निर्णय नं. १०१० – जग्गा खिचोला
निर्णय नं. १०१० ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत्...
निर्णय नं. १०१० ने.का.प. २०३४
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् २०३३ सालको स.अ.दे.फु.नं. ३०
फैसला भएको मिति : २०३३।११।२१।९ मा
निवेदक : पाल्पा गाडाकोट गाउँपञ्चायत अन्तर्गत वार्ड नं.९ अतरवास बस्ने धर्म बहादुर मश्राँगी मगरको वा डुकबहादुर मश्राँगी मगर
विरुद्ध
विपक्षी : ऐ ऐ बस्ने जुद्धबहादुर मश्राँगी थापा मगर
मुद्दा : जग्गा खिचोला
(१) आफ्नु जग्गामा प्रतिवादीले जवरजस्ती गोठ घर बनाएको भए मुलुकी ऐन, घर बनाउनेको ११ नं. को म्याद भित्र वादीले नालेस गरी आफ्नो गराउन सक्नु पर्ने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा
उल्लेखित मुद्दा :
फैसला
न्या.वासुदेव शर्मा
१. मु. परजित बोटे माझीका नाउँमा ०९ सालमा दर्ता भएको निजैका तालुक भित्रको पाल्पा गाडा कोट गाउँपञ्चायत अन्तर्गत वार्ड नं.७ अन्तर्गतमा पर्ने तिरो रु. ६।७३ मध्य आधी तिरो रु. ३।३६ बढको रु. १।३५ समेत जम्मा रु. ४।७१।२ लागेको पूर्व साइवारीको सिउँडीको बार, राम सिंहको बुटो, पश्चिम डहर केतुकी धारी, उत्तर गैरा वारीको आठो, दक्षिण खाक्री खोला, यति ४ किल्ला भित्रको भलापटार भन्ने पाखो जग्गा मु.परजित बोटेबाट २०२०।७।२९।६ मा म धर्मबहादुरले रु. २७५०। मा राजीनामा लिई मेरो हक भोग भएको जग्गामा २०२५ साल चैत्र ९ गतेका दिन विपक्ष प्रतिवादीले मलमाथि मल खापि हाली खनजोत समेत गरी खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
२. वादीको जग्गामा खिचोला गरेको छैन मु परजित बोटेसँग निजका नाउँमा दर्ता भएको भलायटार भन्ने पाखो जग्गा बढ समेत तिरो रु. ४।७१।२ लागेको पूर्व ठाडो बार, गिदरीको रुख पश्चिम डहरबाटो, उत्तर मूल बाटोदेखि सोही पाखोवारीको आठो, यति ४ किल्ला भित्रको भलायटार भन्ने जग्गा रु २७५०।मा २०२०।७।२७ मा घरसारमा र ऐ २९ गते रजिष्ट्रेशन पास गरी म जुद्धवीरले राजीनामा गरी लिई हक भोग भई रहेकोमा भतिजा छकबहादुरले पनि इच्छा गर्दा उक्त जग्गा मध्येबाट तिरो रु. १।३५।३ लागेको पूर्व धरमबहादुरको बारी, ढिक पश्चिम बाटो, उत्तर काभ्राको रुख र ढिक, दक्षिण बाटो, यति ४ किल्ला भित्रको जग्गा म जुद्धवीरले रु.४५। मा छकबहादुरलाई राजीनामा दिएको हुँदा ०२० साल फाल्गुण १७ गते म छकबहादुरले राजीनामा लिई धेरै पर्ति पाखो हुँदा कैयौं पैसा खर्च लगाई अवाद कमोद गरी त्यसैमा घर धुरी समेत खडा गरी तिरो रकम चलाई भोग चलन गरी आएका छौं । वादीको जग्गा हाम्रा जग्गादेखि पूर्वपट्टि छुट्टै भएकोबाट हाम्रो जग्गा घुसाई खाने नियतबाट झुटो उजूर गरेको हो भन्ने समेत व्यहोराको प्रतिउत्तर ।
