निर्णय नं. ८११६ – उत्प्रेषण परमादेश
निर्णय नं. ८११६ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गौरी...
निर्णय नं. ८११६ २०६६ साउन,अङ्क ४
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री बलराम के.सी.
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री गौरी ढकाल
मुद्दा नं. २०६४–WF–०००३
आदेश मितिः २०६५।१०।२३।
विषय :– उत्प्रेषण परमादेश ।
रिट निवेदक : रेशमबहादुर पौडेल समेत
विरुद्ध
विपक्षी : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत
§ एकै विषयमा भिन्न–भिन्न निर्णय भएको भनी औल्याएका मुद्दामा भिन्न–भिन्न विषयमा भएको निर्णयलाई लिएर एकै बिषयमा फरक–फरक निर्णय भएको भनी भन्न नमिल्ने ।
§ आफू मध्येका अन्य निवेदकहरूले दिएको निवेदनमा यस अदालतबाट निर्णय नहुँदा निवेदन नगरी उक्त निवेदनमा यस अदालतबाट रिट जारी हुने गरी आदेश भएपछि सो निवेदन दिएको देखिन्छ । तसर्थ प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा एकै विषयमा भिन्न भिन्न निर्णय भएको नभै प्रस्तुत निवेदनको विषयवस्तु फरक भएको देखिएकोले संयुक्त इजलासले नै हेर्नुपर्ने ।
(प्रकरण नं.५)
रिट निवेदक तर्फबाटः
विपक्षी तर्फबाटः
अवलम्वित नजीरः
§ संवत् २०५५ सालको रिट न. ३६८५
§ संवत् २०६० सालको रिट नं.३३५० र ३२८८
§ संवत् २०५५ सालको रिट नं. ३६०५
§ रिट नं. ०६४–WF–०००४ खुमलाल रेग्मी वि.स्वास्थ्य मन्त्रालय समेत
§ रिट नं. ०६४–WF–०००५ विष्णुप्रसाद सुवेदी वि.स्वास्थ्य मन्त्रालय समेत
सम्बद्ध कानूनः
§ लोकसेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा १२(१)
§ निजामती सेवा नियमावली, २०५० को नियम २५(२)
आदेश
१. यसमा यी निवेदन स्वयंले २०५५ सालमा आफूलाई पियन पदबाट हटाउने निर्णय विरुद्ध रिट दायर गर्दा सो निर्णय कानूनसम्मत् ठहराई कायम हुने गरी यस अदालतले शुभनाथ अधिकारी समेत विरुद्ध लोकसेवा आयोग समेत भएको २०५५ सालको रिट नं.३६८५ बाट निर्णय भएको कारण दावी गरेको पियन पदमा हक नरहेका व्यक्तिले हाल अरु व्यक्ति रिट निवेदक तिलकप्रसाद लामिछाने विरुद्ध लोकसेवा आयोग कमलपोखरी समेत भएको उत्प्रेषण मुद्दा संवत् २०६० सालको रिट नं. ३२८८ र रिट नं. ३३५० रिट निवेदक भूपाल सिँ थापा विरुद्ध जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजासमेत भएको उत्प्रेषण मुद्दाबाट बदर गराएकोले मैले पनि पियन पदमा काम गर्न पाउनुपर्छ भनी २०५९।१०।२ को निर्णय र सो निर्णयलाई कार्यान्वयन गर्न मिति २०५९।१०।५ को पत्र बदर गराउन उल्लेख गरेअनुसार यस अदालतबाट दोहोरो परी भएको निर्णयलाई सिरान थापी प्रस्तुत रिट निवेदन परेको देखिन्छ । यस अवस्थामा कानूनबमोजिम सेवाबाट हटाउने गरेको बैध भनी यस अदालतले २०५८।१२।१२।२ मा ठहराई सकेको निर्णयको आधारमा दिएको निर्णय तथा पत्राचारहरू नै पुनः यस अदालतले संवत् २०६० को उपरोक्त रिट नं. ३२८८,३३५० र ३१४१ का निर्णयहरूबाट बदर गरेको देखिन आएबाट यस अदालतका दुई डिभिजन वेञ्चबाट परस्पर विरोधी निर्णय भएको कारण प्रस्तुत रिट निवेदनको मुद्दामा निर्णय गर्न यस अदालतको उपरोक्त निर्णयमध्ये कुन निर्णयलाई आधार मानी निर्णय गर्ने भन्ने वारेमा कठिनाई यस वेञ्चसमक्ष उपस्थित हुन आयो । यसरी यस अदालतबाट एक पटक सही ठहराएको मिति २०५०।१२।१२ को संयुक्त इजलासको निर्णय अनुरूप सो निर्णय कार्यान्वयन गर्न २०५९।१०।२ को निर्णयलाई मिति २०६२।३।