निर्णय नं. ९११ – ज्यान
निर्णय नं. ९११ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् ०३० सालको फौ.फु. नं. ८२०।८५२ फैसला...
निर्णय नं. ९११ ने.का.प. २०३२
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् ०३० सालको फौ.फु. नं. ८२०।८५२
फैसला भएको मिति : ०३१।४।२७।१ मा
पुनरावेदक : सुन्दर सिं सिखको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी : जि.बांके हिरमिनिया गा.पं.वार्ड नं.६ बस्ने सहदेव सिं सिखसमेत
मुद्दा : ज्यान
(१) प्रहरीमा भएको कागजमा लेखिएको कुरा अन्य प्रमाणबाट समर्थित हुन नआएकोमा त्यसलाई आधार मान्न नमिल्ने ।
(२) वारदातको अवस्थामा घटनास्थलमा नभई अन्यत्र रहे भएको भन्ने कुराको प्रमाण सो जिकिर लिने व्यक्तिले गुजारी सो कुरा स्थापित गर्न सक्नुपर्ने ।
(प्रकरण नं. ५ र ६)
पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल
विपक्षी तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट
फैसला
न्या.धनेन्द्रबहादुर सिंह
१. भेरी अञ्चल अदालतको फैसलामा चित्त नबुझे पुनरावेदन म्याद दिने भन्ने उल्लेख भएकोबाट वादी श्री ५ को सरकार प्रतिवादी सहदेवको पुनरावेदन परी आज यस डिभिजन बेञ्च समक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : २०२८ साल जेष्ठ २२ गते विवाहको निमन्त्रणमा मेरो बाबु छेदा सिं र मेरो स्वास्नी दुखि सिख पनि गएको म एक्लै घरको आगनमा सुतेको मौकापारी सहदेव सिं निजको भाइ घिराउ सिं समेत २ जना र मैले नचिनेको अरू २ जना समेत ४ जना रक्सी खाई गाली गर्न लागेको सहदेव सिंले हातमा लिई राखेको खुकुरीले मेरो ज्यान मार्ने उद्देश्यले प्रहार गर्दा मैले बचाउँदा नारीमा लागी काटी घाउ चोट रगतपच्छेसमेत भई मैले हल्ला गरेकोबाट भागी गएको सोही राति विवाहको निम्ता खान गएको मेरो बाबु छेदा सिं रातको करिब ३ बजे फर्कनु भएको त्यसको केही बेर वाद मेरो स्वास्नी दुखिसिख पनि घरतर्फ आउन लागेकोमा गोरेटा बाटो खेतमा टाउको नभएको मेरो बाबुको लास देखि घरमा आई हल्ला गरेकोले गई हेरी पहिचान गरी बाबुको ज्यान मारी टाउको बेपत्ता गरिदिएकोले पक्राउ गरी कानूनबमोजिम गरी मेरो घाउ चोट समेत अस्पतालमा जाँच गरिपाउँ भन्ने समेत सुन्दर सिंको जाहेरी मैले छेदासिंको खुट्टा समातेको कुञ्ज विहारी लोनियाले हातमा लिएको खुकुकरीले छेदासिंको घाँटीमा प्रहार गरेकोमा पुरा टाउको नछुटिएकोले दाज्यू सहदेव सिंले पनि हातमा लिएका खुकुरीले हानेपछि टाउको छुट्टिन गएकोले टाउको बोकी कुञ्ज विहारी चुनी दाजु सहदेव दक्षिणतर्फ गए टाउकोलाई के गरे मलाई थाहा छैन भन्नेसमेत घिराउ सिंको कागज छेदासिं माथि मैले खुकुरी प्रहार गरेको होइन सहदेवले प्रहार गरेको हो भन्नेसमेत कुञ्ज विहारी लोनियाको कागज । प्रहार गरेको सहदेव सिं घिराउ सिं कुञ्ज विहारी लोनियार वदलु राउसमेत उपर मुद्दा चलाउन पर्ने र मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) बमोजिम सजाय हुनुपर्ने हुँदा कारवाही गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
