February 20, 1995
Created by nepalarchives

निर्णय नं. ५०२५ – अंश

निर्णय नं. ५०२५      २०५१, ने.का.प.        अङ्क १२   संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्बत् २०४९...

निर्णय नं. ५०२५      २०५१, ने.का.प.        अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा

सम्बत् २०४९ सालको दे.पु.नं. ५२३

फैसला मिति : २०५१।११।८।२

मुद्दा : अंश ।

 

पुनरावेदक/प्रतिवादी : जि. तनहुँ दोर फिदि गा.वि.स. वडा नं. ७ बस्ने दाण्डर बस्ने कुमारी  रोकाहा

विरुद्ध

विपक्षी/वादी : ऐ ऐ घर भई हाल दुलेगौडा गा.वि.स. वडा नं. ८ दुले गौडा बजार डेरा गरी बस्ने इन्द्र बहादुर रोकाहा क्षेत्री ।

 

§  आफैले बण्डा लाग्ने सम्पत्ति भनी तायदातीमा उल्लेख गरी सकेपछि अव सो विवादको जग्गा पेवाबाट खरीद गरेको बण्डा नलाग्ने भन्नु न्यायसंगत मान्न नमिल्ने ।

(प्र. नं. १७)

§  लिखतमा पेवा भन्ने उल्लेख भएको आधार प्रमाणबाट मात्र सो सम्पत्ति प्रतिवादीको एकलौटी भन्न सकिने अवस्था नआउने ।

(प्र. नं. १७)

पुनरावेदिका तर्फबाट : विद्वान अधिबक्ता श्री रेवन्त बहादुर कुँवर

विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री गणेश प्रसाद खरेल

अवलम्बित नजीर : x

 

फैसला

          न्या. केशव प्रसाद उपाध्याय : पुनरावेदन अदालत पोखराको फैसला उपर दायर हुन आएको पुनरावेदन पत्र न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) को खण्ड (ग) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

          २. विपक्षी मध्येको मेरी श्रीमती बेल कुमारी मेरा विवाहिता धर्मपत्नी हुन । बेलकुमारी र म समेतका ३ छोरा मध्ये जेठा छोरा लाल बहादुर, माहिला छोरा क्षेत्र बहादुर र कान्छा शिव बहादुर नावालक ३ छोरी समेत ६ जना छन् । घरको लेनदेन ब्यवहार विपक्षी मध्येकी बेल कुमारीले गर्दै आएकी र घरको मुख्य भै लेनदेन व्यवहार गर्ने विपक्षी मध्ये की मेरी श्रीमती तथा छोरा समेत ६ जनावाट चल अचल सम्पत्तिको फाँटवारी लिई ५ अंश मध्येको एक अंश दिलाई पाउँ भन्ने समेत फिराद दावी ।

          ३. विपक्षी स्वामीज्यूको पुर्खौली सम्पत्ति म जिम्मा छैन । स्वामी जिम्मा नै छ । स्वास्नी छोराहरुसंग विपक्षी स्वामीले अंशमा दावी गर्न पाउने प्रचलित कानूनी ब्यवस्था नहुँदा वादी लेख गैह्र कानूनी भएकोले खारेज गरी पाउँ र विपक्षीले मलाई बीरता नगरी ठेक्काको काम गरी घरको पुर्खौली सम्पत्ति जग्गाजमिन को आयस्ता समेत लगी दुले गौंडामा बस्नु भएको छ । वादी लेख अनुसार मैले कुनै कार्य गरेको छैन । केबल लेखको सिलसिलामा सम्पत्तिको धनी मलाई बनाई विपक्षी स्वामीले घरको चल अचल सम्पत्तिको आयस्ता मोजमज्जा गरी म श्रीमती छोराछोरीलाई अवहेलना गरी स्वास्नी छोरासँग अंशमा दावी गर्न पाउने होइन भन्ने समेत प्रतिउत्तर जिकिर ।

