January 14, 1975
Created by nepalarchives

निर्णय नं. ८८४ – लेनदेन ठेक्का बाली

निर्णय नं. ८८४            ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायधीश श्री वासुदेव शर्मा माननीय न्यायधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र सम्वत् २०३०...

निर्णय नं. ८८४            ने.का.प. २०३२

फुल बेञ्च

माननीय न्यायधीश श्री वासुदेव शर्मा

माननीय न्यायधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र

सम्वत् २०३० सालको दे.फु.नं. ९६

फैसला भएको मिति :      २०३१।१०।१।३

निवेदक : विराटनगर रंगेली वार्ड नं.६ बस्ने तिर्थप्रसाद उपाध्याय

विरुद्ध

विपक्षी : ऐ. बस्ने चन्द्रप्रसाद नेपाल

मुद्दा : लेनदेन ठेक्का बाली

(१)   मुद्दा दोहर्‍याई हेरी इन्साफ जाँची दिने हुकूम प्रमांगी बक्स भएको भए मात्र सबैका हकमा मुद्दा दोहर्‍याई हेरी मुद्दाको सम्पूर्ण तथ्यभित्र प्रवेश गरी निर्णय दिनुपर्ने स्थिति उत्पन्न हुने  सक्ने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : अधिवक्ता गणेशराज शर्मा, अधिवक्ता ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट      : अधिवक्ता बलराम काफ्ले

फैसला

     न्या. वासुदेव शर्मा

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्‍याई दिनु भन्ने ०२९।८।२३ मा श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : तिर्थप्रसाद, राजेन्द्रप्रसाद, खड्गनारायण, दिलबहादुर, होमबहादुर समेतले कर्जा लिएको साँवा र ब्याज खड्गनारायणले भा.रु.३४०। ठेक बुझाउने गरी कमाएको ठेकबाली समेत दिएनन् ठाडै दिलाई पाउँ भन्ने चन्द्रप्रसादको निवेदन परेकोमा व्यहोरा साँचो भए ठाडै बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने तत्कालिन धरान जिल्ला अदालतका नाउँमा ०१८।१०।५।५ मा हुकूम प्रमांगी बक्स भएको ।

      ३.    छुट्टिएको छोरा तिर्थप्रसादले ०१६।८।१३ मा कपाली तमसुक लेखी कर्जा लिएको जिन्सीको नगदी भा.रु.५१४ को साँवा ब्याज राजेन्द्रप्रसादले ०१६।८।१ मा अंशबण्डा हुँदा म समेतको फाँटमा परेको भा.रु.४०००। को तमसुक लेखिदिएको सो रुपैयाँको हुने ने.रु.६४००। होमबहादुर, दिलबहादुरले कर्जा लिएको भा.रु.२४,९२१ को दृष्टि तमसुक कपाली भएको त्यसको ने.रु.३९,८७३।६० को साँवा ब्याज खड्गनारायणले भोगबन्धकी लेखिदिएको जग्गा आफैले ठेक्कामा लिएको ०१२ सालदेखि ०१८ साल तकको हुने रु.३८०८०।नदिएकाले सो समेत ल र खड्ग नारायणले कपाली तमसुक गरी कर्जा लिएको भा.रु.२१०० को साँवा ब्याज समेत भराई पाउँ भन्ने चन्द्रप्रसादको बयान ।

      ४.    दावी बमोजिम तिर्न, बुझाउन पर्ने होइन भन्ने समेत दिलबहादुर, होमबहादुर, खड्गनारायण तिर्थप्रसाद, राजेन्द्रप्रसाद समेतको प्रतिवादी ।

      ५.    दिलबहादुर, होमबहादुरको हकमा मिलापत्र भएको र राजेन्द्रप्रसादसँग रु.८००। तिर्थप्रसादसँग रु.१०७३४।५६ खड्ग नारायणसँग बालीको झगडाको २० नं.बमोजिम ३ वर्षसम्मको ठेक बाली रु.१६३२० र निजै खड्ग नारायणसँग भा.रु.२१०० को साँवा ब्याज रु.६७२० भरी पाउने ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको फैसला ।

