September 30, 1975
Created by nepalarchives

निर्णय नं. ९५१ – थैली फिर्ता पाऊँ

निर्णय नं. ९५१           ने.का.प. २०३३ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के. सी. माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत्...

निर्णय नं. ९५१           ने.का.प. २०३३

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के. सी.

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२८ सालको दे.फु.नं. १८१

फैसला भएको मिति : २०३२।६।१४।६ मा

निवेदक : जि. मोरङ प्र. गोग्राहा मौजे मुधमारा बस्ने सिंहेश्वर राजवंशी समेत

विरुद्ध

विपक्षी   : ऐ. प्र. कटहरी मौजे सोहलगछ बस्ने लखनलाल राजवंशी समेत

मुद्दा : थैली फिर्ता पाऊँ

(१) राजीनामा कच्चा ठहर्न गए तत्कालिन साहू आसामीको २६ नं. ले राजीनामाको साँवा ब्याज वादीले फिर्ता भरी पाउने ।

(प्र. नं. १०)

निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुन्ज विहारीप्रसाद सिंह

फैसला

    न्यायाधीश सुरेन्द्रप्रसाद सिंह

    १.   प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भएका हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको छ ।

    २.  मुद्दाको विवरण यस प्रकार छ : अन्यायले हामीबाट भा.रु. ३०००।तीन हजार लिई मधुमारा गुठी बिर्ताको जग्गा बिगाहा १३।।।१।३ मध्ये बिगाहा १। सिंहेश्वर कारनी कुसेश्वर साक्षी बसी राजीनामा लेखी १६।३।२६ मा पास गरी दिएको जग्गा छुट्ट्याइ दिनुहोस् भन्दा जग्गा भोग गरेकै छ अरू कहाँबाट दिनू भनी ११० देखि १२५ र १२९ को प्लट यो देखाइदिएको रहेछ यो जग्गा मेरै अघिदेखि म झडीका नाउँमा दर्ता भई तिरो तिरी आएका छौँ तपाईंको हक छैन थैली नै फिर्ता दिनुहोस् भन्दा अनेकथरीको कुरा गरेकाले फिराद गर्न आएको छु । जग्गा कच्चा ठहरेकाले थैली भा.रू ३०००। अन्यायबाट दिलाईभराई पाऊँ भन्नेसमेत फिरादपत्र ।

    ३.  मधुमारा गुठीको कि.नं. ११० देखि १२९ नं. को जग्गाको दामासाहीमा परेको सिंहेश्वरको नाउँको जग्गामध्ये उत्तरतर्फबाट अर्थात् डगर देखि पूर्व तपाईंको सोही कित्तादेखि उत्तर धर्मकुमारीदेखि पश्चिम डगरदेखि दक्षिणको वा जग्गा बेच्ने भए कुरा गरौँ भन्दा हामीले हुन्छ भने पछि १। जग्गा भा.रू.३००० मोल कायम भई सो मोल वापतमा सो मौजामा वादीहरूको हकको झडिलालको नाउँको दर्तामध्ये कि.नं. ४१ को जग्गा कठ्ठा ।३।।। दिने वादीले कुरा गर्दा लिने मञ्जुर गरी सो जग्गाको मोल भा.रू १६०१ कायम भई हाम्रो १। जग्गाको मोल भा.रु. ३००० मध्ये १६०१ को ।३।।२ र नगद भा.रू १३९९ लिई ।३।।२ जग्गा हामीलाई दिएको राजीनामा एकै दिन पास भएको वादीले दिएबमोजिमको जग्गा मात्र हामीले भोग गरेका छौं भन्नेसमेत सिंहेश्वर, कुशेश्वरको एउटै प्रतिउत्तर ।

    ४.  भई आएको नक्सामा प्रतिवादीले राजीनामा गरी दिएको जग्गा यो ठाउँमा छ भनी प्रतिवादीले देखाउन सक्नुपर्ने नसकेकोले झडिलालकै दर्ता जग्गा राजीनामा गरी दिएको देखिन आएकोले प्रतिवादी दुवै जनाबाट वादीहरूले ३०००। को ने.रू ४८०००। फिर्ता पाउने ठहर्छ भन्नेसमेत मोरङ जिल्ला अदालतको फैसला ।

    ५.  उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा अञ्चल अदालतबाट निर्णय हुँदा प्र. सिंहेश्वरबाट राजीनामा गराई लिएको भनेको कि.नं. ११० देखि १२९ तकको जग्गा बिगाहा १। वादी मध्ये झडिलालकै नाउँमा दर्ता रहेको देखिएको र नक्शा हुँदा आफूले राजीनामा दिएको जग्गा यो हो भनी नक्शामा देखाउन नसकेकोले समेत सुरुको इन्साफ मनासिव भन्नेसमेत कोशी अञ्चल अदालतबाट भएको फैसला ।

