February 20, 1992
Created by nepalarchives

निर्णय नं. ४४०६ – दर्ता बदर दर्ता

निर्णय नं. ४४०६     ने.का.प. २०४८      अङ्क ११   पूर्णइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत्...

निर्णय नं. ४४०६     ने.का.प. २०४८      अङ्क ११

 

पूर्णइजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०४६ सालको दे.पु.इ.नं. ८१

फैसला भएको मिति: २०४८।११।८।५ मा

पुनरावेदक/वादी : ज.न.पा.वडा नं. २ बस्ने महन्त सिताराम दाश वैष्णव

विरुद्ध

विपक्षी/प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालयसमेत

मुद्दा : दर्ता बदर दर्ता

(१)    अचल सम्पत्तिको दर्ता स्वामित्व प्रमाणित गर्न रजिष्ट्रेशनको १ नं. बमोजिम पारीत लिखत अनिवार्य हुने ।

(प्रकरण नं. १५)

पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश

विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंह (साविक पेज नं. ७०८)

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     म.क्षे.अ.को फैसला उपर अनुमतिद्वारा पुनरावेदन परी पेश हुँदा सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    श्री रामजानकी सालिग्राम भगवानको मेरा बाजे गुरु अवयदास बैरागीले जग्गा माधुरी मण्डलसंग खरीद गरी मन्दिर स्थापना गरी पूजाआजा गरी आउनु भएको निजपछि मेरो श्रीरामदाश बैरागी उक्त स्थानको उत्तराधिकारीको हैसियतले अपुताली प्राप्त गरी जग्गा जमीन निजका नाममा दर्ता समेत भएको यहि मिति २०४०।४।२ गते गुरु स्वर्गीय हुनुभएकोले परम्परा अनुसार काजकृया समेत मैले गरेकोले स्वभावतः उक्त स्थानको अपुताली मैले पाउने भएको हुँदा तालुकवाला विपक्षी गुठी तथा तहसील कार्यालयमा जग्गा जमीनहरु नामसारी गर्न निवेदन दिएकोमा असम्बन्धित व्यक्ति चन्देश्वर राउतको तालुकमा स्थान लगाई दिएको गैरकानुनी छ र रामजानकीको नाममा जग्गा दर्ता गरी दिएको कानुन विपरीत हुँदा दर्ता बदर गरी विपक्षी मध्य चन्देश्वर राउतलाई संरक्षक नियुक्त गरेकोमा सो समेत बदर गरी पाउँ भन्ने वादीको फिरादपत्र ।

३.    फिरादपत्रमा उल्लेख गरिए अनुसार अवधदाश बैरागीले रामजानकी मन्दिर निर्माण गर्नु भएको नभई रामनन्दन राउतले उक्त मन्दिर निर्माण गर्नु भएको हो भन्ने कुरा रामनन्दन राउत र चन्देश्वर राउत समेतको बण्डा छुट्याई मिति २०२२।७।६ गते महोत्तरी माल अड्डाबाट पारीत गराई लिनु दिनु गरेको बण्डापत्रको लिखतको शीर व्यहोराबाट प्रष्ट हुन आउँछ । प्रतिवादी मध्येका चन्देश्वरका बाबु रामनन्दनको पालादेखि रामदेव दाश वैष्णवसंगको सम्बन्धमा रहेको र निजले मन्दिर समेत निर्माण गरी रामदेव दाशलाई पुजारी राखी पूजा आजा गराई आएको र निज नित्य नैनित्य पूजा भोग राग चलनको निमित्त महोत्तरी जिल्ला  अन्तर्गत परेकाले मौजा अन्तर्गतका विभिन्न कित्ताका जग्गाहरु रामजानकी मन्दिरको निमित्त समर्पण गरी मूल दाता हुनुभएको र वहाँको शेषपछि निजको छोरा चन्देश्वर राउतले नै दाताको हैसियतबाट पुजारी नियुक्त गर्ने र मन्दिरको हित र भलाईको निमित्त जो परेको काम गर्ने गरी आउनु भएको हुँदा कि.नं. २४८ को दर्ता धारक रामदेव दाश परलोक हुनु भए उपरान्त रामजानकीकै नाममा भए सरह मन्दिर निर्माण र जग्गा दर्ता तथा दाताको सगोलको परिवारको हैसियतले रामदेव दाशको नामबाट रामजानकीको नाममा दर्ता गराई जग्गा र मठ समेतको समूचित सुरक्षा गरी पाउँ भनी चन्देश्वर राउतको अनुरोध अनुसार गुठी संस्थान ऐन, २०३३ को दफा २० लाई अवलम्बन गरी यस कार्यालयले रामजानकीको नाममा दर्ता गरी दिएको हो । विपक्षी रामजानकी मन्दिरको पूजारी मात्र हुन् । महन्तको हक खान पाउने गरी चेला रुपमा नियुक्ति नपाउने हुँदा आफ्नो नाममा दर्ता गराई माग्न पाउने हकदैया छैन । खारेज योग्य दावी छ । जग्गामा तेरो मेरो प्रश्न उपस्थित भएको थिएन भन्ने समेत गुठी तहसील तथा खर्च कार्यालय, जनकपुरको प्रतिउत्तरपत्र ।

