निर्णय नं. ९०८ – जालसाजी
निर्णय नं. ९०८ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिं रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९...
निर्णय नं. ९०८ ने.का.प. २०३२
फुल बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री झपटसिं रावल
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२९ सालको फौ.फु. नं. २६
फैसला भएको मिति : २०३२।४।२०।३ मा
निवेदक : का.जि गोकर्ण सुंताखाना पुली घैयावारी बस्ने खेचरबहादुर बिष्ट क्षेत्री
विरुद्ध
विपक्षी : का.जि. गोकर्ण पुली गाउँ बस्ने डोलबहादुर बिष्ट क्षेत्री
मुद्दा : जालसाजी
(१) सहिछाप गरी दिने लिने दुबै थरीको मिलोमतोको अभावमा कीर्ते कागजको ३ नं. अनुसार लिखत जालसाजी कायम हुन नसक्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त
विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
फैसला
न्या. वासुदेव शर्मा
१. प्रस्तुत मुद्दा ०२९।१।२९।५ को डिभिजन बेञ्चले छिने उपर दोहोर्याई पाउँ भन्ने वादीको निवेदन परेको श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा सर्वोच्च अदालत फुल बेञ्चबाट एक पटक दोहोर्याई दिनु र त्यसको नतिजा जाहेर गर्नु भन्ने ०२९।५।२।५ का हु.प्र.बमोजिम बक्स भई आई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : काठमाडौं मालमा सालको धान २।१९। गहुँ ।२ घ्यू रु.३३ तिर्नुपर्ने पुलिखेत भन्ने जग्गा १९८२।२।२२।६ मा रै.नं.२८७ मा दर्ता भएको खेत ।१३ जेठाबाबु टेकबहादुरका नाउँमा दर्ता भएको पदमबहादुरलाई भोगबन्धकीमा दिएको का.मालबाट ९९।१०।५ मा भोगबन्धकी परेको थैली असामिले बुझाएमा निखनी लिन पाउँछ पनि जनिई ९९।३।८।२ मा पर्चा बमोजिम पदमबहादुरका नाउँमा दर्ता भएको थियो । बन्धकीसम्म खाने पदमबहादुरले ०१८।३।२५ मा रु.४५०१। मा राजीनामा लिखत बदर गरिपाउँ भन्नेसमेत फिराद ।
३. वादीको जेठाबाबु ऋणि पदमबहादुर धनी भई ९०।१।९ गते पास भई बन्धकी लिएको खेत ।७ को खला १ खेत ।२० को खला १ महांकाल खेत ।८।१० सम्म बन्धकी भई टेकबहादुर ९६ सालमा मरेको निजको छोरा हरिबहादुर, भिमबहादुरले पदमबहादुरले बन्धकी खाएको रु.७८५। बुझाई दरपिठ गरी ०६।९।४ गते लगत समेत कटाईसकेको रहेछ माटो ।१३ को खेत २८७ नं.खला रु.४५०१ मा राजीनामा पाससमेत गरी मेरो हक भएको टेकबहादुरबाट पदमबहादुरले बन्धकी लिएको यो खला जग्गा होइन मेरो राजीनामाको जग्गा पदमबहादुरको नभए मालले तिरो बुझी रसिद दिनु नपर्ने हुँदा वादी दावा नलाने भन्नेसमेत डोलबहादुरको प्रतिवादी ।
४. प्र.पदमबहादुरका नाउँमा तामेल हुनगएको म्यादको पिठमा,परलोक भइसकेको भनी जनी आएको ।
५. यो मुद्दा दायर हुनुभन्दा अगावै प्र.डोलबहादुरले वादी खेचरबहादुर समेत उपर ०१९।१२।३० मा यही राजीनामाबाट हक भएको भनी जग्गा बालीमा समेत दावा लिई मुद्दा दायर गराएको सो मुद्दामा प्र.पदमबहादुरको हकदारका नाउँमा म्याद गएको म्याद भित्र कुनै हकदार उपस्थित हुन नआएको प्र.पदमबहादुरबाट प्र.डोलबहादुरले ०१८।३।२५ मा हक छुटाई रु.४५०१।–मा राजीनामा लिएको कि.नं.२८७ को पुलिखेत ।१३ वादीको जेठा बाबु टेकबहादुरको नाउँमा दर्ता कायम रही रहेको र पदमबहादुरको नाउँ बन्धकी खाने भन्ने दर्तामा प्रष्ट जनिएको दर्ताबाट देखिएको हुँदा जग्गा बाली लुटपिट मुद्दा आजै डोलबहादुरको हक नपुग्ने देखि खारेज फैसला भएको समेत हुँदा प्र.हरूले हक नपुग्ने जग्गा जालसाजीबाट दिएलिएको राजीनामा बदर हुने ठहर्छ भन्नेसमेत का.जि.अ.को फैसला ।