      ६.    भा.रु.२१०० को कलममा निवेदनमा नपरेकोले ठाडै बुझी कारवाई गर्न नमिल्ने हुनाले सो कलमको हकमा अञ्चल अदालतबाट भराई दिने जति बदर हुन्छ । खड्गनारायणको रु.२०४०० को भोग बन्धक लिखत कपाली सरह पाउने भनी ठहर गरेकोमा १ सालको आयस्ता बाली खाएको भन्ने वादीमा पनि लेखेकोले तत्काल साहु आसामीको २(क) नं.बमोजिम बन्धकी नै कायम हुन्छ कपाली ठहराएको कोशी अञ्चल अदालतको इन्साफ मिलेको देखिएन अरू अञ्चल अदालतको इन्साफ मनासिव छ भन्नेसमेत ०२६।१।२६।५ को डिभिजन बेञ्चको फैसला ।

      ७.    डिभिजन बेञ्चले भराउन नमिल्ने ठहर गरेको भा.रु.२१०० को कलममा म्याद थामी नालिस लिई दिने प्रमांगी पाउँ भन्ने वादीको निवेदन परेकोमा व्यहोरा साँचो हो र अदालतमा गरेको बयानमा लेखिएकोबाट अञ्चल अदालतले कारवाई चलाई फैसला गरिसकेको रहेछ भने अघि बिन्तिपत्रमा नलेखिएको भए पनि दुबै पक्षलाई झिकाई सोही मिसिलबाट सर्वोच्च अदालतले इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने विशेष जाहेरी विभाग मार्फत ०२६।३।३।३ मा हुकूम प्रमांगी बक्स भएको र उक्त मुद्दा दोहर्‍याई पाउँ भन्ने प्रतिवादी खड्गनारायण तिर्थप्रसादहरूको पनि न्यायिक समितिमा छुट्टै निवेदन परेकोमा चन्द्रप्रसादको निवेदनमा दुबै पक्षलाई झिकाई सोही मिसिलबाट सर्वोच्च अदालतले इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने हुकूम प्रमांगी बक्स भई गएकोले सो प्रमांगी बमोजिम इन्साफ जाँचिदा दुबै पक्षको दावी जिकिरको कुरा हेरी निर्णय हुने हुँदा प्रस्तुत निवेदनबाट मुद्दा दोहर्‍याई बक्सनु पर्ने भनी सिफारिश बिन्ति चढाइरहनु नपर्ने उक्त निवेदन मिसिल साथ सामेल राख्न सर्वोच्च अदालतमा पठाई दिने आदेश बक्सनु पर्ने भनी समितिले सिफारिश गरेको श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा समितिको सिफारिश बमोजिम उपरोक्त निवेदनहरू मिसिल सामेल राख्न लेखी पठाई दिनु भन्ने ०२६।१०।१५।४ मा हुकूम प्रमांगी बक्स भई आएको ।

      ८.    भा.रु.२१०० को कलममा बक्स भएको हुकूम प्रमांगीबाट कोशी अञ्चल अदालतको इन्साफ जाँची कानूनबमोजिम निर्णय दिनुपर्ने हुन आएको र यस्तो अञ्चल अदालतको इन्साफ जाँची निर्णय हुने कुरा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३५ अनुसार डिभिजन बेञ्चमै पेश हुन पर्ने हुनाले डिभिजन बेञ्चमै पेश गर्नु भन्ने ०२८।२।२५।३ को फुल बेञ्चको  आदेश ।

      ९.    सर्वोच्च अदालतबाट ठहर फैसला भइसकेको मुद्दामा पुनः दोहर्‍याई हेर्न लगाई दोहर्‍याई हेरिदिनु भन्ने हुकूम प्रमांगी बक्स भई आएमा मात्र मुद्दाको समुच्चा तथ्य भित्र प्रवेश गरी हेर्नु पर्ने स्थिति हुन आउँछ । सो बमोजिम बक्स नभई प्रतिवादीको निवेदन मिसिल सामेल रहंदैमा मुद्दा दोहर्‍याई हेर्नु पर्छ भन्ने प्रश्न उठाउन मिल्दैन बक्स भएको हुकूम प्रमांगी बमोजिम भा.रु.२१०० को कलममा अञ्चल अदालतको इन्साफ जाँच गर्नुपर्ने स्थिति पैदा हुन आएको छ । कोशी अञ्चल अदालतले सो भा.रु.२१०० को साँवा ब्याज गरी ने.रु.६७२० भराई दिने गरेको इन्साफ मनासिव छ भन्ने ०२९।३।९।५ को डिभिजन बेञ्चको फैसला ।

