January 16, 1976
Created by nepalarchives

निर्णय नं. ९२६ – जग्गा खिचोला

निर्णय नं. ९२६      ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको...

निर्णय नं. ९२६      ने.का.प. २०३२

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३१ सालको दे.फु.नं. ८६

फैसला भएको मिति : २०३२।१०।२।३

निवेदक      : भ.पु. जि. बालकुमारी वा.नं. ५ बस्ने नारायणबहादुर जगलु श्रेष्ठ

विरुद्ध

विपक्षी : भ.पु.जि. ठिमी बहाखा बजार बस्ने दिनानाथ थापा श्रेष्ठको मु.स.गर्ने धर्मनाथ थापा श्रेष्ठको सकार गर्ने रमेश थापा श्रेष्ठ

मुद्दा : जग्गा खिचोला

(१)   प्रतिवादी जिकिरबाट जग्गा हक बेहकको प्रश्न उठेको र त्यसको निर्णय नगरी मोहियानी हक बेहकको निर्णय गर्न नमिल्ने भएमा प्रचलित अन्य कानूनअन्तर्गत सम्बन्धित पक्षले अदालतमा छुट्टै नालिस गरी हक बेहकको निर्णय गराई ल्याउनुपर्ने ।

 (प्रकरण नं. ११)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता वासुदेव ढुङ्गाना

विपक्षी तर्फबाट      : अधिवक्ता रामगोपाल श्रेष्ठ

फैसला

     न्या. वासुदेव शर्मा

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : लहरमायाँका नाममा दर्ता १० नं.मौजे इडोल साविक कि.नं.२४०४ को रोपनी ।।.।। र जनकबहादुरको नाममा दर्ता भएको कि.नं.२४०५ को रोपनी ।।.।। समेत हालको नापीमा दधिकोट गा.पं.वार्ड नं. ९ बाट कि.नं.२७०७ मा नापी भई फिल्डबुकमा समेत म जोताहा लेखी सहीछाप गरिसकेको मेरो मोहियानी हकको जग्गामा ०२२।३।९ गते प्रतिवादी दिनानाथले मेरो धानको बीउमाथि बीउ मिसाई ऐ.२७ गते धान रोपी खिचोला गरे खिचोला मेटाई मेरो मोहियानी हक कायम गरिपाउँ भन्ने वादी ।

      ३.    साबिक कि.नं.५१ को हेरामायाँले बाली नबुझाई बाँकी राखेबाट ०८ सालमा लिलाम हुँदा मैले सकार गरेको रोपनी ३।।। हनुमन्ते खोला कुसल भैरवथली र इडोल मौजाको सीमानामा भई पछि साविक ठाउँ छाडी धेरै उत्तरमा बगी मेरो ५१ नं. को जग्गा हनुमन्तेदेखि दक्षिणतर्फ पर्न गएकोले १५ सालको नापीमा इडोल नं. २९७ बाट र हालको नापीमा १० नं. इडोल कि.नं. २७०६।२७०७९ नं. देवडोल कि.नं.१२४४ समेतमा नापी भएको छ । न.नं. २७०७ को जग्गा वादीको मोहियानी हक र निजको बाबु आमाको नाउँको दर्ता होइन भन्ने प्रतिवादी ।

      ४.    जुन जग्गामा खिचोला गरे भनी दावी गरेको छ सो जग्गामा प्रतिवादीले खिचोला गरे भनी जनकबहादुर वादी भई यिनै प्रतिवादी दिनानाथसमेत उपर जग्गा खिचोला मुद्दा १ लुटपिट मुद्दा १ समेत दायर गरी कारवाही चलिरहेको जग्गातर्फ सो परिरहेको मुद्दाबाटै टुड्डो लाग्ने हुँदा त्यसतर्फ विचार गर्न नपर्ने र वादीले यो फिरादपत्रमा दावा लिनु भएको जग्गा वादीका नाउँको दर्ता नभई लहरमायाँ जनकबहादुरका नाउँको दर्ता तिरोको जग्गामा निज वादीले जग्गावालाबाट मैले यस किसिमले हक टुटाई लिएको छ भनी सबूत केही पेश दाखिल गर्न नसकेकोले जग्गावालाको हक टुटेको सबूत बेगर सो दावीको जग्गामा वादीको हक लाग्न सक्ने कानूनी व्यवस्था नहुँदा त्यस्तो हक नपुगेको उजूरीबाट दायर भएको यो फिरादबाट इन्साफ तहिकात गरिरहन नहुने हुनाले बुझिएसम्मबाट हक पुगेको सबूत बेगरको उजूरीको यो मुद्दा अ.बं.८२ नं. ले खारेज हुने ठहर्छ भन्ने २०२४।९।७।६ को भक्तपुर जिल्ला अदालतको फैसला ।

