निर्णय नं. ९५३ – ज्यान
निर्णय नं. ९५६ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३० सालको पु. नं. ७१३,७५३ सम्वत्...
निर्णय नं. ९५६ ने.का.प. २०३३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०३० सालको पु. नं. ७१३,७५३
सम्वत् २०३१ सालको पु. नं. ८४
फैसला भएको मिति : २०३१।९।२९।२ मा
पुनरावेदक : श्री ५ को सरकार
विरूद्ध
प्रतिवादी : श्री मोरङ विराटनगर जिल्ला कटहरी गा. पं. वार्ड नं. ६ घर भई हाल सदर काठमाडौं सेन्टर कारागार (जेल) मा बस्ने लक्ष्मी मलाहा समेत
मुद्दा : ज्यान
(१) करणी हुँदा हुँदै मैले हानी मारेको भन्ने अभियुक्तको भनाई भई लास जाँच हुँदा मृतकको लिङ्गमा विर्य बाँकी देखिन र अन्य कागजबाट समेत निजले मारेको देखिए निजैले हतियार प्रयोग गरेको ठहर्ने ।
(प्र. नं. २७)
पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता प्रेमबहादुर विष्ट
विपक्षी तर्फबाट : अधिवक्ता अनुपराज शर्मा
उल्लिखित मद्दा
फैसला
न्यायाधीश झपटसिंह रावल
१. वादी र प्रतिवादीहरूको पुनरावेदन परी प्रस्तुत मुद्दा आज यस डिभिजन बेञ्च समक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : को–को भई गंगाराम कामतलाई धारीलो छुरी प्रहार गरी कर्तव्यबाट निज गंगारामको मृत्यु भएकोले अपराधीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाई होस भन्नेसमेत कं. परशुराम न्यौपानेको प्रतिवेदन ।
३. यही ०२८ साल चैत्र २४ गते दिउँसो करीब ४ बजेको समयमा भाडामा मल ढुवानी गर्ना निमित्त घरबाट म गाडा लिई रंगेलीतर्फ प्रस्थान गरेको थिएँ । सो अवस्थामा मेरो एकाघरको छोरा वर्ष १९ को गगांराम कामत घरमै थियो । सोही रात तिम्रो छोरा गंगारामलाई कसले हो घाँटीमा छुरी घोपी प्रहरीमा खबर भई राती नै प्रहरी आई अस्पताल लगे हिंड भनी गार्डको मानिस म भए ठाउँ रंगेलीमा पुगेकोले घर आई वास्तवमा विचार गरी बुझ्दा तल लेखिएका मानिसमध्ये वदरिया चमार र ठिठर चमार भई गत सालमा मेरो बुहारी तथा मर्ने छोरा गंगारामकी स्वास्नीलाई कुममा हात राखी बेइज्जत गर्न खोजेको थाहा पाई कटहरी गाउँ पञ्चायत वार्ड नं. ६ का वडा सदस्य श्री भागवत चौधरीको रोहवरमा गाउँमै पञ्चायती गराउँदा निज वदरिया ठिठर चमारले बदमासी गरेको ठहराई निजहरूलाई ५०।५० जुत्ता हिर्काउन लगाएबाट सो समयदेखि पूरा रिसइवी लिई हाम्रो परिवार माथि दागा धरी राखेको र किसन कामत निजकी जेठी छोरी गुलेवियादेवी र माहिली छोरी अडुलियादेवी तथा हरदेव साह हलवाई मेरो पडोसिया हुँदा साँध सिमाना जग्गा जमिनबारे हमेसा झै–झगडा दुस्मनी भइरहेको र निजैहरूको तर्फ दावी गरी मसँग झै–झगडा गरी हिड्ने गरेबाट लक्ष्मी मलाहा वादरमिया समेतसँग झै–झगडा हुने गरी राखेकोले निम्न लेखिएका सबै मानिस मिली म घरमा नभएको अवस्था पारी मेरो घर तथा रंगेली जाने सडक उत्तरको