November 12, 1974
Created by nepalarchives

निर्णय नं. ९१२ – ज्यान

निर्णय नं. ९१२                  ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३० सालको फौज्दारी पुनरावेदन नम्बर ५६५...

निर्णय नं. ९१२                  ने.का.प. २०३२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३० सालको फौज्दारी पुनरावेदन नम्बर ५६५

फैसला भएको मिति : २०३१।७।२६।२

प्रतिवादी : वि.न.पं. वा.नं. ६ घर भै केन्द्रिय कारागारमा थुनिएको झमेली माया

विरुद्ध

विपक्षी : श्री ५ को सरकार

मुद्दा : ज्यान

(१)   हिरासतमा राखी अभियुक्तसँग गराएको विवादास्पद बयानलाई निजका विरुद्ध स्वतन्त्र प्रमाण मान्न नमिल्ने ।

(२)   शंका र विश्वास प्रमाणको रुपमा ग्राहृय हुन नसक्ने ।

(३)   सिर्फ शंकाको आधारमा कसैलाई कसूरदार ठहराउन फौज्दारी न्याय सिद्धान्त विपरीत हुने।

(प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट : वैतनिक अधिवक्ता किशोरकुमार अर्याल

विपक्षी तर्फबाट      : अतिरिक्त सरकारी अधिवक्ता प्रेमबहादुर बिष्ट

फैसला

            न्या. वासुदेव शर्मा 

            १.     बद्रीप्रसाद कोइरालाको र महम्मद स्माइल मियाँको जाहेरी परेको ठिठर मियाँ कर्तव्य गरी मरेको भन्ने ज्यान मुद्दाको संक्षिप्त विवरण निम्नप्रकारको छ : विराटनगर नगरपञ्चायत वडा नं.६ निवासी ठिठर मियाँ ०२७।७।२५ को राति भैंसी चराउन गएको फर्कि घर नआई खोजी गर्दा घरदेखि पूर्व दक्षिण ज.क.मा पं.वडा नं १ मा मरिरहेको छ भन्ने गाउँलेहरूले भन्दा जाहेर गरेको छु कर्तव्यको हो बुझी कारवाही गरियोस् भन्नेसमेत विराटनगर नगरपञ्चायत वडा नं.६ का सदस्य बद्रीप्रसादको मिति ०२७।७।२६।४ को र झमेली मियाँले ठिठरको श्रीमतीलाई करणी गरेमा पक्राउ गरी चुनाकालोे पोती गाउँ घुमाई छाडिदिएको । सो २५ गते राती ३ बजे तिर सिगाई नदीको किनारा माझमेली मियाँले ठिठरलाई भैंसी चराउन गएको अवस्थामा डोरीले घाँटीमा बाँधी चोटपटक गर्ने गरी कुटी मारेछ । सो मार्दा ठिठरकी श्रीमती अल्साया मियाँनीसमेत भई मारेकोले कारवाही गरिपाउँ भन्नसमेत मर्ने ठिठरको मामा महम्मद स्माइल मियाँको २०२७।७।२६ को दरर्खास्त जाहेरी ।

            २.    झमेली ठिठर एकै बाबुका भिन्ना भिन्नै स्वास्नीतर्फका छोरा सौतेनी दाजुभाइ हुन ठिठरको स्वास्नीले झमेलीलाई खाने खुवाउने र ठिठर नभएको बेलामा करणी गराउन र गर्ने गर्थे भन्ने कुरा सुन्थें झमेली र अल्सीयासमेत २ जनाका मिलोमतोबाट ठिठरलाई मारे मराएको शंका लाग्छ भन्नेसमेत उस्तद मियाँ, खुदा बक्स मियाँ, लखन मलाहाबंगाल मिश्रीको पृथकपृथक कागज ।

            ३.    २०२७।७।२५ गते पटुवाको निमित्त ठिठरसँग मेरो मुख झगडा भएको र ठिठरको स्वास्नीसँग मेरो करणी भइरहेको कुरा गाउँलेले चुनाकालो पोती छाडी दिएकोबाट समेत ठिठरलाई ज्यान लिन्छु भनेको २५ गते बेलुकी भैंसी लिई सिंगाई नदी किनारा खाडीका सिरकको पल्ला ओडी भैंसीको पिठमा किनारा सुतिएको मौकामा म घरबाटै लगेको काठको लठ्ठीले मर्ने ठिठरको पिठ्यूमा ३।४ पटक हिर्र्काएको पछि भैंसीबाट लेडेपछि पनि लाठीले हिर्काउँदा भाइ ठिठर त्यहीं मरी म ठाकुरप्रसादको घरमा गएँ मर्नेको श्रीमतीको सल्लाहबाट मारेको होइन भन्नेसमेत प्रहरीमा र ठिठरलाई कर्तव्य गरी मारेको होइन ठिठरलाई पटुवामा माटो किन हालेको भनी दोकानदारले मलाई पिटेबाट ठिठरलाई पिटेको हुँ । ठिठर के भई २५ गते रातमा मरे थाहा छैन भनेको स्वास्नीसँग मेरो अनुचित सम्बन्ध भएको थिएन । प्रहरीले कुट्लान भन्ने डरले मैले मारेको हुँ भनी बताएको हुँ तापनि मैले कुटी मारेको होइन भन्नेसमेत अदालतमा झमेलीले गरेको बयान रहेछ ।

