January 3, 1976
Created by nepalarchives

निर्णय नं. ९२४ – अंश

निर्णय नं. ९२४            ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१...

निर्णय नं. ९२४            ने.का.प. २०३२

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३१ सालको दे.फु.नं. ८७

फैसला भएको मिति : २०३२।९।१९।६

निवेदीका : पद्मावती उपाध्यायको मुद्दा सकार गर्ने तारादेवी उपाध्याय

विरुद्ध

विपक्षी : ऐ.ऐ. सतो ज्ञादीचौर बस्ने जि. इन्द्रप्रसाद उपाध्याय पौडेल समेत

मुद्दा : अंश

(१)   बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको हक स्थापित हुने हुनाले मुद्दा चल्दा चल्दै बकस दिनेको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र बमोजिम निजको अंश भागको दैयादार बकस पाउने मानिने र निजले तत्कालिन अ.बं.१७४,६२ नं.बमोजिम सकार गर्न पाउने ।

(प्र.नं. २२)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ र अधिवक्ता मुकुन्द रेग्मी

विपक्षी तर्फबाट      : अधिवक्ता कृृष्णप्रसाद घिमिरे

फैसला

     न्या. वासुदेव शर्मा

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारीशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भएका हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

      २.    तथ्य यसप्रकार छ : हरिप्रसाद र म नाबालखदेखि इलम गर्न गई घरको व्यवहार वा वारदाजु इन्द्रप्रसादले गरिआएको ९९ सालमा बाबा परलोक भई सबै व्यवहार दाजु इन्द्रप्रसादकै भएको २००० साल मार्गमा घरमा आएपछि म बेवरजित अन्याय दुबै जनाले कारोबार गर्ने जत्रतत्र गर्ने गरी मलाई खान लाउन नदिई अंशसमेत नदिएकोले अंश दिलाई पाउँ भन्नेसमेत वादी ।

      ३.    बाबा नारानदत्तको जेठा दाजु देवीप्रसाद माहिलो म साहिलो वादी कान्छा हरिप्रसाद समेत ४ छोरा १ नाल हाम्रो आमातर्फ भइ अरू नालपट्टि छोरीहरू मात्र भएको ०७ सालमा देवीप्रसाद परलोक भई विधवा भाउजू रहनु भएको वादी ९० सालमा घरमा आउनु भएको बाबा परलोक भएपछि ढुकुटीको ताला वादीले नै लिई व्यवहार गरी आउनु भएको आमा भाउजूसमेत अंशियारै नदेखाई उजूर गरेको ६ जवान अंशियार हुँदा ६ बण्डाको १ बण्डा निजको छुट्याई पाउँ भन्नेसमेत इन्द्रप्रसादको प्रतिवादी ।

      ४.    दाजु बाबुले लाए अराएको काम गरी हिंड्ने म जिम्मा केही छैन भन्नेसमेत ना.सु.हरिप्रसादको प्रतिवादी ।

      ५.    प्रतिवादीबाट तायदाती लिने पर्चा भए उपर अपील तह चल्दै जाँदा प्रतिवादीले देखाएको अंशियार बुझेको र मानु छुट्टिएको मिति कायम गरेकोसमेत नदेखिएकोले बुझ्नु पर्ने बुझी मानो छुट्टिएको मिति कायम गरी तायदाती लिई बण्डा गरी दिनु भन्नेसमेत स.अ.डिभिजन बेञ्चको ०१५।८।१९ को फैसला ।

      ६.    नारानदत्तको जेठी जमुना, माहिली वादी प्रतिवादीकी आमा प्रभावती कान्छी म पद्मावतीसमेत ३ घरवारमा जेठीपट्टि छोरी मात्र भई माहिलीपट्टि ४ छोरामध्ये जेठा देवीप्रसाद अघि नै परलोक भएको विधवा बुहारी भएकी वादी प्रतिवादीको आमा ०४ सालमा र जेठी जमुना नालिस परेपछि प्रतिवादी पर्नुभन्दा अगावै ०३ सालमा परलोक भएकोले हाल ५ अंशियार छौं भन्नेसमेत पद्मावती र सोही मिलानको तिलकुमारी समेतको एउटै बयान ।

