December 22, 1976
Created by nepalarchives

निर्णय नं. ९९९ – जालसाजी

निर्णय नं. ९९९     ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् ०३२ सालको फौज्दारी पुनरावेदन नम्बर १२३...

निर्णय नं. ९९९     ने.का.प. २०३३

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् ०३२ सालको फौज्दारी पुनरावेदन नम्बर १२३

फैसला भएको मिति : २०३३।९।८।४

वादी :   जि. झापा ज्यामिरगढी गा.पं. वार्ड नं. ९ बस्ने हरिनारायण उपाध्याय

विरूद्ध

प्रतिवादी :    ऐ ऐ. वडा नं. ८ बस्ने टिकाराम प्रसाईं समेत

मुद्दा : जालसाजी

(१) वादीको हक मेटिने गरी प्रतिवादीले जानाजान आफ्नो गठ मतबाट मिलोमतो गरी राजीनामा गरिदिएको जुन जग्गा हो सोही जग्गा प्र. मध्येलाई रू.२९,०००।को लिखत खडा गरी गराई राजीनामा गरिदिएको भन्ने कुरा देखिन आएकोले सो टिकाराम प्रसाईंलाई कमला राजवंशीले गरिदिएको राजीनामा लिखत तत्काल प्रचलित मुलुकी ऐन कीर्ते कागजको नं. ३ ले जालसाजी ठहर्ने ।

(प्र.नं. ११)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

प्रतिवादी तर्फबाट  : विद्वान अधिवक्ता श्री लवदेव भट्ट

उल्लिखित मुद्दा : वादी हरिनारायण उपाध्यायको लिखत पारित हुने ठहरेको दे.फु.नं. ५८

फैसला

    न्या. वासुदेव शर्मा

    १.   जालसाज गरे भन्ने फिराद दावी नपुग्ने ठहराई शुरू झापा जिल्ला अदालतबाट भएको इन्साफलाई सदर ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर वादीको निवेदन परी पुनरावेदनको अनुमति भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकारको छ ।

    २.  विपक्षी कमला राजवंशीबाट २८।५।३ मा मैले रू.३३८९४ मा निजका नाउँको जग्गा बिगाहा १३१११५ राजीनामा गराई निजका पति उपेन्द्र राजवंशी समेत साक्षी बसी गरिदिएको कागज पास गरी नदिँदा पास गराई पाउँ भनी फिराद दायर गरेकोमा प्र. कमला राजवंशी आसामी र टीकाराम प्रसाईं साहु भई ०२८।५।२ मा भित्रभित्रै मेरो हक मेट्न मलाई लिखत गरिदिएको जग्गा जालसाजबाट अघिकै मिति पारी दोहरा लिखत गर्ने गराउने गरी फिराद दिने समेत गर्ने गरेछन् । नभएका झुठ्ठा कुरा भए गरेको भनी कागज लेखी सहीछाप गरिदिने लिने जालसाजी समेत ठहर्ने हुँदा जालसाँजबाट दोहरा लिखत समेत गरेमा कीर्ते कागजका १८ नं. र लेनदेन व्यवहारका २७ नं. अनुसार आएको छु । कीर्ते कागजका १० नं. ले सजाय समेत गरिपाउँ भन्नेसमेत ०२९।१२।७।३ को फिराद ।

    ३.  वादीलाई मैले जग्गा राजीनामा गरी दिएको छैन होइन । वादीले म कमला उपर दायर गरेको लिखत पास मुद्दामा के कसरी लिखत गराउनुभएछ भनी मैले चढाएको प्रत्युत्तरमा दर्शाएकै छु, भन्नेसमेत कमला र वादीले साथै लिखत गरिलिएको भए जग्गाका सबै कागज निजसंगा हुनुपर्ने, मेरो लिखत सत्य साँचो हो भन्नेसमेत टिकाराम प्रसाईं र वादी दावा बमोजिम मैले जालसाज गरेको होइन, टीकारामले कमलादेवीलाई नगद रू.२९०००।गनी दिई राजीनामा गराई लिएका हुन् । वादी दावा झुठ्ठा हो भन्नेसमेत मुनिलाल र वादीसँग ०२८।२।१३ मा धान मन १ कर्जा लिएको ०२८।५।३ मा नगद रू.३००।कर्जा लिई सो धान समेत मिसाई ०२८।५।३ मा मेरो पत्नी कमलादेवीका नाउँको ज्यामिरगढी जग्गामध्ये दक्षिणतर्फबाट ०१८० जग्गा दृष्टिबन्धक लेखी राखेको छु । सही गर भनेबाट विश्वास परी म र मेरो पत्नी कमलाले सहीछाप गरिदिएको हो । त्यही कागज झुक्याई राजीनामा गराएको रहेछ । सो राजीनामा गरिदिएको नभई सोभन्दा अगाडि नै टीकाराम प्रसाईंलाई सो जग्गा राजीनामा गरेको हुँ । वादी दावा झूठो हो भन्नेसमेत उपेन्द्र राजवंशी समेत जना ४ को संयुक्त प्रतिवादी ।

