January 13, 1975
Created by nepalarchives

निर्णय नं. ९५७ – ज्यान

निर्णय नं. ९५७           ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२९ सालको फौज्दारी पुनरावेदन नम्वर ७९६ फैसला...

निर्णय नं. ९५७           ने.का.प. २०३३

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०२९ सालको फौज्दारी पुनरावेदन नम्वर ७९६

फैसला भएको मिति :      २०३१।९।२९।२ मा

वादी : रामबहादुर पोमु लिम्बुको जाहेरले वादी श्री ५ को सरकार

विरूद्ध

विपक्षी : शसस्त्र प्रहरी कार्यालय गुल्म धरानको हे.कं.जोगेन्द्रबहादुर कार्की समेत

मुद्दा : ज्यान

(१)   यो चिज वा वस्तु प्रयोग गरी यस किसिमसँग कुटेको हो भनी प्रष्ट खुलाई उल्लेख गर्न नसकी शंकारहित प्रमाणबाट समर्थित नभएकोमा सफाई दिने ठहराएको मनासिव देखिने ।

 (प्र. नं. ६)

पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता शोभाकर उपाध्याय

विपक्षी तर्फबाट      : अधिवक्ता मुकुन्द रेग्मी

फैसला

     न्यायाधीश वासुदेव शर्मा

      १.     रामबहादुरको जाहेरी अ.स.ई. नरबहादुरको प्रतिवेदनसमेतबाट कार्यवाही चली शुरु मोरङ जिल्ला अदालतबाट क. ट. धनबहादुर राईलाई कैद वर्ष १।६ र हे. कं. जोगेन्द्रबहादुरलाई सफाई दिने ठहराई फैसला भएकोमा कोशी अञ्चल अदालतबाट कं. धनबहादुर र हे. कं. जोगेन्द्रबहादुरलाई सफाई दिने ठहराई भएको फैसलाउपर वादीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकार छन :

            १. कुल झोरामा सुरक्षाको निमित्त खटिएका प्रहरीलाई जनताले घेरेको खबर आई हेर्न जाँदा प्रहरी बसेको घर तलामाथि हेर्दा १ जना मानिस मरेको लास देखिएकोले जाहेर गरेको छु भन्ने अ.स.ई. नरबहादुरको र ०२७।३।२७ गते राती १० बजे ३०।४० जना मानिसहरू प्रहरी बसेको पोष्टमा आई हात हतियार खोसी बाँधी विराटनगर पुर्‍याउँछौ भन्ने, सम्झउँदा मानेनन् प्रेमबहादुर लिम्बु पोष्टमा आई हामीउपर हात उठाई रोक्दा हात हालाहाल भएको र अलि अलि चोट पटक लागेको ज्वोरो पनि आएकोले समाई पोष्टमा राखेकोमा ऐ. २८ गते मरेकोले प्रतिवेदन गरेको छु भन्नेसमेत हे. कं. जोगेन्द्रबहादुरको पृथकपृथक प्रतिवेदन ।

            २. मेरा पिता प्रेमबहादुरलाई ०२७।३।२७ गते राती ६।३० बजे हात हतियार लिई घेरी पक्राउ गरी कुटपिट गरी मारेछन ज्यान मार्न परिपञ्च मिलाई पठाउने राख्ने माधवप्रसाद वस्ती, छेत्रबहादुर लिम्बु समेत र अरू लेखिएका मानिसहरूले हतियार लिई घेरा गरी मारेको हुँदा सजाय गरिपाउँ भन्नेसमेत रामबहादुरको २०२७।४।२।६ को जाहेरी ।

            ३. मर्ने प्रेमबहादुर समेतका हुल आएको प्रेमबहादुरले रक्सी खाइ मातिएकाले पोष्टमा हात हतियारसमेत खोस्न आउँदा कं. प्रतापजंसमेतले समाती कोठामा राखेको प्रेमबहादुरलाई कसले कुटे देखिन इटहरी गई डी.आई.जी. लाई खबर गरी ०२७।३।२७ को अं. ५ बजे पोष्टमा पुग्दा प्रेमबहादुर मरेको खवर शमशेरबहादुरले सुनाएको मर्ने प्रेमबहादुरसँग रिसइवी थिएन भन्ने प्रहरीमा इन्कार भई अदालतमा जोगेन्द्रबहादुरले गरेको बयान ।