४.    मेरा पिता रामनन्दन राजले रामदेव दाशलाई पूजारीको रुपमा नियुक्त गर्नु भएको हो निज पश्चात मैले दाताकै हैसियतबाट बेला बेलामा पूजारी नियुक्ति गर्ने र मन्दिरको हित हुने काम गरी आएको हुँ । रामदेवदाश परलोक भए पश्चात मठको सम्पत्ति सुरक्षा हुने नै गरी कार्यालयमा निवेदन दिई रामजानकी मन्दिरकै नाममा दर्ता भएको हो । विपक्षी पूजारी सम्ममात्र हुन् । विपक्षी विदेशी नागरिक हुन् भन्ने कुरा यसैसाथ संलग्न कागजबाट प्रष्ट हुने नै छ । जग्गा दिनुको पछाडि कुनै हदबन्दी होइन । हकदैया विहिन व्यक्तिले दायर गरेको प्रस्तुत फिराद खारेज योग्य छ भन्ने समेत व्यहोराको चन्देश्वर राउतको प्रतिउत्तरपत्र । (साविक पेज नं. ७०९)

५.    ज.गु. तथा खर्च कार्यालयबाट के कसो गरे भएको हो यथार्थ कुरो सो कार्यालय तर्फबाट प्रस्तुत हुनु पर्ने हो । वास्तवमा गुठी संस्थान केन्द्रीय कार्यालयबाट निवेदकको हक र हितमा असर पर्ने काम कारवाही भएको छैन भन्ने समेत व्यहोराको गुठी संस्थान केन्द्रीय कार्यालयको प्रतिउत्तरपत्र ।

६.    मिति २०२२।६।४ गतेको र २०२२।७।६।६ मा महोत्तरी मालबाट पारीत भएको भनेको १२ पानाको बण्डापत्र हेरे देखेको सो बण्डापत्रमा उल्लेख भए बमोजिमको ५८ १/२ जग्गा जालसाजी गरी बण्डापत्रमा उल्लेख गरी बण्डापत्रमा रामजानकी नाम मठको भनी पास गराएपछि सो कुरा मलाई र मेरो गुरु समेतलाई जानकारी छैन भन्ने समेत व्यहोराको वादी सिताराम दाशको बयान ।

७.    बण्डापत्र सद्दे हो जालसाजी होइन भन्ने समेत प्रतिवादी चन्देश्वरको वा.उदयकान्तले गरेको बयान ।

