April 29, 1982
Created by nepalarchives

निर्णय नं. १५२८ – कुलोपानी

निर्णय नं. १५२८     ने.का.प. २०३९ अङ्क १   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३६ सालको देवानी...

निर्णय नं. १५२८     ने.का.प. २०३९ अङ्क १

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३६ सालको देवानी विविध नं. ६८

फैसला भएको मिति  : ०३९।१।२६।१

निवेदिका : जि.प्यूठान वागेसाल गा.पं.वडा न.७ बस्ने एकबहादुर मास्के समेत

विरुद्ध

विपक्षी : ऐ.ऐ.वडा नं.८ बागेसाल गाउँ बस्ने पुनाराम धामी समेत

मुद्दा : कूलो पानी

(१)                कूलाको डोड बनाउँदा यति रुपैयाँ लाग्ने र कूलो समेत तयार गर्दा यति रुपैयाँ लागेको हो भनी त्यसको तथ्य सबूत वादीतर्फबाट पेश हुनसकेको नदेखिँदा सो बिगो वादीलाई प्र.हरुबाट भराई दिने ठहराएको प्यूठान जिल्ला अदालतको इन्साफ र विवादको कूलोबाट वादीहरुलाई पानी लान नपाउने गरी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ गल्ति ठहर्छ ।

(प्रकरण नं. ११)

फैसला

न्या.बासुदेव शर्मा

१.     सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ जाँच गरी पाउँ भन्ने समेत व्यहोराको वादीहरुको निवेदनमा बक्स भई आएका हुकुम प्रमांगी अनुसार इन्साफ जाँच निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ :

२.    हामीहरुको बागेसाल मौजाको मसुरे रत्ने भन्ने जग्गामा पाखो मात्र भई सो पाखोलाई हिउँदे खेती र गाउँका मानिसहरु चौपायालाई भालुवाङ कोईलाबास समेतमा आवत जावत गर्ने मूल बाटो हिंड्ने मानिस समेतलाई खानेपानीको निमित्त १९९० सालदेखि बागेसाल दरवान खोलाबाट कूलो खनी किसमान सिंह समेत मिली २, ३ बर्ष सम्म कूलो खनी छाडी त्यसपछि ०१२ सालमा मानबहादुर समेतले खनी पहराहरुमा डोडे बनाउन छाडेपछि ०२७ सालमा हामी समेतले कोश भरको कूलो खनी ११९ गज लम्बा ९ ठाउँमा अग्राखको डोड थान १९ बनाई जडान गरी पानी चलन गरी आएका थियौं । ०३० सालमा सो कूलो बिग्रन गई जि.पं.बाट औजार लिई कूलो तयार गरी आएकोमा, सो डोड १९ काटी बेकम्बा पारी बाँध र अन्यत्र भत्काई खिचलो गरेकोले बाँध पैनी कूलो खनी भत्काई पानी ल्याउन नदिएमा कानून बमोजिम सजाय भई सो कूलो डोड तयार गरी दिए सो र नदिए डोड तयार गरी जडान र खने भत्किएको बनाउँदा लाग्ने खर्च रु.४०००।अन्यायवालाहरुलाई दामासाहीले भराई कूलो साविक चर्चि आए बमोजिम हामीहरुकै सदर कायम राखी पाउँ भन्ने समेत एकबहादुर मास्के समेत जना ८ आठको मिति ०३२।४।२२ को फिरादपत्र ।

३.    मसुरे रत्ने खोरिना पाखो भन्ने जग्गामा वा अन्यन्त्र आफ्नो जग्गा वा धर्म खातिर पिउने पानीका निमित्त समेत यो उद्देश्यले कूलो खनेका हुन अतः अघिका दर्ता आवादी खेतहरु समेत छन् । त्यसैलाई खने लगेको साविक कूलो पानीको हो भनी तथ्यका साथ खुलाई लेख्न दावी गर्न नसकी फिरादीको दावी निराधार झुठ्ठो सिद्ध छ । अघिका मानिसले खनी मरमत गरी ०२७ सालमा डोड राखी पानी कूलो चलाएको भन्ने फिराद साँचो भए श्रृष्टीकाल देखि नै पानीको अभाव ०२७ सालदेखि पानी चलन बनावटी देखिन आएको र हाम्रा प्राचीन दर्ता आवादी परम्पराको कूलो पानी हाल आवादी खोरिया भन्ने खर्कले दशै कूलालाई सुख्खा पारी शिरै काटी लाने उम्मेदबाट मुद्दा मामिला चलाई हामीलाई बिगो कसी हाल आवादी तुल्याई कब्जा गर्ने मुराद गरेका हुन । कूलो परी डोंड काटी नोक्सान पारी दिएकोसमेत होइनौं भन्नेसमेत पुनाराम धामीसमेत जना १३ को संयुक्त प्रतिउत्तरपत्र रहेछ ।

