी राजा जयपृथ्वीबहादुर सिंहले राखेकोमा नक्सालको घर पाएक भएकोले सो नेपाल नक्सालको घर बिक्री गर्न रजिष्ट्रेशन पास गरी दिनु भन्ने गरी पाउँ भनी भूतपूर्व बझाङ्गी राजा रामजङ्गबहादुर सिंहले बिन्ति चढाएको व्यहोरा जाहेर भयो । बिक्री भएको रुपैयाँले खरीद हुने बनाउने घर जग्गा जो बझाङ्गी राजा हुन्छ उ बस्ने गरी अर्को घर जग्गा खरीद गर्ने बनाउने भन्ने बोली पारी सो नक्सालको घर बिक्री गर्न आएमा र सो बिक्रीबाट आएका रुपैयाँले खरीद गर्न घर जग्गा समेत पास गरी दिनु भन्ने रजिष्ट्रेशन अड्डाका नाउँमा २००० साल चैत्र ११ गते ५ मा १ छापे भई नक्सालको घर बिक्री भई प्रस्तुत मुद्दाको सम्बन्धित घर जग्गा कोमलादेवीबाट बझाङमा जो राजा हुन्छ बस्ने गरी खरीद भएको भन्ने राजीनामा फारामको धनीको महलमा बोली परी राजा रामजङ्ग लेखिएको २००१ साल बैशाख १८ गते रोज १ मा रजिष्ट्रेशन पास भएको लिखत देखिएको छ । सो लिखतको आधारबाट वादीले चलन पाउँ भनी दावी गरेको घर जग्गा वादीलाई लिखत गरिदिने भूतपूर्व बझाङ्गी राजा रामजङ्गको निजी सम्पत्ति जो राजा हुन्छ राजा भएसम्म बस्न पाउने देखिन आउँछ । त्यस्तो राजा भएसम्म बस्न पाउने घर कुनै राजाले पनि आफ्नो निजी सम्पत्ति सरह बेच बिखन वा बन्धकी दिन पाउने अधिकार पाउँछ भनी उक्त पास राजीनामा लिखतले भन्न मिल्दैन । वादीलाई लेखिदिनु भन्दा अघि पनि गुणनाथ उपाध्यायलाई भोगबन्धकी दिएको भन्ने कुरा मिसिलबाट देखिन आउँछ । तापनि, गुणनाथ साहू भएको लिखतको औचित्यमा हाल यो मुद्दाबाट अदालतको विचाराधिन छैन । त्यस्तो लेखिदिन हकदैया नभएको सम्पत्ति अघिदेखि दिएबाटै बिक्री गर्ने बन्धकी दिने अधिकार स्वतः आउन सक्छ भन्न पनि मिल्दैन । तसर्थ, वादी दावीको घर जग्गा वादीलाई भूतपूर्व बझाङ्गी राजा रामजङ्गले बन्धक दिननहुने बन्धकी दिएकोदेखिन आयो ।

            १२.   दोश्रो प्रश्नका हकमा माथि लेखिएबमोजिम वादीलाई घर जग्गा बन्धकी दिने भूतपूर्व बझाङ्गी राजा रामजङ्गले राजा भएसम्म बस्न पाउने हो, बिक्री बन्धकी दिन पाउने निजी सम्पत्ति होईन भन्ने घर जग्गाको लिखतले नै प्रष्ट व्यक्त गरेकोले त्यस्तो विक्री बन्धक दिन नपाउने बन्धकी दिएको धितो पक्का भन्न मिलेन र वादीले घर जग्गा चलन पाउन सक्ने देखिएन । वादीको परेको थैली कपाली सरह कानूनबमोजिम जजसका नाउँमा नालेस गर्नुपर्छ नालेस गरी कानूनबमोजिम गरिलिनु भनी वादीलाई सुनाई दिने ठर्हछ । वादीले चलन नपाउने गरेकोसम्म डिभिजन बेञ्चको इन्साफ मुनासिव छ । कोर्टफी रहेकोले अरू केही गर्न परेन । मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह,

न्या. झपटसिंह रावल,

न्या. ईश्वरीराज मिश्र,

न्या. सुरेन्द्रप्रसाद सिंह

 

 

इति सम्वत् २०३३ साल चैत्र ३० गते रोज ३ शुभम् ।