May 25, 1971
Created by nepalarchives

निर्णय नं. ६३४ – लेनदेन

निर्णय नं. ६३४                  ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री झपट सिंह रावल न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२६ सालको देवानी...

निर्णय नं. ६३४                  ने.का.प. २०२८

फुल बेञ्च

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री झपट सिंह रावल

न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

सम्वत् २०२६ सालको देवानी फुल नम्बर ८३

फैसला भएको मिति : २०२८।२।११।३

निवेदक      : डोटी गडसीरा आलीपाटा गाउँ बस्ने नरबहादुरको मु.स.गर्ने पूर्ण सिं देउवा

विरूद्ध

विपक्षी : डोटी निरौला गाउँ बस्ने डिल्लीराज भण्डारी

मुद्दा : लेनदेन

(१)   तत्काल प्रचलित रजिष्ट्रेशनको ७ नं. : धितो लेखिएको घर जग्गा साहुले नै भोग गरी आएमानिजले ७ नं.अन्तर्गत व्याज नपाउने ।

            व्याजसमेत भराई पाउँ भन्ने दावीको हकमा यस्तो ऐनले रजिष्ट्रेशन पास गर्नुपर्ने लिखत पास नभई कपालीसरह हुन आएकोमा साहुले भोग नपाएको जतिमा मात्र ऐनबमोजिमको व्याज पाउने उपरोक्त रजिष्ट्रेशनको ७ नं.मा व्यवस्था छ, जग्गा मैले भोग गरेकै छैन भन्ने वादी, वादीले नै भोग गरेको छ भन्ने प्रतिवादी भइ भोगको सम्बन्धमा विवाद उठेकोले त्यसको निराकरणका लागि हेर्दा जग्गा आफूले भोग गरेकै छैन भन्ने कुराको साक्षी सबूद वादीले गुर्जान नसकेका र प्रतिवादी साक्षी राम सिं, कालु बोहरा २ जनाले १८ सालसम्म वादीले चलन गरेको ०१९ सालदेखि वादीले नै चलन गरी बाँझो राखेको भनी बकेकोबाट भोग लेखिएको जग्गा वादीकै चलन कब्जामा रही ०१८ सालसम्म वादीले नै भोगी आयस्ता खाएको सिद्द हुन्छ । ०१९ सालदेखि बाँझो रहेको भन्ने हकमा ०१८ सालसम्म आफ्नो भोग कब्जामा रहेको जग्गा सो पछि प्रतिवादीले भोग कब्जा छुटाई लिई आवाद नगरी बाँझो राखेको भन्ने वादीका जिकिर र सबूत नभएकोले प्रतिवादीले आवाद नगरी बाँझो राखेको भन्न नमिल्ने र वादीकै कब्जामा रहेको जग्गा बाँझो राखेमा प्रतिवादीको गल्ती नदेखिएकोले भोग धितो लेखिएको जग्गा साहुकै भोग कब्जामा रहेको छँदाछदै उक्त रजिष्ट्रेशनको ७ नं.ले व्याज पाउँछ भन्न मिल्ने देखिदैन ।

(प्रकरण नं. १३)

(२)   अदालतमा प्रवेश गरेको अवस्थालाई ध्यानमा राखी हक दावीको निर्णय दिनपर्ने ।

            भरी पाउने अंक भारु.को सटही दर कुन कायम हुने हो भन्नेतर्फ हेर्दा वादीले अदालतमा प्रवेश गरी नालिस गर्दा तत्काल प्रचलित सटही दर भा.रु.१०० को ने.रु.१६०। भई सोही दरले दावी गरेको देखिन्छ । वादीले जुन कुराको हक दावी लिई अदालतमा प्रवेश गरेको छ सोही अवस्थालाई लिएर निजको हक दावी ठीक बेठीक के हो भन्ने निर्णय गर्नुपर्ने हुन आउँछ ।

 (प्रकरण नं. १४)

निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट

विपक्षी तर्फबाट      : अधिवक्ता श्री मधुप्रसाद शर्मा

उल्लेखित मुद्दा :    

