December 14, 2017
Created by nepalarchives

निर्णय नं. १००४३ – सवारी ज्यान

सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टरार्इ माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।८।२८ ०७३-CF-०००७...

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टरार्इ

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७४।८।२८

०७३-CF-०००७

 

मुद्दाः सवारी ज्यान

 

पुनरावेदक / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानरपालिका वडा नं. ८ बस्ने भरत महर्जनको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानरपालिका वडा नं. ८ बालकुमारी बस्ने सन्‍नी महर्जन

 

सामान्य अर्थमा लापरवाहीपूर्ण कार्य (Reckless Conduct) त्यस्तो कार्य हो जसले परिणामलाई बेवास्ता गर्छ । अर्थात्‌, आफ्नो कार्यको परिणाम यस्तो हुनसक्छ भन्ने जान्दाजान्दै पनि त्यस्तो कार्य नगर्नुपर्ने सकारात्मक दायित्वको उल्लङ्घन गर्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) मा लापरवाहीको अतिरिक्त “जानीजानी” भन्ने शब्द प्रयोग भएको छ । यसको व्याख्या पनि लापरवाहीसँग जोडेर गर्नुपर्ने हुन्छ किनभने यहाँ “जानीजानी” को अर्थ सो कार्यले ल्याउन सक्ने परिणामको सम्भावनाबारे ज्ञान भएको भन्नेसम्म हो । यस अर्थमा दफा १६१ को उपदफा (१) मा उल्लिखित मनसायपूर्ण कार्यमा सन्निहित ज्ञानबाट उक्त उपदफा (२) मा प्रयुक्त “जानी जानी” भन्ने शब्दलार्इ छुट्‍याउनुपर्ने 

हुन्छ । ऐ. दफाको उपदफा (१) मा “ज्यान मार्ने मनसाय लिई किची, ठक्कर दिई वा दुर्घटना गराई” भन्ने शब्दावली प्रयोग भएको छ । यहाँ ज्यान मार्ने मनसाय लिर्इ किच्दा, ठक्कर दिँदा वा दुर्घटना गराउँदा ज्यान मर्न सक्छ भन्ने कुराको ज्ञान त्यस्तो दुर्घटना गराउने व्यक्तिलाई हुन्छ । अर्थात्‌ त्यस्तो हुन्छ भन्ने “जानीजानी” उसले ती कार्यहरू गरेको हुन्छ । त्यस अर्थमा ज्ञान (Knowledge) मनसायपूर्वक गरिने ज्यानसम्बन्धी कसुरको एक तत्त्व हुन सक्छ तर लापरवाहीमा भने त्यो ज्ञान अर्थात्‌ “जानीजानी” गरिने कार्य लापरवाहीकै अङ्ग हुने ।

(प्रकरण नं.४)

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) मा लापरवाही (Recklessness) भन्ने शब्द प्रयोग भएको छ भने उपदफा (३) मा जानी जानी वा लापरवाही गरी भन्ने शब्दहरू प्रयोग गरिएको छैन । बरू “कसैको ज्यान मर्न सक्ने नदेखिएको” अवस्थाबारे चित्रण गरिएको छ । तर उपदफा (३) को अवस्था पनि दोषरहित दुर्घटना (Blameless Accident or Misfortune) को अवस्था होइन । यस उपदफाअन्तर्गत हुने दुर्घटना दोषपूर्ण नै हुन्छ । ऐनले यस्तो कार्यलार्इ दोषपूर्ण मानेको कारण उक्त उपदफामा हेलचक्र्यार्इं भन्ने शब्द प्रयोग नभए तापनि यहाँ सवारी चालकको कार्यलाई हेलचक्र्याईंपूर्ण (negligent) मानिएको रहेछ भनी अर्थ गर्नुपर्ने हुन्छ । वस्तुत: कानूनले सवारी चालकलाई कुनै कर्तव्य (positive Duty) तोकेको छ र सो कर्तव्य उसले पूरा गर्दैन भने उसको कार्य हेलचक्र्याईंपूर्ण नै हुन्छ । यस्तो हेलचक्र्याईंपूर्ण कार्यको परिणामस्वरूप देवानी वा फौजदारी दायित्व सृजना हुन सक्ने ।

(प्रकरण नं.५)

अन्य व्यक्तिको जिउमा जोखिम पार्ने हक कसैलार्इ हुँदैन । त्यसैले कसैसँग अमूक साधन चलाउने सवारी अनुमतिपत्र छैन भने त्यसको सोझो अर्थ उसँग सो सवारी साधन चलाउने आवश्यक ज्ञान र सीप छैन भन्ने नै हुन्छ । कानूनको पनि त्यही अनुमान रहन्छ । त्यसै कारणले गर्दा सवारी चलाउने अनुमतिपत्रको व्यवस्थालार्इ ऐच्छिक नबनार्इ अनिवार्य बनाइएको 

पाइने ।

(प्रकरण नं.७)

सवारीसम्बन्धी कानूनको प्रथम एवं प्रमुख उद्देश्य व्यक्ति वा समुदायको सुरक्षा गर्नु हो । मानव जीवनलाई असुरक्षित बनाउने अधिकार कसैमा हुँदैन । यदि एक व्यक्तिलाई कानूनको उल्लङ्घन गर्न निरूत्साहित गरेर सामाजिक सुरक्षा प्रवर्द्धन गर्न सकिन्छ भने कानूनको सोही नै अर्थ गरिनुपर्छ । न्यायले पनि सामाजिक सुरक्षाको नै प्रवर्द्धन गर्ने हो र सो गर्नुपर्ने ।

(प्रकरण नं.८)

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१(४) मा प्रयुक्त “थप दुई हजार जरिवाना” हुनेछ भन्ने व्यवस्थाको स्पष्ट अर्थ लापरवाही स्थितिमा दफा १६१(२) बमोजिम हुने सजायमा यो थप सजाय हुने भन्ने नै हो । दफा १६१ को उपदफा (२) को कसुरसँग जोडिदिनुको अर्थ उक्त उपदफाहरू अन्तर्गत सवारी साधनको प्रयोग गरी लापरवाही साथमा गरिने कसुर पहिलो कसुर हो र अनुमतिपत्र नहुने कसुर दोस्रो कसुर (Double Count offence) हुने ।

(प्रकरण नं.१०)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री यामबहादुर बानियाँ

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री मंगल महर्जन

अवलम्बित नजिर :

नेकाप २०७२, अंक ८, नि.नं.९४५७ 

नेकाप २०७१, नि.नं.९३०४, पृ.२१२७

नेकाप २०७०, नि.नं.९०७३, पृ.१३२७

सम्बद्ध कानून :

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९

 

सुरू फैसला गर्ने:-

मा. जिल्ला न्यायाधीश श्री रमेश पोखरेल

ललितपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :-

माननीय न्यायाधीश श्री हरिप्रसाद घिमिरे

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

पुनरावेदन अदालत, पाटन

यस अदालतमा संयुक्त इजलासमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

 

फैसला

न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दामा संयुक्त इजलास ने.का.प.२०७१, नि.नं.९३०४ मा प्रतिपादित सिद्धान्तसँग सहमत हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छ :-

मिति २०६४।८।१५ गतेका दिन मेरो बज्यै नाताकी वर्ष ७४ कि लाटी महर्जनले भेडा चराउन भनी ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ८ बालकुमारी साइडको भित्रीबाटोमा गएको अवस्थामा दिनको अन्दाजी १५:३० बजेको समयमा सन्‍नी महर्जनले हाँकेको मोटर साइकलले मेरो बज्यैलाई ठक्‍कर दिएकोले औषधी उपचारको क्रममा बि. एण्ड बि. अस्पताल लगेकोमा सोही अस्पतालमा उपचार हुँदाहुँदै ऐ. १९:०० बजे निजको मृत्यु भएको हुँदा मोटरसाइकल चालकलाई पक्राउ गरी कानूनबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको भरत महर्जनको मिति २०६४।८।१६ को जाहेरी दरखास्त ।

ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ८ बालकुमारीस्थित पूर्वमा खरिबोट जाने पक्‍की बाटो, पश्‍चिम पिन्छेतर्फ जाने पक्‍की बाटो, उत्तरतर्फ सत्यमाया जोशीको घर तथा शारदा पुडासैनीको खुद्रा पसल र दक्षिण ताछा महर्जनको खाली जमिन यति चार किल्लाभित्र १० फिट ४ इन्च चौडाइको पक्‍की सडक रहेको । सो सडकको उत्तर किनारामा रहेको शारदा पुडासैनीको पसल अगाडि रगतको टाटा देखिएको, उक्त रगतको टाटा रहेको स्थानदेखि ११ फिट टाढा सडकको दक्षिण किनारादेखि २ फिट ७ इन्च सडकको बीच भागतर्फ १५ फिट ६ इन्च लामो मोटरसाइकल घस्रिएर डाम रहेको उक्त स्थानमा सन्नी महर्जनले चलाएको मोटरसाइकलले मृतकलाई ठक्कर दिएको भन्‍नेसमेत बेहोराको मिति २०६४।८।१६ को घटनास्थल विवरण मुचुल्का ।

ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१७ ग्वार्को स्थित बि. एण्ड बि. अस्पतालको शवगृहमा फलामको स्टेचरमाथि लाटी महर्जनको लास रहेको, मृतकको नाकबाट रगत बगेको, मुख बन्द रहेको, दुवै कानबाट रगत निस्किएको, टाउकोको भाग थिचिएको, कानबाट बगेको रगत घाँटीसमेतमा लागेको, दायाँ खुट्टाको घुँडा कुर्कुच्चाको छाला खुइलिएको, दुवै खुट्टा सिधा पसारी उत्तानो अवस्थामा रहेको भन्‍नेसमेत बेहोराको लास जाँच मुचुल्का ।

भरत महर्जनको जाहेरी दरखास्त साँचो हो । मैले २०६४।८।१५ गते मेरो साथी सुभाष लामाको मोटरसाइकल लिई चलाउँदा घटना भएको 

हो । मैले चलाएको मोटरसाइकलको ठक्करबाट लागेको चोटपीडाबाट घाइते भएकी लाटी महर्जनको उपचारकै क्रममा बि. एण्ड बि. अस्पतालमा मृत्यु भएको हो । मैले सवारी चालक अनुमतिपत्र लिएको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी सन्‍नी महर्जनले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६४।८।१५ गते १५:३० बजेको समयमा जाहेरवालाको बज्यै वर्ष ७४ की लाटी महर्जनलाई बालकुमारीस्थित भित्री बाटोमा सन्‍नी महर्जनले चलाएको नम्बर नखुलेको मोटरसाइकलले ठक्‍कर दिँदा घाइते भई उपचारको लागि बि. एण्ड बि. अस्पतालमा लगी उपचार गराउँदा गराउँदै मृत्यु भएको हो भन्‍ने एकै मिलान बेहोराको गोविन्द महर्जन, अनिल महर्जन र नाति महर्जनको घटना विवरण कागज ।

ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ८ बालकुमारी स्थित शान्ति महर्जनको ३ तले पक्‍की घरको भुइँ तल्लामा रहेको कोठाको ढोका खोली हेर्दा भुइँमा वा.८ प. ५२२३ नं. को नम्बर प्लेट रहेको, सोही स्थानमा स्टेण्ड लगाइराखेको इन्जिन नम्बर एल १८५ एस.ई. ५४५१०३० र च्यासिस नं. एल. १८५-६०१०१७७ भएको रातो रंगको एक्सल मोटरसाइकल रहेको, सोही मोटरसाइकल मिति २०६४।८।१५ गतेका दिन सन्‍नी महर्जनले हाँकेकोमा उक्त मोटरसाइकलले लाटी महर्जनलाई ठक्‍कर दिई मृत्यु भएको भन्‍ने बेहोराको मोटरसाइकल बरामदी मुचुल्का ।

टाउकोमा लगेको गम्भीर चोटको कारण मृतकको मृत्यु भएको भन्‍नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन ।

मृतक लाटी महर्जनको भाइ अष्‍टमान महर्जनले क्रिया खर्च र क्षतिपूर्तिबापत रू.२,५०,०००।- बुझिलिएको भन्‍ने बेहोराको मिति २०६४।९।३ को भरपाई बेहोरा ।

मिति २०६४।८।१५ गतेका दिन भेडा चराउन गएको अवस्थामा सन्‍नी महर्जनले हाँकी ल्याएको बा.८ प. ५२२३ नं. को मोटरसाइकलले ठक्‍कर दिँदा लाटी महर्जन घाइते भई बि. एण्ड बि. अस्पतालमा लगेको थाहा पाई बि. एण्ड बि. अस्पतालमा आई हेर्दा निजको मृत्यु भइसकेको रहेछ । निजको काजक्रियासमेत म आफैँले गरेको हुँ । सन्‍नी महर्जनले हाँकेको मोटरसाइकलको ठक्‍करले लाटी महर्जनको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको अष्‍टमान महर्जनको मिति २०६४।९।३ को घटना विवरण कागज ।

मिति २०६४।८।१५ मा मैले चलाई हाँकी लगेको मोटरसाइकल देखाउँदा चिनेँ । भुइँमा खसेको बा.८ प. ५२२३ नं. को नम्बर प्‍लेट बरामद भई आएको मोटरसाइकलकै हो । यही मोटरसाइकलबाट लाटी महर्जनलाई ठक्‍कर लागी घाइते भई मृत्यु भएको हो । उक्त मोटरसाइकल मेरो साथी सुभाष लामासँगबाट लिएको हो । कसको नाममा दर्ता छ, मलाई थाहा छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी सन्‍नी महर्जनले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको मिति २०६४।९।६ को ततिम्बा बयान कागज ।

प्रतिवादी सन्नी महर्जनले चलाएको बा.८ प. ५२२३ नं. को मोटरसाइकलको एक्सिलेटर, क्लज, ब्रेकसमेत सही हालतमा रहेको भन्‍नेसमेत बेहोराको मेकानिकल जाँच प्रतिवेदन ।

जाहेरी दरखास्त, लास जाँच मुचुल्का, घटना विवरण कागज गर्ने मानिसहरूको बयान, अभियुक्तले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयानसमेतका मिसिल संलग्न कागजलाई मध्यनजर गर्दा प्रतिवादी सन्‍नी महर्जनले आफूसँग मोटरसाइकल चलाउने सवारी चालक अनुमतिपत्र नभएको अवस्थामा बा.८ प. ५२२३ नं. को मोटरसाइकल चलाई लगेको र त्यसरी लैजाँदै गर्दा ललितपुर उपमहानगरपालिका वडा नं.८ बालकुमारी स्थित घटनास्थलमा लाटी महर्जनलाई ठक्‍कर  दिएकोमा सोही चोट पीडाका कारणबाट लाटी महर्जनको मृत्यु भएको देखिएको समेतबाट प्रतिवादी सन्‍नी महर्जनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२), १६१(४) र दफा ४५, १४७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले प्रतिवादी सन्‍नी महर्जनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गरी सोही ऐनको दफा १६१(४) बमोजिम थप सजायसमेत गरिपाउँ भन्‍ने अभियोग दाबी ।

मिति २०६४।८।१५ गतेका दिनको १२ बजेतिर मैले चलाएको बा.८ प. ५२२३ नं. को मोटरसाइकल लिएर बालकुमारीबाट सगोलतर्फ जाँदा खरीको बोटनजिकै मैले चलाएको मोटरसाइकल बायाँतर्फ मोडी जान लाग्दा यी लाटी महर्जन पनि मेरो मोटरसाइकल गएकैतिर मोडी मेरो मोटरसाइकलमा नै स्वयं ठक्‍कर खान आएकी हुन् । मैले ठक्‍कर दिएको होइन । निजलाई ठक्‍कर लागिसकेपछि उपचारको निमित्त बि. एण्ड बि. अस्पतालमा भर्ना गरेकोमा उपचार हुँदाहुँदै निजको मृत्यु भएको हो । मैले लापरवाहीसँग चलाएको होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी सन्‍नी महर्जनले सुरू अदालतसमक्ष गरेको बयान ।

यसमा किटानी जाहेरी, घटना विवरण कागज, मृतकको लास जाँच मुचुल्का, प्रतिवादीले गरेको साबिती बयानसमेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसुर गरेको देखिन आएकोले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुलुकी ऐन, अ.बं. ११८ को देहाय २ बमोजिम मुद्दा पुर्पक्षको लागि निज प्रतिवादी सन्‍नी महर्जनलाई नियमानुसार सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई कारागार शाखामा थुनामा राख्‍न पठाई दिनु भन्‍नेसमेत बेहोराको सुरू अदालतको आदेश ।

