December 17, 1975
Created by nepalarchives

निर्णय नं. ९२८ – उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. ९२८            ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत्...

निर्णय नं. ९२८            ने.का.प. २०३२

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

सम्वत् २०३१ सालको रि.फु.नं. ४६

आदेश भएको मिति : २०३२।९।२।३

निवेदक : का.जि. ओमबहाल टोल बस्ने गिर्जादेवी भन्ने रत्नमायाँ श्रेष्ठ

विरुद्ध

विपक्षी : जि.ल.पु. छायाबहाल बस्ने प्रकाशमान श्रेष्ठ समेत

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)   अधिकार क्षेत्र भित्र रही अघिदेखि कबुलियत गराई बाली खाइआएको भन्ने प्रमाण सर्भे डोरमा दिएको निवेदन पर्चासमेतको मूल्यांकन गरी गरेको निर्णय कानूनी त्रुटि गरी निर्णय गरेको भन्न मिल्ने नदेखिने ।

(प्र.नं. ११)

मुद्दा दोहर्‍याउने तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

रिट निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी

आदेश

     प्र.न्या. रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बकस भई आएका हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरिएबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

      २.    तथ्य यसप्रकार छ : बकसपत्र अपुतालीबाट हक भएको जग्गा बाली भराई निष्कासन गरिपाउँ भन्ने गिर्जादेवी भन्ने रत्नमायाँको फिराद वादीले लेखेको ३ऽ। जग्गा नापी हुँदा कि.नं.४१८ को २।.।। जग्गाधनी प्रकाशमान जोताहा म र कि.नं.४०३ को १।।ऽ।। बेखालाल जग्गाधनी म मोही भई कमाई आएकाले वादीको जग्गा कमाएको छैन भन्नेसमेत पूर्णकुमार समेतको प्रतिवादी भएको बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने मुद्दामा वादीको दावीको प्र.पुनकुमारबाट भरी पाउने र जग्गाबाट निष्कासन समेत हुने ठहराई ०२६।१२।३ मा भू.प्र.कार्यालय भक्तपुरबाट निर्णय गरेको रहेछ ।

      ३.    उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक प्रकाशमान समेतले दिएको रिट निवेदनमा गिर्जादेवी जग्गावाला नै नहुनाले वहाँले बाली भराई जग्गा निष्कासन गरिपाउँ भनी उजूरी दिने अधिकारी अ.बं.८२ नं. ले नहुँदा त्यस्तो बेसरोकारवालाबाट उजूरी लिई कारवाई चलाई निर्णय गर्न हुने जग्गावाला म प्रकाशमान हुँ भनी मोहीले भनेपछि म दर्तावाला तथा जग्गावाला प्रकाशमानलाई बुझ्नु पर्ने बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्तको विपरीत गर्दै जग्गाको हक बेहक सम्बन्धी निर्णय गरी बकसपत्र समेतको आधारबाट गिर्जादेवी भन्ने रत्नमायाँको हकको जग्गा ठहराएको हुनाले त्यसरी जग्गाको हक बेहक छुट्याउने अधिकार भूमिप्रशासकलाई नभएको बन्धकी र रसिद दोहरी समेतको आधारबाट जग्गा गिर्जादेवी भन्ने रत्नमायाँको ठहराएको छ लिखत कागज रसिद हाम्रा उपर प्रमाण लगाउनलाई सुनाउनु पर्ने त्यसमा नामकरण गराएपछि सद्दे ठहरेमात्र प्रमाण लगाउन मिल्नेमा त्यस्तै प्रमाण लगाएको छ त्यसरी प्राकृतिक न्याय सिद्धान्त विपरीत अधिकार क्षेत्र नाघी गरिएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्नेसमेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।

      ४.    प्रकाशमान जग्गाधनी होइन भनी निर्णय नगरिएको हुनाले निजको कुनै हक हनन भएको छैन उत्प्रेषणको आज्ञा आदेश अनाधिकार कार्यका सम्बन्धमा स्वच्छ हात लिई सबै कुरा देखाई सम्मानित अदालतमा आउनेका हकमा जारी हुने हो मुद्दाको औचित्य वा इन्साफलाई लिई रिट निवदेन गर्न पाउने होइन र कुरा दवाई अदालतबाट झुक्याउने उद्देश्य राखी झुट्टा कुरा जोडी आउनेलाई कुनै प्रकारको आज्ञा आदेश जारी हुन सक्ने होइन रिट खारेज होस् भन्नेसमेत प्रतिपक्षी भु.प्र.भूमिप्रशासन कार्यालय भक्तपुरको लिखित जवाफ ।

      ५.    प्रकाशमान पुनकुमारको एउटै रिट निवेदन अ.बं. ७२ नं. विरुद्ध छ । निवेदक मध्येको प्रकाशमान जसलाई भू.प्र.का.को फैसलामा वादी प्रतिवादी कुनै रुपमा पनि उल्लेख वा सम्मिलित नगरिएको छैन उक्त फैसला बदर गरिपाउँ भनी रिट दिने कुनै अधिकार छैन निजको कुनै हक हनन भएको छैन यदि भएको भए अ.बं.८६ नं. अन्तर्गत उजूर गर्न सक्दथ्यो । यसरी कानूनमा अन्य उपायको व्यवस्था गरिएको हुँदाहुँदै यो रिट निवेदन दिन आउने निजलाई कुनै हक अधिकार छैन रिट खारेज हुनुपर्छ भन्नेसमेत विपक्षी गिर्जादेवी भन्ने रत्नमायाँको लिखित जवाफ ।

