निर्णय नं. ९६३ – उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ
निर्णय नं. ९६३ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३२ सालको रिट नं. १६६१ आदेश मिति...
निर्णय नं. ९६३ ने.का.प. २०३३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३२ सालको रिट नं. १६६१
आदेश मिति : २०३२।८।१०।४
निवेदक : जि.महोत्तरी धवौली गा.पं.वा.नं.७ बस्ने रामनन्दनकुमार सनाढ ब्राम्हण
विरूद्ध
विपक्षी : श्री भूमि प्रशासक भूमि प्रशासन कार्यालय महोत्तरी समेत
विषय : उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ
(१) प्रमाणमा लिन नहुने २ नं. अनुसूची प्रमाणमा लिई प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्र. नं. ८)
निवेदक तर्फबाट : अधिवक्ता ठाकुर प्रसाद खरेल
विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता प्रेमबहादुर विष्ट
आदेश
न्यायाधीश वासुदेव शर्मा
१. नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी विपक्ष प्रशासकले गरेको निर्णय बदर गराई संवैधानिक तथा कानूनी हकको प्रचलन कायम गराई पाउँ भनी प्रस्तुत रिट निवेदन मिति २०३२।३।१५।१ मा दर्ता हुन आएको रहेछ ।
२. संक्षिप्त तथ्य यसप्रकार छ : आ.गा.पं. जलेश्वर वार्ड नं. ७ बस्ने रामदयाल मुखिया विनले गा.पं.सुगा भवानीपहि वार्ड नं.२ कि.नं. ४८ को जग्गा बिगाहा ०।१३।१० मध्ये पूर्व उक्तबाट ०।८।० मोही जोति कमाई आएकोले उक्त जग्गाको मोहीयानी हकको प्रमाणपत्र पाउँ भन्ने विपक्ष रामदयाल मुखिया विनको विपक्ष कार्यालयमा निवेदन परेकोमा रामनन्दन कुमारको नाउँमा नम्बरी दर्ता रहेको र मोही रामदयालले भू.सु.टोलीबाट १ नं फारम भरी २ नं. अनुसूची प्रकाशन भएको र ४ नं. जो.अ.नि. समेत प्राप्त गरेकोमा सो १ नं. लगत र २ नं. अनुसूचीमा र ४ नं. ओ.अ.नि. मा रामनन्दनकुमार नभई रामनन्दनपाण्डे ४ नं. जो.अ.नि. मा र १ नं. २ समेत हुन गएकोले गा.पं.धवौली पञ्चायतबाट रामनन्दन पाण्डे यस पञ्चायत अन्तर्गत कतौ होइन भएकोले र भूलबाट पाण्डे लेखिन गएकोमा पाण्डे नभई निज रामनन्दकुमार लेखी नाउँ थर संशोधन गरिदिनु भन्ने गा.पं.धवौलीको सिफारिस पत्र र मोहीले भू.सु. टोलीबाट नं १ र २ नं. आधार ४ नं. जो.अ.नि. समेत प्राप्त गरेको हुँदा निज जग्गाधनीको थर संशोधन गरी निज मोहीको नाममा मोहियानी हकको प्रमाण पत्र बनाइ दिनपर्ने देखिँदा भू.सं. नियम, ०२१ दफा ९ बमोजिम निवेदक रामदयाल नाउँमा उक्त जग्गाको मोहियानीहकको स्थाई प्रमाणपत्र बनाई दिने भन्नेसमेत विपक्ष भूमिप्रशासन कर्यालयबाट मिति ०३२।२।१३।३ मा निर्णय भएको हुँदा सो निर्णय बदर गराई माग्न प्रस्तुत रिट निवेदन पर्न आएको रहेछ ।
३. निवेदनसम्बन्धी लेख जिकिर यसप्रकार छ : गरिएको निर्णयमा मलाई विपक्ष बनाइएको छ प्रतिवादीलाई म्याद जारी गरी बुझ्न्ुपर्नेमा अ.बं. १०२।१२८।१८४ का समेतको कानूनी त्रुटी गर्दै प्राकृतिक न्याय सिद्धान्तको विपरीत गर्दै मलाई बुझ्दै नबुझी निर्णय गरिएको छ त्यस्तो निर्णय कुनै हालतमा कायम हुन सक्ने होइन सबूद प्रमाणको छानविनै नगरी प्राकृतिक न्याय सिद्धान्तको विपरीत गरी एक पक्षीय निर्णय गरिएको छ ।