    ६.  सर्वोच्च अदालत स्टेण्डिङ्ग कमिटिको ०२४।१२।१६ को आदेशानुसार सयकडा ५ बाट इन्साफ जाँच भई डिभिजन बेञ्चबाट निर्णय हुँदा जुन जग्गा प्रतिवादीले बिक्री गरेको छ सो जग्गा बिक्री लिखत हुनुभन्दा मैले हाल आवादीमा दर्ता गरिपाऊँ भनी प्रतिवादी पक्षले दरखास्त दिँदा वादी पक्षले हाम्रो जग्गा भनी उजूर गर्दा प्रतिवादीको दरखास्तबमोजिम दर्ता हुन नसकेको भन्ने कुरा मालबाट आएको मिसिलबाट देखिन आएको झगडा परेको न.नं. १ को जग्गालाई मेरो दर्ताको भनी प्रतिवादीले बिक्री गरेको व्यवहार साँचो नदेखिनाले थैली वापस बुझाउनु पर्ने भनी शुरूले छिनेउपर पुनरावेदन गर्दा हाल आवादीमा दरखास्त दिएको जग्गा बेग्लै र झगडा परेको भनी नक्सामा जनिएको जग्गा बेग्लै हो भनी जिकिर दिन नसकेको वादीले भोग गरेको जग्गा नै प्रतिवादीले राजीनामा दिएको जग्गा हो भन्ने सबूद पनि आउन नसकेकोले हाम्रा हक दर्ताको भनी प्रतिवादीहरूले किल्ला उल्लेख गरेको जग्गा निजको दर्ता भित्रको देखिन आएन आसामी प्रतिवादीले साहु फिरादीलाई बिक्री गरेको जग्गा निजहरूको हकको देखिन नआएको आसामीले लेखी दिएको कुरा नै कच्चा ठहर्न आएमा थैली साहुले दावी गरिलिन पाउने लेनदेन व्यवहारको २३ नं. ले साहुले पाएकै हुँदा प्रतिवादीबाट लिएको थैली निजहरूबाट वादीहरूले भरी पाउने ठहराएको शुरुको सदर गरेको इन्साफ कोशी अञ्चल अदालतको मनासिव छ भन्नेसमेत ०२७।१०।५ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

    ७.  प्रस्तुत मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिशमा फिरादपत्र १८।१।३० मा दायर भएकोले तत्कालिन मुलुकी ऐन साहु आसामीको २६ नं. लाई मध्य नजर राख्नुपर्ने हुन्छ २६ नं मा राजीनामा भोग दृष्टि लिँदा पहिले जाँची बुझी लिनुपर्छ भन्ने शब्दावली प्रयोग गरी लिने व्यक्तिले होसियार पुर्‍याउनु पर्ने उत्तरदायित्वलाई प्रष्ट गरेको छ लेनदेन व्यवहारको २३ नम्बरमा लिने व्यक्तिउपर उत्तरदायित्व लगाएको हटाइएको देखिन्छ कच्चा ठहर्नेमा साहुले थैलीमा दावा गर्न पाउने नभई नजानी लिएको भन्ने पनि प्रमाणीत गर्न सक्नुपर्ने हुन्छ प्रस्तुत मुद्दामा साहु आसामीको २६ नं. लाई ध्यान नदिई नजानी लिएको देखिन्छ देखिदैन भन्ने केही विवेचना नगरी लेनदेन व्यवहारको २३ नम्बरअनुसार लेखिएको कुरा कच्चा ठहरिएको भन्ने आधारमा थैली फिर्ता पाउने निर्णय गरेको कानून अनुरूप देखिंदैन बिक्री भएको जग्गा वादीको भए कि. नं.  ११० देखि १२५ सम्म र १२९ सम्मको जग्गामध्ये प्रतिवादीको यति यो ठाउँमा मौजुदैछ भन्ने वादीले देखाउन सक्नुपर्ने सकेको छैन वादीले जग्गा लिंदा १६ सालका बाली देखि भनी लिई ०१६।३।२६ मा पास गरी १६।१७ सालको बाली भुक्तान भएपछि मात्र जग्गा कच्चा भनी दावा गरेकोलेसमेत निर्णय जाँच्न आवश्यक देखिएको भन्नेसमेत उल्लेख भएको रहेछ ।

    ८.  निवेदकतर्फका विद्धान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले तत्कालिन साहु आसामीको २६ नं लाग्ने अवस्था राजीनामा गरी दिएकोले हाल प्रचलित लेनदेन व्यवहारको २३ नं. लाग्ने होइन सो ऐनअनुसार थैली फिर्ता दिलाई दिन मिल्दैन मैले राजीनामा गरिदिएको न.नं. १ को जग्गा मेरै जग्गा हो वादीको होइन सो जग्गा वादीको भए राजीनामा गर्दाकै किल्ला राख्दा सोही बखत थाहा पाउने थियो मेरो जग्गालाई वादीको ठहराई थैली फिर्ता दिलाउने गरेको इन्साफ मिलेको छैन बदर हुनुपर्छ भन्नेसमेत र विपक्षी वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंहले प्रतिवादीले बिक्री गरेको झगडा परेको जग्गाकै किल्ला राखी बिक्री गर्नुभन्दा पहिले हाल आवादीमा पाउँ भन्ने प्रतिवादीले मालमा दरखास्त दिएकोमा सो दरखास्त दिएको जग्गा मेरो भन्ने वादीको उजूर परी कारवाई भई प्रतिवादीले हाल आवादीमा दर्ता गर्न नसकेकोबाटै सो जग्गा प्रतिवादीको होइन भन्ने प्रष्ट हुँदा त्यस्तो वादीको जग्गा बिक्री गरेको थैली फिर्ता दिलाई दिने गरेको इन्साफ सदर हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नु भएको छ ।