      ७.    मानो छुट्टिएको मिति २००२।९।२८ गते कायम गरी सो दिनभन्दा अघिल्ला दिनसम्मको श्री सम्पत्तिको तायदाती लिने ठहरभई सो अनुसार इन्द्रप्रसादबाट तायदाती लिई फाँट दाखिल भएको बुझ्नुपर्ने अंशियारका नाउँमा म्याद पठाउँदा प्रभावती मरिसकेकी वादी प्रतिवादीको कान्छी आमा पद्मावती भाउजू तिलाले अंश नभएको हाम्रो अंश छुट्याई पाउँ भनेका र अंश नभएको अंसियार प्रमाणित हुन आएकोले समेत प्र.इन्द्रप्रसादले बण्डा हुने भनी देखाई लेखी दिएको घर जग्गा असामी समेत जम्मा बिगो रु.२५९०९।५१ को जेथा जग्गाको ५ भागको १ भाग प्र.इन्द्रप्रसादबाट वादीले अंश पाउने ठहर्छ भन्नेसमेत स्याङ्जा जि.अ.को ०२०।२।२० को फैसला ।

      ८.    चित्त बुझेन भन्ने वादीको र प्रतिवादी ना.सु.हरिप्रसादसमेतको छुट्टाछुट्टै पुनरावेदन।

      ९.    ऐनमा घरको लेनदेन गर्न जानकारसँग तायदाती लिने भन्ने लेखिएको वादी प्रतिवादीहरूमा घरको व्यवहार यसैले गर्ने भन्ने लिखतपत्र भएको केही देखिँदैन । उमेर पुगेको जानकार आमा छोरा दाजु भाइहरू मुख्य हुने र यस मुद्दामा नालिस गर्नुभन्दा अघि मानो छुट्टिएको नदेखिएको पछि सबै अंशियारलाई तायदाती लिई आउनु भनी म्याद तोकी दिई तायदाती दिन ल्याएमा लिई कानूनबमोजिम गर्नुपर्ने गरेको नदेखिएको हुँदा सबै अंशियार वादी प्रतिवादीलाई झिकाई तायदाती दिने बाहेकका अरू ४ अंशियारसँग तायदात लिई कानूनबमोजिम गर्नु वेरितसँग भएको फैसलालाई मान्यता दिन नमिल्ने भन्नेसमेत पाल्पा जिल्ला अदालतको ०२०।११।१२ को फैसला ।

      १०.    चित्त बुझेन भन्ने वादी र प्रतिवादी ना.सु.हरिप्रसाद समेतको छुट्टाछुट्टै पुनरावेदन ।

      ११.    इलाका अदालतको फैसलाले ५ अंशको १ अंश पाउने अंशियार ठहरेकोले परिरहेको मुद्दाबाट मेरो अंश भरी भराउ गरिपाउँ भन्नेसमेत पद्मावतीले चढाएको बिन्तिपत्रमा लेखिए बमोजिम गर्न मिल्छ मिल्दैन रायसमेत पठाउनु भन्ने बक्स भएका हुकूम प्रमांगी बमोजिम राय लेखिगएको समेत व्यहोरा जाहेर हुँदा ऐनले यिनले पनि अंश पाउने हुन र बण्डा पत्रमा भाग छुट्टाएको छ भन्ने ऐन नियमले जे जति दस्तुर लाग्ने हो लिई अंश दिलाई दिनु भन्ने हु.प्र.बक्स भई आएको व्यहोरा पेश हुँदा हुकूम प्रमांगीको व्यहोरासमेत बेञ्चमा पेश गरिदिनु भन्ने ०२१।५।१०।३ को सिंगलबेञ्चको आदेश ।