फैसला

            न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

            १.     नरबहादुरले ०१७।६।२५।३ मा मबाट घर खर्च गर्न भनी भा.रु.९००० नौं हजार लिई बन्धकी तमसुक गरी दिएको पास गरी नदिएकोले कपाली भई रूपैया माग्दा नदिएकोले भा.रु.९००० को ने.रु.१४४००। को फैसला भएको अन्तिम मितिसम्मको व्याज र सावा भराई दिलाई पाउँ भन्नेसमेत ०१९।११।१६ को डिल्लीराज भण्डारीको फिरादपत्र ।

            २.    विपक्षीबाट १७।६।२५ मा भा.रु.९००० कर्जा लिई जग्गा भोगबन्धकी लेखी दिएको हुँ, जग्गा विपक्षीकै चलन भोगमा छ, पास गरी दिन मैले तारवार गरेको छैन, भोगबन्धकी कागज पास नभए पनि भोगबन्धकी जग्गा चलन गरी खाई आएपछि सावामा समेत पक्राउ गर्न नमिल्ने भन्नेसमेत ०२०।१।२ को नरबहादुर देउवाको प्रतिउत्तरपत्र ।

            ३.    लेखन पास नभएकोले जग्गा भोग चलन गर्नु भन्न मिल्दैन, व्यक्तिलाई पत्यार गरी कर्जा लिएको भए कपाली लिखत गराए पुग्नेमा जग्गा डिक लेखाई कर्जा दिएकोले व्यक्तिलाई पत्यार गरी दिएको नभई जग्गालाई पत्यार गरी दिएको नभई जग्गालाई पत्यार गरी दिएको देखियो । रूपैयाँ तिर्न सावगासले पुगेन भन्ने प्रतिउत्तर लेखबाट अझै पनि जग्गा भोगबन्धकी पास गरी दिन मन्जुर गरेको बुझियो, यस अवस्थामा प्रतिवादीको समुचा सम्पत्तिमा दावा लिई सावाँ व्याज भराई दिन आसामीलाई मर्का पर्ने देखिएकोले लिखतमा लेखिएको जग्गाबाट साहुको साँवा थैली भा.रु.को ने.रु.१४४००। भराई दिने भन्ने ०२२।२।१४ को डोटी तथा बाजुरा जिल्ला अदालतको फैसला ।

            ४.    साहु आसामीको २३ नं.यसमा लाग्ने होइन मेरा दावीबमोजिम साँवा व्याज भरी पाउने हुँ भन्नेसमेत डिल्लीराज भण्डारीको पुनरावेदन पत्र ।

            ५.    लिखतको जग्गाबाट बिगो भराउने भन्ने जि.अ.बाट वडी लेखेकोले सो बुँदासम्म बदर गर्ने जग्गा वादीले नै भोगेको देखियो, लिखत हेर्दा जग्गा भोग गर्न नपाएमा र लिखत पास नगरी दिएमा व्याज दिनेछु भनी कुनै शर्त भएको पनि देखिएन, साविक मुलुकी ऐन साहु आसामीको ५ नं.ले व्याजको शर्त नभएकोमा व्याज पाइन्छ भन्न नमिल्ने हुँदा इन्साफ मुनासिव भन्ने ०२२।१२।३०।३ को सेती अञ्चल अदालतको फैसला ।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी दिल्लीराज भण्डारीको र प्रतिवादी नरबहादुरको छोरा पुर्ण सिं देउवाको छुट्टाछुट्टै पुनरावेदन ।

