September 2, 1975
Created by nepalarchives

निर्णय नं. ९५२ – जग्गा खिचोला

निर्णय नं. ९५२     ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...

निर्णय नं. ९५२     ने.का.प. २०३३

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२९ सालको दे.फु.नं. १६२

फैसला भएको मिति : २०३२।५।१७।३ मा

निवेदक : पाल्पा जोगेपानी वास्टारी बस्ने रामबहादुर रावल क्षेत्री समेत

विरूद्ध

विपक्षी    : ऐ ऐ. गोविन्दबहादुर रावल

मुद्दा : जग्गा खिचोला

(१)  वादीको नालिस खारिज हुने ठहरेपछि अन्य विवादका कुराहरूमा विचार गरिरहनु नपर्ने ।

(प्र. नं. १३)

निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट

विपक्षी तर्फबाट :  

उल्लिखित मुद्दा :   

फैसला

    प्र.न्या. रत्नबहादुर विष्ट

    १.   प्रस्तुत मुद्दामा स.अ. डिभिजन बेञ्चबाट ०२७।५।९।३ मा भएको निर्णय दोहर्‍याई पाउँ भनी प्रतिवादी रामबहादुर समेतले चढाएको निवेदनपत्रमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट फैसला भएको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुुकुम बक्सेको छ भन्ने विशेष जाहेरी विभागबाट ०२८।९।२०।३ मा लेखी आएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

    २.   तथ्य यसप्रकार छ : ७० साल चैत्र १७ गते छुट्टि भिन्न हुँदा बाबु जोगबहादुर समेतका ३ बण्डामा परि बाबु समेतले सगोलैमा भोग गरी आएको अवस्था बजै मानकुमारी जेठा बाबु सालिकराम र बाबु सगोलमै परलोक हुनु भएपछि मेरा आमा जौकुमारी जेठा बाबुकी श्रीमती वामकान्ताले पनि सगोलैबाट भोग गरी आउनुभएको अवस्था विपक्षीका बाबु चक्रबहादुरले आयस्ता रोक्का गर्दा मेरो आमा जेठी आमाको उजूर परी ९१ साल पौष २३ गतेको मिलापत्रबाट समेत ७० सालको बण्डा कायम भएको पछि मेरा बाबुको अंश आमा र जेठा बाबुको अंश जेठी आमा र निजको छोरा सीतारामहरूले आधा आधा बाँडी खाने गरी ९८ सालमा वामकान्ता र जौकुमारीले घरसारमा बण्डा गरी आमा जौकुमारीको बण्डामा परेको आमा परलोक हुँदा मेरो एकलौटी हुन आएको पाल्पा जोगेपानी जि. खड्गबहादुरका तालुक जिम्मा ल.नं. ३३६ मा मेरा नाममा दर्ता भएको तिरो रू. ३।५ पञ्चायत कर ३०।२ लागेको लामिचिडिवार भन्ने खेत मुरी ।५ को कित्ता १ ऐ. ऐ जिम्मा ल. नं. २३४ मेरा नाउँमा दर्ता भएको तिरो रू. ७५।१ पञ्चायत कर रू. ७।२ लागेको अलकेटारी खल्लुबोट भन्ने खेत मुरी ।१।३।३ को कित्ता १ मु. जितबहादुरका तालुक जिम्मा २१ सालको ल.नं. ४१३ को तिरो रू. ३ पञ्चायत कर रू. ३० लागेको विमिर्‍या खर्क भन्ने म बसेको पाखो घरबारी जग्गा कित्ता समेत ३ कित्ता खेतपाखो जग्गा मैले दर्ता भोग तिरो गरी आएको अवस्था ०२१ साल आश्विन २८ गतेका दिन मेरा घरमा आई चैथरी जग्गामा तैंले हामीलाई नालिस दिएकोले अब तैंले भोग तिरो गरिआएको जग्गा पनि तँलाई आयस्ता खान दिंदैनौ हटक भयो भनी जबर्जस्ती खिचोला गर्न आएकोले उक्त जग्गा मेरै सदर थामी पाउँ भन्नेसमेत वादी गोविन्दबहादुरको फिरादपत्र ।

