April 28, 2009
Created by nepalarchives

निर्णय नं. ८०९८ – जग्गा रोक्का

निर्णय नं.८०९८     २०६६ असार    अङ्क ३   सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६१ सालको...

निर्णय नं.८०९८     २०६६ असार    अङ्क ३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला

संवत् २०६१ सालको दे.पु.न…९८३७

फैसला मितिः २०६६।१।१५।३

 

मुद्दाः जग्गा रोक्का  ।

 

पुनरावेदकः का.म.न.पा. वडा नं ३१ बिजुलीबजारस्थित नेपाल बंगलादेश बैंक लिमिटेड पुतली सडक शाखाको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक गणेशप्रसाद अधिकारी

विरुद्ध

प्रत्यर्थी विपक्षीः जि.काठमाडौँ, का.म.न.पा. वडा नं ३१ बस्ने अनिता श्रेष्ठ

शुरु फैसला गर्नेः

मालपोत कार्यालय, ललितपुर

पुनरावेदन फैसला गर्नेः

मा.न्याः श्री ज्ञानेन्द्रबहादुर कार्की

मा.न्याः श्री केशरमान पति

 

§  जुनसुकै प्रकारको धितो बन्धकको लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन पारित गर्नुपर्ने अन्यथा त्यस्तो लिखतले कानूनी मान्यता प्राप्त गर्न नसक्ने 

(प्रकरण नं.२)

§  पारित नै नभएको घरायसी मन्जूरनामाको आधारमा तेस्रो व्यक्तिलाई प्रवाह गरेको ऋणवापत प्रत्यर्थीको जग्गा रोक्का राख्न नमिल्ने 

(प्रकरण नं.३)

निवेदक तर्फवाटः

प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामप्रसाद श्रेष्ठ

अवलम्वित नजीरः

सम्वद्ध कानूनः

§  मुलुकी ऐन, रजिष्ट्रेशनको १ नं.

§  ऋण असूली ऐन, २०५८ को दफा २ (६)

§  करार ऐन, २०५६ को दफा १५ (१) र (२)

§  वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ग

फैसला

    न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत,पाटनको मिति २०६०।९।२२ को फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छ :

    अनिता श्रेष्ठको नाममा ललितपुर मालपोत कार्यालयमा दर्ता रहेको ठैव गा.वि.स.वडा नं ७ (क) कि.नं २८७ को क्षे.फ १० जग्गा एस कलेक्सन र जीतेन्द्रलाल श्रेष्ठले नेपाल बंगलादेश बैक, पुतलीसडक शाखाबाट लिने विभिन्न किसिमका कर्जाहरूको लागि धितो स्वरुप नेपाल बंगलादेश बैंकको नाममा धितोबन्धक पास गरी दिनको लागि मन्जूरी गर्दछु भनी जग्गाधनी अनिता श्रेष्ठले घरसारमा गरिदिएको मन्जूरीनामा 

    जिल्ला ललितपुर, ठैब गा.वि.स.वडा नं ७(क) कि.नं २८७ को क्षे.फ १० जग्गा जग्गाधनी अनिता श्रेष्ठको नाममा दर्ता रहेको, उक्त जग्गा यस कार्यालयमा गरिएको लिखतबमोजिम यस बैंकबाट फुकुवा भएको सूचना प्राप्त नहुँदासम्म रोक्का राखी सोको जानकारी पठाई दिनु भन्ने नेपाल बंगलादेश बैंकले मालपोत कार्यालय, ललितपुरलाई लेखेको मिति २०५५।५।१७ को पत्र 

    मिति २०५५।५।१७ को पत्रमा उल्लेख भएको व्यक्तिको नाउँमा रहेको ललितपुर ठैब गा.वि.स.वडा नं ७(क) कि.नं २८७ को क्षे.फ १० जग्गा आजका मितिदेखि रोक्का राखिएको छ भनी मालपोत कार्यालय, ललितपुरले नेपाल बंगलादेश बैकलाई मिति २०५५।५।१७ मा लेखेको पत्र 

