May 2, 1975
Created by nepalarchives

निर्णय नं. ८९८ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ८९८                  ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत्...

निर्णय नं. ८९८                  ने.का.प. २०३२

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२९ सालको रि.फु.नं. ३३

आदेश भएको मिति : २०३२।१।१९।६

निवेदक : ल.पु. नगरपञ्चायत वार्ड नं.४ जावलाखेल बस्ने भैरवबहादुर भण्डारी

विरुद्ध

विपक्षी : श्री भूमि प्रशासक, भूमि प्रशासन कार्यालय ललितपुर समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   अन्तिमरुपमा रहेको अदालतको फैसलाबाट मोहियानी हक कायम भई निवेदकको हक नदेखिए निवेदन जिकिर अनुसार हक प्रचलन गराई दिनेतर्फ विचार गर्नुपर्ने ।

(प्रकरण नं. १०)

आदेश

            प्र.न्या. रत्नबहादुर बिष्ट

            १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भनि श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।

            २.    तथ्य यसप्रकार छ : रामबहादुर खत्रीसँग लिई कमाई आएको नापी हुँदा मेरो मोही कायम भएको मैले जोताहा निस्सासमेत पाएको जग्गाको अस्थायी निस्सा दशरथ खड्काले पाएकोले निजको जोताहा निस्सा बदर गरी मेरो मोही हक सुरक्षित गरिपाउँ भन्ने निवेदक भैरवबहादुर, लुटपिट मुद्दामा लुटपिट ठहराई मोहियानी मेरै ठहर्‍याई ल.पु.जि.अ.बाट फैसला भएको हुँदा मेरो मोही कायम गरी जो.अ.निस्सा पाएको हुँ भन्नेसमेत दशरथ खड्का भएको मोहीमा झगडा जनिएको जग्गा ल.पु.जि.अ.को फैसला बमोजिम विपक्षी दशरथको मोही हक पाएको देखिएबाट दशरथको अस्थायी निस्सा कायम गरी निवेदक भैरवबहादुरले पाएको जो.अ.नि.बदर हुने ठहर्छ भन्नेसमेत विपक्षी भूमि प्रशासन कार्यालय ललितपुरबाट ०२६।९।२९ मा निर्णय भएको रहेछ।

            ३.    उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक भैरवबहादुरले दिएको आफ्नो रिट निवेदनपत्रमा पद्म कुमारीको जग्गा मैले अघि देखि कमाई आएको निजबाट रामबहादुरले आफ्नो श्रीमतीको नाममा भोगबन्धकी लिएको नापी हुँदा जग्गावाला रामबहादुर जोताहामा मेरो नाउँ लेखी मैले जोताहा अस्थायी निस्सा पाएको लगत प्रकाशन हुँदासमेत कसैको उजूर नपरी मेरा जोताहा अकाट्य भएको दशरथले रामबहादुरसँग बाली लुटपिट मुद्दा गरी बाली लुटेको ठहराई ल.पु.जि.अ.बाट फैसला भएछ, त्यस उपर पुनरावेदन सर्वोच्चमा दर्ता भएको छ, यता लुटपिट मुद्दाबाट मेरो हक भएको भनी दशरथले जोताहा निस्सा लिएको थाहा पाई मैले निवेदन दिई कारवाई भएकोमा मसँग झगडा नै नपरेकोमा पनि मैले जोताहा निस्सा पाई अकाट्य भएको प्रमाण छँदाछँदै दशरथको जोताहा निस्सा कायम गरी मेरो बदर ठहर्छ भनी गरिएको निर्णयबाट भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ६,७ र ऐनको दफा २५(४) को कानूनी त्रुटि गर्दै गरिएको फैसलाबाट मेरो संवैधानिक तथा कानूनी हकको हनन हुन गयो बदर हुनुपर्छ जुन मुद्दाको आधार लिएको छ त्यो मुद्दा पनि अन्तिम भएको छैन, मेरो जोताहा निस्सालाई म्यादभित्र उजूर गरी दशरथ रामबहादुरले बदर गराउन सक्नु भएको छैन, यस्तो देख्दा देख्दै पनि दशरथ खड्काको जोताहा कायम गर्ने गरेको विपक्षी भूमिप्रशासकको फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्नेसमेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।