८।४ मा डिभिजन वेञ्चबाटै बदर भएको फैसलालाई आधार मानी निर्णय गर्ने कुरामा गम्भीर कानूनी प्रश्न उपस्थित भएकोले यस वेञ्चबाट निर्णय गर्न कठिनाई भएबाट एकै बिषयका कुरामा यस अदालतको एक डिभिजन वेञ्चबाट फैसला भई अन्तिम भैसकेपछि सोही विषयमा सो निर्णयको प्रतिकूल हुने गरी अर्को डिभिजन वेञ्चबाट फैसलासमेत कार्यान्वयन भैसकेको स्थितिमा सोही बिषयको मुद्दा कार्यान्वयन भैसकेको फैसलाको जरियाबाट उठी आएमा पछिल्लो मुद्दा हेर्ने वेञ्चले कुन फैसलालाई आधार लिनुपर्ने हो भन्ने कानूनी प्रश्नको समाधानार्थ सर्वोच्च अदालत नियमावली , २०४९ को नियम ३ (१) (ख) बमोजिम पूर्ण इजलास पेश गर्नु भन्ने संयुक्त इजलासको मिति २०६४।२।२८ को आदेशबमोजिम प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेश हुन आएको देखियो ।
२. निवेदकहरू समेत भै यस अदालतमा दायर गरेको संवत् २०५५ सालको रिट नं. ३६८५ मा विज्ञापन नं.२।०५४।५५ को जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजाको विज्ञापनअनुसारको परीक्षामा सामेल भै सो परीक्षा उत्तीर्ण गरी २०५५।२।१८ मा स्थायी नियुक्ति पाई कार्यरत् रहेको अवस्थामा लोकसेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराबाट उक्त जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजाको पियन पदको पदपूर्तिसम्बन्धी कार्य अनियमित भएको ठहर गरी जिल्ला स्वास्थ्य कार्यालयलाई लेखेको लोकसेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराको मिति २०५५।३।१५ च.नं. २३१८ को पत्र र सोसँग सम्बन्धित ठहर निर्णय र काम कारवाहीहरू बदर गरिपाऊँ भन्ने रहेकोमा यस्तो नियुक्तिलाई अनियमित ठहर गर्ने गरी अधिकारप्राप्त लोकसेवा आयोग क्षेत्रीय निर्देशकबाट निर्णय भएको फाइलबाट देखिन आएको र निवेदन जिकीर बमोजिम तल्लो तह शााखा अधिकृतबाट निर्णय भएको नदेखिएकोले प्रस्तुत रिटमा विचार गरिरहनु परेन भनी रिट खारेज भएको पाइन्छ ।
३. संवत् २०६० सालको रिट नं. ३३५० र रिट नं.३२८८ का रिट निवेदकहरू निवेदन उक्त विज्ञापन नं. २।०५४।५५ मा सफल भई परीक्षणकाल समाप्त भै सकेपछि हामीहरूको नियुक्ति २०५९।२।१८ मा स्वास्थ्य मन्त्रालय सचिव स्तरबाट बदर गर्ने निर्णय भएकोले २०५९।१०।५ बाट लागू हुने गरी तपाईको स्थायी पियन पदको नियुक्ति बदर अवकाश दिएको छ भनी जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजाले अवकाश दिएकोले उक्त अवकाश दिन निर्णय बदर गरिपाऊँँ भन्ने भएकोमा निवेदकहरूलाई परीक्षणकाल पूरा भएपछि २०५९।१०।२ को निर्णयअनुसार सेवाबाट अवकाश दिएको देखिँदा सो अवकाश दिने गरी भएको विपक्षी जिल्ला जन स्वास्थ्य कार्यालयको उक्त मिति २०५९।१०।२ को निर्णय र २०५९।१०।५ देखि लागू गरी दिएको अवकाशपत्रलगायत यस सम्बन्धमा भए गरेका निर्णय र कामकारवाही कानूनअनुरूप भएको नदेखिएको भनी बदर गरि निवेदकलाई सेवामा पुनर्वहाली गर्नु भनी परमादेशको आदेस जारी भएको देखिन्छ ।