अभियुक्त सन्‍नी महर्जनले  मोटरसाइकल तिब्र गतिले हाँकेको नभई बिस्तारै हाँकेको हो । निज मृतकलाई प्रतिवादीले ठक्‍कर दिएको नभई निज मृतक नै मोटरसाइकलमा आफैँ ठोकिन आई मृत्यु भएको हो । उक्त घटनामा प्रतिवादीको कुनै दोष र लापरवाही नभई भवितव्यबाट घटना भएको हुँदा निज कलेज पढ्‍ने विद्यार्थी भएकोले अदालतले विचार गरेर मात्रै सजाय हुनुपर्छ । मृतकको काजक्रिया गर्ने खर्च र क्षतिपूर्ति दिइसकेको हुँदा निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भनी प्रतिवादीका साक्षी निरज लामाले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले लापरवाहीपूर्वक मोटरसाइकल चलाएको भन्ने पुष्टि हुन सकेको नदेखिएको, निजको इन्कारी बयानलाई निजका साक्षी निरज लामाले बकपत्र गरी पुष्टि गरी दिएबाट प्रतिवादी सन्‍नी महर्जनको कार्य सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अनुसारको नभई सोही ऐनको दफा १६१(३) अनुसारको देखिँदा निजलाई ३ महिना कैद र रू.२,०००।- जरिवाना हुने ठहर्छ । प्रतिवादी सन्‍नी महर्जनले सवारी चालक अनुमतिपत्रसमेत नलिई सवारी चलाएको देखिँदा उल्लिखित ऐनको दफा १६१(४) अनुसार सजाय हुनुपर्नेमा निजको कसुर दफा १६१(१) र १६१(२) भित्रको नदेखिएको अवस्थामा थप सजाय गर्न मिल्ने देखिएन । प्रतिवादीलाई थप सजाय गरिपाउँ भन्‍ने वादी दाबी पुग्न सक्दैन भन्‍ने मिति २०६५।१।१५ मा सुरू ललितपुर जिल्ला अदालतबाट भएको फैसला ।

प्रतिवादीले जानी जानी तिब्र गतिमा लापरवाहीपूर्वक सवारी चलाई मृतक लाटी महर्जनलाई ठक्‍कर दिएको कारणबाट निजको मृत्यु भएको हो भन्‍ने तथ्य निजको मौकाको बयान एवं घटनास्थल प्रकृति मुचुल्काबाट स्थापित छ । जसलाई मिसिल संलग्न अन्य प्रमाणहरूले समेत पुष्टि गरिरहेको छ । जुन प्रमाणलाई ललितपुर जिल्ला अदालतको फैसलाले अन्यथा भन्‍न सकेको छैन । प्रतिवादीले मोटरसाइकल चलाउने अनुमतिपत्र प्राप्‍त नगरेको भन्‍ने स्वयं निजको अदालतको बयानबाट समेत देखिन आएको छ । यस्तो स्थितिमा प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(४) बमोजिम सजाय अनिवार्य गर्नुपर्ने र कानूनको बनोटअनुसार सो उपदफाअनुसार सजाय गरी उपदफा (२) अनिवार्य आकर्षित गर्नुपर्नेमा उल्टै उपदफा (३) अनुसार सजाय हुने गरेको फैसला कानूनसङ्गत छैन । उल्लिखित आधारबाट ललितपुर जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी यी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने बेहोराको नेपाल सरकारको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

प्रतिवादी सन्‍नी महर्जनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम ३ महिना कैद र रू.२,०००।- जरिवाना हुने ठहर्‍याई सुरू ललितपुर जिल्ला अदालतको मिति २०६५।१।१५ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने पुनरावेदन अदालत, पाटनबाट मिति २०६५।९।१ मा भएको  फैसला ।

प्रतिवादीले मोटरसाइकल चलाउन चालक अनुमतिपत्र प्राप्‍त नगरेको भन्‍ने कुरा निजको अदालतको बयानबाट समेत खुल्न आएको छ । चालक अनुमतिपत्र नै प्राप्‍त नगरी मोटरसाइकल जस्तो सवारी साधन चलाई मानिसलाई ठक्‍कर दिई मृत्यु गराउने कार्य स्वयंमा नै लापरवाही हो । घटनास्थल प्रकृति मुचुल्काबाट समेत प्रतिवादीले तिब्र गतिमा लापरवाही गरी मोटरसाइकल चलाई दुर्घटना गराएको तथ्य प्रमाणित भएको छ । सम्मानित सर्वोच्च अदालतबाट समेत सवारी जोखिमपूर्ण साधन अनुमतिपत्र बिना चलाउनु नै कानून वर्जित कार्य मानिन्‍छ भनी ने.का.प. २०४७ पृ. २२४ मा सिद्धान्त प्रतिपादित भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(४) मा चालक अनुमतिपत्र नभएको व्यक्तिले सवारी चलाई उपदफा (१) र (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफाबमोजिम हुने सजायमा थप दुई हजार रूपैयाँ जरिवाना हुने कानूनी व्यवस्था छ । प्रतिवादी चालक अनुमतिपत्र नभएको व्यक्ति भएको अवस्थामा निजलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(४) बमोजिम थप सजाय अनिवार्य गर्नुपर्ने र सोहीअनुरूप सजाय गरी उपदफा (२) अनिवार्यत: आकर्षित गर्नुपर्नेमा उल्टै उपदफा (३) अनुसार सजाय गरी अनुमतिपत्र नभएका प्रतिवादीहरूलाई १६१(४) बमोजिम सजायसमेत नगरेको फैसला कानूनत: त्रुटिपूर्ण रहेकोछ । अत: प्रस्तुत मुद्दामा सुरू फैसला सदर हुने गरी पुनरावेदन अदालतबाट भएको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) को अवस्था रही गम्भीर त्रुटि भएकोले उक्त मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी प्रतिवादीलाई सजाय ठहर गरिपाउँ भन्‍ने बेहोराको वादी नेपाल सरकारले यस अदालतमा लिएको निवेदन दाबी ।

यसमा सवारी चालक अनुमति पत्र प्राप्‍त नभएको व्यक्तिले सवारी चलाएकोमा ठक्‍कर लागी मानिसको मृत्यु भएकोमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गरिपाउँ भन्ने दाबी रहेको देखिन्छ । सवारी चालक अनुमतिपत्र प्राप्‍त गर्न पर्याप्‍त कुशलता, दक्षता र योग्यता आवश्‍यक पर्नेमा सो नभएको व्यक्तिले सवारी चलाउँदा लापरवाही देखिने हुनाले दफा १६१(२) को कसुर हुनेमा सो ठहर नगरेको फैसलामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२), दफा ४५ समेतको त्रुटि विद्यमान रहेको देखिनुका साथै सर्वोच्च अदालत बुलेटिन, वर्ष १८, अंक ९, पूर्णाङ्क ४११, मिति २०६६ भदौ १-१५, पृ. ३९ मा प्रकाशित नेपाल सरकार विरूद्ध विष्‍णुहरि महर्जनसमेत भएको सवारी ज्यान मुद्दामा यस अदालतबाट सिद्धान्त प्रतिपादितसमेत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्‍ने यस अदालतको मिति २०६६।६।३० को आदेश ।

प्रतिवादी सन्‍नी महर्जनले चलाएको बा. ८ प. ५२२३ नं. को मोटरसाइकलले ठक्‍कर दिई उपचारको क्रममा बि. एण्ड बि. अस्पतालमा लाटी महर्जनको मृत्यु भएको भन्ने पुष्टि हुन आएको हुँदा प्रतिवादीको उक्त कसुरजन्य कार्य सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) अनुसारको देखिएको भनी प्रतिवादीलाई सोही दफाअनुसार ३ (तीन) महिना कैद र रू.२०००।– जरिवाना हुने ठहर्‍याई भएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६५।१।१५ को फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६५।९।१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी सन्‍नी महर्जनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१) र (२) बमोजिम सजाय गरी ऐ.ऐन को दफा १६१(४) बमोजिम थप सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । सवारी चालक अनुमतिपत्र नलिई चलाएको सवारी साधनले ठक्‍कर दिई वा किची दुर्घटना गरेको भन्ने समान प्रश्‍न रहेको विषयमा यस अदालतको संयुक्त इजलासबाट “सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाउने कार्य गर्नु आफैँमा लापरवाहीपूर्ण कार्य हो । साथै त्यसरी सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले चलाएको सवारी साधनबाट ठक्‍कर लागी वा किची मानिसको ज्यान गएमा सो कार्य स्वतः लापरवाहीपूर्वक गरिएको कार्यको परिणाम स्वरूप भएको मान्नुपर्ने” भनी ने.का.प. २०७१ अंक १२ नि.नं. ९३०४ पृ. २१२७ मा प्रतिपादित सिद्धान्तसँग यो इजलास सहमत हुन नसकेको हुँदा सो सम्बन्धमा यकिन व्याख्या हुन सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम निर्णयका लागि प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेस गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०७३।६।५ को फैसला ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यो इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल कागजात अध्ययन 

