August 27, 1974
Created by nepalarchives

निर्णय नं. ८८१ – लिखत पास

निर्णय नं. ८८१            ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत्...

निर्णय नं. ८८१            ने.का.प. २०३२

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२९ सालको दे.फु.नं. १६०

फैसला भएको मिति :      २०३१।५।११।३

निवेदक : का.जि. साँखु सालखा टोल बस्ने रत्नदेवी श्रेष्ठनी

विरुद्ध

विपक्षी : का.जि. मखन टोल बस्ने रामशंकरलाल श्रेष्ठ

मुद्दा : लिखत पास

(१)   कागज जाँचको नं.५ : कानूनको रीत नपुगेको लिखत रजिष्ट्रेशन पारित हुन्छ भन्न नमिल्ने ।

 (प्रकरण नं. १६)

फैसला

     प्र.न्या. रत्नबहदुर बिष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकूम प्रमाङ्गी बक्स भई मुद्दा दोहरिई यस बेञ्चसमक्ष पेश हुन आएको छ ।

      २.    मुद्दाको विवरण यसप्रकार छ : हेरचाह गरेको ऋण वापत प्रतिवादीले का.ई.मखन टोलका ब्लक नं.८।९९ को घर हालै देखि पाउने बकसपत्र ०१८।८।१४ मा लेखि दएको लिखत पास गराई पाउँ भन्ने वादी रामशंकरलालको फिराद ।

      ३.    वादी दावीको घर वादीको आमालाई लेखिदिएको पास हुन नपाउँदै परलोक भएकोले ०१८।८।१४ मा वादीलाई लेखि दएको बाबु जगतबहादुरले ०१५।६।१७ मा गरिदिनुभएको बण्डापत्रमा अंशियारहरूले पनि मञ्जुर गरेकोले पास गरी दिन मन्जुर छु भन्ने समेत प्र.जगतबहादुर मरी सकार गर्ने तेजबहदुरको वा.श्यामबहादुरको प्रतिवादी ।

      ४.    तेजबहादुर नाउँमा अंश मुद्दा दिएको छु पास गरिपाउँ भन्ने लिखतका घर जिजु बाजेको सम्पत्तिबाट खरिद गरेको हुनाले पास गरी दिन मन्जुर छैन भन्ने समेत प्र.जगतबहादुर मरी सकार गर्ने बुहारी रत्नदेवी श्रेष्ठनीको प्रतिवादी ।

      ५.    वादीबाट पेश भएको ०१४।९।१९ को ०१८।८।१४ को लिखत ससुरा आँखा नदेख्ने कान नसुन्नेलाई झुक्याई जालसाज गरेका हुन भन्ने समेत प्रतिवादीको वा.राधाकृष्णबहादुरको बयान ।

      ६.    झुक्याई जालसाजी खडा गरे गराएको होइन लिखत सद्दे साँचो हो जालसाज गरे भन्ने दावी झुट्टा हो भन्ने समेत वादी रामशंकरलालको बयान ।

      ७.    वादीले पेश गरेको ०१८।८।१४ को लिखत मैले लेखिदिएको हुँ सद्दे लिखत हो भन्ने समेत हरिहर प्रधानको वा.हर्षलालको बयान ।

      ८.    जगतबहादुर आँखा नदेख्ने र कान नसुन्ने समेत होइन हिंड्डुल गर्न सक्ने देख्ने सुन्ने मानिस हो जगतबहादुरले राजिखुशीसाथ रामशंकरलाई लिखत गरिदिएको हो । मैले पनि रोहवरमा साक्षी बसी सहीछाप गरीदिएको हुँ भन्ने समेत श्रीभक्तको वा.शम्भुलालको बयान ।

      ९.    जगतबहादुर कान नसुन्ने आँखा नदेख्ने समेत होइन लिखतमा लेखिएको घर पिता पुर्खाको आर्जन नभई दाता जगतबहादुरको आफ्नै आर्जनको घर हो । ०१८।८।१४ को लिखत जगतबहादुरले साक्षीको रोहवरमा रामशंकरलाललाई खुशीले दिएको हो । म पनि साक्षी बसी सही गरेको हो । झुक्याएको होइन भन्ने समेत तेजबहादुरको वा.श्यामबहादुरको बयान ।

