निर्णय नं. ९१७ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. ९१७ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९...
निर्णय नं. ९१७ ने.का.प. २०३२
फुल बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२९ सालको रि.फु.नं. ३६
फैसला भएको मिति : ०३०।१२।१६।६
निवेदक : जि.स. खड्गपुर गा.पं. मा वार्ड नं.६बस्ने सिताराम साहुतेली समेत
विरुद्ध
विपक्षी : जि. सप्तरी तरहि गा.पं. वार्ड नं. १ बस्ने बालगोविन्द चौधरी थारु
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) नियम ६ अनुसार मोहीको लगत प्रकाशित भएकोमा कुनै व्यक्तिलाई प्रतिकूल असर पर्छ भने त्यस्तो असर पर्ने व्यक्तिले नियम ७ बमोजिम उजूर गर्नुपर्ने कुरा भूमिसम्बन्धी नियमको व्यवस्थाबाट प्रष्ट हुने ।
(प्रकरण नं. ९)
(२) मुद्दा पर्दापर्दै कुनै एकपक्षले अर्को पक्षलाई प्रतिकूल असर पर्ने कुनै प्रमाणको श्रृष्टि गर्छ भने त्यसलाई मान्यता दिन मिल्दैन तर पक्ष आफैले अर्को पक्षलाई प्रतिकूल असर पर्ने प्रमाण श्रृष्टि गरेको नभई कानूनी प्रक्रियाहरूबाट नै कुनै काम कुरा हुनजान्छ र सो काम कुराको परिणामबाट कुनै पक्षलाई प्रतिकूल असर पर्न जान्छ भने त्यसउपर कानूनले तोकेको व्यवस्थाअनुसार निजले आफूलाई असर परेको कुरामा कानूनले तोके बमोजिम उजूर गर्नुपर्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली
विपक्षी तर्फबाट : अधिवक्ता गणेशराज शर्मा
आदेश
न्या. वासुदेव शर्मा
१. प्रस्तुत मुद्दा डिभिजन बेञ्चको निर्णय दोहर्याई पाउँ भनी निवेदक सिताराम साहु तेली समेतले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरिएबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : अघिदेखि बटैयामा कमाई आएकोमा मोही भनेकोले मोही हक कायम गरिपाउँ भन्नेसमेत सिताराम साहुतेलीसमेत उपर रिट निवेदक बालगोविन्दको वादी हामी टंकेश्वरी मिरादेवीले सीतारामलाई जग्गा राजीनामा दिई भोग्न दिएको, मोही लागेको छैन भन्नेसमेत इन्द्रदेव टंकेश्वर मीरादेवीको र राजीनामा लिई आफैले जोती भोगी खाई आएको छु कसैलाई जोत्न दिएको छैन वादीलार्ई अस्थायी निस्सा दिनै नपर्ने दिएको अस्थायी निस्सा बदर हुनुपर्ने भन्नेसमेत सीतारामको प्रतिवादी भएको मोहियानी मुद्दामा जग्गाधनीले उल्लेख गरेको जग्गा प्रतिवादी जग्गाधनी आफैले जोती कमाई आएको ठहर्छ कार्यालयमा रहेको रेकर्ड संशोधन गरी सोही अनुसार रेकर्ड मिलान गर्न सम्बन्धित गा.पं. मा लेखि पठाउने भन्नेसमेत जि.भू.सु. कार्यालय सप्तरीबाट ०२७।९।८।४ मा निर्णय भएको रहेछ ।
