September 21, 1975
Created by nepalarchives

निर्णय नं. ९४६ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ९४६            ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको रिट नम्बर १२४२ आदेश...

निर्णय नं. ९४६            ने.का.प. २०३२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

सम्वत् २०३१ सालको रिट नम्बर १२४२

आदेश भएको मिति : ०३२।६।५।१

निवेदक : का.जि. आदर्श गा.पं. वार्ड नं. १ बस्ने गणेशप्रसाद खरेल

विरुद्ध

विपक्षी : श्री मूलपूजारीमार्फत श्रीपशुपति अमालकोट कचहरी जयवागेश्वरी समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   जग्गाको बाली गुठी संस्थानमा धरौट राख्ने अवस्था कानूनमा भएको नदेखिने ।

(प्र.नं. ७)

निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

आदेश

     न्या. वासुदेव शर्मा

      १.     नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरी विपक्षीहरूले गरेको निर्णय बदर गरी संवैधानिक तथा कानूनी हकको प्रचलन कायम गरिपाउँ भनी प्रस्तुत रिट निवेदन मिति २०३१।९।४।५ मा दर्ता भएको रहेछ ।

            संक्षिप्त तथ्य यसप्रकार छ : श्री पशुपति अमालकोट कचहरी कार्यालयका खान्गीदार देसवर प्रधानको खान्गीमा दर्ता भएको सकिचा पाल खेत रोपनी ।।।ऽ को कूत मुरी १। घ्यू १।२४ पैसा लागेको खला १ र ऐ.सालको कूत मुरी १। लागेको सकिचा पाल रोपनी ।।।ऽ खला १ समेत जम्मा जग्गा खला २ को रोपनी १।।ऽ को कित्ता २ जग्गाको साविक जग्गा कमाउने मोही गणेशप्रसाद खरेलले २०२९ सालको बाली बराबर बाली नदिएकोले पशुपति अमालकोट कचहरी कार्यालयलाई भइरहेको सनद बमोजिम टाँस गरी बाली उपर गरिपाउँ भन्ने खान्गिदार साविकमा देसवार प्रधान हालको तहविलदार हेमराज वैद्यको श्री पशुपति अमालकोट कचहरी कार्यालयमा मिति ०३०।१।४।२ मा दर्खास्त पर्न आएकोले श्री पशुपति अमालकोट कचहरी कार्यालय समेतलाई भइरहेको सनद बमोजिम दिन १० को मोहीका नाउँको बाली कूत या जग्गा पजनी हुने बारेको म्याद काटी मिति ०३०।१।२९।६ मा म्याद टाँस हुन गएको र सो म्यादको टाँस मुचुल्कामा साक्षी बस्न नमिल्ने भनी भगवानस्थान आ.गा.पं.का वडापञ्चको पत्र जवाफसमेत संलग्न राखी मोहीको घरदैलामा म्याद टाँस भएकोमा उक्त म्यादमा उल्लेख भएको दिन १० भित्र साविकवाला मोहीले श्री पशुपति अमालकोट कचहरी कार्यालयमा लाग्ने बाली बुझाई जग्गा सकार गर्नुपर्नेमा सो नगरी त्यसै बसेको र हकदारको म्याद दिन ३ दिएकोमा सो हकदारको म्यादभित्र हकदारले कबुल गर्न आउनुपर्ने सो नआएकोले हकदार तथा मोहीको म्यादसमेत गुज्रेकोले जसले कबुल गर्छ उसैका नाउँमा बाली कूतमा जग्गा सकार गरी लिन पाउने हुनाले सो बखत मिति २०३०।२।११ गतेमा का.जि. देवपाटन गौरीघाट बस्ने मिठुदेवी सेढाईंले उक्त जग्गा खला २को रोपनी १।।ऽ को कूत मुरी २।घ्यू र ।२४ पैसा समेत राखी रु.