    ३.   बिमर्‍या खर्कम भन्ने म बसेको पाखो घरबारी जग्गामा पनि खिचोला गरे भन्ने लेखेकालाई त्यसमा हामीले दावा खिचोला गरेकै छैनौ निजैले भोग चलन गरी आएकै छ । लामिचिडियार भन्ने खेत मुरी ५ को कित्ता १ अलकेटारी खलबोट भन्ने खेत मुरी १।३।३ को कित्ता १ समेत कित्ता २ को जग्गा वादीको हक भोग तिरोको होईन वादीले कुनै बखत भोग चलन गरेको पनि छैन अघि देखि नै हाम्रा हक भोग हुँदा अघि हामीहरूले गोश्वारामै र पछि म नारायणबहादुरको अंश भोगको हुँदा आफ्नो जग्गा आफैले भोग चलन गरी आएको छु विपक्षीको झुठ्ठा दावी नालिसबाट अलग फुर्सद गरी उपरोक्त खेत पाखामा दावी छुटाई म नारायणबहादुरको हक सदर थामी पाउँ भन्नेसमेत रामबहादुर नारायणबहादुरको वा. नरनारायण उपाध्यायको प्रतिउत्तर ।

    ४.   प्रतिवादीबाट पेश भएको ०१७।१।१५ को समेत थान २८ रसिद जालसाजी रसिद हुन् बदर गरिपाउँ भन्ने र मैले दाखिल गरेको रसिद ९ सद्दे हो भन्नेसमेत छुट्टाछुट्टै वादी गोविन्दबहादुरको बयान ।

    ५.  मैले दाखिल गरेको रसिद थान २८ सद्दे हो जालसाजी गरेको होईन गोविन्दबहादुरले पेश गरेको रसिदमा सद्दे किर्ते बयान गर्न म्याद पाउँ भन्नेसमेत र वादी गोविन्दबहादुरले पेश गरेको ९ थान रसिद देखें १२।१।१५।५, ०१३।१२।१५, १९।१।१, २०।१।१२, १९।२।६।३ समेत थान ५ को हकमा रसिद दिने जिम्मा.खड्गबहादुर रावलले गरिदिएको भए जालसाजी हो । ०२१।१।४।५, ०२१।१।१६ को २ थान रसिद सद्दे हुने ९८।२।१० र ९७।२।१८ को २ थान रसिद किन हो भन्नेसमेत प्र. वा. समेत नारायणबहादुरको ततिम्बा समेतको बयान ।

    ६.   रसिद गोविन्दबहादुरलाई गरिदिएको छु गोविन्दबहादुरको रसिद सद्दे साँचो हुन् रामबहादुरसमेतले आफ्नो जग्गाको तिरो बुझाई आफ्नो हक नपुग्ने वादीको जग्गाहरूको नम्बर नाम घुसाई मलाई र छोराहरूलाईसमेत घोर झुक्याईमा पारी रसिद गराएको रहेछन् । प्र. रामबहादुरसमेतले नकरा काम गरी आफ्नो मतलब साद्दे गर्न रसिद बनाएका हुन् । मैले जालसाजी गरेको होईन भन्नेसमेत जि. खड्गबहादुरको वारेस शेषनाथको बयान ।

    ७.  गोविन्दबहादुरले जालसाजी भनेको सक्कल देखें जालसाजी होईन । ४१३ नं. को घरवारीको रसिद मैले गरिदिएको सद्दे हुन् भन्नेसमेत त.मु.जितबहादुरको वा. ओमकारमानको बयान ।

    ८.   ९८ सालदेखि जि. खड्गबहादुरले आफैले दामकाम गरेकोबाट निजले तिरो बुझी रसिद गरिदिएको सद्दे साँचो हुन गोविन्दबहादुरको बयानबमोजिम जालसाजी गरेको होईन भन्नेसमेत छेत्रकुमारीको वा.कृष्णकुमारले गरेको बयान ।