गडाहामा मेरो छोरालाई २४ गते साँझ करिब ७ बजेको समयमा लगी भाला रोपेको र सोही पिरले २४ गते राती नै प्रहरीले खबर पाई निजको उपचारको लागि अस्पताल लगेपछि राती नै छोरा गंगाराम मरेकोले निजलाई भाला रोपी कर्तव्य गरी मार्नेमा निम्न लेखिएका व्यक्ति माथि मलाई पूरा शंका लागेको हुनाले निज कर्तव्यवालाहरूलाई तुरून्त पक्राउ गरी छानविन भई कर्तव्य गरी ज्यान मारेमा निजहरू तथा अरू कर्तव्यवाला पत्ता लागेमा निजलाई समेत ऐनबमोजिम सजाय गरिपाउँ । किसन कामत गुलेविया देवी १ अडुलिया देवी १ वदरीया चमार १ ठिठर चमार १ वाडरमिया १ लक्ष्मी मलाहा १ हरदेव साह हलवाई १ भन्नेसमेत बुदु कामतको दरखास्त ।
४. मैले दरखास्तमा लेखिदिएको व्यहोरा र परिवन्दबाट लेखिएका मानिसहरूले मारेको लाग्छ भन्नेसमेत बुटु कामतको कागज ।
५. घरको टाटीको विषयलाई गंगारामको र गुलेवियाको मामासँग झगडा भई मारपिट पनि भएको थियो र सोही रिसइवी हो वा अरू के हो रिसइवीबाट हो मेरो पतिलाई निज गुलेवियाले कर्तव्य गरी मरेकै हुन् निज बाहेक अरूमाथि शंका छैन भन्नेसमेत मलुवादेवीको कागज ।
६. मेरा पहिलेको लोग्ने विवाहिता बौलाहा भएबाट म माइतीघर कटहरीमा बसेको मौकामा गंगारामसँग मेरो लसपस भई आजले १ वर्ष भन्दा पहिलेदेखि नै मञ्जुरीबाट करणी लिनुदिनु भइआएको थियो र त्यसपछि विश्वनाथसँग मेरो दोस्रो विवाह भई निजसँग बसी आएको थिँए । कहिलेकाहीं माइत जाने आउने पनि गर्दथेँ । धेरै पटक आउनु जानु भएपछि मेरा पति विश्वनाथले मलाई पिटे किन तँ बराबर माइत जाने कुरा गर्छेस त ? कसैसँग फसेकि छस र त जान्छेस भनी मलाई बारम्बार कुटपिट गर्न थाले ३ पटक मैले सहें र त्यसपछि मैले बाध्य भएर मेरो पतिलाई गंगारामसँग भएको लसपस प्रेम मोहवत करणीसम्बन्धी कुरा गर्दा पतिले भन्नुभयो कि तँलाइ पनि मार्छु उसलाई पनि मार्छु नत्र तैंले नै उसलाई मार म हतियार दिन्छु भनी आजले १०।१२ दिन अगाडि मेरा पतिले यो बरामद भई आएको भालामा सानो काठको बिंड लगाई मलाई दिएका थिए । भारतबाट माइतिघर कटहरीमा मिति ०२८।१२।२३ को साँझ ७।८ बजे आइपुगेको हुँ । भोलिपल्ट बिहानबाट नै गंगाराम मेरो घरमा आउने जाने बस्ने मलाई जिस्की पाउने आज ता तैंले मलाई दिनैपर्छ नदिएमा मारी दिन्छु भनी नै रहृयो । घरबाट करीव अं.२००।२५० गज उत्तर खेतमा नै भएको गडाहा कच्चुघारीमा दुबैजना रात अन्दाजी ७ बजे पुगी करणी गर्न अण्डरपैण्ट खोले र म पनि निज गंगारामले गम्छा विछ्याई दिएकाले सुतेपछि गंगारामले मेरो साडी र सापसमेत उतारी करणी गर्न खोज्दा मैले भनेकी म तँ माथि चढ्ने तँ सुत् भने । भन्नासाथ निज गंगाराम सुते, म उठेर निजको लिङ्ग र मेरो योनी भिडी निजको लिङ्ग मेरो योनीमा पसाइरहेको अवस्था मलाई लाज लाग्छ भनें र गंगारामले आफ्नै लुंगीले मुख ढाके र सोही अवस्था यो दाखिल भएको काठको बिँड भएको भालाले निजको घाँटीमा मैले प्रहार गरें । मैले हानेको भालाको चोटको पिरबाट मरेका हुन् । कर्तव्य गर्ने अर्को मानिस कोही थिएन । लक्ष्मी मलाहा पनि थियो । उसको साथमा फनि धानुक र अरू मैले नचिनेको १ जनासमेत ३ जना पनि यस ज्यान मुद्दामा सम्मिलित छन् भन्नेसमेत गुलाविया केवट्नीको कागज ।