          ४. वादी प्रतिवादीहरुको साक्षीको बकपत्र भई मिसिल सामेल रहेछ ।

          ५. प्रतिवादी बेल कुमारीले आमा बाबुबाट पाएको बकसपत्र मध्ये भनिएको ४ कित्ता जग्गाहरु चन्द्र कुमारी समेतको सामुहिक स्वामित्वमा रहेको देखिँदा सो ४ कित्ता जग्गा बाहेकका जग्गाहरुमा विवाह नभएका छोरीको विवाह खर्च पर सारी वाँकी सम्पत्तिमा ५ भाग लगाई फिरादीले १ भाग अंश लिन ठहर्छ भन्ने समेत शुरु तनहुँ जिल्ला अदालतको फैसला ।

          ६. मेरो निजी आर्जनको सम्पत्ति बण्डा गर्नु नपर्नेमा बण्डा गर्नुपर्ने ठहर्‍याएको उक्त इन्साफमा चित्त बुझेन । सो फैसला उल्टाई पाउँ भन्ने समेत ब्यहोराको प्रतिवादी बेल कुमारीको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।

          ७. दावी प्रतिवादीहरुबाट ५ भागको १ भाग अंश पाउने ठहर्‍याई गरेको शुरु तनहुँ जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको मिति २०४६।५।९ को फैसला ।

          ८. सर्भे कि.नं. १८०, १८२, १८४ र ४१ को आधी जग्गा चन्द्र कुमारीको बाहेक आधीमा ५ भागको १ अंश मैले नपाउने गरी भउको हदसम्मको तनहुँ जिल्ला अदालतको फैसलामा चित्त बुझेन उक्त जग्गा समेतको मैले ५ अंशको १ अंश पाउने गराई पाउँ भनी गण्डकी अञ्चल अदालतमा परेको इन्द्र बहादुर रोकाहा क्षेत्रीको पुनरावेदन पत्र ।

          ९. प्रतिवादीले बण्डा हुने भनी देखाएको २०४५।६।२० को तायदातीमा उल्लेख भएको सम्पत्ति बण्डा नहुने गरी गरेको हदसम्म तनहुँ जिल्ला अदालतको फैसला गल्ती देखिएकोले सो फैसला उल्टी भनै पुनरावेदक वादीले सो जग्गामा ५ खण्डको १ खण्ड अंश पाउने ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको मिति २०४६।१०।१६ को फैसला ।

          १०. म बेल कुमारीले माइतीबाट बकस पाएको जग्गा समेत बण्डा हुने ठहर्‍याएको गण्डकी अञ्चल अदालतको फैसलामा चित्त बुझेन, सो फैसला बदर गरीशुरु जिल्ला अदालतको फैसला नै सदर कायम राखी पाउँ भन्ने समेत ब्यहोराको प्रतिवादी वेल कुमारीको साविक पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

    ११. यी वादी प्रतिवादीको तनहुँ जिल्ला अदालतमा एउटै अंशमुद्दा परी भएको फैसला उपर गण्डकी अञ्चल अदालतमा वादी र प्रतिवादी दुवै थरीको दोहोरो पुनरावेदन परी आएकोमा प्रतिवादीको पुनरावेदन परी आए तर्फ ०४६।५।९ मा र वादीको पुनरावेदन परी आए तर्फ २०४६।१०।१६।२ गं.अ.अ. ले फैसला गरेको देखियो । एउटा मुद्दामा दोहोरोपुनरावेदन परी आए पनि एकै पटक ठहरे बमोजिम फैसला गर्नुपर्नेमा प्रचलित ऐनको प्रक्रिया भइरहेकोमा अ.वं. १९२ नं. बमोजिम पटक पटक फैसला गर्न सकिने प्रकृतिको प्रस्तुत मुद्दा नभई एकै पटक फैसला गर्न पर्नेमा ऐनको प्रतिकूल पटक पटक गरेको ग.अं.अ. को फैसला वेरीतको भउकोले यस्तो बेरीतको फैसलालाई सदर मान्न नमिल्ला सो दुवै मितिको फैसला बदर गरी दिएको छु । अतएव यसै मुद्दाबाट ठहरे बमोजिम ऐन अनुरुप एकै पटक फैसला गरी दिनु भनी रोहबरमा रहेका पक्षलाई तारेख तोकी मिसिल ग.अं.अ. पठाई दिने ठहर्छ भन्ने साविक अश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४८।३।१२ को फैसला । कि.नं. १८०, १८२, १८४ र ४१ नं. का जग्गाहरु स्त्री अंशधनको परिधि भित्रको नदेखिएको र स्वयम प्रतिवादीले बण्डा लाग्ने भनी तायदातीमा उल्लेख गरेको देखिनाले तायदातीमा लेखिएको निज प्रतिवादी बेल कुमारीको हक जतिका भागमा पनि वादीले कानुबमोजिम ५ खण्डको १ खण्ड अंश पाउनु पर्नेमा सो बमोजिम नदिलाएको तनहुँ जिल्ला अदालतको निर्णय त्रुटिपूर्ण हुँदा सो हदसम्म फैसला उल्टी हुने र कि.नं. ९७ र ७५ को जग्गा नीजि आर्जनको भन्ने तथ्यपूर्ण प्रमाणबाट नदेखिएकोले प्रतिवादी पुनरावेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने हुँदा कि.नं. ९७ र ७५ को हकमा शुरु जिल्ला अदालतको इन्साफ मुनासिब ठहर्छ भन्ने पुनरावेदन अदालत पोखराको फैसला ।

