निर्णय नं. १००० – लिखत पास
निर्णय नं. १००० ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३२ सालको देवानी पुनरावेदन नम्बर ५८ फैसला...
निर्णय नं. १००० ने.का.प. २०३३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३२ सालको देवानी पुनरावेदन नम्बर ५८
फैसला भएको मिति : ०३३।९।८।४ मा
पुनरावेदक : जि.झापा ज्यामीर गढी गा.पं. वडा नं. ९ बस्ने हरिनारायण उपाध्याय लिखत
विरूद्ध
विपक्षी : ऐ ऐ. बस्ने कमला राजवंशीनी
मुद्दा : लिखत पास
(१) वादीको दावी अघिको मितिको पास गरी पाउँ भनी देखिन आएकोले सो राजीनामा लिखत नै सदर मान्नुपर्ने ।
(प्र.नं. १४)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी तफबाट : विद्वान अधिवक्ता श्री लवदेब भट्ट
उल्लिखित मुद्दा : पुनरावेदक चन्द्रबहादुर खत्री विपक्षी क्षेत्रबहादुर अधिकारी भएको लिखत पारीत मुद्दा
फैसला
न्या. वासुदेव शर्मा
१. लिखित पास हुन नसक्ने ठहराई शुरू झापा जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर वादीको निवेदन परी पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको छ।
२. विपक्षीका पतिलाई रोहवरमा साक्षी राखी ०२८।५।३ का दिन मबाट रू.३३८९४।– लिई ज्यामिर गढी पञ्चायत अन्तर्गत वार्ड नं. ९ को जग्गा बिगाहा १३–११–१५ राजीनामा लिखत गरी दिनु भएको म्याद गुजारी पास नगरी दिएकोले पास गराई पाउँ भन्नेसमेत ०२८।११।२४ को वादी।
३. वादी दावीको जग्गा मैले ०२८।५।२ मा टिकाराम प्रसाईंलाई रू.२९०००।– मा राजीनामा गरी दिई सकेको छु । दोहोरो लिखत गरी दिनै नहुने कुरा हुनाले लिखत गरी दिएको छैन । वादी दावी बमोजिम लिखत गरी नदिएको हुँदा सक्कल देख्न पाए नामाकरण गर्नेछु, वादीका झुठ्ठा दावाबाट फुर्सद पाउँ भन्नेसमेत कमला राजवंशीनीको प्रतिवादी ।
४. ०२८।५।३ को लिखतको सहीछाप मेरै हो दृष्टिबन्धकीको कागज भनी हामी लोग्ने स्वास्नीलाई झुक्याई जालसाजबाट फार्सापत्र खडा गरेको हुँदा बदर गरिपाउँ भन्नेसमेत कमला राजवंशीको वा पदमबहादुरको बयान ।
५. कमला र निजको लोग्ने समेत भई राजीनामा लिखत गरिदिएका हुन् झुक्याई लिखत गरे गराएको होइन भन्नेसमेत हरिनारायणको वा मेघनाथको बयान ।
६. म मुनीलाललाई पनि दृष्टि कागज भनी झुक्याई सहीछाप गराई लिएका हुन् जालसाज लिखत खडा गरे गराएमा सजाय गरिपाउँ भन्नेसमेत मुनीलालको बयान ।
७. हरिनारायणबाट कमलाले रूपैयाँ लिई राजीनामा लिखत गरिदिएकी हुन् । झुक्याई दृष्टिबन्धकीमा नै सही गराइएको होइन भन्नेसमेत मानबहादुर खड्गा क्षेत्रीको बयान ।
८. कमला राजवंशीको जालसाजतर्फ दावी डिसमिस हुने ठहरेकोले यसै लिखतको जग्गा ०२८।५।२ गते रू.२९०००।– मा प्रतिवादी कमला राजवंशीबाट राजीनामा गरी लिएको पास गरिपाउँ भन्ने टिकाराम प्रसाईंको पास मुद्दा र सो ०२८।५।२ गतेको राजीनामा जालसाजबाट खडा गरेको हुँदा सजाय गरिपाउँ भन्ने यिनै वादीको जालसाज मुद्दा दायर भएको देखिन आएको जालसाज मुद्दा जालसाज गरेको नठहरी टिकारामले पास गरिपाउँ भनी दावी लिएको ०२८।५।२ को राजीनामा पास हुने ठहरी आजै किनारा भएको हुँदा टिकारामको ०२८।५।२ को लिखत भन्दा वादीको ०२८।५।३ को राजीनामा पछिको देखिन आएको टिकारामको ०२८।५।