      ६.    वादीले पक्रेको जग्गा नापी हुँदा जग्गाधनी प्रकाशमान र जोताहामा म पूर्णकुमार हुँदा प्रकाशमानलाई बाली बुझाई रसिद लिएको वादीको जग्गा कमाएको छैन भनी निवेदकले प्रतिवादी गरेको देखिन्छ यस्तो स्थितिमा मोहीले देखाएको जग्गाधनीलाई बुझी निजलाई आफ्नो कुरा भन्न पाउने मौका दिनुपर्नेमा सो मौका केही नदिई वादीको हक पुगेको छ छैन भन्ने प्रश्न उपस्थित गरी प्रमाणको मूल्यांकन गरी वादीको हक पुगेको भन्ने निर्णय गरेको देखिन्छ निवेदक प्रकाशमानलाई आफ्नो कुरा भन्न पाउने मौका नदिई निर्णय गर्नु प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल हुन गएको छ । वादीबाट पेश भएको लिखत प्रमाण प्रतिवादीलाई सुनाउनु पर्ने सो गरेको देखिंदैंन प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल र कानूनी त्रुटि गरी निर्णय गरेकोले भूमिप्रशासकको निर्णय बदर हुने ठहर्छ भन्नेसमेत डिभिजन बेञ्चबाट ०३१।५।६ मा निर्णय भएको रहेछ ।

      ७.    प्रस्तुत मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीसाथ संलग्न न्यायिक समितिको सिफारिश पर्चामा प्रकाशमानको हक जाने रहेछ भने अ.बं ८६ अन्तर्गत प्रकाशमानले उजूर गरी बदर गराउन पाउने कानूनी मार्ग पनि भइरहेकै देखिन्छ । अ.बं.८६ नं. अन्तर्गत उपचारको बाटो भएको भन्ने कुराको सिद्धान्त प्रतिपादित गरी निवेदक नरेन्द्रकुमार प्रधानसमेत र विरुद्ध कोशी अं.अ.को उत्प्रेषणको मुद्दामा डिभिजन बेञ्चबाट ०३१।३।१६ मा निर्णय भएको समेत देखिएबाट प्रस्तुत मुद्दाको निर्णयमा प्रकाशमानलाई आफ्नो कुरा भन्ने मौका नदिएको आधारबाट जारी गर्ने गरेको उक्त नजिरसँग बाझिन गएको देखिन्छ । अर्कोतिर रिट निवेदकले प्रमाणको कागज देख्न सुन्न पाउने तथा मुद्दामा असर पर्ने व्यक्ति भएको नाताले प्राकृतिक न्याय सिद्धान्त अनुकूल आफ्नो कुरा भन्न पाउने मौका आउने हकहरूबाट बञ्चित भएकोले सो हक प्रचलन गरिपाउँ भन्ने निवेदन गरेकोमा निर्णय बदर गरी दिनाले उक्त हक प्रचलन हुँदैन । निर्णय बदर गरी जो जे प्रमाण देखाउनु सुनाउनु पर्ने हो देखाई सुनाई कानूनबमोजिम निर्णय गरीदिनु भन्ने भएमात्र रिट निवेदकले दर्शाएको हक प्रचलन हुन जाने स्थिति देखिनाले सर्वोच्च अदालतले आफ्नो निर्णय जाँच्नु पर्ने भन्नेसमेत उल्लेख भएको रहेछ ।

      ८.    मुद्दा दोहर्‍याउने विपक्षी गिर्जादेवी भन्ने रत्नमायाँतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले भू.प्र.को निर्णयबाट प्रकाशमानको हक हनन भएको भए अ.बं.८६ नं. अनुसार उजूर गर्ने उपचार भएकै छ । प्रमाण कागज सुनाउनुपर्ने अवस्था छैन सुनाए पनि निर्णय गर्न पाउने अधिकार नभएकोले प्रमाणको आधारमा गरेको निर्णय सदर हुनुपर्छ बदर गरेको डिभिजन बेञ्चको मिलेको छैन भन्नेसमेत र विद्वान अधिवक्ता श्री मोहनप्रसाद शर्माले प्रकाशमानको हक नभएको भए अ.बं.८६ नं. अनुसार उजूर गर्न पाउने हुँदा रिट निवेदन दिने हक हुँदैन सर्वे गोश्वारामा रत्नमायाको जग्गा भनी निवेदन गर्ने रिट निवेदनमा प्रकाशमानको जग्गा भनी झुट्टा कुरा लेखी रिट दिएको सफा दिलले रिट दिएको नहुँदा खारेज हुनुपर्छ भन्नेसमेत र रिट निवेदक प्रकाशमानतर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले जग्गा दर्तै नभएको गिर्जादेवीले बालीमा मुद्दा गर्ने हकदैयानै नपुग्ने प्रकाशमानको जग्गा भन्ने प्रतिवादी परेपछि निजलाई बुझ्नुपर्ने बुझेको छैन निर्णयमा वादीको हकको जग्गा देखिएको भन्ने उल्लेख भएबाट जग्गाधनीमासमेत हक बेहक गरी अनाधिकार निर्णय गरेको देखिएकोले त्यस्तो निर्णय बदर गर्ने गरेको डि.बे.को सदर हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको छ ।

