निर्णय नं. ९१३ – उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरिपाउँ
निर्णय नं. ९१३ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको रिट नम्बर ८२१ फैसला...
निर्णय नं. ९१३ ने.का.प. २०३२
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२८ सालको रिट नम्बर ८२१
फैसला भएको मिति : २०३०।२।२९।२
निवेदक : जि. सुनसरी हरिनगरा गा.पं.वार्ड नं.४ बस्ने लक्ष्मी मियाँ हजामिन
विरुद्ध
विपक्षी : जि.भू.सु. कार्यालय सप्तरी समेत
मुद्दा : उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरिपाउँ
(१) विवादमा आएको भरपाई अ.बं. ७८ नं. बमोजिम निवेदकलाई सद्देकीर्तेमा सुनाई त्यसपछि मात्र प्रमाणमा लिनुपर्ने सो अनुसार नगरी प्रमाणमा ल्याएको कानूनी त्रुटि गरेको स्पष्ट हुने ।
(२) बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भनी उजूर गरेकोमा निष्कासन गर्न खोजेको भनी सजाय गरेको भु.सं.ऐन २०२१ को दफा ३२(१)ख.को कानूनी त्रुटि गरेको देखिने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णकुमार बर्मा
विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज
आदेश
न्या. वासुदेव शर्मा
१. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार अधिकारीको मिति ०२८।३।२८ को निर्णय बदर गरिपाउँ भनी मिति ०२८।५।२८ मा रिट निवेदन दर्ता भएको रहेछ ।
तथ्य यसप्रकार छ : प्रतिरक्षी मोहर मल्लाह मोढिले निवेदकको नाउँको सप्तरी ओद्राहाको जग्गा बिगाहा ०–१०–० दश कठ्ठा मोहियानीमा आधि फाँट दिने गरी कमाई आएकोमा २०२७ सालको धान बाली पाकी तयार भएपछि निवेदकलाई सूचना दिई बाली आधि फाँट निवेदकलाई दिनुपर्नेमा निवेदकलाई थाहा सूचना नदिई काटी जग्गाधनी भाग नदिई लगेको हुँदा कठ्ठा १ एकको धान मन २।। दुई मन बिस सेरका दरले उब्जा भएको धान मन २५ पच्चीसको आधि भाग धान मन १२।। बाह्र मन बीस सेरको मन १ एकको रु.३५ को दरले हुने रु.४३७।५० र पराल बोझा ३० को रु.४५। जम्मा रु.४८२।५० चार सय बयासी रुपैयाँ पचास पैसा दिलाई भराई पाउँ भन्ने भू.सु.कार्यालयमा निवेदन परेको भूमिसुधार अधिकारीबाट निर्णय हुँदा २०२७ सालको धान बाली जम्मा धान मन १०।।। दशमन तीस शेर पञ्चायतको रोहवरमा वादीको सहोदर दाजु हरिलाल ठाकुरलाई आधि फाँट बुझाई भरपाईसमेत गरिलिएको भरपाईको नक्कलसमेत पेश गरेको र पञ्चायतले बाँकी फाँटको मुचुल्का खडा गरी बाँडफाँड गराएको हुँदा वादीले प्रतिवादीबाट ०२७ सालको बाली बुझिलिएको ठहर्छ । वादी जग्गाधनीले प्रतिवादी मोहीलाई बाली बुझी निजलाई निष्कासन गर्न खोजेकोले वादीलाई भु.सं.ऐन २०२१ को दफा ३२ (ख) बमोजिम जग्गालाई रु.३०। तीसका जरिवाना हुने ठहर्छ भनी मिति ०२८।३।२८ मा भूमिसुधार अधिकारीले निर्णय गरेको रहेछ । सो उपर रिट निवेदन पर्न आएको छ ।
२. निवेदकको लेख जिकिर निम्न प्रकार छ :
