January 24, 1975
Created by nepalarchives

निर्णय नं. ८८५ – उखडा जग्गा

निर्णय नं. ८८५           ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंहह रावल माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र सम्वत् २०२९...

निर्णय नं. ८८५           ने.का.प. २०३२

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंहह रावल

माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र

सम्वत् २०२९ सालको दे.फु.नं. १७५

फैसला भएको मिति : २०३१।१०।११।६

निवेदक : जि. कपिलवस्तु वलुहवा गा.पं.वार्ड नं.५ बस्ने रामकरण उपाध्यायसमेत

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने गया कहार

मुद्दा : उखडा जग्गा

(१)   नक्सामा झगडा परेको जग्गा चौतर्फी साँधमा लेखिएको सँधियारको नामसँग मिल्न भिड्न नआए झगडा परेको जग्गाको सँधियार मान्न नमिल्ने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ

प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्ज विहारीप्रसाद सिंह

फैसला

     न्या. वासुदेव शर्मा

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।९।१३।३ मा बक्स भई आएका हुकुमप्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

      २.    मुद्दाको विवरण यसप्रकार छ : जग्गाधनी रामकरण उपाध्यायको पं बलुहवा मौजा सिहवाँको कि.नं.३८० को द्र४।।४ कि.नं.३८१ को द्र१ कि.नं.६७६ को ।.।।४ समेत जग्गा उखडामा कमाएको भनी मोही गया कहारले उखडा फाराम भरेकोमा विपक्षीले उखडा विवरणमा लेखेको उक्त कित्ता ३ को विगाहा १।।.।३ हामी रामकरण समेत ३ जनाका नाउँमा जिमिदारी दर्ता भएको जग्गा विपक्षीलाई उखडामा कमाउन दिएको छैन झुट्टा उखडा फाराम भरेको बदर गरिपाउँ भन्ने समेत वादी रामकरण समेत ३ को विरोधपत्र ।

      ३.    विवरणको जग्गा मैले जोती आएको १० वर्ष भयो सालको पोत भा.रु.४ का दरले भा.रु.३६ दिन्थें । ०२१ सालको पोत समेत बुझाएको छु भन्ने समेत प्रतिवादी गया कहारको बयान ।

      ४.    २२ साल देखिको पोत धरौट रसिद र बचौत बुझाएको रसिद समेत पेश गरेको जोताहा अस्थायी निस्सा पनि प्रतिवादीबाट पेश हुन आएकोबाट जग्गा प्रतिवादीको जोतमा देखिन आएको वादी दुलारे कलवार प्र.कतनु पाध्या समेतको उखडा मुद्दाको मिसिल सामेल रहेको सरजमिन मुचुल्का हेर्दा जग्गा प्रतिवादीले जोती आएको छ भन्ने र केहीले २ वर्ष देखि जवरजस्ती जोतेको छ भनेकोले समेत विवरण बमोजिमको जग्गा प्रतिवादीले उखडामा जोतेको ठहर्छ भन्ने समेत कपिलवस्तु जिल्ला अदालतको फैसला ।

      ५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीहरूको पुनरावेदन ।

      ६.    सर्भे नपी हुँदा समेत जग्गा जोत्ने गया कहारलाई कायम गरी अस्थायी निस्सा समेत दिएको जोताहा अस्थायी निस्सा नक्कलबाट देखियो वादी दुलारे कहार प्रतिवादी कतनु पाध्याको उखडा जग्गा मुद्दाको मिसिल संलग्न सरजमिन मुचुल्का हेर्दा उक्त जग्गा प्रतिवादीले जोती आएका छन् भनी सरजमिनको व्यक्तिले समेत लेखी दिएबाट समेत प्रतिवादीले उखडामा जोती आएको ठहर गरी क.व.जि.अ.ले गरेको इन्साफ मनासिव छ भन्ने समेत ०२८।२।१४ को डिभिजन बेञ्चको फैसला ।

