August 5, 1975
Created by nepalarchives

निर्णय नं. ९०७ – लुटपिट हक बेहक

निर्णय नं. ९०७                 ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९...

निर्णय नं. ९०७                 ने.का.प. २०३२

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२९ सालको दे.फु.नं. ११६

फैसला भएको मिति : २०३२।४।२०।३

प्रतिवादी : का.जि. गोकर्ण बस्ने भक्तकुमारी बिष्ट क्षेत्रीनी समेत

विरुद्ध

विपक्षी : का.जि.गोकर्ण सुताखानी पुली गाउँ बस्ने डोलबहादुर बिष्ट क्षेत्री

मुद्दा : लुटपिट हक बेहक

(१)   भोगबन्धकी खाने साहुले लखबन्धकीसम्म लेखी दिन पाउने कानूनी हक हुनेमा तिरो तिरेको रसिदबाट आफ्नै हक भनी राजीनामा गरी दिएकोमा राजीनामाबाट पाउने व्यक्तिको दावी लाग्न सक्ने नदेखिने ।

 (प्रकरण नं. १९)

(२)   भोगबन्धकीमा खाने भोग्नेवाला भनी दर्तामै जनिई राखेको छँदै थैली कपाली भइसकेको भन्ने जिकिर मुनासिव नदेखिने ।

(प्रकरण नं. २०)

निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त

विपक्षी तर्फबाट      : अधिवक्ता कृष्णप्रसाद घिमिरे

फैसला

            न्या. वासुदेव शर्मा

            १.     प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०२९।१।२९ मा भएको निर्णय दोहर्‍याई पाउँ भन्ने प्रतिवादी खेचरबहादुर बिष्ट क्षेत्रीसमेतले चढाएको विन्तिपत्रमा सर्वोच्च अदालत फुल बेञ्चबाट एकपल्ट दोहर्‍याई हेरी दिनु र त्यसको नतिजा जाहेर गर्नु भनी सर्वोच्च अदालतमा लेखी पठाई दिनु भनी श्री ५ महाराजाधिराजबाट हु.प्र.बक्सेको भनी विशेष जाहेरी विभागबाट ०२९।५।२ मा छुट्टै लेखी आएका हुकूम प्रमांगी बमोजिम मुद्दा दोहर्‍याएबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

            २.    तथ्य यसप्रकार छ : साल १ को धान २।१६ गहुँ ।२ घ्यू रु.।३३ चा.ठे.।५ समेतको माल पहिलामा तिर्नुपर्ने पुली खेत मुरी ।१३।०१८।३।२५ मा राजीनामा पास गरी लिई मेरो हक भएको जग्गामा मैले दश कर्म गरी पकाएको धानबाली ०१९ साल कात्र्तिक २५ गते विपक्षी समेतका मानिस आई लुटपिट गरी लगे बिगो रु.४१५। विपक्षी ३ जनाबाट भराई पाउँ भन्नेसमेत डोलबहादुरको फिराद ।

            ३.    सो जग्गा ८२ सालमा मेरो ससुरा टेकबहादुरको नाउँमा रै.नं.२८७ दर्ता भई त्यसपछि पदमबहादुरले बन्धकीमा खाएकोले ९९।१०।५ मा पदमबहादुरका नाउँमा बन्धकी जनिई दर्ता भएको उल्लेख गरेको जग्गा मध्ये आधा खेत मुरी ।६।१० खेचरबहादुरको र आधा ।६।१० मा पनि आधी हरिबहादुरको आधी ।३।५ मेरो अंश हक भएकोले सासु रत्नकुमारीसँग छुट्टिई भिन्न भई ०१० सालदेखि मेरो भागमा परेकोले भोगचलन गरिआएको छु, मेरो भागको खेत ।३।५ मा मैले नै दश कर्म गरी काटी माडि ल्याएको हुँ, विपक्षीको दश कर्म भन्ने झुट्टा हो भन्नेसमेत प्र.भक्तकुमारीको प्रतिउत्तरपत्र ।