      १२.   सबै अंशियारबाट तायदाती लिनुपर्ने भए ऐनबमोजिम लिई इन्साफतर्फ समेत पद्मावतीको हकमासमेत उक्त हुकूम प्रमांगी बमोजिम गर्नु भनी तारेखमा रहेको वादीको वारेसलाई तारेख तोकी आइन्दा यस्तो नहोस् भनी जि.अ.पाल्पामा पठाई दिनु भन्नेसमेत २०३१।८।२९ को स.अ. डिभिजन बेञ्चको फैसला ।

      १३.   पद्मावती परलोक भएकी हकदार म हुँ सकार गरिपाउँ भन्ने वादी डि.विष्णुप्रसाद, पद्मावती मेरो आमा हुँदा बकसपत्रबाट मेरो हक हुन आएको हुँदा सकार गरिपाउँ भन्ने तारादेवी र मेरा नाममा सकार गराइपाउँ भन्नेमा ना.सु.हरिप्रसाद र इन्द्रप्रसादको निवेदन परेकोमा पद्मावतीको मुद्दा सकार गर्न पाउने दैयादार तारादेवी देखिएकोले निजलाई सकार गराई तारेख टुटाई दिनु भन्ने गण्डकी अं.अदालतको ०२३।७।२४ को आदेश ।

      १४.   बण्डा हुने गोश्वारा धनमाल श्रीसम्पत्ति नभएको भन्ने ना.सु.हरिप्रसाद, तारादेवी र मैले फाँट दिन नपर्ने गरिपाउँ अरू ऋणधन छैन भन्ने डि.विष्णुप्रसाद, गोश्वारा चल अचल श्रीसम्पत्ति केही छैन भन्ने तिलकुमारीसमेतको निवेदन रहेछ ।

      १५.   पद्मावती ५ अंशियार मध्येको १ अंशियार कायम देखिएकोले बक्स भई आएको हुकूम प्रमांगी बमोजिम यसै मुद्दाबाट पद्मावतीको हकमा अंश छुट्याई दिनुपर्नेमा निज परलोक भई पद्मावतीको मुद्दा सकार गर्ने शेषपछिको बकसपत्रवाला तारादेवी देखिन आएकोले ५ भागको १ भाग रु.५१८१।९० विष्णुप्रसादले र ५ भागको १ भाग रु.५१८१।९० पद्मावतीको भाग शेषपछिको बकस पाउने तारादेवीले अपुतालीको २ नं. अनुसार हकवालाले पाउने बाहेक अरू कानूनबमोजिम इन्द्रप्रसादबाट अंश पाउने ठहर्छ भन्नेसमेत गण्डाकी अञ्चल अदालतको ०२९।३।२६ को फैसला ।

      १६.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी विष्णुप्रसाद र तारादेवी, हरिप्रसादसमेतको छुट्टाछुट्टै पुनरावेदन ।

      १७.   वादी विष्णुप्रसादको दावी बमोजिम ५ भागको १ भाग अंश छुट्याई दिने गरेको सुरुको सदरगरेको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिव छ । पद्मावतीको बक्स पाउने तारादेवीलाई हु.प्र.बमोजिम १ भाग यसैबाट छुट्याईदिने गरेतर्फ पद्मावती वादी भई फिराद गरेको नदेखिएको पद्मावतीले चढाएको बिन्तिपत्र हु.प्र.बमोजिम जाहेर हुँदा अहिले पनि अंश पाउने र बण्डापत्रमा भाग छुट्याईएको छ भने ऐन नियमले जति दस्तुर लाग्ने हो लिई अंश दिलाई दिनु भन्नेसमेत हुकूम प्रमांगी बक्स भई आएको हुनाले सो प्रमांगी बमोजिम पद्मावतीको अंश यसै मुद्दाबाट भरीभराउ गरिदिनलाई अ.बं.९१ नं.बमोजिम बिन्तिपत्र चढाउने पद्मावतीको नाउँमा म्याद पठाई झिकाउन पद्मावतीको मृत्यु भइसकेको र शेषपछिको बक्सपत्रवाला छोरी तारादेवीको हकमा हुकूम प्रमांगी भएको नदेखिएको हुकूम प्रमांगी पाउने पद्मावतीको मृत्यु नहुँदै बिन्तिपत्रमा बक्स भएका हुकूम प्रमांगीको अ.बं.९० बमोजिम कारवाई भई सनाखत भइसकेको भए अ.बं.१७४ बमोजिम शेषपछिको बकसपत्रवाला छोरी पद्मावतीको सकार गर्ने अवस्था पर्न आउने थियो तर पद्मावतीले निवेदनपत्र सनाखत गरी करवाई भई नसक्दै मृत्यु भइसकेको हुनाले प्रस्तुत मुद्दाबाट पद्मावतीको छोरी तारादेवीको दावी खडा हुन नसकेको हुँदा प्रस्तुत मुद्दाबाट पद्मावतीको छोरी तारादेवीलाई १ भाग अंशबण्डा दिलाउने गरेको गण्डकी अञ्चल अदालतको इन्साफ मिलेको नदेखिएकोले यसतर्फ केही उल्टी हुने ठहर्छ भन्नसमेत ०३०।८।८।३ को डिभिजन बेञ्चको फैसला रहेछ ।