            ७.    बन्धकी जग्गा वादीले भोग गरेको छ व्याज दिन नपर्ने भन्ने प्रतिवादी भोग गरेको छैन, ब्याज पनि पाउनु पर्छ भन्ने वादी मै मुख नमिलेको हकलाई उक्त भोगबन्धकी ऐनबमोजिम रजिष्ट्रेशन पास भएको नदेखिएकोले जग्गामानै वादी साहुको हक पुगेको भन्न नहुने र त्यस्तो हक नपुग्ने जग्गा साहुलाई चलन गर्नु भन्न तथा सोही जग्गाबाट वादीको थैली भराई दिने भन्नेसमेत नहुने र सो बन्धकी जग्गा ०१८ सालसम्म वादी साहुले नै भोग चलन गरेको तथा ०१९ सालदेखि वाझो राखेको भन्ने प्रतिवादीको साक्षीको वकाई भएको सो ०१७।०१८ सालमा सो भोगबन्धकी जग्गा आफूले भोग गरेको छैन भन्ने वादीले कुनै सबूद प्रमाण पुर्‍याउन नसकेको हुँदा ०१८ साल तक भोग गरेको सालको व्याज पाउन नसक्ने र ०१९ सालदेखि यता भोग हुन नपाएको सालको कानूनबमोजिमको व्यज समेत रजिष्ट्रेशनको ६ नं.र लेनदेन व्यवहारको ६।२३ नं.समेतले सयकडा १० ले व्याज समेत साहुले पाउनु पर्ने देखिन आएकोले आधा भा.रु.९००० को हाल प्रचलित दर १३५ ले ने.रु.१२१५०। सावा हुन आउने र तमसुक मिति ०१७।१।२५ देखि १९।१।२४ तकको जग्गा भोग गरेको सालको नपाउने नै भई १९।१।२५ देखि आजका मिति तक ६ वर्ष २१ दिनको सयकडा १० का दरले हुन आउने व्याज रु.७३६०।९१ समेत सावा व्याज वादीले भरी पाउने ठहर्छ भन्नेसमेत ०२५।२।२४।२ को सर्वोच्चअदालत डिभिजन बेञ्चको फैसला ।

            ८.    विपक्षीको कब्जामा भएको जग्गाको विपक्षीको मनखुसीले बाझो राखेको हालतमा व्याज तिर्न पर्दा कानूनले दिएको सुविधा पाइन, विपक्षीको सावा मैले बन्धक दिएकै जग्गाबाट मात्रउपर हुनुपर्छ इन्साफ गलत भएकोले दोहर्‍याई पाउँ भन्ने नरबहादुरको मुद्दा सकार गर्ने पूर्ण सिं को न्यायिक समितिमा परेको निवेदनपत्र ।

            ९.    वादीले दावी गरेको लिखत व्यवहार नयाँ मुलुकी ऐन जारी हुनुभन्दा अघिको व्यवहार हुँदा सर्वोच्च अदालतले यो मुलुकी ऐन लगाएको नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० लाग्न नसक्ने हुँदा सर्व प्रथम सर्वोच्च अदालतले प्रयोग गरेको ऐननै मिलेको देखिएन, प्रयोग हुने पुरानो मुलुकी ऐन रजिष्ट्रेशनको ७ नं.मा भोग्न नपाएको जतिमा सुद भराई लिन पाउँछ भन्ने लेखिएकाले जग्गा भोग्न पाएका रहेछ रहेनछ भन्ने हेर्न आयो, त्यसतर्फ हेर्दा आसामी निवेदकले लिखत पास गरी दिन वखेडा गरेको देखिएन, साहु आसामीको २६ नं.मा भोग गरेपछि थोरै रहेछ भनी वा बिग्रे नासिएमा समेत थैलीमा टण्टा गर्न हुँदैन, भोगगर्न नपाउने केही कुराले ठहर्न गयो भने ऐनबमोजिमको व्याजसमेत लिन पाउँछ भन्ने लेखिएको प्रस्तुत केशमा त्यस किसिम भोग गर्न नपाउने केही कुराले कच्चा ठहर्न गएको भन्ने वादीको लेखाइनै नभएको ०१८ सालसम्म जग्गा भोग गरेमा सावितै भई वसेको र सर्वोच्च अदालतले सोबमोजिम वादीले भोग गरेको ठहराएको पनि देखियो, त्यसपछि वाझै रहेकोमा वादी प्रतिवादी देवै थरीको मुख मिलेको ०१८ सालमा भोग गरी त्यसपछि प्रतिवादीले भोग गर्न नदिएको नभई वादीले नै व्याज दावा गर्ने नियतले जग्गा बाँझो राखेको स्वसिद्ध हुन आएको त्यस किसिम बाँझो रहेकोमा व्याज पाउने कानूनी व्यवस्था नदेखिएको समेत प्रमाण परिबन्धबाट ०१९ सालदेखिको व्याज भराई दिने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी न्यायिक समितिबाट सिफारिश गरेको जाहेर हुँदा नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२६।५।३।३ को हुकुम प्रमांगी ।

