February 7, 1974
Created by nepalarchives

निर्णय नं. ८९२ – अंश

निर्णय नं. ८९२            ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८ सालको दे.फु.नं. १८१९ फैसला भएको...

निर्णय नं. ८९२            ने.का.प. २०३२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री जयदेव भट्ट

सम्वत् २०२८ सालको दे.फु.नं. १८१९

फैसला भएको मिति :      २०३०।१०।२५।२

निवेदक : का.जि. टुसाल बस्ने आशामाया डंगोल्नी

विरुद्ध

विपक्षी : ऐऐ. बस्ने हर्षबहादुर डंगोल मरी मुद्दा सकार गर्ने सिद्धिलाल डंगोल

मुद्दा : अंश

(१)   मोहियानी जग्गामा अंशवण्डा छुट्याई दिने भन्न नमिल्ने । जग्गाधनीले अंशियारहरूमा पत्याएको व्यक्तिले मोहियानी हक पाउने कानूनी व्यवस्था देखिने ।

(प्रकरण नं. ११)

पुनरावेदीका तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

फैसला

     न्या. झपटसिंह रावल

      १.     बुढा ससुरा हाकुसिंका छोरा २ मध्ये जेठा जेठाजु हर्षबहादुर १, कान्छा मेरो लोग्ने जोतीमान १ समेत २ छोरामा कान्छा मेरो लोग्ने जोतीमान भिन्न नहुँदै २००१ सालमा परलोक हुनुभएको र सगोलमै बसी राखेकोमा दुःख दिएबाट म २००६ सालमा मानो छुट्टिई भिन्न बसेकी थिएं । यतिकैमा मलाई पाल्न सक्दिन भनी छोरो देवदास पनि भिन्न बस्न गएको र म वृद्ध भई प्राण राख्न नसकी ससुरालाई माना चामल दिनु होस् वा २००६।१२।२८ गते मानु छुट्टिएको मानी अघिल्ला मिति तकको ऋण धनसमेत हिसाब गरी ३ भागको १ भाग मलाई अंश छुट्याई पाउँ भन्दा अंश दिन्न भन्नु भएकोले नालेश गर्न आएकी छु । उक्त बमोजिम अंश दिलाई पाउँ भन्ने वादी ।

      २.    वादीले दावी लिएको व्यहोरा झुट्टा हो । वादीका लोग्ने मेरा छोरा जोतीमान, जेठा छोरा हर्षबहादुर, स्वास्नी नानीमायासमेत ४ जनाको १९९९ साल चैत्र मसान्तका दिन अंश भाग लगाई भिन्न बसी आएको सिद्धिलालले मलाई हेरचाह गरेकोले निजलाई मेरो अंश भाग ०१९।४।१५।३ मा शेषपछिको बकसपत्र पास गरिदियो भन्ने रिसले वादीले यो नालेश गरेकी हुन् वादीका लोग्नेको भागमा परेको मध्ये जग्गा २।। जति मेरा नाउँबाट नामसारी भईसकेको पनि छ वादीलाई अंश दिनुपर्ने केही छैन भन्नेसमेत हाकुसिंको प्रतिवादी ।

      ३.    बाबु हाकुसिं, म र मेरा भाइ जोतीमान १९९९ सालमा अंशबण्डा गरी बेगल बसी आएको सिद्धिलाललाई बाबुले शेषपछिको बकसपत्र दिंदा म र वादीको छोरो निज देवदास साक्षी बसेका छौं । वादीलाई अंश दिनु बाँकी छैन भन्नेसमेत हर्षबहादुरको बयान ।

      ४.    हाकुसिंबाट मेरा बाबु जोतीमान र जेठा बाबु हर्कबहादुरकोसमेत अंश भएको छैन । अंशबण्डा भएको भए बण्डापत्र हुनु पर्दथ्यो । जेठो बाबु हर्कबहादुरलाई हातमा लिई मेरो आमालाई निरअंशी गराउन खोजी अंश नदिएको हो भन्नेसमेत देवदासको बयान ।

      ५.    वादी २ र प्रतिवादीको अंशबण्डा भएको नदेखिएको र अंशबण्डा नहुँदै हाकुसिं मरीसकेकोले हाकुसिंको अंश छुट्याई दिन नपरी प्राप्त हुन आएको तायदाती अनुसार २ भागको १ भाग प्र.हाकुसिं मरी मुद्दा सकार गर्ने हर्कबहादुरलाई वादीलाई अंश छुट्याई दिने ठहर्छ भन्ने काठमाडौं जि.अ.को फैसला ।

