February 17, 1975
Created by nepalarchives

निर्णय नं. ९२० – कर्तव्य ज्यान

निर्णय नं. ९२०                  ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंहह रावल सम्वत् २०२९ सालको फौज्दारी पुनरावेदन नम्बर ५३५...

निर्णय नं. ९२०                  ने.का.प. २०३२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री झपटसिंहह रावल

सम्वत् २०२९ सालको फौज्दारी पुनरावेदन नम्बर ५३५

फैसला भएको मिति : २०३१।११।५।२

पुनरावेदक : हे.कं. रुद्रबहादुरको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी : मनीलाल घर्तिमगर, लालबहादुर घर्तिमगर समेत

मुद्दा : कर्तव्य ज्यान

(१)   कुटपिट गरेकोबाट ज्यान सम्बन्धीको ९ र १० नम्बरमा लेखिएको म्यादभित्र मर्न गएकोमा ज्यान मारेको सरह सजाय दिनलाई सो कुटाई माग्ने व्यक्ति कुटाईको चोट पिरले थला परेको हुनुपर्ने ऐनमा उल्लेख भएकोमा थला परेको नदेखिए ज्यानमाराको बात नलाग्ने ।

            (प्रकरण नं. १७)

पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता प्रेमबहादुर बिष्ट

फैसला

            न्या. झपटसिंह रावल

            १.     राप्ती अञ्चल अदालतबाट ०२९।३।२९।४ मा फैसला भई वादी श्री ५ को सरकारतर्फबाट पुनरावदेन परी आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ ।

            २.    ०२२।७।१२ का दिन मेरो घरमा मनीलालसमेत आई मलाई कुटपिट गरेकोले निज घाउ जाँची पाउँ भन्नेसमेत ०२२।७।१८ को बलबहादुरको दरखास्त ।

            ३.    मु.मनीलाल घर्तिमगरसमेत जना ६ ले मु.मनीलाल गाउँ पञ्चायतको प्रधानपञ्च हुँदा घर १ को कर रु.२। का दरले लिएछन् । मेरा बाबु बलबहादुर चन्द्रसमेतले रु.१। का दरले दिन्छु रु.२। का दरले दिन्न भन्दा मु.मनीलाल बचन दिने अरू प्रतिवादीहरूले बाबालाई ०२२।७।१० का दिन कुटपिट गरेछन् । ऐ.१५ गते घाजाँच गराई घर जानु भएछ । म पुलिस चौकीमै थिएँ । ऐ.२६ गतेका रात सो चोटपीरले परलोक हुनुभएछ । कर्तव्यबाट बाबाको ज्यान मरेको देखिंदा गाउँ सर्जमिन समेत बुझी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत रुद्रबहादुर चन्द्रको ०२२।७।२९।१ को जाहेरी दरर्खास्त ।

            ४.    प्रतिवादी मध्ये मनीलालले बचन दिई तुल्सीराम नरुवीरबहादुर, दरबहादुर, लालबहादुरले कुटपिट गरे भन्ने बलबहादुरको घाउ जाँच गर्न दिएको दरर्खास्तमा पनि मनीले बचन दिए भन्ने हुनाले मु.मुनीलाललाई ज्यान सम्बन्धीको १३(४) नं.ऐन अन्तर्गत र ज्यान मार्नेको इवी लागेबाट कुटपिट गरेको नदेखिई भैलो खेल्दा दिएको पैसा थोरै भयो भन्ने कुराबाट उसै मौका उठेको वादविवादबाट रीस थाम्न नसकी बलबहादुर कुटपिट गर्ने प्र.वीरबहादुरसमेत जना ५ का हकमा ज्यान सम्बन्धीको १४ नं.ऐन अन्तर्गत मुद्दा चलाउने भन्नेसमेत प्रहरी प्रतिवेदन ।