      ९.    यसमा निर्णयतर्फ विचार गर्दा कि.नं.४१८ को र कि.नं.४०३ को १।।.।। मध्ये ।।.।। समेत ३द्र को बाली भराई जग्गा निष्कासन गरिपाउँ भन्ने प्रतिपक्षी गिर्जादेवी भन्ने रत्नमायाँले उजूरी दिएकोमा निजको जग्गा कमाएको छैन कि.नं.४१८ को प्रकाशमानको कि.नं.४०३ को बेखालालको जग्गा भन्ने पूर्णकुमार हिराबहादुरको प्रतिवादी भएकोमा बाली भराई जग्गा निष्कासन गर्ने ठहराई प्रतिपक्षी भूमिप्रशासकले गरेको निर्णयलाई मोहीले जग्गाधनी भनी देखाएको प्रकाशमानलाई बुझी आफ्नो कुरा भन्न पाउने मौका दिनुपर्नेमा सो मौका केही नदिई कानूनबमोजिम सुनाउनु पर्ने कागज नसुनाई प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल र कानूनी त्रुटि निर्णय गरेको भनी भूमिप्रशासकको निर्णय बदर गर्ने गरी ०३१।५।६ मा डिभिजन बेञ्चले निर्णय गरेको रहेछ ।

      १०.    प्रस्तुत मुद्दामा विवाद उठेको कि.नं ४०३ को जग्गामा जग्गावाला रत्नमायाँ र बेखालाल हुनुपर्नेमा बेखालाल मात्र भई रत्नमायाँको छुट हुन गएको कि.नं.४१८ को जग्गा प्रकाशमानले आफ्नो नाउँमा दर्ता गरे बदर गरी रत्नमायाँको नाउँमा दर्ता गरी श्रेस्ता मिलाई पाउँ भन्नेसमेत रिट निवेदक हिराबहादुरको र कि.नं.४१८।४०३ को ३। अघिदेखि दाजु हिराबहादुरलाई समेत कबुलियत गराएको रत्नमायाँको हो कि.नं.४०३ रत्नमायाँ बेखालाल दुबैको हक जनाई दर्ता जनाई पाउँ भन्ने रिट निवेदक पूर्णकुमारको सर्भे डोरमा निवेदन परेको भन्ने ३ नं.सर्भे गोश्वारा अन्तर्गत ६ नं.सर्भे डोर टोलीबाट २०२३।५।२३।३ मा गरेको पर्चा नक्कलमा उल्लेख भएको पाइन्छ । त्यसरी सर्भे डोरमा प्रतिपक्षी गिर्जादेवी भन्ने रत्नमायाँको जग्गा भनी निवेदन गर्ने रिट निवदेक हिराबहादुर पूर्णकुमारले बाली भराई जग्गा निष्कासन गरिपाउँ भन्ने मुद्दामा रिट निवेदक प्रकाशमानको जग्गा भनी देखाएकोमा भूमिप्रशासकको निर्णयबाट निज प्रकाशमानको हक हनन हुन जाने भएमा मुलुकी ऐन अ.बं.८६ नं.मा उजूर गर्न पाउने अन्य उपचारको व्यवस्था भएकै देखिएको छ ।

      ११.    बाली भराई जग्गा निष्कासन गरिपाउँ भन्ने उजूरी हेरी निर्णय गर्न पाउने भूमिसम्बन्धी ऐन नियमले अधिकार प्राप्त भूमिप्रशासकले आफ्नो अधिकार क्षेत्रभित्र रही अघिदेखि कबुलियत गराई बाली खाई आएको भन्ने प्रमाण र प्रतिपक्षी गिर्जादेवी भन्ने रत्नमायाँको जग्गा भनी रिट निवदेकहरूले सर्भे डोरमा दिएको निवेदन पर्चा समेतको प्रमाणको मूल्यांकन गरी गरेको निर्णय कानूनी त्रुटि निर्णय गरेको भन्नेसमेत मिल्ने नदेखिनाले रिट निवेदक प्रकाशमान समेतको रिट निवेदन जिकिर पुग्न सक्दैन, रिट निवेदन खारेज हुने ठहर्छ रिट जारी गरी प्रतिपक्षी भूमिप्रशासकको निर्णय बदर गर्ने गरेको ०३१।५।६ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन यो आदेशको प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. वासुदेव शर्मा,

न्या. प्रकाशबहादुर के.सी.

 

इति सम्वत् २०३२ साल मार्ग २ गते रोज ३ शुभम् ।