निर्णय नं. ९७५ – जग्गा दाखिल दर्ता
निर्णय नं. ९७५ ने.का.प. २०३३ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२७...
निर्णय नं. ९७५ ने.का.प. २०३३
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२७ सालको दे.फु.नं. १०३
फैसला भएको मिति : २०३३।३।३२।५
निवेदक : जि. मोरङ दुलारी गाउँ बस्ने ननिलाल चौधरी थारू
विरुद्ध
निवेदक प्रतिवादी : जि. सुनसरी धरान न.पं. वडा नं. ४ जुद्धनगर धरान बस्ने लिलाप्रसाद वस्ती मरी मुद्दा सकार गर्ने धर्मप्रसाद निज मरी मु.स. गर्ने ऐ.ऐ. बस्ने दुर्गाप्रसाद वस्ती
मुद्दा : जग्गा दाखिल दर्ता
(१) जग्गा प्रतिवादीले खिचोला गरेको कुरामा तत्काल प्रचलित मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. ले जग्गामा खिचोला उठेको मितिले २ वर्षभित्रै आफ्नो हक कायम गर्न हक बेहकमा अधिकार प्राप्त अदालतमा उजूर गर्नुपर्ने ।
ज.मि.को १८ नं. को म्याद २ वर्ष नाघी परेको देखिएकोले म्याद नाघी दायर भएको फिराद खारेज हुने ।
(प्र.नं. १२)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा
निवेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री लवदेव भट्ट
फैसला
न्या. प्रकाशबहादुर के.सी
१. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहोर्याई पाउँ भनी निवेदक वादी प्रतिवादी दुवै पक्षले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ को (ख) अनुसार मुद्दा दोहोर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयको लागि पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : मौजे बलियामा मेरा नाउँमा दर्ता भएको ८६ऽ३ऽ३।। जग्गा मेरा नाउँमा दर्ता भई ०१५ सालमा सर्भे नापी हुँदा भोग दर्ताबमोजिम ७० सालको साविक नापीबमोजिमको कि.नं. ४८६ को १।।।२।। र कि.नं. ४८७ को ६ बिगाहासमेत ७।।।२।। जग्गा हाल सर्भे नापीमा मेरा नाउँमा दर्ता भएको सोही जग्गाबाट ३ बिगाहा जग्गा मेरो हो भनी उजूर गरी झगडा जनाएको प्र. को मुख्य दावा ७० सालको ८।।।२।४ मा ६ऽ४।२ मात्र नापी भएकोले २।।३ऽ४ ननिलालबाट दिलाई ८।।।२।४ जग्गा कायम गरिपाउँ भनी जाँच कमिशनमा उजूर परी कारवाही हुँदा २।।३ऽ२ मा २।ऽ।।१ जग्गा थप गरी प्र. को दावाको मात्र बिगाहा ८।।।२।४ भन्दा पनि थप गरी बिगाहा ११ऽ३ जग्गाको नापी पूर्जा दिनु भनी जाँच कमिशनबाट सर्भे गोश्वारामा आदेश दिई प्रतिवादीले ११ऽ३ जग्गाको नापी पूर्जा लिई जग्गा पाको गर्ने हुनाले पूर्वाञ्चल उच्च अदालतमा मेरो उजूर परी नापी पूर्जा बदर गरी दिने हक बेहकमा दावा गर्नु भनी “०१८।२।२३।३ मा पु.उ.अ. बाट फैसला भएकोले” प्रतिवादीले सर्वोच्च अदालतमा रिट गरेको कि.नं. ४८६ को १।।।२।। कि.नं. ४८७ को ३ऽ१ऽ३ समेत ४।।।३।।३ जग्गा प्रतिवादीले लिएको नापी पूर्जा बदर गरी मलाई पूर्जा दिलाई मेरो हक दर्ता कायम गरिपाउँ भन्नेसमेत वादी ।