८.    पारीत भएको बण्डापत्रको लिखतले रामदेव दाश वैष्णवको उपदेशले मन्दिर बनाई रामजानकीको मूर्ति स्थापना गरेको रामदेव दाशलाई नै पूजारी राखेको भनी भनेबाट लिखतमा रामदेव दाशको सही नभए पनि रामदेवदाश समेतको मन्जूरीबाट सहमति भएको भन्ने कुरा लिखतले नै बोली रहेकोले र जग्गा गुठी समेत अन्य व्यक्तिको नाममा दर्ता नभई श्री रामजानकी कै नाममा राख्ने भन्ने समेत गुठीको निर्णय हुँदा वादी दावी पुग्न सक्दैन भन्ने व्यहोराको जनकपुर अञ्चल अदालतको मिति २०४२।६।२०।१ को फैसला ।

९.    यसमा गुरु नै पूजारी भएपछि चेलाले महन्तहरुले पाए झै हक प्राप्त गर्न सक्दैन । दर्ता भगवानकै रहेको र संरक्षक पनि दाताको छोरा हुँदा गैरकानुनी निर्णय भयो भन्न नमिल्ने भन्ने समेत जनकपुर अञ्चल अदालतको इन्साफ मनासिब देखिँदा वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।२।२० गतेको फैसला ।

१०.    गुठी संस्थानले अनधिकृत रुपले हकदैया नै नपुग्ने व्यक्तिलाई गैरकानुनी रुपले संरक्षक नियुक्त गरी निजी गुठीलाई राजगुठीमा परिणत गरेको तथा सो लाई मध्यमाञ्चल क्षेत्रीय अदालत समेतले मान्यता प्रदान गरेबाट अ.बं. ३५, ८२ गुठी संस्थान ऐन, २०३३ को दफा २०, गुठीको ११, १२ नं. समेतको विषयमा त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

११.    यसमा मिसिल संलग्न कागजातबाट गुठी संस्थानले संरक्षक नियुक्त गरेको चन्देश्वरका तर्फबाट निजी गुठी स्थापना भए गरेको देखिन नआएकोले सो गुठीको रुपमा परिवर्तन गर्ने गरी गुठी संस्थानले गरेको निर्णय गुठी संस्थान ऐन, २०३३ को दफा २० को विपरीत हुँदा सो निर्णय समेत बदर गरी पाउँ भनी माग दावी भएकोमा सो समेतमा निर्णय गर्नुु पर्नेमा सो दावी भएको कुरामा निर्णय नगर्नु सबूद प्रमाणको बर्खिलाप हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा अ.बं. १८४(क), १८५ प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको व्याख्या सम्बन्धी त्रुटि हुँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।९।३० गतेको आदेश ।