            ४.    मेरो बाबुको अंश भागमा परेको माटो मुरी ।६।१० मध्ये माटो मुरी ।३।५ मेरो अंश भागमा र माटो मुरी ।३।५ दाज्यू भिमबहादुरका भागमा परेकोले दाजु परलोक भई रत्नकुमारीबाट हक भोग गरी खाई आएको वादीको दश कर्म भन्ने झुट्टा हो भन्नेसमेत हरिबहादुरको प्रत्युत्तरपत्र।

            ५.    वादीमा उल्लेख बमोजिम खेत ।१३ को धान २।१९ गहुँ ।२ घ्यू रु.।३३ चा.ठे.।५ मध्ये आधी ।६।१० हरिबहादुरको बाबु मेरा जेठा बाबु टेकबहादुरका र मेरो बाबु खिलबहादुर २ भाइ भिन्न हुँदा आधीआधी गरी १९८५ सालमा अंशबण्डा छुट्याई बाबुको अंशको खेत ।६।१० मा घर बनाई घरबारी गरी हक भोगचलन गरिआएको पदमबहादुरले भोगबन्धकी खाएको असामीले थैली बुझाएमा पछि छाडिदिने भनी दर्ता गरी राखेको छ, विपक्षी वादीको भाग दश कर्मको बाली लुटपिट गर्‍यो भन्ने झुट्टा हो, ०१९ साल जेष्ठ महिनामा धान रोपी दश कर्म पुर्‍याई ऐ.आश्विन १२ गते धान काटी अद्यपितक मेरो हक भोग छ, जालसाजी फिराद गरिसकेको हुँदा वादीलाई नै सजाय गरिपाउँ भन्नेसमेत खेचरबहादुरको प्रतिउत्तर ।

            ६.    विपक्षीले बन्धकी भनेको जग्गा ९०।१।९ गते पास गराएको जग्गाधनी पदमबहादुर ऋणी टेकबहादुर भएको भोगबन्धकी भनेको जग्गा माटो मुरी ।७ को र माटो मुरी ।२० को खला र महाँकाल खेत ।८।१० सम्म भोगबन्धकी रहेछ भन्ने कुरा निज खेचरबहादुर, हरिबहादुर, भक्तकुमारीका सासु रत्नकुमारीहरूकै का.दे.ई.अ.मा परेको मुद्दामा प्रतिउत्तरमा निजहरूको व्यहोरा समावेश गरेका छन् । विपक्षीले बन्धकी भनेको जग्गा यो मुद्दामा उल्लेख भएका जग्गा होइन, मध्यमाञ्चल उच्च अदालतबाटसमेत फैसला भई पदमबहादुरको हक भएको हो भन्नेसमेत वादीको वा.रामबहादुरको बयान ।

            ७.    वादीले दावी गरेको जग्गा एक कित्ता हो सो जग्गामध्ये आधा ।६।१० मेरो अंश भागको हो सो जग्गामा मेरो बाबुले बनाउनु भएको घरसमेत भोगचलन गरिआएको छु भन्नेसमेत प्र.खेचरबहादुरको बयान ।

            ८.    वादीका बयान र फिरादसमेत झुट्टा हो मेरो व्यहोरा प्रतिउत्तरमा लेखिए बमोजिम सो जग्गा ।१३ मुरीमध्ये आधा ।६।१० प्र.खेचरबहादुरको ।३।५ हरिबहादुरको ।३।५ मेरो अंश हक भएकोले मैलेनै भोगचलन गरिआएको छु भन्नेसमेत भक्तकुमारीको बयान ।

            ९.    वादीले पदमबहादुरबाट ०१८।३।२५ मा राजीनामा लिई हक भएको भनेको पुलि खेत ।१३ वादीको दाता पदमबहादुरको काठमाडौं मालबाट आएको दर्ता उतार भई वादी र प्रतिवादीको जालसाजी मुद्दाको मिसिल सामेल रहेको दर्ता उतारमा पदमबहादुरको नाउँ बन्धकी खाने भनी जनिएको दर्ता प्रतिवादीहरूकै बाबु ससुरा जेठाबाबु टेकबहादुरको नाउँमा कायम रहेको देखिँदा हक नपुग्ने व्यक्ति पदमबहादुर बस्नेतबाट वादीले हक टुटाई लिएको राजीनामाबाट वादीको उक्त जग्गामा हक पुगेको भनी इन्साफ दिन मिल्ने देखिएन जग्गा र बाली लुटपिट समेतमा वादीले दिए लिएको फिराद उजूरी दावा खारेज हुने ठहर्छ भन्नेसमेत काठामाडौं जिल्ला अदालतको फैसला।