३. वादीको नापीमा लिखत उजूर नपरी मौखिक उजूर गरी झगडा जनाएबाट खिचोला पर्दा मेरो उजूर परी मैले भोग गरी आएको जग्गा मेरै कायम भई केही नर बेसी हुन आएको मैले पूर्जा पाएकोमा वादीले उच्च अदालतमा उजूर दिँदा मलाई बुझ्दै नबुझी पूर्जा बदर गर्ने आदेश दिए जग्गामा हक बेहक गर्न जानु भनी “०१८।२।२३ मा” ननिलाललाई मात्र सुनाएकोले मैले पनि सर्वोच्च अदालतमा रिटको निवेदन दिई दुवै थरीलाई अदालतमा जानु भनी सुनाउनु पर्ने छुटाएको ठहर्छ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट सुनाएकोले निज वादीको नालिस म्यादभित्र नपरेकोले खारेज हुनुपर्ने मेरो नाममा दर्ता जग्गा बिगाहा ८।।।२।४ का पूर्वपट्टि साँधमा जितापैनी र सो पैनीदेखि पूर्व ननिलालको बाजेले दमका नाउँमा ७० सालमा नापी भएको जग्गा सोही पैनीलाई साँध कायम राखी आफ्नो–आफ्नो जग्गा भोगचलन गरी आएको यो मेरो जग्गा सुब्बा नारायणप्रसादले पं. छविलाल र मेरो पिता शिवनारायण समेतलाई दानपत्र गरिदिएकोले ९६ सालमा माग गरी छुट्याउँदा कि.नं. ४८६।४८७ को जग्गा कित्ताको र भई दुवैतर्फ परेको छ र बीचमा दुवैथरको पर्नाले पैनीको आवश्यक भई माथि शिरानबाट पं. छविलाल र मेरो पिताले आफ्ना जग्गाबाट पैनी चिरी ल्याएकोले सो जग्गाहरू हाल सर्भेमा नापी हुँदा मेरोतर्फ नरबेसी रहेछ वादीले साबिक पैनीलाई छाडीपछि यो छविलाल र हामीले खनेका पैनीलाई साँध हो भनी पूर्वतर्फ मेरो केही जग्गा मेरो हो भनी सर्भेमा झगडा जनाउने प्रयास गरेकोमा जाँच ठहर भई नरबेसी हुन गएबाट ११।२ जग्गा ठहरी पूर्जा मैले पाएकोले बेसी हुन आएको जग्गावादीले आफ्ना घटी भएको जग्गा पूर्ति गर्न दावी गरेको निजको जग्गा गाछिया खोलाले काटी घटी पार्दै लाने हुँदा हाल नापीमा केही घट्न गएको हो भन्नेसमेत प्रतिवादी ।
४. जग्गा पतिवादीको भोग नभई अघिदेखि वादीकै भोगमा रहे भएको प्रष्ट देखिन ठहर्छ । आएको जग्गा भोग गरेपछि तिरो पनि साबिकबमोजिम वादीतर्फबाटै चलेको भन्नुपर्ने र प्रतिवादी लेखाइबमोजिम जग्गा प्रतिवादीको भए आफ्नो जग्गा आफूलाई भोग नदिई वादीले भोगेपछि साबिक र हालको समेत मुलुकी ऐन जग्गा मिच्नेको, जग्गा पजनीको म्याद २ वर्षभित्र मौकैमा उजूर गराई हक गराई लिन पर्नेमा सो गरेको समेत नदेखिएको समेतबाट झगडा परेको उक्त नक्सा नं. १।२ सर्भे नं. ५७६।५७७ को जग्गा वादीकै ठहर्छ भन्नेसमेत मोरङ जिल्ला अदालतको ०२२।११।२६।४ को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी लिलाप्रसादको पुनरावेदन ।
६. विराटनगर जिल्लाहरूमा अर्को नयाँ सर्भे हुने भन्ने ०२३।३।२२ को नेपाल राजपत्रमा समेत प्रकाश भइसकेकोले नयाँ सर्भे हुने भएपछि पुरानो अनिश्चित सर्भेको श्रेस्ता सदर बदरमा तहकिकात गर्न नपर्ने नयाँ सर्भेमा नापजाँच गराउने र चित्त नबुझे उजूर गर्न पाउने हक देखिएको हुनाले यस नालिसबाट हारजित गर्न नपर्ने खारेज हुने ठहर्छ भन्नेसमेत कोशी अञ्चल अदालतको ०२४।२।२।३ का खारेजी फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी प्रतिवादी दुवै थरको छुट्टाछुट्टै परेको पुनरावेदन ।
८. यसमा ०१५ सालको सर्भेमा भएको श्रेस्तामा गर्दा गराई पाउँ भन्ने मात्र दावी नभई मेरो जग्गामा पूर्जा लिई खिचोला गर्यो भन्ने वादीको दावी भएकोले जग्गामा हक बेहक गर्नुपर्ने हुन आएको छ । लिलालप्रसादले जिकिर गरेको कि.नं. ८३।८४।८७।४९४ मा साबिक जग्गामध्ये अघि लिलाप्रसादका नाउँमा दर्ता रहेको भनी दर्ता उतारबाट देखिए पनि सो कित्तामा पुरा जग्गा नै नापी भएको ब्यहोरा सोही दर्ता उतारबाट देखिएकोले साबिक जग्गा क–कस्को कति रहेछ, त्यसको हिसाब गर्नुपर्ने हुनआयो । कि.नं. ८३ मा ६।।। कि.नं. ८४ मा ।।४ऽ२ कि.नं. ८७ मा २ऽ३।४ नं. ४९४ मा ।।४ र वादी ननिलालको नं. ४८६ मा १।।।