      ५.    सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ६.    शुरु जिल्ला अदालतबाट जनकबहादुरले यही जग्गाको खिचोला मुद्दा दायर गरी किनारा भएकोले वादी दावी खारेज हुने भनी खारेज गरेको देखिएको र सो जग्गा मुद्दामा जग्गा खिचोला गरेको फैसला भएको र वादी मोही होइन भन्ने कुराको सबूत प्रतिवादीबाट गुज्रन नआएकोले वादी दावी खारेज गर्ने गरेको सुरुको इन्साफ मनासिव भन्न मिलेन अब जग्गामा खिचोला गरेको हो होइन भन्नेतर्फ वादी जनकबहादुर भएको जग्गा मुद्दामा खिचोला गरेको ठहरी फैसला भएको र वादीको मोहियानी हक छैन भन्न प्रतिवादीले नसकेकोले वादी दावी बमोजिम खिचोला गरेको ठहर्छ भन्ने २०२७।१२।२५।४ को बा.अं. अ. को फैसला ।

      ७.    बा.अं.अ.ले हदमुनी गरी छिनेको पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिने आदेश भई बा.अं.अ.को इन्साफ उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावदेन परेको ।

      ८.    वादीले दावी गर्दा लहरमायाँका नाउँमा दर्ता भएको साविक २४०४ को रोपनी ०।१०।२ जनकबहादुरका नाउँमा दर्ता भएको साविक २४०५ को रोपनी ०।१०।० समेत हाल नापी हुँदा कि.नं.२७०७ मा मेरो नाउँमा मोहियानी दर्ता भएको जग्गामा खिचोला गरे भन्ने वादीको दावी देखिन्छ । जग्गाधनी भनी देखाएको कि.नं.२४०४ को लहरमायाँको उजूर नपरेको र कि.नं.२४०५ को हकमा जग्गाधनी देखाएको जनकबहादुरको उजूर परेको मुद्दामा जनकबहादुरको दावी बमोजिम खिचोला गरेको नठहराई आजै फैसला भएकोले १ जना जग्गाधनीको उजूरै नपरेको र १ जना जग्गाधनीले गरेको उजूरमा प्रतिवादीहरूले खिचोला गरेको ठहरिन नआएकोले सोही जग्गाको मोहियानीमा प्रतिवादीहरूले खिचोला गरेको भनी भन्न न्यायसङ्गत हुन आएन । तसर्थ मोहियानीमा खिचोला गर्‍यो भनी प्रतिवादीहरूको उपर वादीले छुट्टै उजूर गरेको र अञ्चल अदालतले गल्ती इन्साफ गरेको ठहर्छ भन्ने २०३०।९।१८।४ को डिभिजन बेञ्चको फैसला ।

      ९.    प्रस्तुत मुद्दा दोहरर्‍याई दिनेबारे बकस भई आएको हुकूम प्रमांगीको साथमा रहेको न्यायिक समितिको पर्चा व्यहोरामा मोहियानी हक सम्बन्धी मुद्दा हेरी निर्णय गर्ने अधिकार भू.सु.वि.अ.भइरहेकोले उक्त भू.सु.वि.अ.बाट किनारा हुनुपर्नेमा आफ्नो अधिकार भित्रको विषयमा कारवाई किनारा गर्न भ.पु.जि.अ.मा पठाएको र भ.पु.जि.अ. बाट पनि निर्णय गर्दै अन्ततोगत्वा सर्वोच्च अदालतबाट पनि वादी दावीको मोहियानी हकतर्फ मौन रही जग्गा हक बेहक मुद्दाको रुप कायम गरी निर्णय हुन गएको देखियो । मोहियानी हक खिचोला मुद्दालाई एकातिर पन्छाई वादी दावीमा उल्लेख नै नभएको जग्गा हक बेहकको प्रश्न उठाई सर्वोच्च अदालतसम्म त्यही विषयको मात्र निर्णय हुँदा वादी दावीको मोहियानी हक मुद्दा निर्णय हुन बाँकी नै रहन गयो । सर्वोच्च अदालतको उक्त भू.सु.वि.अ.ल.पं.भ.पु.को पर्चातर्फ ध्यान गएको नदेखिनाले मुद्दा जस्ताको तस्तै अधुरो रही वादी कानूनी उपचारबाट बञ्चित रहन गएको देखियो । मोहियानी खिचोला मुद्दा हेरी निर्णय गर्न ०२५।९।१६ को राजपत्रमा प्रकाशित संशोधित नियम २५ अनुसार भु.सु.अधिकारीलाई अधिकार हुँदा सम्बन्धित अधिकारीद्वारा निर्णय हुन पठाउन पर्ने नपठाई वादीलाई कानूनी उपचारबाट बञ्चित गरेको सर्वोच्च अदालतको इन्साफ त्रुटिपूर्ण देखियो भन्नेसमेत उल्लेख भएको।