            १०.    सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

            ११.    नं.२८७ को पुलिखेत मुरी ।१३ को बाली लुटपिट गरे भनी वादीले दावी लिएको छ, सो जग्गा प्रतिवादीका बाबु टेकबहादुरका नाउँमा दर्ता भएको ९९।१०।५ मा भोगबन्धकी जनाई दर्तासमेत भएको भोगबन्धकी थैली कपाली भएबाट हामीले भोगचलन गरिआएको र विपक्षी खेचरबहादुरले आफ्नो भागको जग्गा दावी गरेकोबाट जग्गामा नै हक बेहक पर्न आएकोमा सुरुबाट जालसाजी मुद्दा प्राप्त दर्ता उतारबाट जग्गा विपक्षीहरूकै देखिन आएकोले लुटपिट तथा हक बेहकतर्फ खारेज गर्ने भनी फैसला गरेको देखिएको तर यिनै पुनरावेदन र विपक्षीहरूको जालसाजी मुद्दामा आजै भएको फैसलामा लेखिएको प्रमाण तथा यस मुद्दाको विपक्षी हरिबहादुरले यो झगडा परेको जग्गा भोगबन्धकी दिएको हुँदा निखनाई पाउँ भनी पुनरावेदकको असामी पदमबहादुरका नाउँमा फिराद गरेकोमा मुद्दा पर्नु अगावै मरिसकेका नाउँमा फिराद परेको देखिएकोले खारेज भएकोमा पुनरावेदन पनि नगरी बसेको र हकदारको नाउँमा पनि कानूनबमोजिम उजूर नगरी बसेको देखिएको, यदि बन्धकी नै दिएको भए सो खारेजी फैसला उपर पुनरावेदन दिई वा हकदारका नाउँमा उजूरी गरी भोगबन्धकी कायम गराउन सुक्नुपर्ने सो नसकेकोले समेत जग्गामा विपक्षीहरूको हक कायम भएको भन्न नहुने हुँदा सुरु जि.अदालतले गल्ती इन्साफ गरेको ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतको फैसला ।

            १२.   सो उपर चित्त बुझेन भन्ने प्रतिवादीहरूको पुनरावेदन ।

            १३.   पदमबहादुरका नाउँमा दर्ता भएको रै.नं.२८७ को पुलिखेत मुरी ।१३ जग्गा निज पदमबहादुरसँग राजीनामा लिई सो जग्गामा मैले लगाएको बाली प्रतिवादीहरूले लुटपिट गरी लगे लुटपिट गरेको बालीको बिगो रु.४१५। भराई पाउँ भन्ने वादी डोलबहादुर बिष्टको फिराद र जग्गाको हक बेहकतर्फ समेत निर्णय गर्नुपर्ने भई जग्गातर्फ वादीको बयान लिइएकोमा सो जग्गामा समेत खिचोला गरेकाले जग्गा कायम गराई खिचोला मेटाई पाउँ भन्नेसमेत निज डोलबहादुरको बयान भएकोमा पदमबहादुरले सो जग्गा भोगबन्धकी लिएको हो पदमबहादुरको हकको जग्गा होइन हक नपुग्नेले राजीनामा दिएकोबाट वादीको हक दावै नलाग्ने भन्नेसमेत प्रतिवादी जिकिर देखिन्छ । काठमाडौं जिल्ला अदालतले वादीको दावा नपुग्ने भनी खारेज गरेको र बागमती अञ्चल अदालतबाट वादीको हकको जग्गामा प्रतिवादीले बाली लुटेकोसमेत ठहराई फैसला गरे उपर प्रतिवादीहरूको पुनरावेदन परेको सो जग्गा १९९९ सालमा पदमबहादुरले भोगबन्धकी लिएको जनिई दर्ता भएको हो । भोगबन्धकी लिने साहुले आफूले तिर्नुपर्ने तिरो नतिरी बाली बाँकी राखी लिलाम गराई लिलाममा आफैले सकार गरी लिएकोमा भोगबन्धकी नै हुने भन्ने पुनरावेदनमा जिकिर लिएको देखिए पनि लिलामबाट कबोल गरी लिने मानिस पदमबहादुरकै लिलाममा जग्गामा हक भई बिक्री गरेको देखिन्छ, प्रतिवादी खेचरबहादुरले पदमबहादुरसमेत उपर दर्ता बदर गराई पाउँ भनी दावी गरी उजूर गरेको दर्ता नामसारी बदर मुद्दामा झुट्टा उजूर गरेको ठहरी ०१४।११।१५ गतेमा रा.का.दे.प्र.बाट फैसला भएको इन्साफ सदर गरी ०१८।१।१४ गतेमा मध्यमाञ्चल उच्च अदालतबाट फैसला भएको देखिएको र प्रतिवादी खेचरबहादुरका बाबु खिलबहादुर टेकबहादुरको ८५ सालमा अंशबण्डा भएको सो बण्डापत्र ०४ सालको तोक सदरबाट समेत कायम भएको त्यसपछि ९९ सालमा जग्गावाला टेकबहादुर र बन्धकीमा लिने पदमबहादुर भन्ने जनिई दर्ता भएको सो दर्ता बदर गराउन पनि खेचरबहादुरले नसकी सो दर्ताको प्रमाणबाट खेचरबहादुरको हक नदेखिएको सो ९९ सालपछि सो जग्गा लिलाम भई लिलाममा कबोल गर्न पदमबहादुरको हक भई वादीलाई बिक्री गरेको देखिएको समेत प्रमाणबाट राजीनामा गरी लिई हक हुने वादी दावीको जग्गा खिचोला गरी बाली लुटेको ठहराई फैसला गरेको इन्साफ बागमती अञ्चल अदालतको मुनासिव छ भन्नेसमेत ०२९।१।२९।५ को डिभिजन बेञ्चको फैसला ।