    प्रत्यर्थीमध्येका जीतेन्द्रलाल श्रेष्ठसँग पहिलेदेखि नै चिनजान रहेको थियो । २०५५ साउन महिनाको अन्तिम हप्तातिर निज प्रत्यर्थी जीतेन्द्रलाल श्रेष्ठले आफ्नो व्यापारको लागि विपक्षी बैंकबाट कर्जा स्वीकृतका लागि आवश्यक पर्ने प्रारम्भिक कारवाही चलाउन धितोबन्धक राख्न केही समयको लागि जग्गाधनीको मन्जूरनामा चाहिएको हो । पछि ऋण दिने समयमा मात्र सगोलको नाउँको सम्पत्ति बन्धकी पास गर्नुपर्छ भनी भनेकाले सोही प्रयोजनको लागि मैले घरायसी व्यवहारमा मात्र कि.नं २८७ को जग्गा धितोबन्धक राख्न मन्जूरी दिएको हो । मैले बैंकसामु उपस्थित भई कर्जा पनि नलिएको बैंक र म जग्गाधनीबीच दोहोरो तमसुक समेत नभएको अवस्थामा ऋण स्वीकृत गराउने कारवाहीसम्म अघि बढाउनका लागि मैले मन्जूर गरेको जग्गा विपक्षी बैंकले रोक्का राख्न अनुरोध गरी सोबमोजिम जग्गा रोक्का राखेको विपक्षीहरूको कार्य बदरभागी छ भन्ने अनिता श्रेष्ठको पुनरावेदन जिकीर।

    पुनरावेदकको नाममा दर्ता रहेको जिल्ला ललितपुर, ठैब गा.वि.स.वडा नं ७(क) कि.नं २८७ को क्षे.फ १० जग्गा मिति २०५५।५।१७ मा रोक्का नं १७ मा मालपोत कार्यालय, ललितपुरले रोक्का राख्दा पुनरावेदकको रीतपूर्वकको रजिष्ट्रेशन पास भएको लिखतको आधार लिएको नदेखिंएको र निवेदक विजेज अफ ट्राभल्स प्रा.लि.विरुद्ध नेपाल बैक लिमिटेड कर्जा विभाग समेत भएको २०५७ सालको रिट नं ३४७२ को उत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ भन्ने विषयमा कानूनको रित पु¥याई लिखत पारित नभएको अवस्थामा जग्गा रोक्का राख्न नमिल्ने भन्ने सिद्धान्त प्रतिपादित भै सम्मानीत सर्वोच्च अदालतबाट मिति २०५८।३।१२ मा भएको निर्णय समेतको परिप्रेक्ष्यमा मालपोत कार्यालय ललितपुरबाट भएको रोक्काको निर्णय फरक पर्न सक्ने देखिँदा छलफलको लागि विपक्षीहरूको नाममा अ.बं २०२ नं बमोजिम म्याद जारी गरी नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश 