            ४. ०२७।३।२७ को रात प्रेमबहादुर समेत ३०।४० जनाको हुल भई प्रहरी चौकीमा आई झगडा गर्न लागे हे.कं. जोगेन्द्रबहादुरले सम्झाउँदा झन झगडा भयो मर्ने प्रेमबहादुर रक्सी खाइ हामीलाई आक्रमण गर्न आएकोबाट समाइ माथि लगी राख्यौ भोलीपल्ट मरेछन् म समेत भएर कुटपिट गरेको होइन कसको कुटाईबाट मरे भन्न सक्तिन भन्नेसमेत हे. कं. सम्शेरबहादुरको प्रहरीमा भएको कागज ।

            ५. मलाई कुनै कुरा थाहा छैन मर्ने प्रेमबहादुरलाई चिनेको छैन भन्नेसमेत दाताराम, हरीबहादुर वारदातामा माधवप्रसादको छोरा रेवतीप्रसाद प्रजापति, दधिराम समेत थिएन मैले कर्तव्य गरी मारेको होइन कसले मारे जान्दीन भन्नेसमेत सलबहादुरको कागज ।

            ६. कुल झोरमा पोष्टमा मेरो पालो थियो ०२७।३।२७ का दिन रात ८।१० बजे ३०।४० जना मानिसहरूको हुलमा मर्ने प्रेमबहादुरसमेत आई हामीलाई हमला गरे दुबै पक्षमा कुटपिट भई मर्ने प्रेमबहादुरलाई घाइते भए पछि तलामा राख्नु पर्छ भनी माथिल्लो तलामा हवल्दार जोगन्द्रले बताएअनुसार राख्दा प्रेमबहादुर कुटाईका पिरबाट २८ गते मरेका हुन् कसले कुटे मैले देखिन रेवती कृष्णप्रसाद अरूसमेत थिए भन्नेसमेत प्रतापजङ्ग थापाको र प्रेमबहादुरलाई कसले माथि लग्यो घाइते भएको पनि थाहा छैन जोगेन्द्रबहादुर २७ गते राती अं. १२।१ बजे विराटनगर हिंडे वारदात, भएपछि अरू कहाँ गए थाहा भएन प्रेमबहादुरलाई कर्तव्य गरी मारे मराएको जस्तो लाग्छ भन्नेसमेत अगमबहादुरको पृथकपृथक कागज ।

            ७. २०२७।३।२७ को रात ३०।४० जनाको हुलमा प्रेमबहादुरले मेरो सामु भएको सरकारी राइफल खोस्न थालेकोले दुबैमा धुक्क धाक भयो प्रेमबहादुर त्यहाँ नै लडेछ माथि कसले लग्यो थाहा भएन मेरो डिप्टी हुँदा जोगेन्द्रले राम्रोसँग राख्नु भनी विराटनगर आउनु भयो २८ गते प्रेमबहादुर मरे केका पीरबाट मर्‍यो भन्न सक्तिन जग्गा धनी ३ जना बसेका बारदात पछि भागेछन् प्रेमहबादुरसँग मेरो रिसइवी थिएन भन्नेसमेत प्रहरीमा र इन्कार भई अदालतमा धनबहादुरले गरेको कागज बयान ।

            ८. ०२७।३।२७ का रात ३०।४० जनाको हुलमा प्रेमबहादुर समेत पोष्टमा आएका र जोगेन्द्रले सम्झाउँदा नमानेका र धनबहादुरको राइफल खोस्न जाँदा राइफलको वटले प्रेमबहादुरलाई चोट पर्न गयो भोलिपल्ट मृत्यु भयो रक्सी खाई मुटु फुटी मृत्यु भएको हुनुपर्छ भन्नेसमेत अटलमान र धनबहादुरको राइफलको वटले लागि घाइते भएको भोलीपल्ट मरेको भन्नेसमेत भक्तबहादुर, शेरबहादुर, रामबहादुर समेतको पृथक कागज ।