४. यसरी संवत् २०५५ सालको रिट नं. ३६८५ मा लोकसेवा आयोग ( कार्यविधि ) ऐन, २०४८ को दफा १२(१) अनुसार पदपूर्तिसम्बन्धी कारवाहीको निरीक्षण गर्दा लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भएबमोजिम रिक्त पदपूर्ति गर्ने कार्यविधिको निर्देशिका, २०५१ को दफा ५,४२ र ४४ मा उल्लिखित प्रक्रिया पूरा नगरेको भनी तथ्यगत आधारमा पदपुर्तिसम्बन्धी कारवाही अनियमित ठहर गर्ने अधिकार भए नभएको सम्बन्धमा निर्णय भएको देखिन्छ भने, संवत् २०६० सालको रिट नं. ३३५० र ३२८८ मा निजामती सेवा नियमावली, २०५० को नियम २५(२) बमोजिम निर्धारित प्रक्रिया र शर्तको पालना नगरी नियुक्ति गरेको अवस्थामा त्यसरी नियुक्ति भएको कर्मचारीलाई हटाउन सकिने तर त्यसरी नियुक्ति भएको कर्मचारीको परीक्षणकालभित्र लेखी आएमा सोही अवधिभित्र हटाउनुपर्नेछ भनी नियुक्ति अनियमित ठहर भएको खण्डमा परीक्षणकालभित्र मात्र हटाउन सकिने अन्यथा सदर हुन जाने भन्ने ब्याख्या भएको देखिन्छ । यसरी संयुक्त इजलासले औंल्याएको एकै विषयमा भिन्न भिन्न निर्णय भएको भनी औल्याएका मुद्दामा भएको निर्णय हेर्दा ती मुद्दामा भिन्न–भिन्न विषयमा निर्णय भएको देखिन्छ । यसरी भिन्न–भिन्न बिषयमा भएको निर्णयलाई लिएर एकै बिषयमा फरक–फरक निर्णय भएको भनी संयुक्त इजलासले पूर्ण इजलासमा पठाएको आदेश मिलेको देखिएन ।
५. तर प्रस्तुत मुद्दा र उपरोक्त मुद्दाको तथ्य समान भए पनि प्रस्तुत मुद्दाका निवेदकहरू जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजाबाट मिति २०५५।२।१८ मा एक वर्षको परीक्षणकालमा रहने गरी स्थायी नियुक्ति भएकोमा सो नियुक्तिको प्रक्रिया अनियमित भएको भनी लोकसेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराबाट च.नं.२३१८ मिति २०५५।३।१५ को पत्रबाट लेखी आएकोले उक्त पत्र र सोसँग सम्बन्धित ठहर निर्णयसमेत बदर गरिपाऊँँ भनी परेको संवत् २०५५ सालको रिट नं. ३६०५ को निवेदन यस अदालतबाट मिति २०५८।१२।१२ मा खारेज भएको र यी निवेदकहरू समेत उक्त निवेदनका निवेदक भएको अवस्था मिसिलबाट देखिन्छ । उक्त निवेदन खारेज भएपछि लोकसेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको उक्त पत्रको आधारमा २०५९।१०।५ बाट लागु हुने गरी अवकाश दिएका निवेदकहरू मध्ये भूपाल सिँह थापाले यस अदालतमा संवत् २०६० सालको रिट नं. ३३५० मिति २०६०।१०।२७।३ मा र तिलकप्रसाद लामिछाने र शुभनाथ अधिकारीले संवत् २०६० सालको रिट नं. ३२८८ मिति २०६०।९।३० मा यस अदालतमा दायर गरेकोमा यस अदालतबाट मिति २०६२।३।८ मा रिट जारी हुने गरी निर्णय भएको देखिन्छ । उक्त २०६० सालका दुई वटा रिट निवेदनहरूमा रिट जारी गर्ने गरी आदेश जारी भएपश्चात् अर्थात उक्त मुद्दाको आदेशलाई समेत विचार गरी यी रिट निवेदनहरू रिट नं. ०६४–WF–०००४ निवेदक खुमलमल रेग्मी बी.स्वास्थ्य मन्त्रालय समेत भएको मुद्दा मिति २०६२।९।१३ मा रिट नं. ०६४–WF–०००३ निवेदक रेशमबहादुर पौडेल समेत वि. स्वास्थ्य मन्त्रालयसमेत भएको मुद्दा मिति २०६२।७।४ मा र रिट नं. ०६४–WF–०००५ निवेदक बिष्णुप्रसाद सुवेदी वि. स्वास्थ्य मन्त्रालय समेत भएको मुद्दा मिति २०६२।१२।१८ मा दर्ता भएको देखिन्छ । यसरी आफूमध्येका अन्य निवेदकहरूले दिएको निवेदनमा यस अदालतबाट निर्णय नहुँदा निवेदन नगरी उक्त निवेदनमा यस अदालतबाट रिट जारी हुने गरी आदेश भएपछि सो निवेदन दिएको देखिन्छ । तसर्थ प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा एकै विषयमा भिन्न–भिन्न निर्णय भएको नभै प्रस्तुत निवेदनको विषयवस्तु फरक भएको देखिएकोले संयुक्त इजलासले हेर्ने विषय भएको हुँदा प्रस्तुत मुद्दाको पूर्ण इजलासको लगत कट्टा गरी नियमानुसार संयुक्त इजलासमा पेश गर्नू ।
न्या.बलराम के.सी.
न्या.दामोदरप्रसाद शर्मा
न्या.गौरी ढकाल
इति संवत् २०६५ साल माघ २३ गते रोज शुभम्….
इजलास अधिकृतः नारायण प्रसाद पन्थी