३. भू.सु.अधिकारीज्यूले उपरोक्त मुद्दाको न्याय निरोपण गर्दा ०३२ सालमा अस्थायी निस्सा पाएको भनी उल्लेख गरेकोमा ०२३ सालको पेश भएको भन्ने निर्णयमा उल्लेख भएको ०२२ साल वा २३ सालको जे भए पनि अस्थायी निस्साको प्रमाणिकतामा कुनै असर पर्दैन ०२२ सालको बाली लुटपिट मुद्दामा प्रतिवादीले नालेश गरेकोमा लुटपिट ठहरेको देखियो भन्ने एउटा असंगत बुँदा लिएको छ उक्त बाली लुटपिट मुद्दा मेरो माथि नभएकोले त्यसलाई वलात मेरो माथि आरोपित गरेको प्रष्ट रुपले कानूनी त्रुटियुक्त भएको सिद्ध छ । सो जग्गा मैले मोहीमा जातेको छ छैन यकिन गर्न सर्जमिन गर्नुपथ्र्यो सो नगरेको र साक्षीसमेत नबुझी दिएको कारणबाट हराउन दुरासययुक्त मनसाय भू.सु.अधिकारीज्यूले लिई राख्नु भएको सिद्ध हुनुको साथै साक्षी प्रमाण बुझ्ने अधिकार क्षेत्र ग्रहण नै नगरी निर्णय गरेको बदर हुनुपर्ने जग्गाको चौहदि नम्बर क्षेत्रफल मिल्न नआएको भन्ने प्रतिवादीको कुरालाई बिना प्रमाणको समर्थनले सत्य मानि निर्णय गरेको न्यायिक मन नै नलगाई निर्णय गरेको सिद्ध छ भू.सु.अधिकारीको उक्त ०२७।१०।८ को आदेश कानूनी त्रुटियुक्त न्यायिक मन विहिन दुरासययुक्त हुनुको साथै अधिकार क्षेत्र नै नग्रहण गरी गरेको निर्णय फैसला बदर गरिपाउँ भन्नेसमेत रिट निवेदक बालगोविन्द थारुको निवेदन जिकिर रहेछ ।
४. भूमिसुधार अधिकारीबाट लिखित जवाफ आएको रहेनछ ।
५. मुद्दा पर्दा पर्दै जोताहा अस्थायी निस्सा कानूनले मान्यता दिन मिल्ने होइन जुन जग्गाको मोही भन्नुहुन्छ त्यो जग्गाको बाली लुटपिट गरेको ठहर भएबाट नै म सीतारामको जोत भोगको जग्गा भन्ने पुष्टि गरेको छ निवदेक बालगोविन्दले सो फैसलालाई अ.बं.८६ नं. को म्याद भित्र उजूर गरी बदर गराउन सकेको छैन । बुझिएसम्मको प्रमाणबाट किनारा गर्ने भू.सु.अधिकारीको अधिकार क्षेत्रको हुँदा अधिकार क्षेत्रमा सीमित रही गरेको निर्णयलाई सर्जमिन साक्षी नबुझिएको भन्ने जिकिर लिए पनि बाध्यता गराएको छैन । छानविन गरी निर्णय गरेकोमा न्यायिक मन नलगाई निर्णय गरेको भन्ने लेखाई गलत छ । मोहीया सम्बन्धलाई भू.सु.अधिकारीलाई तोकिएको छ । आफ्नो अधिकार क्षेत्रमा रही निर्णय गरिएको हुनाले निवेदकको कुनै पनि हक हनन भएको छैन उक्त रिट निवेदन खारेज हुनुपर्छ भन्नेसमेत प्रतिपक्षी इन्द्रदेवप्रसाद यादव १, टंकेश्वरी यादव १, मिसदेवी यादवी १, सीताराम साहुतेली समेतको एउटै लिखित जवाफ ।
६. बाली लुटपिट मुद्दामा अस्थायी निस्सा प्राप्त गर्ने यो निवेदक पक्ष नै नभएको पक्ष नै नरहेको मुद्दाको आधारबाट निवेदकको अस्थायी निस्साको सम्बन्धमा प्रमाणको देखा देखी विपक्षीले रिट निष्कर्ष निकालेको देखिन्छ । सोही अस्थायी निस्सा अनुरुप उल्लेख भई ०२३।४।१५ मा लगत प्रकाशन भएको देखिन आएको छ । प्रकाश भएको लगतमा चित्त नबुझ्ने व्यक्तिले त्यसलाई बदर गराउन भूमिसम्बन्धी नियम ७ बमोजिम उजूर गर्नुपर्ने हुन आउँछ, सो अनुसार बदर नगरिएमा नियम ९ को देहाय ३ ले अस्थायी निस्सालाई मोहियानी हकको प्रमाणपत्र सरह मानिने व्यवस्था गरेको छ । सो अनुसार परेको उजूरीबाट मात्र लगत कायम राख्ने नराख्ने निर्णय गर्न भू.सु.