            ४.    ठिठरलाई झमेली र ठिठरको श्रीमती अल्सियासमेतको मिलेमतोबाट मरे मराएको भन्ने देखिन आएकोले ठिठरको श्रीमती अल्सिया झमेलीलाई ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम कार्यवाही चलाउने भन्नेसमेत प्रहरी प्रतिवेदन र ठिठरको श्रीमती अल्सिया उपर तथ्य सबूतको किटानी उजूर नभई शंका गरेकोले ज्यान मार्न सरीक छ भन्न नसकी निज उपर मुद्दा नचलाउने भन्नेसमेत स.स.अ.को राय ।

            ५.    कार्तिक २५ गते बेलुका घरमा दुबै भाइको झगडा कुटाकुट भयो बिहान ४ बजे मामा ससुराको घरमा गएँ लोग्ने ठिठर भैंसी चराउन गएका बखत झमेलीले मारे होला भन्ने लाग्छ मेरो झमेलीसित करणी लिनु दिनु भएको थियो भन्नेसमेत प्रहरीमा र झमेलीसँग मेरो अनुचित सम्बन्ध नभए पछि केही जमीन खान झुट्टा शंका गरेका हुन मैले मार्ने कुनै कुरा गरेको छैन मारेको मैले देख्न नपाएपनि झगडा भएकोबाट झमेलीले मारेको होला भन्ने लाग्छ भन्नेसमेत अदालतमा अल्सिया मियाँले गरेको बयान ।

            ६.    मेरो साथ झमेलीको वैवाहिक कर्म गरी विवाह भएको ४ वर्ष भयो अघि राम्रो सम्बन्ध थियो निजले मलाई सरदीन भनेकाले मर्ने ठिठरका श्रीमतीसँगको अनुचित सम्बन्ध भएको फेला पारी गाउँलेले चुनाकालो पोती छाडेछन् । मेरो पति भागेर मेरी माइत गई बसेका हुन् मर्ने र वरको बीचमा झगडा भएकै थिएन मेरो पतिले देवर ठिठरलाई मारे भन्ने सुनें भन्नेसमेत जोहेरा मियाँको कागज ।

            ७.    २०२७।७।२५ गते झमेलीले पटुवामा माटो राखी बिक्री गर्न लगेको बारे झमेली ठिठरको झगडा भएको र ठिठरको श्रीमतीसँग झमेलीको अनुचित सम्बन्ध भएकोले निज झमेलीले ठिठरलाई मारेको शंका लाग्छ भन्नेसमेत महमद इस्माइल मियाँको बयान ।

            ८.    पोष्ट मार्टम फारमबाट डोरीको निल भन्ने २ हातको सनपाटको डोरी लास नजिक भेटिएको कुनै वस्तुले सास रोकिएको कारणले मृत्यु भएको भन्ने डाक्टरको राय समेतबाट निज ठिठर कर्तव्यबाटै मरेको भन्ने प्रमाण पुग्न आएको । ऊ निज झमेलीले लाठी समेत प्रयोग गरी ठिठरलाई कर्तव्य गरी मारेको ठहर्छ र ज्यानसम्बन्धीको १३ (३) अनुसार सर्वस्वसहित जन्मकैद हुन्छ अल्सियाको हकमा कुनै कसूर गरेको भन्ने प्रमाण पुग्न नआएकोले सफाई पाउने ठहर्छ भन्नेसमेत सुरु मोरङ जि.अ.को ०२८।४।२०।५ को फैसला ।

