निर्णय नं. ६२९ – राजकाज
निर्णय नं. ६२९ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२७ सालको फौ.फु.नं. ६९३ फैसला भएको मिति : ०२८।१।३।६...
निर्णय नं. ६२९ ने.का.प. २०२८
डिभिजन बेञ्च
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२७ सालको फौ.फु.नं. ६९३
फैसला भएको मिति : ०२८।१।३।६
प्रतिवादी : पूर्व ३ नं.ओखलढुड्डा छहरे घर भई हाल केन्द्रीय कारागारमा थुनामा रहेका केशवराज कोइराला समेत
विरूद्ध
विपक्षी : श्री ५ को सरकार
मुद्दा : राजकाज
(१) राजकाज (अपराध तथा सजाय) ऐन, २०१९ को दफा ६ (१) : कसैको वचन वा कार्यले (जस्तो झगडा वा नाराबाट) श्री ५ प्रति घृणा द्वेष उत्पन्न गरे गराएको नदेखिएमा–उक्त बचन वा कार्यले मौसुफप्रति घृणा वा द्वेष फैलाएको भन्न नहुने ।
अञ्चलाधीशज्यूले गर्नुभएको फैसलामा चित्तबुझेन भन्नेसमेतको एउटै पुनरावेदनपत्र केशवराज कोइराला, वोधप्रसाद उपाध्याय समेत ७ जनाले सर्वोच्च अदालतमा चढाएको रहेछ । पुनरावेदक बन्दीहरूलाई झिकाई रोहवरमा राखी पुनरावेदकतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विपक्षीतर्फको अतिरिक्त सरकारी विद्वान अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ हेर्दा धनुषा जिल्लाका प्रहरी अधिकृत तथा जवानहरूको प्रतिवेदन श्री ५ महाराजधिराजको ५१ औं शुभजन्मोत्सव मनाइरहेको सिलसिलामा जानकी मन्दिरको मुख्यद्वार अगाीड सभाको कार्यक्रम चलीरहेको बखत हुल जमात हात हातमा कालो झण्डासमेत लिई नाराहरू लगाई अशान्ति मच्चिए पनि कालो झण्डा लिई नारा लगाउने व्यक्तिहरूलाई हामीले पक्राउ गरेबाट शान्ति कायम हुनसकेको भन्ने र यसप्रकारको खलबली हुलदड्डा अशान्ति मच्चाई बाधा विरोध उत्पन्न गरेकोबाट श्री ५ महाराजधिराज सरकारप्रति अप्रत्यक्ष रुपले घृणा द्वेष फैलाउने प्रयाससमेत गरेको भन्ने बोली परेको रहेछ । अभियुक्तहरूको बयानमा नारा लगाएको कालो झण्डा रातो झण्डा प्लेकार्डहरू लिएर उभिएको नारा लगाएको प्रमाणित हुन्छ । जन्मोत्सवको उपलक्ष्यमा सभा भएको जनसमूहमा यी अभियुक्तहरूसमेत भेला भई झण्डा लिई नारा लगाएकोबाट राजकाज (अपराध तथा सजाय) ऐनको दफा ६ (१) ले भनेको कसूर हुने देखिदैन । त्यस्ता झण्डा वा नाराबाट घृणा द्वेष फैलाएको भन्नलाई त्यस्ता कार्यहरू कसैले गरे गराएको हुनुपर्दछ । यस्तो प्रदर्शनबाट अरु कसैले घृणा द्वेष गरेको देखिदैन । उस माथि यिनी अभियुक्तहरूले गरेको झण्डा प्रदर्शन नाराहरूमा श्री ५ प्रति हुन जाने वा हुनसक्ने घृणा द्वेषको वचन वा कार्य देखिदैन । त्यस्तो घृणा द्वेष गर्न गराउन नसक्नेमा अभियुक्तहरू उपर लगाएको आरोप प्रमाणित हुनसक्दैन । तसर्थ अभियुक्त वोधराजसमेतले अप्रत्यक्षरुपले श्री ५ महाराजधिराज सरकार प्रति घृणा द्वेष गरेको ठहर्छ भन्ने अञ्चलाधीशको फैसला बदर भई उक्त फैसलाले लाग्ने गरेको सजाय लाग्दैन ।