            १४.   फुल बेञ्चको ०३१।९।९।३ को आदेश बमोजिम झगडा परेको जग्गामा खेचरबहादुरको घर भए नभएको यकिन गर्न जग्गाको नक्सा भएको र ०३१।१२।१५।६ को आदेश बमोजिम २०१९ सालको बाली कसले लगाएको थियो सो र उब्जनी तथा दर भाउसमेत खुलाई जग्गा मिच्नेको १३ नं. अनुसार साँध सँधियारसमेत बुझी आएको ।

            १५.   यस बेञ्च समक्ष निवेदकहरूतर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले मध्यमाञ्चल उच्च अदालतबाट पहिले फैसला भएको नामसारी मुद्दामा दावी अनुसार यो ।१३ मुरीको खला नामसारी गरेकै नहुनाले उक्त फैसलाले मेरो पक्षलाई असर पार्न सक्तैन, लिलाममा लिएको भनिएकोमा त्यसको कुनै पनि प्रमाण पेश गर्न नसकेको र दर्ता भोगबन्धकी भन्ने जनिएकोले पदमबहादुरको हक पुग्न नसक्ने हुँदा निजबाट राजीनामा लिएको कायम हुन सक्तैन, त्यस्तो व्यक्ति पदमबहादुरबाट राजीनामा लिएको सदर कायम नहुनेसमेत हुनाले जग्गामा मेरो पक्षको हक कायम हुनुपर्छ भन्नेसमेत र विपक्षी वादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले यो ।१३ मुरीको खलासमेत पदमबहादुरले लिलाममा लिएको भन्ने कुरा पहिले परेको नामसारी मुद्दाको प्रतिवादीमा यो मुद्दाकै प्रतिवादी हरिबहादुर र भक्तकुमारीको सासु रत्नकुमारीसमेतले स्वीकार गरी लेखेका छन्, पुरानो कागज पत्ता लागि पाउन नसके पनि उक्त नामसारी मुद्दामा खेचरबहादुरको उजूर झुट्टा ठहरी मध्यमाञ्चल उच्च अदालतबाट फैसला भएको प्रमाण समेतबाट लिलाममा लिएको भन्ने कुरा प्रष्ट देखिन्छ । दर्तामा भोगबन्धकी भन्ने जनाए पनि वास्तवमा भोगबन्धकी नहुनाले यो कित्ताको भोगबन्धकी लिखत पेश हुन गर्न सकेको छैनन्, भोगबन्धकी लिखत बेगर बिना आधारको दर्तामा भोगबन्धकी जनाइएको हुँदैमा भोगबन्धकी हुने होइन खुदै लिलाममा लिने पदमबहादुरबाट मेरो पक्षले राजीनामामा लिई हक भएकोसमेत हुँदा डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

