निर्णय नं. ९२५ – जग्गा खिचोला
निर्णय नं. ९२५ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको...
निर्णय नं. ९२५ ने.का.प. २०३२
फुल बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३१ सालको दे.फु.नं. ८५
फैसला भएको मिति : २०३२।१०।५।६
निवेदक : भ.पु. जि. बालकुमारी गा.पं. वा.नं. ५ बस्ने जनकबहादुर जगलु श्रेष्ठ
विरुद्ध
विपक्षी : ऐ.ऐ. बहाखा बजार बस्ने दिनानाथ थापा समेत
मुद्दा : जग्गा खिचोला
(१) आफू मोही भई कमाएको भनेको जग्गाको मोहियानी हकसम्मको खिचोला गर्यो भन्ने नभई जग्गामा खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने दावी भएको जग्गा खिचोला गर्यो भन्ने कुरामा अ.बं. ८२ नं. बमोजिम जग्गामा हक पुग्ने जग्गाधनीको नालिस उजूर चाहिने । आफूलाई मोहियासम्म देखाएको वादीको नालिस लाग्न र उक्त नालिसबाट जग्गा हक बेहक समेतको निर्णय दिन नमिल्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता वासुदेव ढुङ्गाना
प्रतिवदी तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ
फैसला
न्या. वासुदेव शर्मा
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : पूर्व पश्चिमबाटो उत्तरबाटो दक्षिण कुलोबाटो यति ४ किल्ला भित्रको १० नं.मौजे इडोल मौजाको २००२।४।२२ को खड्गनिशानाबाट मेरो नाममा दर्ता भएको १५ सालको नापीमा उक्त १० नं. इडोल (क) मौजाको नं. २९७ एकै कित्ता कायम भई नापी भएको नम्बर २४०५ को रोपनी ।।२ मेरो दर्ता तिरो तिरान जोत र कृष्णमायाँबाट कमाएको कि.नं. २४०४ को रोपनी ।।.।। औ ९ नं.देवडोलको पुनकुमारबाट कमाएको नं. ५३ को रोपनी ३ समेत जग्गामा ०२१।४।२९ गते दोहरो धान गोडी खिचोला गरे खिचोला मेटाई पाउँ भन्ने वादी ।
३. नं.२४०५ को रोपनी ।। मात्र नभई रोपनी १।।।२ सिंहबहादुरको दर्ता भोगमा थियो । २००२।४।२२ को खड्गनिशानले रोपनी । वादीको हुन गएको छ । नं. २४०४ को रोपनी ।।२ कृष्णमायाँको होइन कृष्णमायाँबाट लहरमायाँले ०२१।२।२० मा राजीनामा पास गराई लिइसकेकी छिन् । कि.नं.५३ को भनेको रोपनी ३ होइन रोपनी ५ हो । नं. २४०४ को सहित वादीको कुनै पनि जग्गासँग मेरो कुनै प्रकारको सम्बन्ध नहुँदा दावी मुताविक मैले केही गरेको छैन । मेरो कि.नं. ५१ को जग्गा पनि त्यहाँ छ । उक्त जग्गामा फिरादबाट दावा गरेको नदेखिएकोले केही लेखिरहनु परेन । बेमतलबले वादीको जग्गामा हात हाल्नु कुनै कारण छैन भन्नेसमेत प्रतिवादी ।