१२.   विवादित कि.नं. २४८ ज.वि. ०१८ घर जग्गा गुठी संस्थान ऐन, २०३३ को दफा २० अनुसार रामजानकीको नाममा राखी बिक्री वितरण हुन नपाउने गर्न र सीता रामदाश वैष्णवलाई पूजारी र चन्देश्वर राउतलाई संरक्षक गर्ने गरी गुठी संस्थान जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयबाट मिति २०४०।५।१० मा निर्णय भएको पाइन्छ । कि.नं. २४८ को ज.वि. ०१८ अवधदाश वैरागीले मिति १९९७।११।१।४ मा खरीद गरेको कुरामा विवाद छैन । उक्त जग्गा अवधदाश वैरागीबाट रामदेव दाशको नाममा दा.खा. भएको पनि निर्विवाद देखिन्छ । विवादित जग्गाको दाता अवधदाश भएको अवस्थामा प्रतिवादी चन्देश्वर राउत भूमिहारलाई दाता भन्न मिल्ने देखिँदैन । आफू (साविक पेज नं. ७१०) दाता भई समेत निर्माण गरेको भन्ने प्रतिवादी चन्देश्वरको भनाई रहे तापनि उक्त मन्दिर कहिले बनाएको हो भन्ने सबुद प्रमाण प्रतिवादी चन्देश्वर राउतले गुजार्न सकेको पाइन्न । त्यस्तो अठार धुर जग्गामा सो जग्गा खरीद गर्ने अवधदाशले मन्दिर कुटी नबनाई त्यसै बाली खान राखेको होला भन्ने कुरा प्रतितलायक देखिन्न । साथै अवधदाशको खरीदी जग्गामा प्रतिवादीले निज अवधदाशको स्वीकृति बिना मन्दिर बनाउन सक्ने अवस्था पनि देखिन्न, त्यस्तो मन्जूरी पाएको छ भन्ने प्रतिवादीको भनाई देखिन्न । प्रतिवादी र प्रतिवादीका बाबुका बीचमा भएको मिति २०२२।७।६ को बण्डापत्र हेर्दा उक्त बण्डापत्रमा रामदाशलाई पूजारी भनी लेखिएको पाइन्छ तर उक्त बण्डापत्रको लिखतमा रामदाश साक्षी बसेको पाइन्न । उक्त २०२२।७।६ को बण्डापत्रको लिखतको जानकारी रामदाशलाई भएको थियो भन्ने प्रतिवादीले कुनै प्रमाण दिन सकेको छैन । यस्तो अवस्थामा बाबु छोराको बीचमा भएको त्यस्तो बण्डापत्रमा लेखिएको कुरा रामदाश वा यी वादीको विरुद्धमा प्रमाणमा लाग्न सक्ने देखिँदैन । विवादित जग्गाको हक दर्ता अवधदासबाट रामदाशमा सर्ने अवस्था हुँदैन । गुठी संस्थान ऐन, २०३३ को दफा २० लाई हेर्दा निजी गुठीको दाता सबैले त्यस्तो निजी गुठीको हक दायित्व संस्थानले नै व्यहोर्ने गरी अनुरोध गरेमा राजगुठीमा परिणत गर्ने र गुठियार खांगीदारको सबै हक समाप्त हुने भन्ने व्यवस्था गरेको पाइन्छ । तर प्रस्तुत मुद्दाको विवादित जग्गाको दाता अवधदाश र अवधदाश मरेपछि दा.खा. बाट हक भएको रामदाश देखिन्छ । दाता नदेखिएको बेसरोकारवाला प्रतिवादी चन्देश्वर राउतले अनुरोध गरेको आधारमा उक्त कि.नं. २४८ को जग्गा राजगुठीमा परिणत गरेको जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयको मिति २०४०।५।१० गतेको निर्णय कानुनसंगत भन्न मिलेन । अतः गुठी तहसिल तथा खर्च कार्यालयको निर्णय बमोजिम भएको दर्ता र प्रतिवादी चन्देश्वर राउतलाई संरक्षक नियुक्त गरेको समेत बदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय ।