            १६.    यसमा पदमबहादुरबाट ०१८।३।२५ मा राजीनामा गरी लिई मेरो हक भएको पुलिखेत मुरी ।१३ को ०१९ सालको धानबाली लुटपिट गरी लगेकोले बिगो भराई सजाय गरिपाउँ भन्ने पहिले वादीको नालिस परेकोमा पदमबहादुरलाई भोगबन्धकीसम्म दिएको हाम्रो हकको जग्गा भन्नेसमेत प्रतिउत्तर परेपछि जग्गा हक बेहक समेतमा यसै मुद्दामा बयान गराई तहतह किनारा हुँदै आएको रहेछ, दुबै पक्षको दावी जिकिर र विद्वान अधिवक्ताहरूको बहस जिकिर समेतलाई ध्यानमा राखी हेर्दा प्रस्तुत मुद्दामा झगडा परेको पुलिखेत मुरी ।१३ पदमबहादुरको राजीनामाबाट वादीको हक पुग्ने नपुग्ने र प्रतिवादीहरूको बाली लुटपिट गरेको हो होइन, यी कुराहरूको निर्णय दिनुपर्ने हुन आएको छ ।

            १७.   उक्त पुलिखेत मुरी ।१३ समेत मालपोत बाँकीमा लिलाम हुँदा पदमबहादुरले डाँक सकार गरी निजका नाममा दर्ता भई निजबाट रु.४५०१। मा राजीनामा गराई लिई मेरो हक भएको भन्ने वादी पक्षको मुख्य जिकिर भएकोमा दर्ता उतार हेर्दा उक्त खेत मुरी ।१३ टेकबहादुर बिष्टको नाउँको साविक दर्ता कायमै र सोको दर्ता बायाँपट्टि ९९।१०।५।३२ को मिति कचगरी भोगबन्धकी परेको थैली असामीले बुझाएमा निखनी लिन पाउने हुँदा भोगबन्धकी सरह भोगवाला पदमबहादुरसमेतका नाउँमा ९९।३।८।२ का पर्चा बमोजिम दर्ता भन्ने जनाई राखेको देखिन आयो । पदमबहादुरले लिलाममा लिएको भनेको कारवाईको मिसिल र ९९।३।८।२ मा काठमाडौं मालबाट पर्चा भएको भनेको मिसिल झिकाउने ०३१।४।३२।६ को फुल बेञ्चबाट आदेश भई गोश्वारा तहविललाई पत्र लेखी गएकोमा उक्त मिसिलहरू पत्ता लागि आउन नसकेको र बन्धकी बाहेकको जग्गा लिलाम लिएको चलन बहालीको सबूद वादीले पेश दाखिल गर्न पनि नसकेको बन्धकी बाहेकको जग्गा लिलाम लिएको भन्ने कुरा वादीको मौखिक भनाइसम्म देखिएको छ ।

            १८.   यो मुद्दा पर्नुभन्दा पहिले खेचरबहादुरले रत्नकुमारी, हरिबहादुर, पदमबहादुर समेत उपर नामसारी बदर गरिपाउँ भनी यही पुलिखेत मुरी ।१३ समेतमा दावी लिई नालिस गरेकोमा निज खेचरबहादुरको उजूर झुट्टा ठहरी मध्यमाञ्चल उच्च अदालतबाट २०१८।१।१४ मा अन्तिम फैसला भएकोले सो खेत मुरी ।१३ मध्ये आधी खेत मुरी ।६।१० मेरो बण्डाको भनी दावी गर्न पाउने निजको हकै नभएको भन्ने वादी पक्षको मुख्य जिकिर भएकोमा उक्त नामसारी बदर मुद्दाको मिसिल हेर्दा आफ्नो हकका भए बण्डापत्र पेश गरी र सबूत दिई उजूर गरेको बखत बण्डापत्रको जग्गा भए उसै बखत ठहरे बमोजिम हुने हुँदा व.दि.द.वि.यसबाट पुग्न नसक्ने भएकोले झुट्टा उजूर गरेको ठहर्छ भनी रा.का.दे.प्र.बाट ०१४।१।१५।४ मा फैसला भएको अपील तेश्रा र मध्यमाञ्चल उच्च अदालत समेतबाट सदर भइराखेको देखिन आएकोसमेत हुँदा उक्त जग्गामा खेचरबहादुरले दावी गर्न पाउने हकै टुटिसकेको भन्ने मिलेन ।