            ५.    २०२६।७।१० का दिन मनीलालसमेतका हामी सबै गाउँकै गुणबहादुरका घरमा जम्मा भई भैलो खेल्ने सल्लाह भई गाउँघरमा नभई सिमल कुना गाउँमा छौं बलबहादुरले मसमेत उपर झुट्टा दर्खास्त गर्नाको कारण मेरो बाबु प्रधानपञ्च भएका र घरकर उठाएकोमा र गाउँको भैलो खेल्ने नाँच एकै गर्नुपर्छ भन्ने भनाई भएकोमा धेरै जना भई राम्रो नहुने भई नाच फुटायो भन्ने रीस पनि थियो । त्यसै कारणले झुट्टा दर्खास्त गरेका हुन् रक्सी खाई मत्त भई कुर्लिदा गमरसिंको आगनमा बलबहादुर लडी घाउ चोट भएको भन्ने कुरा नरबहादुर मगरसमेतले भनेको थियो बलबहादुरलाई मैले कुटेको छैन रिसाएका सर्जमिनका व्यक्तिले हामीलाई फँसाउन झुट्टा भनेका हुन् ज्वरोले बलबहादुर मरेका हुन् भन्नेसमेत लालबहादुर घर्तिमगरको बयान ।

            ६.    पञ्चायतको मिटिङ्गबाट पास भएको घरको कर उठाउने कुरामा निज बलबहादुरले विरोध गरेका र निजलाई दमको बिमार अघिदेखि थियो । ०२२।७।१४ का दिन छोरा रुद्रबहादुरलाई भेट्न जाँदा दाघीगर्पा गाउँमा घोडाबाट लडी घाउचोट पर्न गएछ । सो गाउँका बल रने समेतले देखेको रहेछन् सो लडी परेको चोटलाई पञ्चायत विरोध र अघिदेखिको इवीवालाले हामीलाई दुःख दिन झुट्टा वारदात लगाएको हो घाउ कुटपिट परेको होइन कसूर गरेको र कुटपिट गरेको छैन भन्नेसमेत मनीलालको बयान ।

            ७.    ०२२।७।१० गते भैली खेल्न गुणबहादुरका घरमा लालबहादुर तुल्सीबहादुरसमेत जम्मा भई सो दिन सिमल कुनामा छौं । १४ गते गर्पा चिठरीबोट भन्ने ठाउँमा बलबहादुर घोडाबाट लडी चोट लागेको छ भन्ने सुनेको थिएं । त्यस चोटलाई म समेतले कुटेको भनी केश फाराम गराएको रहेछ । सर्जमिनहरू दलबहादुरको नातादारभै लो फुटायो भन्ने रीसले भनेका साँचो कुरापछि भएको सर्जमिनले भनेकै छ वारदात भयो भनेका दिन मैले बलहादुरलाई देखेकै छैन भन्नेसमेत दलबहादुरको बयान ।

            ८.    मैले कसूर नगरेको निर्दोष व्यक्ति हुनाले प्रहरी रिपोर्टअनुसार हुनुपर्ने होइन भन्नेसमेत बलबहादुरको बयान मिलान गरी इन्कार भई नरु बुढामगरले गरेको बयान ।

            ९.    बलबहादुर मर्नु ८।१० दिन अघि नै आफ्नो खेती गोठको हुनाले कहिलेसम्म हिंडडुल गर्थे मलाई थाहा छैन । १४ गते घोडाबाट लडी चोट लागेको केश फारम गराएका हुन् हामीले कुटेको छैन भन्नेसमेत मनीलाल बलबहादुरको बयान मिलान गरी इन्कार भई तुल्सीराम बुढामगरले गरेको बयान ।

            १०.    १४ गते बलबहादुर घोडाबाट लडी मर्नु अगाडि २।३ दिनसम्म हिंडडुल गर्दै थिए म समेतले बलबहादुरलाई कुटेको छैन । सो वारदातको दिन भैलो खेल्न गई ११ गते घर आएको हुँ उजूर झुट्टा हो हामीले कुटेको छैन भन्नेसमेत बलबहादुरको बयान मिलान गरी इन्कार भइ वीरबहादुरले गरेको बयान ।