      ६.    भिन्न भई बसेकी र अंश दिनु नपर्ने वादीलाई मेरा बाबुले आफ्ना नातिलाई बकस दिएको भाग समेत मिसाई २ भागको १ भाग अंश दिने ठहराई गरेको उक्त इन्साफमा चित्त बुझेन भन्ने हर्कबहादुरको पुनरावेदन ।

      ७.    वादीले आफ्नो लोग्ने, जेठाजु र ससुरा गरी ३ भागको १ भाग अंशमा दावी लिएको र हाकुसिंको बकसपत्रबाट सिद्धिलालको हक हुने ठहरिएको र बाँकी २ भागमा मोहियानीको जग्गा बाहेक अरू जग्गा ३ भागको १ भाग वादीले पाउने ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदातलको फैसला ।

      ८.    अंशमा दावी लिएका बखत ३ अंशियारको ३ अंश भाग लाग्ने अवस्था भएको र पछि फैसला हुनु अगावै ससुरा मरेको २ अंश भाग गरी १ अंश मैले पाउनु पर्नेमा ३ अंश भाग लाग्ने गरेको बा.अं.अ.को इन्साफमा चित्त बुझेन भन्ने वादी आशामायाको पुनरावेदन ।

      ९.    पुनरावेदीका वादी आशामायाकातर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहस सुनी मिसिलको अध्ययनसमेत गरी हेर्दा २००६ सालमा प्रतिवादीसँग छुट्टिई बसेकी भन्ने वादी, २००० साल देखिनै तीन अंश गरी अलगअलग बसेका भन्ने प्रतिवादीको जिकिर भएको रीतपूर्वकको मानु छुट्टिएको लिखत र अंशबण्डा छुट्याएको बण्डापत्र नभएको नालेश परेको मितिले मानु छुट्टिएको कायम गरी तायदाती लिई अंशबण्डा गरिदिने भनी अञ्चल अदालतबाट फैसला भएकोमा प्रतिवादीको पुनरावेदन पर्न आएको देखिएन । अंशमा घटीबढी पर्‍यो भन्नेसमेत पुनरावेदीका वादीको पुनरावेदन जिकिरको हकमा निम्नलिखित प्रश्नमा विचार गरी निर्णय दिनुपर्ने देखियो ।

(१)    वादीले फिराद गर्दा प्रतिवादी हाकुसिं हर्कबहादुर आफूसमेत ३ जवान अंशियार देखाई दावी गरेकोमा हाकुसिं मरेको हुनाले अब वादी र हर्कबहादुरका बीच २ भाग गर्नुपर्ने हो वा ३ भाग गर्नुपर्ने के हो ?

(२)   मोहियानीमा कमाएको जग्गा अंशबण्डा छुट्याई दिनुपर्ने के हो वा होइन ?

      १०.    प्रस्तुत नं.१ मा विचार गरौं : वादी फिराद दायर हुँदा अंशियार ३ जना भएकोमा प्रतिवादी हाकुसिं एक अंशियार मरेपछि बाँकी रहेका बराबरका अंशियार वादी र हर्कबहादुरका बीच जिय अंशवण्डा छुट्याई दिनुपर्ने अवस्था देखिन आउँछ । तर मर्ने हाकुसिंका हक खाने अरू कोही नभई वादी आशामाया र प्रतिवादी हर्कबहादुरमा हाकुसिंको हक सर्न आएको भए उक्त उल्लेख बमोजिम दुई बण्डा गर्नुपर्ने स्थिति आउँथ्यो । सो बमोजिम हाकुसिंको हक वादी आशामाया र प्र.हर्कबहादुरमा सर्न नआई हाकुसिंले सो मुद्दा गर्नु भन्दा अगावै ०१९।४।१५।३ मा रजिष्ट्रेशन पास गरी आफ्नो शेषपछिको हक खाने उत्तराधिकारी सिद्धिलाललाई कायम गरेको र सो कुरा यस मुद्दाको प्रतिवादीमा हाकुसिंले उल्लेख गरेकोसमेत देखिएको हुनाले हाकुसिं मरे पनि निजको हक निशेष नभई सिद्धिलालमा कायम हुन आएको हुनाले गोश्वारा सम्पत्तिमा ३ भागको १ भाग नै वादीले छुट्याई पाउने अवस्था पर्न आयो, हाकुसिं मरेपछि हक खाने सिद्धिलालले अंश मुद्दामा हाकुसिंकातर्फबाट सकार गर्नुपर्ने सो गरेको नदेखिएकोले कसको हो भन्ने हकमा हाकुसिं प्रतिवादी भएको निजलाई दिलाउनु गराउनुपर्ने यस मुद्दामा विषय समावेश नभएको वादीले दावी गर्दैमा ३ भागमा १ भाग पाउँ भनी दावी गरेको हुनाले सो बमोजिम वादीको दावीमा स्वीकार गरी प्रतिवादी सरह हुने व्यक्ति सिद्धिलालले तारेख गुजारेको वा मुद्दा सकार गर्नेछ भन्दैमा निजको आफ्नो हक लोप हुन्छ भन्न मिल्ने देखिएन ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वादीले सो दावीलाई छोडी पुनरावेदन गर्दा २ भागको १ भाग पाउँ भनी जिकिर लिएको वादीका पुनरावेदन जिकिर बमोजिम जम्मा सम्पत्ति २ भागको १ भाग वादीलाई दिलाई दिनुपर्छ भन्ने मिल्ने देखिएन ।