४. पुनकुमारको भनेको ५३ नं. को रोपनी ३ पुनकुमारबाट यस मितिमा मैले कबुलियत गरी लिई बाली बुझाएको रसिद भरपाई छ भन्न पेश गर्न नसकेको कृष्णमायाँको भनेको नं.२४०४ को जग्गा कृष्णमायाँबाट लहरमायाले २१।२।२० गते राजीनामा पास गराई लिएको लहरमायाँबाट हक टुटाई लिएको सबूत नदेखिएकोले वादीको हकको रहेछ भन्न नहुने र नं.२४०५ को हकमा सो जग्गामा मेरो कुनै सम्बन्ध छैन भनी प्रतिवादीले जिकिर लिएको भए पनि यिनै प्रतिवादी मध्येको दिनानाथ उपर यसै जग्गामा खिचोला गरे भनी नारायणबहादुरले दिएको मुद्दाको प्रतिवादीमा ३१ नं.कुशल भैरव थली मौजाको जग्गामा हनुमन्ते खोला पसी ९ नं.देवडोलमा परी ०८ सालमा मैले लिलाममा लिई भोग गरेको भन्दै वादी दावाको जग्गामा मेरो जग्गा छ भनी दावी गरेको देखिन आएकोले त्यस्तो वादीका नाउँमा दर्ता भई तिरोभरो चलिरहेको जग्गालाई वादीको हक टुटेको सबूत छ भनी पेश गर्न प्रतिवादीले नसकेकोले उक्त नं.२४०५ को कित्तामा प्रतिवादीले खिचोला गरेको र नं.५३ को र नं.२४०४ को कित्तामा वादी दावी नपुग्ने ठहर्छ भन्नेसमेत भक्तपुर जि.अ.को ०२४।९।७ को फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने दुबै पक्षको पुनरावेदन ।
६. नं.२४०५ को जग्गा रोपनी ।।२ वादी जनकबहादुरको नाउँमा दर्ता भएको सो दर्ता उपर उजूर गरी बदर गराउन प्रतिवादीले नसकेको र वादी दावाको जग्गासँग मेरो कुनै सम्बन्ध छैन भनी यस मुद्दाको प्रतिवादीमा जिकिर लिएको वादी नारायणबहादुर भएको जग्गा मुद्दामा भने यही जग्गा मेरो ३१ नं.कुशल भैरव थली मौजाको भनी दावी लिएको देखिएकोबाट यसतर्फ खिचोला गरेको होइन भन्न उचित नदेखिएकोले नं.५३ को रोपनी ३ र नं.२४०४ को रोपनी ।।.।। तर्फ पुनकुमार कृष्णमायाँको जग्गा नै होइन भन्न नसकेको भू.सु.कार्यालयले दधिकोट गाउँ पञ्चायतलाई लेखेको पत्रबाट जनकबहादुर सो जग्गाको मोही हो भन्ने प्रष्ट भएको वादी गुलाव नानी प्रतिवादी यिनै जनकबहादुर समेत भएको जग्गा खिचोला मुद्दामा इडोल र भैरव थली मौजा बेग्ला बेग्लै गरी फैसला भएको देखिएकोले समेत सुरुको हक पुगेको प्रमाण बेगर वादी दावा पुग्न नसक्ने भनी गरेको इन्साफ मिल्न नआएकोले वादी दावी बमोजिम तीनै कित्तामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतको ०२७।१२।२५।४ को फैसला ।
७. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।
८. नं. ५३ को जग्गा पुनकुमारसँग कबुलियत भरपाई लिखत छ भनी देखाउन नसकेको सो जग्गा मैले नै भोग गरिआएकोले २१ सालको नापी हुँदा बालकोट गा.पं. वार्ड नं.९ कि.नं. १२४९ मा रोपनी ।४।३।२ कायम भई मोही र जग्गाधनी समेत आफ्नै नाउँमा दर्ता भई भोग गरेको छु । वादीलाई मोहियानीमा कमाउन दिएको छैन भनी पुनकुमारले बयान गरेको कि.नं.२४०४ कृष्णमायाँ दर्ताको मोही भई मेलै कमाएको भनी दावी गरेको सो जग्गा कृष्णमायाँबाट लिई कमाएको सबूत वादीले दाखिल गर्न नसकेको कृष्णमायाले ०२१।२।