२।। नं. ४८७ मा ६ देखियो । प्र. लिलाप्रसादको जिकिरमा साबिक ८३।८४।८७।४९४ नं. को जग्गा हाल ५२२।५७७।५७६ मा नापी भएको भनी प्रमाणको मिसिलमा कागज भएको देखिएकोले हाल झगडा नपरेको ५२२ को कित्ता यसै दर्ताबाट हक भएको भनी लिलाप्रसादको जिकिर हुनाले झगडा परेको कित्ताको साँधमा नं. ५२२ समेत मिलाई दामासाही गर्नुपर्ने देखियो । हाल नापी भएको कित्ता ५२२।५७६।५७७ को क्षेत्रफल ११ऽ४।। ठहर्न आएकोमा ननिलालले दावी गरेको कि.नं. ४८६।४८७ को साबिक नाप ७।।।२।। र प्रतिवादी लिलाप्रसादले जिकिर गरेको ८३।८४।८७।४९४ को साबिक नाप १०।१।।१ को दामासाहीले हुन आउने क्षेत्रफल ४।।।३।४ वादीको ठहर्छ सोभन्दा बढी ऽ४।।ऽ।। प्रतिवादी लिलाप्रसादको सर्भेमा ५३२ जनाएको साबिक कि.नं. ८३ को साँधको जग्गामा वादी ननिलालले बढी दावी गरेको देखियो भन्नेसमेत ०२५।९।३०।२ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
९. प्रस्तुत मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिसमा प्रतिवादीको झगडा जनिएको न.नं. १ को जग्गामा दावी नभएको देखिन्छ । नक्साको अवस्था प्रकृति हद किल्लाबाट न.नं. १ को जग्गा प्रतिवादीको भन्ने देखिदैन । वादीको ७० सालको नापीमा दर्ताको हद किल्ला नं. ४८६ मा जवदि सो पश्चिम सुन्दरपुर सीमाना सो दक्षिण र नं. ४८७ मा निज कित्ता सो उत्तर सुन्दरपुर सीमाना सो पूर्व भन्ने वादीले पेश गरेको दर्ता उतारबाट देखिएको सो हदहरू झगडा परेको न.नं. १।२ मा मिल्छ मिल्दैन भनी भिडाई हेर्दा न.नं. २ को हद पूर्वमा पैनी देखिन्छ । तापनि सो पैनी ७२ सालमा बनेको सिध हुन आएको र त्यसै ठाउँमा जवदी भन्ने लेखिएकोले जवदी सो पश्चिम भन्ने मिलेको र मोटामोटी भएको नक्सा हुँदा छड्के कोण गरी हेर्दा उत्तरतर्फ सुन्दरपुर सीमाना मिलेको देखिएकोले सुन्दरपुर सीमाना सो दक्षिण भन्ने किला पनि मिलेकै मान्नुपर्छ । न.नं. १।२ को पूरै जग्गा वादीको हक किल्लाभित्रको देखिन आएकोले वादी प्रतिवादीको जग्गा मिसाई दामासाही गर्नुपर्ने देखिदैन । झगडा परेको जग्गामा वादीको पुरानो किल्ला मिल्न भिड्न आएको वादी प्रतिवादीको दर्ता किल्ला बेग्लाबेग्लै भई एकै ठाउँमा नदेखिएको यस्तो कुरामा दामासाही गरी प्रतिवादीको केही जग्गा वादीले च्यापी दावी गरेको ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन भन्नेसमेत उल्लेख भएको रहेछ ।
१०. वादी ननिलाल चौधरी थारूतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हाले हक बेहकमा प्रतिवादीलाई सुनाएकोमा पतिवादीको नालिस परेको पनि छैन, झगडा परेको जग्गा अघिदेखि आजसम्म वादीकै भोगचलनमा रहेको हुँदा प्रतिवादीले १५ सालमा लिएको पूर्जा बदर गरी वादीले पूर्जा पाउनुपर्छ भन्नेसमेत र प्रतिवादीतर्फको विद्वान अधिवक्ता श्री लखदेव भट्टले १५ सालको नापीको पूर्जा बदर गरिपाउँ भन्ने वादी दावी लिएको सो १५ सालको नापी अनिश्चित भई अर्को नापी भइसकेको छ, अर्को नापी भइसके पनि नापीमा झगडा जनाइदिएकोले जग्गा कसको हो, निर्णय हुनुपर्छ, सो झगडा परेको जग्गा वादीको हक भोगै नभई प्रतिवादीको हक भोग दर्ता तिराको भएकोले प्रतिवादीको कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको छ ।