गरियो ।

पुनरावेदक नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री यामबहादुर बानियाँले प्रतिवादी सन्‍नी महर्जनले सवारी चलाउने अनुमतिपत्र नलिएको भन्नेमा विवाद छैन । सवारी चालकले सवारी चलाउनु पूर्वचालक अनुमतिपत्र लिनुपर्ने पूर्वसर्त सवारी तथा यातायात व्यवस्था ऐनको दफा ४५ ले गरेको छ । मृतकलार्इ ५० मिटर परबाट देखेको अवस्था प्रतिवादीको मौकाको बयानबाट देखिएकोमा पनि वारदात घटेको अवस्थाले घटनाको कार्य प्रकृतिबाट पनि लापरवाही देखिएको छ । यसरी प्रतिवादीले जानी जानी लापरवाहीपूर्वक सवारी चलाई उक्त दुर्घटना गराएको तथ्य निजको मौकाको बयान तथा घटनास्थल प्रकृति मुचुल्काबाट देखिएको अवस्था तथा कानूनले चालक अनुमतिपत्र नलिई सवारी साधन चलाउन नहुने गरी निषेध गरेकोले सवारी चालक अनुमतिपत्र नलिर्इ सवारी चलाउने कार्य आफैँमा लापरवाहीपूर्ण कार्य हो । कानूनले तोकेको पूर्वसर्तको उल्लङ्घन गरी लापरवाहीपूर्ण तवरले सवारी साधन चलाई बाटोमा हिँडिरहेको मानिसलाई ठक्‍कर दिई मृत्यु भएकोले निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्नेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) प्रयोग गरी सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसलालार्इ सदर गरी यस अदालतबाट भएको फैसला यसै अदालतको पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त (ने.का.प.२०७० नि.नं.९०७३) विपरीत हुँदा उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री मंगल महर्जनले प्रतिवादीले चालक अनुमतिपत्र प्राप्त नगरेको भए तापनि लापरवाहीपूर्वक सवारी हाँकेको भन्ने मिसिलबाट पुष्टि हुन सकेको छैन । जाहेरवाला वा घटनाको तत्कालपछि भएको वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाइबाट समेत सो कुरा उल्लेख भएको देखिँदैन । चालक अनुमतिपत्र नलिएको अवस्थामा सवारी चलाउने कार्य स्वतः लापरवाहीअन्तर्गत पर्ने भनी अर्थ गर्न मिल्दैन । तसर्थ प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला सदर गरेको यस अदालतको संयुक्त इजलासको फैसला कानून र न्यायसङ्गत हुँदा सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

विद्वान्‌ अधिवक्ताहरूको उपर्युक्त बहस जिकिर सुनी मिसिल कागजात एवं संयुक्त इजलासको निर्णयसमेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा मुख्यत: प्रस्तुत मुद्दामा देहायको प्रश्नहरूको निरूपण गर्नुपर्ने देखियो ।

१. प्रतिवादी सन्नी महर्जनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिमको कसुर गरेको हो वा होइन ?

२. ने.का.प.२०७१ नि.नं. ९३०४ मा प्रतिपादित सिद्धान्तसँग असहमति व्यक्त गरेको संयुक्त इजलासको निर्णय मिलेको छ वा छैन ?

 

यसमा पहिलो प्रश्नमा प्रवेश गर्नुपूर्व मुद्दाको तथ्य संक्षेपमा राख्नु सान्दर्भिक देखिन्छ । सन्नी महर्जनले आफूसँग मोटरसाइकल चलाउने अनुमतिपत्र नभएको अवस्थामा मिति २०६४।८।१५ का दिन निजको साथी सुभाष लामाको बा.८.प.५२२३ नं. को मोटरसाइकल मागी हाँकी चलार्इ लगेको र त्यसरी लैजाँदै गर्दा बालकुमारीस्थित घटनास्थलमा  ५० मिटर टाढाबाट लाटी महर्जन नाम गरेकी वृद्ध महिलालार्इ देखेपछि मोटरसाइकलको गति आफ्नो नियन्त्रणमा नराखी लापरवाहीपूर्ण तवरले बढी गतिमा चलाएको, सो कुरा घटनास्थलमा १५ फिट ६ इन्च लामो मोटरसाइकल घस्रिएको डामबाट देखिएको र प्रतिवादीले हाँकेको मोटरसाइकलको ठक्कर चोट पीडाबाट लाटी महर्जनको मृत्यु भएकोले प्रतिवादी सन्नी महर्जनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५, दफा १४७ र दफा १६१(२) र दफा १६१(४) को कसुर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा १६१(२) र दफा १६१(४) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत अभियोग दाबी देखियो ।

प्रतिवादी सन्नी महर्जनले मौकामा बयान गर्दा, मैले मोटरसाइकल चलार्इ बालकुमारी मन्दिरपछाडि पुग्दा सडकको बीच भागमा हिँडिराखेको लाटी महर्जनलार्इ देखी मैले हर्न बजाउँदै सडकको बायाँतर्फ मोटरसाइकल लैजाँदा निज वृद्ध अवस्थाकी लाटी महर्जन पनि बायाँतर्फ नै गएकीले मैले हाँकी लगेको मोटर साइकलले ठक्कर लाग्दा सडकमा लड्न गएकीले निजलार्इ त्यहीँ छोडी भागी गएको र पछि मृत्यु भएको थाहा पाएँ भन्ने उल्लेख गरेको देखियो । आफूले चलाएको मोटरसाइकलको ठक्करबाट मृतकको मृत्यु भएको, आफूसँग सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको तथ्य स्वीकारी मौकामा बयान गरेकोमा अदालतमा बयान गर्दा मौकाको बयानमा लेखिएको अन्य कुरा ठीक हो । मैले चलाएको मोटरसाइकलले ठक्कर लागेको भन्ने कुरा चाहीँ ठीक होइन । मृतक आफैँ मेरो मोटरसाइकलमा ठक्कर खाएकी हुन् भनी बयान गरेको देखिन्छ ।

यसरी प्रतिवादीसँग सवारी चालक अनुमतिपत्र नभएको, निजले साथीको मोटरसाइकल मागी चलाएको, ५० मिटर परबाटै वृद्ध महिलालार्इ देखेको र सडकको चौडार्इ १० फिट ४ इञ्च रहेको, सो सडकमा १५ फिट ६ इञ्च लामो मोटरसाइकल घस्रिएको डाम रहेको भन्ने तथ्यहरू निर्विवाद रूपमा देखिएका छन् भने वृद्ध महिला लडेपछि मोटरसाइकल नरोकी प्रतिवादी भागी हिँडेका मोटर साइकलको नम्बर प्लेट अन्यत्रै फाली मोटरसाइकल घरभित्र लुकाएको अवस्थामा फेला परेको भन्ने तथ्य पनि मिसिल सामेल छन् । प्रतिवादीले ठक्कर दिएकी वृद्ध महिलालार्इ यी प्रतिवादीले ठक्कर दिएको हो वा निज आफैँ चलिरहेको मोटरसाइकलमा ठोक्किन आएकी हुन् भन्ने कुरामा समेत विवाद छ ।

अब उपर्युक्त तथ्यसमेतलार्इ दृष्टिगत गरी यहाँ लापरवाहीको अवस्थाबारे कानूनी र तथ्यगतरूपमा निर्णय निष्कर्षमा पुग्नु पर्ने हुन आएको छ । यही सन्दर्भमा प्रतिवादीउपर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) कसुर कायम हुने हो वा १६१(३) को कसुर कायम हुने हो भन्ने ऐनको दफा १६१(१) र १६१(२) सँगको दफा १६१(४) को सम्बन्धलाई विधायिकाले कसरी व्यवस्था गर्न खोजेको रहेछ भन्ने सम्बन्धमा विश्लेषण गरी निष्कर्षमा पुग्नु वाञ्छनीय देखियो ।

२. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) मा “कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलार्इ किची, ठक्कर लागी वा कुनै किसिमको सवारी दुर्घटना भर्इ सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिर्इ गरेको नभए तापनि त्यसरी, सवारी चलाउँदा  कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद 

हुनेछ ।” भन्ने र सोही ऐनको दफा १६१(३) मा “कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहेबसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एकवर्षसम्म कैद वा दुईहजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।” भन्ने र सोही ऐनको दफा १६१ (४) मा “चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफाबमोजिम हुने सजायमा थप दुई हजार रूपैयाँसमेत जरिवाना हुनेछ ।”

३. उपर्युक्त कानूनी व्यवस्थालाई सूक्ष्म तवरले विश्लेषण गर्दा दफा १६१ को उपदफा (२) ले लापरवाहीपूर्ण तरिकाले सवारी चलाउँदा कसैको ज्यान मरेमा सजाय गर्ने व्यवस्थालाई इङ्गित गरेको देखिन्छ भने सोही ऐनको दफा १६१ को उपदफा ३ मा ज्यान मर्न सक्छ भन्ने नदेखिएको अवस्थामा हेलचक्र्याईं गरी सवारी चलाउँदा कसैको ज्यान मर्न गएको अवस्थामा सजाय गर्न सकिने व्यवस्थाको वर्णन गरेको 