१। को नोट साथै राखी उक्त जग्गा म सकार गरी लिन पाउँ भनी दरर्खास्त दर्ता गर्नु भएपछि दिनको ४बजेर १० मिनेट जाँदा घर दैलामा बाली कूतमा जग्गा टाँस गराउने साविकवाला लगत दर्ता भएका का.जि.कुमारीगाल बस्ने गणेशप्रसाद खरेलले बेटिकटको हु. द्वारा मैले श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालयबाट मिति २०३०।१।२९।६मा टाँस गरेको जग्गाको बाली मिति २०३०।२।५ गतेमा गुठी संस्थानमा धरौट राखेकोले सूचित गरेको छु भनी पठाएको मिति २०३०।२।५ को पत्र मिति ०३०।२।११ गतेमा प्राप्त हुन आएको हुनाले मिति २०३०।२।१२।६ मा श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालयको खान्गीदारको खान्गीवाला ताहाँ धरौट राखेको भन्ने गणेशप्रसादको पत्रद्वारा जानकारी हुन आएको हुनाले सो धरौटी रहेको भए कुन स्थानमा धरौट रहेको छ सो को यथार्थ विवरण खोली २४ घण्टा भित्र नै पत्रको उत्तर दिनुहोला भनी गु.सं.केन्द्रमा पत्र लेखी गएकोमा मिति २०३०।२।१४ मा उक्त पत्र गु.सं. केन्द्रमा दाखिल भएको भरपाईद्वारा देखिन आएको हुनाले सो जग्गाको धरौट निजले गु.सं.मा राखेको भए ७ दिनभित्रै सो केन्द्रबाट जानकारी गराउनुपर्ने सो नभएकोमा श्री पशुपति अमालकोट कचहरी कार्यालयबाटै सोधनी गरेकोमा पनि कुनै पत्रको जवाफसमेत नदिएको र निज गणेशप्रसादले धरौट राखेको छ कि भन्नालाई पनि टाँस भएको म्यादमा उल्लेख भएअनुसार म्यादैभित्र बाँकी बाली कूत श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालयमा दाखिल गर्न ल्याउनु पर्नेमा बाली कूत नल्याई खिचोला झिक्ने मुराद गर्नको लागि सो बाली श्री पशुतिनाथ अमालकोट कचहरी कार्यालयमा दाखिल नगरी ठाडै धरौट रहेको भन्ने पत्र दाखिल हुन आएबाट सो पत्रअनुसार साँचो हो कि भनी केन्द्र बुझेका केन्द्रबाट समेत जवाफ प्राप्त हुन नआएको हुनाले धरौट राखेको भए केन्द्रबाट पत्रोत्तरकासाथ बालीको रहन गएको धरौट श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालयमा दाखिल हुन आउनु पर्ने सो नआएबाट दर्खास्त दिएको छु भन्नेबाट मात्र धरौट रहन गएको प्रतित मान्न नमिल्ने हुनाले उक्त टाँस भएको जग्गा पजनी नगरी त्यसै राखी दिँदा श्री पशुपतिनाथको जग्गामा हानी नोक्सानी पुग्न गई कर्मचारीलाई खान्गी खुवाउनसमेत बाधा पर्ने हुनाले सो जग्गाको बहाली नदिई त्यसै राख्न मुनासिव नपरी श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालयसमेत भइरहेको सनद बमोजिमको म्याद भित्रै मोही हकदार र हकवाला समेतले सकार गर्ने म्याद बर्खिलाप भइसकेकोले जग्गा पजनी गरिदिन मुनासिवै देखिन आएकोले पशुपति आ.गा.पं.वडा नं.८पर्ने कि.नं.४४।४५ को उक्त जग्गा कित्ता २को बाली दाखिल गर्ने मिठुदेवीलाई नै साविक बमोजिम खान्गीदारलाई टायम टायममा खान्गी बाली बुझाई सो जग्गा भोगचलन गर्न बाली गरिदिने ठहर्छ भनी श्री पशुपति अमालकोट कचहरी कार्यालयबाट मिति २०३० साल आषाढ १५ गते रोज ६ मा निर्णय गरेको रहेछ । सो निर्णय उपर प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