२० गते लहरमायाँलाई राजीनामा गरिदिएको देखिएको यो फिराद दर्ता हुनुभन्दा अगावै राजीनामा भइसकेको जग्गालाई जग्गाधनी हक कृष्णमायाँकै देखाई फिराद गरेको साँचो देखिन नआउने र लहरमायाँलाई बुझ्न झिकाउँदा वादी जनकबहादुरकै वारिस भई गरेको बयानबाट निज लहरमायाँ वादीको श्रीमती भन्ने देखिएको लहरमायाँले राजीनामा लिएको नं. २४०४ र आफ्नो नाममा दर्ता भएको भनेको नं. २४०५ को जग्गा हाल नापीमा दधिकोट गा.पं.वार्ड नं. ९ कि.नं. २७०७ मा एकै कित्ता नापी गराएको भनी बयान गरेकोबाट हाल नापीको कि.नं.२७०७ मा झगडा परेको देखिने २४०४ को हकमा जग्गाधनी लहरमायाँको दावी उजूर नभएको वादीले मोहियानी हक प्राप्त गरेको लिखत निस्सा नदेखिएको नं. २४०५ को हकमा सो जग्गा २००२ सालको खड्गनिशानाबाट वादी जनकबहादुरले हक पाएको सो जग्गा ०४।४।१६।३ मा छुट्याई वादीलाई चलन चलाई दिंदा सिंहबहादुरको जग्गा मध्येबाट चलन दिएको वादीले दावी गरेको जग्गाको साँधमा सिंहबहादुरको जग्गा पनि हुनुपर्नेमा सिंहबहादुरको जग्गा साँधमा देखाउन नसकी अर्को साँध किल्ला हाली दावी गरेको देखिन आएकोले समेत प्रतिवादीले खिचोला गर्यो भन्ने वादी दावा साँचो देखिन आएन । वादी दावी झुट्टा र अञ्चलअदालतको इन्साफ गल्ती ठहर्छ भन्ने ०३०।९।१८।४ को डिभिजन बेञ्चको फैसला ।
९. प्रस्तुत मुद्दा दोहर्याई दिनेबारे बक्स भएको हुकूम प्रमांगीको साथमा रहेको न्यायिक समितिको पर्चामा यो मुद्दाको प्रतिवादी उपर वादी नारायणबहादुरले दिएको फिरादबाट चलेको मुद्दामा सर्वोच्च अदालतको निर्णय दोहर्याई पाउँ भन्ने नारायणबहादुरको निवेदन परी दोहर्याउने सिफारिश भएकोले प्रस्तुत मुद्दामा झगडा परेको जग्गा र नारायणबहादुरको निवेदनमा उल्लेख परेको जग्गा एकै सम्बन्धको देखिंदा यो मुद्दा पनि दोर्याउनुपर्ने भन्नेसमेत उल्लेख भएको ।
१०. यस बेञ्चसमक्ष निवदेनतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुङ्गानाले कि.नं.५३।२४०४ को जग्गाको मोही मेरो पक्ष भन्ने देखिएकै छ त्यस्तोमा मेरो पक्षको दावी नपुग्ने भन्न मिल्ने होइन नं.२४०५ को कित्ताको हकमा विपक्षीले मेरो भनी यस मुद्दामा जिकिर लिन सकेको छैन नारायणबहादुरसँगको मुद्दामा मेरो भन्ने जिकिर लिएको भए पनि प्रतिवादीले लिलाममा सकार गरेको कुशल भैरव थलीको जग्गा र यो वादी दावीको नं.२४०५ को कित्ता इडोल मौजाको भई मौजा फरक भएको हनुमन्ते खोला सरेको भनी साविक जग्गा मिच्नेको ३ नं.बमोजिम खोला वारीकाले पारीको जग्गामा दावी गर्न नपाउने समेत हुँदा जग्गा मेरो पक्षको भन्ने देखिएकै छ दावीअनुसार खिचोला गरेको कायम हुनुपर्छ भन्नेसमेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले पुनकुमारको भनेको नं.