      १०.    सहीछाप होइन भन्न नसकेको जालसाज गरेको सबूत नआएको सहीछाप बुझिन्छ भनी विशेषज्ञले प्रमाणित गरेको जगतबहादुर आफैले खरिद गरेको घर आफ्नो खुसि गर्न पाउने देखिएको हुनाले झुक्याई गरेको जालसाजी हो भन्ने रत्नदेवीको जिकिर पुग्न सक्तैन लिखत पास हुने ठहर्छ भन्ने समेत का.जि.अ.को फैसला ।

      ११.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.रत्नदेवीको पुनरावेदन ।

      १२.   सहीछाप कीर्ते हो भन्न नसकी झुक्याई जालसाज गरेको भन्ने बयान गरेको झुक्याई जालसाजी गरेको सबूत नआएको शिरको सहीछाप बुझिने (लुप) हो भन्ने विशेषज्ञले राय व्यक्त गरेको दाताले आफू खुशी गर्न पाउने ऐनमा व्यवस्था भएकोले झुक्याई जालसाज गरेको नहुँदा लिखत पास हुने गरी दिने ठहराएको इन्साफ सुरुको मनासिव ठहर्छ भन्ने बागमती अञ्चल अदालतको फैसला ।

      १३.   सो इन्साफमा चित्त बुझेन भन्ने रत्नदेवीको पुनरावेदन परेकोमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय हुँदा मखनटोलको घर जगतबहादुरले नै किनेको भन्ने कुरामा अंश मुद्दामा पुनरावेदकले नै फिराद पत्रमा लेखेकोले लिखत गरी दिने दाताको आर्जन हो भन्ने कुरामा विवाद भएन झुक्याएको जालसाज गरेको भन्ने कुरामा सबूत नआएको अंश मुद्दाबाट आफूखुशी गर्न पाउने ठहरी आजै यस बेञ्चबाट फैसला भएकोले लिखत पास हुने ठहराएको इन्साफ सुरु र अञ्चल अदालतको मनासिव छ भन्ने ०२८।४।२७ मा डिभिजन बेञ्चबाट फैसला भएको रहेछ ।

      १४.   प्रस्तुत मुद्दा दोहर्‍याई पाउँ भनी रत्नदेवीले चढाएको निवेदनपत्रमा दोहर्‍याई दिने बारे बक्स भई आएको कुहुम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिस व्यहोरामा ०१८।८।१४।४ मा गरिदिएको भनेको बकसपत्र कागजमा लागेको ल्याप्चे र ०१४।९।१९।५ मा जगतबहादुरले रम्वादेवीलाई गरीदिएको भनेको बकसपत्र कागजमा लागेको ल्याप्चेसँग रेखा विशेषज्ञद्वारा जाँच गराउँदा ०१८।८।१४।४ को कागजमा लागेको शिरको बायाँ ल्याप्चे जान बुझिन्छ लुप हो अरू ल्याप्चे बुझिदैन । ०१४।९।१९ को कागजको शिरमा लागेको दायाँ ल्याप्चे बुझिन्छ, अरू बुझिंदैन भनी ०२०।१२।५।५ मा रेखा विशेषज्ञले प्रतिवेदन दिएको देखिन्छ । सो प्रतिवेदनको लेखाईबाट ०१४।९।१९ को बायाँ ल्याप्चे नबुझिने भन्ने भएपछि १८।८।१४।४ को कागजको शिरको बायाँ ल्याप्चे कुन ल्याप्चेसँग मिल्ने भिड्ने बुझिने हो सो कुरा प्रतिवेदनबाट खुल्न आउँदैन भने शिरको बायाँ ल्याप्चे जात बुझिन्छ लुप हो भनी जातको मात्र संज्ञा दिएको ल्याप्चेलाई शिरको बायाँ ल्याप्चे बुझिन्छ । अप्रमाणिक नभएको भनी अञ्चल अदालतले ठहर गरेको इन्साफ सर्वोच्च अदालतले सदर गरेको देखियो । उक्त रेखा विशेषज्ञले भिडाएको कागजमा ल्याप्चे सहीछाप मिल्छ भिड्छ भनी प्रतिवेदन दिएको नदेखिएतर्फ डिभिजन बेञ्चको ध्यान गएको देखिँदैन । अंश मुद्दा दोहरिने भएको यो मुद्दा उक्त मुद्दासँग सम्बन्धित भएको कारण समेतबाट यो मुद्दा पनि दोहर्‍याउन पर्ने देखिन्छ भन्ने समेत उल्लेख भएको ।