    पुनरावेदक र विपक्षी बैंकबीच धितो पास गर्ने गराउने सम्बन्धमा कुनै कारवाही भएको भन्ने विपक्षी बैंकको रोक्का गरिपाऊँ भन्ने पत्रमा उल्लेख नहुनुको साथै मालपोत कार्यालय ललितपुरको रोक्का पत्रमा पनि सो विषयमा केही उल्लेख नभएको स्थितिमा यी पुनरावेदक र विपक्षी बैंकबीच धितो पासको लिखतलाई रजिष्ट्रेशन गराएको भन्ने देखिन आएन । यसरी सम्बन्धित निकायमा गई धितो पास नै नगरेको अवस्थामा पुनरावेदकको कि.नं २८७ को जग्गा घरसारको मन्जूरनामाको लिखतको आधारमा बैंकको पत्र अनुसार रोक्का राख्ने गरी भएको मालपोत कार्यालय,ललितपुरको रोक्का राख्ने कार्य त्रुटिपूर्ण भएकोले प्रत्यर्थी नेपाल बंगलादेश बैंक लिमिटेडको मिति २०५५।५।१७ को पत्रको आधारमा मालपोत कार्यालय ललितपुरबाट मिति २०५५।५।१७ मा रोक्का राखिएको कानूनसम्मत भएको देखिंन आएन । अतः पुनरावेदिका अनिता श्रेष्ठले प्रत्यर्थी बैंकलाई तेस्रो पक्षले लिएको कर्जावापत जग्गा धितो सुरक्षण दिन मन्जूरनामाको लिखत दिए पनि सो जग्गा धितो सुरक्षण पारित नभएको स्थितिमा रोक्का राख्न समेत नमिल्ने हुँदा मिति २०५५।५।१७ को मालपोत कार्यालय, ललितपुरको रोक्का बदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६०।९।२२ को फैसला 

    पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । जीतेन्द्रलाल श्रेष्ठले यस बैंकबाट ऋण लिने प्रयोजनको लागि अनिता श्रेष्ठले मिति २०५५।५।९ मा बैंकलाई लिखित मन्जूरीनामा गरिदिएको र यस बैंकबाट निज जीतेन्द्रलाल श्रेष्ठले मिति २५ अगस्त १९९८ सम्म रु ३०,००,०००। ऋण लिएबापत जमानी समेत बस्नु भएको छ । सोही आधारमा जीतेन्द्रलाललाई ऋण प्रवाह गरिएको हो । वित्तीय संस्थाको ऋण असूली ऐन, २०५८ को दफा २(६) ऋणीको परिभाषाभित्र जमानत दिने व्यक्तिलाई समेत समेटिएको छ । यसरी ऋणीकै हैसियतमा रहेको व्यक्तिको जग्गा रोक्का गरिएकोलाई बदर गर्न मिल्दैन । करार ऐन, २०५६ को दफा १५(१) र (२) बमोजिम पनि जमानत दिने तेश्रो पक्षलाई ऋणको दायित्व बेहोर्नु पर्ने गरी तोकिएको छ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ ग बमोजिम निज अनिता श्रेष्ठ जमानी बसेको आधारमा ऋणी मेशर्स एस.कलेक्सनका प्रोप्राइटर जीतेन्द्रलाल श्रेष्ठलाई ऋण प्रवाह गरिएको हो । उक्त ऋणको अङ्क हालसम्म चुक्ता नभई रु ६२,२४,१८६।३९ बाँकी नै रहेको अवस्थामा पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसलाबदर गरी जग्गा रोक्का गरिपाऊँ भन्ने मिति २०६१।२।१९ को पुनरावेदन  पत्र 

    विपक्षी अनिता श्रेष्ठले दिएको २०५५।५।९ को मन्जूरनामा र सन् १९९८ अगष्ट २५ मा निज अनिता श्रेष्ठले नै नेपाल बंगलादेश बैंक लिमिटेड, पुतलीसडकलाई गरिदिएको लेटर अफ ग्यारेन्टीको परिप्रेक्ष्यमा पुनरावेदन अदालतको फैसला फरक पर्ने देखिंदा अ.बं २०२ नं बमोजिम प्रत्यर्थीलाई झिकाउनु भन्ने यस अदालतको मिति २०६३।१।१७ को आदेश 

    नियमबमोजिम पेशीसूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा प्रत्यर्थीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता रामप्रसाद श्रेष्ठले प्रचलित कानूनबमोजिम रजिष्ट्रेशन पास नगरी घरसारमा मन्जूरनामा दिएको भन्ने आधारमा जग्गा रोक्का गर्न नमिल्नेमा रोक्का गरेको कार्यलाई बदर गरेको पुनरावेदन अदालतको फैसला कानूनसम्मत हुँदा सो फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नु भयो 