      १०.    बक्स भएको हुकूम प्रमांगी बमोजिम म समेतको हकमा फुल बेञ्चबाट इन्साफ जाँची निर्णय दिनुपर्नेमा डिभिजन बेञ्चमा पठाई खड्गनारायणतर्फको भा.रु.२१०० को कलममा मात्र इन्साफ ठहर गरेकोमा चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने समेत प्रतिवादी तिर्थप्रसादको निवेदन परेकोमा प्रतिवादी खड्गनारायण, तिर्थप्रसादको निवेदनमा भएको ०२६।१०।१५।४ को हुकूम प्रमांगी बमोजिम फुल बेञ्चबाट ०२६।१।२६ को डिभिजबेञ्चको इन्साफ जाँचिनु पर्नेमा ०२८।२।२५।३ को फुल बेञ्चले अञ्चल अदालतको इन्साफ जाँच्ने कुरा भनी गलत धारणा लिई डिभिजन बेञ्चमा पठाएको र डिभिजन बेञ्चले निवेदक प्रतिवादीहरूतर्फबाट मुद्दामा विचार हुन नसक्ने गरी निर्णय गरेको उचित देखिँदैन दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी न्यायिक समितिले सिफारिश गरेको श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा नेपालको संविधानको धारा ७२(ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने ०२९।८।२३ को हुकूम प्रमांगी बक्स भएको ।

      ११.    यसबेञ्च समक्ष निवेदक तिर्थप्रसादतर्फबाट विद्वान अधिवक्ता श्री गणेशराज शर्माले मेरो पक्ष तिर्थप्रसाद समेतको निवेदनमा बक्स भएको ०२६।१०।१५।४ को हुकूम प्रमांंगी अनुसार वादी चन्द्रप्रसादको निवेदनमा पहिले बक्स भएको हुकूम प्रमांगी बमोजिम इन्साफ जाँची दिई फुल बेञ्चबाटै मेरो पक्षका हकमा समेत इन्साफ जाँची निर्णय दिनुपर्नेमा पहिले डिभिजन बेञ्चबाट फैसला भइसकेको मुद्दाको इन्साफ डिभिजन बेञ्चलेनै जाँची निर्णय दिएको मिलेको छैन मेरो पक्ष समेतका हकमा मुद्दा दोहर्‍याई हेरिनु पर्छ र एक त वादीको उजूरी निवेदनकै कुरा झुट्टा भएको र दोश्रो धेरै जना उपरका धेरै विषयको कुरामा तत्काल प्रचलित अ.बं.९८ नं. ले एउटै उजूरीबाट इन्साफ हुन नसक्ने हुँदा वादीको उजूरी खारेज हुनुपर्छ भन्ने समेत र प्रतिवादी खड्गनारायणतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले विद्वान अधिवक्ता श्री गणेशराज शर्माको बहसमा समर्थन जनाउँदै मेरो पक्ष उपरको दावीको रुपैमा तिरी बुझाई सकेको पेश भएका चिठ्ठीहरूबाट प्रष्ट भइराखेको छ । झुट्टा उजूर दावीबाट फुर्सद पाउनु पर्छ भन्ने समेत वादी चन्द्रप्रसादतर्फबाट विद्वान अधिवक्ता श्री बलराम काफ्लेले यी निवेदक तिर्थप्रसाद समेतको हकमा अघि बक्स भएको हुकूम प्रमांगीबाट इन्साफ दोहरिएकै नहुनाले निजहरूका हकमा इन्साफ दोहर्‍याई हेर्न मिल्ने स्थिति छैन बक्स भएका हु.प्र.बमोजिम ठाडै बुझी कारवाई भएको मुद्दामा धेरै जना उपरको धेरै विषयको कुरामा एउटै उजूरीबाट कारवाई हुन नसक्ने प्रश्न उठ्न पनि सक्दैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