१३.   यसमा साविकमा अवधदाश वैरागीबाट जग्गा खरीद गरी मन्दिर स्थापना गरी पूजा आजा समेत गरी आएको र त्यसपछि सो कार्य रामदाशबाट भए गरेको भन्ने देखिन्छ । निज रामदाशको मिति २०४०।४।२ मा मृत्यु भएपछि सो स्थानमा चन्देश्वर राउतको निवेदन अनुसार निजलाई संरक्षक नियुक्त गरी विवादित जग्गा रामजानकीको नाममा गुठी तहसील तथा खर्च कार्यालय जनकपुरबाट दर्ता गर्ने गरेको देखिन्छ । पुनरावेदक वादीले परम्परा अनुसार आफूले रामदाशको काजकृया समेत गरेको र अपुताली आफू चेला समेत भएको हुँदा आफैंमा सर्नु पर्ने हो रामजानकीका नाममा गरेको दर्ता बदर गरी पाउँ भन्ने समेत दावी लिएको देखिन्छ । मिति १९९७।१०।१ को लिखत बमोजिम विवादित जग्गा अवधदाश वैरागीले माधुरी मण्डलबाट खरीद गरेको देखिन्छ । जग्गा खरीद गर्नुको प्रयोजन उक्त घरसारको राजीनामा लिखतमा खुलेको पाइँदैन । मिति २०२२।७।६ मा महोत्तरी मालबाट पारीत बण्डापत्रमा जनकपुर अञ्चल गंगासागरको उत्तर डीलमा रामदेवदाश वैष्णवको उपदेशले मन्दिर बनाई निजैलाई पूजारी नियुक्त गरेको भन्ने देखिन्छ । देवताको पूजा आजाको निमित्त केही जग्गा छुट्याएको भन्ने लिखत व्यहोराबाट देखिएकै छ । रामदाश आफू पूजारी मात्र नियुक्त भएको कुरालाई अन्यथा भनेको देखिँदैन । साथै उक्त लिखतलाई हाल आएर वादीले जालसाजीको संज्ञा दिन मिल्दैन । वादीको शेषपछि निजका चेलाको हक मार्ने उद्देश्यले करिब २० वर्ष अघि जालसाज गरेको भन्नु युक्तिसंगत देखिँदैन । विवादित जग्गाको दर्ता रामजानकीको नाममा रहेको र पूजारीको हैसियतमा रहेको व्यक्तिको चेला हुँ भन्ने व्यक्तिमा हक सर्ने अवस्था नहुँदा वादी दावी पुग्न सक्दैन । अतः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब देखिँदा परिवर्तन गरी रहन परेन । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी गर्ने गरेको माननीय न्याया– (साविक पेज नं. ७११) धीश श्री त्रिलोकप्रताप राणाको रायसंग मेरो सहमति नहुँदा नियमानुसार निर्णयार्थ पूर्णइजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।८।१८।१ कोे फैसला ।

१४.   नियम बमोजिम मिति २०४८।१०।२९ गतेका दिन पेश आएको प्रस्तुत मुद्दाका पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दाश तथा गुठी संस्थान तर्फका विद्वान अधिवक्ता श्री हेमराज सुवेदी उपस्थित हुनु नभएको र विपक्षी प्रतिवादी चन्देश्वर राउततर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंहले अवधदाशका नाममा दर्ताको जग्गा निज पछि शिष्य रामदाशका नाममा दर्ता रहेको भन्ने कुरामा विवाद छैन । सो जग्गा अरुको नाममा सरेर जान कानुनी आधार वादीको छैन । वादी रामदाशको चेला वा कुनै किसिमले महत्याई पाउने व्यक्तिको होइन । निज रामदाश नाम दर्ताको जग्गा प्रतिवादी चन्देश्वरको दर्खास्तबाट राजगुठीमा परिणत गरी गुठीले गरेको निर्णय कानुनसंगत छ । वादी दावी बमोजिम दर्ता बदर हुनु पर्ने होइन भन्ने समेत बहस गर्नु भयो । पुनरावेदक वादी तर्फका विद्वान अधिवक्ता श्री कमल नारायण दाशले महन्त अवध दाशले मन्दिर स्थापना गर्ने हेतुले १९९७।११।१ का दिन माधुरीमण्डलसंग ०१८ धुर जग्गा खरिद गरी लिई मन्दिर बनाई वहाँ ब्रम्ह लिन हुनु भएपछि सीताराम दाशको गुरु बाबु रामदाशजीको कार्य गर्नु भयो । प्रतिवादीले जग्गा राम जानकी मठलाई दिएको थाहा थिएन । वादीको बाबु गुरुराम दर्ताको जग्गाको आयस्ताबाट चलि आएको हो । प्रतिवादीलाई संस्थापक मान्न मिल्दैन । गुठी संस्थान ऐन, २०३३ को दफा २० ले निजी गुठी राजगुठीमा परिणत गर्न मिल्दैन, तेरो मेरो परेकोमा गुठीले निर्णय गर्न पाउँदैन गुठी संस्थानको निर्णय अनधिकृत छ । प्रतिवादीको बाबुसंग भएको मिति २०२२।७।६ गतेको बण्डापत्रले वादीलाई र मठलाई कुनै असर पर्दैन । गुठी संस्थानले हकदैया नपुग्ने व्यक्तिलाई संरक्षक नियुक्ति गरी राजगुठीमा परिणत गरेको त्रुटिपूर्ण छ । तसर्थ माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय सदर गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४८।११।४।१ को बहस नोट पेश गर्नु भएको रहेछ ।