(प्रकरण नं. ९)
पुनरावेदक तर्फबाट : अधिवक्ता श्री गणेशराज शर्मा
विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री हेरम्बराज
१. २०२७ साल जेष्ठ ३० गते ६ का दिन राष्ट्रनायक श्री ५ महाराजाधिराज सरकारको ५१ औं शुभजन्मोत्सव मनाउन सभाको आयोजना भई कार्यक्रम चलीरहेको बखत अन्दाजी ६ बजेको समयमा केही विद्यार्थीहरूको हुल जमात नगीच पुगी विद्यार्थी विद्यार्थी एक हो, तानाशाही मुर्दावाद इत्यादि नाराहरू लगाउँदै गई रहेको अवस्था मौकैमा तिनीहरू मध्ये राम गिरी, महन्थ ठाकुर, आनन्दप्रसाद ढुंगाना, हरिहर विरही, महेन्द्र कुमार मिश्र, केशवराज कोइराला समेतलार्इं मात्र पक्राउ गर्नसकेको र अरू भागी गएकोले निजहरूलाई हाथमा रहेको झण्डा र यो प्लेकार्ड समेत यसै प्रतिवेदन साथ दाखेल गरेका छौं । राजकाज (अपराध तथा सजाय) ऐनअनुसार यिनीहरू माथि कानूनी कारवाई गरिपाउँ भन्ने स.इ.केवलबहादुर बस्नेत समेतको प्रतिवेदन परेको।
२. ०२७ ।२।३०।६ का दिन श्री ५ महाराजाधिराज सरकारको ५१ औं शुभ जन्मोत्सव मनाई रहेको बेलामा म समेतका अरु–अरू छात्रहरू हाथ हाथमा कालो झण्डा प्लेकार्ड रातो झण्डासमेत देखाई सो कार्यक्रममा नेपाल विद्यार्थी संघ अमर रहोस् हाम्रा साथी रिहाइ हुन भन्नेसमेत नारा लगाउँदा प्रहरीले मौकैमा पक्राउ गरेका हुन भन्ने प्र.हरिहर विरही, आनन्दप्रसाद ढुंगानासमेत प्रहरीमा कागज भएको ।
३. उत्सव मनाई रहेको बेलामा अपर्झट केही विद्यार्थीहरूले उक्त मानिसको जमातमा कालो झण्डा र सेतो झण्डा प्लेकार्ड लिई क्रुर प्रशासन मुर्दावाद विद्यार्थी एक हो, संस्था ऐन मुर्दावाद भन्दै नारा लगाउन लागेको बेलामा प्रहरीले तत्काल पक्राउ गरी लगेको छु भन्ने कोही भएको पृथक–पृथक जना १६ ले बकी दिएको सर्जमिन मुचुल्का ।
४. श्री ५ महाराजाधिराज सरकारप्रति कालो झण्डा समेतको प्रदर्शनद्वारा विरोध र अनादर देखाइ आफ्नो घृणित र दुषित भावनाको प्रदर्शन गरी मौसुफ सरकारको अवहेलना समेत गरेको सिद्ध हुन आउने हुनाले अभियुक्त रामप्रसाद गिरी, हरिहर विरही, महेन्द्रकुमार मिश्रसमेतलाई र यस्तो काम गर्ने कुराको मत सल्लाहमा रही विद्यार्थीहरूलाई उचाली गर्न लगाउने आफूलाई पहिलेको विघटित संसद सदस्य र प्रतिबन्धित नेपाली काँग्रेसको सदस्य भनी बयान गर्ने अभियुक्त वोधप्रसाद उपाध्याय समेतलाई राजकाज (अपराध तथा सजाय) ऐन, २०१९ को दफा ६ (१) अनुसार सजायको माग दावी गर्दै ऐ ऐनको संशोधित दफा १० र स्थानीय प्रशासन ऐन, २०२२ को दफा ४ समेतको प्रचलित कानूनको परिधिभित्र रही हिरासतमा रहेको अभियुक्त रामप्रसाद गिरी, वोधप्रसाद उपाध्याय, हरिहर विरही, महेन्द्रकुमार मिश्र आनन्दप्रसाद ढुंगाना, महन्थ ठाकुर मैथिली, केशवराज कोइराला समेत र कागजात वरामद झण्डा प्लेकार्ड समेत पेश गरेका छौं भन्ने डि.