देखिन्छ । सोही ऐन दफाको उपदफा २ मा “कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको” भन्ने वाक्यांश प्रयोग भएकोबाट यसको व्याख्या गर्नुपर्ने हुन्छ र सो गर्दा दफा ४५ को “चालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउन हुँदैन” भन्ने व्यवस्था र दफा १६१(४) को थप सजायको व्यवस्थाबारे पनि सान्दर्भिक व्याख्या गर्नुपर्ने हुन्छ ।

४. सामान्य अर्थमा लापरवाहीपूर्ण कार्य (Reckless Conduct) त्यस्तो कार्य हो जसले परिणामलाई बेवास्ता गर्छ । अर्थात्‌, आफ्नो कार्यको परिणाम यस्तो हुनसक्छ भन्ने जान्दाजान्दै पनि त्यस्तो कार्य नगर्नुपर्ने सकारात्मक दायित्वको उल्लङ्घन 

गर्छ । उक्त दफा १६१ को उपदफा (२) मा लापरवाहीको अतिरिक्त “जानीजानी” भन्ने शब्द प्रयोग भएको छ । यसको व्याख्या पनि लापरवाहीसँग जोडेर गर्नुपर्ने हुन्छ किनभने यहाँ “जानीजानी” को अर्थ सो कार्यले ल्याउन सक्ने परिणामको सम्भावनाबारे ज्ञान भएको भन्नेसम्म हो । यस अर्थमा दफा १६१ को उपदफा (१) मा उल्लिखित मनसायपूर्ण कार्यमा सन्निहित ज्ञानबाट उक्त उपदफा (२) मा प्रयुक्त “जानी जानी” भन्ने शब्दलार्इ छुट्‍याउनु पर्ने हुन्छ । ऐ. दफाको उपदफा (१) मा “ज्यान मार्ने मनसाय लिई किची, ठक्कर दिई वा दुर्घटना गराई” भन्ने शब्दावली प्रयोग भएको छ । यहाँ ज्यान मार्ने मनसाय लिर्इ किच्दा, ठक्कर दिँदा वा दुर्घटना गराउँदा ज्यान मर्न सक्छ भन्ने कुराको ज्ञान त्यस्तो दुर्घटना गराउने व्यक्तिलाई हुन्छ । अर्थात्‌ त्यस्तो हुन्छ भन्ने “जानीजानी” उसले ती कार्यहरू गरेको हुन्छ । त्यस अर्थमा ज्ञान (Knowledge) मनसायपूर्वक गरिने ज्यानसम्बन्धी कसुरको एक तत्त्व हुन सक्छ तर लापरवाहीमा भने त्यो ज्ञान अर्थात्‌ “जानीजानी” गरिने कार्य लापरवाहीकै अङ्ग हुन्छ ।

५. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) मा लापरवाही (Recklessness) भन्ने शब्द प्रयोग भएको छ भने उपदफा (३) मा जानी जानी वा लापरवाही गरी भन्ने शब्दहरू प्रयोग गरिएको छैन । बरू “कसैको ज्यान मर्न सक्ने नदेखिएको” अवस्थाबारे चित्रण गरिएको छ । तर उपदफा (३) को अवस्था पनि दोषरहित दुर्घटना (Blameless Accident or Misfortune) को अवस्था होइन । यस उपदफाअन्तर्गत हुने दुर्घटना दोषपूर्ण नै हुन्छ । ऐनले यस्तो कार्यलार्इ दोषपूर्ण मानेको कारण उक्त उपदफामा हेलचक्र्यार्इं भन्ने शब्द प्रयोग नभए तापनि यहाँ सवारी चालकको कार्यलाई हेलचक्र्याईंपूर्ण (negligent) मानिएको रहेछ भनी अर्थ गर्नुपर्ने हुन्छ । वस्तुत: कानूनले सवारी चालकलाई कुनै कर्तव्य (positive Duty) तोकेको छ र सो कर्तव्य उसले पूरा गर्दैन भने उसको कार्य हेलचक्याईंपूर्ण नै हुन्छ । यस्तो हेलचक्र्याईंपूर्ण कार्यको परिणामस्वरूप देवानी वा फौजदारी दायित्व सृजना हुन सक्छ ।

६. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को विभिन्न दफाहरूमा सवारी चालकका विभिन्न कर्तव्यहरू तोकिएका छन् । उदाहरणको लागि उसले निर्धारित गतिभन्दा बढी वेगले गाडी चलाउन (दफा ११५), निर्धारित वजनभन्दा बढी भार बोक्न, निर्धारित सिट संख्याभन्दा बढी यात्रु राख्न (दफा ११६, ११७, १२३), ट्राफिक संकेतको उल्लङ्घन गर्न, अन्य सवारी वा व्यक्तिलाई खतरा हुने गरी सवारी साधन पार्क गर्न (दफा १२०, १२१), सुरक्षा पेटी वा हेलमेट नलगाई गाडी चलाउन (दफा १३०), मादक वा लागु पदार्थ सेवन गरी गाडी चलाउन (दफा १४२) 

हुँदैन । यी दायित्वहरूको उल्लङ्घन हुँदा अवस्थाअनुसार देवानी वा फौजदारी दायित्वको उल्लङ्घन हुन्छ । त्यस्तो अवस्थामा उसले नियामक निकायमा जरिवाना र असर पर्ने व्यक्तिलाई क्षतिपूर्ति दिनु पर्ने पनि हुन्छ । साथै दफा १६० बमोजिम सजाय पनि बेहोर्नु पर्ने हुन सक्छ । तर माथि उल्लिखित कर्तव्य पालना नगरी कुनै कार्य गर्दा ज्यान मर्न गएको रहेछ भने अवस्थाअनुसार दफा १६१ को उपदफा (२) वा उपदफा (३) आकर्षित हुनसक्छ । यदि लापरवाहीको अवस्था रहेछ भने उपदफा (२) आकर्षित हुन्छ सो नभई हेलचक्र्याईपूर्ण कार्य भएको अवस्था छ भने उपदफा (३) आकर्षित हुन्छ । 

७. यही सन्दर्भमा अब दफा ४५ अन्तर्गत अनुमतिपत्र नलिई कुनै पनि सवारी चलाउन नहुने कर्तव्य के कस्तो कर्तव्य हो भन्ने कुराको पनि विश्लेषण गर्नु आवश्यक हुन आएको छ । संयुक्त इजलासले ने.का.प. २०७१ नि.नं. ९३०४ पृ. २१२७ मा प्रतिपादित सिद्धान्तसँग सहमत नभएको भन्दै पूर्ण इजलासबाट निरूपण होस् भनी प्रस्तुत विवाद पठाउँदा पनि सवारी अनुमतिपत्र नहुनु आफैँमा लापरवाहीपूर्ण कार्य होइन, लापरवाहीपूर्ण कार्य हुनको लागि मुद्दामा उपलब्ध प्रमाणको आधारमा लापरवाहीपूर्ण कार्य भएको थियो वा थिएन भन्ने यकिन गरिनुपर्छ भन्ने तर्क दिएको छ । यसै सन्दर्भमा सवारी अनुमतिपत्र पाउने भनेको के हो; अनुमतिपत्र पाउन ऐनमा सवारी चलाउने सीप एवं सवारीको इन्जिनसम्बन्धी सामान्य ज्ञान तथा ट्राफिकसम्बन्धी नियमहरूबारे ज्ञान हुनुपर्ने अनिवार्यता किन राखिएको होला; यस्तो व्यवस्थाले जनताको जिउधन सुरक्षासम्बन्धी के कस्तो नीति अवलम्बन गरेको छ भन्नेबारेमा पनि विचार गर्नुपर्ने हुन्छ । सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन, २०४९ को दफा ४९ र ऐ. नियमावली, २०५४ को नियम २० ले सवारी चलाउन विशेष ज्ञान र सीपको आवश्यकता महसुस गरी प्रशिक्षण तथा लिखित एवं प्रयोगात्मक परीक्षासम्बन्धी व्यवस्था गरेको छ । अनुमति लिन चाहने व्यक्तिमा निश्चित शारीरिक र मानसिक स्वस्थता रहनुपर्ने बारे पनि ऐनको दफा ४७ र ४८ मा व्यवस्था छ । साथै दफा ५१ ले अनुमतिपत्र नै प्राप्त गरे पनि एक वर्षसम्म परीक्षणकालमा रहने व्यवस्था पनि गरेको छ । यी सबै व्यवस्था जनताको जिउधनको सुरक्षाको निम्ति हो । अन्य व्यक्तिको जिउमा जोखिम पार्ने हक कसैलार्इ हुँदैन । त्यसैले कसैसँग अमूक साधन चलाउने सवारी अनुमतिपत्र छैन भने त्यसको सोझो अर्थ उसँग सो सवारी साधन चलाउने आवश्यक ज्ञान र सीप छैन भन्ने नै हुन्छ । कानूनको पनि त्यही अनुमान 