४.    २०२३।५।२६ मा भई आएको नक्सा हेर्दा झगडा परेको कूलो न.नं.१४ को भई न.नं.७ को कूलोलाई पानी कम हुन जाने भई झगडा परी आएको देखिएकोले खोलामा पानी कम भएको सिजनमा पानीको आवश्यक पर्ने कूलाका गाउँका मानिसहरुले आलो पालो मिलाई आफ्नो आफ्नो कूलामा पानी लग्न पाउने र बिगो रु.४०००।वादीले प्रतिवादीहरुबाट भराई लिन पाउने समेत ठहर्छ भन्नेसमेत सुरु प्यूठान जिल्ला अदालतको मिति ०३४।१।२।१ को फैसला ।

५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरुको पुनरावेदन परेकोमा न.नं.७ र १४ नं.का कूलामध्ये न.नं.७ को कूलो वादीले १९९७ साल, २०१२ साल र २०२७ सालमा खनिएको भन्ने वादी लेखबाट देखाएको र ०३० सालमा मात्र जि.पं.बाट औजार लिई पानी चाहारेको भन्ने प्रष्टै देखिनुको साथै नक्सा जिरहबाट समेत प्राचीन कूलो नभई नयाँ कूलो देखिन्छ । विवादको न.नं.१४ को कूलो वादी दावी बमोजिम चलाउँदा न.नं.७ समेतका कूलाहरुलाई पानी कम हुँदै गई प्र.को जग्गालाई असर पर्न जाने देखिएकोले वादी दावी नपुग्ने हुँदा सुरुको निर्णय बदर हुने ठहर्छ भन्नेसमेत सु.प.क्षेत्रीय अदालतको मिति २०३६।२।२७।१ को फैसला ।

६.    उक्त इन्साफमा चित्त बुझेन खानेपानी सम्बन्धमा जग्गा आवाद गर्नेको १ नं.ले पनि रोक नलगाएको र सरजमिन समेतबाट हाम्रो कूलो देखिएकै छ । विपक्षीहरुलाई पानी नपुग्ने अवस्था पनि छैन । पानी कमको सिजनमा आलो पालो मिलाई लगाउन पाउने भन्ने जिल्ला अदालतबाट फैसला गरिएकै छ, साविकदेखि हामीले न.नं.१४ को कूलोबाट बाली उब्जाई खाने र बस्तेभाउलाई र बाटो हिंड्नेले खाने गरी आएको पानी नपाउने भनिएकोबाट जीवन निर्वाहको बाटो नै बन्द हुने परिस्थिति पर्न गएकोले सारै अन्यायामा परेको हुँदा प्रस्तुत मुद्दाको इन्साफ जाँच गरी निर्णय गरी दिनु भन्ने सर्वोच्च अदालतको नाउँमा हुकुम प्रमाङ्गी पाउँ भन्ने समेत वादीहरुको बिन्तीपत्रमा व्यहोरा साँचो भए सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ०३६।२।२७ गते छिनिएको कूलो पानी मुद्दाको मिसिल झिकाई त्यस अदालतबाट इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु भन्ने समेत श्री ५ महाराजाधिराजबाट सर्वोच्च अदालतका नाउँमा हुकुम प्रमाङ्गी बक्स भई आएको निवेदनपत्र डिभिजनबेञ्च समक्ष पेश हुँदा बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम गर्न विविधको लगतमा दर्ता गरी मिसिल झिकाई नियम बमोजिम गर्नु भन्ने समेत भएका आदेशानुसार विविध लगतमा दर्ता भएकोमा न.नं.१४ को कूलोबाट वादीहरुले पानी लैजान पाउने देखिनाले  अ.बं.२०२ नं.बमोजिम प्र.हरुलाई छलफलमा झिकाई पेश हुन आएको रहेछ ।

७.    तारेखमा रहेका निवेदक वादी एकबहादुर मास्के समेतको वारेस शन्तबहादुर थापा मगरलाई र प्रतिवादीहरुको वारेस मकरमान श्रेष्ठ रोहवरमा रही निवेदक वादी तर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको र विपक्षी प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीको बहस समेत सुनियो ।

८.    प्रस्तुत मुद्दामा सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मनासिव या गल्ति के हो निर्णय दिनु परेको छ ।