अधिकारी सक्षम हुन्छ । मोही कायम गरिपाउँ भनी निवेदकले उजूर दिई चलेको मुद्दामा प्रतिपक्षीले आफ्नो कुरा प्रतिवादीको रुपमा भनेको देखिन्छ । प्रकाशित भएको लगतलाई नियम ७ अनुसार उजूर गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्था अनुसार नगरी सो कुरामा प्रतिवादमा जिकिर लिएकोबाट नै निर्णय हुन सक्छ भन्न मिल्दैन । भूमिसम्बन्धी नियम, ०२१ को परिच्छेद २ को विभिन्न नियमले झगडा परिरहेको अवस्थामा अस्थायी निस्सा दिन हुँदैन, लगत प्रकाशन गर्न हुँदैन भन्ने र सो सम्बन्धमा झगडा जनाउने विषयमा कुनै व्यवस्था गरेको पाइँदैन । यसबाट अस्थायी निस्सा प्राप्त गरी लगत प्रकाशन भएकोमा बदर गर्न नियम ७ ले तोकेको कानूनी व्यवस्थालाई नै अपनाउनुपर्ने हुन आउँछ । नियम ७ बमोजिमको उजूरी नै नपरेकोमा मोही कायम गरिपाउँ भन्ने निवेदकको उजूरीबाट निवेदकले पाएको अस्थायी निस्सालाई अमान्य गरी रेकर्ड सच्याउने भन्ने भूमिसुधार अधिकारीले गरेको निर्णयमा प्रत्यक्ष कानूनी त्रुटि देखिएकोले उक्त ०२७।९।८ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्नेसमेत डिभिजन बेञ्चबाट ०२९।४।१३।६ मा निर्णय भएको रहेछ ।
७. प्रस्तुत मुद्दा दोहर्याइदिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिसमा मोही हो वा होइन भने बालगोविन्दले दिएको उजूरीबाट पहिलेदेखि नै मुद्दा चलिरहेको छ । सोही जग्गामा प्रकाशित भएको लगत उपर उजूर परेको भए पनि सो उजूरीले त्यही विवादको श्रृजना गथ्र्यो जुन विवाद कि (अर्थात रिट निवेदक बालगोविन्द विवादग्रस्त जग्गाको मोही हो वा होइन भन्ने) मोही हो वा होइन भनी दुई व्यक्तिको बीच मुद्दा चलिरहेकै समयमा फेरि सोही विषयमा मुद्दा खडा नगरेको दोष लगाउनु न्यायोचित हुँदैन । मोही हो वा होइन निर्णय गर्न पाउने अधिकार भूमिसुधार अधिकारीलाई प्राप्त भएको छ र निजले बालगोविन्द मोही ठहर्दैन भनी गरेको निर्णय अनुरुप श्रेस्ता सच्याउने आदेश गर्नु पनि स्वभाविकै हो । मोहियानी मुद्दामा निर्णय गरेको चाहिं ठिक हो । सो अनुसार रेकर्ड मिलान गर्ने आदेश दिएको चाहिं त्रुटिपूर्ण हो भनिन्छ भने निर्णय एक थोक श्रेस्ता अर्को थोक कायम रहने अवस्था पर्छ रेकर्ड संशोधन गरी मिलान गर्ने कुरालाई लिएर होला डिभिजन बेञ्चले नियम ७ बमोजिम उजूरै नपरेकोमा अस्थायी निस्सालाई अमान्य गरी रेकर्ड सच्याउने निर्णय गरेको प्रत्यक्ष कानूनी त्रुटिपूर्ण देखिएकोले बदर हुन्छ भन्ने आदेश दिएको छ । मूल विषयमा निर्णय गर्न पाउने अधिकारीले इन्साफ बालेपछि सो अनुरुप रेकर्ड मिलान गर्ने कुरा मूल ठहरकै आनुसड्डिक आदेश मात्र हुन आउँछ । यस आनुसड्डिक अंशलाई आपत्ति ठानेको हो भने त्यति अंशमात्र बदर गर्नु पथ्र्यो डिभिजन बेञ्चले ०२७।९।८ को भूमिसुधार कार्यालयको निर्णय बदर गरेकै उचित देखिँदैन भन्नेसमेत उल्लेख भएको रहेछ ।
८. निवेदक रिटको प्रतिपक्षी सीताराम समेतको तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले आफ्नो बहसमा मोही होइन भनी खिचोला गरे भन्ने सीताराम उपर बालगोविन्दले ०२२ सालदेखि चलाई आएको मुद्दाबाटै मोही सम्बन्धमा निर्णय हुने हुँदा सो मुद्दा चलिरहेकैमा बालगोविन्दको नाउँमा मोही लगत प्रकाश भएको भूमिसम्बन्धी नियम ७ अनुसार उजूर गरेमा पनि बालगोविन्दको उजूर परेको मोही सम्बन्ध कै कुरामा निर्णय हुने एकै विषयको हुनाले लगत प्रकाशन उपर अर्को उजूर गर्नुपर्ने अवस्था पर्दैन । सीताराम मोही ठहराई लगत सच्याउने गरेको भू.