४. मिति २०३२।३।३०।२ को डिभिजन बेञ्चको आदेशानुसार विपक्षीहरूबाट प्राप्त हुन आएको लिखित जवाफमा निम्न संक्षिप्त जिकिर रहेछ ।
५. वास्तविकतर्फ ध्यान दिई भू.सं.ऐन तथा नियमको मकसद बुझी सोही ऐननियमको परिधीमा रही गरेको निर्णयबाट पक्ष निवेदकको कुनै पनि संवैधानिक हक हनन हुन गएको नहुनाले कानूनबमोजिम गरिएको कुरामा यसप्रकार यस कार्यालयसमेत उपर यो रिट निवेदन लाग्न नसकी खारेज हुन पर्ने देखि खारेज होस् भनी विनम्र अनुरोध गर्दछु भन्नेसमेत विपक्ष भूमि प्रशासन कार्यालय महोत्तरी ।
६. अरू कानूनमा व्यवस्था नगरिएको कुरामा संविधानको धारा ७१ प्रयोजनमा आउन सक्ने अन्यथा रिट लाग्नै नसक्ने व्यवस्था छँदाछँदै ऐन कानूनले नालिस उजूर लाग्ने कुरामा सो नगरी नलाग्ने रिटको निवेदनपत्र दिएको लाग्नु नपर्ने हुँदा खारेज गरी पाउने छु भन्नेसमेत विपक्ष रामदयाल मुखिया विन्द ।
७. तारेखमा रहेका निवेदक रामनन्दकुमार तथा विपक्षी रामदयालका वारेस ओमकारमानलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको र विपक्षी कार्यालयतर्फबाट बहस गर्न खटी उपस्थित हुनुभएको विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्टको बहससमेत सुनी बुझ्दा प्रस्तुत रिट निवेदनपत्रमा निवेदकका माग बमोजिम आदेश जारी हुने नहुने के हो निर्णय दिनु परेको छ ।
८. यसमा विवादास्पद वार्ड नं. २ कि. नं. ४८ को जग्गाको जग्गावाला रामनन्दनकुमार भएकोले मोहीको प्रमाणपत्र पाउँ भन्ने विपक्ष रामदयाल मुखियाको निवेदनपत्र परेकोमा कारवाही भई विपक्षी भूमि प्रशासन कार्यालयबाट निज जग्गाधनीको थर संशोधन गरी निज मोहीको नाउँमा उक्त जग्गाको मोहीयानी हकको स्थायी प्रमाणपत्र बनाई दिने भन्नेसमेत मिति ०३२।२।१३।३ मा निर्णय भएको देखिन्छ । उक्त निर्णयमा रामनन्दन पाण्डे जग्गावाला भनी २ नं. अनुसूची प्रकाशित भएको आधारमा निर्णय गरेको पाइयो । विपक्ष रामदयाल मुखियाले विपक्ष कार्यालयमा दिएको उजूरी निवेदनमा निवेदक रामनन्दनकुमार जग्गावाला देखाई उजूरी गरेकोमा रामनन्दन पाण्डेको नाउँमा २ नं. अनुसूची प्रकाशित भएको छ भनी प्रमाण लगाई गरेको निर्णयमा लाग्न नसक्ने प्रमाण लगाई निर्णय गरेको र निवेदकलाई बुझ्दै नबुझी गरेको निर्णयबाट प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध हुन गएको प्रष्टछ । अतः प्रमाणमा लिन नहुने २ नं. अनुसूची प्रमाणमा लिई प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी रहेको विपक्षी भूमिप्रशासन कार्यालयको मिति २०३२।२।१३।३ को निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेश जारी गरी बदर गरिदिएको छ । कानूनबमोजिम पुनः निर्णय गर्नु भनी विपक्षी भूमि प्रशासन कार्यालयका नाउँमा परमादेशको आदेश दिने ठर्हछ । जानकारीको निमित्त यो आदेशको प्रतिलिपी थान एक विपक्षी कार्यालयमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियम मोजिम गरी फायल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्यायाधीश हेरम्बराज
इति सम्वत् २०३२ साल मार्ग १० गते रोज ४ शुभम् ।