      १८.   प्रस्तुत मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीको साथ संलग्न न्यायिक समितिको सिफारिस पर्चामा अ.बं.९१ को व्यवस्था हेर्दा अड्डाबाट म्याद पठाउने कुरामा ऐनले म्यादैसमेत किटिदिएको देखिन्छ भने सो बमोजिम म्याद जारी नगरेको कारणबाट अदालतको कर्तव्य घट्न जाने होइन कि झन् बढ्न जाने भएकोले पक्षको मृत्यु भए पनि यस्तो कर्तव्य पूरा गर्न अदालतले इन्कार गर्न मिल्ने देखिँदैन । पक्षको मृत्यु भए पनि निजको दैयादारले टाँस म्यादभित्र मुद्दा सकार गर्न पाई निजको दावी यथावत खडा रहने व्यवस्था भएको र त्यस्तो बकस पाउने दैयादारले सम्बन्धित पक्षलाई प्राप्त हुने सबै प्रकारको हक सुविधाहरू उपभोग गर्न पाउने हुँदा डिभिजन बेञ्चको तर्क मिल्ने देखिँदैन हुकूम प्रमांगी बमोजिम पद्मावतीले यसै मुद्दाबाट अंश छुट्याई लिन पाउने कुरा प्रस्टै छ भने पद्मावतीबाट बकस पाउने छोरी तारादेवीले माथि लेखिए बमोजिम मुद्दा सकार गर्न पाउने नै भई रीतपूर्वक सकारी सकेकोबाट समेत पद्मावतीको हक सुविधाहरू सबै यसै मुद्दाबाट पाउनुपर्नेमा दावी नपुग्ने भनी फैसला गरिदिएकोले प्रमांगी र पक्षको अधिकारको विपरीत हुनुको साथै अंश लिन अर्को मुद्दा गरी झगडामा जे लिनुपर्ने अवस्था खडा गरिएको देखिन्छ भन्नेसमेत उल्लेख भएको रहेछ ।