३. वादीको राजीनामाको जग्गामा प्र.ले नक्सा नं.१४/१ को घर बनाएको र प्रतिवादीको घर भनी नक्सामा जनिएको प्रतिवादीले देखाएको ४ किल्ला भित्रको जग्गा मध्ये अरू जग्गा वादीलाई छाडी नक्सा नं.१३/१ को आँपको रुख सिमाना कायम राखी मिल्नामा मञ्जुर गरी डोरमा दरखास्त समेत दिएको समेतबाट नक्सा नं.३/१, ३/२, ३/३, ३/४, ३/५ र ३/६ आठोडिल ढिक नै उल्लेखित २०।७।२९।६मा पास भएको वादी धरमबहादुरको राजीनामाको उत्तर किल्ला साँध देखिएकोले सोदेखि दक्षिणतर्फ वादी दावी राजीनामाका किल्ला साँध सिमाना भित्रको वादी दावी बमोजिमको नक्सामा झगडा परेको भनी जनिएको नक्सा नं.१२/१, १२/२, १२/३, १२/४ र १२/५ को जग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठर्हछ भन्ने पाल्पा जिल्ला अदालतको ०२६।९।२।४ को फैसला ।
४. उक्त इन्साफमा चित्तबुझेन भन्ने जुद्ववीरसमेतको लुम्बिनीअञ्चल अ.मा पुनरावेदन परेको ।
५. मिसिल साथ रहेको नक्सा हेर्दा नक्सा नं.१४/१ को घर गोठ २० सालदेखि बनाई रहेको भन्ने प्रतिवादी छकबहादुरको लेखाई भएको र ०२५ सालमामात्र बनाएको भन्ने वादीको लेखाई भएको देखिएको जि.मु. बहादुर थापा मगरको र प्रजित बोटे समेतको जग्गा मुद्दाको सर्वोच्च अदालतबाट झिकाई आएको रिकर्ड मिसिल साथ रहेको नक्सा हेरेमा नक्सा नं.२८/१ मा छकबहादुरको घर भन्ने लेखिएको, नक्सा हेरेमा नक्सा कैफियत खण्डमा पनि वादी धरमबहादुर पनि सो नक्सा सरजमिन बसेको देखिएकोबाट प्रतिवादी छकबहादुरले हालमात्र घर बनाएको नभई पहिलेदेखि घर बनाई बसेको उक्त प्रमाण मिसिल साथ रहेको ०२२।५।२७ को नक्साबाट देखिएकोले र सो नक्साको २८/२ मा लेखिएको जग्गाको प्रकृति र हालको १४/२ को घर जग्गा लेखिएको ठाउँको प्रकृति समेत मिल्न आएको नक्सा भिडाउँदा देखिने हुँदा समेत प्रतिवादीले खिचोला गर्यो भनी वादीले झुटो उजूर गरेको ठर्हछ भन्ने लुम्बिनी अञ्चल अदालतको ०२८।३।१६।४ को फैसला ।
६. लुम्बिनी अञ्चल अदालतबाट हदमुनि गरी फैसला गरेकोमा दोहराइ इन्साफ जाँची पाउँ भनी श्री ५ महाराजाधिराज सरकारको जुनाफमा धरमबहादुरको हकमा छकबहादुरले चढाएको निवेदनका व्यहोरा साँचो भए अञ्चल अदालतबाट हदमुनि गरी छिने सो मुद्दाका मिसिल झिकाई स.अ.बाट इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई आए बमोजिम गर्न विविधको लगतमा दर्ता गरी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूबाट ०२८।८।२०।२ मा आदेश भएको ।