    १२. एउटै मुद्दामा दुई पक्षको दोहोरो पुनरावेदन परेकोमा छुट्टाछुट्टै मितिमा गरेको फैसला उपरपरेको पुनरावेदनमा पुनरावेदन तहबाट सदर ठहर गर्नु कानून तथा नजीर विपरीत छ । तसर्थ शुरु प्रतिवादी र पुनरावेदन जिकिर अनुसार निजी सम्पत्ति बण्डा गर्ने गरेको फैसला समेत बदर गरी पाउँ । विपक्षीको नाम दर्ताको सम्पत्ति बाट म समेतले अंश पाउने ठहर्‍याएको हदसम्ममा चित्त बुझेको छ भन्ने समेत प्रतिवादी बेल कुमारी रोकाहा क्षेत्रीको यस अदालतमा दिएको पुनरावेदन पत्र ।

    १३. यसमा पुनरावेदन अदालत पोखराबाट फैसला हुँदा बेल कुमारीको नाउँमा दर्ता भएको कि.नं. १८०, १८२, १८४, ४१ का जग्गाहरु ५ भागको १ भाग बण्डा गर्ने भनी ठहर गरेको देखिन आयो । उक्त कित्ताको जग्गाहरुको मिति ०२८।५।३० को राजीनामाबाट पेवा गरी खरीद भएको देखिन आएकोले अ.वं. २०२ नं. बमोजिम छलफलमा विपक्षीलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतबाट भएको आदेश ।

    १४. नियमानुसार पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनका बेल कुमारीको तर्फबाट उपस्थित विद्वान अधिबक्ता श्री रेवन्त बहादुर कुवँरले मिति २०४८।५।३० मा मेरो पक्षले पेवाबाट खरीद गरेको कि.नं. १८०, १८२, १८४ र ४१ का जग्गाहरु तायदाती देखाएपछि कानूनी व्यवस्थामा देखाएपछि स्त्री अंशधनको महलको १ र ५ नं. ले अंश लाग्दैन । २०२८ सालमा पेवाको सम्पत्ति दावी गर्नेकुरा थिएन । अदालत समक्ष आएकोले अंश लाग्ने वा नलाग्ने एकिन गर्नुपर्छ भनी गर्नु भएको बहस जिकिर सुनियो । विपक्षी वादीका तर्फबाट उपस्थित विद्वान अधिबक्ता श्री गणेश प्रसाद खरेलले प्रतिउत्तरको दफा ५ मा प्रतिवादीले २ कित्ता पेवा हो भनी उल्लेख गरेको अवस्थामा चार कित्ता जग्गा पेवा हुन सक्दैन । यसको साथै दाइजो र पेवा हो भन्ने कुरा प्रभागद्वारा पुष्टि गराउन सक्नु भएको छैन । तसर्थ पुनरावेदन जिकिर निरर्थक छ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।

    १५. उक्त वहस जिकिरलाई समेत दृष्टिगत गरी पुनरावेदन अदालत पोखराले गरेको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु परेको छ ।