    ४.  धनेन्द्रभद्र राजवंशीले ०३०।१।१३ मा तामेल भएको समाहृवानको म्याद गुजारी बसेको र प्रतिवादीहरूले जालसाजी गरेकै हुन् भन्ने वादीतर्फ कुनै तथ्य सबूद प्राप्त हुन नआएको समेत प्रमाण परिबन्दबाट प्र. टिकारामले प्र. कमला राजवंशीबाट ०२८।५।२ मै राजीनामा गरी लिएको प्रमाणित हुन आएकोले जालसाज गरे भन्ने फिराद दावी पुग्न सक्तैन । दावी झुठ्ठा ठहर्छ भनी वादीलाई दण्ड सजायका १८ नं. ले बिगोको आधी रू.३६२५।जरिवाना गर्ने ठहराई मिति ०३०।६।२।३ मा झापा जिल्ला अदालतबाट भएको फैसला रहेछ ।

    ५.  सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन परेकोमा ।

    ६.  कमलाले टिकारामलाई गरिदिएको राजीनामा पास हुने ठहर अन्तिम भएको छ । त्यसतर्फ फिरादीको उजूर छैन । टिकाराम कमला मिली जालसाजी लिखत खडा गरेको भन्ने तथ्य आधार फिरादीले गुजार्न नसकेको र यही जग्गाको हरिनारायणको लिखत पास हुन सक्तैन भनी शुरूले छिनेको सदर ठहरी यस बेञ्चबाट आजै निर्णय भएकोले पास मुद्दाका फैसलामा लेखिएका बुँदा प्रमाणबाट जालसाजी भन्ने हरिनारायणको दावा पुग्न नसक्ने ठहराएको इन्साफ झापा जिल्ला अदालतको मनासिव छ भन्नेसमेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३१।१२।३१।१ को फैसला ।

    ७.  उक्त इन्साफमा चित्त बुझेन, मैले पास गराई पाउँ भनेपछि विपक्षीहरूले जालसाजीबाट खडा गरेको लिखत पछिको दावीलाई पास हुने ठहराई जालसाज ठहर्दैन भनी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्ष गम्भीर कानूनी त्रुटि गरिएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्नेसमेत वादीको निवेदन परेकोमा यी निवेदक हरिनारायण उपाध्याय वि.कमला राजवंशी नि.नं. ४७८ लिखत पास मुद्दामा आजै यस बेञ्चबाट पुनरावेदनको अनुमति दिइएको र यो जालसाजसम्बन्धी मुद्दा उक्त लिखत पास मुद्दासँग सम्बन्धी भएको देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा ५ को खण्ड ख अनुसार पुनरावेदन गर्ने अनुमति दिएको छ, कानूनबमोजिम गरी पेश गर्नु भन्ने ०३२।१०।१३।३ को डिभिजन बेञ्चको आदेश ।

    ८.  तारेखमा रहेका पुनरावेदक वादी हरिनारायण उपाध्यायको वारेस गुरूप्रसाद सिटौला र विपक्षी कमला देवी राजवंशीनी समेतको वारेस ओमकार मान श्रेष्ठलाई मिति ०३२।७।१२ गतेका दिन रोहवरमा राखी पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको र विपक्षी कमलादेवी राजवंशी समेततर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्टको बहस समेत सुनी आज निर्र्णय सुनाउने तोकिएको प्रस्तुत मुद्दामा शुरूको सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव या गल्ती के हो ? निर्णय दिनु परेको छ ।

    ९.  विपक्षी मध्येकी कमला राजवंशीले मलाइ रू.३३८९४। मा २०२८।५।३ मा निजका नाउँको जग्गा बिगाहा १३१११५ राजीनामा लिखत गरिदिएको लिखत पास गरी नदिएबाट पास गराई पाउँ भनी मैले फिराद दायर गरेकोमा टिकाराम प्रसाईं साहु, कमला राजवंशी आसामी भई ०२८।५।२ मा भित्रभित्रै मिलेमतो गरी मेरो हक मेट्न मलाई गरिदिएको लिखितकै जग्गा जालसाजबाट अघिकै मिति पारी जालसाजबाट लिखत गर्ने गराउने फिराद गर्ने समेत गरेछन् । जालसाजबाट गरेको लिखत हुँदा सजाय गरिपाउँ भन्ने मुख्य वादीको दावा भएको देखिन्छ ।

    १०.  त्यसतर्फ के रहेछ भनी विचार गरी हेर्दा यिनै वादी हरिनारायण साहु र प्रतिवादी कमला राजवंशी आसामी भई रू.३३८९४। को लेनदेन गरी कमला राजवंशीले हरिनारायणलाई गरिदिएको राजीनामा पास गरी नदिएबाट पास गराई पाउँ भनी हरिनारायण वादी भई मिति ०२८।११।२४ मा शुरू झापा जिल्ला अदालतमा नालिस दायर गरेको र वादी हरिनारायणलाई राजीनामा गरी दिएकै जग्गा प्रतिवादी मध्येका टिकाराम प्रसाईं धनी र कमला राजवंशी ऋणी भई रू.२९०००। को राजीनामा ०२८।५।२ मा भएको भन्ने कुरा उल्लेख गर्दै प्र. टिकाराम प्रसाईंको पास गराई पाउँ भन्ने फिराद दायर भई उक्त टिकारामको राजीनामा पारित हुने ठहराई ०३१।१२।३१ मा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट समेत फैसला भएको प्राप्त प्रमाण मिसिलबाट देखियो ।