७. मेरो पिताजी किसन चौरीले आपसमा कुरा गर्नु भएको थियो कि अब गंगारामले गुलेवीयालाई लसपस भई करणी गर्ने गराउने भएबाट केही न केही उपाय नगरी नहुने भो भन्ने कुरा गरेको सुनेकी थिए भन्नेसमेत अडुलीयादेवीको कागज ।
८. मेरो छोरी अडुलीयाले भनेका मानिस २४ गते चैत्रमा आएका र मसँग कुरा भएन भन्नेसमेत किसनको कागज ।
९. मैले गंगारामालाई भाला प्रहार गरी हत्या गरी मारेको छैन किसन पनि र फनिको साथमा आएको १ जना मानिस समेतको सरसल्लहबाट गंगारामलाई कर्तव्य गरी मारेको हो भन्नेसमेत लक्ष्मी मलाहाको कागज ।
१०. गंगारामलाई कर्तव्य गरी मैले मारेको हैन छैन गंगारामलाई गुलेवीया १ र निजको भनाइअनुसार लक्ष्मी मलाहा १ फनि धानुक र निजको साथमा आउने समेतले कर्तव्य गरी मारेको मलाई लाग्छ भन्नेसमेत वदरीया चमारको कागज ।
११. खेत दिएनन् भन्नेबारेमा रिसइवी लिई मौका पाई मलाई कर्तव्य गर्यो भन्ने शंका देखाई झुठ्ठा पोल गरेको हुन् भन्नेसमेत वादर मियाको कागज ।
१२. जाहेरवालाले मलाई पोल्नु पर्ने कारण मसँग जमिन बारेमा झगडा परेको थियो । सोही रीस इविबाट पोल गरेको हुनुपर्छ भन्नेसमेत ठिठर चमारको कागज ।
१३. जमिन दिएन भन्ने मसँग रिसइवी थियो होला र सोही कारणबाट मलाई पोल गरेको होला मैले कर्तव्य गरी मारेको छैन भन्नेसमेत हरदेवको कागज ।
१४. मेरो केही हात छैन भन्नेसमेत बौरी काम केवट्नीको कागज ।
१५. गुलेवीयालाई ज्यानसम्बन्धी महलको नं. १३ को दफा ३ अनुसार र अरू लक्ष्मी मलाहा फनि धानुक फनिको भतिजो वदरिया चमार समेतलाई ऐ. ऐ. दफा ४ अनुसार सजाय हुने किसन बौरीलाई ऐ. ज्यानसम्बन्धी महलको नं. १७ को दफा ३ अनुसार सजाय हुने र भारत निवासी विश्वनाथ रमानन्दको हकमा फेला नपरेको हुँदा पछि फेलापरी पक्राउ भएका बखत कानूनबमोजिम हुनसमेत अनुरोध गरिएको छ भन्नेसमेत प्रहरी प्रतिवेदन ।
१६. मैले मार्ने कुरामा हतियार प्रयोग गरेको सहयोग गरेको कुरा कुनै छैन, भाला वदरियाको हो । वदरियाले गंगारामको दुबै हातसमेत पक्री पछाडिबाट अंगालो मार्यो लक्ष्मीले भाला समाई गंगारामको घाँटीमा रोपेको हो भन्नेसमेत गुलेवीयादेवीको बयान ।
१७. गुलेवीयाले मात्र मारेछ वा हनिफ लक्ष्मीसमेत भई मारेको के हो पक्री भन्न सक्दैन गंगारामलाई मैले मारे मराएको हैन भन्नेसमेत वदरीया चमारको बयान ।
१८. मैले गंगारामलाई मारे मराएको छैन किसन फनि र नाम नजानेको मानिसले कर्तव्य गरेका हुन् मैले होइन भन्नेसमेत लक्ष्मी मलाहाको बयान ।
