June 13, 2014
Created by nepalarchives

निर्णय नं. ९१८९ – सम्बन्ध विच्छेद अंशसमेत

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।२।३०।६ ०६८–CI–१५६४   मुद्दा : सम्बन्ध विच्छेद...

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज..रा.

फैसला मिति : २०७१।२।३०।६

०६८–CI–१५६४

 

मुद्दा : सम्बन्ध विच्छेद अंशसमेत ।

 

पुनरावेदक/प्रतिवादी : काभ्रेपलान्चोक जिल्ला, पनौती न.पा.वडा नं.५ बस्ने गणेशभक्त श्रेष्ठसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : काभ्रेपलान्चोक जिल्ला पनौती न.पा.वडा नं.५ घर भई हाल भक्तपुर जिल्ला, भक्तपुर न.पा.वडा नं.८ बस्ने गीता श्रेष्ठ

 

§  अंश प्राप्त गर्नेले कानूनले निर्धारण गरेबमोजिम अंश पाएको हुनुपर्छ । सगोलको सम्पत्ति हस्तान्तरण गर्ने वा घटी बढी गर्ने गरी खडाभएको लिखतमा सम्बन्धित अंशियारको समेत मन्जुरी भएको अवस्थामा मात्र त्यस्तो लिखत निजको विरूद्धमा लागू हुन सक्ने हुन्छ । अंशियारको मन्जुरीबिना खडा गरिएको लिखतमा विवाद परे त्यसको औचित्यभित्र प्रवेश गरी हेर्नु नै न्यायसम्मत   मान्नुपर्ने ।

(प्रकरण नं. )

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान्‍  अधिवक्ता मोतिराज गौतम

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान्‍  अधिवक्ता ओमकाजी प्रजापती

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, अंशबन्डाको महलको १, १० नं.

 

सुरू तहमा फैसला गर्ने :

            मा.न्या.श्री लेखनाथ रेग्मी

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या.श्री सुरेन्द्रवीर सिंह बस्न्यात

            मा.न्या.श्री हरिकुमार पोखरेल

 

फैसला

न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६९।१।७ को फैसलाउपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‍ ‍ ठहर यस प्रकार छ ।

सौता गंगा श्रेष्ठको परलोक भएपछि विपक्षी पति गणेशभक्त श्रेष्ठसँग मिति २०६२।१।४ गते जातीय रीतबमोजिम विवाह भई एउटी बुहारी/श्रीमतीले गर्नुपर्ने कर्तव्य गरी बस्दै आएकोमा विपक्षी पति, सासु तथा सौताको छोरासमेत भई मलाई हेला गर्ने, खान लाउन नदिने, कुटपीट गर्ने जस्ता कार्य गरी परिवार नियोजनसमेत गरी सकेका हाम्रो छोरा/बाबुसँग बस्ने तेरो कुनै हक छैन भनी सासु तथा सौताको छोराले भनी मलाई घरमा बस्न नदिएकाले हाल माइतीको शरणमा बसेकी छु । मलाई झुक्याई जाल प्रपञ्च रची विवाह गरी घरबाटसमेत निकाला गरेकाले विपक्षी सासु तुलसीमाया, पति गणेशभक्त श्रेष्ठ, देवर रामकुमार श्रेष्ठसमेत ३ अंशियार एकासगोलमा बसेको र विपक्षी पतिको भागमा पर्न आउने सम्पत्तिबाट पति गणेशभक्त, सौताका छोरा राजेश श्रेष्ठ र म फिरादी अंशियार भएकोले मेरो १ भाग अंश विपक्षीबाट दिलाई अंशबन्डा नभएसम्म मासिक रू.,०००।खर्चसमेत दिलाइ पति र मेरोबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेदसमेत गरी पाउँ भन्नेसमेत व्यहोराको गीता श्रेष्ठको फिरादपत्र ।

