निर्णय नं. ९०१ – उत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय नं. ९०१ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत्...
निर्णय नं. ९०१ ने.का.प. २०३२
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०३१ सालको रिट फु.नं. ३८
आदेश भएको मिति : २०३२।२।२।६
निवेदक : जि.रौतहट प्र.परोहा पञ्चायत वार्ड नं.७ बस्ने रसिंदनि फकिरन
विरुद्ध
विपक्षी : ऐ.ऐ.वार्ड नं. ८ बस्ने बाबुलाल महतो नुनिया समेत
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१)–दर्तावाला मोही मरेपछि निजको हक जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने हकदार बाहेक अन्य व्यक्तिलाई मोही पत्याउने वा कसैलाई नपत्याई मोही हक समाप्त गर्ने कानूनी व्यवस्था नदेखिने ।
(प्र.नं.१०)
आदेश
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : प्र. परोहा मौजे औरीयाको कि.नं.३५५,३५६ को जग्गा विगाहा ०१६।१५ लोग्ने मोही भइजोत कोड गरी आएको नापीमा लोग्ने मोही कायम भएको रामचन्द्रले बाबुलाललाई बिक्री गरी दिएको ०२६ सालमा लोग्ने परलोक भएपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को आधारमा दशकर्म गरी बाली लगाई जग्गाधनीलाई बाली बुझाउँदै आएको ०२८ सालको गहुँ बाली लगाउन जाँदा मोहीबाट निष्काशित गरी धपाएकाले मोही हक सुरक्षीत राखी पाउँ भन्ने रसिद निफकिरनको फिराद । वादीको लाग्ेने मरेपछि म जग्गाधनीले वादीको आमा छोरा समेतलाई नपत्याएको सो जग्गा जोत्ने वादीको लोग्नेले ०२२ सालमा जोत्न सक्तिन भनी पञ्चायतमा राजीनामा गरी दिई लम्बरी वालाले नै जग्गा भोगी आएको छु भन्ने समेत बाबुलालसमेतको प्रतिवादी भएको मोही बेदखली मुद्दामा स्वास्नी स्वतः मोही हुने भएकोले मोहियानी बेदखली गर्न नहुने निजको मोहियानी कायम हुने गरी निर्णय गरी दिए भन्ने विपक्षी भूमिप्रशासन कार्यालयबाट ०२९।९।२१।५ मा निर्णय भएको रहेछ ।
३. उक्त निर्णय बदर गरी पाउँ भनी निवेदक बाबुलाल महतो नुनिया समेतले दिएको रिट निवदनपत्रमा जग्गा कमाउन नसकी ०२३ सालमा नै लोग्नेले छोडेको जग्गामा लोग्ने ०२६ सालमा परलोक भएपछि लोग्नेको हकमा मोही कायम गरी पाउँ भन्ने रसिदनीलाई कुनै हकदैया प्राप्त हुन नसक्ने व्यक्तिको उजूरी अ.बं.८२ नं. अनुसार लाग्न नसक्ने उजूरी सुनी मोही कायम गरी दिनु गैरकानूनी छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) अनुसार मोही हक जग्गावालाले पत्याएको हकवालालाई प्राप्त हुनेमा मलाई पत्याई मोही हक दिएको भनी कुनै प्रमाण दिन सकेको छैन पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुने छ भन्ने कानूनी आधारमा सवयं प्राप्त हुन सक्ने होइन मोही भई कमाई आएको भूमिसम्बन्धी ऐनको दफा ३४ अनुसार रसिद सबूद प्रमाण दाखिल गर्न नसकेपछि हक दिलाई दिन नहुने अ.बं. १८४, १८५। अनुसार उजूर परेपछि मुख नमिलेमा मोही भई जग्गा कमाई आएको छ वा छैन सो कुराको सबूद प्रमाणबाट यकिन गर्नु पर्ने सो केही नगरी स्वतः मोही हुने भनी न्याय गर्नु गलत गर्नु हो दफा २६ (१) अन्गरगतको हकमा व्याख्या गरी निरोपण गरी फैसला गर्नु प्रशासकको अधिकार बाहिरको हुँदा मोही ठहर गरेको फैसला बदर भागी छ । उत्प्रेषणको आदेश जारी गरी भूमिप्रशासन कार्यालयबाट भएको ०२९।९।२१।५ को फैसला बदर गरी कानूनी तथा संवैधानीक हक प्रचलन गरी पाउँ भन्ने समेत निवेदन जिकिर लिएको रहेछ ।
४. मोही इर्मुदेवान मरी सकेपछि निजको पत्नी रसिदनीको मोही हक हुने कुरा भू.सं. ऐन, ०२१ को दफा २६ (१) मा प्रष्ट देखिन्छ सोही आधारमा लोग्ने मरेपनि निजकी पत्नीले कमाई आएको र जग्गाबाट विपक्षीले बेदखल गरेको हुँदा मोहीलाई हटाउन नहुने उक्त जग्गा विपक्षीले खरीद गरी लिएपनि मोही हक रहने नै हुँदा बेदखली गर्न नहुने गरी कानूनी बुँदाहरुको आधारमा भएको निर्णयबाट मौलिक हक हनन नभएकोले रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेत प्रतिपक्षी भूमिप्रशासकको लिखित जवाफ ।