१९. गंगारामलाई मार्ने मेरो छोरी गुलेवियाको प्रहरीमा गरेको बयानअनुसार निजले मारे होला भन्ने लाग्छ अरूउपर शंका छैन भन्नेसमेत किसन केवटको बयान ।
२०. गाउँका मानिसले गुलेवीयाको साडीमा रगत लागेकोले निजले मारे होला भन्ने कुरा गरे र मैले पनि त्यही कुरा होला भन्ने ठाने कि छु भन्नेसमेत बहुरीको बयान ।
२१. गुलवियाको लुगामा लागेको रगत धोइ नुहाई सफा गरेको शंकाले निज उपर त्यस कर्तव्यमा शंकासमेत गरेको हुँदा मर्ने गंगारामलाई गुलेवियाले भाला रोपी मारेको ठहर्दैन गंगारामलाई कर्तव्य गरी मार्नेमा वदरिया चमार, लक्ष्मी मलाह पनि रहेछन् भन्ने कुरा प्रमाणबाट देखिने ठहर्न आउँछ । किसन बहुरीका हकमा सफाई पाउने ठहर्छ फनि धानुक र निजको भतिजोले म्यादै गुजारेकोले निजहरूको हकमा मुलतवी राखी दिने भन्नेसमेत मोरङ जि. अ. को फैसला ।
२२. गुलेवियातर्फ विचार गर्दा निज नै मुख्य ज्यानमारा देखिएकोले निजलाई सर्वस्वसमेत जन्म कैद हुन्छ । लक्ष्मी मलाहाको हकमा अडुलीयाको कागजमा भाग्दै आउनेमा निज पनि थिए भन्ने देखिएको समेत कारणबाट निजको हकमा ठहर गरेको मनासिवै बदरीया चमारको हकमा फौज्दारी केशमा शंका उत्पन्न हुन आएमा सो को फाइदा प्रतिवादीले नै पाउने हुँदा निजले शंकाको सुविधा पाउने अन्य प्रतिवादीहरूका विरूद्ध दावी समर्थन हुन सक्ने प्रमाण मिसिलबाट नदेखिंदा निजहरूलाई सफाई दिने गरेको शुरूको इन्साफ मनासिव अरू विदेशीका हकमा खोज तलास गर्दै रही पक्राउ भएका बखत कारवाई गर्ने गरेको मनासिवै अभियुक्त फनि धानुक र निजको भतिजो नाताका व्यक्तिहरूले म्यादी पूर्जीमा फेरार भएकोले अ.ब. १९० नं. बमोजिम अंश रोक्का गरी मुलतवी राख्नेसमेत ठर्हछ भन्नेसमेत कोशी अञ्चल अदालतको फैसला।
२३. कोशी अञ्चल अदालतको इन्साफ मनासिव वेमनासिव के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
२४. वदरीया समेतलाई सफाई दिने गरेको मिलेन भनी अतिरिक्त सरकारी अधिवक्ता प्रेमबहादुर लक्ष्मी मलाहालाई सजाय गरेको मिलेन भनी विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुरले गुलेवियालाई सजाय गरेको मिलेन भनी वैतनिक वकिल अनुपराजले बहस प्रस्तुत गर्नुभएको छ ।
२५. लास जाँचको रिपोर्टमा धारिलो हतियार प्रहार गरी मारेको भन्ने र गुलेविया केवटनीको कागजमा मैले हानेको भालाको चोटको पीरबाट मरेका हुन् भन्नेसमेत उल्लेख भएको देखिएबाट वारदातको र मर्ने गंगाराम कर्तव्यबाट मर्न गएको देखिन आएको छ ।
२६. प्र.वदरीया समेतलाई सफाई दिने गरेको फैसला बदर गरिपाउँ भन्ने वादीको पुनरावेदन परेतर्फको हकमा गुलेवियाले प्रहरीमा गरेको कागजमा फनिले फलामे भाला घाँटीमा हानी घाइते पारी लक्ष्मीसमेत भागे र अदालतमा आइ बयान गर्दा वदरीयाले २ हात समेत अठ्याई पक्र्यो लक्ष्मीले भालाले घाँटीमा १ चोट हानी भागी गए भन्ने लेखेको देखिएबाट गुलेवियाको भनाई एक मिलान नभई फरक परेको र निज बदरिया चमार अदालत समक्ष इन्कार रहेको समेत देखिएबाट सबूद प्रमाणको अभावमा कसूरदार नै हो भनी भन्न ठहराउन मिल्ने देखिएन ।