७. वादी प्रतिवादीले राजीनामा लिई प्राप्त गरेको जग्गा मुखिया परजित बोटेको दर्ता मध्येको जग्गा देखिन आउँदछ । मिसिल सामेल गरेको ०२६।६।१८ को नक्सामा वादी प्रतिवादी दुवै जनाको जग्गालाई चारैतर्फ सिउडीको बार केतुकि धारी डहर समेतले बेष्ठित गरेको देखिन्छ । सो जग्गा मध्ये नक्सा नं.१२/१, १२/२, १२/३, १२/४ र १२/५ को जग्गामा झगडा परेको भन्ने नक्सामा उल्लेख गरेको देखियो । सो झगडा परेको जग्गा मध्ये नक्सा नं.१२/५ को कित्तामा नं.१५/१ र १५/२ को प्रतिवादीको घर गोठ भन्ने उल्लेख भएको देखिन्छ । दुवै पक्षले घर गोठ बनाई भोग गरेको जग्गालाई वादीकोमात्र एकलौटी ठहराई शुरु जिल्ला अदालत र प्रतिवादीकोमात्र एकलौटी ठहराई लुम्बिनी अञ्चल अदालतले फैसला गरेको मिलेको देखिएन । वादीको घर गोठ समेत भई भोग चलन भएको झगडा परे मध्ये नक्सा नं.१२/५ को जग्गा वादीको हक ठहर्ने र सो बाहेक अरू झगडा परेको जग्गा प्रमाणलाई आएको बहादुर थापा, परजित बोटेको जग्गा मुद्दाको छिनुवा मिसिल सामेल रहेका नक्साप्रमाणबाटसमेत प्रतिवादीको ठहर्ने देखिएकोले लु.अं.अ.को इन्साफ केही गल्ति ठर्हछ भन्ने समेत स.अ.डिभिजनबेञ्कचको ०३०।३।२५।२ को फैसला ।
८. नक्साबाट खास मेरै जग्गा देखिएकोलाई विपक्षीको देखिन्छ भनी मलाई हराई भएको डिभिजन बेञ्चको फैसला फुल बेञ्चबाट दोहराई शुरु पाल्पा जिल्लाको इन्साफ मनासिव गरिदिनु भन्ने समेत व्यहोराको सर्वोच्च अदालतका नाउँमा हुकुमको प्रमांगी पाउँ भनी धर्मबहादुर मश्राँगी मगरले श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए सर्वोच्च अदालत डि.बे.बाट फैसला भएको यस मुद्दाको मिसिल झिकी स.अ.फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी दिनु निबेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराज बाट हुकुम बक्सेको छ भन्ने मौसुफका विशेष जाहेरी विभागबाट प्रमाङ्गी भई आए बमोजिम सम्माननीय प्र.न्या.श्री रत्नबहादुर बिष्टज्यूमा पेश हुँदा भइआएका हु.प्र.बमोजिम गर्न फुल बेञ्च को लगतमा दर्ता गरी रुल नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने आदेश भएको रहेछ ।
९. निवेदक वादी धर्मबहादुर मश्राँगी मगरकोतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीले मु.परजित बोटेबाट २०२०।७।२९ मा राजीनामा लिंदा सो लिखतको किल्लामा उत्तर किल्ला गैराबारीको आँठो भन्ने उल्लेख भएको छ र सो लिखतमा प्रतिवादी जुद्ववीर आफै साक्षी बसेको समेत छन् । त्यस्तो वादीको हकभोग भएको जग्गामा प्रतिवादी जुद्धवीरले खिचोला गर्न र प्रतिवादी जुद्धवीरले परजित बोटेबाट राजीनामा लिंदा वादीको उत्तर किल्ला छुने गरी दक्षिण किल्ला उल्लेख भएबाट सो भन्दा पनि दक्षिणतर्फको जुद्धवीरको हक नभएको जग्गा समेत छकबहादुरलाई राजीनामा गरिदिंदैमा वादीको जग्गा जान नसक्ने हुँदा वादीको राजीनामा भित्रको जग्गा वादीको कायम ठहर्नु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१०. प्रतिवादी छकबहादुर मश्राँगी मगर समेतकोतर्फबाट विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हाले प्रतिवादी जुद्धवीरबाट छकबहादुरले राजीनामा लिंदा वादी धर्मबहादुर साक्षी समेत बसेका छन् र प्रतिवादी जुद्धवीरले आफ्नै राजीनामाभित्रको जग्गामा घरबास गरी बसेका छन् । वादीको जग्गामा खिचोला गरेका छैनन् भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