            ९.    उक्त इन्साफमा चित्त बुझेन अपराध सावित गर्न मुख्य सबूत कुनै नदेखिर्ई यस्तैमा मलाई अपराधी ठहराई गरेको फैसला बदर गरी ठहराई पाउँ भन्नेसमेत प्रतिवादी झमेली मियाँको पुनरावेदन जिकिर भएकोमा निज अल्सिया मियाँ सुरु देखि नै झमेली मियाँसँग करणी लिनु दिनुसम्ममा सावित भएकी र कर्तव्य गरी ठिठरलाई मारेमा इन्कार रहेको मौकैमा सावित हुने झमेलीले पनि म भएकैले मर्ने भाइ ठिठरको पिठमा लाठीले कसेर २।४ पटक हिर्काएपछि ठिठर त्यही मर्‍यो मर्ने भाइकी श्रीमतीको सर सल्लाहबाट ठिठरलाई मरेको नभई म एक्लैले मारेको हो भन्नेसमेत लेखाएको कारणबाट अल्सियालाई सफाई दिने गरेको मनासिव देखिंदा पुनरावेदन जिकिर पुग्न सक्दैन । सुरुको इन्साफ मुनासिव ठहर्छ भन्नेसमेत कोशी अञ्चल अदालतबाट मिति ०२९।१२।१।४ मा भएको फैसला ।

            १०.    उक्त इन्साफमा चित्त बुझेन बुहारी अल्सियाले झमेलीले मारेकै हो भनी किटान बोलेको छैन स्माइल मियाँले अनुचित सम्बन्ध गरे भन्नुपर्ने कारण निजसँग रुपैयाँ सापट पैंचो मौखिक झगडा चलेको कारणले हो यो कुरा सत्य थियो भन्ने जाहेरवाला हाम्रो वडा सदस्य बद्रीप्रसादले किटानी गरी लेखेको छैन । भाइ ठिठरलाई मैले कर्तव्य गरी मार्नुपर्ने कुनै उद्देश्य नभएको र अपराध सावित गर्र्ने तथ्य कुराको सबूत पनि नदेखाएकोले मलाई अपराधी ठहराई गरेको गलत फैसलालाई उल्टाई इन्साफ पाउँ भन्नेसमेत थुनुवा प्रतिवादी झमेली मियाँको पुनरावेदन जिकिर रहेछ ।

            ११.    प्रहरीमा भएको कागज डाक्टरी रिपोर्टसँग नमिलेको पुनरावेदकले अदालतमा बयान गर्दा कुनै मारेको छैन भनी इन्कार गरेको देखिन्छ । केवल शंकाको आधारमा निजलाई दोषी ठहराइएको देखिंंदा अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम छलफलमा सरकारी अधिवक्ता झिकाई पेश गर्नु भन्नेसमेत २०३१।५।११।३ को डिभिजन बेञ्चको आदेश ।

            १२.   यसमा पुनरावेदक प्रतिवादी झमेली मियाँलाई थुनाएको कारागारबाट झिकाई रोहवरमा राखी निजतर्फका विद्वान वैतनीक अधिवक्ता श्री किशोरकुमार अर्यालको र उक्त डिभिजन बेञ्चका आदेशानुसार खटी उपस्थित हुनुभएका वादी श्री ५ को सरकारतर्फका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रेमबहादुर बिष्टको बहस समेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा सुरुको सदर गरी अञ्चल अदालतबाट भएको इन्साफ मनासिव वा गल्ती के हो ? निर्णय दिनु परेको छ ।