      ११.    अब प्रश्न २ मा मोहियानी जग्गा पनि अंशबण्डा हुनुपर्ने भन्ने वादी पुनरावदेकको जिकिर छ । अंशबण्डाका ऐनबमोजिम दायर हुन आएको अंश मुद्दामा गोश्वारा सम्पत्ति जेजस्तो देखिन आउँछ सो सबै ऐनबमोजिम अंश पाउने व्यक्तिलाई अंशबण्डा गरी दिनुपर्छ भन्ने कुरामा विवाद पनि उठ्न सक्दैन । तर मोहियानी जग्गाको हकमा भूमिसम्बन्धी ऐनले विशेष व्यवस्था गरेको पाइन्छ । जुन कि जग्गा कमाउने मोहीको मोहीसम्बन्धी हक निज पछि निजको पति पत्नी वा छोराहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने भू.सं.ऐन, ०२१ को दफा २६ को उपदफा (१) मा र प्रचलित कानूनमा जेसुकै लेखिएको भए तापनि मोहियानी हक खरिद गर्न वा दान दातव्यको रुपमा वा अरू किसिमले हक छोडाई लिन पाइने छैन र सरकारी वा गैरसरकारी बिगोमा वा सजायमा लिलाम बिक्री हुने छैन भन्ने सोही ऐनको दफा २६(क) मा व्यवस्था भएको देखिन्छ । सो कानूनी व्यवस्थाले मोहियानी जग्गाको हकका नाउँमा मोहियानी छ निजपछि निजको पति वा पत्नी वा छोराहरूमा जग्गाधनीले पत्याएको व्यक्ति मोेही कायम हुने हुँदा एकपछि पनि अर्को एक व्यक्तिमात्र मोही हुन सक्ने देखिएकोले त्यस्तो मोहियानीमा कमाएको जग्गा अंशबण्डाको रुपमा विभाजन गरी बाँडी दिँदा उक्त कानूनी व्यवस्थामा बाधा पर्न आई जग्गाधनीले आफूले पत्याएको मोही राख्न पाउने कानूनी अधिकार पनि लुप्त हुन जाने देखिएको हुनाले मोहियानी जग्गामा अंशबण्डा छुट्याई दिने भन्न मिल्दैन । जग्गाधनीले अंशियारहरूमा पत्याएको व्यक्तिले मोहियानी हक पाउने कानूनी व्यवस्था देखिन आउँछ ।

      १२.   तसर्थ मोहियानी हकको जग्गामा अंशबण्डा नगर्ने र वादीलाई जम्मा सम्पत्तिको ३ भागको १ भाग अंश छुट्याई दिने भनी बागमती अञ्चल अदालतले मिति ०२८।७।२५।५ मा गरेको निर्णय मनासिव ठहर्छ पुनरावेदन जिकिर पुग्न सकेन । कोर्टफी राखी पुनरावेदन दायर भएको हुनाले अरू केही गर्न परेन । मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. जयदेव भट्ट

 

इति सम्वत् २०३० साल पौष २५ गते रोज २ शुभम् ।