September 17, 1971
Created by nepalarchives

निर्णय नं. ६१६ – राजकाज

निर्णय नं. ६१६            ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री हेरम्वराज सम्वत २०२८ सालको फौजदारी पुनरावेदन नम्बर ५५४ आदेश भएको मिति...

निर्णय नं. ६१६            ने.का.प. २०२८

डिभिजन बेञ्च

न्यायाधीश श्री वासुदेव शर्मा

न्यायाधीश श्री हेरम्वराज

सम्वत २०२८ सालको फौजदारी पुनरावेदन नम्बर ५५४

आदेश भएको मिति : ०२८।६।१।६

पुनरावेदक : जिल्ला सप्तरी प्रगन्ना पकारी मौजे कोइलाडी बस्ने रामराजाप्रसाद सिंह

विरूद्ध

विपक्षी : श्री ५ को सरकार

मुद्दा : राजकाज

(१)   निस्क्रिय फैसलाउपरको पुनरावेदनमा विचार गर्न नपर्ने ।

            उपरोक्त अञ्चलाधीशको कार्यालयको ठहरको एकमात्र असर पुनरावेदकलाई सजाय तोकेको हो । संविधानअनुसार श्री ५ बाट माफी बक्सेको उक्त सजायको माफ पुनरावेदकले उपभोग गरी थुनाबाट निस्केकोमा अब त्यो सजाय लाग्ने भएन । त्यस्तो ठहर नहोस असर नपरोस भन्ने यो पुनरावेदन निरर्थक देखिएको छ । अञ्चलाधीश कार्यालयको त्यसरी निष्क्रिय भइसकेको फैसलालाई बदर गर्न यो पुनरावेदनको दरकार परेन, साथ साथै त्यस्तो पुनरावेदनमा पैरवी निमित्त पुनरावेदकलाई तारेखमा राख्नु पनि परेन ।

 (प्रकरण नं. ३)

            तसर्थ निस्क्रिय फैसलाउपर परेको पुनरावेदनउपर विचार गर्न आवश्यक देखिन्न । आउने पेशीको तारेखमा उपस्थित हुनु पर्दैन भनी पुनरावेदक रामराजाप्रसाद सिंहलाई जनाउ दिई मिसिल नियमबमोजिम बुझाइदिनु ।

(प्रकरण नं. ४)

आदेश

     न्या.श्री वासुदेवसमेत

      १.     यसमा निकाशाको लागि रजिष्ट्रारले प्रतिवेदन पेश गरेकोमा मिसिल सामेल राखी पेश गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको आदेश भएबमोजिम निकाशाको लागि आएको प्रतिवेदनको साथमा मिसिल समेत हेरियो ।

      २.    सर्वोच्च अदालत नियमावलीको नियम ३६ अनुसार यसबेञ्चबाट फछ्र्यौट गरिने रहेछ । अञ्चलाधीशको कार्यालयबाट ०२८।४।२७।५ मा फैसला भएकोमा प्रतिवादी रामराजाप्रसाद सिंह राजपुत को (राजकाज अपराध र सजाय) ऐन, २०१९ को दफा ६ को उपदफा १ बमोजिम तजविजी कैद वर्ष २/६ र रु.२५०० जरिवाना हुन्छ भनी तोकको रहेछ । सो फैसलाउपर थुनामा रही ०२८।५।६१ मा प्रतिवादी रामराजाप्रसाद सिंहले पुनरावेदन दिएको रहेछ । थुनाबाट छुट्कारा पाएँ भनी निजको ०२८।५।१३।१ मा दरखास्त परी यस अदालतबाट ऐ २१ गतेको तारेख लिएपछि निजलाई लागेको सजाय श्री ५ बाट माफि बक्सेको छ भन्ने गृह पञ्चायत मन्त्रालयको ०२८।५।२४ को पत्र यस अदालतमा दाखिल भएको देखियो । त्यस्तो सजाय तोकिएको फैसलाउपर सो माफिको पत्र दाखिल हुनुभन्दा अघिनै दर्ता भइसकेको पुनरावेदनलाई कुन स्थितिमा राख्ने भनी अडबडको निकाशा निमित्त रजिष्ट्रारले प्रतिवेदन गरेको उचित देखियो ।

      ३.    उपरोक्त अञ्चलाधीशको कार्यालयको ठहरको एकमात्र असर पुनरावेदकलाई सजाय तोकको हो । संविधानअनुसार श्री ५ बाट माफी बक्सेको उक्त सजायको माफ पुनरावेदकले उपभोग गरी थुनाबाट निस्केकोमा अब त्यो सजाय लाग्ने भएन । त्यस्तो ठहर नहोस् असर नपरोस भन्ने यो पुनरावेदन निरर्थक देखिएको छ । अञ्चलाधीश कार्यालयको त्यसरी निष्क्रिय भइसकेको फैसलालाई बदर गर्न यो पुनरावेदनको दरकार परेन, साथ साथै त्यस्तो पुनरावेदनमा पैरवी निमित्त पुनरावेदकलाई तारेखमा राख्नु पनि परेन ।

      ४.    तसर्थ निष्क्रिय फैसलाउपर परेको पुनरावेदनउपर विचार गर्न आवश्यक देखिन्न । आउने पेशीको तारेखमा उपस्थित हुनुपर्दैन भनी पुनरावेदक रामराजाप्रसाद सिंहलाई जनाउ दई मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

इति सम्वत् २०२८ साल आश्विन १ गते रोज ६ शुभम्