११. यसमा डि.बे.बाट झगडा परेको न.नम्बर १२/१, १२/२, १२/३, १२/४ र १२/५ को जग्गा मध्ये नक्सा नं.१२/५ को जग्गासम्म वादीको हक ठहर्ने गरी फैसला गरेको मिलेको छ, छैन भन्ने कुरामा नै यस बेञ्चबाट निर्णय दिनुपर्ने मुख्य विषय हुन आएको छ ।
१२. मु.परजित बोटेबाट ०२०।७।२९।६मा राजीनामा लिई हक भएको पूर्व सोही बारीको सिउडीको बार, राम सिंहको बुटो, पश्चिम डहर केतुकी बारी, उत्तर गैराबारीको आँठो, दक्षिण खाक्री खोला, यति ४ किल्लाभित्रको भलायटार भन्ने पाखो जग्गामा २०२५।१२।९ गतेका दिन खिचोला गरे खिचोला मेटाई पाउँ भन्नेसमेत वादीको दावा, वादीकै दातासँग एउटै मितिमा पूर्व ठाडो बार गिदरीको रूख, पश्चिम डहर बाटो, उत्तर मूल बाटो, दक्षिण सोही पाखो बारीको आँठो, यति ४ किल्लाभित्रको भलायटार भन्ने पाखो जग्गा राजीनामा लिई हक भएको जग्गा मध्ये पूर्व धर्मबहादुरको बारी ढिक, पश्चिम बाटो, उत्तर काभराको रुख र ढिक, दक्षिण बाटो, यति ४ किल्लाभित्रको जग्गा म जुद्धवीरले म छकबहादुरलाई राजीनामा दिएकोले घरबास गरी बसेका छौं । वादीको जग्गा खिचोला गरेको छैन भन्ने समेत प्रतिवादीहरू भएको प्रस्तुत मुद्दामा पाल्पा जिल्ला अदालतबाट २०२६।८।१८।४ मा भएको नक्सा मुचुल्कामा उल्लेख भएको नक्सा नम्बर १२/१, १२/२, १२/३, १२/४ र १२/५ को जग्गामा झगडा परेको भनी उक्त नक्सा मुचुल्काको कैफियतबाट देखियो । उक्त नक्सा मुचुल्काको नक्सा नम्बर ३/१, ३/२, ३/३, ३/४, ३/५ र ३/६ मा आँठो डिल भएको भन्ने जनिएको । प्रतिवादी जुद्धवीरले परजित बोटेबाट राजीनामा लिंदा दक्षिण किल्लामा सोही पाखो बारीको आँठो भन्ने उल्लेख भएको वादीको राजीनामाको उत्तर सिमाना गैरा बारीको आँठो भनेको नक्सा नम्बर ३/१, ३/२, ३/३, ३/४, ३/५ र ३/६ सोही बारीको सिउडीको बार र राम सिंहको बुटो भनेको नक्सा नम्बर प्रकृतिमा जनाई सोही मुचुल्काको नक्सा नम्बर १/१, १/२, १/३, १/४, १/५, १/६, १/७, १/८, १/९ र १/१० को सिउडी बार र राम सिंहको बुटोसमेत उक्त नक्सा मुचुल्कामा देखाई सोही नाम मुचुल्काको पश्चिम नक्सा नम्बर २/१, २/२, २/३, २/४, २/५, २/६ र २/७ को डहर केतुकी घारी र दक्षिण नक्सा नं.४/१ र ४/२ को खाक्री खोला भन्ने उक्त नक्शा मुचुल्काको प्रकृतिमा उल्लेख भएको किल्लासँग वादी धर्मबहादुरले मु.