५३ को कित्तामा हालको नापीमा मोहीसमेत पुनकुमार नै कायम भई दर्ता भएको र नं.२४०४ को कित्तामा कृष्णमायाको हकै नभएकोले पुनकुमार कृष्णमायाँको जग्गा कमाएको भनी खिचोलामा वादीको नालिस लाग्न सक्ने अवस्थै छैन नं.२४०५ को कित्ताको हकमा सिंहबहादुरको मध्येबाट वादीले पाएको भएपछि दुबै जनाको जग्गा एकै साँधमा हुनुपर्ने सो नभएकोले वादीको जग्गा मेरो पक्षको भन्ने देखिएकै छ, डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
११. यसमा २००२।४।२२ को खड्गनिशानाबाट मेरा नाउँमा दर्ता भएको १० नं.इडोल मौजाको कि.नं. २४०५ को रोपनी ।।२ र म मोही भई कमाएको कृष्णमायाँको सोही मौजाको कि.नं.२४०४ को रोपनी ।।.।। पुनकुमारको देवडोल मौजाको कि.नं. ५३ को रोपनी ३ समेत जग्गामा प्रतिवादीले दोहरो धान गोडी खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने वादीको मुख्य दावी भएको यो मुद्दा रहेछ । कि.नं. २४०४ कृष्णमायाँको भनेको लहरमायाँले राजीनामा लिइसकेको देखिएको रोपनी ।।.।। र कि.नं. ५३ पुनकुमारको भनेको रोपनी ३ को हकमा आफू मोही भई कमाएको भनेको जग्गाको मोहियानी हकसम्ममा खिचोला गर्यो भन्ने नभई जग्गैमा खिचाला गरेकोले खिचोला मेटाई पाउँ भन्ने वादीको दावी भएको यस्तो जग्गा खिचोला गरे भन्ने कुरामा अ.बं. ८२ नं. बमोजिम जग्गामा हक पुग्ने जग्गाधनीको नालिस उजूर चाहिने आफूलाई मोहीयासम्म देखाएको वादीको नालिस लाग्न र वादीको नालिसबाट जग्गा हक बेहक समेतको निर्णय दिन नमिल्ने हुँदा उक्त कि.नं.२४०४ कि.नं.५३ को हकमा अरू कुरा विचार गरिरहनु परेन कि.नं. २४०५ को हकमा दावी अनुसार वादीकै नाममा दर्ता भएको भु.प्र. मालबाट जवाफ दिइएका समेत हुँदा वादीको नालिस दावी लाग्न सक्ने सो कित्तामा दावी बमोजिम खिचोला गरे नगरेको के हो ? सो कुराको निर्णय दिनुपर्ने भई त्यसतर्फ हेरेमा यही कि.नं. २४०५ को समेत म मोही भई कमाएको जग्गामा खिचोला गरे भनी नारायणबहादुरले यो भन्दा पछि दिएको मुद्दाको प्रतिवादीमा कुशल भैरव थली मौजाको साविक मोही हेरामायाँको २००८ सालमा तिरो बाँकीमा लिलाम हुँदा मैले सकार गरी लिएको साविक कि.नं. ५१ को हनुमन्ते खोला बगेको साविक ठाउँ छाडी धेरै उत्तरबाट बगेकोले हनुमन्तेदेखि दक्षिणतर्फ पर्न गएको मेरो जग्गा भनी प्रतिवादीले जिकिर लिएको भए पनि एकतः वादी दावीको कि.नं. २४०५ साविक इडोल मौजाको र प्रतिवादीले मेरो भनेको कि.नं. ५१ कुशल भैरव थली मौजाको भई मौजा र जग्गा नै खोला वारी पारी फरक फरक भएको नक्शाबाट देखिएको अर्को कुरा यो मुद्दाको प्रतिवादीमा वादी दावीको कुनै पनि जग्गासँग मेरो कुनै प्रकारको सम्बन्ध नहुँदा दावी मुताविक मैले केही गरेको छैन मेरो कि.नं.