निर्णय नं. ८९६ – ज्यान
निर्णय नं. ८९६ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२१ सालको...
निर्णय नं. ८९६ ने.का.प. २०३२
फुल बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२१ सालको फौ.फु. नं. १९
फैसला भएको मिति : २०३२।२।२३।६
पुनरावेदक : खोटाङ कारागारमा थुनामा बस्ने अबिकराम राई
विरुद्ध
विपक्षी : अविकराम राईको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) अ.बं.को १८६ नं.र न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १४ को उपदफा (१) बमोजिम सर्वोच्च अदालतले साधक जाँची निकासा दिन उक्त ऐनको अवस्था भित्र पर्ने वादीको माग दावी नभएको सर्वोच्च अदालतले साधक जाँची निकासा दिन आवश्यक नपरेको ।
(प्रकरण नं. २८)
फैसला
न्या.वासुदेव शर्मा
१. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३१।६।१०।५ मा निर्णय हुँदा यो बेञ्चको माननीय न्यायाधीशहरूको मतैक्य हुन नसकी राय बाझीएकोबाट निर्णयार्थ स.अ.नियमावली ०२१ को नियम ३३ बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : बेगल बसेको मेरो माइलो दाजु धनबहादुर ०२९।४।२ गते राबा खारतुम्छा गाउँ डुल्न गई राती १० बजे आई मेरो घरमाथि तलामा सुतेको अं.१२ बजेको समयमा मेरो घरको लिस्नुबाट लडी बेहोस भएपछि निजले मेरै घरको ओछ््यानमा लगिदेउ भनेकाले लगि सुताएको ०२९।४।४ गते बेलुका ५ बजे मरेकोले कहिले मरेको हो ? पञ्च बसी कचहरी गरी देउ भनी मर्नेकि श्रीमतीले भनेकिले मर्नेको कान्छो भाइ म जाहेर गर्न आएको छु भन्ने समेत अबिकरामको जाहेरी ।
३. ०२९।४।२ गते बेलुका दाजुले रु.८०। चोरीस भनेकोले कुटाकुट भई मेरो बक्सीङ कुठाउँमा पर्न गएर वा के किसिम भई मरेका हुन जानि जानि मार्ने विचार लिई कुटेको होइन भन्नेसमेत अबिकरामको प्रहरीमा कागज ।
४. जाहेरवाला र मर्नेको रुपियाँको निहुबाट कुटाकुट भएको हो, मसमेतको सल्लाहबाट लिस्नाबाट लडी परेको पिरबाट मरेको भन्ने झुट्टा जाहेर गर्न पठाएको हो भन्नेसमेत दानबहादुरको कागज ।
५. लिस्नाबाट लडी परेको पिरले मरेको हो भनी जाहेर गर्न पठाएको होइन भन्नेसमेत नरबहादुरको कागज ।
६. मैले लिस्नाबाट लडेको पिरले मरेको भनी जाहेर गर्नु भनेको छैन भन्नेसमेत राजबहादुरको कागज ।
७. अबिकरामले नै कुटेको चोटपीरबाट धनबहादुर मरेको शंका लाग्छ भन्ने विषबहादुरको कागज ।
८. श्रावण २ गते बेलुका मूलघरमा मेरा श्रीमान र देवर कुटाकुट गरी लात्ति, मुड्की, बक्सिङ हानाहान गर्दै रहेछन् म आफै समेत गई छुट्याई घरमा ल्यायौं । पर्सिपल्ट मरे लिस्नाबाट लडी पिरले मरेको होइन अबिकराम कै कुटाई चोटबाट मरेको भन्नेसमेत मन्सिरी राईनीको कागज ।
९. दाजुले कुटेको हुँदा सहन नसकी अबिकरामले पनि दाजुलाई कुटेकोले कुठाउँमा परि वा के भयो ? त्यसै पिरले मरेको हुनुपर्छ भन्नेसमेत मर्ने कि आमा चतुरमायाँको कागज ।
१०. अबिकरामको आफ्नो ज्यानमा ज्यादै धक्का पुगेकोले भाग्न नपाएबाट हात छाड्न परी कुटेका हुन् आखिर त्यसै पिरबाट मरेछन् भन्नेसमेत सुरथमान राईको कागज ।
११. अबिकराम उपर ज्यान सम्बन्धीको १४ नं.बमोजिम नरबहादुर, दानबहादुर, विपबहादुर, राजबहादुरसमेत उपर ऐ.२५ नं. को सजाय हुन कारवाई गरिपाउँ भन्नेसमेत प्रहरी प्रतिवेदन ।