३. मैले जाहेरवालाको बाबु छेदासिंलाई मार्नमा सहमती भई खुट्टा समात्ने कामसमेत कुनै गरेको छैन भन्नेसमेत घिराउ सिंको अदालतमा बयान छेदासिंलाई मार्नमा मेरो सहमति र साथसमेत थिइन कसले मारे मलाई थाहा छैन भन्नेसमेत कुञ्ज सिं हारी लोनियाको बयान । छेदा सिंलाई कर्तव्य गरी मारेको होइन, म निरपराधी हुँ भन्नेसमेत सहदेव सिंको बयान मैले कर्तव्य गरी मारेको होइन भन्नेसमेत बदलु राउको बयान । मसमेत भई छेदासिंको ज्यान मारेको छैन भन्नेसमेत घिराउ चुन्नि लोनियाको वयान । छेदा सिंको ज्यान घिराउ तथा चुन्निका सहयोगबाट सहदेव सिंले खुकुरीको चोट प्रहार गरी ज्यान मारेको र बदलु तथा कुञ्ज विहारी ज्यान मार्नमा सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू केही नगरी उभिई बसीरहेको समेत ठहर्छ समेत बाँके जिल्ला अदालतले फैसला गरेकोमा वादी र प्र.सहदेवको पुनरावेदन परेकोमा इन्साफ र सजाय समेत बाँके जिल्ला अदालतको मुनासिव भन्नेसमेत भेरी अञ्चल अदालतले फैसला गरेको रहेछ ।
४. भेरी अञ्चल अदालतले गरेको इन्साफ मुनासिव बेमुनासिव के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
वादीतर्फका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले घिराउ सिं र चुन्नी लोनिया कुञ्ज विहारी बदलुलाई सजाय गरेको पर्याप्त छैन भन्ने र पुनरावेदक सहदेव सिंकोतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री लवदेव भट्टले अञ्चल अदालतबाट भएको इन्साफ मिलेको छैन भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको छ ।
५. वादीले आफ्नो पुनरावेदनमा घिराउ सिं र चुन्नि लोनियालाई ज्यानसम्बन्धीको १७ को २ अनुसार गरिएको पर्याप्त भएन घिराउ सिंले मृतकको खुट्टा समातेको र चुन्नि लोनियाले मृतकको मुखमा ठोसी लठ्ठीले कुटेको भन्ने देखिन्छ । कुञ्ज विहारीले पनि खुकुरीले घाँटिमा प्रहार गरेको भन्ने घिराउसिंको प्रहरी कागजबाट देखिन्छ । कुञ्ज विहारीले मर्ने छेदासिंलाई पक्रेको भन्ने स्वीकार गरेकोछ । तसर्थ घिराउ सिं चुन्नि लोनिया बदलुसमेतलाई लुटी सजाय गर्ने गरेको फैसला बदर गरिपाउँ भन्नेसमेत उल्लेख भएको देखिएबाट उक्त पुनरावेदन जिकिरतर्फ हेर्दा मौकामा देख्ने भनेको जाहेरवाला सुन्दरसिंको स्वास्नी दुखराना सिखले लोग्ने सुन्दर सिंको ज्यान मार्न उद्योग गरी ससुरा छेदा सिंको ज्यानै खतम गरी टाउकोसमेत बेपत्ता गरिदिएका हुन् भन्नेसमेत सर्जमिन मुचुल्कामा लेखाएको देखिएबाट अभियुक्तहरूले हात खुट्टा समातेको भनी लेखाउन सकेको देखिँदैन । घिराउ सिंले प्रहरी समक्ष गरेको कागजमा चुन्नी लोनियाले मुखमा ठोसी लाठ्ठिले कुटेको र मैले छेदासिंको खुट्टा समातेको कुञ्ज विहारीले खुकुरीले घाँटिमा प्रहार गरेकोसमेत लेखाएको देखिन्छ तर उक्त प्रहरीमा भएको काजगमा बाहेक यस कुराको अरू सबूत प्रमाण वादीले गुजार्न सकेको छैन । यस्तो अवस्थामा प्रहरीमा भएको कागजमा लेखिएको कुरा अन्य प्रमाणबाट समर्थित हुन नआएकोमा त्यसलाई आधार मान्न मिल्ने देखिँदैन । अतः ज्यानसम्बन्धीको १३ (१) बमोजिम सजाय हुनुपर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन।
