April 17, 1969
Created by nepalarchives

निर्णय नं. ९३२ – चोरी

निर्णय नं. ९३२      ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२४ सालको फौज्दारी पुनरावेदन नम्बर ५५९...

निर्णय नं. ९३२      ने.का.प. २०३२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री लोकराज जोशी

सम्वत् २०२४ सालको फौज्दारी पुनरावेदन नम्बर ५५९

आदेश भएको मिति : २०२६।१।५।५

प्रतिवादी पुनरावेदक : का.ई. डुगंबहिल बस्ने अक्कलबहादुर खड्गी

विरुद्ध

वादी विपक्षी : श्री ५ को सरकार

मुद्दा : चोरी

(१)   सयकडा बढी मुनाफा लिएको देखिए चोरीको माल भनी निजलाई थाहा भएकै कुरा देखिन आउने त्यस्तोमा चोरीको २४ नं.बमोजिम सजाय हुने ।

 (प्रकरण नं. ५)

विपक्षी तर्फबाट      : का.मु. सरकारी अधिवक्ता इन्द्रराज पाण्डे

फैसला

     न्या. लोकराज

      १.     लोकसेवा आयोगको सरकारी मोटरको चक्का सहितको बिगो रु. ४७०।६३ बिगोको पांग्रा चोरी गर्ने रामबहादुर समेत दाखिल गरेको छु भन्ने पुलिसको रिपोर्ट साथ पक्राउ भई आएको रामबहादुरले उक्त पांग्रा चोरी गरी अक्कलबहादुरलाई बिक्री गर्न लगाई आएको रु.३२५। मध्येबाट मैले २४०।रु.लिए बाँकी ६५।रुपैयाँ अक्कलबहादुरले लिए सो रुपैयाँ खर्च गरी खाइसक्यो कानूनले जो ठहर्छ भन्ने बयान र रामबहादुरले चोरीगरी मलाई बिक्री गरिदेउ भनी दिएको चक्का सहितको पांग्रा लिई थिरत्नलाई रु.३२५।मा बिक्री गरी ६५।रुपैयाँ मैले लिई बाँकी २५०।रामबहादुरलाई दिएको हुँ । रामबहादुरले चोरी गरेको भन्ने थाहा थिएन भनी बयान गर्ने अक्कलबहादुर चोरीको हो भनी नजानी अक्कलबहादुरसँग चक्का सहितको मोटरको पांग्रा रु.३२५।मा खरिद गरेको हो कानूनले जे ठहर्छ भन्ने थिरत्नसमेतको बयान भएको यस मुद्दामा सरकारी अभियुक्तसमेत रोहवरमा राखी इन्साफतर्फ विचार हुँदा चोरी गरेमा रामबहादुर र चोरीको माल बिक्री गरी हिस्सा खाएमा अक्कलबहादुर निज अक्कलबहादुरसँग चोरीको माल सन्धी पारी खरिद गरेमा थिरत्नसमेतको सावित भई बयान गरेको सावितीका हकमा अरू केही विचार गर्नु नपरी भएसम्मका परीबन्धबाट माथि लेखिएकै कसूर गरेको ठहर्छ भन्ने ०२४।१०।१४।१ को श्री अञ्चलाधीशको कार्यालय बागमती अञ्चलका सहायकअञ्चलाधीशले गरेको फैसला ।

      २.    लोकसेवा आयोगको सरकारी मोटरको चक्का सहितको पांग्रा चोरी गरी पक्राउ भइ आएका रामबहादुरको बयानबाट माल बिक्री गरी रु.६५।कमिशन खाएको भन्नेसमेत रामबहादुरको बयान र उक्त माल चोरी गरी ल्याएको भन्ने मलाई थाहा छैन माल बिक्री गरिदेउ तिमीलाई कमिशन दिन्छु भनेबाट कमिशन खाने चलन भई कमिशनसम्म खाएको हुँ भन्ने मेरो बयान भएकोमा कमिशन खाएकोलार्इं चोरीको माल बिक्री गरी बाँडी खाएको भन्ने अभियोग लगाई श्री सहायक अञ्चलाधीश बागमती अञ्चलको फैसलामा चित्त बुझेन भन्नेसमेतको प्रतिवादी अक्कलबहादुर खड्गीको पुनरावेदन ।

      ३.    रामबहादुर ड्राइभरले मोटरको पांग्रा आफूले चोरी गरेमा सावित भएको चोरी ल्याएको भन्ने कुरा अक्कलबहादुरलाई थाहा दिएको निजको बयानबाट नदेखिएको चोरी ल्याएको भन्ने नजानी मोटरको पांग्रा चालक रामबहादुरबाट लिई अर्को थिरत्नलाई बिक्री गरी दिई केही फाइदा उठाएमा अक्कलबहादुरलाई चोरीको माल भन्ने थाहा नभई अन्जान हुँदा चोरीका १२।२० नं.बमोजिम सजाय गर्न नमिल्ने देखिएको र सोही चोरीका २३।२४ नं.बमोजिम सयकडा बढी मुनाफा पाउने गरी लिई राखी बिक्री गरी बीचमा मुनाफा उठाएकोसम्म हुँदा निज पुनरावेदक अक्कलबहादुरलाई चोरीको २४ नं.बमोजिम सजायँ गर्नुपर्ने देखिएकोले अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम छलफलको निमित्त अधिवक्ता उपस्थित गराउनु होला भनी महान्यायाधीवक्ताको कार्यालयलाई पेशीको १५ दिन अगावै सूचना पठाई नियमबमोजिम पेश गर्नु भन्ने ०२५।१०।२९।३ को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

