December 17, 1975
Created by nepalarchives

निर्णय नं. ९२७ – लिखत पास

निर्णय नं. ९२७            ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत्...

निर्णय नं. ९२७            ने.का.प. २०३२

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३१ सालको दे.फु.नं. ९२

फैसला भएको मिति :      २०३२।९।२।३

निवेदक      : का.जि. डुग्रनी पानी बस्ने विष्णुप्रसाद उपाध्याय

विरुद्ध

विपक्षी : ऐ. डिल्लबजार बस्ने गु.प्रो. नरेन्द्रराज पण्डितज्यू

मुद्दा : लिखत पास

(१)   अर्काको जग्गासमेत भित्र पर्ने गरी लेखिएको किल्ला कायम राखी लिखत पास गरिदिन नहुने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी

विपक्षी तर्फबाट      : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली

फैसला

     प्र.न्या. रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा ०३०।४।८।२ को डिभिजन बेञ्चबाट छिने उपर दोहर्‍याई पाउँ भन्ने वादीको निवेदन परेकोमा यो मुद्दा एकपटक फुल बेञ्चबाट इन्साफ जाँची कानूनबमोजिम निर्णय गरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट प्रमुख सचिवालय राजदरबार मार्फत ०३१।१०।१४ को हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट इन्साफ जाँच्नको लागि यस बेञ्च समक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : चितवन पर्सा मौजाको पूर्व नयाँ खनेको नहर पश्चिम मूलबाटो सडक दक्षिण केसरीराजको जग्गा उत्तर मेरै जग्गा यति ४ किल्ला भित्रको जग्गा बिगाहा ५ को कित्ता १ र पूर्व धनी मौजा उत्तर कोमलप्रसादको जग्गा पश्चिम नयाँ खनेको नहर दक्षिण मेरै जग्गा यति ४ किल्ला भित्रको जग्गा बिगाहा १ समेत जग्गा बिगाहा ६ मलाई ०२१।७।२ मा विपक्षीले बकसपत्र गरिदिनु भएको उक्त लिखत पास गरिनदिएकोले पास गराई पाउँ भन्ने वादी ।

      ३.    वादी मेरो घरमा काम गर्ने कारिन्दा भएकोले निजले लेखी ल्याएको ४ किल्ला ठीकै होला भनी सही गरिदिएपछि जग्गामा गई हेर्दा सावित्रीदेवीको जग्गा बीचमा पारी निजको जग्गा नै नभएको झै गरी आफ्ना ४ किल्लामा पारेको देखिएकोले अर्काको नाउँको जग्गा मैले लेखिदिन लोप गराउन समेत नहुने हुँदा कागज फेरि दिएर पास गरी दिन्छु भन्दा वादीले मन्जुर नगरेकोले अर्काको नाउँमा दर्ता रहेको जग्गा मैले पास गरिदिन मेरो हक नभएकोले र सो जग्गा मेरो नभएकोले अर्काको जग्गा पर्न जाने हुँदा सो लिखत पास गरिदिन मन्जुर छैन भन्नेसमेत प्रतिवादी ।

      ४.    नरेन्द्रराजले लेखिदिएको जग्गा निज नरेन्द्रराज दर्ताको होइन सावित्रीदेवी दर्ता १५ बिगाहा मध्येको जग्गाको हो सो जग्गा मेरो नाउँमा दर्ता भई तिरो भोग गरिआएको छु नरेन्द्रराज दर्ताको जग्गा सावित्री दर्ता जग्गादेखि उत्तरमा छ लोग्ने नरेन्द्रराजसँग ०२० सालदेखि छुट्टि बेगल बसेकी म सावित्री दर्ताको जग्गा नरेन्द्रराजको हक पुग्नै नसक्ने र निजले दिने लिन पाउने कुरै होइन भन्नेसमेत पेटवोलीबाट बुझिएकी सावित्रीदेवीको बयान ।

      ५.    प्रतिवादीको प्रतिउत्तरबाट कागज गरिदिएको देखिएको तर भइआएको नक्साबाट ४ किल्ला प्रष्ट हुन नआएको दर्ता बुझ्दा नरेन्द्रराजका नाउँमा जग्गा बिगाहा ९द्र।४ सावित्रीको नाउँमा जग्गा बिगाहा ।२।।३ दर्ता भएको भन्ने चितवन मालबाट जवाफ प्राप्त भएको हुनाले वादीले बक्सपत्रबाट पाएको भनी फिरादमा दावी लिएको जग्गा दर्ता बुझ्दा मालबाट आएको जवाफमा नरेन्द्रराजको दर्ताको जग्गा मिल्न नआई फरक पर्न आएको देखिनाले सहीछाप गरिदिएको हो भनी प्रतिवादीले प्रतिउत्तरमा लेखेतापनि दर्ता मिल्न नआएकोले लिखतपास गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने का.जि.अ.को फैसला ।