            ४.    गज सिंसँग मैया हर्षराज लक्ष्मीले राजीनामा लिएको निजसँग मेरो श्रीमतीले भोगबन्धकी लिई आएको भैरवबहादुरलाई कमाउन दिई भैरवबहादुरको नाउँमा जोताहा दर्ता भएको छ जग्गामा धनीमा मेरो नाउँ लेखिएको छ उक्त जग्गा मेरो र दशरथको लुटपिटको मुद्दा परी मलाई हराई गरेको फैसला उपर मेरो पुनरावेदन सर्वोच्च अदालतमा परी हक इन्साफ पाउने नै हुँदा यसमा मेरो भन्नु केही छैन । मैले भोगबन्धकी लिएको जग्गाको कूत मैले भैरवबहादुरसँग लिई खाई आएको जग्गामा दशरथको हक दावी पुग्न नसकेमा जि.अ.बाट हचुवा इन्साफ भए पनि अब मेरो पुनरावेदन इन्साफ पाउँने नै हुँदा भएको व्यहोरा लेखि लिखित जवाफ गरेको छु भन्नेसमेत विपक्षी रामबहादुरको लिखित जवाफ ।

            ५.    उत्तरबहादुर थापा मगर मोही भई कमाई आएको ताराबहादुरलाई कुत बुझाउने जग्गा ०९।१।१२ मा राजीनामा गरी लिई जग्गाधनीबाट समेत राजीनामा गरी लिएबाट दुबै बोटी मेरो हक भएको अस्थायी निस्सा पाएको जग्गामा लगाएको बाली रामबहादुरले लुटी लगेमा उजूर गर्दा जोताहासमेत मेरो ठहरी ल.पु.जि.अ.बाट फैसला भएको कानूनले सुविधा दिएको अवस्थामा मोहियानी हक र जग्गाधनी हकसमेत राजीनामा गरी लिएबाट मेरो हक भएको जग्गामा निवेदकको जोताहा हुनै नसक्ने भएकोले बीचमा जोताहा अस्थायी निस्सा लिए पनि फिल्डबुकमा जनिई आखिर इन्साफबाट मेरो हक ठहरी फैसला भई अधिकार प्राप्त अधिकारीबाट जोताहा हकसमेत पाएको फैसला बदर गरिपाउँ भनी दिएको रिट निवेदन लाग्ने नसक्ने मेरा जोताहा बदर हुन नसक्ने भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत विपक्षी दशरथ खड्काको लिखित जवाफ ।

            ६.    फिल्डबुकमा भैरवबहादुरको नाउँ भएतापनि झगडा जनिएको देखिएकोले झगडाको टुड्डो लागेपछि फैसला बमोजिम हुने हुँदा फिल्डबुकको नाताले मात्र भैरवबहादुरको जोत कायम हुने निर्विवाद छ, ल.पु.जि.अ.को फैसलाले जोत दशरथकै नाउँमा कायम हुने हुँदा भैरवबहादुरको जोत बदर गरिएको भन्नेसमेत विपक्षी भू.प्र.का.ललितपुरको लिखितजवाफ ।