      २ .   निवेदकको लेख जिकिर यसप्रकार छ : मैले धरौट राखेको बाली सम्बन्धमा मूल पूजारीबाट लालमोहर तामापत्रको प्रतिलिपि मगाई के कस्तो काम कहाँबाट गर्नुपर्ने रहेछ त्यसको यकिन भएपछि मात्र अरू कारवाही गर्न भनी धरौटी फिर्ता लिनु भनी मलाई पत्र लेखी पठाउनै नहुने जवसम्म कारवाहीको टुंगो लाग्दैन तबसम्म धरौटी फिर्ता लिने भन्ने प्रश्नै उठ्दैन त्यसमा पनि विपक्षी कचहरी औ मूल पूजारीले मैले धरौट राखेकोतर्फ बुझ्ने कारवाई चलाई जवाफ प्राप्त हुनु बेगरै अ.बं.१८४क १७८ नं. को समेत कानूनी त्रुटि गर्दै अन्य व्यक्तिलाई बाली कूतमा दिन नमिल्ने होइन विपक्ष कचहरीले टाँस गरेको म्याद भित्रै धरौट राखेको छु । यस्तोमा विपक्ष संस्थानले जवाफ नदिने र जवाफ नआएको भन्दै बाली कूतमा विपक्ष मिठुदेवीलाई दिने भनी गर्ने गरेको विपक्ष कचहरीको जाहेरी र विपक्ष मूल पूजारीको निर्णयसमेत अ.बं. ३५ नं. बदर हुने स्पष्ट छ ।

      ३.    विपक्षीहरूद्वारा लिखित जवाफ मगाई पेश गर्नु भने डिभिजन बेञ्चको मिति २०३१।१०।३।५ को आदेशानुसार प्राप्त हुन आएको लिखित जवाफ निम्नप्रकार छन् :

(१)    श्री पशुति अमालकोट कचहरी कार्यालयको आन्तरिक प्रशासन कार्य प्रणाली १८६७ साल मंसिर वदी ७ रोज १ को लालमोहरसमेतको कार्यप्रणाली र २०००।१।८।४ को सदन समेतको कार्यप्रणालीसमेतलाई लिई जाहेरी हुँदा उल्लेख लालमोहरसमेत सनद बमोजिम कार्य गर्न श्री का.मूल पूजारीलाई अख्तियार १८८३ का लालमोहर बमोजिम बकस भइराखेकोमा पुनः यसै विषयमा जाहेर हुँदा पनि ०३१।८।१८ गतेको राजदरबार प्रमुख सचिवालयबाट दाखिल दर्ता हुन आएको उक्त अख्तियारीपत्र समेतको कार्यप्रणाली र गु.सं.को गु.सं.ऐनको आन्तरीक कार्यप्रणालीले श्री का.मूल पूजारीमा अख्तियारी सम्बन्धको कार्यप्रणालीलाई कुनै बाधा अड्चनको असर नगरे नपरेको र श्री पशुपति अमालकोट कचहरी कार्यालय गु.सं.मातहतको नभएकोले मिठुदेवीलाई उक्त जग्गाको भोगचलनको चलनी पुर्जि गरिदिने ठहरको सदर ०३०।३।१५ गतेको सदर सदरै हुन्छ सो बदर हुन सक्दैन ।

(२ )  निवेदकको सम्पत्ति सम्बन्धी मौलिक हकमा आघात पारेको छैन अदालत समक्ष निवेदक निज गणेशप्रसादको स्वच्छै भावनाको रिट निवेदन पेश हुनुपर्ने सो नभएको र श्री का.लालमोहर भित्रका बिर्ता जग्गामा भू.सं.ऐन नियमबमोजिमको किसिम बमोजिमको बाली नलाग्ने र नेपालको संविधानको धारा ७१को रीतपूर्वकको निश्चित रिटनिवेदन दर्तासमेत नभएको उल्लेख रिट निवेदन नागरिक अधिकार ऐन, २०१२ को दफा ९ को सम्पत्तिसम्बन्धमा आघात पारी संविधानको धारा ७१लाई लिई मौलिक अधिकारतर्फको जिकिर रिट निवेदन दिए फिर्ता गरेकोसमेत नदेखिएको र सोही नागरिक अधिकार ऐन दफा १९।२० को कार्यप्रणाली अपनाई रिट दिनुपर्ने र सो गरेको पनि नदेखिएकोबाट यो रिट निवेदन अ.बं.१८० नं.बमोजिम खारेज हुनुपर्दछ भन्नेसमेत श्री पशुपतिनाथका मूल पूजारी रावल पदमनाथ शास्त्री ।