            ९. हे.कं. जोगेन्द्रबहादुर, धनबहादुर समेत २ जवानको चोटबाट प्रेमबहादुर मर्न गएको देखिंदा जोगेन्द्रबहादुर धनबहादुरलाई ज्यानसम्बन्धीका १३।३ को कसुरमा मुद्दा चल्ने कृष्णप्रसाद बली रेवतीप्रसाद मतलबी देखिएकोले ज्यानसम्बन्धीको १७।३ बमोजिम सजाय हुने अरू उपर कार्यवाही नचल्ने भन्नेसमेत प्रहरी प्रतिवेदन ।

            १०. हे.कं. जोगे्रन्द्रबहादुरको हातबाट लुटपिट हुन गई मरेको भन्ने नदेखिंदा निजउपरको दावी पुग्न सक्दैन सफाई पाउने ठर्हछ धनबहादुरको हकमा निजको हातको बन्दुकको बटले लागि प्रेमबहादुर मरेको तर आफ्ना हातको बन्दुक खोस्न आउँदा खोसाखोसा भई चोट लाग्न गएकोबाट मृत्यु भएको ज्यानसम्बन्धीको ६ नं. ४ दफाबमोजिम सजाय हुने रेवतीप्रसाद, कृष्णप्रसादको हकमा प्रमाण पुग्न नआएकोले २ जनाले सफाई पाउने साधक सदरलाई जाहेर गर्ने भन्नेसमेत ०२८।५।१३।१ को शुरु मोरङ जि. अ. को फैसला ।

            ११. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत श्री ५ को सरकार तर्फबाट पुनरावेदन परेकोमा ज्यानसम्बन्धीको १३।३, १७।३ ले सजाय हुने भन्ने आरोपपत्र र कुनै काम गर्दा चोट लागि मर्न गएको ज्यानसम्बन्धीको ५ नं. ले भवितव्य ठहर्ने ऐ. ६ नं. ४ दफाले कैद वर्ष १।६ धनबहादुरलाई हुने भन्ने सुरुको फैसलासँग सहमत हुन नसकी ज्यानसम्बन्धीको ७ को ३ दफाबमोजिम ज्यान माराको बात नलाग्ने ठहर्छ शुरु फैसला बदर हुन्छ भन्नेसमेत कोशी अञ्चल अदालतको २०२८।११।२९।१ को फैसला ।

      २.    उक्त इन्साफमा चित्त बुझेन हे.कं. जोगेन्द्रबहादुर पनि कसुरदार भन्ने कुरा देखिन आउँछ धनबहादुर मौकाको प्रतिवेदन समेतले सावित गरेको देखिन्छ । कृष्णप्रसाद ओलीका हकमा मुल्तवी रहनु पर्ने हुँदा अञ्चलको फैसला उल्टाई अभियुक्तहरूलाई प्रहरी प्रतिवेदनअनुसार सजाय हुन अनुरोध छ भन्ने वादी श्री ५ को सरकारतर्फको पुनरावेदन ।

      ३.    ज्यानसम्बन्धीको ७ (३) नम्बर यस मुद्दामा लाग्न सक्ने देखिदैंन प्र. धनबहादुर हे. कं. जोगेन्द्रबहादुरलाई अ.बं. २०२ नं.र स.अ.नियमावलीबमोजिम छलफलमा झिकाउने भन्नेसमेत ०३०।१२।१६।६ को डिभिजन बेञ्चको आदेश ।