२७. गुलेविया केवटनीले प्रहरीमा गरेको कागजमा गड्डारामसँग भएको करणीसम्बन्धी कुरा गर्दा पति विश्वनाथले तँलाई पनि मार्छु उसलाई पनि मार्छु नत्र तैंले नै उसलाई मार म हतियार दिन्छु भनी भालामा सानो काठको बिँड लगाई मलाई दिएका थिए भन्दै मैले हानेको भालाको चोट पीरबाट मरेका हुन् भन्नेसमेत उल्लेख गर्दै गंगारामलाई कर्तव्य गरी मारेमा प्रहरी समक्ष सावित भई प्रहरीमा गरेकै कागजको दफा १८ मा फनिले हानी मारेको भन्ने उल्लेख गरेको देखिन्छ । अदालतमा आई बयान गर्दा करणी लिनु दिनु गर्यो करणी सिद्धिएको थियो । गंगाराम उठी मात्र सकेको के थियो म सुतेकै अवस्थामा लक्ष्मी मलाहा र वदरिया चमार २ जना आइपुगे । वदरियाले गंगारामको पछाडिबाट २ हात समेत अँठ्याई पक्र्यो र लक्ष्मीले निज गंगारामको घाटीमा सानो बिँड भएको फलामको भालाले घाँटीमा १ चोट हानी भाला रोपिएको नै छोडी निज २ जना भागी गएको मैले मार्ने कुरामा हतियार प्रयोग गरेको सहयोग गरेको कुरा कुनै छैन भनी लेखिएको देखिएबाट कर्तव्य गरेमा पुनरावेदक गुलेविया केवटनीले अदालतमा आई इन्कार गरेको देखियो तर बुदु कामतको जाहेरी दरखास्तमा पुनरावेदक गुलेवियादेवी केवटनीको नाम उल्लेख गरेको र निज पुनरावेदकको बाबु किसन केवटले गरेको बयानमा गंगारामलाई मार्ने मेरो छोरी गुलेवियाको प्रहरीमा गरेको बयानअनुसार निजैले मारे होला भन्ने लाग्छ अरू उपर शंका छैन भनी र निजकी आमाले बहुरीले गरेको बयानमा भाला हान्यो भन्ने हल्ला भयो म दगुर्दै पिपलको गाछीनिर जाँदा छोरी गुलेविया घरतिर दौड्दै आई भन्दै पछि गाउँका मानिसले गुलेवियाको साडीमा रगत लागेकोले निजैले मारे होला भन्ने कुरा गरेर मैले पनि त्यही कुरा होला भन्ने ठानेको छु भन्नेसमेत र रगत लागेको साडी डोलमा राखी धुलाई गरी आङ नुहाई रगत पखालेको भन्ने कुरामा पुनरावेदक गुलेवियादेवी केवटनीले स्वीकार गरेको छ र करणी हुँदाहुँदै मैले हानी मारेको भन्ने गुलेवियाको कुरा लास जाँच हुँदा मृतकको लिङ्गमा विर्य बाँकी देखिएबाट गुलेवियाले मैले मारेको भनी उल्लेख गरेको कुरालाई प्रमाणित गरेको र लाल महमद समेतको ०२८।१२।२९ को कागजमा गंगारामलाई सोध्दा गुलेवियाले मार्यो भनी भनेपछि बेहोस भएको भन्नेसमेत लेखिएको हुनाले समेत निर्दोष छु भन्ने निजको भनाई मनासिव देखिन आएन र निजको पुनरावेदन जिकिर पुग्न सक्दैन । निज प्र. गुलेवियाले मर्ने गंगारामलाई हतियार प्रहार गरकै ठहर्छ ।