(३)   निवेदकको सम्पत्तिसम्बन्धी मौलिक हकमा आघात पारेको छैन अदालत समक्ष निवेदक गणेशप्रसादको स्वच्छ भावनाको रिट निवेदन पेश हुनुपर्ने सो नभएको श्री का.लालमोहर भित्रका बिर्ता जग्गा भू.सं.ऐन नियमबमोजिमको किसिम बमोजिम बाली नलाग्ने हुँँदा यो रिट निवेदनपत्र खारेज गरी पाउन सम्माननीय अदालत समक्ष अनुरोध गर्दछु भन्नेसमेत श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालयका व्यारे वसुनारायण भण्डारी ।

(४)   अमालकोट कचहरी कार्यालयमा कार्याधिकार सनद २००० साल बैशाख ८गते ४को कार्यप्रणाली व्यवस्थाले कानूनी दायित्व स्वतः समाप्त भएको निवेदकवाला निज गणेशप्रसादको उत्प्रेषणको रिट निवेदन खारेज गरी पाउन सम्माननीय अदालत समक्ष सादर अनुरोध गर्दछु भन्नेसमेत मिठुदेवी सेढाईँ ।

(५)   २००० साल बैशाख ८ गतेको सदन बमोजिम भइ गरेको हो गुठी संस्थान ऐन यसमा लागू हुन नसक्ने भएकोले यस विषयमा राजदरवार प्रमुख अधिकारीको अफिसमा छलफल भएको भन्नेसमेत जवाफ प्रस्तुत हुन आएको व्यहोरा पेश हुँदा मूल पूजारीबाट लालमोहर तामापत्र मगाई के कस्तो काम कहाँबाट गर्नुपर्ने रहेछ यकिन भएपछि अरू कारवाही गर्न उचित देखिएकोले रकम फिर्ता दिनु भन्ने ०३१।८।२४ मा निर्णय भएको र अमालकोट कचहरीको जवाफबाट तिरो पनि फरक परेको देखिएको र लिलाम गरिसकेको भन्ने पनि देखिन आएको सो लिलाम बदर गर्न पाउने यस संस्थानलाई अधिकार नभएको प्रकाशित गुठी संस्थान ऐनमा पनि सो विषय उल्लेख नभएको हुँदा निर्णयानुसार रकम फिर्ता लिन सूचना दिएको त्यसमा आन्तरिक सन्तोषजनक नभए ऐनद्वारा तोकिएको अदालत समक्ष निवेदकले दावी गर्न पाउने हक सुरक्षा भइरहेकोमा त्यसतर्फ वास्ता नगरी कानून विपरीत उत्प्रेषणको लागि उपस्थित हुनुभएको छ । संविधानको धारा ७१लाई औंल्याई गरेको यो निवेदन लाग्न नसक्ने प्रष्ट भइरहेकोले निवेदकको रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत गुठी संस्थान केन्द्रीय कार्यालय रामशाह पथ ।

      ४.    तारेखमा रहेका निवेदक गणेशप्रसाद खरेल र विपक्षी श्रीपशुपतिनाथका मूलपूजारी रावल पदमनाथ शास्त्रीको वारेश ध्रुवप्रसाद रिमाल श्री पशुपतिनाथको अमालकोट कचहरी कार्यालयतर्फका व्यारे वसुनारयाण भण्डारी, गुठी संस्थान केन्द्रीय कार्यालयतर्फका प्रशासक श्री रामचन्द्र पौड्यालका वारेश रामप्रसाद तथा मिठुदेवी सेढाईँको वारेश ज्ञानबहादुरलाई रोहबरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको बहस र विपक्षीहरूको जिकिरसमेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकको मागबमोजिमको आदेश जारी हुने नहुने के रहेछ ? निर्णय दिनु परेको छ ।