११. यसमा वादी ननिलाल चौधरीको फिराद दावी हेर्दा २०१५ सालमा सर्भे नापी हुँदा मेरा नाउँमा नापी दर्ता भएको जग्गामा झगडा जनाएको प्रतिवादीको घटी भएको बिगाहा २।।३द्र४ जग्गा ननिलालबाट दिलाई पाउँ भनी मोरङ विराटनगर सर्भे गोश्वारा अन्तर्गत रहेको सर्भे जाँच कमिशनमा उजूर परी प्रतिवादीको दावाको बिगाहा ८।।।२।४ भन्दा पनि थप गरी ११द्र३ जग्गाको नापी पूर्जा दिनु भनी जाँच कमिशनबाट निर्णय भई सो बमोजिम प्रतिवादीले नापी पूर्जा लिई जग्गा हक पाएको हुनाले पूर्वाञ्चल उच्च अदालतमा मेरो उजूर परी कारवाही हुँदा निर्णय भएकोमा प्रतिवादीको सर्वोच्च अदालतमा रिट परी वादी प्रतिवादी दुवै थरीले हक बेहक छुट्याउन ऐनबमोजिम इलाका अदालतमा नालिस गर्न पाउँछ भन्ने “०१९।१।१०” मा फैसला भएकोले यो मितिले ३५ दिनभित्र फिराद गर्न आएको छु । प्रतिवादीले लिएको नापी–पूर्जा बदर गरी सो जग्गाको मलाई पूर्जा दिलाई मेरो हक दर्ता कायम गरिपाउँ भन्ने दावी लिएको प्रस्तुत मुद्दाको फिरादपत्र ०१९।२।१२।६ मा दायर भएको देखियो ।
१२. वादीको उक्त फिराद लेखाइबाट नै २०१५ सालमा नापी भएको जग्गामा ०१५ सालमा नै झगडा जनिई प्रतिवादी लिलाप्रसाद वस्तीले वादीको नापी दर्ताको जग्गाबाट दिलाई पाउँ भनी सर्भे गोश्वाराअन्तर्गत रहेको सर्भे जाँच कमिशनमा उजूर दिई वादी दावीको जग्गामा खिचोला उठाएको भन्ने कुरा प्रष्ट हुन आएको छ । त्यसरी ०१५ सालमा नै वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको कुरामा तत्काल प्रचलित मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. ले जग्गा खिचोला उठेको मितिले २ वर्षभित्रै आफ्नो हक कायम गर्न हक बेहकमा अधिकार प्राप्त अदालतमा उजूर गर्नुपर्नेमा ०१९।१।१० मा मात्र इलाका अदालतमा दायर गरेको वादीको प्रस्तुत फिराद उक्त ज.मि. को १८ नं. को म्याद २ वर्ष नाघी परेको देखिएकोले म्याद नाघी दायर भएको फिराद खारेज हुने ठहर्छ । हक बेहक गरी इन्साफ गरेको डिभिजन बेञ्चको ०२५।९।३० को इन्साफ मिलेको देखिएन । तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।
तपसील
वादी ननिलाल चौधरी थारू के मुद्दा दोहर्याए वापतमा लाग्ने कोर्टफी दाखिल गरेकोले अरू केही गर्नुपरेन…….१
निवेदक प्रतिवादी लिलाप्रसाद वस्तीको मु.स. गर्ने दुर्गाप्रसाद वस्तीके माथि इन्साफ खण्डमा लेखिएबमोजिम मुद्दा खारेज भएकोले निजले शुरू मोरङ जि.अ.उपर कोशी अं. अ. मा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.५१।१० र अञ्चल अदालत उपर स.अ. मा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.५५।३४ र मुद्दा दोहर्याए वापत राखेको कोर्टफी रू.१।। समेत जम्मा कोर्टफी रू.१०७।४४ हार्ने वादीबाट भरी पाउने हुँदा नेपाल कोर्टफी ऐन, २०१७ को दफा १५ बमोजिम ३ वर्षभित्र वादीको जायजात देखाई दर्खास्त गरे दस्तुर केही नलिई वादी ननिलाल चौधरी थारूबाट कानूनका रिट पुर्याई भराई दिनु भनी जि.अ. मोरङमा लेखीपठाउन कानूनबमोजिम लगत दिने………२
इन्साफ उल्टिमा डि.बे.को ०२९।९।३० को फैसलाले उस बखत कोशी अं.अ.को न्या. तेजप्रसाद धितालको रेकर्ड राख्ने गरेकोमा हाल सो बमोजिम गर्नुपरेन भनी सर्वाेच्चअदालत प्रशासन शाखामा सूचना दिने…………………३
हामीहरूको सहमति छ ।
न्या. धनेन्द्रबहादुर सिंह
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३३ साल आषाढ ३२ गते रोज ५ शुभम् ।