१२. दाजुलाई मैले र मेरो सहमतीसमेत भई कुटी मारेको होइन लिस्नाबाट लडे सो लडेका पिरले मरेका हुन भन्नेसमेत अबिकरामको बयान ।
१३. झगडा भई कुटामार भएको हुँँदा अबिकरामकै कुटाईबाट मरेको हो जस्तो शंका लाग्छ भन्नेसमेत नरबहादुरको बयान ।
१४. अबिकराम झगडा परेको व्यक्ति हो, त्यसैले मलाई गडाउ गरेको हो, अबिकरामले नै मारेको हुनपर्छ भन्नेसमेत राजबहादुरको बयान ।
१५. अविकरामकै कुटाइको पिरले मृत्यु भएको जस्तो लाग्छ भन्नेसमेत दानबहादुरको बयान ।
१६. अबिकरामकै कुटाईबाट मृत्यु भएको हुनुपर्छ भन्नेसमेत विपबहादुर राईको बयान ।
१७. दाजुभाइको कुटामार भयो मैले भागभनेबाट धनबहादुर भाग्दा लिस्नुबाट लडी मृत्यु भएको भन्नेसमेत चतुरमायाको बयान ।
१८. मेरो लोग्ने अबिकरामको कुटाईबाट मरेको हुन लिस्नुबाट लडी मरेको भन्ने झुट्टा हो भन्नेसमेत मन्सिरी राईनीका बयान ।
१९. अबिकराम कै कुटाईको चोट पिरबाट मरेको हो भन्ने सुरथबहादुरको बयान ।
२०. अबिकरामले कर्तव्य गरी मारेको ठहरेकोले सर्वस्व सहित जन्म कैद हुन्छ, राजबहादुर र दानबहादुरले कर्तव्यबाट मरेकोलाई दवाई गुपचुप राख्ने उद्देश्य गरेकोले २५ नं.बमोजिम १।६ कैद हुन्छ । नरबहादुर विषबहादुरलाई रु.२०। का दरले जरिवाना हुन्छ भन्नेसमेत ०२९।७।२८।२ को खोटाङ जिल्ला अदालतको जाहेरी फैसला ।
२१. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत अबिकरामको पुनरावेदन ।
२२. अकस्मात उठेको दाजुभाइको झगडाको सिलसिलामा रीस थाम्न नसकी कुटपिट भई सो चोटले मरेको देखिएकोले सुरु जि.अ.ले सर्वस्व सहित जन्म कैद गरेको मिलेको नदेखिँदा १० वर्ष कैद हुने ठहर्छ । अरू प्रतिवादीले सजायमा चित्त बुझाई बसेकोले सुरुको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत ०३०।८।६।४ को स.अं.अ.भोजपुर बेञ्चको जाहेरी फैसला ।
२३. धनबहादुरको र अबिकरामको बीच ज्यानै लिनुपर्नेसम्मको पुरानो रीसइवी रहेभएको देखिन नआई तत्काल उठेको रिसले दुबैले हातका मुक्की बक्सिङले हान्दा धनबहादुर मरेको हुँदा ज्यानसम्बन्धीको १४ नं.बमोजिम सजाय हुने देखिन्छ सो देखिएकोले सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको इन्साफ मुनासिव ठहर्छ भन्ने ०३१।३।२८ को पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला ।
२४. मुलुकी ऐन अ.बं.१८६ नं.मा भएको मृत्युदण्ड, सर्वस्व सहित जन्मकैद, वा जन्मकैद हुने ठहराएको मुद्दा मृत्युदण्ड, सर्वस्व सहित जन्मकैद वा जन्मकैद हुने अपराधको अभियोग लागेकोलाई रिहाई दिनुपर्ने ठहराएको मुद्दा जाहेर गरी अधिकार प्राप्त अड्डाबाट साधक सदर गराउने व्यवस्था भएको देखिन्छ । न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १४ मा मृत्युदण्ड सर्वस्व सहित जन्मकैद वा जन्मकैद सजाय भएको मुद्दाको साधक जाँची निर्णय गर्ने अधिकार सर्वोच्च अदालतको हुनेछ भन्ने उल्लेख भएको प्रस्तुत मुद्दामा सुरु जि.अ.