६. सर्वस्व सहित जन्मकैद गर्ने गरी ज्यानसम्बन्धीको १३ (१) अनुसार सजाय गरेको चित्त बुझेन भन्नेसमेत सहदेव सिंको पुनरावेदन परेकोमा हेर्दा सहदेव सिंले अदालतमा आई बयान गर्दा ०२८ साल जेष्ठ २२ गते कहाँ हुनुहुन्थ्यो भनी सोधनी भएकोमा गते बार मलाई सम्झना छैन । ज्येष्ठ शुक्लपक्ष अष्टमीको दिन घरबाट हिंडी भारत जिल्ला बहराइच ठाना सदरकोट बाली मौजे चाकुजोतमा मेसिन खरिद गर्न गएको भन्नेसमेत उल्लेख गरेको देखिन्छ । वारदातको अवस्था घटनास्थलमा नभई अन्यत्र रहे भएको भन्ने कुराको प्रमाण सो जिकिर लिने व्यक्तिले गुजारी सो कुरा स्थापित गर्नपर्छ । सो गर्न नसकेमा वादीको भनाई बमोजिम निज घटनास्थलमा रहेको भन्ने कुरा हुन आउँछ । प्रस्तुत मुद्दामा पुनरावेदकले आफू अन्यत्र भएको भन्ने कुराको साक्षी प्रमाण पुर्याउन सकेको छैन । बरु जाहेरवालाको स्वास्नी दुखराना सिखले सर्जमिनमा सहदेव सिंसमेतका बदमासहरू मिली ससुरा छेदसिंको ज्यानै खतम गरी टाउको समेत बेपत्ता गरिदिएका हुन भन्नेसमेत लेखाएको र घटना घटेको राती रक्सी खाई सहदेव सिं आयो त्यत्तिकैमा सरदार सिंह सिख सहदेवले गाली बेइज्जति गर्यो भन्ने भएकोले अञ्चल सिंहसमेतले सहदेवलाई हप्काएका थिए । भोलिपल्ट छेदासिंको ज्यान मारिएको थाहा पाएँ । सहदेव उपर छेदासिंको ज्यान मारेको कुरामासमेत शंका लाग्छ भन्नेसमेत आशिकली शेषले सर्जमिनमा लेखाएको पाइन्छ । सुरु जाहेरी दरखास्तमा सहदेव सिंसमेत रक्सी खाई आई भन्नेसमेत उल्लेख भएको देखिएकोले सुरु जाहेरी दरखास्तमा निजको नाम उल्लेख भएको र दुखराना सिंखले सर्जमिनमा ससुरा छेदसिंलाई भुईंमा लडाई घाँटी काटिरहेको देखेँ सहदेव सिंको हातमा खुकुरी थियो भनी किटानी साथ लेखाएको देखिन्छ । सर्जमिनका सबैजसो व्यक्तिले सहदेव सिंको नाम उल्लेख गर्दै छेदा सिंको ज्यान मारी टाउको समेत बेपत्ता गरेको कुरामा शंका लाग्छ भनी लेखाएको पाइन्छ । सहदेव सिं र जाहेरवाला र मर्नेको बीचमा छोरीको कुरालाई लिएर रीसइवी परेको भन्ने कुरा मिसिल सामेल रहेको कागजबाट देखिन आएको छ । यसबाट निज सहदेव सिंले मर्ने छेदा सिंलाई मारेको भन्ने कुरा प्रमाणित हुन आएबाट सुरुको इन्साफ बहाल राखी भेरी अञ्चल अदालतले गरेको इन्साफ मुनासिव छ, देहायबमोजिम गर्नु ।
तपसील
वादी श्री ५ को सरकारको पुनरावेदन भएको केही गर्नु नपर्ने …………..१
प्रतिवादी पुनरावेदन सहदेव सिं के सुरुबाट सर्वस्व सहित जन्मकैद गर्ने गरी फैसला गरेकोले पुनरावेदन गरे वापतमा अरू सजाय गर्नु परेन ……………………२
मिसिल नियमबमोजिम बुझाई दिनु …………..३
उक्त रायमा म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् ०३१ साल श्रावण २७ गते रोज १ शुभम् ।