(१) भु.सं.ऐन, २०२१ को दफा ३६ अनुसार मोहीले उब्जनी बाली काट्नी मठनी हुँदाकै बखत थला वा खरिहान भई निवेदकलाई वा निवेदकको अधिकार प्राप्त प्रतिनिधिलाई बाँडी दिई सकेपछि मात्र बाली उठाउन पाउने कर्तव्य भएको कानूनी व्यवस्था छ । सो मूल कर्तव्य विपरीत गरी मोहीले निवेदक जग्गाधनीलाई बाली कटानी भडनीको सूचना खबरनै नदिई बाली काटी निवेदकको माग निवेदकलाई कुनै अधिकार प्राप्त प्रतिनिधिलाई नबुझाएको प्रष्ट प्रमाणित छ ।
(२) मोहीले कानूनले तोकिए बमोजिम गरी जग्गाधनी फाँटबाली बुझाउनुपर्नेमा नबुझाई बेसरोकारका व्यक्तिको भरपाई खडागरी जालसाज गरी समुचित न्यायमा असर परेको प्रष्ट छ । मोहर महलाहले बाली फाँट बुझाए भन्ने कुराको निवेदक जग्गावालाले उजूर दिएकोमा मोहीले निवेदकलाई वा अधिकार प्राप्त प्रतिनिधिलाई बाली बुझाएको नदेखिएपछि भू.सु.ऐन, ०२१ को दफा २९(१) र २९(३) बमोजिम गरी कूत बाली दिलाई भराई दिनुपर्नेमा सो बमोजिम नभएबाट सम्पत्ति भोग गर्ने संवैधानिक हकको सार्थकतामा असर पर्न गई निष्कृय हुन गएको प्रष्ट छ ।
(३) भू.सु.ऐन, २०२१ को दफा ३२(ख) लगाई अधिकारको दुरुपयोग गरी भू.सु.अ.ले जरिवाना रु.३०। तीस गरी असुलसमेत गरिलिएको हुँदा प्रत्यक्ष तथा कानूनी त्रुटि हुन गएको छ ।
(४) मोहीलाई जग्गाबाट हटाएको प्रश्न उठेको पनि छैन । यसरी बिना उजूर कसूरनै नभएको कुरालाई लिई कसूरदार ठहराई लाग्नै नसक्ने कानूनको दफा लगाई सजाय गर्नु अधिकारको दुरुपयोग गरेको छ ।
(५) कानूनको परिधिभित्र रही भू.सु.अ.ले कानूनबमोजिम निवेदकले पाउनुपर्ने जग्गाधनी भाग नपाएको हुँदा दिलाई दिनुपर्नेमा सो नगरी अधिकृत प्रतिनिधि बाहेक अर्कालाई बाली बुझाएको भरपाई सद्दे कीर्तेमा समेत नसुनाई सोही भरपाईको आधार लिई अर्कालाई बुझाएको बाली निवेदकले पाएको भन्ने निर्णय गरेको प्रत्यक्ष कानूनी त्रुटि हुन गएको छ ।
३. विपक्षीहरूद्वारा लिखित जवाफ मगाई पेश गर्नु भन्ने मिति २०२८।७।२६।६ को डिभिजन बेञ्चको आदेशानुसार प्राप्त हुन आएको जिल्ला भूमिसुधार कार्यालय सप्तरीको लिखित जवाफ ।
४. निवेदकको हक पनि नदेखिएकोले प्रश्नमा जिरह लिएको आफ्नो सम्पत्ति भोगचलन गर्न आघात पुर्याएको भन्न कुनै हालतमा नसकिने हुँदा निवेदकको संविधानको धारा १०(१), ११(२)(ङ), ११(३) र १५ द्वारा प्रदत्त हकमा आघात पुगेको भन्ने कुरा निराधार भएकाले उत्प्रेषण खारेज गरिपाउँ ।
५. यसमा निवेदकतर्फका विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्माको र विपक्षी जि.भू.सु.कार्यालय सप्तरीबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ ? निर्णय दिनु परेको छ ।