९.    यसमा सुरु मिसिल संलग्न मिति ०३३।५।२६ को नक्सा हेर्दा न.नं.११ को दरभान खोलाबाट कतिपय गाउँ गाउँ तर्फ कूलोहरु लगी रहेको देखिएको त्यसको अतिरिक्त यी वादीले दावी गरेको न.नं.१४ को कूलोबाट न.नं.२१ को रत्ने खोरिया र न.नं.२२ को मसुरे गाउँ समेतमा लगेको र प्रतिवादीका घर गाउँतर्फ न.नं.२ देखि न.नं.९ सम्मका कूलोहरुबाट सोही दरभान खोलाको पानी लाने गरेको समेत देखिएको र न.नं.१४ को कूलामा पानी ल्याउँदा न.नं.७ को कूलालाई पानी कम हुनजाने भनी प्रस्तुत कूलोपानी सम्बन्धमा झगडा श्रृष्टि भएको देखियो ।

१०.    यसरी साविकदेखि प्रत्येक गाउँ गाउँमा उक्त दरभान खोलाबाट कूलो खनी लाने गरेको देखिन आएकोले सो दरभान खोलामा पानी कम भएको सिजनमा सबै ग्रामिण जनता मिली आलो पालो गरी आफ्ना आफ्ना कूलाहरुबाट भाग शान्ती पानी लगी सबै जनताले उपभोग गर्न पाउनु पर्ने नै देखिन्छ। तसर्थ सुरु प्यूठान जिल्ला अदालतबाट गाउँका मानिसहरुले सो खोलामा पानी कम भएका सिजनमा आलो पालो मिलाई आफ्नो आफ्नो कूलामा पानी लग्न पाउने ठहराएको सम्म इन्साफ मनासिव ठहर्छ।

११.    कूलाको डोड तोडी कूलो भत्काई दिएकोले प्र.हरुबाट बिगो रु.४०००।भराई पाउँ भन्ने वादी दावीको हकमा उक्त कूलाको डोड बनाउँदा यति रुपैयाँ लाग्ने र कूलो समेत तयार गर्दा यति रुपैयाँ लागेको हो भनी त्यसको तथ्य सबूत वादी तर्फबाट पेश हुन सकेको नदेखिँदा सो बिगो रु.४०००। वादीलाई प्र.हरुबाट भराई दिने ठहराएको प्यूठान जिल्ला अदालतको इन्साफ र विवादको कूलाबाट वादीहरुलाई पानी लान नपाउने गरी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ गल्ती ठहर्छ । तपसील बमोजिम गर्नु ।

तपसील

सदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट वादीहरुले फिराद गर्दा राखेको कोर्ट फि रु.१९।४५ प्र.हरुबाट भरी भराउ गर्न नपर्ने गरेको र पुनरावेदन गर्दा प्र.हरुबाट रहेको कोर्टफि रु.२८।५० वादीहरुबाट भराइ दिने ठहर गरी लगत कसेको सो क्षेत्रीय अदालतका ०३६।२।२७।१ का फैसला बमोजिमको लगत कायम राख्न पर्दैन व्यहोरा जनाई सो लगत कट्टा गरी दिनु भनी प्यूठान जिल्ला अदालतलाई लेखी पठाउन का.जि.अ.मा लगत दिनु…………………………..१

देहायका प्र.हरुबाट क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा ०२४।२।१७।२ मा धरौट राखेको कोर्टफि रु.१९०।मध्ये रु.१९।९५ वादीहरु एकबहादुर, निमबहादुर, शालीग्राम, रुद्रबीर कामी, संतुपन मगर, रिमबहादुर, लालकुमार श्रेष्ठ र रामबहादुर बराल मगरहरुलाई बराबरका दरले केही दस्तुर नलि भराई दिई अरु बाँकी रहन आएको १७०।५५ एकसय सत्तरी रुपैयाँ पचपन्न पैसा देहायका प्र.हरुले फिर्ता माग्न आए त्यसको पनि दस्तुर केही नलिई फिर्ता समेत गरी दिनु भनी ऐ.ऐे…………………२

पुनराम धामी, लोकबहादुर धामी, जगनाथ आचार्य, दुर्गाप्रसाद पौडेल, दिलबहादुर धामी, शोभाराम पाध्याय, शुक्त देव पौडेल, टोपा राम पाध्याय, सुरु प्यूठान जिल्ला अदालतका ०३४।१।१२ का फैसलाले प्र.हरुबाट वादीहरुलाई भराई दिने गरेको कोर्टफि र बिगो समेत गरी जम्मा रु.४१९९। को लगत कायम राख्न पर्दैन व्यहोरा जनाई सो लगत समेत कट्टा गर्नु भनी ऐ.ऐ…….३

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०३९ साल बैशाख २६ गते रोज १ शुभम् । 