५१ को जग्गा पनि त्यहाँ छ र उक्त जग्गा फिरादबाट दावी गरेको नदेखिएकोले सो विषयमा केही लेखिरहन दरकार परेन भन्नेसम्म जिकिर लिएको वादीले ४ किल्लासमेत खुलाई कि.नं. २४०५ मेरो दर्ताको भनी दावी गरेको जग्गा कि.नं.५१ को मेरो भनी प्रतिवादीले जिकिर लिन नसकेको दावी बमोजिम ४ किल्ला भित्रको जग्गा वादीको इडोल मौजाको कि.नं.२४०५ कै रहेछ भन्ने प्रष्ट हुन आएको छ सो जग्गामा प्रतिवादीले खिचोला गरेको नभए त्यसै खिचोला गरे भनी आफ्नो जग्गामा आफैले विवाद उठाई वादीले झुट्टा नालिस गर्नुपर्ने कारण केही नदेखिएको र उपरोक्त नारायणबहादुरसँगको खिचोला मुद्दाको प्रतिवादीमा जग्गा मेरो भनी जिकिर लिने प्रतिवादीले खिचोला गरेन होला भन्न नमिल्ने समेत हुँदा दावीबमोजिम खिचोला गरेकै देखिन्छ । तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट कृष्णमायाँको भनेको लहरमायाँले राजीनामा लिइसकेकी देखिएको कि.नं.२४०४ र पुनकुमारको भनेको कि.नं. ५३ को हकमा अ.बं. ८२ नं. बमोजिम वादीको नालिस लाग्न नसक्ने हुँदा खारेज हुने र वादीको दर्ता हकको कि.नं.२४०५ को हकमा प्रतिवादीले खिचोला गरेको ठहराएको इन्साफ सुरु भ.पु.जि.अ. को मुनासिव ठहर्छ, कि.नं. २४०५ कि.नं. ५३ समेतमा इन्साफ तहकिकात गरी वादी दावीको तीनै कित्तामा खिचोला गरेको नठहराएको ०३०।९।१८।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।
तपसील
वादी जनकबहादुर जगलु श्रेष्ठ के निजले नालेश गर्दा राखेको कोर्टफी रु.३०। सुरु उपर बा.अं.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३। मुद्दा दोहर्याउँदा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रु.३। समेत जम्मा रु.३६। मध्ये २ कित्ताको हकमा वादीको नालेश लाग्न सक्ने भई खारेज हुने ठहराएको वादीले जितेको १ कित्ताको हकमा दामासाहीबाट पार्न आउने रु.१२। देहायका प्रतिवादीबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५(११) बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु………….१
दिनानाथ श्रेष्ठबाट हाल मुद्दा सकार गर्ने रमेश श्रेष्ठबाट रु.६। जगतबहादुर श्रेष्ठबाट रु.६।
ऐ.ऐ.के निजले राखेको माथि १ दफा बमोजिम जम्मा कोर्टफी रु.३६। मध्ये २ कित्ताको हकमा वादीको नालिसै लाग्न नसक्ने भई खारेज हुने ठहरेकोले सो २ कित्ताको हकमा दामासाहीबाट पर्न आउने रु.२४। मध्ये नालिस दस्तुर रु.१। कट्टा गरी बाँकी रु.२३। निजले नै फिर्ता पाउने हुँदा कोर्टफी ऐन, २०१७ को दफा १७ बमोजिम ३ वर्ष भित्र फिर्ता लिन आएमा कानूनबमोजिम फिर्ता दिनु भनी ऐ.ऐ…………………….२