      ६.    सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ७.    सावित्रीदेवीको जग्गा किल्ला भित्र परेको देखिनाले समेत त्यस्तो लिखत पास हुन्छ भन्न परेको हुनाले इन्साफ सुरुको मुनासिव छ भन्ने बा.अं.अदालतको ०२९।७।१३ को फैसला ।

      ८.    सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ९.    सावित्रीदेवीको जग्गासमेत किल्लाभित्र परेकोले सो लिखत पास गरिदिन नपर्ने भन्ने प्रतिवादीको इन्कार पेटवोलीबाट बुझिएकी सावित्रीदेवीको जिकिर समेतबाट बुझिंंदा ७ कठ्ठा १३ धुर जग्गा मध्येबाट भन्दै सो भित्रको जग्गा बिगाहा ५ समेत गरी ६ बिगाहा जग्गाको बकसपत्र गराई लिएको सो बमोजिम दर्ता नदेखिएको नक्साबाट ४ किल्ला पनि नमिलेको र सो भित्र सावित्रीदेवीको जग्गा पनि देखिन आएकोले बकसपत्र पास गराई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको सुरु जिल्ला अदालतको इन्साफ सदर गरी बागमती अञ्चल अदालतले छिनेको इन्साफ मुनासिव छ लिखत पास गराई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत २०३०।४।८।३ को डिभिजन बेञ्चको फैसला ।

      १०.    यस बेञ्च समक्ष निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले लिखतमा बढसमेत भन्ने जनिएकैले लिखत बमोजिम पुरै ६ बिगाहामा हक गर्न पाउने नै हुँदा लिखत कानूनले पास गर्न नमिल्ने होइन लिखत गरिदिएमा प्रतिवादी सावितै हुनुहुन्छ किल्लाभित्र सावित्रीदेवीको जग्गा परेकै भए पनि सो किल्ला सच्याई पास गर्न कानूनले मिल्ने नै हुनाले दावी बमोजिम लिखत पास हुनुपर्छ भन्नेसमेत र प्रतिवादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले रजिष्ट्रेशन पास गर्नलाई रजिष्ट्रेशनको १७ नं. अनुसार दिनेको हक पुगेको प्रमाण चाहिन्छ मालले दिएको जवाफबाट लिखतमा उल्लेख भएबमोजिम दर्ता मिल्न नआएको र लिखतको किल्लाभित्र सावित्रीदेवीको जग्गासँग परेकोले त्यस्तो लिखत कानूनले पास हुन सक्दैन भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको ।