      १२.   यसमा प्रस्तुत मुद्दा पहिले ०२६।१।२६।५ को डिभिजन बेञ्चबाट निर्णय हुँदा प्रतिवादी खड्गनारायणतर्फको भा.रु.२१०० को कलम निवेदनमा नपरेकोले सो कलमको हकमा कोशी अञ्चल अदालतले भराई दिने गरेको जति बदर हुन्छ भनी ठहर गरेपछि सो कलममा म्याद थामी नालिस लिई दिने प्रमांगी पाउँ भन्ने वादी चन्द्रप्रसादको निवेदन परेकोमा व्यहोरा साँचो हो र अदालतमा गरेको बयानमा लेखिएकोबाट कारवाई चलाई अञ्चल अदालतले फैसाला गरिसकेको रहेछ भने अघि बिन्तिपत्रमा नलेखिएको भए पनि दुबै पक्षलाई झिकाई सोही मिसिलबाट सर्वोच्च अदालतले इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने विशेष जाहेरी विभाग मार्फत ०२६।३।३।३ मा हुकूम प्रमांगी बक्स भएको र उक्त मुद्दा दोहर्‍याई पाउँ भनी प्रतिवादी खड्गनारायण, तिर्थप्रसादहरूको पनि न्यायिक समितिमा छुट्टै निवेदन परेकोमा चन्द्रप्रसादको निवेदनमा बक्स भई गएको प्रमांगी बमोजिम इन्साफ जाँचिदा दुबै पक्षको दावी जिकिरको कुरा हेरी निर्णय हुने हुँदा प्रस्तुत निवेदनबाट मुद्दा दोहर्‍याई बक्सनु पर्ने भनी बिन्ति चढाइरहनु नपर्ने उक्त निवेदन मिसिल सामेल राख्न सर्वोच्च अदालतमा पठाई दिने आदेश बक्सनु पर्ने भनी समितिले सिफारिश गरेको जाहेर हुँदा समितिको सिफारिसबमोजिम उक्त निवेदनहरू मिसिल सामेल राख्न लेखी पठाइदिनु भन्ने ०२६।१०।१५।४ मा हुकूम प्रमांगी बक्स भई उक्त निवेदनहरू मिसिल सामेल रहन आएको समेत रहेछ । तत्पश्चात् प्रस्तुत मुद्दा ०२८।२।२५।३ को फुल बेञ्चमा पेश हुँदा बक्स भएको हुकूम प्रमांगीबाट भा.रु.२१०० को कलममा कोशी अञ्चल अदालतको इन्साफ जाँची कानूनबमोजिम निर्णय दिनुपर्ने भएको र यस्तो अञ्चल अदालतको इन्साफ जाँची निर्णय दिने कुरा डिभिजन बेञ्चमै पेश हुनुपर्ने हुनाले डिभिजन बेञ्चमै पेश गर्नु भन्ने आदेश भएको र ०२९।३।९।५ को डिभिजन बेञ्चमै पेश हुँदा भा.रु.२१०० को कलममा मात्र कोशी अञ्चल अदालतको इन्साफ जाँची निर्णय दिएकोमा आपत्ति उठाई बक्स भएका ०२६।१०।१५।४ को हुकूम प्रमांगी बमोजिम म समेतको हकमा फुल बेञ्चबाटै इन्साफ जाँची निर्णय हुनुपर्नेमा डिभिजन बेञ्चबाट भा.रु.२१०० को कलममा मात्र कोशी अञ्चल अदालतको इन्साफ जाँची निर्णय दिए उपर चित्त बुझेन भनी प्रतिवादी तिर्थप्रसादले चढाएको निवेदनपत्रमा बक्स भएका हुकुमप्रमांगी बमोजिम यो मुद्दा दोहरिएकोले उक्त ०२९।३।९।५ को डिभिजन बेञ्चले भा.रु.२१०० को कलममा मात्र इन्साफ जाँची निर्णय दिएको ठिक बेठिक के रहेछ भन्नेतर्फ नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ । निवेदन प्रतिवादी तिर्थप्रसाद र खड्गनारायणका निवेदनमा बक्स भएको जुन ०२६।१०।१५।