      १९.    उपस्थित निवेदक तारादेवीतर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र अधिवक्ता श्री मुकुन्द रेग्मी समेतले ठाडो बुझ्ने आदेश भएकोमा नयाँ मुद्दा खडा गरिने भएको त्यस्तोमा अ.बं.९१ नं. अनुसारको व्यवस्था लागू हुने हो प्रस्तुत मुद्दामा पद्मावतीको हकमा पनि यसै मुद्दाबाट बण्डा छुट्याई दिने हुकूम प्रमांगी भएको हुँदा ठाडो बुझिने नभएकोले अ.ब.९१ नं. अनुसार म्याद पठाउनुपर्ने अवस्था छैन । पद्मावती मरेपनि निजले दिएको निवेदनमा भएको हुकुमको प्रमांगीको सहुलियत समाप्त नहुने निजको दैयादार तारादेवीले पाउने हुँदा र पद्मावती अंशियार र निजको भागसमेत कायम गरेको हुँदा पद्मावतीको १ भाग तारादेवीले पाउने गरेको अञ्चल अदालतको इन्साफ सदर हुनुर्पछ भन्नेसमेत र विपक्षी डि.विष्णुप्रसादतर्फको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले बकसपत्र लेखि दिन स्त्री अंशधनको २ नं.दानदातव्यको १ नं. ले आफूले पाईसकेको हुनुपर्छ । सो नभई पद्मावतीले पाउनु नै बाँकीमा तारादेवीलाई बकस दिएकै कानूनी छैन पद्मावतीले आफ्नो बिन्तिपत्रमा बक्स भएको हुकूम प्रमांगी बमोजिम कारवाई गराई मागेको छैन भने निज झगडिया नै कायम नभएकोले निजको हकमा तारादेवीले सकार गर्न पाउने होइन हु.प्र.को सुविधा तारादेवीले नपाउने हुनाले डिभिजनको सदर हुनुपर्छ भन्नेसमेत अरू प्रतिवादीतर्फको विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेतीले पद्मावतीले दिएको निवेदन बमोजिम निजले कारवाई नै नगरेको निज झगडिया नै नभएकोमा तारादेवीले सकार गर्न नपाउने हुँदा यस मुद्दाबाट पद्मावतीको अंश छुट्याई दिन मिल्ने होइन भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको छ ।

      २०.   यसमा ०३०।८।८ को डिभिजन बेञ्चबाट निर्णय हुँदा पद्मावतीले मेरा अंश पनि यसै मुद्दाबाट छुट्याई पाउँ भनी निवेदनपत्र चढाएकीमा निजको अंश दिलाई दिनेसमेत हुकुमप्रमांगी बक्स भएको तर अ.बं.९१ बमोजिम म्याद पठाई झिकाउन निज पद्मावतीको मृत्यु भइसकेको र पद्मावतीको सनाखत भइसकेको भएमात्र शेषछिको बकसपत्रवाला तारादेवीले सकार गर्न पाउनेमा पद्मावतीले निवेदनपत्र सनाखत गरी कारवाई भई नसक्दै निजको मृत्यु भइसकेकोले यस मुद्दाबाट तारादेवीको दावी खडा हुन नसक्ने भन्नेसमेत आधारमा पद्मावतीको छोरी तारादेवीलाई ५ भागको १ भाग अंश दिलाउने गरेको गण्डकी अञ्चल अदातलको इन्साफ उल्टी गरी छिनेकोमा दोहर्‍याई पाउँ भन्ने तारादेवीको निवेदनपत्र परी न्यायिक समितिको सिफारिसमा दोहर्‍याई दिने हुकूम प्रमांगी बमोजिम बक्स भएको रहेछ खास गरी पद्मावतीले चढाएकी निवेदनपत्रमा हुकूम प्रमांगी बमोजिम कारवाईको लागि उक्त निवेदनपत्रको सनाखत गराउनुपर्ने हो होइन ? सनाखत गर्न नपाउँदै निवेदक पद्मावतीको मृत्यु भएकोमा बकसपत्रवाला तारादेवीको मुद्दा सकार गर्न पाउने नपाउने र पद्मावतीको अंश भाग तारादेवीलाई दिलाई दिनुपर्ने नपर्ने के हो ? यी प्रश्नहरू विवाद ग्रस्थ रुपमा खडा भएकोले उक्त प्रश्नहरू उपर नै मुख्य रुपले निर्णय दिनुपर्ने हुनआएको छ ।