५. ०२१ सालमा सर्भे हुँदा इसुक फकिर मोही कायम भएको ०२६ सालमा मोही इसुक फकिर परलोक भएपनि निजको धर्मत्नी रसिदनीले जग्गामा दश कर्म गरेको वाली जग्गाधनीलाई बुझाउँदै भोग गरी रहेकोमा स्वतः मोही हुने भएकीले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत प्रतिपक्षी रसिदनी फकिरनको लिखित जवाफ ।
६. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ (१) ले व्यवस्था गरे अनुसार लोग्ने पछि निजको पत्नीलाई मोही हक प्राप्त हुने हो तापनि जग्गावालाले पत्याएको व्यक्ति हुन पर्दछ उक्त कानूनी व्यवस्थाको अध्ययनबाट लोग्ने पछि स्वास्नीलाई मोहियानी हक स्वतः प्राप्त हुने होइन प्रस्तुत केशमा विपक्षी रसिदनी फकिरनको लोग्नेको मृत्यूपछि निजलाई मोहियानी हक प्राप्त हुन जग्गावालाले पत्याई निजलाई जग्गा कमाउन दिएको हुनु पर्छ त्यसको अभावमा जग्गावाला र मोहीको सम्बन्ध कायम हुन सक्तैन प्रशासकले ऐनको दफा २६(१) को गलत अर्थ गरी गरेको ०२९।९।२१।५ को निर्णय कानूनी त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने ०३१।२।१०।५ मा डि.बेञ्चबाट निर्णय भएको रहेछ ।
७. प्रस्तुत मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगी साथ संलग्न न्यायिक समितिको पर्चामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) को अवलोकनबाट कुनै मोहीको मृत्यु पछि निजको मोहियानी हक निजका परिवारका सदस्य मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने भएकोले यस सम्बन्धमा जग्गावालालाई सिर्फ मोहीका परिवारका सदस्य मध्ये छान्न पाउने सहुलिय मात्र प्रदान गरिएको छ यसबाट जग्गावालालाई मोहीका परिवार मध्ये कसैलाई पनि पत्याउँदिन भनी जग्गा उपरको मोहियानी हक छुट्टाउने अधिकार प्राप्त छ भन्ने कदापि सम्झन हुँदैन । कुनै जग्गाको मोही मरेमा सो जग्गाको जग्गावालाले जोतन पाउने र मर्ने मोहीको परिवार मध्ये कसैलाई निज जग्गावालाले पत्याएपछि मात्र फेरि त्यसतो पत्याएको व्यक्तिलाई मोही हक फिर्ता हुन ऐनको मन्साय होइन मोही मरेपछि निजको मोहियानी हक निजको पति पत्नी वा छोराहरुलाई स्वतः जान्छ जग्गावालाले कमाउनु दिनु पर्ने होइन जग्गावालाले त सिर्फ पति पत्नी वा छोराहरु मध्ये कसैलाई रोजन पाउने मात्र हो जग्गावालाले कसैलाई पत्याएको छैन भनी खण्डन गर्दैमा मेटिन सक्दैन इसुदेवानको छोरा नभएको अवस्थामा छोराभए निजलाई पत्याएको छु भनी जग्गावालाले भन्न नसकेको अवस्थामा इसुदेवानको शेष पछि श्रीमती रसिदनी फकिरनलाई मोही हक प्राप्त भएको भन्ने भूमिप्रशासकको निर्णय कानून प्रतिकुल नहुँदा डिभिजन बेञ्चले बदर गरेका उपर्युक्त देखिँदैन भन्ने समेत उल्लेख भएको रहेछ ।
८. यस बेञ्च समक्ष मुद्दा दोहर्याउँदा निवेदक रिटको प्रतिपक्षी रसिदनी फकिरन तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हाले मोही मरेपछि मर्नेको परिवारमा जग्गाधनीले मोही हक दिनु पर्ने भूमिसम्बन्धी ऐनको मन्साय हुनाले लोग्ने मरेपछि पत्नी रसिदनी फकिरनलाई मोही कायम गरेको भू.प्र.