प्रतिवादी दिनानाथको मुद्दा सकार गर्ने धर्मनाथ थापा श्रेष्ठले बा.अं.अ.र सार्वोच्च अदातलमा समेत पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३६।७५ डिभिजन बेञ्चको ०३०।९।१८।४ को फैसलाले वादी जनकबहादुरबाट भराई दिने गरी दिएको लगत काटी दिनु । सो रु.३६।७५ मध्ये २ कित्ताको हकमा वादीको नालिसै लाग्न नसक्ने ठहरेकोले दामासाहीबाट पर्न आउने रु.२४५० नलाग्ने हुँदा कोर्टफी ऐन, ०१७ को दफा १७ बमोजिम ३ वर्षभित्र फिर्ता लिन आएमा निज धर्मनाथको सकार गर्ने रमेश थापा श्रेष्ठलाई फिर्ता दिनु भनी ऐ.ऐ………………….३
डिभिनजबेञ्चको ०३०।९।१८।४ को फैसलाले बा.अं.अ.का तत्कालिन अं.न्या.हरिहरलाल राजभण्डारीको पुरा उल्टीको रेकर्ड राख्नेगरेको लगतकाटी केही उल्टीसम्मको रेकर्ड राख्न स.अ.प्रशासन शाखामा सूचना दिनु…………………..४
शुरु भ.पु.जि.अ.को फैसला बमोजिमको लगत बा.अं.अ.को फैसलाले र वा.अं.अ.का फैसला बमोजिम लगत डिभिजन बेञ्चको फैसलाले कट्टा गरीसकेको हुँदा ती कलमहरूमा यहाँ उल्लेख गरिरहनु परेन………………….५
भ.पु.जि.अ.को पत्र बमोजिम रोक्का रहेको ०३१।७।२७ को मुचुल्का बमोजिम धान मुरी ३।११ बा.अं.अ.को फैसलाले प्रतिवादी जनकबहादुरलाई र डिभिजन बेञ्चको फैसलालाई प्रतिवादी धर्मनाथलाई फुकुवा गरिदिने गरेकोमा सोअनुसार गर्नुपर्दैन, उक्त फुकुवा गरिदिने गरेको डिभिजन बेञ्चको फैसला बमोजिमको लगत काटी दिनु रोक्का हुँदा यो यो कित्ताको यो यति भनी नखुलाई समुच्चा रोक्का राखेको देखिंदा उक्त धान मुरी ३।११ मध्ये माटो मुरीको दामासाहीबाट कि.नं.२४०५ को हकमा पर्न आउने जति वादी जनकबहादुरलाई र कि.नं.२४०४ कि.नं.५३ को हकमा हक पुग्नेलाई कानूनबमोजिम फुकुवा गरिदिनु भनी दधिकोट गाउँपञ्चायतलाई सुरु भ.पु.जि.अ.ले लेखि पठाई दिनु…………………७
नियमबमोजिम मिसिल बुझाई दिनु…………………..८
मेरो सहमती छ ।
न्या. विश्वनाथ उपाध्याय
न्या. हेरम्बराजको राय
बा.अं.अ.बाट ०२७।१२।२५ मा फैसला भएको वादी जनकबहादुर प्रतिवादी दिनानाथ जगतबहादुरसमेत उपरको जग्गा मिच्नेको १८ नं. अन्तर्गत दावीको मिसिल पढी हेर्दा ।
१. ०१५ सालको नापीमा १० नं.इडोल मौजा (क) कि.नं.एकै कित्ता भई नत्थी भएको १० नं.इडोल धान ।१५।५ गहुँ ।२।६।६ तिरानको नं.२४०५ को ।।२ जग्गामा वादीले विवाद देखाएकोमा प्रतिवादीको रुपबाट हक बेहकको प्रश्न उपस्थित नभई जिल्ला अदालतको अधिकार क्षेत्रभित्र पर्न आएको देखिन्छ ।
२. पुनकुमारबाट कमाएको ९ नं.देवडोल कि.नं.५३ को रोपनी ३ का हकमा पुनकुमारले वादीलाई जग्गा कमाउन दिएको छैन भनी इन्कारी बयान गरेको कारणले मोहियानी हक वादीले प्राप्त गरेको छैन भन्ने प्रश्न उपस्थित हुन आएको हुँदा भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ ले थप दफा ३१(क) अन्तर्गतको मुद्दा हुन गई तोकिएको अधिकारीले हेर्नुपर्र्ने देखिन आएको छ ।