      १०.    यस बेञ्च समक्ष निवेदक तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुङ्गानाले दावीको जग्गा मेरो पक्षको मोहियानी हक भन्ने प्रष्टै देखिएको छ आफू मोही भई कमाएको जग्गाको खिचोला गरेकोमा नालिस नलाग्ने अवस्था नभएको र आफ्नो हकै नपुग्ने जग्गा मेरो भनी दावी गर्ने प्रतिवादीले खिचोला गरेको होइन भन्ने नमिल्नेसमेत हुँदा दावी बमोजिम खिचोला गरेको कायमै भई मेरो पक्षको मोहियानी हक कायम हुनुपर्छ भन्नेसमेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले मोहियानीमा कमाएको जग्गामा खिचोला उठेकोमा मोहीको उजूर लाग्न सक्तैन डिभिजन बेञ्चले खारेज गरेको कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुंभयो ।

      ११.    यसमा १० नं.इडोल मौजाको साविक कि.नं.२४०४ को रोपनी ।।.।। लहरमायाँको र कि.नं २४०५ को रोपनी ।।.।। जनकबहादुरको समेत म मोही भई कमाएको जग्गामा खिचोला गर्न आएकोले खिचोला मेटाई मेरो मोहियानी हक कायम गरिपाउँ भन्ने मुख्य दावी भएको यो मुद्दा पहिले भू.सु.वि.अ.ललितपुर, भक्तपुरमा दायर भएकोमा जग्गा मेरो भन्ने प्रतिवादी जिकिर देखिनाले जग्गाको हक बेहक नगरी मोहियानी खिचोलामा कारवाही गर्न नमिल्ने हुँदा हक बेहकतर्फ कारवाई किनारा गर्न भनी उक्त भू.सु.वि.अ.ले मिसिल भ.पु.जि.अ.मा पठाई अदालतबाट तहतह निर्णय हुँदै आएको रहेछ । अदालतबाट भएका निर्णयहरू हेर्दा जग्गामा वादीको हक नदेखिएकोले खारेज हुने ठहर्छ भनी भ.पु. जि.अ.ले जग्गा हक बेहकमा र वादीको मोहियानी हक छैन भन्न प्रतिवादीले नसकेकोले वादी दावीबमोजिम जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भनी बा.अं.ले १ जना जग्गाधनीको उजूरै नपरेको र जनकबहादुरले १ जनाको उजूर परेकोमा प्रतिवादीले खिचोला गरेको नठहरेकोले मोहियानीमा खिचोला गर्‍यो भनी वादीले झुट्टा उजूर गरेको ठहर्छ भनी डिभिजन बेञ्चले मोहियानी हकमा निर्णय गरेको देखिन्छ । पहिले भू.सु.वि. अ.मा नालिस परेको यस मुद्दाबाट अदालतले जग्गा हक बेहकसमेतको निर्णय दिन मिल्ने नमिल्ने अधिकारक्षेत्र सम्बन्धी प्रश्न उपस्थित भएकोले सर्वप्रथम उक्त प्रश्न उपर नै विचार गर्नुपर्ने हुन आएको छ । तत्सम्बन्धमा हेर्दा प्रस्तुत मुद्दा भूमिसम्बन्धी ऐन, २०२१ को थप दफा ३१ (क) अन्तर्गतको हो भन्ने कुरामा विवाद नभएको र तत्काल प्रचलित उक्त दफा ३१ (क) मा यस्ता मुद्दाको निर्णय तोकिएको अदालतबाट हुने व्यवस्था गरिएकोले तत्काल तोकिएको भू.सु.वि.अ.