२ को राजीनामा लिखत पास हुने ठहरेकोले सोही जग्गाको वादीका ०२८।५।३ को लिखत पास गरिपाउँ भन्ने वादीको फिराद दावी पुग्न सक्तैन भन्नेसमेत झापा जिल्ला अदालतको ०३०।६।२।३ को फैसला । उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन परेकोमा टिकारामलाई गरिदिएको राजीनामा जालसाज भन्ने फिरादी हरिनारायणको जिकिर पुग्न नसक्ने भनी जालसाजी मुद्दामा शुरूले दिएको इन्साफ मनासिवै ठहरी यस बेञ्चबाट आजै निर्णय भएकोले यौटै जग्गा २ व्यक्तिका नाउँमा रजिष्ट्रेशन पास हुन नसक्ने हुँदा लिखत पास गराई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराई छिनेको इन्साफ झापा जिल्ला अदालतको मनासिवै छ भन्नेसमेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३१।१२।३१।१ को फैसला ।
९. उक्त इन्साफमा चित्त बुझेन अ.वं. १२।१७९।८५।१९३।१८५ र रजिष्ट्रेशनको १७।३४ नं.को समेत प्रत्यक्ष गम्भीर कानूनी त्रुटि गरी फैसला गरेको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्नेसमेत वादीको निवेदन परेकोमा वादी हरिनारायणले ०२८।५।३ को राजीनामा लिखत पारित गरिपाउँ भनी ०२८।११।१४ मा झापा जिल्ला अदालतमा नालिस गरिसकेपछि ०२८ साल चैत्रमा मात्र टिकारामको लिखत पारित मुद्दा दायर भएको देखिन्छ । उक्त दुवै लिखत घरसारको भएकोमा जुन लिखितका पक्षले लिखत पारित गरिपाउँ भनी अदालतमा पहिले प्रवेश गरिसकेको छ सोही लिखतलाई जेठो कायम गर्नुपर्ने सिद्धान्त ०२५ सालको देवानी पुनरावेदन नम्बर २३९४ पुनरावेदक चन्द्रबहादुर खत्री विरूद्ध क्षेत्रबहादुर अधिकारीको लिखत पारित मुद्दामा प्रतिपादित भएको देखिन्छ । यस स्थितिमा ०२८ साल चैत्र महिनामा लिखत पारित गरिपाउँ भनी टिकारामले दिएको नालिसमा निजले पारित गरिपाउँ भनी दावी लिएको लिखतलाई जेठो कायम गरी ०२८।११।२४ मै नालिस परिसकेको हरिनारायणको लिखत कान्छो ठहराई फैसला निर्णय गरेको सार्वजनिक विषयको प्रश्नमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि देखिन आयो । तसर्थ न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अन्तर्गत पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत डिभिजन बेञ्चको ०३२।१०।१३।३ को आदेश ।
१०. तारेखमा रहेका पुनरावेदक वादी हरिनारायण उपाध्यायको वारेस गुरूप्रसाद सिटौला र विपक्षी प्रतिवादी कमला राजवंशीनीको वारेस ओमकारमान श्रेष्ठलाई मिति ०३३।७।१२ गतेका दिन रोहवरमा राखी पुनरावेदकतर्फको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको र विपक्षी कमला राजवंशीतर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्ट समेतको बहस समेत सुनी आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा शुरूको सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिव वा गल्ती के हो ? त्यसतर्फ विचार गर्नुपर्ने हुन आउँछ ।