    २.   निर्णयतर्फ विचार गर्दा पुनरावेदक नेपाल बंगलादेश बैंक लिमिटेडबाट ऋण लिने ऋणी जीतेन्द्रलाल श्रेष्ठले लिएको ऋणबापत प्रत्यर्थी अनिता श्रेष्ठले मिति २०५५।५।९ मा घरसारमा गरिदिएको भनिएको मन्जूरीनामाको आधारमा निज अनिता श्रेष्ठका नाममा दर्ता रहेको जिल्ला ललितपुर, ठैब गा.वि.स.वडा नं ७(क) कि.नं २८७ को ज.रो.१० को जग्गा पुनरावेदक बैंकको मिति २०५५।५।१७ को पत्रबमोजिम रोक्का नं १७ मा रोक्का राखिएको देखिन्छ । प्रत्यर्थी अनिता श्रेष्ठले पुनरावेदक बैंकलाई गरिदिएको धितो सम्बन्धी मन्जूरनामा बमोजिमको धितोबन्धकी लिखत लेखी लेखाई सम्बन्धित मालपोत कार्यालयबाट रजिष्ट्रेशन पारित भएको देखिँदैन । रजिष्ट्रेशनको महलको १ नं को कानूनी व्यवस्था समेतबाट जुनसुकै प्रकारको धितो बन्धकको लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन पारित गर्नु पर्ने अन्यथा त्यस्तो लिखतले कानूनी मान्यता प्राप्त गर्न नसक्ने प्रष्टै छ । यस्तो अवस्थामा पुनरावेदन बैंक जस्तो वित्तीय संस्थाले घरसारको मन्जूरनामाको आधारमा प्रत्यर्थी अनिता श्रेष्ठको नाममा रहेको प्रस्तुत विवादको जग्गामा दावी गरी त्यसबाट ऋण असूल गर्न समेत सक्ने अवस्था हुँदैन 

    ३.   प्रत्यर्थी अनिता श्रेष्ठले बैंकलाई गरिदिएको मन्जूरीनामाको व्यहोरा हेर्दा पनि बैंकका ऋणी जीतेन्द्रलाल श्रेष्ठले लिने ऋणको लागि धितोस्वरुप निजका नामदर्ताको कि.नं २८७ को जग्गा धितोबन्धक पास गरिदिनसम्म मन्जूर गरेको तर सोबमोजिम धितो बन्धक लिखत खडा गरी रजिष्ट्रेशन भए गरेको देखिँदैन । यसरी पुनरावेदक बैंकले प्रवाह गरेको ऋणबापत सुरक्षण दिनसम्म मन्जूर गरेकोमा सुरक्षणको लिखत नै नहरेको तेस्रो व्यक्ति प्रत्यर्थी अनिता श्रेष्ठको अचल जग्गा रोक्का गर्न मालपोत कार्यालयलाई पत्राचार गरी सोही पत्रको आधारमा मालपोत कार्यालय, ललितपुरले मिति २०५५।५।१७ मा रोक्का गरेको कार्य कानूनी त्रुटिपूर्ण देखिंन आयो 

    ४.   तसर्थ पारित नै नभएको घरायसी मन्जूरनामाको आधारमा तेस्रो व्यक्तिलाई प्रवाह गरेको ऋण वापत प्रत्यर्थी अनिता श्रेष्ठको जग्गा रोक्का राख्न नमिल्ने हुँदा मालपोत कार्यालय, ललितपुरबाट मिति २०५५।५।१७ मा रोक्का नं १७ मा रोक्का राखिएको जग्गा फुकुवा गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०६०।९।२२ को फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल बंगलादेश बैंकको पुनरावेदन जिकीरपुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

 

उक्त रायमा म सहमत छु 

 

न्या.मोहनप्रकाश सिटौला

 

इति संवत् २०६६ बैशाख १५ गते रोज ३ शुभम

 

इजलास अधिकृत : बिदुर कोइराला