सु.अ.को निर्णय कानूनबमोजिमकै छ, सो निर्णय बदर गरेको डिभिजन बेञ्चको मिलेको छैन, रिट निवेदन खारेज हुनुपर्छ भन्नेसमेत र विपक्षी रिटको निवेदक बालगोविन्दतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री गणेशराज शर्माले ०२२ साल देखि मुद्दा चले पनि खारेज भई २४ सालमा मात्र रीतपूर्वक दायर भएको मुद्दा निर्णय हुने त छँदैछ । बालगोविन्द मोही गरी लगत प्रकाशन भएपछि त्यसै उपर नियम ७ अनुसार उजूर गरेको भए दुबै एकै निर्णय हुने थियो । उजूर नगरेबाट बालगोविन्दको मोहीको जो.अ.निस्सा अकाट््य भइसकेकोमा वालगोविन्द पक्ष नै नभएको बाली लुटपिट मुद्दामा लुटपिट ठहरिएको भनी आधार लिई सीताराम मोही ठहराई उजूर परेकोले वेगर सच्चिनै नसक्ने मोही लगत सच्याउने गरेको निर्णय बदर गरेको डिभिजन बेञ्चको सदर हुनुपर्छ भन्नेसमेत र का.मु.सरकारी विद्वान अधिवक्ता श्री इन्द्रराज पाण्डेले सीतारामलाई मोही ठहराई भू.सु.अ.ले निर्णय गरेको निर्णयअनुसार मोहीको नाउँ श्रेस्तामा मिलाउनु पर्ने भएकोले बालगोविन्दको मोही नाउँ रहेको लगत सच्याउने गरेको कानूनबमोजिमकै छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको छ ।
९. निर्णयतर्फ विचार गर्दा रिटको निवेदक बालगोविन्दको नाउँमा मोही लगत प्रकाशन भएकोमा नियम ७ अनुसार उजूर नै नपरेकोमा मोही कायम गरिपाउँ भनी रिट निवेदक बालगोविन्दको परेको उजूरीबाट निजले पाएको अस्थायी निस्सा अमान्य गरी रेकर्ड सच्याउने गरेको प्रतिपक्षी भू.सु.अधिकारीको निर्णय कानूनी त्रुटीहुँदा बदर हुने ठहर्छ भनी डिभिजन बेञ्चबाट निर्णय भएको देखिन्छ । सम्बन्धित कानूनी व्यवस्थालाई हेर्दा भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ६ मा अनुसूची २ बमोजिमको लगत प्रकाशित गर्ने नियम ७ मा नियम ६ बमोजिम लगतमा चित्त नबुझ्नेले उजूर गर्ने नियम ९ मा नियम ७ बमोजिम उजूर गर्ने म्याद नाघिसकेपछि वा उजूर परेकोमा अन्तिम निर्णय भएपछि मोहीको प्रमाणपत्र दिने समेतको व्यवस्था भएको देखिएको त्यसबाट मुद्दा परिरहेको अवस्था सो मुद्दा परेको जग्गाको उक्त नियमबमोजिम मोहीको लगत प्रकाशित गर्ने र मोहीको प्रमाणपत्र दिने समेतको नियमले तोकेबमोजिमको काम कुरा गर्नमा कुनै रोक लगाएकोसमेत उक्त भूमिसम्बन्धी नियमहरू, २०२१ बाट देखिन आउँदैन । सो नदेखिएकोले नियम ६ अनुसार मोहीको लगत प्रकाशित भएकोमा कुनै व्यक्तिलाई प्रतिकूल असर पर्छ भने त्यस्तो असर पर्ने व्यक्तिले नियम ७ बमोजिम उजूर गर्नुपर्ने कुरा उक्त भूमिसम्बन्धी नियमको व्यवस्थाबाट प्रष्ट हुनआउँछ ।
१०. रिटको निवेदक बालगोविन्दको उजूरीबाट चलेको मोहियानी मुद्दामा मेरो मोही हकको भन्ने रिटको प्रतिपक्षी सीतारामले आफ्नो प्रतिवाद गरेको देखिन्छ । त्यस्तो जग्गाको मोहीको लगत प्रकाशित हुँदा बालगोविन्दकै नाउँमा प्रकाशित भएकोमा मोहियानी मुद्दामा सीतारामले आफ्नो कुराको प्रतिवाद गरेको प्रतिवादबाटै पर्याप्त हुन्छ नियम ७ ले तोकिए बमोजिम उजूर गर्नुपर्ने अवस्था पर्न आउँदैन भन्ने उक्त नियमको व्यवस्थाले मिल्ने देखिएन ।