११. यसमा पुनरावेदक वादी हरीनारायणलाई प्रतिवादी कमला राजवंशीले गरी दिएकै जग्गाको राजीनामाको जग्गा टिकाराम प्रसाईंलाई पनि प्रतिवादी कमला राजवंशीले राजीनामा गरी दिएको भन्ने देखिन आएकोले वादी दावी बमोजिम निजले गराई लिएको राजीनामा पास हुने नहुने के हो ? त्यस कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१२. तत्सम्बन्धमा विचार गरी हेर्दा, दृष्टिबन्धक कागज भनी सही गराए राजीनामाको कागज रहेछ भन्ने मुख्य प्रतिवादीको जिकिर छ, प्रतिवादीले त्यस्तो जिकिर लिए तापनि ती दुवै राजीनामा प्रतिवादीले गरि नदिएको हो भनी भन्न मिलेन त्यसरी गरिदिएको राजीनामा कसको सदर कायम मानी पारित हुने नहुनेतर्फ विचार गर्दा वादीलाई ०२८।५।३ मा र टिकाराम प्रसाईंलाई प्रतिवादी कमला राजवंशीले ०२८।५।२ मा राजीनामा लिखत गरिदिएको ती दुवै लिखतहरू प्रतिवादीले म्यादभित्र पास गरी नदिएकोले पास गराई पाउँ भन्ने प्रतिवादी कमला राजवंशी उपर वादी हरिनारायणको मिति ०२८।११।२४ मा फिराद दर्ता भई सकेपछि टिकाराम प्रसाईंको ०२८।१२।५ मा मात्र फिराद दर्ता भएको सम्बन्धित प्रमाण मिसिल समेतबाट देखिन आएको छ ।
१३. घरसारमा भएका उक्त दुई लिखतमध्ये कुन चाहिं लिखत पास हुनुपर्ने हो भनी विचार गर्दा वादी हरिनारायणले लिखत पास गराई पाउँ भनी प्रतिवादी कमला राजवंशी उपर मुद्दा दायर गरेको मिति टिकारामको भन्दा अगाडिको मितिको देखिन आएको छ यस्तै प्रश्न समावेश भएको पुनरावेदक चन्द्रबहादुर खत्री विपक्षी क्षेत्रबहादुर अधिकारी भएको लिखत पारित मुद्दाको ०२५ सालको दे.पु.नं. २३९४ केसमा “वादीको राजीनामा पारित गरिपाउँ भन्ने फिराद परी अदालतमा मुद्दा दायर भई अदालतको विचाराधीनमा रहेको सम्पत्तिको हक बेहक हुने गरी दोहरा पारी रजिष्ट्रेशन गरिदिएको मान्तया दिन मिल्दैन” भन्नेसमेत ०२८।७।१५।२ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय भएको पाइन्छ ।
१४. तसर्थ उपरोक्त आधारमा समेत वादी हरिनारायणको दावी अघिको मितिको पास गरिपाउँ भनी देखिन आएकोले सो राजीनामा लिखत नै सदर मान्नुपर्ने हुन आई सो राजीनामा पारित हुने अवस्थाको लिखत देखिनाले शुरूले पास हुन नसक्ने ठहराइएको इन्साफ सदर ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ गल्ती ठहर्ने र उपरोक्त धनी हरिनारायण उपाध्याय ऋणी कमला राजवंशी भएको रू.३३८९४।– को मिति ०२८।५।३।५ को राजीनामा पारित हुने ठहर्छ । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाई दिनु ।
तपसील
वादी हरिनारायणके निजले फिराद गर्दा राखेको कोर्टफी रू.१०।– अरू दस्तुर रू.१।२५ समेत जम्मा रू.११।२५ र सर्वोच्च अदालतमा राखेको कोर्टफि रू.१।५० समेत जम्मा रू.१२।७५ प्रतिवादी कमला राजवंशीबाट भराई पाउँ भनी प्रतिवादीको जायजात देखाई कोर्टफी ऐनको दफा १५ को म्याद ३ वर्षभित्र वादीको दरखास्त परे दस्तुर केही नलिई प्रतिवादीबाट वादीलाई भराई दिनु भनी झापा जिल्ला अदालतलाई पत्र लेखी पठाउन का.जि.अ.मा लगत दिनु…………१
वादी हरिनारायण उपाध्यायके माथि इन्साफ खण्डमा लेखिए बमोजिम लिखत पारित हुने ठहरेकोले ऋणी प्रतिवादी कमला राजवंशी र धनी हरिनारायण उपाध्याय भएको रू.३३८९४।– को मिति ०२८।५।३ को लिखत पारित गर्न ऐनका म्यादभित्र वादीको दरखास्त परे सो लिखत पारित गरी दिन सम्बन्धित कार्यालयलाई पूर्जि लेखी पठाउन झापा जिल्ला अदालतलाई पत्र लेखी पठाउने ……………………२
मिसिल संलग्न ०२८।५।३।५ को सक्कल राजीनामा सरोकारवाला व्यक्तिलाई फिर्ता दिने……………….३
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् ०३३ साल पौष ८ गते रोज ४ शुभम् ।