      ११.    यसमा वादी प्रतिवादी दुबै पक्षको दावी जिकिर र विद्वान अधिवक्ताहरूको बहस जिकिर समेतलाई ध्यानमा राखी हेर्दा दावी बमोजिमको राजीनामा लिखत रजिष्ट्रेशन पास हुन सक्ने नसक्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ । वादी दावीको लिखत हेर्दा उपेन्द्रराजबाट मैले खरिद गरी लिई पास गराई लिएको बिगाहा ।२।।३ र त्यसको बढसमेत मध्येबाट २ कित्ता गरी जम्मा ६ बिगाहा बकसपत्र गरिदिएको भन्ने उल्लेख भएको पाइन्छ । उपेन्द्रराजबाट प्रतिवादी नरेन्द्रराजले राजीनामा गरी लिएको दर्ता बमोजिमको जग्गा ।२।।३ मात्र देखिन आएको बढ भनेको जग्गा दाता नरेन्द्रराजका नाममा दर्ता भई निजको हक पुगिसकेको देखिन नआएको र रजिष्ट्रेशनको १७ नं.मा जग्गा जमीनको रजिष्ट्रेशन गर्दा जुन जग्गाको लिखत हुने हो सो जग्गामा दिनेको हक पुगेको प्रमाण वा तिरो तिरेको रसिद बेगर रजिष्ट्रेशन गर्न गराउन हुँदैन भन्ने कानूनी व्यवस्था भएकोले दाताकै दर्ता हक भइनसकेको बढ भनेको जग्गा हक हस्तान्तरण गरी अरू कसैलाई लिखत गरिदिन र त्यस्तो लिखतबाट पाउने हक हुनै नसक्नेसमेत हुँदा उक्त रजिष्ट्रेशनको १७ नं. ले दावीबमोजिम ६ विगाहाकै लिखत रजिष्ट्रेशन पास गरिदिन मिल्ने देखिएन । उपेन्द्रराजको राजीनामाबाट प्रतिवादी नरेन्द्रराजको हक पुगेको दर्ताबमोजिमको ।२।।३ मात्र प्रतिवादी नरेन्द्रराजले हक हस्तान्तरण गरी अरूलाई लिखत गरिदिन पाउनेमा साविक पोत रु.५।७४ मध्ये पोत रु.२।४६ तिरोको भन्ने उक्त बकसपत्र लिखतमा बोली परेकोले सो तिराको दामासाहीबाट द्र३। सम्ममात्र हक गर्न पाउने गरी दावीको लिखत रजिष्ट्रेशन पास गरिदिन मिल्ने देखिन्छ । किल्लाको हकमा सावित्रीदेवीको जग्गासमेत भित्र पर्ने गरी किल्ला लेखिएकोले त्यस्तो लिखत रजिष्ट्रेशन पास गरिदिन मञ्जुर छैन भन्ने प्रतिवादी इन्कार भएको र दक्षिण केसरीराजको जग्गा भन्ने किल्ला लेखिएकोमा उपेन्द्रराजले नरेन्द्रराजलाई कृष्णकुमारीले सावित्रीदेवीलाई केसरीराजले प्रफुल्लराजलाई परस्पर गरिदिएको राजीनामा लिखतबाट उपेन्द्रराजले नरेन्द्रराजलाई राजीनामा गरिदिएको जग्गाको दक्षिण कृष्णकुमारीले सावित्रीलाई राजीनामा गरिदिएको जग्गा सो देखि दक्षिणमा प्रफुल्लराजले केसरीराजलाई राजीनामा गरिदिएको जग्गा पर्ने देखिन आएकोले दावीको लिखतमा दक्षिण केसरीराजको जग्गा भन्ने उल्लेख भएको किल्ला भित्र सावित्रीदेवीको जग्गा पर्नआउने प्रष्टै भएको र सो किल्ला फरक लेखिन गएको भन्ने कुरालाई वादीतर्फका विद्वान अधिवक्ताले पनि हाल बहसमा स्वीकार गर्नुभएको समेत हुँदा त्यस्तो अर्काको जग्गासमेत भित्र पर्ने गरी लेखिएको किल्ला कायम राखी लिखत पास गरिदिन भएन, मुख्य प्रतिवादी नरेन्द्रराजलाई उपेन्द्रराजले गरिदिएको राजीनामा लिखतमा पूर्वपट्टि हानी पश्चिम सडक उत्तर ५ नं. को कित्ता दक्षिण कृष्णकुमारीको जग्गा भन्ने ४ किल्ला लेखिएकोले दक्षिण कृष्णकुमारी भन्ने ठाउँमा कृष्णकुमारीबाट राजीनामा लिने सावित्री देवीको जग्गा र अरू ३ कित्ता उपेन्द्रराजको राजीनामा बमोजिमकै कायम राखी सो ४ किल्लाभित्रको उपेन्द्रराजले नरेन्द्रराजलाई राजीनामा गरिदिएको दर्ता बमोजिमको कठ्ठा ।२।।३ मध्ये केही जग्गा अरूलाई हक छाडी दिइसकेको दर्ताबाट देखिंदा नरेन्द्रराजको हकमा रहेको मध्येबाट कठ्ठा ऽ३। सम्म मात्र वादीले हक गर्न पाउने व्यहोरा जनाई दावीको लिखत रजिष्ट्रेशन पास हुने ठहर्छ पुरै लिखत रजिष्ट्रेशन पास हुन नसक्ने ठहराएको ०३०।४।८।२ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

वादीको पूरै दावी कायम नभएकोले वादीले राखेको कोर्टफी प्रतिवादीबाट भराई दिई रहनुपरेन………….१

यस फैसला बमोजिम वादी दावीको ०२१।७।२ को बकसपत्र लिखत रजिष्ट्रेशन पास गरिपाउँ भनी दण्ड सजायको ४४ नं. को म्याद ६ महिनाभित्र वादी विष्णुप्रसादको दर्खास्त पर्न आएकोमा उपेन्द्रराजको रजिनामाबाट नरेन्द्रराजको हक भएको पूर्वपट्टि हानि पश्चिम सडक उत्तर ५ नं. को कित्ता दक्षिण कृष्णकुमारीबाट राजीनामा लिने सावित्रीदेवीको जग्गा यति ४ किल्लाभित्रको दर्ता बमोजिमको ।२।।३ मध्ये नरेन्द्रराजको हकमा रहेको मध्येबाट द्र३। सम्ममात्र वादीले हक गर्न पाउने व्यहोरा जनाई ऐनको रीतपुर्‍याई उक्त लिखत रजिष्ट्रेशन पास गरिदिनु भनी चितवनमाललाई लेखी पठाउनेगरी लगत कस्नु भनी चितवन जि.अ.लाई लेखी पठाउन का.जि.अ.तहसिलमा लगत दिनु…………………२

बागमती अञ्चल अदालतका तत्कालिन अञ्चल न्यायाधीश हरिहरलाल राजभण्डारीको इन्साफ उल्टिको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु……………..३

नियमबमोजिम मिसिल बुझाई दिनु………………४

 

हामीहरूको सहमती छ ।

 

न्या. विश्वनाथ उपाध्याय,

न्या. सुरेन्द्रप्रसाद सिंह

 

 

इति सम्वत् २०३२ साल मार्ग २ गते रोज ३ शुभम् ।