    ११. उपरोक्त वादी हरिनारायण उपाध्याय प्रतिवादी कमला राजवंशी भएको ०२८।५।३ को लिखत पारित गरिपाउँ भन्ने मुद्दामा वादी हरिनारायणले पुनरावेदनको अनुमति पाई सो मुद्दा आजै यस बेञ्चसमक्ष पेश हुन आएकोमा वादी हरिनारायण उपाध्यायको लिखत पारित हुने ठहरी दे.पु.नं. ५८ को मुद्दामा निर्णय भएको छ । यसमा वादी हरिनारायणको हक मेटिने गरी प्रतिवादी कमला राजवंशीले जानाजान आफ्नो गठ मतबाट मिलेमतो गरी हरिनारायण उपाध्यायलाई राजीनामा गरिदिएको जुन जग्गा हो, सोही जग्गा प्र.मध्येको टिकाराम प्रसाईंलाई रू.२९,०००।को लिखत खडा गरी गराई राजीनामा गरिदिएको भन्ने कुरा देखिन आएकोले सो टिकाराम प्रसाईंलाई कमला राजवंशीले गरिदिएको राजीनामा लिखत तत्काल प्रचलित मुलुकी ऐन किर्ते कागजको ३ नं. ले जालसाजी ठहर्छ । शुरू तथा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट वादी दावा झुठ्ठा ठहराई गल्ती इन्साफ गरेको देखिँदा तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाइदिनु ।

 

तपसील

वादी हरिनारायण उपाध्यायको माथि इन्साफ खण्डमा लेखिए बमोजिम टीकाराम प्रसाईंको लिखत जालसाज ठहरेकोले शुरू झापा जिल्ला अदालतका ०३०।६।२ का फैसलाले र पूर्वाञ्चल क्षेत्रीय अदालतका ०३१।१२।३०।१ का फैसलाले गर्ने गरेको देहाय बमोजिमको जरिवाना लाग्दैन । व्यहोरा जनाई उक्त दुवै तहका फैसला बमोजिमको लगत कट्टा गर्नु भनी शुरू झापा जिल्ला अदालतलाई पत्र लेखी पठाउन का.जि.अ.त. मा लगत दिने …………………१

शुरूबाट गर्ने गरेको जरीवाना रू.३६२५।र क्षेत्रीय अदालतबाट गर्ने गरेको जरीवाना रू.३६२।५० को कलम १

ज्यामिरगढी गा.पं. वडा नं. ९ बस्ने लोकबहादुर दर्जीके झुठ्ठा बक्ने भनी अ.बं. ११५ नं. बमोजिम शुरूले गर्ने गरेको रू. ५।जरिवाना लाग्दैन । असूल भए फिर्ता र नभए व्यहोरा जनाई सो लगत कट्टा गरि दिनु भनी ऐ. ऐ ………….२

वादी हरिनारायण उपाध्यायके निजले शुरू उपर पुनरावेदन गर्दा शुरूबाट गर्ने गरेको जरिवाना रू.३६२५। को जमानत रामप्रसाद दुलालको जग्गा राख्न निजको कागज गराई कारवाही भएको र पुनरावेदन पूर्वाञ्चल क्षेत्रीय अदालतमा गई कारवाही किनारा भएको हुँदा सो रामप्रसाद दुलालको जग्गा जमानतमा रही रोक्का भएको भए फुकुवा गरी दिनु भनी पूर्वाञ्चल क्षेत्रीय अदालतलाई पत्र लेखी पठाउने ……………….३

वादी हरिनारायण उपाध्यायको सर्वोच्च अदालतमा पुनरावेदन गर्दा क्षेत्रीय अदालतबाट गर्ने गरेको जरिवाना रू.३६२।५० मिति ०३२।२।३० मा बुझाएको देखिँदा सो जरिवाना नलाग्ने हुँदा अड्डैको आम्दानीबाट फिर्ता दिनु भनी शुरू झापा जिल्ला अदालतलाई पत्र लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु …………………४

प्रतिवादी देहायका मानिसको माथि इन्साफ खण्डमा लेखिएबमोजिम रू.२९०००।को लिखत जालसाजबाट खडा गरेको ठहरेकोले किर्ते कागजका १० नं. ले सयकडा २५ ले रू.७२।५० जरिवाना हुन्छ । वारेस भई रूजु नहुँदा कानूनबमोजिम असूल गर्नु भनी ऐ. ऐ ………………..५

प्रतिवादी टिकाराम प्रसाईंके तीन हजार छ सय पच्चीस रूपैयाँ ३६२५।–, प्रतिवादी कमला राजवंशीके तीन हजार छ सय पच्चीस रूपैयाँ ३६२५।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३३ साल पौष ८ गते रोज ४ शुभम् ।