मेरी पहिलो श्रीमती गंगा श्रेष्ठको परलोकपछि आफन्तहरूको सल्लाहमा यी वादीसँग मेरो विवाह भएको हो । म प्रतिवादी गणेशभक्त श्रेष्ठ, आमा तुलसीमाया तथा भाइ रामकुमारको बीचमा मिति २०६४।१२।१३ मा र.नं. ७३५८ को अंशबन्डाको लिखतसमेत पारित गरी छुट्टि भिन्न भइसकेका छौं । छुट्टि भिन्न भइसकेकी अलग बस्नु भएकी मेरी आमासमेतले हेला गरी घरबाट निकाला गरेको भन्ने फिराद दावी झुट्ठा र कपोलकल्पित हो । म पतिले पत्नीउपर गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरेको अवस्थामा मउपर झुट्ठा लाञ्छना लगाई प्रस्तुत फिराद गरेको हो । यी वादीलाई मैले करिब १२ तोला सुन र पुराना गहनासमेत दिइरहेको अवस्थामा सो गहना हिनामिना गरी दबाउने नियतले उनाउ व्यक्तिको उक्साहटमा लागी दायर गरेको झुट्ठा र कपोलकल्पित फिराद खारेज गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी गणेशभक्त श्रेष्ठको प्रत्तिउत्तरपत्र ।   

वादीले अंश पाउनुपर्ने हो भन्नेसमेतको वादीको साक्षी र वादी प्रतिवादीको सम्बन्ध विच्छेद हुनुपर्ने होइन भन्नेसमेतको प्रतिवादीका साक्षीको बकपत्र ।

बुबा गणेशभक्त श्रेष्ठ, कान्छीआमा यी वादी गीता श्रेष्ठ र म राजेश श्रेष्ठसमेत ३ अंशियार छौं । हालसम्म हामी एकासगोलमा बसेका छौं भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका राजेशकुमार श्रेष्ठले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादी गणेशभक्त श्रेष्ठ र निजको आमा तथा भाइको बीचमा भएको मिति २०६४।१२।१३ को अंश भरपाइको सक्कल लिखत मालपोत कार्यालय, काभ्रेबाट झिकाई वादीलाई देखाई अ.बं. ७८ नं. बमोजिम बयान गर्दा उक्त कागज झुट्ठा हो । मेरो भागको सम्पत्ति मैले पाएको छैन । विपक्षीहरूले सम्पूर्ण सम्पत्ति लुकाइ छिपाइ राखेको छ सो लिखत सद्दे होइन भन्नेसमेत व्यहोराको वादी गीता श्रेष्ठले सुरू अदालतमा गरेको बयान ।

सो लिखत मालपोत कार्यालय जस्तो सरकारी मान्यताप्राप्त निकायबाट पारित भएको अंशबन्डाको लिखत कागज सद्दे हो भन्नेसमेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर बयान ।

            सुरूबाट तायदाती फाँटवारी झिकाउने आदेश भई वादी प्रतिवादीबाट तायदाती फाँटवारी पेस भई मिसिल संलग्न रहेको देखिन्छ । 

तुलसीमाया श्रेष्ठ र रामकुमार श्रेष्ठका नाममा दर्ता रहेको जग्गाबाट वादीले अंश पाउने अवस्था देखिँदैन । प्रतिवादी गणेशभक्त श्रेष्ठको नाउँमा रहेको कि.नं. ९२२ को घर जग्गाबाट वादीले अंश पाउने देखिँदा ऋणको हकमा साहुको उजुर परेको बखत ठहरेबमोजिम हुने गरी वादी दावीबमोजिम ३ भागको १ भाग अंश वादीले प्रतिवादीबाट भराइ वादी प्रतिवादीबीचको लोग्ने स्वास्नीको नाता सम्बन्ध विच्छेद हुने ठहर्छ भन्नेसमेत व्यहोराको काभ्रेपलान्चोक जिल्ला अदालतको मिति २०६७।१२।१४ को फैसला ।