      ४.    तारेखमा रहेका झिकाई आएका प्रतिवादी हे.कं. जोगेन्द्रबहादुरलाई रोहवरमा राखी पुनरावेदन वादी श्री ५ को सरकारतर्फबाट खटिनु भएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री शोभाकर उपाध्यायको र विपक्षी प्रतिवादी हे. कं. जोगे्रन्द्रबहादुर कार्कीतर्फका विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीको बहससमेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा शुरु तथा अञ्चल अदालतबाट भएको इन्साफ मानासिव वा गल्ती के हो निर्णय दिनु परेको छ ।

      ५.    यसमा वारदातमा सम्मिलित भई प्रतीवादी जोगेन्द्रबहादुर, धनबहादुरको चोटबाट मर्ने प्रेमहबादुरको मृत्यु हुन गएको देखिँदा ज्यानसम्बनधीको १३ नं. को देहाय ३ बमोजिमको कसुरमा मुद्दा चल्ने भन्ने प्रहरी प्रतिवेदनअनुसार प्रस्तुत मुद्दा चलेको देखियो । यसरी प्रतिवादी जोगेन्द्रबहादुर, घनबहादुरउपर ज्यानसम्बन्धीको १३ (३) अनुसार सजाय होस् भनी माग गरिएकोमा शुरु अदालतले प्र.मध्ये जोगेन्द्रबहादुरलाई सफाई र प्रतिवादी धनबहादुरलाई ज्यानसम्बन्धीको ६ नं. को दफा (४) अनुसार सजाय गरेको र कोशी अञ्चल अदालतले ज्यानसम्बन्धीको दफा ७।३ अनुसार निजहरूलाई सफाई दिएकोमा वादी श्री ५ को सरकारको पुनरावेदन परी प्रस्तुत मुद्दा यस बेञ्चसमक्ष आएको देखिन्छ ।

      ६.    प्रहरी प्रतिवेदनमा प्रतिवादीमध्ये जोगेन्द्रबहादुर तथा धनबहादुरउपर ज्यानसम्बन्धीको १३ (३) को आरोप लगाई सजायको माग गरे तापनि प्रतिवादीमध्ये जोगेन्द्रबहादुर उपर दुबै तहको अदालतले गढाउको प्रमाण फेला पार्न सकेको देखिएन । प्रतिवादी हे. कं. जोगेन्द्रबहादुरले मौकामा प्रहरीमा र अदालतमा कागज बयान गर्दा मर्ने प्रेमबहादुरलाई कसले कुटे मैले देखिँन भनी किटानसाथ आफू इन्कार रही बकेको प्रष्ट छ । सर्जमिनका केही व्यक्तिहरूले प्र जोगेन्द्रबहादुर समेत भई मर्ने प्रेमबहादुरलाई कुटपिट गरेको हो भनी बकी लेखी दिएकोमा यो चिज वा यो बस्तु प्रयोग गरी यस किसिमसँग कुटेको हो भनी प्रष्ट खुलाई उल्लेख गर्न नसकेकोमा पनि रामबहादुरको जाहेरी पर्नु भन्दा अगाडि आषाढ २९ गते लास जाँच हुँदाको कारवाहीसमेत भए गरेको देखिन्छ ।

      ७.    तसर्थ माथि उल्लेख गरेअनुसार आरोपबमोजिम निज प्रतिवादी जोगेन्द्रबहादुरले कुटेको कारणबाट प्रेमबहादुर मर्न गएको भनी शंकारहित प्रमाणबाट समर्थित नभएकोले निज प्रतिवादी जोगेन्द्र बहादुरलाई सफाई दिने ठहराई शुरु मोरङ जिल्ला अदालत र हे. कं. धनबहादुर समेतलाई सफाई दिने ठहराइ कोशी अञ्चल अदालतले गरेको इन्साफ मनासिव ठहर्छ वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परेको देखिँदा केही गर्नु परेन शुरु मिसिल मो.जि.अ.मा पठाउन कोशी अं.अ.मा पठाई रिकर्ड मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्यायाधीश हेरम्बराज

 

इति सम्वत् २०३१ साल पौष २९ गते रोज २ शुभम् ।