कार्यालयको निर्णय सदर हुनुपर्छ बदर गर्ने गरेको डिभिजन बेञ्चको मिलेको छैन भन्ने समेत र प्रतिपक्षी भूमि प्रशासक तर्फबाट उपस्थित विद्वान महान्यायाधीवक्ता श्री रमानन्दप्रसाद सिंहले मोही मरेपछि उसको पति वा पत्नीले मोही हक पाउने र सो नभएमा छोराहरु मध्ये जग्गाधनीले पत्याएकोले पाउने भूमिसम्बन्धी ऐनको दफा २६ को व्यवस्था हुनाले मोही लोग्ने मरे पछि पत्नीलाई जग्गाधनीले पत्याउनु पर्ने होइन लोग्ने पछि निजको पत्नीले स्वतः मोही हक पाउने हुनाले पत्नीले मोही हक पाउने गरेको भूमिप्रशासकको निर्णय कानूनबमोजिमको छ सो निर्णय बदर गर्न गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत र रिट निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले २२ सालमा मोहीले मोही हक जग्गाधनीलाई छोडेको ०२६ सालमा निज मोही पनि परलोक भएको भूमिसम्बन्धी ऐनले मोही मरेपछि मर्नेको स्वास्नी छोरामा जग्गाधनीले पत्याएको मोही कायम हुने प्रतिपक्षी रसिदनी फकिरनलाई जग्गाधनीले पत्याएको सबूद प्रमाण नभएकोले डिभिजन बेञ्चको इन्साफ सदर हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।
९. यसमा निर्णय तर्फ विचार गर्दा प्रतिपक्षी रसिदनी फकिरनको लोग्नेको मृत्यु पछि निजलाई मोहियानी हक प्राप्त हुन जग्गावालाले पत्याई निजलाई जग्गा कमाउन दिएको हुनु पर्दछ त्यसको अभावमा जग्गावाला र मोहीको सम्बन्ध कायम हुन सक्तैन प्रशासकले स्वतः कायम हुने भनी गलत अर्थ गरी ०२९।९।२१।५ मा निर्णय दिएको कानूनी त्रुटि हुँदा बदर हुन्छ भनी डिभिजन बेञ्चबाट ०३१।२।१० मा निर्णय भएकोछ । प्रशासक समक्ष रसिदनी फकिरनले जि. रौतहट परोहा मौजे औरैया कि.नं.३५५ को ०–५–१५ कि.नं.३५६ को ०।११।० समेत जम्मा ०।१६।१५ मेरा लोग्नेले मोही भई कमाई आएको सर्भे नाप नक्सा हुँदा मेरा लोग्नेको नाउँमा मोही कायम भएको सो जग्गा रामचन्द्र चौधरीले बिक्री गरी बाबुलालले लिएको ०२६ सालमा मेरो लोग्ने ईसुदेवान परलोक भएपछि मैले जग्गा कमाई जग्गावालालाई बुझाउनु पर्ने बुझाई आएको ०२८ सालको रविबाली लगाउन नदिई खिचोला गरे भन्ने बाबुलाल महतो नुनिया समेतका नाउँमा उजूर गरेको वादीको लोग्ने ईसुदेवानले ०२२ सालमा जग्गा जोत्न सक्तिन भनी पञ्चायतमा राजीनामा गरी दिएकाले सो बखत देखि लम्बरीवालाले जग्गा जोत भोग गरेको ईसुदेवान मरेपछि उजूरवालीले जग्गाधनीले पत्याएको प्रमाण छ भन्न नसकेको जग्गाधनीलाई बाली बुझाएको प्रमाण पनि दिन नसकेको हुनाले उजूरी झुठ्ठा हो भन्ने रिट निवेदक बाबुलाल समेतले प्रतिवादी गरेकामा एकै परिवारमा भएको हुँदा स्वास्नी स्वतः मोही हुने भएकोले मोहियानी बेदखल गर्न नहुने निजको मोहियानी कायम हुन्छ भन्दै भूमिप्रशासले ०२९।९।२१ गते निर्णय गरेको छ ।
१०. २०२२ सालमै मोही हक छोडी सकेको भन्ने जग्गावालाले जिकिर सम्म गरेका सो भन्दा पछि सर्भे नापी हुँदा रसिदनीको लोग्ने नै मोही लेखिएको भन्ने जिकिर भएको देखिन्छ दर्तावाला मोही मरेपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ मा मोहीको हक र दायित्व भन्ने शिर्षक लेखी उपदफा (१) मा यस परिच्छेदको अन्य दफाहरुको अधिनमा रही मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने लेखिएकोले सो कानूनी व्यवस्थाबाट पति पत्नी वा छोराहरु मध्ये कुनै व्यक्तिलाई जग्गावालाले पत्याउन सक्ने अधिकार जग्गावालालाई दिएको देखिन्छ । ती हकदार बाहेक अन्य व्यक्तिलाई मोही पत्याउने वा कसैलाई नपत्याई मोही हक समाप्त गर्ने कानूनी व्यवस्था देखिँदैन प्रस्तुत केशमा रसिदनी फकिरन बाहेक सो ऐनको तात्पर्यको लागि चाहिने अन्य हकदार कोही खडा हुन आएको पनि देखिँदैन त्यसतो अवस्थामा उक्त कानूनले रसिदनी फकिरनमा निजको लोग्नेको मोहिया हक पाउन सक्ने व्यवस्था देखिन्छ त्यसतो कायम हुने हकलाई मोही कायम गरी प्रशासकले निर्णय दिएको त्रुटि भन्न नमिल्ने हुँदा सो निर्णय बदर गर्ने गरेको डिभिजन बेञ्चको मिलेन, रिट निवेदन खारेज हुने ठहर्छ यो आदेशको प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम बुझाई दिनु ।
हामीहरुको सहमती छ ।
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. झपटसिंह रावल
इति सम्वत् २०३२ साल जेष्ठ २ गते रोज ६ शुभम् ।