    ९.  यस्मा प्र.ले राजीनामा गरिदिएको जग्गा निजको हकको नहुनाले थैली फिर्ता दिलाई पाउँ भन्ने मुख्य वादीको दावी देखिएकोले प्रतिवादीले वादीलाई ०१६।३।२६ मा राजीनामा गरी दिएको जग्गा प्रतिवादीको हक पुग्ने जग्गा हो होइन र वादीले थैली फिर्ता भरी पाउन सक्ने नसक्ने के हो  ? त्यस कुराको प्रस्तुत मुद्दामा निर्णय दिनुपर्ने विषय हुन आएको छ ।

    १०.  तत्सम्बन्धमा विचार गर्दा प्रतिवादीले वादीलाई राजीनामा गरी दिएको राजीनामा किल्लाकै जग्गालाई हाल आवादी गरिपाउँ भनी चैतुको हकमा प्रतिवादी सिंहेश्वरकै दाजु प्र. कुशेश्वरले विराटनगर मालमा १५ सालमा दरखास्त दिएकोमा सो दरखास्तको जग्गा हामीहरूको नम्बरीको जग्गा हो हाल आवादीमा दर्ता नहोस भनी राजीनामा गरिलिनु भन्दा पहिले वादी लखनसमेतले ०१५ सालमै मालमा उजूर गरी विरोध गरेको बाट सो जग्गा वादी पक्षको हकको भन्ने देखिएकोले प्रतिवादीबाट वादी दावी थैली फिर्ता पाउने ठहर्छ भनी हाल आवादीमा दरखास्त परेको मुद्दाको आधार लिई राजीनामा गरिदिएको जग्गा वादीकै ठहराएको शुरु मोरङ जि.अ. विराटनगरको इन्साफउपर प्रतिवादी सिंहेश्वरलाल, कुसेश्वरलालले पुनरावेदन गर्दामा सो राजीनामा किल्लाकै जग्गा हाल आवादीमा पाउँ भनी मालमा दरखास्त गरेको र सो दरखास्त गरेको जग्गा हाम्रो दर्ताको जग्गा भनी वादीले उजूर गरेको हैन भन्ने कुनै जिकिर लिई खण्डन गर्न सकेको नदेखिएकोले यस स्थितिमा सो हाल आवादीको भनेको मिसिल हाल पत्ता लागी प्राप्त हुन नसके तापनि वादीलाई राजीनामा गरिदिएको जग्गालाई नै राजीनामा दिनुभन्दा पहिले हाल आवादीमा पाउँ भनी प्रतिवादीले दरखास्त गरेको रहेछ भन्ने कुरा मान्नुपर्ने हुन आउँछ । राजीनामाको जग्गा प्रतिवादीको हकको भए राजीनामा किल्लाकै जग्गालाई राजीनामा दिनु भन्दा पहिले ०१५ सालमा हाल आवादीमा पाउँ भनी प्रतिवादीले मालमा दरखास्त दिनुपर्ने अवस्थै हुँदैन हाल आवादी पाउँ भनी दरखास्त दिएकोबाट नै राजीनामा दिएको जग्गा प्रतिवादीको देखिन नआई वादीको हकको जग्गा भन्ने प्रष्ट हुन आएको छ । त्यस्तो आफ्नो हकै नपुग्ने वादीकै हकको जग्गालाई आफ्नो हकको भनी लेखी प्रतिवादीले गरिदिएको राजीनामा कच्चा ठहर्न आउने र सो राजीनामा हुँदाका अवस्था प्रचलित तत्कालिन मुलुकी ऐन, साहु आसामीको २६ नं. मा त्यस्तो राजीनामाको साँवा व्याजसमेत साहुले दावी गरी लिनपाउने व्यवस्था भएको देखिएकोले सो अनुसार राजीनामाको सावाँ ब्याज वादीले फिर्ता भरी पाउने नै हुँदा राजीनामाको जग्गा वादीको ठहराई थैली भरी पाउने ठहराएको ०२७।१०।२९।५ को डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ मुद्दा दोहराएवापत लाग्ने कोर्टफी निवेदक प्रतिवादीबाट दाखिल भएकोले अरू केही गर्नु परेन मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह,

न्या. प्रकाशबहादुर के.सी.

 

इति सम्वत् २०३२ साल कार्तिक १४ गते रोज ६ शुभम् ।