विपक्षी पति, देवर र सासु तुलसीमायाका बीचमा भएको मिति २०६४।१२।१३ र.नं.७३५८ को अंशबन्डाको लिखतमा सासु तुलसीमाया श्रेष्ठको नाउँको का..जि., सुब्बागाउँ वडा नं.() कि.नं.६८३ को क्षेत्रफल २१ को जग्गा नदेखाएको र अंशबन्डाको ३५ नं. अनुसार अबन्डामा गोश्वारामा समेत नराखिएको भए तापनि बन्डा गर्नुपर्ने पैतृक सम्पत्ति नै हो । उक्त कि.नं.को जग्गा अबन्डा गोश्वारामा रहेको सम्पत्ति हुँदा उक्त अबन्डामा रहेको सम्पत्तिसमेतबाट बन्डा छुट्याई दिनुपर्नेमा सासु तुलसीमाया श्रेष्ठको नाउँको सम्पत्तिबाट अंश नपाउने भन्दै विपक्षी पति गणेशभक्त श्रेष्ठको नाउँको कि.नं.९२२ को घर जग्गाबाट मात्रै अंश पाउने ठहर गरी भएको काभ्रेपलान्चोक जिल्ला अदालतको मिति २०६७।१२।१४ को फैसला कि.नं.६८३ को जग्गा बन्डा नगरेको हदसम्म त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी कि.नं.६८३ को जग्गाबाट समेत अंश पाउँ भन्नेसमेत व्यहोराको वादी गीता श्रेष्ठको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।

विपक्षी वादीलाई म प्रतिवादीले इज्जत आमद अनुसार खान लाउन, माया ममता दिइराखेको छु । इज्जत आमद अनुसार खान लाउन दिइराखेको अवस्थामा विपक्षीले अंश पाउने र सम्बन्ध विच्छेद हुने होइन । लोग्ने र सासु ससुरासमेतले खान लाउन नदिई घरबाट निकाला गरेको भन्ने भनाइ निराधार छ । यस्तो अवस्थामा विपक्षी वादीले का..जि, इन्द्रेश्वर गा.वि..वडा नं.४ कि.नं.९२२ को जग्गा र सोमा बनेको घरबाट ३ भागको १ भाग अंश पाउने ठहर गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी प्रतिउत्तर जिकिरबमोजिम गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी गणेशभक्त श्रेष्ठसमेतको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।

यसमा दुबै पक्षको पुनरावेदन परेको हुँदा एक पक्षको पुनरावेदन अर्को पक्षलाई एक आपसमा जानकारी गराई नियमबमोजिम पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६८।११।११ को आदेश ।

अतः विवादको कि.नं.६८३ को जग्गासमेतबाट उक्त जग्गा ३ भाग लगाई ३ खण्डको १ खण्ड पतिको भागबाट ३ भागमा १ भाग वादीलाई अंश छुट्याई दिनुपर्नेमा सोतर्फ ठहर नभएको सुरू काभ्रेपलान्चोक जिल्ला अदालतको मिति २०६७।१२।१४ को फैसला नमिलेको हुँदा सो फैसला केही उल्टी भई उक्त जग्गाको मूल अंशियारको ३ भागमा १ भाग वादीको पतिको अंश छुट्याई यी पुनरावेदक वादीले ३ भागमा १ भाग अंश छुट्याई लिन पाउने ठहर्छ । अंश दिनु नपर्ने भन्ने प्रतिवादी गणेशभक्त श्रेष्ठको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६९।१।७ को फैसला ।

विपक्षी वादीले मसमेतउपर जालसाजी मुद्दासमेत दायर गरेकीमा रीतपूर्वकको बन्डापत्र भएकाले जालसाजी नठहर्ने गरी काभ्रेपलान्चोक जिल्ला अदालतबाट फैसला भएको तथा वादीले अंश पाउनुपर्ने दावी गरेको कि.नं.६८३ को जग्गामा वादीले बन्डा नपाउने गरी फैसला भएकोमा पुनरावेदन अदालत, पाटनबाट उक्त बन्डापत्रविपरीत कि.नं.६८३ को जग्गा बन्डा लाग्ने गरी उक्त जग्गावाला तुलसीमाया श्रेष्ठलाईसमेत नबुझी गरेको फैसला त्रुटिपूर्ण छ । वादीलाई घरबाट निकाला गर्ने जस्ता कार्यसमेत नगरेको हुँदा अंशबन्डाको १० नं. समेत विपरीत भएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण भएकोले फैसला उल्टी गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदनपत्र ।

वादीकी सासु तुलसीमायालाई बुझ्दै नबुझी निजको नाउँमा दर्ता रहेको कि.नं.६८३ को जग्गासमेत बन्डा हुनुपर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७०।१०।२३ को आदेश ।

नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‍  अधिवक्ता श्री मोतिराज गौतमले मिति २०६४।१२।१३ को बन्डापत्रमा उल्लेख नभएको तुलसीमाया श्रेष्ठको नाउँको कि.नं.६८३ को जग्गा वादीलाई बन्डा गरी दिनुपर्ने होइन । वादीले उक्त बन्डा गरेउपर जालसाजी मुद्दासमेत दिएकोमा जालसाजी नठहर्ने गरी जिल्ला अदालतबाट फैसलासमेत भएको छ । यसरी जालसाजी पनि ठहर नभएको, बन्डापत्रमा अबन्डा पनि नजनिएको जग्गालाई उक्त जग्गावाला तुलसीमाया श्रेष्ठलाई समेत नबुझी वादीलाई बन्डा लाग्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण छ भनी तथा प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान्‍  अधिवक्ता श्री ओमकाजी प्रजापतीले तुलसीमायाको नाउँमा रहेको जग्गा पैतृक भएको तथा निजलाई सुरू जिल्ला अदालतबाट म्यादसमेत जारी गरी वादीले कि.नं.६८३ नं. को जग्गासमेतबाट बन्डा पाउने गरी भएको फैसला मिलेकै हुँदा सदर गरी पाउँ भनी गर्नुभएको बहससमेत सुनी मिसिल कागजात अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

. यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी गणेशभक्त श्रेष्ठले पहिलो श्रीमतीको मृत्युपश्चात् दोस्रो श्रीमतीको रूपमा आफूलाई विवाह गरी ल्याएको भए तापनि विपक्षी पति, सासु, सौताका छोरासमेत भई मलाई कुटपीट गर्ने, खान लाउनसमेत बेवास्ता गर्ने गरी घरबाट निकाला गरेकाले मासिक खर्चसमेत भराइ अंश दिलाइ सम्बन्ध विच्छेदसमेत गराई पाउँ भन्ने वादीको दावी रहेकोमा प्रतिवादीले वादीलाई अंश दिनुपर्ने होइन, सम्बन्ध विच्छेदसमेत हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर पेस गरेको पाइयो । मिति २०६४।१२।१३ को बन्डापत्रबाट प्रतिवादी गणेशभक्त श्रेष्ठको नाउँमा रहेको कि.नं.९२२ को घर जग्गाबाट वादीले ३ खण्डको १ खण्ड अंश पाउने गरी फैसला भएकोमा दुबै पक्षको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेको देखिन्छ । वादीको सासु तुलसीमाया श्रेष्ठको नाउँमा रही बन्डा नगरी राखेको कि.नं.६८३ को जग्गाबाटसमेत ३ भाग लगाई ३ भागको १ भागलाई पुनः ३ भाग लगाई सोको १ भाग वादीले समेत पाउने गरी पुनरावेदन अदालत, पाटनबाट फैसला भएको अवस्था देखिएको र जग्गा दर्ता तुलसीमाया श्रेष्ठको नाउँमा रहेकोमा निजलाई नबुझी पुनरावेदन अदालतबाट फैसला भएको भन्ने सन्दर्भमा हेर्दा काभ्रेपलान्चोक जिल्ला अदालतबाट जारी भएको तुलसीमाया श्रेष्ठको नाउँको ७ दिने म्याद मिति २०६६।११।१३ गते तामेल भएको तथ्य प्रमाणमा रहेको सुरू जिल्ला अदालतको सम्बन्ध विच्छेद अंश मुद्दाको मिसिलबाट देखिएको र निजले म्याद गुजारी बसेको अवस्था देखिएको हुँदा पुनरावेदन अदालतबाट छुट्टै बुझी फैसला गर्नुपर्ने भन्ने अर्थ गर्न नमिल्ने हुँदा तुलसीमाया श्रेष्ठलाई बुझ्दै नबुझी निजको नाउँमा दर्ता रहेको कि.नं.६८३ को जग्गासमेत बन्डा हुनुपर्ने गरी भएको फैसला फरक पर्न सक्ने भन्ने यस अदालतको मिति २०७०।१०।२३ को आदेशसँग सहमत हुन सकिएन ।   