    १६. यसमा २०२८।५।३०।४ को लिखतबाट कि.नं. १८०, १८२, १८४ र ४१ का जग्गाहरु मेरो पेवाको हुँदा बण्डा नलाग्नु पर्नेमा बण्डा लाग्ने गरेको पुनरावेदन अदालत पोखराले फैसला चित्त बुझेन भन्ने पुनरावेदिका प्रतिवादी बेल कुमारीको मुख्यपुनरावेदन जिकिर देखिन आएको छ । विवादका उक्त ४ कित्ता जग्गा बण्डा गर्नुपर्ने भनी प्रतिवादीले तायदाती दिँदा उल्लेख गरेको र सो ४ कित्ता जग्गामा बण्डा नलाग्ने गरी तनहुँ जिल्ला अदालतले गरेको फैसला उपर बण्डा नगर्ने गरेको मिलने भन्ने वादी र कि.नं. ९७ र ७५ का जग्गाहरु पिता भक्त बहादुरबाट प्राप्त गरेको स्त्री अंशधनको महल अनुसार निजी आर्जनको अंशबण्डा नलाग्ने हुँदा बण्डा लाग्न गरेकोमा चित्त बुझेन भनी बेल कुमारीको गण्डकी अञ्चल अदालतमा पुनरावेदन परेको पाइन्छ ।

    १७. विवादका जग्गाहरु मध्ये कि.नं. १८०, १८२, १८४ र ४१ का जग्गाहरु प्रतिवादी बेलकुमारीले तनहुँ जिल्ला अदालतमा मिति २०४५।६।२० मा पेश गरेको तायदातीमा नै बण्डा गर्नुपर्ने सम्पत्ति भनी उल्लेख गरेको पाइन्छ । उक्त कित्ता नम्बरका जग्गाहरु बेल कुमारीको एकलौटी हक नभई चन्द्र कुमारी समेतको संयुक्त दर्ताको सम्पत्ति देखिएको र बेल कुमारीले घर तर्फबाट पाएको यसतो सम्पत्तिबाट खरीद गरेको भनी उल्लेख गर्न नसकेको आफैले बण्डा लाग्ने सम्पत्ति भनी तायदातीमा उल्लेख गरी सकेपछि अव सो विवादको जग्गा पेवाबाट खरीद गरेको बण्डा नलाग्ने भन्नु न्यायसंगत मान्न मिलेन । वादी प्रतिवादीहरु एकासगोलमा रहेको अवस्थामा उक्त सम्पत्ति खरीद भएको देखिन्छ । लिखतमा पेवा भन्ने उल्लेख भएको आधार प्रमाणबाट मात्र सो सम्पत्ति प्रतिवादीको एकलौटी भन्न सकिने अवस्था आउँदैन भने बण्डा लाग्ने भनी तायदाती दिँदा नै उल्लेख गरी सकेको र घरपट्टिको यो यसबाट प्राप्त गरेको रुपियाँबाट खरीद गरेको सबूतको अभाव समेत देखिएकोले २०२८।५।३०।४ मा उल्लेख भएको सम्पत्ति तायदातीमा देखाइए अनुसार बण्डा लाग्ने गरेको इन्साफ मिलेकै देखिँदा सदर हुन्छ ।

    १८. अव कि.नं. ९७ र ७५ का जग्गाहरु अंशबण्डाको १८ नं. ले निजी आर्जनको बण्डा नलाग्नु पर्ने बण्डा लगाएको मिलने भन्ने हकमा सो जग्गाहरु राजीनामाबाट प्राप्त गरेको भन्नेमा विवाद छैन । यो यस्तो ज्ञान सीप आदिको प्रयोगबाट प्राप्त गरेको भन्ने प्रतिवादीको जिकिर भएको सम्म पनि नदेखिएकोले माइतीबाट प्राप्त गरेको दाइजो भन्ने कुराको पनि प्रमाणको अभाव देखिँदा सो कि.नं. ९७ र ७५ बाट समेत अंश पाउने ठहर्‍याएको इन्साफ मिलेको देखियो । तसर्थ पुनरावेदन अदालत पोखराको फैसला चित्त बुझेन भन्ने पुनरावेदिका प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

   

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्ण कुमार बर्मा

 

इति सम्बत २०५१ साल फागुन ८ गते रोज २ शुभम् ।