४ को हुकूम प्रमांगीको आधारमा म समेतको हकमा फुल बेञ्चबाटै इन्साफ जाँची निर्णय दिनुपर्ने भन्ने तिर्थप्रसादको निवेदन जिकिर छ, सो हुकूम प्रमांगीमा मुद्दा दोहर्‍याई दिनु भन्ने नभई निज तिर्थप्रसाद, खड्गनारायणको निवेदन मिसिल सामेल राख्न लेखी पठाई दिनु भन्नेसम्म हुकूम बक्सेको कुरा उल्लेख भएको पाइन्छ । उक्त हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिश व्यहोरामा चन्द्रप्रसादको निवेदनमा बक्स भएको हुकुमप्रमांगी बमोजिम इन्साफ जाँचिदा दुबै पक्षको दावी जिकिरका कुरा हेरी निर्णय हुने भन्ने उल्लेख भएकोले सो आधारमा निवेदक तिर्थप्रसाद, खड्गनारायण समेतको हकमा इन्साफ जाँची निर्णय दिनुपर्ने भन्ने तर्क उठाइएको हकमा चन्द्रप्रसादको निवेदनमा मुद्दा दोहर्‍याई हेरी इन्साफ जाँची दिने हुकूम प्रमांगी बक्स भएको भएमात्र सबैका हकमा मुद्दा दोहर्‍याई हेरी मुद्दाको सम्पूर्ण तथ्य भित्र प्रवेश गरी निर्णय दिनुपर्ने स्थिति उत्पन्न हुन सक्ने हो चन्द्रप्रसादको निवेदनमा बक्स भएको ०२६।३।३।३ को हुकूम प्रमांगीमा त्यसरी मुद्दा दोहर्‍याई हेरि इन्साफ जाँच गरी दिने कुरा उल्लेख भएको नभई कोशी अञ्चल अदालतले भराउने गरी राखेको प्रतिवादी खड्गनारायणतर्फको भा.रु.२१०० को कलममासम्म उजूरी निवेदनमा नपरेको भनी ०२६।१।२६।५ को डिभिजन बेञ्चले भराउनु नपर्ने ठहर गरेकोमा अदालतमा गरेको बयानमा लेखिएकोबाट कारवाई चलाई अञ्चल अदालतले फैसला गरिसकेको रहेछ भने अघि बिन्तिपत्रमा नलेखिएको भए पनि सर्वोच्च अदालतले इन्साफ जाँची दिने कुरा उल्लेख भएको त्यसबाट र सो भा.रु.२१०० को कलममासम्म कोशी अञ्चल अदालतको इन्साफ जाँची निर्णय दिनुपर्ने प्रष्ट छ । उपरोक्त न्यायिक समितिको सिफारिसमा उल्लेख भएअनुसार चन्द्रप्रसादको निवेदनमा बक्स भएको ०२६।३।३।३ को हुकूम प्रमांगीबाट प्रतिवादी तिर्थप्रसाद, खड्गनारायणहरूको निवेदन जिकिरको कुरा समेतमा दोहर्‍याई हेरि निर्णय दिनुपर्ने स्थिति उत्पन्न भएको नै देखिँदैन तसर्थ वादी चन्द्रप्रसादको निवेदन परेको जुन भा.रु.२१०० को कलममा इन्साफ जाँची दिने ०२६।३।३।३ मा हुकूम प्रमांगी बक्स भएको हो सो कलममासम्म कोशी अञ्चल अदालतको इन्साफ जाँची निर्णय दिन ०२८।२।२५।३ को फुल बेञ्चले डिभिजन बेञ्चमा पठाई तदानुसार ०२९।३।९।५ को डिभिजन बेञ्चबाट इन्साफ जाँची निर्णय दिएको उक्त बक्स भएको हुकूमप्रमांगी बमोजिम नै देखिन्छ । भा.रु.२१०० भराउने गरेको उक्त डिभिजन बेञ्चको इन्साफतर्फ हेर्दा सो भा.रु.२१०० को लिखत गरिदिएको कुरा प्रतिवादी खड्ग नारायणले स्वीकार गरेको सो रुपैयाँ तिरी बुझाई सकेको कानूनबमोजिमको लिखत सबूद दिनसकेको नदेखिएकोले सो भा.रु.२१०० को साँवा ब्याज भराई दिने गरेको कोशी अञ्चल अदालतको सदर गरी ०२९।३।९।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्‍याएमा अरू सजाय लाग्दैन नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह,

न्या. इश्वरीराज मिश्र

 

इति सम्वत् २०३१ साल माघ १ गते रोज ३ शुभम् ।