. त्यस्तै गरी कि.नं.६८३ को जग्गासमेतबाट वादीले बन्डा पाउने नपाउने भन्ने सम्बन्धमा हेर्दा सर्वप्रथम वादी अंशियार हो होइन भन्नेतर्फ हेर्नुपर्ने हुन आउँछ जसमा यी वादी प्रतिवादीहरू सगोलका अंशियार रहे भएको कुरामा विवाद भएको अवस्था नदेखिएको हुँदा वादी सगोलको अंशियार रहेको कुरामा कुनै विवाद देखिएन । सगोलको अंशियार रहेको व्यक्तिले सगोलको सम्पत्तिबाट अंश प्राप्त गर्ने नैसर्गिक हक रहेको हुन्छ र त्यस्ता अंशियारहरू बीच अंशबन्डा गर्दा विभेद गर्न नहुने कुरा मुलुकी ऐन, अंशबन्डाको १ नं.को कानूनी व्यवस्थाले निर्धारण गरेको पाइन्छ जस अनुसार अंशबन्डा गर्दा यस महलका अन्य नम्बरको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीको जीयजीयैको अंश गर्नुपर्छ भनी गरेको व्यवस्थालाई प्रस्तुत मुद्दाको सन्दर्भमा राखी न्यायको रोहबाट हेर्नु वाञ्छनीय हुन्छ ।

. अंश प्राप्त गर्नेले कानूनले निर्धारण गरेबमोजिम अंश पाएको हुनुपर्छ । सगोलको सम्पत्ति हस्तान्तरण गर्ने वा घटी बढी गर्ने गरी खडाभएको लिखतमा सम्बन्धित अंशियारको समेत मन्जुरी भएको अवस्थामा मात्र त्यस्ता लिखत निजको विरूद्धमा लागू हुनसक्ने हुन्छ । अंशियारको मन्जुरीबिना खडा गरिएको लिखतमा विवाद परे त्यसको औचित्यभित्र प्रवेश गरी हेर्नु नै न्यायसम्मत मान्नुपर्छ । प्रतिवादी गणेशभक्त श्रेष्ठसँग यी वादीको विवाह २०६२ सालमा भएको भन्ने मिसिलबाट देखिएको र प्रतिवादीहरूबीच मिति २०६४।१२।१३ मा अंशबन्डाको लिखत भएको देखिन्छ । २०६२ सालमा सगोलको अंशियारको हैसियतप्राप्त गरिसकेकी यी वादीको संलग्नता उक्त बन्डापत्रको लिखतमा भएको पाइँदैन । बन्डापत्रको प्रतिलिपि हेर्दा  कि.नं.६८३ को जग्गाबाहेकको घर जग्गाबाट मात्र यी वादीका पतिले बन्डा लिए पाएको अवस्था देखिन्छ । सगोलकै अंशियार रहेकी प्रतिवादी गणेशभक्त श्रेष्ठकी आमा तुलसीमायाको नाउँमा रहेको कि.नं.६८३ को जग्गालाई उक्त बन्डापत्रमा उल्लेख नै नगरी निजै तुलसीमायाको नाममा छाडेको अवस्था देखिन्छ । उक्त कि.नं.६८३ को जग्गा तुलसीमायाको निजी आर्जनको हो भन्ने अथवा बन्डा लाग्नु नपर्ने जग्गा हो भनी पुनरावेदक पक्षले प्रमाण देखाउनसमेत सकेको छैन । यसरी तुलसीमायाको नाउँमा रहेको उक्त कि.नं. ६८३ को जग्गा सगोलकै सम्पत्ति हो भन्ने देखिइरहेको प्रस्तुत अवस्थामा यी वादीलाई उक्त सम्पत्तिबाट अंश पाउन बाहेक गर्ने अवस्था सिर्जना गरी उक्त बन्डापत्र खडाभएको देखिएको हुँदा बन्डापत्रमा उल्लेख नगर्दैमा सगोलको सम्पत्तिमा कुनै अंशियारको अंश नै नलाग्ने भनी मान्न मिल्ने अवस्था नहुँदा वादी प्रतिवादीबीच सम्बन्ध विच्छेद हुने तथा उक्त कि.नं. ६८३ को जग्गासमेतबाट वादीले बन्डा पाउने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६९।१।७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज..रा.

 

इति संवत् २०७१ साल जेठ ३० गते रोज ६ शुभम् ।

इजलास अधिकृत : सुमनकुमार न्यौपाने