रहन्छ । त्यसै कारणले गर्दा सवारी चलाउने अनुमतिपत्रको व्यवस्थालार्इ ऐच्छिक नबनार्इ अनिवार्य बनाइएको पनि हो । 

८. जहाँसम्म अनुमतिपत्र र लापरवाहीको सम्बन्ध छ त्यसलाई पनि ज्ञान सीपको आवश्यकतासँग जोडेर हेर्नुपर्ने हुन्छ । अनुमतिपत्र नभएको व्यक्तिले सवारी साधन चलाउँछ भने उसले सवारी साधन चलाउनु हुँदैन भन्ने दफा ४५ को दायित्वको उल्लङ्घन त गर्छ नै, त्यस्तो सीप नहुँदा नहुँदै सवारी साधन चलाउँदा दुर्घटना हुन सक्छ; अवस्थाअनुसार त्यस्तो दुर्घटनाको परिणाम गम्भीर पनि हुन सक्छ भन्ने कुरा पनि उसले जान्दछ र यस्तो कुरा जान्दा जान्दै पनि सम्भावित परिणामबारे बेपरवाह रही सवारी साधन चलाउन उद्यत रहन्छ भनी बुझ्नु पर्ने हुन्छ । त्यस अर्थमा सवारी चलाउने अनुमतिपत्र नहुने व्यक्तिले सवारी चलाउँदा दफा १६१(२) मा उल्लिखित “जानीजानी वा लापरवाही” गरी सवारी चलाएको अवस्था सृजना हुन जान्छ । त्यसको लागि अलग्गै सबुद प्रमाण पेस गरी लापरवाही थियो भनी वादी पक्षले पुष्टि गरिरहनु पर्दैन । यस अर्थमा अनुमतिपत्र नहुँदैमा लापरवाही भई हाल्दैन भन्ने संयुक्त इजलासको तर्क सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को व्यवस्था र सोमा सन्निहित विधिशास्त्रीय अवधारणाअनुकूल देखिँदैन । सवारीसम्बन्धी कानूनको प्रथम एवं प्रमुख उद्देश्य व्यक्ति वा समुदायको सुरक्षा गर्नु हो । मानव जीवनलाई असुरक्षित बनाउने अधिकार कसैमा हुँदैन । यदि एक व्यक्तिलाई कानूनको उल्लङ्घन गर्न निरूत्साहित गरेर सामाजिक सुरक्षा प्रवर्द्धन गर्न सकिन्छ भने कानूनको सोही नै अर्थ गरिनुपर्छ । न्यायले पनि सामाजिक सुरक्षाको नै प्रवर्द्धन गर्ने हो र सो गर्नुपर्छ ।

९. संयुक्त इजलासले लापरवाही स्वतन्त्र रूपमा पुष्टि हुनुपर्छ भनी तर्क गर्दा कहीँ न कहीँ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१को उपदफा (४)  को व्यवस्थालाई पनि हेरेको हुनसक्छ यद्यपि यो कुरा स्पष्टसँग फैसलामा लेखिएको पाइँदैन । तसर्थ सो व्यवस्थाको सुसङ्गत अर्थ गर्नुपर्ने आवश्यकता पनि यहाँ छ । ऐनको दफा १६१ को उपदफा ४ मा “चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलार्इ उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलार्इ सोही उपदफाबमोजिम हुने सजायमा थप दुर्इ हजार रूपैयाँ जरिवाना हुनेछ ।” भन्ने पाइन्छ ।

१०. उक्त दफामा प्रयुक्त “थप दुई हजार जरिवाना” हुनेछ भन्ने व्यवस्थाको स्पष्ट अर्थ लापरवाही स्थितिमा दफा १६१(२) बमोजिम हुने सजायमा यो थप सजाय हुने भन्ने नै हो । दफा १६१ को उपदफा (२) को कसुरसँग जोडिदिनुको अर्थ उक्त उपदफाहरू अन्तर्गत सवारी साधनको प्रयोग गरी लापरवाही साथमा गरिने कसुर पहिलो कसुर हो र अनुमतिपत्र नहुने कसुर दोस्रो कसुर (Double Count offence) हो । यसलार्इ दोस्रो कसुर भनी बुझ्नु पर्ने भएर नै “थप जरिवाना” भन्ने शब्द उपदफा (४) मा प्रयोग भएको हो । अन्यथा अनुमतिपत्र नभई सवारी हाँकेमा ऐनको दफा १६० को उपदफा २(क) मा पाँच सयदेखि दुई हजारसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएकै छ । यस दृष्टिबाट हेर्दा अनुमतिपत्र नलिई सवारी साधन चलाउनु आफैँमा लापरवाहीपूर्ण कार्य हो भने त्यस्तो कार्य गरी कसैको ज्यान मर्न गएमा त्यसले कसुरलाई थप गम्भीर बनाउँछ । त्यसैले दफा १६१ को उपदफा (२) बमोजिम सजाय हुने अवस्थामा अनुमतिपत्र नलिएबापत दोस्रो सजाय अर्थात् “थप दुई हजार रूपैयाँ जरिवाना” हुने व्यवस्था आकर्षित हुन्छ । तसर्थ कानूनले ऐच्छिक नभनी अनिवार्य भनेको सवारी चालक अनुमतिपत्र कसैसँग छैन, त्यस्तो अनुमतिपत्र नहुँदानहुँदै पनि सवारी चलाउँछ र परिणामत: कसैको ज्यान जान्छ भने अनुमतिपत्र नभई सवारी चलाउने व्यक्तिले, पहिलो अनुमतिपत्र नलिई सवारी चलाउने कार्य र दोस्रो आफूसँग सवारी चलाउने सीप छैन भन्ने जान्दा जान्दै परिणामको फिकर नगरी अर्थात्‌ लापरवाही गरी सवारी चलाई ज्यान मार्ने कार्य गरेको कारण एकैसाथ दुई वटा कसुर गर्न पुग्छ । त्यस्तोमा ज्यान मारेबापत दफा १६१ को उपदफा (२) बमोजिम हुने सजायको अतिरिक्त दफा १६१ को उपदफा (४) बमोजिम थप जरिवानासमेत हुन्छ । 

११. अब जहाँसम्म संयुक्त इजलासले विजेन्द्र पोडेको मुद्दा (ने.का.प. २०७१ नि.नं. ९३०४ पृ. २१२७) मा प्रतिपादित सिद्धान्तसँग सहमत हुन सकिएन भनी आफ्नो रायमा उल्लेख गरेको प्रश्न छ संयुक्त इजलासको सो धारणा यस अदालतबाट प्रतिपादित सिद्धान्तहरूको अधुरो विश्लेषणमा आधारित रहेको देखिन्छ । कारण, विजेन्द्र पोडेको मुद्दामा संयुक्त इजलासबाट निर्णय हुनुपूर्व नेपाल सरकार विरूद्ध राजकुमार तामाङसमेत भएको सवारी ज्यान मुद्दा (ने.का.प. २०७० नि.नं. ९०७३ पृ.१३२७) मा यस अदालतको पूर्ण इजलासबाट “सवारी चलाउने अनुमतिपत्र नलिएको वा एउटा वर्गको हलुका सवारी साधन चलाउने अनुमतिपत्र लिई अर्को वर्गको भारी सवारी साधन चलाउने गरेको कार्य लापरवाहीयुक्त मान्नुपर्ने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । विजेन्द्र पोडेको मुद्दामा यस अदालतको संयुक्त इजलासबाट कुनै स्वतन्त्र निर्णय गरिएको नभई पूर्ण इजलासबाट प्रतिपादित उक्त सिद्धान्तको स्पष्टतः उल्लेख नै गरी अनुशरण गरिएको पाइन्छ । पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्तको अनुशरण संयुक्त इजलासले गर्नुपर्ने हुन्छ । यो न्यायिक अनुशासनको विषय पनि हो । तसर्थ विजेन्द्र पोडेको मुद्दा (नि.नं. ९३०४) मा प्रतिपादित सिद्धान्तसँग असहमत रहनुपर्ने र रहन सक्ने युक्तिसङ्गत कारण देखिँदैन । यस अर्थमा पूर्ण इजलासमा निर्णयार्थ मुद्दा पठाउने संयुक्त इजलासको मिति २०७३।६।४ को निर्णय प्रतिपादित सिद्धान्तहरूको सही विश्लेषणमा आधारित देखिएन । विजेन्द्र पोडेको उक्त निर्णयपूर्व पूर्ण इजलासबाट सवारी चालक अनुमतिपत्र नभएको अवस्थामा दुर्घटना भई ज्यान मरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) आकर्षित हुने निर्णय भएको अवस्था छ भने तत्पश्चात् पनि यसै अदालतको पूर्ण इजलासबाट पुनरावेदक नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी परमेश्वर भन्ने कलेश्वर राउत मुद्दा सवारी ज्यान मुद्दा (०७३-CF-०००१) मा “सवारी साधन चलाउने व्यक्तिमा अनिवार्य रूपमा हुनुपर्ने सोसम्बन्धी क्षमता र योग्यताको सुनिश्चितता गरी सवारी दुर्घटनाबाट हुनसक्ने जिउधनमाथिको संभावित जोखिम हटाउनका लागि नै विधायिकाले उल्लिखित कानूनी व्यवस्था गरेको मान्नुपर्ने हुन्छ । सवारी चालक अनुमतिपत्र लिनु पर्ने गरी ऐनमा भएको उक्त व्यवस्था ऐच्छिक नभई बाध्यात्मक र अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था भएकोले सवारी चालकले सवारी चलाउनुअघि अनुमतिपत्र प्राप्त गरेकै हुनुपर्ने 