      ५.    यसमा विपक्षी कार्यालयबाट निर्णय हुँदा श्रीको जग्गामा हानी नोक्सानी पुग्न गई कर्मचारीलाई खान्गी खुवाउनसमेत बाधा पर्ने हुनाले सो जग्गाको बाहाली नदिई त्यसै राख्न मुनासिव नपरी श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालयलाई समेत भइरहेको सनद बमोजिमको म्यादभित्रै मोही हकदार र हकवाला समेतले सकार गर्ने म्याद वर्खिलाप भइसकेकोले जग्गा पजनी गरिदिन मुनासिवै देखिन आएकोले उक्त जग्गा कित्ता २को बाली दाखिल गर्न मिठुदेवीलाई नै साविक बमोजिम खान्गीदारलाई याम टायममा खान्गी बाली बुभाइ सो जग्गा भोगचलन गर्ने बहाली गरिदिने ठहर्छ भन्नेसमेत निर्णय गरेको देखियो ।

      ६.    श्री पशुपतिनाथको नित्य पूजा तथा पर्व पूजा मामुलियत समेतमा ८५५ साल जेष्ठ बदी ६रोज ५को ताडपत्र बन्देज १८६७ सालको लालमोहर सनद सवाल बमोजिम साविक रीती स्थिति बमोजिम काम भई श्रीको पूजा पर्व चलिआएको विषयमा हाल गुठी संस्थानले साविक सनद बमोजिम बाली नतिर्नेहरूलाई टाँस गरी जग्गा लिलाम गरी असूल उपर गरेकोमा गर्न नहुने भनी बखेडा गरेको ऐनले आफू तालुक नभएकोमा पनि संस्थान अधिनस्थ राजगुठी भनी काठमाडौं जिल्ला अदालतलाई जवाफ दिई खिचोला गरी हस्तक्षेप गरेकोले श्रीको भोगरागै रोकिन जाने सम्भव भयो साविक लालमोहर ताडपत्र बन्देज सनद सवाल बमोजिम नै गरिपाउँ भन्नेसमेत श्री पशुपतिनाथका मूल भट्ट रावल पद्मनाथ शास्त्रीले श्री ५महाराजाधिराज सरकारका हजुरमा चढाएको विन्तिपत्र जाहेर हुँदा मौसुफबाट श्री पशुपतिनाथमा साविक भइरहेको ८५५ सालको ताडपत्र बन्देज १८६७ सालको र अरू लालमोहरहरू सनद सवाल बमोजिम मूल भट्टले काम गर्ने र हाम्रा हजुरमा जाहेर गर्नैपर्ने जत्ति साविक बमोजिम तालुकवाला बडागुरुज्यू मार्फत जाहेर गर्ने भनेसमेत वकस भएका हुकूम प्रमांगीअनुसार प्रमुख सचिव राजदरवारबाट मुख्य सचिव मन्त्रिपरिषद्लाई मिति ०३१ साल मार्ग १८गते पत्र लेखी श्री पशुपतिनाथका मूल भट्टसमेतलाई बोधार्थ दिइएको पाइयो ।

      ७.    निवेदकले विवाद सम्बन्धी जग्गाको २०२९ सालको बाली साविक रीती स्थितिअनुसार पशुपतिनाथ अमालकोट कचहरी कार्यालयमा बुभाउन पर्नेमा सोबोजिम नगरी गुठी संस्थान केन्द्रीय कार्यालयमा धरौट राखेको देखिन्छ । जग्गाको बाली गुठी संस्थानमा धरौट राख्ने अवस्था कानूनमा भएको देखिएन । लेखिएअनुसार श्री पशुपतिनाथ अमालकोट कचहरीमा बाली नबुझाई अधिकारै नभएको गुठी संस्थान केन्द्रीय कार्यालयमा बालीको धरौट निवेदकले राखेकोलाई मान्यता दिन मिलेन । उसमा पनि ०३१।८।१८ मा बक्स भई आएका हुकूम प्रमांगीसमेतबाट साविक बमोजिमको ताडपत्र सनद सवाल तामापत्र र लालमोहरसमेत कायम रहेकै देखियो । तसर्थ निवेदकका मागबोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियमबमोजिम गरी फाईल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३२ साल आश्विन ५ गते रोज १ शुभम् ।