            ७.    ल.पु.वार्ड नं.४ (ग) को कि.नं.२१ बाट नापी हुँदा जोताहा मोहीया भैरवबहादुर कैफियतमा दशरथ रामबहादुरको झगडा भनी जनिएको देखिन आएको रामबहादुर दशरथ खड्काको बाली लुटपिट मुद्दाको पुनरावेदन परीरहेको मिसिल झिकाई हेर्दा उत्तरबहादुरले मोही भई कमाई रहेको ताराबहादुरलाई कूत बुझाउने जग्गा राजीनामा गरी लिई जग्गाधनीबाट समेत जग्गा हक राजीनामा गरी दुबै बोटीमा हक भई अस्थायी निस्सा समेत पाई मेरो हक भएको जग्गाको दशकर्मको बाली लुटपिट गर्‍यो भन्ने वादी दशरथ खड्का प्र.रामबहादुर भएकोमा दशरथ खड्काको मोहियानी हकसमेत देखिएकोले भन्दै उक्त जग्गाको बाली रामबहादुरले लुटपिट गरेको ठहराई ०२४।४।२९ मा ल.पु.जि.अ.बाट फैसला भई जोताहा निस्सासमेत दशरथ खड्काले पाएको देखिएकोले निवेदकले विवादग्रस्त मोहियानी हकको प्रचलनका लागि दिएको यो रिट निवेदनपत्रबाट त्यस सम्बन्धमा कुनै विचार हुन सक्ने देखिएन । रिट निवेदन खारेज हुने ठहर्छ भन्नेसमेत ०२८।९।५ को डिभिजन बेञ्चको निर्णय रहेछ ।

            ८.    प्रस्तुत मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिशमा दशरथ रामबहादुरको बाली लुटपिट मुद्दामा ल.पु.जि.अ.बाट रामबहादुरले लुटपिट गरेको ठहराई फैसला भएकोमा रामबहादुरको पुनरावेदन परी निर्णय हुन बाँकी रहेको देखिन्छ, पुनरावेदन तहमा चल्दै अन्तिम नभएको ल.पु.जि.अ.को फैसलाको आधारमा मोहियानी मुद्दामा पनि निर्णय दिन नमिल्ने स्पष्ट छ । भूमिप्रशासकको फैसलामा यसरी अन्तिम टुड्डो नलागेको फैसला र त्यसमा आधारित जोताहाको अस्थायी निस्सालाई नै मूल आधार बनाई निवेदकको जोताहा अस्थायी निस्सा बदर हुने ठहर गरेको देखिएपछि त्यस्तो फैसला कानूनी त्रुटिपूर्ण भएकोले कायम रहन नसक्ने भई बदरभागी छ अन्तिम निर्णय नभई चल्दै रहेको मुद्दाको सुरु फैसलालाई नै मूल प्रमाण बनाई मोहियानी मुद्दामा अन्तिम निर्णय हुन जाँदा लुटपिट मुद्दामा पुनरावेदन तहबाट सुरुको फैसला बदर भएमा पनि उक्त बदर भागी फैसलाको आधारमा निर्णय गरिएको मोहियानी मुद्दाको निर्णय कायम रहि रहने हुन गई पक्षलाई ठूलो अन्याय पर्न जाने प्रत्यक्ष छ, सर्वोच्च अदालतले आफ्नो निर्णय जाँच्न आवश्यक देखिएको भन्नेसमेत उल्लेख भएको रहेछ ।

            ९.    यस बेञ्च समक्ष निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले मेरो पक्षले जो.अ.नि.पाएकोमा भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ७ अनुसार उजूर गरी बदर गराउन सकेको छैन, नियम ७ अनुसार उजूर नपरेकोमा मोही हटाउने विपक्षी भू.प्र.का.लाई अधिकार छैन, विपक्षी दशरथको जोताहा निस्सा बदर गरिपाउँ भनी मेरा पक्षले उजूर गरेकोमा मेरै पक्षको जो.अ.नि.बदर गरेको कानूनी त्रुटि छ विपक्षी भू.प्र.का.को निर्णय बदर हुनु पर्छ भन्ने समेत र विपक्षी भू.प्र.का.तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री रतनलाल कनौडियाले निवेदकको जो.अ.नि.पाएकोमा नियम ७ अनुसार उजूर नगरेको भन्ने हकमा उजूर परी फिल्डबुकमा झगडीया जनिएकै छ, लुटपिट मुद्दामा अदालतको फैसलाबाट दशरथको मोहियानी कायम भएकोले निजले पाएको जो.अ.नि.बदर राखी भू.प्र.का.बाट निर्णय भएको कानूनी छ, रामबहादुर भोगबन्धकी साहुबाट मोहियानीमा कमाउन पाई कमाएको हो भन्ने पनि बन्धकी छुटेपछि यस्तो मोहियानी कायम हुँदैन, कानूनको अधिकार क्षेत्रभित्र रही भू.प्र.का.ले कानूनबमोजिम गरेको निर्णय कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