            ११.    २०२२ साल कार्तिक १० गतेका दिन बलबहादुर चन्दलाई प्रतिवादीहरूले कुटपिट गरेको ठहर्दैन । निज मर्ने बलबहादुरको छोरा हे.कं.रुद्रबहादुरलाई भेटसमेत गर्न भनी घोडामा चढी सखी जान भनी जाँदा च्यूराबोट भन्ने ठाउँमा पुगेपछि घोडाबाट लड्दा पर्न गएको घाउ खतहरू मनीलालसमेतले कुट्दा परेको भनी आफूमा छोरा इन्चार्ज भइ बसेको प्रहरी चौकीमा दरखास्त दिई केश गराई मर्ने बलबहादुर सोही घोडाबाट लड्दा परेका घाउखतको पीर दर्दसमेतबाट आफ्नै कालगतिले मरेको ठहर्छ भन्नेसमेत सल्यान जिल्ला अदालतको २०२४।१०।९।३ को फैसला ।

            १२.   उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी श्री ५ को सरकारको पुनरावेदन ।

            १३.   प्रतिवादीहरू उक्त वारदातमा उक्त मिति समयमा भएको देखिन आएकोमा तिनीहरूमध्ये बलबहादुरलाई कुट्ने देख्नेमा गम्भीर सिं जगवीरले वीरबहादुरलाई लालबहादुरले कुटेको भनी सर्जमिनमा बकेका अदालतमा आई बक्दा कुटेकै त देखिन पछिबाट मर्ने बलबहादुरले भनेको भन्ने लेखाएको र बचन दिने मनीलाल र कुट्ने अरू ५ जवान भन्ने प्रहरी प्रतिवेदन भएपछि देख्ने चश्मदिदले मनीलाल बचन दिने वीरबहादुर बाहेक अरू हात छोडेको भन्न नसकेकोले समेत प्र.मध्ये वीरबहादुरले बलबादुरलाई कुट्दा सो चोटबाट ऐनका म्यादभित्र बलबहादुर मरेको र निज वीरबहादुर बाहेक अरू प्रतिवादीहरूले हात छाडेको प्रमाण गुज्रन नआए पनि निजहरूसमेत त्यस वारदातमा रहे भएको देखिएकोले मतलबी रहेछन् भन्ने देखिन आउने हुनाले ज्यान सम्बन्धीको १४ नं. ले वीरबहादुरलाई कैद वर्ष १० र मनीलाल, लालबहादुर, नरुदलबहादुर, तुल्सीरामसमेत जना ५ लाई ज्यान सम्बन्धीका १० का देहाय ३ दफाले कैद वर्ष ३ का दरले हुन्छ भन्नेसमेत राप्ती अञ्चल अदालतको ०२९।३।२९ को फैसला ।

            १४.   उक्त इन्साफमा चित्त बुझेन एक जनामात्र व्यक्तिको कुटाईले मुत्यु भएको कुरा व्यवहारिक देखिँदैन । अञ्चल अदालतको इन्साफ उल्टाई विपक्षीहरूलाई प्रहरी प्रतिवेदनअनुसार सजाय हुने अनुरोध छ भन्नेसमेत श्री ५ को सरकार वादीतर्फबाट पुनरावेदन ।

            १५.   मुख्य कारणीले ज्यान सम्बन्धीको १४ नं. अन्तर्गतको अपराध गरेको भन्ने ठहर भएपछि अरू नं.र सर्वोच्च अदालत नियमावली बमोजिम छलफलको निमित्त विपक्षीहरूलाई कानूनबमोजिम उपस्थित गराउन नोटिस म्याद दिई नियमबमोजिम गरी पेश गर्नु भन्नेसमेत डिभिजन बेञ्चको ०३१।३।१०।२ को आदेश ।

            १६.    उक्त आदेशानुसार झिकाइएका प्रतिवादीमध्ये लालबहादुरले ०३१।७।१ गतेका तारेख गुजारेको र वादी पुनरावेदन श्री ५ को सरकार उपस्थित हुनभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रेमबहादुर बिष्टको बहस सुनी बुझ्दा प्रस्तुत मुद्दामा अञ्चल अदालतबाट भएको इन्साफ मनासिव या गल्ती के हो ? निर्णय दिनुपरेको छ ।

