निर्णय नं. १००६ – उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी
निर्णय नं. १००६ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको रिट नं. १२२५ आदेश भएको...
निर्णय नं. १००६ ने.का.प. २०३३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् २०३१ सालको रिट नं. १२२५
आदेश भएको मिति : ०३३।८।२१।२ मा
निवेदक : जिल्ला रूपन्देही बुटवल खस्यौली न.पं. वाडं नं. ८ अन्तर्गत अमरपथ बस्ने भद्रबहादुर कुँवर क्षेत्री
बिरुद्ध
विपक्षी : बुटवल खस्यौली नगर पञ्चायतसमेत
विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरिपाऊँ
(१) कसैबाट अनाधिकार आदेश निर्णय हुन्छ भने त्यस्तो आदेश निर्णय कानूनको दृष्टिमासमेत अमान्य हुने हुँदा त्यस्तो निर्णय बदर गराइरहनु पर्ने आवश्यकता नदेखिने ।
(प्र.नं. १०)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल, विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
उल्लिखित मुद्दा : रि.नं. १४२२
आदेश
न्या. झपटसिंह रावल
१. विपक्षीहरूबाट भएको ०३१।३।१२ को सस्पेण्ड राख्ने आदि काम कारवाही बदर गरिपाऊँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न गएको छ ।
२. तथ्य यस प्रकार छ : बुटवल खस्यौली नगर पञ्चायत कार्यालयका प्रधान अधिकृतले ०३१।३।१२ मा कारवाहीको निमित्त सस्पेण्ड राख्ने भन्ने विषयमा ना.सु. भद्रबहादुर कुँवरलाई लेखेको सूचना पत्रमा “बुटवल खस्यौली बजार वार्ड नं. ६ बस्ने भविसरा मगर्नीको निर्णय बमोजिम जग्गाको मोल नलिई नक्सा बुझाइदिनु भएको र तपाईं जिम्मेदार पदमा रहेर पनि बोर्डको निर्णयलाई ध्यानमा नराखी जग्गा व्यवस्था समितिले तोकेको दस्तुर नलिई सम्बन्धित व्यक्तिलाई नक्सा बुझाइदिई न.प. बोर्डको अपहेलना र न.पं. लाई हानी–नोक्सानी पुर्याएको र आषाढ ७ गते हाजिरी फाराम किर्ते दस्तखत गरी ना.सु. जस्तो एक जिम्मेदार पदका व्यक्तिले गैरकानूनी कार्य गर्ने निजलाई तत्काल सस्पेण्ड राखी न.पं. बोर्डमा अनुमोदनका लागि पेस गर्न आदेश भएकाले सस्पेण्ड आजैदेखि राखिएको व्यहोरा सूचना गरेको छु” भन्नेसमेत उल्लेख गरेको रहेछ ।
३. उक्त सस्पेण्ड राख्ने काम कारवाही बदर गरिपाऊँ भनी यस रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यस प्रकार छन् ।
४. हाजिरी फाराममा किर्ते दस्तखत गरेको भन्ने आरोप लगाउने र सो गरेको होइन भन्ने जवाफ लिएपछि किर्ते गरेकै हो भनी वार्ड नं. ५ को सदस्यसमेत बुझी ठहर गर्ने अधिकार प्र.पं. र नगर पञ्चायतलाई छैन, जिल्लाअदालतलाई मात्र छ । यसरी जिल्लाअदालतलाई भएको अधिकारमा अतिक्रमण गरी किर्तेमा ठहर गरी सोको आधारमा सस्पेण्ड गर्ने निर्णय गरेको अ.बं. ३५ नं. ले कानूनी प्रभावविहीन छ । नगरपञ्चायत ऐन, २०१९ को दफा ३३ को (२) अनुसार खरिदारभन्दा माथिल्ला पदका कर्मचारीउपर सस्पेण्डमा राख्ने कारवाही सुरुआत गर्ने अधिकार नगरपञ्चायतलाई मात्र छ, प्र.पं. नगरपञ्चायत होइन र सस्पेण्ड गर्ने गरिएको प्र.पं. को निर्णय अधिकारविहीन छ । सुरुको अधिकारविहीन कार्यलाई पछिको अनुमोदनले अधिकारयुक्त वा कानूनी पार्न सक्तैन । यस्तो कुरामा न.पं. को अनुमोदन गराएर पुग्ने भन्ने व्यवस्था कुनै कानूनमा छैन । भविसरा मगर्नीबाट दस्तुर नलिई नक्सा दिएको भन्ने आरोपको विषयमा खण्डन गर्ने मौका नै नदिई भविसराले दस्तुर बुझाएको देखिने प्रत्यक्ष कागजी प्रमाण नबुझी प्राकृतिक न्याय सिद्धान्तले दिएको सुविधाबाट बन्चित गरिएको छ ।