१५.   यसमा आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा इन्साफतर्फ विचार गर्दा मुख्यतः पुनरावेदक वादी सीताराम दाशले आफूलाई दर्तावाला रामदेवदाश वैष्णवको चेलो भनी निजका नामको जग्गाहरु रामजानकीका नाममा दर्ता गरी विपक्षी चन्देश्वर राउतलाई संरक्षक नियुक्ति गरेको सो दर्ता बदर गरी जग्गा जमीनहरु मेरा नाममा दर्ता गरी पाउँ भनी दावी लिएको देखिन्छ । प्रतिवादीले वादी चेला नभई पूजारी मात्र हो भनी प्रतिवाद गरेका र आफूलाई सो रामजानकी मन्दिरको पूजा आजा रेखदेखको लागि जग्गा प्रदान गर्ने रामनन्दनको छोरा हुँ भनी जिकिर लिएको पाइन्छ । प्रतिवादीको सो जिकिरलाई पुनरावेदक वादीले खण्डन गरी रामनन्दनले पूजा आजाको लागि रामजानकी मन्दिरमा जग्गा दिएको होइन भन्न नसकी जग्गा दिएको थाहा थिएन मात्र भनेको छ । त्यस्तै रामनन्दनको छोरा यो प्रतिवादी होइन भन्ने पनि वादीको भनाई छैन । प्रतिवादीबाट पेश भएको बण्डापत्रको पारीत लिखतबाट समेत प्रतिउत्तर जिकिरको सम्म पुष्टि भएको देखिन्छ । तर वादीलाई दर्तावाला रामदेव दाश वैष्णवको चेला होइन पूजारी हो भन्ने प्रतिवादीको कथन छ । यसरी रामजानकी मन्दिरको पूजा आजाको लागि जग्गा दिने दाता रामनन्दनको छोरा प्रतिवादी चन्देश्वर राउत रहे भएको कुरा निर्विवाद रहेको छ । वादी दर्तावाला रामदेव दाश वैष्णवको चेलो हो भन्ने कुरा विवादास्पद रहेको देखिन्छ । वादीले आफ्नो विवादित चेलोको हैसियतलाई प्रमाणित (साविक पेज नं. ७१२) गर्न सकेको मिसिलबाट देखिँदैन । तथापि सीताराम दाश वैष्णव रामजानकी मन्दिरको पूजारी रही आएको तथ्यलाई प्रतिवादी स्वयंले स्वीकार गरेको र त्यस स्थितिलाई जनकपुर गुठी तहसील तथा खर्च कार्यालय समेतले मिति २०४०।५।१० गतेको निर्णयद्वारा कायम गरेकै देखियो । खास गरी अचल सम्पत्तिको दर्ता स्वामित्व प्रमाणित गर्न रजिष्ट्रेशनको १ नं. बमोजिम पारीत लिखत अनिवार्य हुन्छ । त्यस्तो लिखत वादी पक्षबाट पेश हुन सकेको छैन । यस स्थितिमा वादी दावी पुग्ने अवस्था रहँदैन । तसर्थ वादी दावी पुग्न सक्दैन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

न्या.केदारनाथ उपाध्याय,

न्या.कृष्णजंग रायमाझी

 

इति सम्वत् २०४८ साल फाल्गुण ८ गते रोज ५ शुभम् ।