३. कृष्णमायाँबाट कमाएको न.नं.२४०४ को धान मुरी वा तिराको ।।.।। हकमा कृष्णमायाँबाट लहरमायाँले राजीनामा गराई लिइसकेको भन्ने व्यहोरा मिसिलबाट देखिन आएपनि वादीको मोहीया हक होइन भन्ने कुरामा कसैको विरोध नपरेको हुनाले यस्तो मुद्दा कसको अधिकारक्षेत्र भित्र पर्न आउँछ भनी विचार गर्नुपरेको छ । फिरादपत्रमा जग्गा मिच्नेको १८ नं. अन्तर्गत हदम्याद भित्र वादीले फिराद गर्न आएको र दोहरो खेत गडी खिचोला गर्यो भन्ने फिरादपत्रमा दावी लेखिएको हुँदा मोहीले चलन गर्न पाउने कलममा जग्गावालाको हकमा खिचोला पर्न आएको भनी छुट्याउनु परेको छ । जब जग्गामा जग्गावालाले पाउने हकमा अरूको खिचोला गरेको भनी मोही हुँ भनी दावी गर्ने वादीले फिराद गरेको छैन भने जग्गावालाको हकमा उजूर परेको भनी देखिन आएन, लगाई रहेको बाली गोडी प्रतिवादीले खिचोला गरेकोबाट वादीले उठाउन पाउने बालीबाट नै खिचोला उपस्थित हुन आएकोले मोहीको उजूर मनासिव देखिन आउँछ । मोहीले आफूले उठाउन पाउने बाली भएको जग्गामा प्रतिवादीहरूले खिचोला गरे भनी उजूर सुन्ने अधिकारीको बारेमा अध्ययन गरी हेर्दा जब मोहीया हकमा खिचोला परेको छैन जब जग्गावाला वा निजतर्फका मानिसले मोहीलाई निष्कासन गर्नेसमेत काम गरेको छैनन् भन्ने मोहीले अरू प्रतिवादीका नाउँमा नालिस गर्ने अदालत जिल्ला अदालत नै हो । तत्काल प्रचलित न्यायप्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ४ अनुसार भूमिसम्बन्धी ऐन अन्तर्गत उजूर नसुनिने कलममा जिल्ला अदालतबाट हेरिने प्रष्ट छ ।
अतः माथिको प्रकरणमा उल्लेख भएबमोजिम पुनकुमारबाट कमाएको भनेको कि.नं.५३ को हकमा भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को थप दफा ३१(क) बमोजिम हाल तोकिएको भूमिप्रशासकको अधिकार क्षेत्र भित्र पर्ने हुँदा यस मुद्दाबाट निर्णय दिन मिलेन वादीले आफ्नै दर्ताको भनेको कि.नं.२४०५ को रोपनी ।।.।। र कृष्णमायाँबाट कमाएको भनेको कि.नं.२४०४ को रोपनी ।।.।। का हकमा दावीको जग्गासँग मेरो कुनै प्रकारको सम्बन्ध नहुँदा दावी मुताविक मैले केही गरेको छैन भन्ने प्रतिवादीको जिकिर भए पनि नारायणबहादुरले दिएको जग्गा खिचोला मुद्दामा दिएको प्रतिवादी लेखाइबाट जग्गामा कचमच उठाएकै देखिएकोसमेत हुँदा दावी बमोजिम वादीको भोगमा प्रतिवादीले खिचोला गरेकै ठहर्छ । कि.नं.५३ मा समेत इन्साफ ठहर गरी तिनै कित्तामा वादीको उजूर झुट्टा ठहराएको डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन यस बेञ्चका सहयोगीमा मा.न्या.हरूको रायसँग मेरो राय सहमत नभएकोले आफ्नो राय छुट्टै व्यक्त गरेको छु।
इति सम्वत् २०३२ साल मार्ग ५ गते रोज शुभम् ।