ले सर्वस्व सहित जन्मकैद गरेकोमा अञ्चल अदालत र पूर्वाञ्चल क्षेत्रीय अदालतले रिहाई दिने ठहराएको भए वा मृत्युदण्ड सर्वस्व सहित जन्मकैद भएको भए सर्वोच्च अदालतमा साधक जाहेर हुनसक्ने थियो । यो मुद्दा सो बमोजिम भएको नभई सुरुले सर्वस्व सहित जन्मकैद गर्ने गरेकोमा अञ्चल अदालत पूर्वाञ्चल क्षेत्रीय अदालते १० वर्ष कैद गर्ने ठहर्याई जाहेर गर्ने गरेकोबाट यस अदालतमा साधक जाहेर गर्नुपर्ने र साधक जाँची निकासा दिइरहनु पर्ने अवस्था नभएको हुँदा सो साधक जाहेर गरेको मिलेको देखिएन । अतः साधक जाँची निकासा दिई रहनुपर्ने अवस्था नभएको कानूनबमोजिम गर्नुभनी मिसिल फिर्ता पठाउने ठहर्छ भन्नेसमेत मा.न्या.श्री धनेन्द्रबहादुर सिंको राय र अ.बं.१८६ को देहाय (१) (२) न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १४(१) कानूनको व्यवस्थाले मृत्युदण्ड सर्वस्व सहित जन्मकैद वा जन्मकैदको सजाय भएको मुद्दा साधक जाँची अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च अदालतलाई कानूनले प्रदान गरेको छ र प्रस्तुत मुद्दामा जन्मकैदको सजाय गर्ने ठहराई साधक जाहेर गरेको हुनाले सो साधक सर्वोच्च अदालतबाट जाँची निर्णय दिनुपर्ने कानूनी व्यवस्था निर्देशन गरेको छ । साधक जाँच्ने अञ्चल क्षेत्रीय अदालतले कैद वर्ष १० मात्र नै गरेकोले सर्वोच्च अदालतले साधक जाँची निर्णय गर्नुपर्ने होइन कि भन्नेतर्फ गर्दा सुरुले जन्म कैद गर्ने ठहराएका क्षेत्रीय अदालतले सो भन्दा घटी सजाय गर्ने गरेकोमा सर्वोच्च अदालतले साधक जाँच्ने वा सुरुले घटी सजाय गर्ने गरेको क्षेत्रीय अदालतले मृत्युदण्ड, सर्वस्व सहित जन्मकैद वा जन्मकैदको सजाय गर्ने गरेकोमा सर्वोच्च अदालतले साधक जाँची निर्णय दिने के हो भन्ने दुविधा उत्पन्न हुन जान्छ, कानूनले त्यस्तो नगर्ने गरी मृत्युदण्ड, सर्वस्व सहित जन्मकैदको सजाय भएको मुद्दामा सर्वोच्च अदालतबाट साधक जाँची निर्णय गर्नुभन्ने प्रष्ट व्यवस्था गरेको हुनाले जिल्ला अदालतले होस वा क्षेत्रीय अदालतले होस मृत्युदण्ड, सर्वस्व सहित जन्मकैद वा जन्मकैदका सजाय भएको मुद्दामा सर्वोच्च अदालतबाट साधक जाँची निर्णय दिनुपर्ने देखिन आउँछ । सुरु साधक जाहेर गर्न र जाँच्ने क्षेत्रीय अदालतको सजायमा दुई राय भएछ भने सर्वोच्च अदालतबाट साधक जाँची निर्णय हुनु न्यायिक परिपाटीको अवस्थामा व्यवहारिक हुन जाने कानूनी व्यवस्थाले प्रष्ट गरेको हुँदा प्रस्तुत मुद्दामा सर्वोच्च अदालतबाट साधक जाँची निर्णय गर्नुपर्ने कानूनी व्यवस्था हो भन्ने कुरामा कुनै शंका रहेन, साधक जाँची निर्णय दिने हकमा अबिकरामलाई जन्मकैदको सजाय लाग्ने देखिँदैन । जन्मकैद गर्ने गरेको जि.अ.को मिलेको देखिएन । १० वर्ष कैद गर्ने ठहराएको मनासिव छ । सहयोगी मा.न्या.श्री धनेन्द्रबहादुर सिंहले प्रस्तुत केशमा स.अ.बाट निर्णय दिनु नपर्ने ठहराएकोमा र वादी श्री ५ को सरकार प्र.काले थापा क्षेत्री भएको फौ.सा.नं. २९ को ज्यान मुद्दामा यस्तो अवस्थामा स.अ.बाट निर्णय दिनु नपर्ने ठहराई ०३०।३।२१ मा निर्णय भएको रुलिङ्गसँग समेत म सहमत हुन सकिन, फुल बेञ्चमा पेश गर्नु भन्ने समेत मा.न्या.श्री झपटसिंह रावलको राय भएको ०३१।६।१० को डिभिजन बेञ्चको फैसला ।