      १५.   यसमा वादी रामशंकरले पारित गरिपाउँ भनेको जगतबहादुरले ०१८ साल मार्ग १४ गते गरिदिएको बकसपत्र लिखत रजिष्ट्रेशन पारित हुने वा नहुने के हो भन्ने कुराको नै निर्णय दिनुपर्ने हुन आएको छ ।

      १६.    सो लिखत विशेषज्ञबाट जाँच गराएको र विशेषज्ञले ०१८।८।१४।४ को जगतबहादुरले रामशंकरलाई गरिदिएको बकसपत्र कागजमा लागेको शिरको बायाँ ल्याप्चे जान बुझिन्छ । लुप हो अरू ल्याप्चे बुझिदैनभन्ने राय लेखी प्रतिवेदन दिएको देखिएकोले कागज जाँचको ५ नं.बमोजिम रीत पुगेको लिखत देखिन आएन । त्यस्तो ऐनको रीत नपुगेको लिखत रजिष्ट्रेशन पारित गर्न हुन्छ भन्न नमिल्ने हुनाले सो बकसपत्र पारित गरिपाउँ भन्ने वादी दावा पुग्न नसक्ने ठहर्छ । सो बकसपत्र पारित गर्ने ठहराएको ०२८।४।२७ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन तपसीलको कलममा तपसीलमा बमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ उल्टी भएकोले देहायका कलममा देहायबमोजिम गर्नु भनी का.जि.अ.त.मा कानूनबमोजिम लगत दिने ………………….१

वादी रामशंकरलाल श्रेष्ठ के निजले सुरुमा रु.५। कोर्टफी राखेको फिर्ता नपाउने हुँदा अरू केही गर्नु परेन

प्र.रत्नदेवी श्रेष्ठ, तेजबहादुर श्रेष्ठबाट वादी रामशंकरलाल श्रेष्ठलाई कोर्टफी रु.५। भराई दिने गरी का.जि.अ.बाट ०२२।१।२० मा गरेको फैसला बमोजिम हाल भराई दिनु नपर्ने भएकोले सो लगत कटी दिने…..२

प्र.रत्नदेवी श्रेष्ठके देहायको कलममा देहायबमोजिम गर्ने ………………….३

बकसपत्र जालसाजी भने वापतमा सुरु का.जि.अ.को ०२२।१।२० को फैसलाले लाग्ने गरेको दण्ड रु.५। र वा.अं.अ.मा पुनरावेदन गरेकोमा लाग्ने दण्ड रु.।७५ समेत ५।७५, ०२२।३।३० गते का.श्रे.अ.त.मा दाखिल गरेको देखिएको र हाल सो खण्ड नलाग्ने भएकोले कानूनको रीत पुर्‍याई फिर्ता दिने १

शुरु उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ३८ र स.अ.मा पुनरावेदन गर्दा ०२७।२।३२।१ मा राखेको कोर्टफी रु..१।५० मुद्दा दोहर्‍याए बापत स.अ.मा ०२८।१२।२७ मा राखेको कोर्टफी रु.१। समेत जम्मा रु.२।८८ कोर्टफी वादी रामशंकरलालबाट भरी पाउने हुँदा भरी पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ (११) अनुसार ३ वर्ष भित्र दर्खास्त परे कानूनको पुर्‍याई भराई दिने २

शुरु का.जि.अ.को ०२२।१।२० को फैसलाले वादी दावीको बकसपत्र पास गरिदिनु भनी रजिष्ट्रेशनलाई पुर्जि गरी पठाई दिने गरेको हाल सो बमोजिम गर्न परेन ……………………४

 

हामीहरूको सहमती छ ।

 

न्या. वासुदेव शर्मा

न्या. झपटसिंहह रावल

 

 

इति सम्वत् २०३१ साल भाद्र ११ गते रोज ३ शुभम् ।