            १०.    बक्स भई आएको हुकुम प्रमांगीबमोजिम गर्न निमित्त नियमको रीतपुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपी जाहेर गर्न श्री ५ महारजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाईदिनु भन्ने ०२६।५।४।४ को तत्कालीन माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

            ११.    यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२८।२।४।३ मा पेश भई विनेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले र वादीतर्फबाट विद्वान अधिवक्ता श्री मधुप्रसाद शर्माले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी दावीबमोजिम सावा व्याज भरी पाउने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            १२.   वादी दावीको ०१७।१।२५।२ को थैली भा.रु.९००० को भोगबन्धकी तमसुक आफूले गरिदिएको कुरा प्रतिवादीले स्वीकार गरेकै र तत्काल प्रचलित रजिष्ट्रेशनको ११ नं.बमोजिम म्यादभित्र रजिष्ट्रेशन पास नभएकोले सोही रजिष्ट्रेशनको ७ नं.बमोजिम कपाली सरह हुने कुरा निर्विवाद हुँदा परेको थैली कपाली सरह भराई लिन पाउने कुरामा अरू शंका गरी रहन परेन ।

            १३.   व्याजसमेत भराई पाउँ भन्ने दावीको हकमा यस्तो ऐनले रजिष्ट्रेशन पास गर्नुपर्ने लिखत पास नभई कपाली सरह हुन आएकोमा साहुले भोग नपाएको जतिमा मात्र ऐनबमोजिमको व्याज पाउने उपरोक्त रजिष्ट्रेशनको ७ नं.मा व्यवस्था छ, जग्गा मैले भोग गरेकै छैन भन्ने वादी, वादीले नै भोग गरेको छ भन्ने प्रतिवादी भई भोगको सम्बन्धमा विवाद उठेकोले त्यसको निराकरणका लागि हेर्दा जग्गा आफूले भोग गरेकै छैन भन्ने कुराको साक्षी सबूत वादीले गुजार्न नसकेका र प्रतिवादीका साक्षी राम सिं कालु वोहरा २ जनाले १८ सालसम्म वादीले चलन गरेको ०१९ सालदेखि वादीले नै चलन गरी बाँझो राखेको भनी बकेकोबाट भोग लेखिएको जग्गा वादीकै चलन कब्जामा रही ०१८ सालसम्म वादीले नै भोगी आयस्ता खाएको सिद्ध हुन्छ । ०१९ सालदेखि बाँझो रहेको भन्ने हकमा ०१८ सालसम्म आफ्नो भोग कब्जामा रहेको जग्गा सो पछि प्रतिवादीले भोग कब्जा छुटाई लिई आवाद नगरी बाँझो राखेको भन्ने वादीका जिकिर र सबूद नभएकोले प्रतिवादीले अवाद नगरी बाँझो राखेको भन्न नमिल्ने र वादीकै कब्जामा रहेको जग्गा बाँझो राखेकोमा प्रतिवादीको गल्ती नदेखिएकोले भोग धितो लेखिएको जग्गा साहुकै भोग कब्जामा रहेको छँदाछदै उक्त रजिष्ट्रेशनको ७ नं ले व्याज पाउँछ भन्न मिल्ने देखिदैन ।

            १४.   तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट व्याजको हक वादीको दावा पुग्न सक्तैन । भरी पाउने अंक भा.रु.को सटही दर कुन कायम हुने हो भन्नेतर्फ हेर्दा वादीले अदालतमा प्रवेश गरी नालिस गर्दा तत्काल प्रचलित सटही दर र भा.रु.१०० को ने.रु.१६०। भई सोही दरले वादीले दावी गरेको देखिन्छ । वादीले जुन कुराको हक दावी लिई अदालतमा प्रवेश गरेकोछ सोही अवस्थालाई लिएर निजको हक दावी ठीक बेठीक के हो भन्ने निर्णय गर्नुपर्ने हुन आउँछ । अतः वादीले दावी गर्दा सटही दर भा.रु.१०० को ने.रु.१६० कायम रहेको सोही दरले ने.रु.मा परिणत गरी नालिश दायर गरेको देखिएकोले सोही दरअनुसार भा.रु.९००० को ने.रु.१४४०० भरी पाउने ठहराएको इन्साफ सेती अञ्चल अदालतको मुनासिव ठहर्छ । भा.रु.१०० को ने रु.१३५ को दरले कायम गरी व्याज समेत भराउने गरेको ०२५।२।१४।२ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु ।