२५. यसमा प्रहरी प्रतिवेदनमा प्रतिवादी अबिकराम उपर ज्यानसम्बन्धीको १४ नं.बमोजिम र अरू प्रतिवादी उपर ऐ.को २५ नं.बमोजिमको सजायको माग गरी प्रस्तुतु मुद्दा चलेकोमा सुरु खोटाङ जि.अ.ले प्र.अविकरामलाई ज्यानसम्बन्धीको १३ नं.बमोजिम सर्वस्व सहित जन्म कैद गर्ने ठहराएको र माथिल्ला तहका दुई अदालतले ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्षमात्र कैद गर्ने गरी साधक जाहेर गरेको देखिन्छ । प्रस्तुत मुद्दामा ०३१।६।१०।५ को डिभिजन बेञ्चका माननीय न्यायधीशहरूको मतैक्य हुन नसकेको अञ्चल अदालत र क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १४ नं.लाई कैद वर्ष १० मात्र गर्ने गरेकोमा यस अदालतले साधक जाँची निकासा दिनुपर्ने नपर्ने के हो ? भन्ने प्रश्न उपर यस बेञ्चबाट निर्णय दिनुपर्ने हुन आएको छ ।
२६. साधक जाहेर गर्ने सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा यस्तो मुद्दाहरूको सम्बन्धमा अ.बं.१८६ नं. को शिर व्यहोरामा देहायमा लेखिएको मुद्दामा जाहेर गरी अधिकार प्राप्त अड्डाबाट साधक सदर भएबमोजिम गरी र अरू गैह्र मुद्दामा अड्डाबाट कानूनबमोजिम जो गर्नुपर्ने गरी फैसला गर्नुपर्छ भन्ने उल्लेख गरी त्यसको देहाय १ दफामा मृत्युदण्ड सर्वस्व सहित जन्म कैद वा जन्म कैद हुने ठहराएको मुद्दा र देहाय २ दफामा मृत्युदण्ड, सर्वस्व जन्मकैद वा जन्मकैद हुने अपराधको अभियोग लागेकोलाई रिहाई दिनुपर्ने ठहराएको मुद्दा भन्ने उल्लेख भएको र न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १४ को उपदफा (१) मा प्रचलित नेपाल कानूनले साधक सदर गराउनुपर्ने मुद्दामा पुनरावेदन सुन्ने अदालतमा साधक जाहेर गर्नुपर्छ र सो अदालतबाट भएको निर्णय अन्तिम हुनेछ भन्ने र त्यसको प्रतिबन्धात्मक वाक्यांशमा तर मृत्युदण्ड सर्वस्व सहित जन्मकैद वा जन्म कैदको सजाय भएको मुद्दाको साधक जाँची अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च अदालतको हुनेछ भन्ने उल्लेख भएको देखिन्छ ।
२७. माथिको प्रकरणमा उल्लेख गरिएको दुबै ऐनका दफाहरूको अवस्थाले सर्वस्व सहित जन्म कैद वा जन्मकैद हुने ठहरी फैसला भएको मुद्दाहरूमा सर्वोच्च अदालतले साधक जाँची निकासा दिने कानूनी व्यवस्था प्रष्ट छ । प्रस्तुत मुद्दामा सुरु खोटाङ जिल्ला अदालतले वादी दावी नै नभएको ज्यानसम्बन्धीको १३ नं.लगाई सजाय गरेको छ । तर वादी दावीको रुपबाट प्रस्तुत मुद्दा अ.बं.१८६ नं., न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १४ को अवस्था भित्र पर्न आउने देखिँदैन । किनकि दावी भन्दा बाहिर गई निर्णय गरेकोलाई मान्यता नदिने सिद्धान्त यस अदालतले स्पष्ट रुपमा प्रतिपादित गरेको छ ।
२८. ज्यानसम्बन्धीको १४ नं. ऐ १३ नं.भन्दा भिन्नै किसिमको अपराधको सजायको लागि बनेको छ । उक्त १४ नं.मा सर्वस्व सहित जन्मकैद या जन्मकैद गर्ने व्यवस्था गरेको छैन । त्यसकारण अ.बं.१८६ नं.तथा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १४ ले तोकेको मृत्युदण्ड सर्वस्व सहित जन्मकैद वा जन्मकैद हुने ठहराएको मुद्दाको भन्दा भिन्नै किसिमको छ, वादी दावी नभएको र ऐनको परिधि भित्र नपर्ने मुद्दामा साधक जाँची निकासा दिन आवश्यक नपरेकोले साधक जाँची निकासा दिनु नपर्ने ठहराएको ०३१।६।१० को डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिव छ । उक्त रायअनुसार गरी नियमबमोजिम मिसिल बुझाई दिनु ।
हामीहरूको सहमत छ ।
न्या. हेरम्बराज,
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् ०३२ साल जेष्ठ २३ गते रोज ६ शुभम् ।