एस.पी. एवं निमित्त एस.पी. किशोरीबहादुर घिमिरे सहायक सरकारी अभियोक्ता भरतलाल श्रीवास्तवसमेतको ०२७।३।२१।१ को प्रतिवेदन साथ यो मुद्दा दायर हुन आएको ।
५. प्रहरी प्रतिवेदन र सहायक सरकारी अभियोक्ताले हामी प्रति लगाइएको अभियोग बमोजिम श्री ५ महाराजाधिराज सरकार प्रति र राज मुकुट प्रति सरकारको जन्मोत्सव प्रति हाम्रो श्रद्धा विश्वास र आस्था छ, सरकारको शुभ जन्मोत्सवको सभालाई कुनै प्रकारको बाधा उत्पन्न गरे गराएको होइन । स्थानीय प्रमुख प्रशासकज्यूको के कस्तो प्रशासन रहेछ र उहाँको प्रशासनदेखि यहाँको मानिसहरू कतिसम्म संन्तुष्ट रहेछन् र विश्वबन्धु थापा केही दिन अगाडी संसदीय व्यवस्था चाहिन्छ भनी भनेर अनसनसमेत गर्ने र त्यस्ताप्रति हाम्रो आस्था नभएकोले उहाँले देख्ने सुन्ने गरी विरोध गरी कालो झण्डा पनि देखाएका हौं भन्नेसमेतको आनन्दप्रसाद ढुंगाना, हरिहर विरही, महन्थ ठाकुर मैथिल, रामप्रसाद गिरीसमेतको बयान भएको रहेछ ।
६. पुर्पक्षका निमित्त थुनामा राख्नु पर्ने देखिनाले निजहरूलाई क.श्रेणीको सिधा खुवाउने गरी पुर्पक्षका निमित्त थुनामा राख्ने भन्ने ०२७।३।२१।१ को ज.अञ्चलाधीश कार्यालयका आदेशनुसार उक्त अभियुक्तहरू सोही दिनदेखि जलेश्वर कारागारमा रहेको ।
७. मैले श्री ५ महाराजाधिराको ५१ औं शुभजन्मोत्सवको उपलक्ष्यमा चढाई पठाएको चिरायु कामनाको सकल बमोजिमको नक्कल प्रतिलिपि त्यस कार्यालयले प्रमाणको निमित्त खोजी गरेको हुँदा पेश गरेको छु भन्ने वोधप्रसाद उपाध्यायको मिति ०२७।५।२४ को दरखास्त ।
८. श्री ५ महाराजधिराजको शुभ जन्मोत्सवको उपलक्ष्यमा आयोजित सभामा मञ्चमा राखिएको श्री ५ को प्रतिमा अगाडी प्रतिवादीहरूले कालो झण्डा देखाइ नारा लगाइ विरोध गरेको हुँदा अप्रत्यक्षरूपले श्री ५ महाराजाधिराज सरकार प्रति प्रतिवादीहरूले घृणा अवहेलना गरे गराएको भन्ने सम्झन पर्ने हुनाले समेत यसमा प्रतिवादीहरूले राजकाज (अपराध तथा सजाय) ऐन, २०१९ को दफा ६ (१) अन्तर्गतको कसूर गरेको देखिनाले प्र.वोधप्रसाद उपाध्यायलाई १।६ एक वर्ष छ महिना र अरु प्र.केशवराज, आनन्दप्रसाद ढुंगाना, रामप्रसाद गिरी, महेन्द्रकुमार मिश्र, महन्थ ठाकुर, हरिहर विरहीसमेतलाई जनही १ एकवर्षका दरले कैद हुनेठहर्छ भन्नेसमेतको ज.अ. अञ्चलाधीशज्यूले गर्नुभएको फैसला रहेछ ।