६. २०२७ सालको धान बाली निवेदकलाई थाहा खबर नगरी काटी एकलौटी खाइदिएकोले धान मन १२।। को धानमन १ को रु.३५। ले हुने बाली बिगो रु.४८२।५० दिलाई पाउँ भन्ने फिरादपत्र र बाली नबुझाएको हुँदा जग्गाबाट निष्कासन गरिपाउँ भनी सोही मितिमा निवेदकको निवेदनपत्र भूमिसुधार अधिकारी समक्ष परेकोमा २०२७ सालको धानबाली पञ्चायतबाट बाँडफाँड गरी जग्गाधनी फाँट निवेदकको दाजु हरिलाल ठाकुरलाई बुझाएको भर्पाई छ भन्ने प्रतिरक्षीको प्रतिवादी परेको उक्त मुद्दामा भूमिसुधार अधिकारीको निर्णयमा पञ्चायतबाट बाली बाँडफाँड मुचुल्का खडा गरी बाँडफाँड गराएको हुँदा वादीले प्रतिवादीबाट २०२७ सालको बाली बुझिलिएको ठहर्छ भन्दै वादी निवेदकलाई मोही सम्ममा बाली बुझी लिएर पनि निष्कासन गर्न खोजेकोले भनी भु.सं.ऐन, २०२१ को दफा ३२ (ख) बमोजिम रु.३०। जरिवाना गरी २०२८।३।२८ मा निर्णय गरेको विवादमा आएको जिल्ला भूमिसुधार अधिकारीको निर्णयबाट देखिन्छ ।
७. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ बमोजिम मोहीले उब्जनी बाली निवेदकलाई बुझाउन पर्नेमा नबुझाई बेसरोकारका व्यक्तिको भरपाई खडा गरी पेश गरेको आधारमा बाली बुझाएको ठहर्छ भनी गरिएको निर्णय कानूनी त्रुटीपुर्ण छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ (ख) लाई अधिकारको दुरुपयोग गरी जरिवाना समेत गरिएको छ । मोहीलाई जग्गाबाट हटाएको प्रश्न उठेको छैन उजूरी पनि सोअनुसारको छैन कसूर नै नभएको कुरालाई लिई कसूरदार गराएको अधिकारको दुरुपयोग गरेको भन्ने निवेदकको जिकिर छ ।
८. माथि उल्लेख भएअनुसार बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भनी उजूर परेकोमा बाली बुझाएको भनी हरिलाल ठाकुरको भरपाई पेश गरेको आधारमा बाली बुझाएको ठहराएको छ । सो विवादमा आएको हरिलाल ठाकुरले गरिदिएको भनेको भरपाई अ.बं.७८ नं.बमोजिम निवेदकलाई सद्दे कीर्तेमा सुनाई त्यसपछि मात्र प्रमाणमा लिनुपर्ने सो अनुसार नगरी निवेदकका विरुद्ध प्रमाणमा लगाएको उक्त कानूनको त्रुटि गरेको प्रष्ट छ । ऐनको दफा ३२ (ख) लगाई निवेदकलाई सजाय गरेको सम्बन्धमा विचार गर्दा जग्गावाला वा निजकोतर्फबाट काम गर्ने कुनै व्यक्तिले जालसाजी गरी वा धोका दिई वा अरू किसिमबाट बेइमानी गरी मोहीलाई निजको भोगचलनको जग्गाबाट हटाएमा त्यस्तो गर्ने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले रु.१०००। एक हजारसम्म जरिवाना हुनेछ भनी दफा ३२(१)(ख) मा सजाय गर्ने कानूनी व्यवस्था छ । प्रस्तुत विवादमा जग्गावाला वा निजकोतर्फबाट मोहीलाई निष्कासन गरेको भनी उजूर परेको नभई बाली नबुझाएको हुँदा बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भनी निवेदकले नं.भूमिसुधार अधिकारी समक्ष उजूर गरेकोमा निष्कासन गर्न खोजेको भनी सजाय गरेको उक्त दफा ३२(१)(ख) को कानूनी त्रुटि गरी गरेको देखिंदा उत्प्रेषणको आदेश जारी गरी भूमिसुधार अधिकारीको मिति ०२८।३।२८ को निर्णय बदर गरिदिने ठहर्छ । यो आदेशको प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३० साल जेष्ठ २९ गते रोज २ शुभम् ।