      ७.    प्रस्तुत मुद्दा दाहोरिने भएको हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिशमा व्यहोरामा सरजमिन प्रस्तुत मुद्दामा भएको नभई वादी दुलारे कहार प्र.कतनु पाध्याको उखडा मुद्दामा भएको देखिन्छ । यसप्रकार एकाको मुद्दामा भएको सरजमिन भनाइबाट अरू मुद्दामा आधार बनाई निर्णय हुनु उचित नहुने सरजमिन मुद्दा परेको प्रत्येक जग्गाको ४ किल्ला उल्लेख गरी भएको पनि देखिन आएन । सरजमिनका व्यक्ति कुनैले साँधमा जग्गा छ भनी बकेको देखिन्छ । कुन हद नम्बरको कुन कित्ता भित्रको जग्गाको साँधमा परेको हो स्पष्ट देखिन नआई हचुवा बोलीमा बकेको देखिन आयो । उक्त सरजमिन आधार मान्न मिल्ने देखिँदैन । अस्थायी निस्सा उखडा ऐनबमोजिमको नभई भूमिसम्बन्धी ऐनबमोजिम प्राप्त हुने अस्थायी निस्सा हुँदा प्रस्तुत मुद्दाको निमित्त प्रमाण हुन सक्ने देखिँदैन । सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको रहेछ ।

      ८.    यस बेञ्चसमक्ष निवेदक वादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले वादीहरू ककसको कति कति जग्गा जोतेको हो विवरणमा प्रष्ट खुलाएको छैन सरजमिनका अधिकांश व्यक्तिले जग्गा मेरो पक्षहरू आफैलेनै जोतेको भनेको हुँदा उखडामा जोतेको भन्ने प्रतिवादीको विवरण बदर हुनपर्छ भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंहले जग्गाधनीको नाम र यो यति जग्गा भन्ने विवरणमा खुलाएकै छ । झगडा परेको बलुहवा गा.पं.का सरजमिनमा धेरै जनाले मेरो पक्षले उखडामा जोतेको भनेको मेरो पक्षले अस्थायी निस्सा पनि प्राप्त गरिसकेको हुँदा जग्गा उखडा कायम हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

      ९.    यसमा गया कहारले उखडाको विवरण फाराम भरेको गा.पं.बलुहवा मौजे सिहोर्वाको जग्गा बिगाहा १।।.।३ निजलाई उखडामा कमाउन दिएका छैनौं । हामीहरू आफैले जोती आएको छौं भन्ने जग्गाधनी रामकर्ण समेतको विरोधपत्र र १० वर्ष भयो सालको भा.रु.४ का दरले पोत तिरी उखडामा कमाई आएको छु भन्ने गया कहारको बयान भई विवाद उठेको रहेछ । झगडा परेको जग्गा गया कहारको विवरण बमोजिम निजले उखडामा जोती आएको हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ । उक्त निर्णयको लागि उखडामा कमाएका कबुलियत रसिद समेतको लिखत सबूत नभएकोले बुझिएका सरजमिनको भनाइलाई नै निर्णयाधार मान्नु पर्ने हुन आयो । ०३१।२।२९।३ को फुल बेञ्चको आदेश बमोजिम हाल बुझिएका सरजमिनहरूको भनाई हेर्दा झगडा परेको बलुहवा गाउँ पञ्चायतका ३६ जनाले जग्गाधनी आफैले जोतेको भन्ने र ४० जनाले किसान गया कहारले उखडामा जोती आएको भन्ने र छुट्टै पिप्रा गाउँ पञ्चायतको १७ जनाले जग्गाधनीले जोती आएको भन्ने २ जनाले किसान गया कहारले उखडामा जोती आएको भन्ने लेखिदिएको पाइन्छ । ती बुझिएका सरजमिनमा आसकसी मुसलमान, महमद हमिद, अवदुल मोविन, रामशंकर बढैले आफूलाई सँधियार भन्ने जनाएको भए पनि झगडा परेको जग्गा साँधमा ककसको जग्गा रहेछ सो समेत खुलाई ०३०।१०।२।३ का फुल बेञ्चका आदेश बमोजिम नक्सा समेत भएको सो नक्सामा झगडा परेको जग्गाको चौतर्फी साँधमा लेखिएका सँधियारहरूको नामसँग उक्त व्यक्तिहरूको नाम मिल्न भिड्न नआएकोले तिनीहरूलाई झगडा परेको जग्गाको सँधियार मान्न मिलेन । खास गरी झगडा परेको बलुहवा गाउँ पञ्चायतका ४० जना सरजमिनको भनाईबाट जग्गा गया कहारले उखडामा जोती आएको भन्ने कुरा समर्थित हुन आएकोले उखडा ठहराएको सुरुको सदर गरी ०२८।२।१४।६ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ कोर्टफी राखेकोले मुद्दा दोहर्‍याएमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. झपटसिंह रावल,

न्या. इश्वरीराज मिश्र

 

 

इति सम्वत् २०३१ साल माघ ११ गते रोज ६ शुभम् ।