      २१.   जहाँसम्म निवेदनपत्रको सनाखत गराउने कुरा छ त्यसको सम्बन्धमा डिभिजन बेञ्चको फैसलामा मुख्य आधार लिएको अ.बं.९१ नं.मा श्री ५ को सरकार वादी हुने बाहेक अरू ठाडो बुझ्नुपर्ने कुराको निवेदनपत्रमा ठाडो बुझ्ने आदेश भई आएकोमा ओदश दाखिल भएको ३ दिन भित्र निवेदनको नाउँमा ७ दिने म्याद पठाई म्यादभित्र हाजिर हुन आएमा आदेश बमोजिम कारवाई गर्नुपर्ने म्यादभित्र हाजिर हुन आएन वा हाजिर भई मैले निवेदनपत्र चढाएकै होइन भनेमा कारवाई गर्नु नपर्ने व्यवस्था भएको पाइन्छ । पद्मावतीको जुन निवेदनपत्र छ त्यो ठाडो बुझ्नुपर्ने कुराको र ठाडो बुझ्ने प्रमांगी बक्स भएको नभई अरू अंशियारहरूको बीचमा पहिले नै परिराखेको अंश मुद्दामा निज पद्मावती समेतको बयान भई निजसमेत ५ अंशिको ५ अंश भाग लाग्ने तत्कालिन स्याङ्जा ई.अ.ले फैसला गरेकोमा पुनरावेदन तह चल्दै आई सर्वोच्च अदालतमा मुद्दा चल्दा चल्दैको अवस्थामा मेरो अंश भाग पनि यसै मुद्दाबाट छुट्याई पाउँ भन्ने पद्मावतीको निवेदनपत्र परी निजको अंश पनि दिलाई दिने समेत हुकूम प्रमांगी बक्स भएको देखिन्छ । उक्त निवेदनपत्र र त्यसमा बक्स भएको हुकूम प्रमांगी समेत अ.बं.९१ नं.मा उल्लेख भएबमोजिमको प्रकारको नभएकोले यस्तो निवेदनपत्रमा उक्त ऐनअनुसार सनाखत गराउनुपर्ने देखिन आएन ।

      २२.   पद्मावतीको निवेदनपत्रमा बक्स भएको हुकूम प्रमांगी बमोजिमको निजको अंश दिलाई दिने काम पुरा नहुँदै निजको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र पाउने भनेकी छोरी तारादेवीले सकार गर्न पाउने नपाउने के हो भन्ने सम्बन्धमा तत्काल प्रचलित अ.बं.१७४ नं.मा ऐनले बिगो भर्नु भराउनु वा दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनुपर्ने मुद्दामा मुद्दा फैसला नहुँदै झगडिया मर्‍यो भने दैयादारले मुद्दा सकार गर्न पाउने र अ.बं.६२ नं.मा म्याद तारेखमा हाजिर हुनुपर्नेमा निज म्याद तारेख भन्दा पहिले नै मरी म्याद तारेख गुज्रेकोमा ३५ दिनभित्र दैयादारले मुद्दा सकार गर्न आएमा म्याद तारेख थामी सकार गराई दिनुपर्ने व्यवस्था गरेको पाइन्छ । यो अंश दिनु दिलाउनुपर्ने मुद्दा भएकोले उक्त ऐनअनुसार दैयादारले सकार गर्न पाउने भित्रै पर्न आउने प्रष्ट छ । पद्मावतीको अंश भाग पनि यसै मुद्दाबाट दिलाई दिनेसमेत हुकूम प्रमांगी बक्स भएको निवेदनपत्रको सनाखत गर्न नपाउँदै निवेदक पद्मावतीको मृत्यु भएकोले तारादेवीले सकार गर्न नपाउने भन्नेतर्फ उक्त निवेदनपत्रको सनाखत गराई रहनु नै नपर्ने माथिको प्रकरणमा व्यक्त भइसकेको छ । पद्मावतीको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउने छोरी तारादेवीमा सर्ने र निज पद्मावतीको अंश भागमा तारादेवीको हक स्थापित हुने हुनाले मुद्दा चल्दाचल्दै पद्मावतीको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्रबमोजिम निजको अंश भागको दैयादार छोरी तारादेवी मानिने र निजले उक्त अ.बं.१७४।६२ नं.बमोजिम सकार गर्न पाउने कुरामा कुनै शंका छैन ।