परजित बोटेबाट राजीनामा लिएको किल्लासँग झगडा परेको जग्गा प्रष्टसँग मिल्न भिड्न आएको, प्रतिवादी जुद्धवीरले राजीनामा लिंदा दक्षिण किल्ला वादीको राजीनामाको उत्तरकिल्ला गैरा बारीको आँठो जग्गासम्म लिएको उक्त नक्सा मुचुल्काबाट प्रष्ट देखिन्छ । झगडा परेको सबै कित्ता जग्गा मेरो राजीनामा भित्रका भन्ने वादी, हाम्रो राजीनामा भित्रको भन्ने प्रतिवादीहरूको भनाई भएबाट सो नक्सा मुचुल्काको नक्सा नं.१२/४ को जग्गामा प्रतिवादी छकबहादुरको नक्सा नं.१४/२ गोठ घर भन्ने उल्लेख भएको पाइन्छ । प्रमाण निमित्त आएको वादी बहादुर थापा मगर समेत प्रतिवादी परिजत बोटे भएको जालसाजी मुद्दामा ०२२।५।२७।१ मा भएको नक्सा मुचुल्काको नक्सा नम्बर २८/२ मा प्रतिवादी छकबहादुरका कटेरा घर भन्ने उल्लेख भएको देखिन्छ । आफ्नो जग्गामा प्रतिवादी छकबहादुरले जबर्जस्ती गोठ घर बनाएको भए मुलुकी ऐन घर बनाउनेको ११ नं.को म्यादभित्र वादीले नालेस गरी आफ्नो हक गराउन सक्नुपर्ने सो गराएको नदेखिएकोले न.नं.१२/४ को जग्गा वादीकै हो भनी ठहर गर्न मिलेन ।
१३. तसर्थ, उक्त नक्सा नं.१२/४ को जग्गामा नक्सा मुचुल्का वादी धर्मबहादुरको दावी नपुग्ने र अरू झगडा परेको नक्सा नम्बर १२/१, १२/२, १२/३ र १२/४ समेतका कित्ता जग्गाहरू वादीकै राजीनामा किल्ला भित्रका देखिएबाट प्रतिवादीहरूले खिचोला गरेको ठहर्नेमा नक्सा नं.१२/५ को जग्गासम्म वादीको ठहराएको डिभिजन बेञ्चको ०३०।३।२५।२ को इन्साफ मिलेको देखिएन । अरू तपसील को कुरामा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।
तपसील
वादी धर्मबहादुर मश्राँगी मगर के माथि इन्साफ खण्डमा ठहरे बमोजिम ४ कित्ता जग्गा वादीको ठहरेकाले सोको हुने कोर्टफी रु. १०५।देहायका प्रतिवादीहरूले लुम्बिनी अञ्चल अदालतमा पुनरावेदन गर्दा ०२६।९।२४ मा रुपन्देही जिल्ला अदालतमा धरौट राखेको कोर्टफी १३०।मध्येबाट रु. १०४। भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ को म्याद भित्र वादीको दर्खास्त परेमा दस्तुर केही नलिई प्रतिवादीहरूले राखेको धरौटी कोर्टफी मध्येबाट कानूनबमोजिम भराई दिनु भनी पाल्पा जि.अ.मा लेखी पठाउन का.जि.अ.तहसिलमा लगतदिनु………………….१
प्रतिवादी जुद्धवीर महश्राँगी मगर १, छकबहादुर मश्राँगी मगर १
लुम्बिनी अञ्चल अदालतका ०२८।३।१६।४ को फैसला र पाल्पा जिल्ला अदालतका २०२६।९।२।४ का फैसला बमोजिमको सम्पूर्ण लगत कायम राख्नु पर्दैन । व्यहोरा जनाई लगत कट्टा गर्नु भनी पाल्पा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.तहसिल फाँटमा लगत दिनु………………२
हामीहरूको सहमती छ ।
प्र.न्या. नयनबहादुर खत्री,
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३३ साल फाल्गुण २१ गते रोज ६ शुभम् ।