      ४.    पुनरावेदन प्रतिवादी अक्कलबहादुरलाई रोहवरमा राखी वादी श्री ५ को सरकारतर्फबाट बहस पैरवी गर्न महान्यायाधीवक्ताको कार्यालयबाट खटिई आउनुभएको विद्वान का.मु.सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा सरकारी मोटरको चक्का सहितको पांग्रा चोरी गरी पक्राउ भई आएको रामबहादुरको बयानबाट माल बिक्री गरी रु.६५।कमिशन खाएको भन्नेसमेत रामबहादुरको बयान र उक्त माल चोरी गरी ल्याएको भन्ने मलाई थाहा छैन माल बिक्री गरिदेउ तिमीलाई कमिशन दिन्छु भनेबाट कमिशन खाने चलन भई कमिशनसम्म खाएको हुँ भन्ने अक्कलबहादुरको बयान जिकिर भएबाट माल बिक्री गरी कमिशन खाएमा पुनरावेदक सावित भएको देखिन्न तर निज पुनरावेदकलाई चोरी गर्ने चोरले निज अक्कलबहादुर समेत भई चोरी गरेको भनी गरेको पाईंदैन र चोरीको २० नं.मा चोर्न जाँदा सँगै नभएको भए पनि चोरी ल्याएको माल बाँडी लिने मतियारलाई भन्नेसमेत शब्द रहेको र पुनरावेदक उक्त चोरीको माल बाँडी लिएको भन्ने देखिन नआई माल बिक्री गरिदेउ कमिशन दिन्छु भनेबाट कमिशन खानको लागि बिक्री गरेको देखिएबाट यस्तोमा उक्त चोरीको २० नं. लाग्छ भन्न मिल्न आउँदैन ।

      ५.    अब त्यस्तो मोटरको पांग्रा जस्तो चिज बिक्री गरिदेउ भन्न आएपछि सो व्यक्तिसँग उक्त माल कहाँबाट कसरी आयो सो कुरा जाँच बुझ्नु पर्ने पुनरावेदकको कर्तव्य थियो तर त्यसरी जाँचबुझ गरेको भन्ने देखिन आएन र उसमा पनि चोरी गरी ल्याएको माल भन्ने कुरा पुनरावेदकलाई थाहाजनक नदिएको भए चोरले सयकडा बढी मुनाफा दिन नपर्ने र पुनरावेदकले पनि सयकडा बढी मुनाफा लिएको भन्ने देखिएबाट समेत चोरी गरी ल्याएको भन्ने कुरा पुनरावेदकलाई थाहाजनक नभएको भन्न नमिली चोरीको माल भन्ने कुरा निजलाई थाहा भएकै भन्ने कुरा देखिन आउँछ । यस्तोमा कुन ऐनबमोजिम सजाय हुने हो भनी हेर्दा प्रचलित मुलुकी ऐन चोरीको २३ नं.मा दिंदा सो मालको मोलमा सयकडा १५ सम्म वा बन्धकमा सयकडा २० सम्ममा नाफा हुने गरी भन्ने र लेखिएदेखि बढ्ता नाफा हुने गरी लिएकोमा चोरीको हो भनी जानी बुझी लिएको रहेछ भन्ने यसै महलको २४ नं.बमोजिम गर्नुपर्छ भन्नेसमेत र २४ नं.मा चोरीको माल भनी जाना जानी लिने वा राख्नेलाई वा किन्नेलाई पहिला पटक भए बिगोबमोजिम जरिवाना गर्नुपर्छ भन्नेसमेत उल्लेख भएकोले उक्त कानून अनुसार पुनरावेदकलाई देहायबमोजिम जरिवाना हुने देखिन्छ । अञ्चलाधीशको कार्यालय बागमती अञ्चलका सहायक अञ्चलाधीशले कैद महिना १ गर्ने गरेको मिलेको देखिएन देहायबमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक अक्कलबहादुरके माथि इन्साफखण्डमा लेखिएबमोजिम भएबाट बिगो बमोजिम जरिवाना रु.४७०।६३ पैसा र यस अदालतमा पुनरावेदन गरे वापत अ.बं. २०३ नं. ले उक्त जरिवानाको सयकडा १० ले ४७ समेत जम्मा रु.५१७ जरिवाना हुन्छ यस अदालतमा पुनरावेदन गर्दा रु.४७०।६३ पैसा र कैद महिना १ को हुने रु.४५ समेत जम्मा रु.५१५।६३ मिति ०२४।१०।१९।६ मा स.अ.ल.न.वि.मा धरौट राखेको देखिएकोले सो धरौटीमा उक्त लाग्ने रु.५१७ कटाई बाँकी नपुग २।रुपैयाँ ७ पैसा रुजुहुँदा असुलउपर गरी कानूनबमोजिम गर्नु भनी का.श्रे.अ.त.मा लगतदिनु …………………..१

ऐ.के.अञ्चलाधीशको का.को ०२४।१०।१४ को फैसलाले चोरीको २० नं. ले चोरीको १२ नं.बमोजिम सजाय हुने भनी बिगो रु.४७०।६३ पैसा र कैद महिना १ गर्नेगरेको सोबमोजिम गर्न नपर्नेहुँदा व्यहोरा जनाई लगत काटीदिनु भनी ऐ……………………२

मिसिल नियमबमोजिम गरी बुझाई दिनु………………३

 

उक्त रायमा मेरो पनि सहमति छ ।

 

न्या. रत्नबहादुर बिष्ट

 

इति सम्वत् २०२६ साल बैशाख ५ गते रोज ५ शुभम् ।