९. अञ्चलाधीशज्यूले गर्नुभएको फैसलामा चित्त बुझेन भन्नेसमेतको एउटै पुनरावेदनपत्र केशवराज कोइराला, वोधप्रसाद उपाध्याय समेत ७ जनाले सर्वोच्च अदालतमा चढाएका रहेछन् । पुनरावेदक बन्दीहरूलाई झिकाई रोहवरमा राखी पुनरावेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विपक्षीतर्फको अतिरिक्त सरकारी विद्वान अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ हेर्दा धनुषा जिल्लाका प्रहरी अधिकृत तथा जवानहरूको प्रतिवेदन श्री ५ महाराजाधिराजको ५१ औं शुभजन्मोत्सव मनाइरहेको सिलसिलामा जानकी मन्दिरको मुख्य द्वार अगाडी कार्यक्रम चलिरहेको बखत हुल जमात हात हातमा कालो झण्डासमेत लिई नाराहरू लगाई अशान्ति मच्चिएपनि कालो झण्डालिई नारा लगाउने व्यक्तिहरूलाई हामीले पक्राउ गरेबाट शान्ति कायम हुन सकेको भन्ने र यसप्रकारको खलबली हुलदड्डा अशान्ति मच्चाइ बाधा विरोध उत्पन्न गरेबाट श्री ५ महाराजाधिराज सरकारप्रति अप्रत्यक्ष रूपले घृण द्वेष फैलाउने प्रयाससमेत गरेको भन्ने बोली परेको रहेछ । अभियुक्तहरूको बयानमा नारा लगाएको कालो झण्डा रातो झण्डा प्लेकार्डहरू लिएर उभिएको नारा लगाएको प्रमाणित हुन्छ । जन्मोत्सवको उपलक्षमा सभा भएको जनसमूहमा यी अभियुक्तहरूसमेत भेला भई झण्डा लिई नारा लगाएकोबाट राजकाज (अपराध तथा सजाय) ऐनको दफा ६ (१) ले भनेको कसूर हुने देखिदैन । त्यस्ता झण्डा वा नाराबाट घृणा द्वेष फैलाएको भन्नलाई त्यस्ता कार्यहरू कसैले गरे गराएको हुनपर्दछ । यस्तो प्रदर्शनबाट अरू कसैले घृण द्वेष गरेको देखिंदैन । उसमाथि यिनी अभियुक्तहरूले गरेको झण्डा प्रदशर्न नाराहरूमा श्री ५ प्रति हुन जाने वा हुनसक्ने घृणा द्वेषको वचन वा कार्य देखिंदैन । यस्तो घृणा द्वेष गर्न गराउन नसक्नेमा अभियुक्तहरूउपर लगाएको आरोप प्रमाणित हुन सक्दैन । तसर्थ अभियुक्त बोधराज समेतले अप्रत्यक्ष रूपले श्री ५ महाराजाधिराज सरकारप्रति घृणा द्वेष ठहर्छ भन्ने अञ्चलाधीशको फैसला बदर भई उक्त फैसलाले लाग्ने गरेको सजाय लाग्दैन ।
१०. देहायका मानिसहरू जनकपुर अञ्चलाधीश कार्यालय के ०२७।६।१९ को फैसलाले देहायबमोजिम कैद गर्ने गरेकोमा माथि इन्साफ खण्डमा लेखिएबमोजिम भई सो कैद नलाग्ने हुँदा व्यहोरा जनाइ लगत काटि दिनु भन्ने उक्त कार्यालयलाई सूचना गर्न लगत दिनु । बोधप्रसाद उपाध्याय कैद के वर्ष १।६, केशव राज कैद के वर्ष १।, आनन्दप्रसाद ढुंगाना के कैद वर्ष १।, रामप्रसाद गिरी के कैद वर्ष १।, महेन्द्र कुमार मिश्र के कैद वर्ष १।, महन्थ ठाकुर के कैद वर्ष १।, हरिहर विरही के कैद वर्ष १। फैसला भएको जनाउ पुनरावेदकहरूलाई दिई मिसिल नियमबमोजिम बुझाई दिनु ।
न्यायाधीश श्री जयदेव भट्ट
उक्त रायमा सहमत छु ।
इति सम्वत् ०२८ साल वैशाख ३ गते रोज ६ शुभम् ।