५. विपक्षी बुटवल खस्यौली नगरपञ्चायत र उक्त पञ्चायतका तत्कालिन प्रधानपञ्च सूर्यलाल प्रधानको लिखित जवाफमा जुन पदमा रिट आवेदक ना.सु. रहिआउनु भएको छ सो पद नै खारेज भएपछि सो पदमा रही पाउने हक रहिरहन्न र उक्त पदमा रहन दिनू भन्ने आदेश कार्यान्वयन हुन सक्तैन । हरेक निकायमा कर्मचारीले किर्तेसमेत गरेको सम्बन्धमा निलम्बन लगायत विभागीय कारवाही गर्ने पूर्व जिल्लाअदातलमा नालेस गर्नुपर्छ भन्ने भनाई बेकानूनी र असंगत हुन्छ । निलम्बमा प्राकृतिक न्यायसिद्धान्तका विषयहरू प्रयोग र अवलम्बन गर्नुपर्छ भन्ने कुनै निर्णय यस कारण र आधार छैन । रिट निवेदन खोरज हुनुपर्दछ भन्नेसमेत उल्लेख गरेको रहेछ ।
६. विपक्षी प्रेमबहादुर खत्रीको लिखित जवाफमा न.पं. ऐन, २०१९ को दफा ३२ ले न.पं. बोर्डका निर्णय कार्यान्वयन गर्ने कार्यक्षेत्र प्रधानअधिकृतलाई भएकाले निजलाई सस्पेण्ड गर्ने बोर्डको सहमति लिई प्रधानपञ्चले सस्पेण्ड राख्नु भएको र सो राखेको न.पं. बोर्डले समर्थन गरी निर्णय भएकाले मेरो नाउँमा रिट जारी हुन नपर्ने भन्नेसमेत उल्लेख गरेको रहेछ ।
७. निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले मेरो पक्षले हाजिर फाराममा किर्ते दस्तखत गरेको भनी ठहर गर्ने अधिकार प्रधानपञ्च र नगर पञ्चायतलाई छैन र सस्पेण्ड गर्ने गरेको प्रधानपञ्चको निर्णय पनि अधिकारविहिन छ । दस्तुर नबुझाई नक्सा दिएको भन्ने आरोपको विषयमा खण्डन गर्ने मौकासमेत दिएको छैन भन्नेसमेत बहस प्रस्तुत गर्नु भएको छ ।
८. अञ्चलाधीश कार्यालयतर्फका विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले ०३१।५।१९ गते दरबन्दीकै लागि नगरपञ्चायतबाट अञ्चलाधीशकहाँ लेखिआएको र ०३१।८।२७ गते दरबन्दी स्वीकृत गरिदिएको अञ्चलाधीशले गरेको कार्य कानूनअनुकूल छ भन्नेसमेत र नगर पञ्चायततर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले निवेदकको पद नै खारेज भई अञ्चलाधीश कार्यालयबाट स्वीकृति भइसकेको छ, पद नै खारेज भएपछि निवेदकलाई सस्पेण्ड राखेको कानूनी छ वा छैन भन्ने रिट निवेदनमा विचार गर्न निस्प्रयोजन हुन्छ, रिट निवेदन खारेज हुनुपर्दछ भन्नेसमेत बहस प्रस्तुत भएको छ ।
९. निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१०. यसमा निवेदक ना.सु. पदको कर्मचारीलाई नियुक्ती गर्ने अधिकार नगरपञ्चायत ऐन, ०१९ को दफा ३३ को उपदफा २ अनुसार नगरपञ्चायतलाई भएकोमा सस्पेण्ड गर्दा पनि नगरपञ्चायतले गर्नुपर्नेमा प्रधानपञ्चले सस्पेण्ड गरेको अनाधिकार हुँदा बदर गरी पाऊँ भन्ने निवेदकको माग र निवेदकतर्फको विद्वान वरिष्ठ अधिवक्ताले पनि सोलाई पुष्टि गर्दै अनाधिकार निर्णय प्रभावहीन हुँदा बदर होस् भनी बहस गर्नुभयो । विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ताले निवेदकको पद नगरपञ्चायतको नयाँ दरबन्दी हुँदा खारेज भएको हुनाले पदाधिकारसम्बन्धी निवेदकलाई हक प्रचलन गराउन पर्ने अवस्था छैन । रिट जारी हुनु निस्प्रयोजन हुन्छ भनी बहस गर्नुभयो । निवेदकको पद नगरपञ्चायतको दरबन्दी हुँदा खारेज भएतर्फ पनि निवेदकको रिट नं. १४२२ को रिट निवेदन परेकोमा रिट आदेश जारी गर्न नमिल्ने भई आजै रिट निवेदन खारेज गर्ने ठहर निर्णय भएको छ । निवदेकलाई सस्पेण्ड राख्ने आदेश दिन प्रधानपञ्चलाई कानूनी अधिकार भएको भन्ने विपक्षी तर्फबाट पुष्टि हुन नसकेको र तत्सम्बन्धित उपनियम पनि तत्काल बनिसकेको भन्ने देखिन आउँदैन कसैबाट अनाधिकार आदेश निर्णय हुन्छ भने त्यस्तो आदेश निर्णय कानूनको दृष्टिमा समेत अमान्य हुनेहुँदा त्यस्तो निर्णय बदर गराई रहनुपर्ने आवश्यकता देखिँदैन । तसर्थ निवेदकको मागबमोजमको आदेश जारी गर्नु नपर्ने हुँदा निवेदकको रिट निवेदन खारेज हुने ठहर्छ मिसिल नियमबमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३३ साल मार्ग २१ गते रोज २ शुभम् ।