 

तपसिल

वादी डिल्लीराज भण्डारी के डिभिजन बेञ्चको ०२५।२।१४।२ को फैसलाले प्र.नरबहादुर मरी सकार गर्ने पूर्ण सिं देउवाबाट भराई दिने गरेको बिगो रु.१९५१०।९१ को लगत काटी दिनु भनी कानूनबमोजिम लगत दिनु…………..१

ऐ ऐ के डोटी तथा बाजुरा जिल्ला अदालतको २२।२।१४।५ को फैसलाले प्रतिवादी नरबहादुरबाट भराई दिने गरेको बिगो रु. १४४००। को लगत डिभिजन बेञ्चको २५।२।१४।२ को फैसलाले काटी दिने गरेकोमा सोअनुसार गर्नु पर्दैन, सेती अञ्चल अदालतको २२।१२।३०।३ को फैसला समेतबमोजिम प्रतिवादीको जायजातबाट भराई दिने गरी उक्त बिगोको लगत कायमै राख्नु भनी ऐ ऐ…………………..२

वादी डिल्लीराम भण्डारीले सर्वोच्च अदालतमा पुनरावेदन गर्दा दाखेल गरेको कोर्टफी ५०।६४ मध्ये रु.४६।२७ डिभिजन बेञ्चको ०२५।२।१४।२ को फैसलाले प्रतिवादी नरबहादुरको सकार गर्ने पूर्ण सिं देउवाबाट भराई दिने गरेकोमा वादीको पुनरावेदन जिकिर मुनासिव नठहरेकोले उक्त कोर्टफी जफत हुने हुँदा प्रतिवादीबाट भराउनु पर्दैन, उक्त डिभिजन बेञ्चको फैसलाले भराई दिने गरेको लगत काटी दिनु भनी ऐ ऐ………………………….३

डिभिजन बेञ्चको ०२५।२।१४।२ को फैसलाले डोटी तथा बाजुरा जि.अ.का जि.न्यायाधीश पृथ्वीदास श्रेष्ठ सेती अञ्चल अदालतका न्यायाधीश विश्वनाथको केही उल्टीको रिकर्ड राख्ने गरेको लगत काटी दिनु भनी सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु………………..४

निवेदक प्रतिवादी नरबहादुरको मुद्दा सकार गर्ने पूर्ण सिं देउवा के मुद्दा दोहर्‍याउदा राखेको कोर्टफी रु.८०।२ कोर्टफी ऐन, २०१७ को दफा १९ (३) बमोजिम वादी डिल्लीराज भण्डारीबाट भराई पाउँ भनी सोही ऐनको संशोधित दफा १५(११) बमोजिम ३ बर्षभित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी कानूनबमोजिम लगत दिनु…………………………५

ऐ ऐ के डिभिजन बेञ्चका फैसलाले निजबाट वादीलाई भराई दिने गरेको कोर्टफी भनी रु.४६।२ मुद्दा दोहर्‍याउँदा २६।९।६।१ मा सर्वोच्च अदालतमा धरौट राखेकोमा वादीलाई भराउन नपर्ने हुँदा कानूनको म्यादभित्र निज प्रतिवादीले लिन आएमा कानूनबमोजिम निजलाई नै फिर्ता दिनु भनी ऐ…………………………..६

नियमबमोजिम गरी मिसिल बुझाई दिनु……………………….७

 

न्यायाधीश श्री चन्द्रप्रसाद र

न्यायाधीश श्री झपट सिं

 

उक्त ठहरमा हामीहरूको सहमत छ ।

 

 

इति सम्वत् २०२८ साल जेष्ठ ११ गते रोज ३ शुभम् ।