            १९.    खास गरी उक्त खेत मुरी ।१३ को दर्तामा भोगबन्धकीमा भन्ने जनाई भोगवाला पदमबहादुरका नाममा दर्ता भएको प्रमाण प्रत्यक्ष रुपमा देखिन आइराखेको, वादीको दावी जिकिर अनुसार पदमबहादुरले बन्धकी बाहेकको जग्गा लिलाम लिएको भन्ने लिखत सबूत कुनै पनि आउन नसकेको यस स्थितिमा पदमबहादुरले जग्गा लिलाममा लिई निजको जग्गा हक पक्का भएको सबूतको अभावमा मौखिक भनाइसम्मको आधारमा टेकबहादुर दर्ताको जग्गा पदमबहादुरको कायम मान्न मिलेन, दर्तामा जनिएअनुसारको भोगबन्धकीमा खाने साहु पदमबहादुरले लखबन्धकीसम्म लेखी दिन पाउने कानूनी हक हुनेमा तिरो तिरेको रसिदबाट आफ्नै हक भनी वादीलाई रु.४५०१। मा राजीनामा गरिदिएको हुँदा त्यस्तो व्यक्ति पदमबहादुरको राजीनामाबाट जग्गामा वादीको दावी लाग्न सक्ने देखिएन । आफ्नो परेको थैलीमा वादीले कानूनबमोजिम गर्न नसक्ने देखिन आउँछ ।

      २०.   बाली लुटपिटतर्फको दावीको हकमा बन्धकी थैली कपाली भइसकेकोले बण्डाअनुसार जग्गा म समेतले भोगी आएको भन्ने भक्तकुमारी, थैली बुझाई सकेकोले जग्गा म समेतले भोगी आएको भन्ने हरिबहादुर, मेरो अंश हकको घरबारी मेरो बाबु र मेरो मन्जुरी लिखत बेगर जेठा बाबु जेठी आमा र निजको छोरा भिमबहादुर, हरिबहादुरले लेनदेन गरी भोगबन्धकी दिएको सदर नहुने भई जग्गा म समेतले भोगी आएको भन्ने खेचरबहादुरले, प्रतिउत्तरमा जिकिर लिएको पाइन्छ । प्रतिउत्तर जिकिरअनुसार भोगबन्धकीमा खाने भोगवाला पदमबहादुर भनी दर्ता भई जनिई राखेको छँदै थैली कपाली भइसकेको भन्ने भक्तकुमारीको जिकिर मुनासिव नदेखिने र बन्धकी निखनिसकेको प्रमाण हरिबहादुरबाट र ऐनबमोजिम उजूर गरी बन्धकी गराएको प्रमाण खेचरबहादुरबाट पेश दाखिल हुनसमेत नआएकोले दर्तामा जनिएबमोजिम बन्धकी कायमै रहेको मान्नुपर्ने यस स्थितिमा यो यति थैलीमा भोगबन्धकी दिएको भन्ने सबूत देखाई भोगबन्धकी निखनी आफ्नो हक कायम नगराएसम्म लुटपिटको ३ नं. समेतको व्यवस्थाबाट जवरजस्ती हात हाली लिन नपाउनेसमेत भए पनि यो बन्धकी साहु पदमबहादुरको नालिसबाट चलेको मुद्दा नभई डोलबहादुरको नालिसबाट चलेको मुद्दा भएको र भोगबन्धकी र भोगबाहेकको जग्गा लिलाममा लिएको निस्सा सबूतको अभावमा पदमबहादुरको राजीनामाबाट जग्गामा वादीको नालिस दावी लाग्न नसक्ने भएपछि बाली लुटपिटमा समेत वादीको नालिस दावी लाग्न नसक्ने हुनाले बाली लुटपिटतर्फ अरू विचार गरिरहनु परेन ।