      २३.   अब पद्मावतीको अंश भाग तारादेवीलाई दिलाई दिनुपर्ने नपर्ने के हो भन्ने सम्बन्धमा पद्मावतीबाट तारादेवीले पाएकी बकसपत्र जालसाजी हुँदा बदर गरिपाउँ भन्ने इन्द्रप्रसाद पाध्या विष्णुप्रसाद पाध्याहरूले छुट्टाछुट्टै नालेस दिई चलाएका मुद्दाहरूमा उक्त बकसपत्र जालसाजी नठहरी ०३०।८।८।३ को डिभिजन बेञ्चबाट भएको फैसलाहरू अन्तिम रुपमा कायम रहेको र स्त्री अंशधनको २, दान दातव्यको १ नं. समेत बमोजिम पद्मावतीले अंश भाग पाई नसक्दै गरिदिएको शेषपछिको बकसपत्र सदर नहुने भन्नेसमेत वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले बहसमा तर्क उठाउनु भएको हकमा ऐनले दिन नपाउने बकसपत्र गरिदिएको बदर गरिपाउँ भन्ने स्त्री अंशधनको ८ नं.दान दातव्यको ५ नं.अन्तरगत दावीको यो मुद्दा नभएकोले त्यसतर्फ यस मुद्दाबाट विचार गरिरहनु नपर्ने समेत हुँदा पद्मावतीको अंश भाग निजले गरिदिएकी शेषपछिको बकसपत्र बमोजिम बकस पाउने छोरी तारादेवीलाई दिलाई दिनुपर्ने देखिन्छ ।

      २४.   तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट पाउने पाँच भागको १ भाग अंशमा अपुतालीको २ नं. अनुसार हकवालाले पाउने बाहेक अरू निजले गरिदिएकी शेषपछिको बकसपत्र बमोजिम हक हुने छोरी तारादेवीलाई दिलाई दिने गरेकोसमेत इन्साफ गण्डकी अञ्चल अदातलको मुनासिव ठहर्छ । यस मुद्दाबाट तारादेवीको दावी खडा हुन नसक्नेसमेत भनी निजको हकमा गण्डकी अञ्चल अदालतको इन्साफ उल्टी गरी ०३०।८।८। को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

निवेदक तारादेवी उपाध्यानीके निजले राखेको कोर्टफी रु.२२७।१८ गण्डकी अञ्चल अदालतको ०२९।३।२६।१ को फैसलाले प्रतिवादी इन्द्रप्रसादबाट भराई दिने गरेको लगत काटी सो रु.२२७।२८ तारादेवीलाई फिर्ता दिनु भनी ०३०।८।८ को डिभिजन बेञ्चको फैसला बमोजिम लगत दिएकोमा उक्त बेञ्चको फैसला बमोजिम गर्नु पर्दैन । उक्त डिभिजन बेञ्चको फैसला बमोजिम लगत काटी गण्डकी अञ्चल अदालतको फैसला बमोजिम लगत कायमै राख्नु भनी स्याङ्जा जि.अ.लाई लेखी पठाउनु का.जि.अ.तहसिलमा लगत दिनु………………१

ऐ.ऐ.के निजले सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.२१।११ डिभिजन बेञ्चको ०३०।८।८ को फैसलाले निजलाई नै फिर्ता दिने गरेको लगत काटी दिनु भनी ऐ.ऐ…………………..२

ऐ.ऐ.के निजले राखेको देहायबमोजिम कोर्टफी प्रतिवादी इन्द्रप्रसाद उपाध्यायबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५(११) बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ…….३

सर्वोच्च अदालतमा पुनरावेदन गर्दा ०२९।७।११।६ मा राखेको रु.२१।११ मुद्दा दोहर्‍याउँदा ०३१।८।४।३ मा सर्वोच्च अदालतमा ऐ.१४।८

०३०।८।८ को डि.बे.को फैसलाले गण्डकी अञ्चल अदालतको तत्कालिन अं.न्या.मोहनबहादुर श्रेष्ठको इन्साफ केही उल्टीको रेकर्ड राख्ने गरेको लगत काटी दिनु भनी सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु………४

नियमबमोजिम मिसिलबुझाई दिनु…………………५

 

हामीहरूको सहमती छ ।

 

न्या. प्रकाशबहादुर के.सी. र

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३२ साल मार्ग १९ गते ६ शुभम् ।