    ९.   मिलापत्रको सम्पत्ति दिलाई चलनचलाई पाउँ भन्ने मुद्दा सर्वोच्च अदालतैमा दायरै छ । जग्गा खिचोला जालसाजी बण्डापत्र जालसाजी मुद्दासमेत सर्वोच्च अदालतबाट छिनी दिनु भन्ने हुकुम प्रमांगी पाउँ भनी गोविन्दबहादुरले चढाएको निवेदनमा जिल्लामा परेको यस सम्बन्धका मुद्दा समेत सर्वोच्च अदालतबाट खिची किनारा गरी नतिजा जाहेर गर्नु भन्ने बक्स भई आएको हुकुम प्रमांगीबमोजिम सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय हुँदा १६ सालमा वादी प्रतिवादीको अंश मुद्दा पर्दा ७० सालको बण्डालाई मानी वादीहरूलाई बण्डा गरिदिनु नपर्ने ठहरी स.अ. बाट फैसला भएको देखियो वादीको बाबु जोगबहादुर जेठा बाबु सालिकराम बजै मानकुमारी समेतको अंश भाग एकतर्फ र प्र. रामबहादुर समेतका बाबु चक्रबहादुरको अंश १ तर्फ राखी बण्डा हुँदा वासटारी छापको मूल घरबारी १ चालिसे खेत आधा मुरी ७।७ बिरौटो खलबोटे खेत मुरी ३ लामिचिडियार खेत मुरी ५।१५ अलकेटारी खेत मुरी १ कालिमाटी मुरी ७ झ्याङपानी खेत मुरी ८ म मेरो चिसापानी खेत मुरी १ समेत वादी समेतको अंशियारलाई र प्र. रामबहादुरका पिता चक्रबहादुरका भागतर्फ आएको रुख मुनिको बारी १ सिमलटारी खेत आधि मुरी १२ बासटारीको बाटा माथिको माफिकी १६ आना घरबारी भन्नेसमेत उल्लेख भएकोबाट पछि मिलापत्र हुँदा वासटारीको सोह्रै आना घरबारी पाएको देखिन आयो झगडा परेको लामिचिडियार मुरी ५ अलकेटारी समेत खेतमुरी ।१।३।३ विमिर्‍या खर्क घरबारी जग्गाहरू प्रतिवादी चक्रबहादुरको तर्फ अंश भाग खाने छोरा रामबहादुर नारायणबहादुरले पाउन सक्ने कुरा बण्डापत्रबाटै देखिन आएन गोविन्दबहादुर समेतको अंशतर्फ परेको देखिन आयो उक्त बण्डापत्र अघि पटकपटक मुद्दा पर्दा समर्थन भई राखेको देखिन आउँछ ९१ सालमा भएको मिलापत्रबाट खसमहरूको अंश भन्नाले वादीको आमाको खसम जोगबहादुर र जेठी आमाको खसम सालिकराम भन्ने देखिन आई निजहरूले पाएको अंश भन्ने मिलापत्रबाट पनि मध्येस चैथरी बाहेक अरू कायम रहेको देखिन आउँछ । सो मिलापत्रबाट पहाडतर्फको वादीको अंश जग्गा प्रतिवादीका बाबुले हक छुटाएको पनि मिलापत्रबाट केही देखिन आउँदैन यस अवस्थामा चक्रबहादुरतर्फको सन्तान रामबहादुर नारायणबहादुरले आफ्नो बण्डामा उल्लेख नभएको लामिचिडियार अलकेटारी विमिर्‍या खर्क घरबारीसमेत खेत हाम्रो भनी खिचोला गर्न गएको प्रष्ट देखिन आउँछ । वादी तर्फबाट पेश भई राखेको रसिदहरू जालसाजी भन्ने बयान छ तापनि निजका हकको जग्गा जतिको रसिद जालसाजी भन्न मिलेन प्रतिवादी तर्फबाट पेश भएको रसिद रामबहादुर नारायणबहादुर, जि. मु. खड्गबहादुर, मु. जितबहादुर, क्षत्रकुमारीसमेतले रसिद दोहरा पारी जालसाजी बनाएको देखिन आउँछ वादीको दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको समेत ठहर्छ भन्नेसमेत ०२७।५।९।३ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