            १०.    यसमा प्रस्तुत मुद्दा ०२८।९।५।२ को डिभिजन बेञ्चबाट निर्णय हुँदा वादी दशरथ खड्का प्रतिवादी रामबहादुर भएको बाली लुटपिट मुद्दामा रामबहादुरले बाली लुटेको ठहरी ०२४।४।२९ मा ल.पु.जि.अ.बाट फैसला भई जोताहा निस्सा दशरथले पाएको देखिएकोले निवेदकले विवादग्रस्त मोहियानी हकको प्रचनलका लागि दिएको यो रिट निवेदनबाट त्यस सम्बन्धमा कुनै विचार हुन सक्ने अवस्था नदेखिएको भनी रिट निवेदन खारेज हुने ठहर गरेकोमा सो बाली लुटपिट मुद्दामा रामबहादुरको पुनरावेदन परेको निर्णय हुन बाँकी नै देखिएकोले अन्तिम नभएको ल.पु.जि.अ.को फैसलाको आधारमा मोहियानी मुद्दामा निर्णय दिन नमिल्ने भन्ने मुख्य आधारमा न्यायिक समितिको सिफारिशमा यो मुद्दा दोहर्‍याई दिने हुकूम प्रमांगी बक्स भएको रहेछ । सो बाली लुटपिट मुद्दाका स्थिति के रहेछ भनी हेर्दा सुरु ल.पु.जि.अ.ले प्रतिवादी रामबहादुरले बाली लुटेको ठहराई ०२५।४।२९।३ मा फैसला गरे उपर प्रतिवादीको पुनरावेदन परेकोमा बागमती अञ्चल अदालतले वादी दावी नपुग्ने ठहराई ०३०।६।२९।२ मा फैसला गरेको भए पनि सो उपर वादीको पुनरावेदन परेकोमा वादी दशरथको मोहियानी हक रहेको जग्गाको बाली प्रतिवादी रामबहादुरले लुटपिट गरेको ठहराएको ल.पु.जि.अ.को इन्साफ मुनासिव ठहर्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३१।८।५।४ मा फैसला भएको र सो फैसला अन्तिम रुपमा रहेको पाइयो । मोहियानी हकको विवादको सम्बन्धमा पहिले परेको उपरोक्त बाली लुटपिट मुद्दामा प्रतिवादी रामबहादुरले यो रिट निवेदन भैरव बहादुरलाई मोहीया नदेखाई आफैले कमाएको भनेकोमा हाल यो रिट निवेदनको लिखित जवाफमा भैरवबहादुर मोही देखाएको समेत भएपनि वास्तवमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१ (क) अनुसार मोहियानीहक तेरोमेरोसमेतको निर्णय गर्नपाउने अधिकार तोकिएको अवस्थामा अधिकारयुक्त ल.पु.जि.अ.ले वादी दशरथको मोहियानी हकको जग्गाको बाली लुटपिट गरेको ठहराएको इन्साफ मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पनि सदरै भएको र ल.पु.जिल्ला अदालतकै फैसलाको आधारमा प्रत्यर्थी भूमिप्रशासकले दशरथको नाउँको अस्थायी निस्सा कायम गरी निर्णय गरेको समेत देखिन्छ । उपरोक्त उल्लेख भएबमोजिम अन्तिम रुपमा रहेको अदालतको फैसलाबाट दशरथको मोहियानी हक कायम भइसकेको भई निवेदकको हकै नदेखिएकोले निवेदन जिकिर अनुसार निवेदकको हक प्रचलन गराई दिनेतर्फ विचार गरी रहनु परेन, प्रस्तुत रिट निवेदन खारेज गर्ने गरी ०२८।९।५।२ को डिभिजन बेञ्चले छिनेको मुनासिव ठहर्छ नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. प्रकाशबहादुर के.सी.

न्या. झपटसिंह रावल

 

इति सम्वत् २०३२ साल बैशाख १९ गते रोज ६ शुभम् ।