६. सो उपर चित्त बुझेन भन्ने प्र.डोलबहादुरको पुनरावेदन ।
७. वादीले यही जग्गा समतेका अरू जग्गा समेत पदमबहादुर र हरिबहादुर समेतले दर्ता गरेको बदर गराई नामसारी गरिपाउँ भनी दिएको मुद्दामा यो जग्गालाई अंशको नाताबाट हक भएको भनी देखाएको भोगबन्धकी गएको भनी देखाउन नसकेको र प्र.मध्येको हरिबहादुरसमेतले तिरो बाँकीमा पजनी भई पुनरावेदकको दाताले सकार गरी लिएको भनी र पुनरावेदकको दाताले पनि सो झगडा परेको जग्गा भोगबन्धकी नभई अरू नै जग्गा भोगबन्धकी खाएको र यो झगडा परेको जग्गाको तिरो बाँकीमा पजनी हुँदा मेरो नाउँमा दर्ता भएको भन्ने प्रतिउत्तर परी वादी खेचरबहादुरको हक पुगेको सबूत नआएबाट दावी झुट्टा देखिने आफ्नो हकको भए बण्डापत्र पेश नगरी सबूत दिई उजूर गरेकाबखत ठहरेबमोजिम हुनेगरी फैसला भएको र म.उ.बाट पनि सदर भएको देखिएको तर सो बमोजिम आफ्नो हक कायम गराएको प्रमाण पेश दाखिल नभएकोले समेत तिरो बाँकीमा पजनी भई पुनरावेदकको असामीको नाउँमा दर्ता भइराखेको भनी लेखाएको छ, खाली जुन मितिको पर्चा बमोजिम भनी दर्तामा जनिएको छ सो मितिको पर्चा सहितको मिसिलसम्म प्राप्त हुन नआएको पर्चाको आधारमा जनिएको दर्ता व्यहोरालाई सदर मानी जालासाजी गरेको हो भनी ठहर्याउन नमिल्ने हुँदा सो दर्ताको आधारमा मात्र सुरु जि.अ.ले जालासजी ठहराएको गल्ती ठहर्छ भन्ने बागमती अञ्चल अदालतको फैसला ।
८. सो उपर चित्त बुझेन भन्ने खेचरबहादुरको पुनरावेदन ।
९. वादी दावीको जग्गा प्रतिवादीहरूले जालसाजीबाट राजीनामा खडा गरेको ठहराईएको बागमती अञ्चल अदालतका इन्साफ ठीक बेठीक के रहेछ भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो । फिरादमा उल्लेख भएको रै.नं.२८७ को खेत मुरी ।१३ जग्गा प्रतिवादी डोलबहादुर बिष्ट क्षेत्रीको दाता पदमबहादुरले मालबाट लिलाम हुँदा कबोल सकार गरी लिई पदमबहादुरको हक भई निजबाट प्रतिवादी डोलबहादुरले राजीनामा गरी लिएको देखिएको वादीले सो लिलाम गरेको कारवाईतर्फ उजूर गरेको नदेखिएको सो लिलामको कारवाई सदर भएको नामसारी बदर गरिपाउँ भनी उजूर गरेको वादी खेचरबहादुरको प्र.पदमबहादुर समेत भएको नामसारी दर्ता बदर मुद्दा वादीले झुट्टा उजूर गरेको ठहरी रा.का.दे.बाट फैसला गरेको सदर गरी मध्यमाञ्चल उच्च अदातलबाट फैसला भएको प्रमाणको मिसिलबाट देखिएको यही वादी खेचरबहादुरसमेत उपर प्रतिवादी डोलबहादुरले उजूर गरेको जग्गा हक बेहक लुटपिट मुद्दाबाट उक्त खेत मुरी ।१३ डोलबहादुरकै हकको ठहरी आजैको मितिमा यस बेञ्चबाट फैसला भएको देखिएकोसमेत प्रमाणबाट झुट्टा उजूर गरेको ठहराई फैसला गरेको बागमती अञ्चल अदालतको इन्साफ मुनासिवै ठहर्छ भन्ने ०२९।१।२९।५ को डिभिजन बेञ्चको फैसला ।