            १७.   यसमा भैलो खेल्ने सम्बन्धको कुरामा झगडा भई कटुबचन दिएकोबाट कुटपिट गरेको चोटले ज्यानमरेको भएमा पनि कुट्नेलाई ज्यान सम्बन्धीको १४ नम्बर बमोजिम १० वर्ष कैद होस् भन्ने र बचन दिनेलाई ज्यान सम्बन्धी १३ नं. को दफा ४ अनुसार जन्मकैदको सजाय होस् भनी वादी प्रतिवेदनमा दावी गरिएको देखिन्छ । कुटपिट गरेकाबाट ज्यान सम्बन्धी ९,१० नम्बरमा लेखिएको म्यादभित्र मर्न गएकोमा ज्यान मारेको सरह सजाय दिनालाई सो कुटाई माग्ने व्यक्ति कुटाईको चोट पिरले थलापरेको पनि हुनपर्ने उक्त ऐनमा उल्लेख छ । प्रस्तुत केशमा मर्ने बलबहादुर थलापरेको देखिँदैन । कुटपीट भयो भनेको मिति २०२२ साल कार्तिक १० गतेबाट ४ दिनका दिन ऐजन कार्तिक १३ गते घाउचोटको जाँच गराउन गई आफ्नो हस्ताक्षरले दरर्खास्त लेखी दिई घाउ जाँच गराएको देखिन्छ । यस्तो स्थितिमा उक्त ज्यानसम्बन्धीको ९।१० नम्बरले कुट्ने भनेको प्रतिवादीलाई पनि ज्यानमाराको बात नलाग्ने अवस्था देखिन आएको हुँदा प्रतिवादीहरूलाई सजाय गर्ने गरेको राप्ती अञ्चल अदालतको फैसला मिलेको देखिएन । तपसीलबमोजिम गरी सुरु मिसिल सुरु जिल्ला अदालतमा पठाउन राप्ती अञ्चल अदालतमा पठाई रेकर्ड मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

तपसील

प्रतिवादी देहायका मानिस के राप्ती अञ्चल अदातलका ०२९।३।२९।४ का फैसलाले कुटपिटको चोटबाट बलबहादुरको ज्यान मरेको ठहरेकोले बीरबहादुर रानालाई ज्यान सम्बन्धीको १४ नं.बमोजिम र अरू ५ जवानलाई ज्यान सम्बन्धीका १७ नं.३ दफा बमोजिम कैद वर्ष १ का दरले कैद गर्ने गरेकोमा माथि इन्साफ खण्डमा के लेखिए बमोजिम अञ्चल अदालतको इन्साफ गल्ती ठहरेकोले उक्त अञ्चल अदालतका फैसला बमोजिमको लगत कायम राख्न पर्दैन । व्यहोरा जनाई लगत कट्टा गर्नु भनी सुरु सल्यान जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.फाँटमा लगत दिनु ……………………१

प्रतिवादी बीरबहादुर राना मगर के कैद वर्ष १० को कैद दिन ।१२ कटाई बाँकी कैद ९।११।१८ को कलम १ प्र.मनीलाल घर्तिमगर के कैद वर्ष १। को पुर्पक्ष निमित्त थुनामा बसेको दिन ।.।१२ कटाई बाँकी कैद ।११।१८ को कलम १प्र.दलबहादुर बुढामगर के कैद वर्ष १। को थुनामा बसेको दिन ।.।१२ कटाई बाँकी कैद ।११।१८ को कलम १तुल्सीराम बुढामगरले कैद वर्ष १। को र थुनामा कैद बसेको दिन ।.।१२ कटाई बाँकी कैद ।११।१८ को कलम १नरु बुढामगर के कैद वर्ष १। को र थुनामा बसेको दिन ।.।१२ कटाई बाँकी कैद ।११।१८ को कलम १ लालबहादुर घर्तिमगर के कैद वर्ष १। को ऐ.थुनामा बसेको दिन ।५।२६ कटाई बाँकी कैद ।६।४ को कलम १

इन्साफ उल्टीमा राप्ती अञ्चल अदालतका तत्काल का.मु.अञ्चल न्यायाधीश श्री लिलाप्रसाद गिरीको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखालाई सूचना दिनु…………………२

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रकाशबहादुर के.सी.

 

इति सम्वत् २०३१ साल फाल्गुण ५ गते रोज २ शुभम् ।