२८. अब पुनरावेदक लक्ष्मी मलाहा कर्तव्यवाला हो होइन भन्नेतर्फ हेर्दा गुलेविया केवटनीले प्रहरी समक्ष गरेको कागजमा मैले हानेको भालाको चोटको पीरबाट मरेका हुन् भन्दै कर्तव्य गर्ने अर्को मानिस कोही थिएन भन्ने र १८ सवालको जवाफमा फनिले फलामे भाला घाँटीमा हानी घाइते पारे भन्ने उल्लेख गरेको र अदालतमा आई बयान गर्दा वदरीयाले गंगारामको पछाडिबाट २ हातसमेत अठ््याई पक्र्यो र लक्ष्मीले निज गंगारामको घाँटीमा सानो बिँड भएको फलामको भालाले घाँटीमा १ चोट हानी भाला रोपिएको छोडी निज २ जना भागी गए भन्ने उल्लेख गरेबाट प्रहरीमा कागज गर्दा र अदालतमा आई गरेको बयानमा विभिन्नता देखिन आएको र पुनरावेदक लक्ष्मी मलाहाले प्रहरीमा कागज गर्दा र अदालतमा आई बयान गर्दासमेत मैले गंगारामलाई मारे मराएको छैन भनी इन्कार लिएको देखिन्छ । पुनरावेदक लक्ष्मी मलाहाको हकमा सह–अभियोगी गुलेवियाको पोल बाहेक अन्य तथ्ययुक्त प्रमाण केही नहुनुको साथै माथि उल्लेख भएअनुसार गुलेवियाले प्रहार गरेको ठहरिएको र मर्नेको जिउमा १ चोट सिवाय अरू चोट प्रहार भएको केश फारामबाट देखिन नआएको हुनाले समेत प्र. गुलेविया बाहेक अरू ज्यानमारा नठहर्ने कुरा प्रष्ट छ । अरूलाई कसूरदार ठहराई सजाय दिने गरेको मिलेको देखिएन । निजले सफाई पाउने ठहर्छ अरू कोशी अञ्चल अदालतको मनासिव छ । देहायबमोजिम गर्नु ।
प्र. गुलेविया केवटके माथि इन्साफ खण्डमा लेखिएबमोजिम निजको हकमा कोशी अञ्चल अदालतको ०३०।८।२० को फैसलाले सर्वस्वसमेत जन्म कैद गरेको मुनासिव ठहर्दा सोही लगत कायम राखी कानूनबमोजिम गर्नु भनी लगत दिने र जन्म कैद भइसकेकाले पुनरावेदन गरे वापत सजाय गर्न परेन…………….१
प्र. वदरिया चमारके माथि इन्साफ खण्डमा लेखिएबमोजिम भएकोले कोशी अञ्चल अदालतको ऐ. मितिको फैसलामा अभियोगबाट सफाई पाएकोले साधक सदर भई आएपछि कैदबाट मुक्त गरी दिने भनी लगतमा जनाउ मो.जि.अ. मा लगत दिने भन्ने उल्लेख भएकोले सोही बमोजिम गर्नु भनी सूचना दिने ………………..२
प्रतिवादी लक्ष्मी मलाहा के माथि इन्साफ खण्डमा लेखिएबमोजिम निजले सफाई पाउने ठहरेकाले कोशी अञ्चल अदालतको ऐ. मितिको फैसला र शुरु फैसलाले सर्वस्वसहित जन्म कैद गर्ने गरेकोमा सो सजाय नलाग्ने हुँदा लगत कसेको भए व्यहोरा जनाई लगत काटि दिनु सर्वस्व रोक्का गरेको भए फुकुवा गर्नु भनी सूचना गर्न लगत दिने ………………..३
देहायका प्रतिवादीले सफाई पाएकोले केही गर्न नपर्ने भनी कोशी अञ्चल अदालतको ऐ. मितिको फैसलामा लेखिएकोले सोहीबमोजिम हुने हुँदा केही गर्न परेन …………………४
प्र.बहुरी केवटनी १ प्र. अदुलिया १ प्र. ठिठिर चमार १, प्रतिवादी किसन केवट १ प्र. वादर मिया १ प्र. हरदेव साह. १,
फैसला भएको जनाउ पुनरावेदन गुलेवियादेवी केवटनीलाई दिनु ……………………..५
केही उल्टीमा कोशी अञ्चल अदालतका तत्कालिन अञ्चल न्यायाधीश श्री षडानन्दप्रसादको रेकर्ड राख्न स.अ. जनरल विभागमा लेखि पठाई दिनु…………………६
मिसिल नियमबमोजिम गरी बुझाई दिनु……………………….७
म सहमत छु ।
न्यायाधीश धनेन्द्रबहादुर सिंह
इति सम्वत् ०३१ साल पौष २९ गते रोज २ शुभम् ।