१०. यस बेञ्च समक्ष निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले मेरो पक्षको दावी अनुसार हक नपुग्ने पदमबहादुरबाट डोलबहादुरले राजीनामा गराई लिएको जालासाजी हो भन्ने कुरा दर्ता समेतको प्रमाणबाट प्रष्ट भइराखेको छ जालसाजी कायम हुनपर्छ भन्नेसमेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले लिलाममा लिई हक हुने पदमबहादुरबाट मेरो पक्षले राजीनामा लिएको हो पदमबहादुरकै लिलाममा लिएको भन्ने कुरा पहिले परेको नामसारी मुद्दामा रत्नकुमारी, हरिबहादुर समेतले मानी राखेकै छन् । कीर्ते कागजको ऐनमा म्याद भित्र वादीको उजूर परेको पनि छैन सद्दे लिखत हुनाले जालसाजीको दावी झुट्टा कायम हुनपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
११. यसमा पदमबहादुरका नाउँमा भोगबन्धकी जनिई दर्ता भएको पुलिखेत मुरी १३। मध्ये आधि खेत मुरी ।६।१० म समेतको हक भएकोमा बन्धकी हकसम्म खाने पदमबहादुरबाट डोलबहादुरले रु.४५०१।– मा ०१८।३।२५ मा राजीनामा पास गराई लिएको जालसाजी हुँदा बदर गरिपाउँ भन्ने वादीको दावी र यो खला बन्धकी होइन पदमबहादुरको हकको जग्गा भएकोले निजबाट राजीनामा गराई लिएको हुँ जालसाजीमा दावी नलाग्ने भन्नेसमेत प्रतिवादीको दावी जिकिर भई यो मुद्दा चलेको रहेछ वादी प्रतिवादीको दावी जिकिर र विद्वान अधिवक्ताहरूको बहस जिकिर समेतलाई ध्यानमा राखी हेर्दा उक्त राजीनामा लिखत दावी अनुसार जालसाजी कायम हुने नहुने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ । वादी डोलबहादुर बिष्ट प्रतिवादी खेचरबहादुर बिष्टसमेत भएको यही वादी दावी लिखतको पुलिखेत मुरी ।१३ को बाली लुटपिट र जग्गा हक बेहकसमेत मुद्दामा झगडा परेको पुलिखेत मुरी ।१३ को दर्तामा भोगबन्धकीमा खाने भोगवाला पदमबहादुर भनी जनाई राखेको निज पदमबहादुरले भोगबन्धकी बाहेकको जग्गा लिलाममा लिएको निस्सा सबूद कुनै आउन नसकेकोले त्यस्तो व्यक्ति पदमबहादुरको राजीनामाबाट जग्गा बाली समेतमा वादी डोलबहादुरको दावी लाग्न नसक्ने समेत ठहर भई आजै यस बेञ्चबाट फैसला भएकोले आफ्नो हकको भनी पदमबहादुरबाट गराई लिइएको राजीनामा जालासजी नै कायम हुने हो कि भन्ने तर्क उठ्न सक्छ तर जालसाजीको परिभाषा दिइएको कीर्ते कागजको ३ नं.मा सहीछाप गरी दिने लिने दुबै थरी मिली कागज लेखि सहीछाप गरी दिने लिने जालसाजी गर्ने ठहर्छ भन्ने उल्लेख भएकोले उक्त ऐन अनुसार जालसाजी ठहराउनालाई उक्त ऐनको अवस्था विद्यमान छ छैन सो कुरा मुख्य रुपले विचार गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा हेर्दा दर्तामा बन्धकी जनिएको र पदमबहादुरको बन्धकी हकसम्म भएको यो यस परिबन्दबाट प्रतिवादी डोलबहादुर समेतलाई थाहा हुँदा हुँदै निज डोलबहादुरसमेत मिली आफ्नो नाममा राजीनामा गराई लिएको भन्ने सबूत कुनै देखिँदैन । त्यस्तो अवस्था विद्यमान भएको देखिन नआएपछि सहीछाप गरिदिने लिने दुबै थरीको मिलोमतोको अभावमा उक्त कीर्ते कागजको ३ नं. अनुसार लिखत जालसाजी कायम हुन नसक्ने हुँदा उपरोक्त कारणबाट जालसाजी भन्ने वादी दावी पुग्न सक्दैन वादी दावी पुग्न नसक्ने ठहराएको सम्म ०२९।१।२९।५ को डिभिजन बेञ्चको इन्साफ मुनासिव ठहर्छ, वादी खेचरबहादुर बिष्ट के डिभिजन बेञ्चको फैसलाले गर्ने गरेको जरिवाना रु.१। को मुद्दा दोहर्याएमा अ.बं.२०४ नं. ले दशौंद रु.१०। जरिवाना हुन्छ, वारेस हुँदा असुल गर्न का.जि.अ.तहसिलमा लगत दिनु बक्स भएका हुकूम प्रमांगी बमोजिम यो फैसला भएको नतिजा जाहेर गरी नियमबमोजिम मिसिल बुझाई दिनु ।
हामीहरूको सहमती छ ।
न्या. झपटसिंह रावल
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३२ साल श्रावण २० गते रोज ३ शुभम् ।