    १०.  यस बेञ्च समक्ष निवेदक प्रतिवादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले ९१ सालको मिलापत्रले ७० सालको बण्डापत्र भनेको लिखतलाई कायम नराखेको ९१ सालको मिलापत्रबाट वादी दावीको जग्गा वादीकी आमा समेतले लिई पाई हक भएको नहुनाले वादीको दावी पुग्न नसक्ने भन्नेसमेत र वादी गोविन्दबहादुर आफैले ९१ सालको मिलापत्रले ७० सालको बण्डापत्रलाई कायमै राखेको हुँदा वादी दावी जग्गामा मेरो हक भएको प्रष्टै देखिन्छ डिभिजन बेञ्चको ईन्साफ कायम हुनुपर्छ भन्नेसमेत बहस जिकिर प्रस्तुत गर्नुभयो ।

    ११.  यसमा ७०।१२।१७ को बण्डापत्रबाट मेरो बाबु जोगबहादुरसमेतको बण्डामा परी भोग गरिआएको पाल्पा गौडामा भएको ९१।९।२३ को मिलापत्रबाट समेत ७० सालको बण्डापत्र कायम भएको पछि जेठी आमा वामकान्ता र मेरी आमा जौकुमारीले ९८ सालमा घरायसमा बण्डा गर्दा मेरी आमा जौकुमारीको बण्डामा परी आमा परलोक हुँदा मेरो हक भएको लामिचिडियार भन्ने खेत मुरी ।५ को कित्ता १ अलकेटारी खल्लुबोट खेत मुरी ।१।३।३ को कित्ता १ विमिर्‍याखर्क पाखो घरबारी कित्ता १ समेतमा प्रतिवादीहरूले खिचोला गरे खिचोला मेटाई पाउँ भन्ने वादीको मुख्य दावी र विमिर्‍या खर्क पाखो घरबारीको हकमा वादीको सो घरबारी जग्गासँग हाम्रो केही सम्बन्धै नहुनाले दावी खिचोला गरेका छैनौ लामिचिडियार अलकेटारी खल्लुबोट खेतहरू वादीको होइन भन्नेसमेत प्रतिवादीहरूको जिकिर भई यो मुद्दा चलेको रहेछ । वादी दावीको विमिर्‍याखर्क पाखो घरबारीको हकमा सो जग्गा वादीकै हो भनी प्रतिवादीहरूले कुनै विवाद नउठाएकोले त्यसतर्फ अरू विचार गरिरहनु परेन ।

    १२. लामिचिडियार अलकेटारी खल्लुबोट खेतहरूको हकमा के रहेछ भन्नेतर्फ हेर्दा ७०।१२।१७ को बण्डापत्रबाट बाबु जोगबहादुरसमेतको बण्डामा परी भोग गरिआएको ९१ सालको मिलापत्रबाट समेत ७० सालको बण्डापत्र सदर कायम भएको भन्ने मुख्य आधार देखाई वादीले आफ्नो हक भनी दावी गरेकोमा वादीकी आमा जौकुमारी जेठी आमा वामकान्तहरूले अंश दिलाई पाउँ भनी प्रतिवादीहरूको बाबु डि.चक्रबहादुरउपर उजूर गरेकी अंश मुद्दामा ९१।९।२३ मा पाल्पा गौंडामा मिलापत्र गर्दा खसमको अंश र खरिदीसमेत साविकबमोजिम भोग चलन गरी आएको योयो जग्गा भनी जग्गाको फाँट खुलाई त्यतिसम्म लिई अरूमा दावी छाडी मिलापत्र गरेको सो मिलापत्रमा ७०।१२।१७ को बण्डापत्रको उल्लेख गरी त्यसलाई कायम राखेको नदेखिएको समेत यिनीहरुकै मिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ भन्ने मुद्दामा आजै यसैबेञ्चबाट फैसलामा उल्लेख भइसकेको छ । त्यसकारण ७०।१२।१७ को बण्डापत्रबाट भएको भन्ने भनाई कायम मान्न नमिल्ने र खसमको अंश र खरिदीसमेत भनी ९१।९।१३ को मिलापत्रबाट वादीकी आमा जौकुमारीसमेतले जे जति जग्गा लिए पाएकी हुन्, त्यसभित्र उक्त लामिचिडियार अलकेटारी खल्लुबोट खेतहरू नपरेकोले उक्त जग्गाहरूमा वादीको हक भएको देखिएन । त्यस्तो हकै नभएको जग्गामा खिचोला गरे भन्ने वादीको नालिस दावी अ. बं. ८२ नं. ले लाग्न नसक्ने प्रष्टै छ ।