      २१.   अतः माथिका प्रकरणहरूमा उल्लेख भएबमोजिमको कारणहरूबाट जग्गा र बाली लुटपिट समेतमा वादीको दावी लाग्न नसक्ने हुँदा यो मुद्दा खारेज हुने ठहर्छ, खारेज हुने ठहराएको सुरुको मुनासिव छ, जग्गामा वादीको हक कायम र प्रतिवादीहरूले बाली लुटेको ठहराएको समेत बागमती अञ्चल अदालतको सदर गरी ०२९।१।२९।५ को डिभिजन बेञ्चले इन्साफ गरेको मिलेको देखिएन, अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

देहायका मानिसले लुटपिटतर्फ वा.अ.अ.को ०२८।१।२।५ को फैसलाले गर्ने गरेको दोहाय बमोजिम जरिवाना नलाग्ने हुँदा तिरी बुझाइसकेको कानूनबमोजिम फिर्ता दिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु ………………१

हरिबहादुर बिष्ट रु.२७।६७, खेचरबहादुर बिष्ट रु.२७।६७, भक्तकुमारी बिष्ट रु.२७।६६

वाग्मती अञ्चल अदालतको ०२८।१।२।५ को फैसला बमोजिम देहायका प्रतिवादीहरूबाट देहायका दरले वादी डोलबहादुरलाई भराई दिने गरेको कोर्टफी रु.२५८।८१ र लुटपिटको बिगो रु.४१५। समेत जम्मा रु.६७३।८१ भराउनु पर्ने हुँदा त्यसको लगत काटी दिनु कोर्टफी रु.२८५।८१ निज प्रतिवादीहरूले पुनरावेदन गर्दा ०२८।३।३।५ मा सर्वोच्च अदालतमा दाखिल गरी धरौट रहेको निज प्रतिवादीहरूलाई नै फिर्ता दिनु भनी का.जि.अ.त तहसिलमा ऐ.ऐ…………..२

हरिबहादुर बिष्टबाट भराउने गरेको रु.२२४।६०, खेचरबहादुर बिष्टबाट भराउने गरेको रु.२२४।६१, भक्तकुमारी बिष्टबाट ऐ.२२४।६०

वादी डोलबहादुर बिष्टके सुरु का.जि.अ.को०२४।१।२०।४ को फैसलाले गर्ने गरेको जरिवाना रु.२।८ बा.अं.अ.को ०२८।१।२।५ को फैसलाले नलाग्ने लगत कट्टा गरिदिने गरेकोमा पछि बुझिएको समेतबाट खारेज हुने ठहरेको भई सो जरिवाना लाग्ने नै हुँदा वा.अं.अ.को फैसलाबमोजिम लगत कट्टागर्नु पर्दैन सुरु फैसलाबमोजिम लगतकायमै राख्नु भनी ऐ.ऐ…………….३

वादीले नालिसगर्दा राखेको कोर्टफीको हकमा पछि बुझिएकोसमतेबाट खारेजहुने ठहरेकोले वादीलाई नै लाग्नेहुँदा केहीगर्नु परेन….४

देहायका प्रतिवादीहरूके निजहरूले वा.अं.अ.उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३३।६० र मुद्दा दोहर्‍याउँदा राखेको कोर्टफी रु.२०।१ समेत जम्मा रु.५३।६१ वादी डोलबहादुरबाट भराई पाउँ भनी कोर्टफी ऐन २०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु ………………५

हरिबहादुर बिष्ट १ भक्तकुमार बिष्ट १ खेचरबहादुर बिष्ट १

वा.अं.अ.का अञ्चल न्या.हिरण्यश्वरमान प्रधानको उल्टीको रेकर्ड राख्न स.अदालत प्रशासन शाखामा सूचना दिनु………..६

बक्स भएका हु.प्रमांगी बमोजिम यो फैसला भएको नातिजा जाहेर गरी नियमबमोजिम मिसिल बुझाई दिनु………………..७

हामीहरूको सहमती छ । न्या.झपटसिंह रावल, न्या.विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३२ साल श्रावण २० गते रोज ३ शुभम् ।