कै अधिकारक्षेत्रभित्र पर्न आउने प्रष्टै छ । प्रतिवादी जिकिरबाट जग्गा हक बेहकको प्रश्न उठेको र त्यसको निर्णय नगरी मोहियानी हक बेहकको निर्णय गर्न नमिल्ने भएमा प्रचलित अन्य कानून अन्तर्गत सम्बन्धित पक्षले अदातलमा छुट्टै नालिस गरी हक बेहकको निर्णय गराई ल्याउनुपर्ने विषय हो । भूमिसम्बन्धी ऐन अन्तर्गत तोकिएको अदालतको अधिकार क्षेत्र भित्रको यस मुद्दाबाट अदालतले हक बेहकको निर्णय दिन नमिल्ने र मोहियानी हक बेहकको निर्णय दिने कुरा अदालतको अधिकार क्षेत्र भित्रको नभएकोले जग्गा हक बेहक अथवा मोहियानी हकसमेत अदालतले निर्णय दिन मिल्ने देखिँदैन । तसर्थ जग्गा हक बेहकमा कारवाई किनारा गर्न भनी प्रस्तुत मिसिल भू.सु.वि.अ.ललितपुर, भक्तपुरले, भ.पु.जि.अ.मा पठाई अदालतबाट तहतह निर्णय गर्दै ल्याएकोसमेत कानूनअनुरुप नदेखिंदा भ.पु.जि.अ., बा.अं.अ.र डिभिजन बेञ्च समेतको फैसला अ.बं.३५ नं.बमोजिम बदर हुने ठहर्छ । यही जग्गासमेत खिचोलामा जनकबहादुर श्रेष्ठको नालिस परेको मुद्दामा आजै यस बेञ्चबाट भएको फैसलासमेतलाई ध्यानमा राखी प्रस्तुत वादी दावीको मोहियानी हक सम्बन्धी विवादमा कानूनबमोजिम निर्णय गरी दिनु भनी दुबै पक्षलाई तारेख तोकी सुरु मिसिल हाल तोकिएको भूमिप्रशासन कार्यालय भक्तपुरमा पठाई दिनु, अरू तपसीलबमाजिम गर्नु ।

 

तपसील

प्रतिवादी दिनानाथको मुद्दा गर्ने सकार धर्मनाथ थापा श्रेष्ठले सर्वोच्च अदालतमा ०२८।६।१९ मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।१३ डिभिजन बेञ्चको ०३०।९।१८।४ को फैसलाले वादीनारायणबहादुर जगलु श्रेष्ठबाट भराई दिने गरेको लगत काटी दिनु उक्त कोर्टफी रु.१।१३ नलाग्ने हुँदा कोर्टफी ऐन, २०१७ को दफा १७ बमोजिम ३ वर्ष भित्र फिर्ता लिन आएमा निज धर्मराजथापालाई कानूनबमोजिम फिर्ता दिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु……………..१

वादी नारायणबहादुर श्रेष्ठले मुद्दा दोहर्‍याउँदा ०३१।९।१८।४ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रु.।७५ नलाग्ने हुँदा कोर्टफी ऐन, २०१७ को दफा १७ बमोजिम ३ वर्षभित्र फिर्ता लिन आएमा कानूनबमोजिम फिर्ता दिनु भन्ने ऐ.ऐ……..२

०३०।९।१८।४ को डिभिजन बेञ्चको फैसलाले तत्कालिन बा.अं.अ.का न्या.हरिहरलालको उल्टीको रेकर्ड राख्ने गरेको लगत काटिदिनु…………………….३

देहायको मानिसको आफ्नो अधिकार क्षेत्र नभएको मुद्दा हेरी छिनी ऐन छाडी काम गरेको रेकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु………………..४

तत्कालिन वा.अं.अ.का न्या.हरिहरलाल राजभण्डारी १

निय बमोजिम मिसिलबुझाई दिनु …………………….५

 

हामीहरूको सहमती छ ।

 

न्या. हेरम्बराज,

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३२ साल मार्ग २ गते रोज ३ शुभम् ।