    १३.  तसर्थ उपरोक्त कारणहरुबाट वादीको नालिस खारेज हुने ठर्हछ, वादीको नालिसै खारेज हुने ठहरेपछि रसिद जालसाजीतर्फ बयान गराई कारवाई चलाइएको समेत अन्य विवादका कुराहरूमा विचार गरी रहनु परेन, ०२७।५।९।३ को डिभिजन बेञ्चले वादीको जग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भनी इन्साफ ठहर गरेको मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

देहायका मानिसको ०२७।५।९।३ को डिभिजन बेञ्चको फैसलाले गरेको देहायबमोजिम जरिवाना नलाग्ने हुँदा असूल भए जति फिर्ता बाँकीको लगत कट्टा गरी दिनु भनी का.जि.अ. तहसिलमा लगत दिनु ………………..१

रामबहादुर रावल के रू. २।५०, नारायणबहादुर रावल के.रू.२।५०, रामबहादुर रावल क्षेत्रीको अर्को कलम रू.१।, नारायणबहादुर रावल क्षेत्री ऐ. रू.१।, क्षत्रकुमारी के रू.१।, जि. मु. खड्गबहादुर रू. १।, मु. जितबहादुर कार्की रू.१।

लामिचिडियार भन्ने खेत मुरी ।५ र अलकेटारी खल्लुबोट भन्ने खेत मुरी ।१।३।३ को रोक्का रहेको बाली ०२७।५।९।३ को डि.बेञ्चको फैसलाले वादी गोविन्दबहादुरलाई फुकुवा दिने गरी लगत दिएकोमा सो अनुसार गर्नु पर्दैन हक पुग्ने प्रतिवादीहरूलाई कानूनबमोजिम फुकुवा गरी दिनु भनी पाल्पा जि. अदालतलाई लेखि पठाउन ऐ………………….२

वादी गोविन्दबहादुरके पछि बुझिएको समेतबाट नालिस खारेज हुने ठहरेकोले कोर्टफी ऐन लागू हुनुभन्दा अगावै नालिस दर्ता भएकोबाट कोर्टफी नरहेको हुँदा पछि खुलाएको मोल बीगो रू. ५००१। को उजूरी झुठ्ठा ठहरे जग्गा मिच्नेको १४ नं.सैकडा२।५०ले हुनेरू.१२५।८३अ.बं.१८० नं.सयकडा ५ ले रू.६।२५ जरिवाना हुन्छ रुजुहुँदा असुल गरी ऐ…………३

निवेदक प्रतिवादी रामबहादुर रावल क्षेत्री १ नारायणबहादुर रावल क्षेत्री १ जना २ ले मुद्दा दोहर्‍याउँदा राखेको कोर्टफी रू. २२।१ वादी गोविन्दबहादुरबाट भराई पाउँ भनी कोर्टफी ऐन, १७ को संशोधित दफा १५(११) बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिइ भराई दिनु भनी ऐ………………….४

नियम बमोजिम मिसिल बुझाई दिनु ……………………५

 

हामीहरूको सहमती छ ।

 

न्या. वासुदेव शर्मा,

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३२ साल भाद्र १७ गते रोज ३ शुभम् ।