देखिन्छ । अनुमति प्राप्त नगरी सार्वजनिक सडकमा सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना रहन्छ भन्ने कुरालाई अन्यथा भन्न पनि सकिँदैन र त्यसरी अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाउने कार्य आफैँमा लापरवाहीपूर्ण कार्य हो । साथै त्यसरी सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले चलाएको सवारी साधनबाट ठक्कर लागी वा किची मानिसको ज्यान गएमा सो कार्य स्वतः लापरवाहीपूर्वक गरिएको कार्यको परिणामस्वरूप भएको भन्ने मान्नु पर्ने 

हुन्छ ।” भनी सिद्धान्त प्रतिपादन भई मिति २०७३।८।१६) मा फैसला भएको पाइन्छ ।

१२. उपर्युक्तबमोजिमका प्रतिपादित सिद्धान्तसमेतबाट यस अदालतले पटकपटक अनुमतिपत्र प्राप्त नगरी सवारी चलार्इ ज्यान मार्ने कार्यलाई लापरवाहीपूर्ण मानी प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गर्ने गरी आएको र यस अदालतको पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त (ने.का.प. २०७० नि.नं.९०७३) बमोजिम नै विजेन्द्र पोडे (नि.नं.९३०४) को मुद्दामा निर्णय भएको पाइँदा प्रस्तुत मुद्दामा संयुक्त इजलासबाट मिति २०७३।६।५ मा व्यक्त रायसँग सहमत हुन सकिएन । मुद्दामा फैसला गर्ने समयमा कुनै सिद्धान्त प्रतिपादन भइसकेको छ भने त्यसको वारदात जहिले घटेको भए पनि प्रतिपादित सिद्धान्त कानूनको व्याख्यासँग सम्बन्धित हुने हुँदा त्यस्तो प्रतिपादित सिद्धान्तको अनुशरण गर्नुपर्ने नै हुन्छ । उपर्युक्तबमोजिमको अवस्थामा नि.नं.९०७३ र नि.नं.९३०४ मा प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुने गरी नेपाल सरकार विरूद्ध वीरबहादुर लोप्चन भएको सवारी ज्यान मुद्दामा प्रतिपादित सिद्धान्त (ने.का.प.२०७२ अंक ८ नि.नं.९४५७) कायम रहन नसक्ने हुँदा आजैको मितिदेखि अमान्य घोषितसमेत गरिदिएको छ ।

१३. तसर्थ, माथि विश्लेषण गरिएका आधार कारण र प्रमाणसमेतबाट प्रतिवादी सन्नी महर्जनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गर्नुपर्नेमा सो नगरी ऐ. ऐनको दफा १६१(३) बमोजिम ३ महिना कैद र रू.२०००।- जरिवाना गर्ने गरेको सुरू ललितपुर जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला सदर गर्ने गरेको यस अदालतको संयुक्त इजलासको मिति २०७३।६।५ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी सन्नी महर्जनले अभियोग दाबीको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुर गरेको ठहरेकोले निजलाई २ (दुर्इ) वर्ष कैद र चालक अनुमतिपत्र प्राप्त नभएको अवस्थामा सवारी हाँकी दुर्घटना भई लाटी महर्जनलाई किची निजको मृत्यु हुन गएको देखिन आएकोले सोही ऐनको दफा १६१(४) बमोजिम थप रू. २०००।- (दुर्इ हजार) जरिवानासमेत हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी सन्नी महर्जनलार्इ २(दुर्इ) वर्ष कैद र रू.२०००।- (दुर्इ हजार) जरिवाना हुने ठहरेकोले निज मिति २०६४।८।१६ देखि मिति २०६५।१।१४ सम्म थुनामा रही ४ महिना २८ दिन थुनामा बसेको देखिँदा लागेको कैदमा थुनामा बसेको अवधि कट्टा गरी बाँकी कैद १ वर्ष ७ महिना २ दिन असुल गर्न तथा लागेको जरिवाना रू.२०००।- मा निजले सुरू जिल्ला अदालतमा बुझाएको जरिवाना रू.५२५।- कट्टा गरी रू.१४७५।- समेत लगत कसी असुलउपर गर्नु भनी सुरू ललितपुर जिल्ला अदालतमा लेखी पठार्इ दिनू …………१

यो मिसिलको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझार्इ दिनू ………….२

 

उक्त रायमा सहमत छु ।

न्या.टंकहादुर मोक्तान

 

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको राय

यसमा मिति २०६४।८।१५ गतेका दिन ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.८ बालकुमारी स्थित सडकमा प्रतिवादी सन्‍नी महर्जनले चलाएको बा. ८ प. ५२२३ नं. को मोटरसाइकलले लाटी महर्जनलाई ठक्‍कर दिई सोही चोटका कारण निजको मृत्यु भएको तथा प्रतिवादीले मोटरसाइकल चलाउने अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको तथ्यमा विवाद देखिएन । साथै प्रतिवादीले सवारी चालक अनुमतिपत्र नलिई मोटरसाइकल चलाएको कारण सवारी दुर्घटना भई मानिसको मृत्युसमेत भएको भन्ने आधारमा निजको उक्त कार्य लापरवाहीयुक्त हो भनी वादी नेपाल सरकारको तर्फबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गरिपाउँ भनी अभियोग दाबी लिएकोसमेत देखियो । प्रतिवादी सन्‍नी महर्जनले लापरवाहीपूर्वक सवारी साधन चलाएको हो, होइन भन्ने सम्बन्धमा हेर्दा आफूले २ नं. गियरमा प्रतिघण्टा २०/२५ किलोमिटर जतिको गतिमा मोटरसाइकल चलाई रहेकोमा अन्दाजी ५० मिटरअगाडि वृद्ध महिला सडकको बीचमा हिँडिरहेको देखेर मोटरसाइकलको गियर घटाई ब्रेक लगाउँदै सडकको बायाँतर्फ जाँदा वृद्ध महिला पनि सोहीतर्फ आएकीले ठक्‍कर लाग्न गएको हो भनी प्रतिवादी सन्‍नी महर्जनले अधिकारप्राप्‍त अधिकारी र अदालतसमक्ष बयान गरेको  देखिन्छ । प्रतिवादी आफ्नो साइडमा छन् । यी प्रतिवादीसँग सवारी चालक प्रमाणपत्र नभएबापत छुट्टै सजायको व्यवस्था प्रचलित कानूनमा देखिन्छ । सवारी साधन चलाउने अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउनु र जानीजानी लापरवाहीपूर्ण ढंगबाट सवारी चलाई सडक दुर्घटना हुनु भनेको नितान्त फरक अवस्था हुन् । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) मा वर्णित लापरवाही भनेको सवारी चलाउँदा गरिने लापरवाही हो । यस्तो कार्य सवारी चालक अनुमति प्राप्त व्यक्तिबाट पनि हुन सक्दछ । सोही ऐनको दफा ४५को कानूनी व्यवस्थाबमोजिम चालक अनुमतिपत्र नलिएको कार्य स्वयंमा लापरवाहीयुक्त कार्य नभर्इ छुट्टै दण्डनीय कार्यको रूपमा सम्म लिर्इ सजाय हुने कानूनी व्यवस्था गरिएको छ । यो केवल नियामक कसुर (Regulatory Offense) को रूपमा लिर्इ केही अवस्थामा थप दण्डनीय र व्यवस्थापन गर्ने प्रयोजनले मात्र उक्त कानूनी बन्दोबस्त गरिएको पाइन्छ । प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनले कहिँकतै प्रस्टरूपमा चालक अनुमतिपत्र नलिर्इ सवारी चलाउँदैमा कसैलार्इ मार्ने, हानि नोक्सानी, क्षति पुर्‍याउने  मनसाय राखेको वा लापवाहीपूर्ण कसुर मान्नु पर्ने भनी विधायिकी मनसाय व्यक्त गरेको पाइँदैन । लापरवाही एक मानसिक अवस्था हो । सवारी चलाउँदा लापरवाही भएको थियो थिएन भन्ने कुरा सोही घटना परिस्थिति र प्रतिवादीको सावधानी एवं व्यक्तिगत दक्षता र सवारी चलाएको अवस्थाबाट खोजिनु मनासिब र विधिसम्मत हुने देखिन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ मा “कुनै व्यक्तिले चालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउन हुँदैन” भन्ने कानूनी व्यवस्था गरेकोबाट सवारी चालक अनुमतिपत्र प्राप्त गरेर मात्र सवारी चलाउनु पर्छ भन्ने उक्त ऐनको मनसाय रहेको स्पष्ट छ । त्यसविपरीत कार्य गरेमा दफा १६० (१) बमोजिम जरिवाना हुने अवस्था छ । यो एक किसिमको Regulatory Offense भएकोले नियमन गर्ने वा दण्डनीय बनाउने वा कुनै आपराधिक कार्य भएमा सजाय थप गर्ने गरी यसको कानून निर्माण हुन नसक्ने होइन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ र १६१(४) को कानूनी व्यवस्था पनि सोही प्रयोजनार्थ भएको देखिन्छ । दफा ४५ विपरीत कसैले सवारी चलाएमा दफा १६०(२)(क) बमोजिम रू.५००।- देखि रू.२०००।- सम्म जरिवाना हुने व्यवस्था छ भने दफा १६१(१) र (२) को अवस्थामा किटानी रूपमा थप रू.२०००।- जरिवाना गर्ने कानूनी व्यवस्था छ । यो दफा १६१(४) मा दफा १६०(२)(क) जस्तो रू.५००।- देखि रू.२०००।- को बीच जति पनि जरिवाना गर्न सक्ने जस्तो अधिकारप्राप्त अधिकारीको तजबीज दिएको देखिएन । यसैले चालक अनुमतिपत्र विना सवारी चलाउने कार्य आफैँमा अपराधजन्य लापरवाही नभर्इ नियमन गर्ने प्रयोजन रहेको कारण कैदको व्यवस्था नगरी दफा १६० ले जरिवानासम्म गर्ने र त्यस्तो अवस्थामा दुर्घटना भएमा दफा १६१(४) पनि आकर्षित गर्ने गरी कानूनमा व्यवस्था भएको 