११. मुद्दा पर्दापर्दै कुनै पक्षलाई असर पर्ने कुनै प्रमाण श्रृष्टि हुन्छ भने त्यसलाई मान्यता दिन मिल्दैन भन्ने फुल बेञ्चबाट निर्णय भइराखेकोले मुद्दा पर्दापर्दै रिटको निवेदक बाल गाोविन्दले जोताहा अस्थायी निस्सा लिएको र निजको नाउँमा मोहीको लगत प्रकाशित भएकोलाई मान्यता दिन नमिल्ने भन्ने पनि विद्वान वरिष्ठ अधिवक्ताले अर्कोे बहस जिकिर लिनु भएको हकमा मुद्दा पर्दापर्दै कुनै एक पक्षले अर्को पक्षलाई प्रतिकूल असर पर्ने कुनै प्रमाणको श्रृष्टि गर्दछन् भने त्यसलाई अदालतले मान्यता दिन मिल्दैन तर पक्ष आफैले अर्काे प्रतिकूल असर पर्ने प्रमाण श्रृष्टि गरेको नभई कानूनी प्रकृयाहरूबाट नै कुनै काम कुरा हुन जान्छ र सो काम कुराको परिणामबाट कुनै पक्षलाई प्रतिकूल असर पर्न जान्छ भने त्यस उपर उजूर गर्ने कानूनले तोकेको व्यवस्थाअनुसार निजले आफूलाई असर परेको कुरामा कानूनले तोकेबमोजिम उजूर गर्नुपर्छ यसरी रिटको निवेदक बालगोविन्दले जो.अ.निस्सा पाई निजकै नाउँमा नियम ६ बमोजिम मोहीको लगत प्रकाशित भएकोमा मोही हुँ भन्ने रिटको प्रतिपक्षी सीतारामले सो लगत प्रकाशित उपरमा नियम ७ को व्यवस्थाअनुसार उजूर गरेको नभएपछि यस्तो स्थितिमा बालगोविन्दले जो.अ.निस्सा पाएको र निजको नाउँमा मोही लगत प्रकाशित भएको कानूनी प्रक्रियाबाटै श्रृष्टि भएको काम कुरा हुँदा त्यसलाई मान्यता दिन नमिल्ने भन्नेसमेतको विद्वान वरिष्ठ अधिवक्ताको बहस जिकिरहरूसँग यो बेञ्च सहमत हुन सकेन र यस सम्बन्धमा दिएको नजिरहरू पनि मिल्ने देखिँदैन ।
१२. प्रतिपक्षी भू.सु.अधिकारीको निर्णयमा बालगोविन्दको उजूर परेको जग्गा कै बाली लुटपिट गरे भन्ने मुद्दामा लुटपिट ठहरेकोले प्रतिपक्षी सीताराम मोही ठहर्छ भन्ने भू.सु.अ.को निर्णयमा उल्लेख गरी बाली लुटपिट मुद्दाको आधार पनि लिएको देखिनै बाली लुटपिट मुद्दामा बालगोविन्द पक्ष भएको समेत नदेखिएकोले सो बाली लुटपिट मुद्दालाई भू.सु.अ.ले निर्णय गरेको मुद्दामा प्रमाणको आधार मान्न मिल्ने देखिँदैन । तसर्थ उपरोक्त उल्लेखित कारणको आधारमा रिटको निवेदक बालगोविन्दले जो.अ.निस्सा पाई निजको नाउँमा नियम ६ बमोजिमको मोहीको लगत प्रकाशित भएकोमा असर पर्ने व्यक्तिको नियम ७ बमोजिमको उजूरै नपरेकोमा पनि रिटको निवेदक वालगोविन्दको उजूरी परेको मुद्दामा निज बालगोविन्दले पाएको जो.अ.निस्सालाई अमान्य गरी रेकर्ड सच्याउने गरेको प्रतिपक्षी भू.सु.अधिकारीको ०२७।८।९।४ को निर्णय कानूनी त्रुटि निर्णय देखिएकोले सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्ने ठहराएको डिभिजन बेञ्चको ०२९।४।१३।६ को निर्णय मनासिव ठहर्छ । यो आदेशको प्रतिलिपि १ महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमती छ ।
न्या. झपटसिंह रावल,
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३० साल चैत्र १६ गते रोज ६ शुभम् ।