            १३.   मन ठिठरको ज्यान कुन परिबन्दले कसले मारेको भनी देख्ने प्रत्यक्ष प्रमाण छैन ठिठरको स्वास्नी अल्सिया र अभियुक्त झमेलीका बीचमा अनुचित सम्बन्ध भएको र गाउँलेहरूले कालो चुना पोती गाउँबाट निकाला गरिदिएकोमा फेरि गाउँघरमा आइबसेको र पटुवामा माटो मिलाएको कारणबाट झमेली र ठिठरको झगडा परी झमेलीले ठिठरलाई मारी दिन्छु भनेको र भोलिपल्ट बिहान ठिठर मरेकाले झमेलीले मारेको विश्वास लाग्छ भन्ने महमद इस्माइलको बयान र सोही अनुरुप सर्जमिनका मानिसहरूले झमेलीले मारेको शंका लाग्छ भनी लेखिदिएको आधारमा जिल्ला अदालत तथा अञ्चल अदालतले झमेलीले प्रहरीमा गरेको कागज पुष्टि भएको भन्ने ठहराई अभियुक्त झमेलीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सजाय गरेको पाइन्छ । जहाँसम्म प्रहरीमा झमेलीले गरेको कागजको प्रश्न छ प्रहरी हिसासतमा छँदा अभियुक्तले गरेका साविती बयान आफू खुसी गरेको होइन प्रहरीले भने बमोजिम गरेको हो भन्ने अभियुक्तले अदालतमा इन्कारी बयान गरेबाट र पोष्टमार्टम रिपोर्टसँग असंगत भएकोले समेत सो बयान विवादास्पद हुन गएकोले हिरासतमा राखी अभियुक्तसँग गराएको त्यस्तो विवादास्पद बयानलाई निजका विरुद्ध स्वतन्त्र प्रमाण मान्न नमिल्ने हुनाले सो बयानलाई प्रमाणमा लगाउन मिल्दैन । सर्जमिनका मानिसहरूले तथा महमद इस्माइलले शंका र विश्वासको आधारमा झमेलीलाई कसूरदार देखाउन खोजेको देखिन्छ तर शंका र विश्वासको कुरा व्यक्तिगत र विचारको कुरा भएकोले उक्त शंका र विश्वास प्रमाणको रुपमा ग्राहृय हुन सक्तैन मर्ने ठिठरको स्वास्नी अल्सिया र झमेलीका बीचमा अनुचित सम्बन्ध रहेको र पटुवामा माटो मिलाएकोमा झमेली र ठिठरका बीचमा झगडा परेको र ठिठरलाई मार्छु भनी झमेलीले भनेको भन्ने महमद इस्माइलको बयानबाट अभियुक्त झमेलीले कर्तव्य गरी ठिठरलाई मारेको हो भन्ने शंका उत्पन्न हुन सक्तछ । तर सिर्फ शंकाको आधारमा कसैलाई कसूरदार ठहराउन, फौज्दारी न्याय सिद्धान्तको विपरीत हुने हुनाले त्यत्तिकै आधारमा अभियुक्त झमेलीलाई कसूरदार ठहराउन मिल्दैन । निजको प्रहरीमा ठाडो कागज र पोष्टमार्टम रिपोर्टको व्यहोरा पनि परस्परमा बाझिएको देखिन्छ । यस स्थितिमा अभियुक्त झमेलीलाई बिना प्रमाण सिर्फ शंकाको आधारमा ठिठरको ज्यान मारेको ठहराई सजाय गरेको सुरु मोरङ जिल्ला अदालतको फैसला सदर गरी गरेको कोशी अञ्चल अदालतको इन्साफ मिलेको देखिएन । अभियुक्त झमेली मियाँले सफाई पाउने ठहर्छ पुनरावेदक थुनुवा प्रतिवादी झमेली मियाँ रोहवरमा हुँदा निजलाई फैसला भएको जनाउ दिन परेन । तपसील बमोजिम गरी नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

तपसील

प्रतिवादी झमेली मियाँको माथि इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाउने ठहरेकोले सुरु मोरङ जिल्ला अदालतका मिति ०२८।४।२०।५ का फैसलाले ठिठरको ज्यान मरेको ठहराई निज झमेली मियाँलाई ज्यानसम्बन्धीको महल १३ नं.को देहाय दफा ३ अनुसार सर्वस्व सहित जन्म कैदको सजाय गर्ने गरेको इन्साफ मनासिव ठहराई कोशी अञ्चल अदालतबाट ०२९।१२।१।४ भएको इन्साफ उल्टी भएकोले निज झमेली मियाँलाई सुरुले गर्ने गरेको सर्वस्वसहित जन्म कैदको सजाय लाग्दैन व्यहोरा जनाई उक्त लगत कट्टा गरिदिनु भनी मोरङ जिल्ला अदालतलाई पत्र लेखी पठाउन का.जि.अ.त.फाँटमा लगत दिनु……………….१

शुरु मोरङ जिल्ला अदालत ०२८।४।२०।५ को फैसला बमोजिम प्रतिवादी झमेली मियाँको अंश सर्वस्व रोक्का गर्नेतर्फको कार्यवाही गर्न पर्दैन भनी ऐ.ऐ ……………….२

प्रतिवादी झमेली मियाँ कै माथि इन्साफ खण्डमा लेखिए बमोजिम सुरु तथा अञ्चल अदालत गर्ने गरेको सजाय नलाग्ने भई सफाई पाउने ठहरी निर्णय भएकोले यस मुद्दा बाहेक अन्य मुद्दामा निज झमेली मियाँलाई बन्दी गराउन नपर्ने भयो । मुद्दाको कारावासबाट मुक्त गरी छाडि दिनु भनी सम्बन्धित कारागार कार्यालय…………३

 

उक्त रायमा म सहमत छु । 

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३१ साल कार्तिक २६ गते रोज २ शुभम् ।