हो । सवारी साधन चलाउने व्यक्तिले जानीजानी आफ्नो नियन्त्रणमा नरहने गतिमा बढी रफ्तारमा सवारी चलाउनु, गलत साइडबाट सवारी चलाउनु, प्राविधिक रूपमा नियन्त्रणमा नरहने प्रकृतिको सवारी साधन चलाउनु, मादक पदार्थ सेवन गरी लापरवाही किसिमले सवारी चलाउनु आदि अवस्था तथा अपराध हुन सक्ने सम्भावना वा पूर्वज्ञान हुँदाहुँदै पनि असावधानीपूर्वक सवारी चलाई दुर्घटना गराउनुलाई लापरवाहीयुक्त कार्य मान्नु पर्ने हुन्छ । यो कार्य अनुमतिपत्र प्राप्त चालकबाट पनि हुन सक्छ । मोटरसाइकल हाँक्दै गर्दा प्रतिवादीले वृद्ध महिलालाई देखेपछि निजलाई बचाउने प्रयास स्वरूप बायाँतर्फ मोड्दासमेत मृतक सोही दिशातिर आएको कारण मृतकलार्इ ठक्कर लाग्न पुगेको देखिन्छ । यस्तो स्थिति अनुमति प्राप्त चालकलार्इ पनि पर्न सक्छ । एउटै अवस्था परिस्थिति अनुमतिपत्र बाहकको लापरवाही नहुने तर अनुमति नभएकाको हकमा लापरवाही मानिने भन्ने विधायिकी मनसाय देखिँदैन । अत: केवल सवारीचालक अनुमतिपत्र प्राप्त नगरी चलाएको सवारीले ठक्कर दिएर मृत्यु भएको भन्ने मात्र कारणबाट प्रतिवादीसँग अनुमतिपत्र नहुनु स्वयंमा लापरवाहीअन्तर्गत पर्छ भन्नु न्यायसङ्गत हुँदैन । यसरी माथि उल्लेख भएबमोजिम सवारी चालक अनुमतिपत्र प्राप्‍त नगरी सवारी साधन चलाउनु र लापरवाहीपूर्वक सवारी साधन चलाउनु फरक कार्य र कसुर हुँदा दुवैलाई समानस्तरमा राखेर सजाय गर्नु फौजदारी विधिशास्त्रअनुरूप हुन सक्तैन । अर्कोतर्फ ने.का.प.२०७०, नि.नं.९०७३, पृ.१३२७ को पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त मिति २०७०।५।१३ गते प्रतिपादन भएको र वारदात मिति २०६४।८।१५ देखिएकोले प्रस्तुत मुद्दामा भूतप्रभावी हुने गरी अघि घटेको घटनाको सम्बन्धमा पछि स्थापित सिद्धान्त  आकर्षित गर्नु पनि न्यायसङ्गत देखिएन ।

सवारी चालक अनुमतिपत्र प्राप्त नगरी मोटरसाइकल चलाएको भन्ने यस्तै प्रश्न रहेको नेपाल सरकार विरूद्ध वीरबहादुर लोप्चन भएको सवारी ज्यान मुद्दामा “दुर्घटना भएको सवारी साधनको चालक भएको कारणले मात्र निजको लापरवाही स्थापित हुन सक्दैन । स्वतन्त्र प्रमाणहरूबाट लापरवाही गरी सवारी चलाएको तथ्य पुष्टि हुनुपर्छ । सवारी चलाउँदाका बखत पर्याप्त सावधानी अपनाए पनि आकस्मिक रूपमा उत्पन्न भएको कुनै कारणबाट सवारी दुर्घटना हुन जान्छ भने त्यसलाई लापरवाही अथवा जानाजान गरिएको कार्य भनी नामाकरण गर्नु उचित नदेखिने” भनी यस अदालतबाट ने.का.प. २०७२ अंक ८ नि.नं. ९४५७ मा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । संयुक्त इजलासबाट कायम भएको उपर्युक्त सिद्धान्त फौजदारी विधिशास्त्र, विधायिकी मनसायअनुरूप देखिएकोमा यस अदालतको पूर्ण इजलासबाट कायम सिद्धान्त (नि.नं. ९०७३) र संयुक्त इजलासबाट कायम भएको सिद्धान्त (नि.नं.९३०४) पुन: विचारणीय हुन सक्ने तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५,१६०(२)(क) र १६१(४) को समष्टिगत व्याख्या गरी भविष्यको लागि मार्ग निर्देशन गर्नसमेत प्रस्तुत इजलास समान स्तरको तीन सदस्यीय पूर्ण इजलास हुँदा उक्त पूर्ण इजलासबाट कायम सिद्धान्त (नि.नं.९०७३) र सोअनुरूपको संयुक्त इजलासबाट कायम भएको सिद्धान्त (नि.नं.९३०४) सँग असहमत जनार्इ आफ्नो राय ठहर गरी कानूनको व्याख्याबाट यस्तो स्थितिमा एकरूपताको लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २२(२)(क) र (ग) बमोजिम बढी सदस्यीय बृहत् पूर्ण इजलासमा पठाउनसमेत  कानूनसम्मत नै हुन्छ । तसर्थ प्रतिवादी सन्‍नी महर्जनले चलाएको मोटरसाइकल मृतकलार्इ बचाउने प्रयास स्वरूप सावधानीपूर्वक बायाँतर्फ मोड्दासमेत आकस्मिक रूपमा मृतक सोही दिशातर्फ आएको कारण मोटरसाइकलको ठक्करबाट मृतक लाटी महर्जनको मृत्यु भएकोले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) को कसुर पुष्टि भएकोले सोही नं. बमोजिम सजाय हुनुपर्ने देखिँदा सुरू ललितपुर जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहराएको यस अदालत संयुक्त इजलासको मिति २०७३।६।५ को फैसला सदर हुने गरी छुट्टै राय व्यक्त गरेको छु । बहुमतको राय कायम हुने हुँदा केही गरी रहनु परेन ।

 

इजलास अधिकृतः हर्कबहादुर क्षेत्री

इति संवत्२०७४ साल मङ्सिर २८ गते रोज ५ शुभम् ।